शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१२९ - लुटपिट

भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक:

निर्णय नं. ४१२९     ने.का.प. २०४७          अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४६ सालको फौ.पु.नं. २८०

फैसला भएको मिति : २०४७।४।१०।४ मा

पुनरावेदक/वादी : जि.सप्तरी बोरीया गा.पं. वा.नं. ७ बस्ने गोसाई भन्ने वीरेन्द्रकुमार दास

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. मलठे गा.पं.वा.नं.१ बस्ने रतिलाल यादव

मुद्दा : लुटपिट

(१)    प्रतिवादीले वादी दावी बमोजिमको जग्गाको बाली लुटपिट गरेको छैन होइन भनी केही सबूद प्रमाण समेत गुजारेको देखिन आउँदैन साथै वादीको साक्षीहरुले फिराद मिलान गरी प्रतिवादीले लुटी लगेको भन्ने देखिन आएबाट शुरु तथा अञ्चल अदालतले वादी दावी बमोजिम लुटपिट ठहर गरेको इन्साफ मिलेकै देखिने ।

(प्रकरण नं. १३)

पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्द दाश सरस

फैसला

न्या.बब्बरप्रसाद सिंह

१.     पू.क्षे.अ. को मिति २०४४।३।१५ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुन आएकोमा पुनरावेदकले तारेख गुजारी डिसमिस भई पुनः डिसमिसबाट जगाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।

२.    मेरो नाउँ दर्ताका जि.सप्तरी गा.पं. वार्ड नं. ४(क) कि.नं. ४०८ को ०१०१३ जग्गामा लगाइएका धानबाली पाकी सकेपछि २०३७।९।१७।४ का दिन १०।११ बजे २५३० जना ज्यामी समेत लिई आई धानबाली लुटी प्रतिवादीले धान लगेकोले सो बालीको बिगो रु. १६४२। प्रतिवादीबाट दिलाई सजायँ गरिपाउँ भन्ने समेत फिरादपत्र ।

३.    वादी दावीको जग्गा दसन यादव मोही भई कमाएकोले बाली निजैले खाएकोले मैले लुटपिट गरेको छैन भन्ने समेत प्रतिउत्तरपत्र ।

४.    वादी दावीको जग्गाको दसन यादव कानुनी मोही नदेखिएको प्रतिवादीले प्रमाण नगुजारी तारेख छोडी बसेको वादीका साक्षीले दावी समर्थन गरी बकपत्र गरेको समेतबाट वादी दावीको जग्गामा प्रतिवादीले लुटपिट गरेको ठहर्छ भन्ने समेत सप्तरी जि.अ. को २०३८।११।२९।६ को फैसला ।

५.    सो फैसला उपर प्रतिवादी तर्फबाट परेको पुनरावेदनमा प्रतिवादीले लुटपिट गरेको ठहर्‍याएको शुरु जि.अ. को इन्साफ मनासिब ठहर्छ भन्ने समेत सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको २०३९।११।१७।३ को फैसला ।

६.    उक्त फैसला उपर पू.क्षे.अ. बाट पुनरावेदनको अनुमति प्रदान नभई श्री ५ महाराजाधिराजका जुनाफमा चढाएको बिन्तिपत्रमा इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई आएकोमा बिना कुनै कारण प्रयोजन प्रतिवादीले वादीको मोही दसन यादवसंग विवाद परिरहेको जग्गामा हात हाली लुटपिट गरेको सम्झनु न्यायोचित नदेखिँदा प्रतिवादीले लुटपिट गरेको ठहर्‍याएको शुरुको इन्साफ सदर गरेको सगरमाथा अञ्चल अदालतको इन्साफ गल्ती हुँदा उल्टी भई वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत पू.क्षे.अ. को २०४४।३।१५।२ को फैसला ।

७.    पू.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादीको निवेदनमा यस निवेदकको यिनै प्रतिवादी संगको लुटपिट मुद्दा नि.नं. ७८५ को निवेदनमा आजै यसै इजलासबाट पुनरावेदनको अनुमति प्रदान गरिएकोले प्रस्तुत निवेदन पनि लगाउको देखिएकोले न्या.प्र.सु. ऐन, २०३१ को संशोधन दफा १३(५)(ख)(ग) तथा उपदफा (७) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको २०४५।२।१८।३ को आदेश ।

८.    वादी पुनरावेदक गोसाई भन्ने वीरेन्द्रकुमार दासका वारेश शैलेन्द्रप्रसाद कर्णले मिति २०४५।९।२ को तारेख गुजारी बसेको र थमाउने पर्खने म्याद समेत बाँकी नरहेको तथा आजसम्म पनि थमाई ल्याएको समेत मिसिलबाट नदेखिएकोले प्रस्तुत मुद्दा डिसमिस हुने ठहर्छ भन्ने समेत यस अदालत संयुक्त इजलासको २०४६।१।२६।२ को डिसमिस फैसला ।

९.    हु.प्र. बाट म्याद थामी पाएको सूचना २०४६।२।१ मा टाँस भएको र २०४६।२।१५ देखि यस अदालतमा धरौटी तारेखमा बसेको हुँदा डिसमिस जगाउन २०४६।४।३० को टिप्पणी पेश भए अनुसार डिसमिस जगाई दिएको छ । प्रस्तुत मुद्दा फौज्दारी पुनरावेदन दायरीमा दर्ता गरी विपक्षीलाई ७ दिनको सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको २०४६।५।१ को आदेश बमोजिम फौज्दारी दायरीमा दर्ता भई आएको रहेछ ।

१०.    नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री शिवानन्द दास सरसले गर्नु भएको बहस जिकिर समेत सुनियो ।

११.    प्रस्तुत मुद्दामा पू.क्षे.अ. ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

१२.   यसमा मेरो नाउँ दर्ताको मलेठ गा.पं. वार्ड नं. ४(क) को कि.नं. ४०८ को ०१०१३ जग्गाको धानबाली २०३७।९।१७ गते विपक्षी समेत भई लुटपिट गरी लगेकोले बिगो रु. १६४२।दिलाई सजायँ समेत गरिपाउँ भन्ने वादीको दावी भएकोमा वादीको जग्गाको मोही दसन यादव भएको र सगोलको बाली निजैले खाएकोले मैले लुटपिट गरेको छैन भन्ने प्रतिवादी जिकिर भएको देखिन्छ ।

१३.   प्रतिवादीले जिकिर लिए बमोजिम संयुक्त इजलासको मिति २०४४।९।२९ को आदेश बमोजिम वादी दसन यादव विपक्षी प्रतिवादी गोसाई भन्ने वीरेन्द्रकुमार दास भएको मोही हकको प्रमाणपत्र पाउँ भन्ने मुद्दाको भू.सु.का. सप्तरीमा मिलापत्र भएको भनेको इजलास समक्ष पेश हुन आएको उक्त मिसिलमा रहेको मिलापत्र व्यहोरा हेर्दा दुवै थर झगडियाले घरसारमा मिली आएको व्यहोरा यो छ कि म वादीले दावी गरेको उपरोक्त चौहद्दीका गा.पं. मलेन वार्ड नं. ४(क) कि.नं. ४०८ को ज.वि. ०१०१३ जग्गा वास्तवमा मैले सो जग्गा आजसम्म कमाएको छैन । भूलबाट ४ नं. जो.अ.नि. पाएको छु सर्भेमा दर्ता गराएको छैन गाउँ घरका मानिसहरुको बहकावमा पारी मोही दर्ता गरी प्रमाणपत्र पाउँ भनी उजूर निवेदन दिएको जग्गा अनाहकमा कब्जा गर्न उचित नभएको सम्झी निवेदनमा लेखिएको मोहीको सम्पूर्ण दावी छोडी मिल्न म निवेदक वादी मन्जूर भएको र वादीले निवेदनमा दावी लिएको जग्गाको मोही दावी छोडी मिलेमा म प्रतिवादी पनि मन्जूर भएकोले सो बमोजिम वादीबाट दावा छोडाई मोही लगत समेत कट्टा गर्ने गरी मुद्दा मिलापत्र गरौं भनी भू.सु.का. सप्तरीमा २०३९।१।७।३ मा मिलापत्र भएको देखिन आएबाट मोही दसन यादवले बाली खाएको भन्ने देखिन नआई प्रतिवादीले लुटी लगेको भन्ने अवस्था देखिन आएको र प्रतिवादीले वादी दावी बमोजिमको जग्गाको बाली लुटपिट गरेको छैन होइन भनी केही सबूद प्रमाण समेत गुजारेको देखिन आउँदैन साथै वादीको साक्षीहरुले फिराद मिलान गरी प्रतिवादीले लुटी लगेको भन्ने देखिन आएबाट शुरु तथा अञ्चल अदालतले वादी दावी बमोजिम लुटपिट ठहर गरेको इन्साफ मिलेकै देखिन आएकोले मनासिब ठहर्छ । लुटपिट नठहर्ने गरेको पू.क्षे.अ. को इन्साफ उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम पू.क्षे.अ.को २०४४।३।१५ का फैसलाले गर्ने गरेको सम्पूर्ण लगत कट्टा हुने हुँदा उक्त लगत कट्टा गरी दिनु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...१, माथि इन्साफ खण्डमा लेखिए बमोजिम बिगो रु. १६४२। को बिगो प्रतिवादीले लुटपिट गरेको ठहरेकोले लुटपिटका ४ नं. बमोजिम सयकडा २०। ले रु. ३२८।४० जरिवाना गरी अञ्चल अदालतले अ.बं. २०३ बमोजिम रु. ३२।८४ समेत जम्मा रु. ३६१।२४ प्रतिवादीलाई जरिवाना गरी लगत कसी प्र.ले अञ्चलमा धरौट राखेको कट्टा गरी कायम गरेको लगत मिलेकै हुँदा सो बमोजिम गर्न शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...२, बिगो रु. १६४२ प्रतिवादीबाट भराई पाउँ भनी वादीको म्याद भित्र जेथा देखाई दर्खास्त पर्न आए ऐन बमोजिम वादीलाई भराई दिनु भनी शुरु जि.अ. मा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु...३, मिसिल नियम बमोजिम गरी बुझाई दिनु...४

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४७ साल श्रावण १० गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु