शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१२८ - नामसारी

भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक:

निर्णय नं. ४१२८     ने.का.प. २०४७          अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४६ सालको नि.नं. ४०२०

आदेश भएको मिति : २०४७।३।१८ मा

निवेदक      : विष्णुप्रसाद पराजुली

विरुद्ध

विपक्षी : फुलप्रसाद

मुद्दा : नामसारी

(१)    मा.पो. मा छुट्टाछुट्टै निवेदन दिएकोमा प्र. ले दुवैमा अंशबाट आफ्नो समेत हक लाग्ने भनी देखाई दर्ता गर्न दिन बेमन्जूर भएको देखिन आएकोबाट दुवै वादीको दावीमा प्रतिवादीको एउटै जिकिर भएकोबाट प्रतिवादीको जिकिरबाट यो दुवै मुद्दा एकै लगाउको भन्ने स्पष्ट रहेको ।

(प्रकरण नं. ३)

आदेश

न्या.बब्बरप्रसाद सिंह

१.     यसमा निवेदक विष्णुप्रसाद विपक्षी फूलप्रसाद सित परेको अंश मुद्दामा भएको अन्तिम फैसला बमोजिम दावीका कि.नं. ४१, ३६, १२९, १३१, ३१ का जग्गाहरु आफ्नो नाउँमा नामसारी गरिपाउँ भन्ने समेत व्यहोरा मा.पो.का. काठमाडौंमा २०४२।१।३ मा निवेदन परी विपक्षी फुलप्रसाद झिकाइएकोमा फुलप्रसादले दावीका जग्गाहरु मेरो समेत अंश लाग्ने भएकोले मेरो मन्जूरी बेगर दर्ता हुनुपर्ने र हक लाग्ने होइन भनी २०४२।५।२ मा निवेदन दिएकोमा मा.पो.का. काठमाडौंबाट अंश मुद्दामा अन्तिम फैसला भइसकेको भन्ने आधारमा दावी बमोजिम विष्णुप्रसादका नाउँमा दर्ता हुने भनी २०४२।८।१० मा निर्णय गरे उपर प्र.फुलप्रसादको सगोल दर्ताको जग्गामा को कसको कता पट्टीको भन्ने नखुलेकोमा मेरो मन्जूरी बेगर दर्ता ठहर्‍याएको नमिल्ने भन्ने समेत जिकिर लिई २०४२।१०।१४ मा पुनरावेदन परेकोमा जि.का.का. बाट पनि २०४५।३।७ मा मा.पो.का. को निर्णय मनासिब ठहर्‍याई निर्णय भए उपर निजै फुलप्रसादको म.क्षे.अ. मा २०४५।४।१० मा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन परी म.क्षे.अ. बाट २०४५।११।१० मा पुनरावेदनको अनुमति प्रदान भई मुद्दा पेश हुँदा २०४६।३।१ मा जग्गाको स्वामित्व सम्बन्धमा तेरो मेरोको प्रश्न उपस्थित भएपछि सो भित्र प्रवेश गरी मालपोत कार्यालयले साविक जग्गा धनीको नाम कटाई दावी बमोजिम विष्णुप्रसादका नाउँमा दर्ता गर्ने गरेको निर्णय सदर गरेको नमिल्ने भन्ने ठहर भएको देखिन्छ ।

