निर्णय नं. ४१३१ - दोहराई हरहिसाब गरी पाउँ

निर्णय नं. ४१३१ ने.का.प. २०४७ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४५ सालको दे.पु.नं. ९५७, ९३२
फैसला भएको मिति : २०४७।४।१४।१ मा
पुनरावेदक/वादी : चन्द्रनहर नविकरण बिस्तार पम्प नहर तथा कोशी पश्चिमी नहर वितरण प्रणाली आयोजना कार्यालय तथा सो कार्यालयका प्रोजेक्ट मैनेजर नन्दकिशोर अग्रवालको हाल इन्द्रबहादुर श्रेष्ठ
विरुद्ध
विपक्षी/वादी : लहान न.पं. वा.नं. ७ बस्ने परमेश्वर मुरारका
पुनरावेदक/वादी : लहान न.पं. वा.नं. ७ बस्ने परमेश्वर मुरारका
विरुद्ध
विपक्षी/प्रतिवादी : चन्द्रनहर नवीकरण विस्तार पम्प नहर तथा पश्चिम कोशी नहर वितरण प्रणाली आयोजना कार्यालय तथा ऐ. कार्यालयको प्रोजेक्ट मैनेजर नन्दकिशोर अग्रवाल
मुद्दा : दोहराई हरहिसाब गरी पाउँ
(१) सम्झौताको दफाबाट जे सरल र स्वाभाविक अर्थ निक्लिन्छ त्यसको सोही अर्थ गर्नुपर्ने ।
(प्रकरण नं. १८)
(२) शर्तनामा बमोजिम कम्ती दिनुपर्ने रहेछ भने बढी दिने स्थिति नहुने ।
(प्रकरण नं. १९)
पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुबहादुर राउत र विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. पू.क्षे.अ. को फैसलामा चित्त नबुझी दुवै पक्षको पुनरावेदन परी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।
२. विपक्षी आयोजना कार्यालय तर्फबाट विपक्षी आयोजनाको प्रोजेक्ट मेनेजर मुरारका कन्स्ट्रक्सनका तर्फबाट परमेश्वर मुरारकाले २०३५।९।२५ मा हस्ताक्षर गरी २५ से.मि. १२ से.मि. ७ से.मि. आकारको प्रथम श्रेणीको ईंटा प्रतिहजार रु. १९१।– का दरले ७५ लाख संख्या मोल रु. चौध लाख बत्तिस हजार पाँच सयको र द्वितीय श्रेणी उल्लेख गरेकै आकारको २५ लाख संख्या ईंटा प्रति हजार रु. १६१।– का दरले जम्मा मोल रु. चार लाख दुई हजार पाँच सयको ईंटाटायल ३० से.मि. १५ से.मि. ५ से.मि. को प्रतिहजार रु. २९१।– का दरले प्रथम श्रेणीको ईंटाटायल ७५ लाखको मोल रु. २१ लाख बयासी हजार पाँच सयको र द्वितीय श्रेणीको उल्लेख गरेकै आकारको ईंटाटायल प्रति हजार रु. २६५।– का दरले मोल रु. नौ लाख चौवन्न हजार ईंटाको निर्माण गरी पोली तयार गर्ने थाक लगाउने र ईंटा पोल्नका लागि प्रति एक लाखमा ३० मेट्रिक टन कोइला विपक्षी आयोजना कार्यालयले बिना मूल्यमा उपलब्ध गराउने अनुबन्धन गरी सम्झौता गरी पक्ष विपक्षको बीचमा सोही मितिमा करार भएको थियो । विपक्षीसंग करार गरेपछि मैले ईंटाटायल गरी १,२६,९६,९०३ काँचो ईंटा पोलेको छु । सो पोल्नका लागि जम्मा कोइला ४८२४–८५० चार हजार आठ सय चौबीस मेट्रिक टन आठ क्वीन्टल पचास के.जी. सरदर ३८ मेट्रिक टनको हिसाबले लाग्नु पर्ने, जम्मा आयोजनासंग मैले ४२८४–४९७ चार हजार दुई सय चौरासी मेट्रिक टन चार क्वीन्टल सन्तान्नब्बे के.जी. मात्र प्राप्त गरेको छु । कोइलाको मूल्य कटाई लिने सम्झौता शर्त छैन । ईंटाटायल पोल्न प्रति लाख कतिको कोइला दिने हो सो सम्झौतामा खुलेको छैन । तर उक्त कार्यालयको निरीक्षणमा भएको काम भएकोले उक्त आयोजनाका इन्जिनियर समेतले ०३८।११।६ मा दर्ता नं. ७१२ को ईंटा खपत बारेमा दिएको प्रतिवेदन अनुसार ३८ मेट्रिक टन पोल्न लाग्यो भनी दिएको प्रतिवेदनबाट प्रष्ट भइरहेको छ । वास्तविक खपतको हिसाबबाट देखिन आयो । यस प्रकार जम्मा ईंटाटायल ९४१४६०३ काँचोलाई पोलेकोबाट प्रथम श्रेणीको टायल ५६,९६,५८३ र द्वितीय श्रेणीको टायल १५,४५,४२० र जम्मा ३१,८२,३०० ईंटा पोलेकोबाट प्रथम श्रेणीको ईंटा १७,२२,६५९ र द्वितीय श्रेणीको ईंटा ८,०२,१८८ तैयार भयो यस अनुसार ईंटाटायल प्रथम श्रेणीको मोल रु. १६,५७,७५०।६५ सोह्र लाख सन्ताउन्न हजार सात सय पचास पैसा पैसठ्ठी द्वितीय श्रेणीको ईंटाटायल मोल रु. ४,०९,५३६।३३ चार लाख नौ हजार पाँच सय छत्तीस पैंसा तेत्तीस प्रथम श्रेणीको ईंटाको मोल रु. ३,२९,०२७।९६ तीन लाख उन्नतीस हजार सत्ताइस पैसा छयानब्बे, द्वितीय श्रेणीको ईंटाको मोल रु. १,२९,१५२।२६ एक लाख उन्नतीस हजार एक सय बाउन्न पैसा छब्बीस समेत जम्मा रु. २५,२५,४२२।२० पच्चीस लाख पच्चीस हजार चार बाइस पैसा बीसको ईंटा र ईंटाटायलको आपूर्ति गरेको छु । जसमध्ये मैले २२८३६७३।४१ बाइस लाख त्रियासी हजार छ सय त्रिहत्तर पैसा एकचालीस भुक्तान पाएको छु । विपक्षीसंग मैले भुक्तान पाउन बाँकी रु. २,४१,७४८।७९ दुईलाख एकचालिस हजार सातसय अठचालीस पैसा उनान्असी धरौटी रनिंग बीलबाट कट्टा भई धरौटी रहेको रु. १,६७,४३६।०२ एकलाख सडसठ्ठी हजार चार सय छत्तीस पैसा दुई बैंक ग्यारेण्टी नं. २०।२२ बाट रु. ५७,५००।– सन्ताउन्न हजार पाँच सय, बैंक ग्यारेण्टी नं. २०।२१ को रकम ६७,५००।– सडसठ्ठी हजार पाँचसय, बैंक ग्यारेण्टी नं. २०।२३ को ५८,०००।– अन्ठाउन्न हजार, बैंक ग्यारेण्टी नं. ४३।०२ को ६७,०००।– सडसठ्ठी हजार समेत गरी जम्मा २,५०,०००।– दुईलाख पचास हजार बढी कोयला ५४०–३५३ को मोल रु. ९६८ प्रति मेट्रिक टनले हुने रु. ५,२३,०६१।६८ समेत जम्मा ११,८२,२४६।४९ एघार लाख बयासी हजार दुई सय छयालीस पैसा उनन्चासमध्ये धरौटी र आयकर बापत ११,५०५।४८ कट्टा गर्दा बाँकी रु. ११,७१,७४१।०१ एघार लाख एकहत्तर हजार सात सय एकचालीस रुपैयाँ पैसा एकको हिसाब विपक्षीकै जिम्मामा रहेको र विपक्षीबाट मैले पाउनु पर्नेमा विपक्षीले मिति २०४१।१०।२९ मा गरेको हिसाबमा सम्झौताको कुनै पनि दफामा कोयलाको मोल असूल गर्ने शर्त नरहेकोमा मनमानी ढंगबाट शर्त बाहेक पनि कोयलाको हिसाब असूल गर्ने निश्चय गरिएको पनि सो कोयलाको हिसाब नै गलत किसिमबाट गरिएको छ । विपक्षीसंग मैले ५४०–३५३ मेट्रिकटन कोइला पाउन बाँकी रहनुका अतिरिक्त विपक्षीसंग मैले धरौटी र करको रकम रु. ११,५०५।४८ बाहेक गरी रु. ६,४६,६६९।४३ छ लाख छयालीस हजार छ सय उन्नसत्तरी पैसा त्रिचालीस पाउन बाँकी रहेकोमा विपक्षीले उल्टै म बाट रु. १,३९,२२२।९१ एक लाख उनन्चालीस हजार दुईसय बाइस रुपैयाँ पैसा एकानब्बे घर घरानाबाट असूल गर्ने र मेरो बैंक ग्यारेन्टीको रकम र भुक्तानी पाउन बाँकी रकम समेत जफत गर्ने गरी एकपक्षीय हिसाब गरेकोमा मेरो चित्त नबुझेको हुँदा दोहराई हर हिसाब गराई माग्नका लागि नागरिक अधिकार ऐन, २०१२ को दफा १८ बमोजिम यो फिरादपत्र प्रेषित गरेको छु । विपक्षीहरुलाई यस अदालतबाट झिकी मसंग जोडी मेरो तपसीलको साक्षी सबूत प्रमाण र मन्त्रिपरिषद्को निर्णय सम्झौताको शर्त सोही कार्यालयका इन्जिनियर समेतको मिति २०३८।११।६ दर्ता नं. ७१२ को पत्र समेतको आधारमा र काँचो ईंटा समेत पोलेको आधारमा दोहराई हर हिसाब गर्न लगाई राखेको कोर्टफी समेत दिलाई भराई पाउँ भन्ने समेत फिरादपत्र ।
३. वादी लेख मिथ्या एवं बनावटी हो । तथ्यलाई गलत रुपमा प्रस्तुतीकरण गरी फिराद आएको छ । एकातर्फ इटाटायल पोल्नको लागि ५४०–३५३ मे.टन बढी कोइला लागेको सो कोइलाको मोल रु. ५,२३,०६१।६८ हुने भनी उल्लेख छ भने अर्कोतर्फ फिरादको प्रकरण सातपाना सातमा दावी गर्दा ११,७१,७४१।०१ विपक्षीको जिम्मा रहेको धरौटी रकम ११,५०५।– बाहेक गरी रु. ६,४६,६५९।४३ पाउन बाँकी रहेको भनी उल्लेख छ, जसबाट विपक्षीले पाउने रकममा उक्त ५४०–३५३ मे.टनको मोल समावेश छैन । यसबाट पनि फजुल रुपमा उक्त कोइलाको मोल देखाइएकोछ भन्ने सिद्ध भइरहेको छ ।
४. प्रस्तुत मुद्दामा मूल रुपमा कोइलाको नै विवाद छ, फिराद प्रकरण ६(ट) मा ४२,८४,४९७ मे.ट. कोइला प्राप्त गरी सकेकोमा कुनै विवाद छैन । सम्झौताको शर्त अनुसार प्रतिलाख ईटा र ईंटा टायलको ३० मे.टन कोइला दिइने भन्नेछ, जस अनुसार विपक्षीबाट हामीलाई आएको १ नं. ईंटाटायल ५६,९६,५८३, २ नं. ईंटाटायल १५४५४२० गरी जम्मा ७२४२००३ र १ नं. ईंटा १७,२२,६५९, २ नं. ईंटा ८०२१८८ गरी जम्मा २५,२४,८४७ को हिसाबबाट २९३० मे.टन कोइला यस आयोजनाले सम्झौता अनुसार विपक्षीलाई दिनु पर्ने हो । ईंटाको संख्या फिरादपत्रमा उल्लेख भएको छ । त्यसमा विवाद छैन, तर विपक्षीले ४२८४.४९७ प्राप्त गरेको भएपछि १३५४.४४२ मे.टन विपक्षी जिम्मा बढी गएको छ जुन विपक्षीको आयोजना प्रति दायित्व हो । कोइलाको हिसाब गरेको भन्ने विपक्षीको दावी छ, मलाई सप्लाई गरेको ईंटा तथा टायलको आधारमा प्रतिलाख ३० मे.टनमा हिसाब गरिएको छैन । सम्झौता अनुरुप सित्तैमा उपलब्ध भएको छ । तर प्रकरण २ मा उल्लेख भएको १३५४.४४२ मे.टनको कोइलाको आयोजनालाई लागेको वास्तविक मोल लिएको ठेकेदारको धरौटी बैंक ग्यारेन्टी भुक्तानी दिन कटाई खूद लिन बाँकी रु. १,३९,२२२।९१ छ यसरी उपरोक्त हिसाबबाट केवल कोइलाको मोल जुन आयोजनाले बढी विपक्षीलाई दिएको छ, सो को मात्र हिसाब राखिएको छ । कोइला सप्लाई गरेको हिसाब सम्पूर्ण कुरा विपक्षीले स्वीकार गरेको कुरा हो, कुनै हिसाब गर्नु पर्ने आवश्यकता छैन, देखिँदैन । प्रस्तुत मुद्दा नागरिक अधिकार ऐन, २०१२ दफा १८ बमोजिम आएको पाउँछौं । सो दफामा हरहिसाब गर्ने भन्ने उल्लेख भएको छैन । नोक्सानीको बिगोमा आउनु पर्ने भन्ने उल्लेख छ । तसर्थ यो फिराद नै कानुन विपरीत छ ठेक्काको अवधि समाप्त भएकोले विपक्षलाई प्रचलन गराउने कुरा पनि छैन । सबूद प्रमाण बुझी झुठ्ठा दावाबाट अलग गराई पाउँ भन्ने समेत प्रतिउत्तर ।
५. आयोजनाले २०४१।३।४ मा एउटा अंक २०४१।१०।२९ मा बेगल बेगल अंक कायम गरी ठेकेदारलाई लेखेको पत्रबाट पनि आयोजनाले आफैं राम्रो हिसाब यकीन गर्न नसकेको प्रष्ट छ । वादीले यति नै हिसाब थप दिलाई पाउँ भनी कोर्टफी राखी नआएको र यो भन्दा बढी लिनु दिनु छैन भन्नु भन्दा दोहराई हर हिसाब गरी पाउँ भन्ने दावी हुँदा उपरोक्त निर्णयलाई मध्य नजर राखी वादीसंगको हिसाब किताब प्रतिवादी आयोजनाले राम्रोसंग दोहोराई गरी दिने ठहर्छ भन्ने सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको २०४३।५।१७।३ को फैसला ।
६. सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चबाट हामीलाई हराई फैसला गर्नु भएकोमा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादीहरुको पू.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।
७. यसमा वादीले अदालतबाट हरहिसाब गरी पाउँ भनी दावी लिएको नदेखिई दोहोराई हर हिसाब गर्न लगाई पाउँ भनी दावी लिएको सो हर हिसाब ठीक बेठीक अदालतबाट बोलिरहनु पर्ने देखिँदैन । कोइलाको सम्बन्धमा सगरमाथा अञ्चल अदालतबाट इन्साफमा बढी बोलिएको देखिएकोले त्यति हदसम्मको स.अं.अ. को इन्साफ बदर भई प्रतिवादीले दोहोर्याई हर हिसाब गरिदिनु पर्ने ठहराएको हदसम्मको स.अं.अ. राजविराज बेञ्चको इन्साफ मनासिब ठहर्छ भन्ने पू.क्षे.अ.को फैसला ।
८. पू.क्षे.अ. को इन्साफमा चित्त नबुझी दुवै पक्षको यस अदालतमा दर्ता हुन आएको पुनरावेदनपत्र ।
९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक वादीतर्फका अधिवक्ता श्री विष्णुबहादुर राउत र विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्कीले २०४०।१२।१५ मा हामीसंगको हरहिसाब फर फारक गरिदिने भनी मन्त्री परिषद्को निर्णय भयो । २०४१।३।४ र २०४१।१०।२९ मा दुइपत्र पठायो । २०४१।१०।२९ को पत्रमा ठेक्का अन्तिम गरेको जानकारीको साथै मेरो पक्षको बैंक ग्यारेन्टीबाट रकम असूल उपर गर्ने र बाँकी रकम घर घरानाबाट असूल उपर गर्ने कुरा उल्लेख छ । सम्झौताको । दफा ११ मा “सरोकारवाला इन्जिनियर तथा ठेकेदारको राय बाझेमा वा झगडा भएमा समितिले निपटारा गर्ने” भन्ने छ । तर यो सरोकार करारवाला इन्जिनियर तथा ठेकेदारको बीचको राय बाझेमा वा झगडा भएमा समितिले निपटारा गर्ने भन्ने छ । तर यो सरोकार करारवाला इन्जिनियर तथा ठेकेदारको बीचको राय बाझेको वा झगडा भएको होइन । प्रोजेक्टसंग हिसाब नमिलेकोले प्रस्तुत मुद्दाको सृजना भएको हो । ठेक्का सम्झौता श्री ५ को सरकारसंग भएकोले प्रस्तुत मुद्दामा नागरिक अधिकार ऐन लाग्दछ । करारको शर्त २.०८ मा “Coal for burning” भनेको छ । सो भन्नाले इट पोल्नको लागि दिइने हो । काँचो इट पोलिन्छ । उक्त कुराको पुष्टि २०३८।११।६ को रिपोर्टबाट पनि भएको देखिन्छ । ईंटा र ईंटाटायल पोल्नको लागि कोइला दिइने हो । कोइला बिना मौका दिइने भन्ने शर्त छ । कोइलाको रुपैयाँ लिने शर्त छैन । शर्तनामामा प्रतिलाख ईंटाको लागि ३० मेट्रिक टन कोइला दिने भने पनि कमसल कोइला दिएकोले बढी कोइला लाग्यो । मेरो पक्षले सो कुरा दर्शाई निवेदन दियो । प्रतिवेदनमा ३८ मे.टन प्रतिलाख ईंटा पोल्न लाग्दछ भनियो । काँचो इटा पोल्नको लागि कोइला दिनु पर्नेमा पाको इटाको आपूर्तिको हिसाबबाट कोइलाको हिसाब गरियो । कोइलाको मोल दिने नै शर्त छैन भने कोइलाको मोल मेरो पक्षको जिम्मामा छ भनेको मिलेको छैन । हरहिसाब एक पक्षीय गरियो । विपक्षीले लेखेको २०४०।१२।१५ र २०४४।१०।२९ को पत्रबाटै हिसाब नमिलेको देखिन्छ । दोहोराई हरहिसाब गरी पाउँ भनी आउन कोर्टफी ऐनको दफा ६(७) ले समेत मिल्ने हुँदा दोहोर्याई हरहिसाब गरिदिनु पर्छ भन्ने बहस प्रस्तुत गर्नु भयो ।
१०. विपक्षी आयोजनाको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेलले प्रतिलाख ३० मेट्रिक टनको दरले कोइला दिने भन्ने छ । ईंटा पोल्नको लागि कोइला दिने भन्ने सम्झौतामा लेखाई छैन । ०३८।११।६ मा इन्जिनियरले १ लाख ईटा पोल्न ३८ टन कोइला लाग्छ भनी रिपोर्ट दिए पनि सो दिने भन्ने निर्णय भइसकेको छैन । दोहोराई हरहिसाब गरी पाउँ भन्ने दावी छ, यसरी अदालतमा प्रवेश गर्न मिल्दैन, यति रकम लिन बाँकी हुँदा बाँकी रकम भराई पाउँ भनी आउनु पर्ने हो । यसमा सम्मानीत अदालतबाट ने.का.प. २०४४, पृष्ठ ४१, नि.नं. ३०६३, वादी सोमराज, विरुद्ध ने.औ. वि.क. भएको मुद्दामा सिद्धान्त प्रतिपादन भइसकेको छ । वादी नागरिक अधिकार ऐन, २०१२ अन्तर्गत आउन पाउने होइन । यो आयोजना विकास समिति ऐन अन्तर्गत स्थापना भएकोले सम्झौताको दफा ११ बमोजिम यो विवादको निपटारा समितिले गर्ने हो । माग नगरेको हुँदा दोहोराई हिसाब गर्नुपर्ने होइन भनी बहस प्रस्तुत गर्नु भयो ।
११. यसमा पू.क्षे.अ.को इन्साफ मनासिब बेमनासिब के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।
१२. यसमा निर्णयतर्फ विचार गर्दा काँचो ईंटाटायल ९,४१,४६० र काँचो ईंटा ३२,८२,३०० समेत जम्मा १,२६,९६,९०३ पोल्न तैयार गरी सो पोली प्रथम श्रेणीको इटाटायल ५६९६५८३ र द्वितीय श्रेणीको ईंटाटायल १५४५४२० समेत जम्मा ७२४२००३ ईंटाटायल र प्रथम श्रेणीको ईंटा १७,२२,६५९ र द्वितीय श्रेणीको १०२१८८ समेत जम्मा २५२४८४७ ईंटा तैयार पारी आपूर्ति भएको छ । उक्त आपूर्ति भएको ईंटाटायल र ईंटाको जम्मा रु. २५,२४,४२२।२० हुन्छ, जसमध्ये रु. २२,८३,६७३।४१ मैले भुक्तान पाएकोले बाँकी रु. २४१७४८।७९ बाँकी छ । काँचो इटाटायल र इटा समेत गरी जम्मा १,२६,९६,९०३ पोलिएको र सो पोल्नको लागि विपक्षी तर्फबाट रहेको इन्जिनियर समेतको २०३८।११।६ को प्रतिवेदनबाट प्रतिलाख ईंटा र ईंटाटायल पोल्न ३८ मेट्रिकटन कोइलाको दरले जम्मा कोइला ४८२४८५० लाग्दछ सो मध्ये मैले ४२८४.४९७ मेट्रिक टन कोइला प्राप्त गरें । बाँकी ५४०.३५३ मेट्रिक टन कोइला प्राप्त गर्न बाँकी छ सो को प्रति मेट्रिक टन रु. ९६८।– का दरले रु. ५,२३,०६१।६८ समेत हुन्छ । ईंटाटायल र इटा पोल्नको लागि विपक्षी कार्यालयले कोइला बिना मूल्यमा उपलब्ध गराउने करारको शर्त नं. २.०८ मा छ । विपक्षीले कोइला दिने र मैले ईंटा र इटाटायल पोली दिने हो । धरौटी रकम बैंक ग्यारेण्टी र उपरोक्त रकम समेत विपक्षकै जिम्मामा रहेको छ । विपक्षीसंग मैले ५४०.३५३ मेट्रिक टन कोइलाको पाउन बाँकीका अतिरिक्त मैले विपक्षीबाट पाउने धरौटी रकम समेत कर रु. ११,५०५।४८ बाहेक गरी रु. ६४,६६९।४३ पाउन बाँकी रहेकोमा विपक्षीले कोइलाको हिसाब गलत तरीकाबाट गरी रु. १,३९,२२२।९१ असूल गर्न मेरो बैंक ग्यारेण्टीको रकम र भुक्तानी पाउने बाँकी रकम समेत जफत गर्ने गरेको एकपक्षीय हिसाब नमिलेकाले मिति २०३८।११।६ को पत्र समेतको आधारमा र काँचो ईंटा समेत पोलेको आधारमा दोहराई हर हिसाब गरी पाउँ भन्ने वादीको मुख्य फिराद जिकिर देखिन्छ ।
१३. आफ्नो फिरादमा लेखे बमोजिम विपक्षीलाई वादीले ईंटाटायल र ईंटा आपूर्ति गरेकोमा र काँचो ईंटाटायल र काँचो इटा समेत गरी जम्मा १,२६,९६,९०३ पोलेकोमा आफ्नो प्रतिउत्तरमा खण्डन गर्न नसकी सो लाई प्रतिवादीले स्वीकार गरेको पाइन्छ ।
१४. कोइलाको हकमा सम्झौताको शर्त अनुसार प्रतिलाख ईंटा र ईंटाटायलको ३० मेट्रिक टन कोइला दिने हो । सो अनुसार प्राप्त ईंटाटायल ८,२४,२०० र ईंटा २५,२४,८४७ को २९३० मेट्रिक टन कोइला हुन आउँछ । त्यति विपक्षीलाई दिनुपर्ने हो । विपक्षीले ४२८४.४९७ कोयला प्राप्त गरी सकेकोले १३५४.४४२ मे.टन कोइला विपक्षीको जिम्मामा छ भनी प्रतिवाद गरेको देखिन्छ । अतः काँचो ईंटा र काँचो ईंटाटायल पोलेको हिसाबको आधारमा वादी दावी बमोजिम दोहराई हरहिसाब हुने वा प्रतिवादीले प्राप्त गरेको ईंटाटायल र ईंटाको हिसाबको आधारमा कोइलाको हिसाब हुने रहेछ सो कुराको नै मूल विवादको रुपमा रहेको र के कति मूल्य लिई या बिना मूल्यमा त्यस्तो कोइला पाउने रहेछ सो नै दुवै पक्षको बीचको झगडा रहेछ ।
१५. वादीले काँचो ईंटा र काँचो ईंटाटायल पोल्नका लागि प्रतिलाख ३८ मेट्रिक टनको दरले कोइला पाउने हो भन्दै सो हिसाब विपक्षीले गरेको हिसाब नमिलेको भनी दोहोर्याई हिसाब गरी पाउन फिराद दावी गरेको छ भने प्रतिवादीले प्राप्त गरेको ईंटा र ईंटाटायलको हिसाबबाट प्रतिलाख ३० मे.टन. कोइला पाउने हिसाब गर्दै वादीबाट प्रतिवादीले खूद रुपैयाँ लिन बाँकी छ भनेको पाइन्छ । यसको साथै नागरिक अधिकार ऐन, २०१२ को दफा १८ बमोजिम यो फिराद लाग्ने होइन भनी प्रतिवादीले आफ्नो प्रतिवादी लेखमा लेखेको र सिंचाई विकास समितिबाट सम्झौता भएकोले सम्झौताको दफा ११ बमोजिम यो विवादको निपटारा समितिबाट हुनुपर्छ भन्ने प्रतिवादी पुनरावेदकतर्फका विद्वान अधिवक्ताको बहस समेत भएकोले सर्वप्रथम सो तर्फ हेर्दा टेण्डर शर्तको सम्झौताको दफा ११ मा सरोकारवाला इन्जिनियर तथा ठेकेदारको राय बाझेमा वा झगडा भएमा विकास समितिको निर्णय अन्तिम हुनेछ भन्ने लेखिएको पाइन्छ ।
१६. तर प्रस्तुत झगडा सरोकारवाला इन्जिनियर तथा ठेकेदारको बीचमा भएको देखिन्न । सरोकारवाला इन्जिनियर र ठेकदारको बीच राय बाझेको पनि देखिन्न । यस्तो अवस्थामा प्रस्तुत केशमा उक्त दफा ११ आकर्षित हुने स्थिति देखिएन । प्रस्तुत एग्रीमेन्ट सिंचाई विकास समिति र ठेकेदार मुरारका कन्सट्रक्सनको बीचमा नभई श्री ५ को सरकार डिपार्टमेन्ट अफ इरिगेशन हाइड्रोलोजी र मेट्रोलोजीको बीच र ठेकेदार मुरारका कन्सट्रक्सनको बीचमा भई त्यस्तो सम्झौतामा श्री ५ को सरकारका तर्फबाट हस्ताक्षर भएको पाइन्छ । श्री ५ को सरकारको तर्फबाट भएको सम्झौतामा श्री ५ को सरकारको नै दायित्व हुन्छ । हरहिसाबको विषयलाई लिएर मिति २०४०।११।१५ मा जाँचबुझ गरी हिसाब फस्र्याई दिनु भनी श्री ५ को सरकार मन्त्री परिषद्वाट समेत निर्णय भएकोले श्री ५ को सरकारलाई पन्छाउन मिल्दैन । ठेक्का पट्टामा अरु कुनै अधिकारीबाट झगडा निपटारा गर्ने व्यवस्था गरिएको छैन भने श्री ५ को सरकारसंगको ठेक्का सम्बन्धी हकमा बाधा विरोध भएमा सो हक प्रचलन गराई पाउन नागरिक अधिकार ऐन, २०१२ को दफा १८ अन्तर्गत नालेश लाग्न सक्ने कानुनी व्यवस्था भएको सम्बन्धमा गरिएको कामको सिलसिलामा भए गरेको हिसाब नमिलेको भन्दै सो सम्बन्धमा हक प्रचलन गराई पाउन कोर्टफी ऐन, ०१७ को दफा ६ को देहाय (ख) को उपदेहाय २ को ७ लाई समेत आधार बनाई परेको प्रस्तुत फिराद देखिँदा श्री ५ को सरकारलाई पक्ष गराएको मिलेन र फिराद लाग्दैन भन्न मिलेन ।
१७. अब औचित्यतर्फ हेर्दा यी दुवै पक्षको बीच भएको ०३५।९।२५ को सम्झौताको दफा २.०८ मा Coal for burning bricks will be arranged and supplied by the project authority at the rate of 30 M.t. Perlac of bricks free of cost भन्ने रहेछ ।
१८. उपरोक्त कानुनी प्रावधानबाट पोल्नको लागि कोइला दिने भन्ने शर्त रहेको देखिन्छ । ईंटा र टायल काँचो पोलिने हो । पाकेको पोलिने होइन । काँचो ईंटा पोल्नको लागि कोइलाको आवश्यकता पर्छ । यस्तो अवस्थामा पाकेको तयार भएको आपूर्ति गरिएको ईंटा र ईंटाटायलको हिसाबबाट कोइला दिने भन्न मिल्ने देखिन्न । सम्झौताको दफाबाट जे सरल र स्वाभाविक अर्थ निक्लिन्छ त्यसको सोही अर्थ गर्नुपर्छ । उक्त सम्झौतामा पाकेको तैयार भएको ईंटा र ईंटाटायलको हिसाबबाट कोइला दिने भन्ने लेखिएको छैन । सम्झौतामा नै पाकेको ईंटा र ईंटाटायलको हिसाबबाट कोइला दिइनेछ भन्ने लेखिएको छैन भने पाकेको ईंटा र ईंटाटायलको हिसाबबाट कोइला दिने हो भन्ने अर्थ गर्न मिल्दैन । अतः पाकेको तैयार भएको आपूर्ति भएको ईंटा र इटाटायलको हिसाबबाट विपक्षले देखाएको हिसाब मिलेको भन्न मिलेन ।
१९. अब के कति कोइला काँचो ईंटा र ईंटाटायल पोल्नको लागि पाउने व्यवस्था रहेछ भनी हेर्दा सम्झौताको दफा २.०८ को अन्तिम प्रकरणमा प्रतिलाख ३० मेट्रिकटनको दरले कोइला प्राप्त गराइने लेखेको देखिन्छ । तर प्राप्त भएको कोइलाको गुणस्तर कम भएकोले प्रतिलाख ३० मेट्रिकटन कोइलाले पुग्दैन भन्ने वादी पक्षको निवेदनको फलस्वरुप प्रतिवादी पक्षबाट रहेका इन्जिनियर समेतको ०३८।११।६ को प्रतिवेदनबाट प्रतिलाख ईंटा पोल्न ३८ मेट्रिक टनको कोइला लाग्छ भनी राय प्रतिवेदन भएको पाइन्छ । कोइला राम्रो गुणस्तरको छैन भने ईंटा पोल्नका लागि बढी कोइला लाग्छ यो सामान्य कुरा हो । यसै कुरालाई मध्य नजर राखी ईंटा पोल्न कति कोइला लाग्ने रहेछ भनी ईंटा पोली हेरी ०३८।११।६ मा प्रतिवेदन भएको पनि पाइन्छ । विपक्षी प्रतिवादीबाट पनि ४२८४.४९७ कोइला वादी पक्षलाई प्राप्त गराइसकेको भनी आफ्नै प्रतिउत्तरमा स्वीकारै गरेको देखिन्छ । शर्तनामा बमोजिम कम्ती कोइला दिनु पर्ने रहेछ भने बढी कोइला दिने स्थिति हुँदैन । सम्झौता शर्त बमोजिम दिनु पर्ने कोइला भन्दा बढी कोइला दिइन्छ भने ०३८।११।६ को प्रतिवेदनलाई ध्यानमा राखी यी विपक्षी प्रतिवादीले कोइला दिएको रहेछ भन्ने स्थिति देखिन्छ । अर्थात् प्रतिवादी विपक्षीबाट भए गरेका आचरणबाटै उक्त ईंटा र टायल पोल्न ३० मेट्रिक टन भन्दा बढी कोइला लाग्दछ भन्ने मानी वादी पक्षको भनाई अनुसार ०३८।११।६ को प्रतिवेदनलाई आधार मानी विपक्षी प्रतिवादीको तर्फबाट बढी कोइला दिएको रहेछ भन्न पर्ने स्थिति छ । यी दुवै पक्षहरुको बीच भएको ०३५।९।२५ को सम्झौताको दफा २.०८ मा “कोइला बिना मोलमा प्रतिवादीबाट दिइनेछ” भन्ने उल्लेख छ । माथि लेखिए बमोजिम कोइला ईंटा पोल्नको लागि दिइने हो । कोइलाको रुपैयाँ दिने लिने यी दुवै पक्षको बीचमा शर्त छैन । यस्तो अवस्था प्रतिवादीले मैले बढी कोइला दिएर त्यसको रुपैयाँ मोल वादी पक्षको जिम्मामा छ भन्ने प्रतिवादीको हिसाब गराई लेखाई कोइलाको रुपैयाँ दिने शर्त नहुँदा सो तर्फ वादीको हिसाब गराई फिराद लेखाई पनि मिल्ने देखिएन । टड्कारो रुपमा हेर्दा पनि स्वयं आफैंले एकतर्फी हिसाब गरी विपक्षी प्रतिवादीले मिति ०४१।३।४ मा एउटा रकम अंक लिनु पर्ने भनी लेखिएको छ भने ०४१।१०।२९ मा अर्को रकम अंक लेखी असूल गर्नु पर्ने लेखेबाट प्रतिवादी विपक्षीको हिसाब आफैंमा नमिलेको भन्ने कुरा सोही पत्रले सिद्ध गरेको छ ।
अतः माथि लेखिए बमोजिम यो यति कारणबाट ईंटा कोइलाको हिसाब मिलेन भन्दै दोहराई हिसाब गरी पाउँ भन्ने वादीको दावी भएकोमा वादी दावी ठीक छैन यो यति कारणबाट ईंटा कोइलाको हिसाब ठीक छ भन्ने प्रतिवादी भएपछि सो तर्फ के रहेछ विवेचना गर्नु पर्ने स्थिति हुँदा विवाद उठेको कोइलातर्फ बोल्न नपर्ने भन्ने पू.क्षे.अ.को इन्साफ हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुन्छ । उपरोक्त आधारमा वादी दावी बमोजिम दोहराई हर हिसाब गरी पाउने ठहर्नाले स.अं.अ. राजबिराज बेञ्चको इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक वादी परमेश्वर मुरारका के, माथि इन्साफ खण्डमा वादी दावी बमोजिम ठहरेकाले पुनरावेदन गर्दा राखेको कोर्टफी रु. १।५० प्रतिवादीबाट भराई पाउने हुँदा भराई पाउँ भनी वादीको ऐनका म्यादभित्र निवेदन परे भराई दिनु भनी सप्तरी जिल्ला अदालतलाई लेखी पठाउन लगत का.जि.अ.लाई दिनु...१, मिसिल नियम बमोजिम गरी बुझाई दिनु...२
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इति सम्वत् २०४७ साल श्रावण १४ गते रोज १ शुभम् ।