२.    अर्कोतर्फ वादी गौरी पराजुलीले आफूले पाएको शेषपछिको बकसपत्र बदर गरी पाउँ भनी फुलप्रसादले मुद्दा दिएकोमा सो बकस बदर हुन नसक्ने ठहरी अन्तिम फैसला भएको सो फैसला र बकसपत्रबाट मेरो हक भएको कोटेश्वर पं. वार्ड नं. ६(ख) कि.नं. ३७ को र कि.नं. ४९ को जग्गा र ऐ. पंचायत वार्ड नं. २(ख) को कि.नं. ७५ को जग्गा आफ्नो नाममा नामसारी गरी पाउँ भनी निजै फुलप्रसादलाई प्रतिवादी बनाई २०४२।१।३ मा मा.पो.का. काठमाडौंमा निवेदन दिएकोमा निज फुलप्रसादलाई झिकाइएकोमा निज फुलप्रसादले प्रस्तुत मुद्दामा पनि वादीले दावी लिएको जग्गा मेरो समेत हक लाग्ने हुँदा दावी बमोजिम दर्ता हुन नपर्ने भन्ने समेत व्यहोराको २०४२।५।२ मा निवेदन दिएकोमा ना.अं.अ. को फैसला र पास भएको बकस बमोजिम दावीको जग्गा दाखिल खारेज गरी दिने भनी एकै दिन अर्थात २०४२।८।१० मा निर्णय गरे उपर प्र.फुलप्रसादको एकै मिति २०४२।१०।१४ मा जि.का. काठमाडौंमा पुनरावेदन परेकोमा जि.का. काठमाडौंबाट विष्णुप्रसाद वादी भएको माथि उल्लेख भएको नामसारी मुद्दा किनारा भएकै दिन अर्थात २०४५।३।७ मा मा.पो.का. काठमाडौंको निर्णय मनासिब ठहर्‍याई निर्णय भएको उपर निज फुलप्रसादको २०४५।४।१० मा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन परी २०४५।११।१० मा अनुमति प्रदान भई २०४६।३।१ मा वादी विष्णुप्रसाद प्र.फुलप्रसाद भएको नामसारी मुद्दामा मा.पो.का. काठमाडौं र प्र.जि.अ.का. काठमाडौंको अधिकार क्षेत्रको अभावमा गरेको निर्णय बदर भई फैसला भएकोले यो मुद्दा पनि सोही मुद्दासँग सम्बन्ध देखिन आएको उक्त मुद्दामा लगाएको बूँदा प्रमाणको आधारमा मा.पो.का. काठमाडौं र प्र.जि.अ. ले गरेको निर्णय बदर हुने ठहर्छ भनी फैसला भए उपर वादी गौरी पराजुलीले सो म.क्षे.अ. को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी २०४६।४।४ मा निवेदन दिई पेश हुँदा यसमा मा.पो.का. को निर्णय उपर फूलप्रसादको पुनरावेदन परेको मा जि.का. काठमाडौंबाट २०४५।४।७ मा निर्णय भएको देखिन्छ । उक्त निर्णय उपर प्रतिवादी तर्फबाट पुनरावेदनको अनुमति पाउँ भनी परेको निवेदनमा २०४५।११।१० मा पुनरावेदनको अनुमति प्रदान भई २०४६।३।१ मा क्षे.अ. बाट फैसला भएको रहेछ । जिल्ला कार्यालयको निर्णय उपर म.क्षे.अ. मा अनुमतिको निवेदन लाग्न सक्ने न्या.प्र.सु. ऐन, २०३१ को दफा (४) को व्यवस्था ०४३।७।२४ को संशोधन पश्चात नरहेको प्रस्तुत मुद्दामा जि.का. बाट २०४५।३।७ मा निर्णय भई सो निर्णय उपर पुनरावेदनको लागि परेको अनुमतिको निवेदन दर्ता गरी जि.का. को निर्णय बदर गरेको म.क्षे.अ. को निर्णयमा अ.बं. ३५ नं. को त्रुटि देखिएको भन्ने आधारमा यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनमा दर्ता भई कारवाहीमा रहेको देखिन्छ ।

३.    यसरी एकै जना प्रतिवादी उपर दुई व्यक्तिले शेषपछिको बकसपत्रबाट र अंशबाट आफ्नो हक भएको भनी देखाई आफ्नो आफ्नो कित्ता आफ्नो आफ्नो नाउँमा नामसारी गरी पाउँ भनी मा.पो.का. मा छुट्टाछुट्टै निवेदन दिएकोमा प्र.ले दुवैमा अंशबाट आफ्नो समेत हक लाग्ने भनी देखाई दर्ता गर्न दिन बेमन्जूर भएको देखिन आएकोबाट दुवै वादीको दावीमा प्रतिवादीको एउटै जिकिर भएकोबाट प्रतिवादीको जिकिरबाट यो दुवै मुद्दा एकै लगाउको भन्ने स्पष्ट रहेकै उसमा पनि क्षे.अ. ले फैसला गर्दा पनि यी दुई मुद्दा एकै सम्बन्धको हो भनी देखाई एउटा फैसलाको मुद्दा देखाई अर्कोमा पनि ठहर गरेकोबाट पनि यी दुई मुद्दा एकै लगाउको हुन् भन्ने देखिन आएको छ । यसको अलावा वादी विष्णुप्रसादले म.क्षे.अ. को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी स.अ. मा निवेदन दिएको देखिँदैन तर म.क्षे.अ. को फैसला उपर वादी गौरी पराजुलीको स.अ. मा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन परी यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनमा दायर भई कारवाहीमा रहेको छ । सो पुनरावेदन पेश भई अनुमति प्रदान गर्दा लिइएको आधारमा गौरी पराजुली वादी भएको मुद्दामा क्षे.अ. को फैसला बदर भएमा एकै मितिमा फैसला भएको एकै प्रतिवादी सम्बन्धी विष्णुप्रसाद वादी भएको क्षे.अ. को फैसला अधिकार क्षेत्र बिनाको देखिइकन पनि बहाल रहन जाने अवस्था परेकोबाट पनि यी दुई मुद्दालाई असम्बन्धित भन्न नमिलेकोले भई आएका आदेश बमोजिम सोही व्यहोरा देखाई जाहेर गरी पठाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हिरण्येश्वरमान प्रधान

 

 

इति सम्वत् २०४७ साल असार १८ गते रोज शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु