निर्णय नं. ४१३४ - लेनदेन

निर्णय नं. ४१३४ ने.का.प. २०४७ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४५ सालको दे.पु.नं. ८२२
फैसला भएको मिति : २०४७।४।१६।३ मा
पुनरावेदक/प्रतिवादी : सुर्खेत जि.छिच्चु गा.पं. वा.नं. ७ बस्ने तिलकराज वली
विरुद्ध
विपक्षी/वादी : ऐ.रामघाट गा.पं. वा.नं. ७ बस्ने सेते थापाको मु.स.गर्ने ऐ.बस्ने दलबहादुर थापा
मुद्दा : लेनदेन
(१) विवादित भर्पाई हेर्दा सो भर्पाईको व्यहोरा खण्डलाई मौलिक (Original) लेखाई भन्न सकिने पनि देखिएन, तमसुक कागजलाई वादीले स्वीकार नै गरी विवाद उठाएको देखिन नआएको र क्षे.अ. बाट लगाएको प्रमाण बुँदा समेतबाट सो भर्पाई कीर्ते ठहर गरी प्रतिवादीबाट सद्दे लिखतको साँवा ब्याज भरी पाउने ठहर्याएको जिल्ला अदालतको इन्साफलाई सदर गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिने ।
(प्रकरण नं. १४)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी
विपक्षी/वादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुड्डाना
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला
१. न्या.प्र.सु. ऐन, २०३१ (संशोधन सहित) को दफा १३ को उपदफा (५)(७) अन्तर्गत पुनरावेदनको अनुमति दर्ता भई अनुमति प्राप्त भई पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. वि.तिलकराज वलीले ०४०।४।१ गते म बाट ४३,९६७।५० बुझी लिई तमसुक लेखी दिएको पटक पटक माग्न जाँदा पनि नदिएकोले २०४०।४।१ गते देखि हाल २०४२।१।३० गते सम्मको साँवा ब्याज तथा मुद्दा किनारा हुँदा तकको व्याज समेत भराई कोर्टफी ऐन बमोजिम सजायँ समेत गरी पाउँ भन्ने समेत सेते थापाको फिरादपत्र ।
३. वादी दावी बमोजिम तिर्न पर्ने नभई अरु हिसाब मिलि सकेको हुँदा तिर्न बुझाउन बाँकी छैन केवल लिखत हरायो भनी फट्टा नगरी राखेको लिखतबाट हिसाबमा पक्राउ गरेको दावी झुठ्ठा हो उक्त रकम बुझाएको भर्पाई र चिठ्ठी समेत छ । हाल नभेटिएकोले खोजी गरी दाखिल गर्नेछु भन्ने समेत व्यहोराको तिलकराज वलीको प्रतिउत्तरपत्र ।
४. वादीले पेश गरेको २०४०।४।१ गतेको सक्कल तमसुक मैले नै गरी दिएको हुँ । आय टिकट टाँसिएको तमसुक हराएकोले अर्को कागज गरी दिन पर्यो भनी भनेकाले मैले सो कागज मिलेमा फट्टा गर्ने गरी वादीले २०४०।५।१८ मा भर्पाई गरेका हुन सद्दे हो कीर्ते होइन भन्ने व्यहोराको प्र.तिलकराजको बयान ।
५. मेरो बाबुले २०४०।५।४ मा तमसुक गरेका होइनन् र प्रतिवादीले कीर्ते खडा गरेको हो । मेरो बाबुको श्री ने.रा.प्रा.वि. को रसिद तथा नागरिकताको प्रमाण पत्रमा लागेको ल्याप्चे सही जाँचेमा पनि छुट्टिने छ सो कागज पेश गर्नेछु भन्ने समेत व्यहोराको मु.स. गर्ने बलबहादुर थापाले गरेको बयान ।
६. भर्पाई सद्दे हो भन्ने कुरा प्रतिवादी तिलकराज वलीको जिकिर पुग्न नसक्ने हुँदा प्र.ले पेश गरेको २०४०।५।१८ को भर्पाई कीर्ते ठहर्छ । लिखत गरी दिएको भन्ने कुरामा प्रतिवादीले स्वीकारै गरेको तिरो बुझाइसकेको छु भन्ने हकमा तिरे बुझाएको अन्य सबूद प्रमाण पेश गर्न प्रतिवादीले नसकेको पेश गरेको भर्पाई कीर्ते ठहरेकाले मिति २०४०।४।१ मा गरी दिएको लिखत अनुसारको साँवा ब्याज समेत वादीलाई प्र.तिलकराज वलीले तिर्नु बुझाउनु पर्ने ठहर्छ भन्ने सुर्खेत जिल्ला अदालतबाट मिति २०४३।८।१९ मा भएको फैसला ।
७. २०४०।५।४ को तमसुक फट्टा भई प्रमाण मिसिल पेश भइसकेपछि सो लिखतका लिखत बखत साक्षी पेटबोलीका व्यक्ति सरह हुने भएकोले त्यस्ता व्यक्तिलाई अ.बं. १३९ नं. बमोजिम बुझी निर्णय गर्नु पर्नेमा सो नगरी निर्णय हुनबाट अ.बं. १३९ नं. को गम्भीर कानुनी त्रुटि फैसला भई उक्त फैसला बदरभागी छ भन्ने समेत व्यहोराको प्र.तिलकराज वलीले भेरी अं.अ. मा दिएको पुनरावेदनपत्र ।
८. प्रतिवादीले पेश गरेको वादीलाई रकम बुझाई फट्टा समेत गराएको भनिएको २०४०।५।४ को सक्कल तमसुक हेर्दा सो लिखतमा साल मिति महीना र पेटबोलीका मूल अड्ढहरु सच्चिएको खुला आँखाले हेर्न सकिने र लिखतलाई सच्याई नकरारुप लिई प्रमाणमा दिएको प्रष्ट हुँदा त्यसलाई ग्राह्य रुपको ठोस प्रमाणको रुपमा लिन मिलेन उक्त बुँदा प्रमाणको आधारबाट समेत वादी दावीको मिति २०४०।४।१ मा खडा भएको लिखत अनुसारको साँवा ब्याज समेत प्रतिवादीले वादीलाई तिर्नु बुझाउनु पर्ने ठहर्याएको सुर्खेत जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने भे.अं.अ. बाट मिति २०४५।१।१३ मा भएको फैसला ।
९. भेरी अञ्चल अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी म.प.क्षे.अ. मा पुनरावेदन अनुमति परेकोमा अनुमति प्राप्त भएको ।
१०. प्रतिवादीबाट पेश भएको २०४०।५।१८ को भर्पाई हेर्दा सेते थापा भन्ने हस्ताक्षर लेखिएको अस्वभाविक देखिएको र बीचमा एक हरफ लेख्न हुने ठाउँ राखी भर्पाई लेखाइको हरफबाट अस्वभाविक देखिने गरी हरफ लाइन देखि भित्र घुसेको देखिनुका साथै विशेषज्ञले राय व्यक्त गरे जस्तो खुर्की लिफा समानको रुप बनाई कार्बनबाट तयार गरेको देखिन आएको हुँदा २०४०।५।१८ को भर्पाईलाई कीर्ते ठहर गरी प्रतिवादीबाट सद्दे लिखतको साँवा ब्याज वादीले पाउने ठहर्याएको भेरी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने म.प.क्षे.अ. को मिति २०४५।५।१५ को फैसला ।
११. म.प.क्षे.अ. को इन्साफमा चित्त बुझेन पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत तिलकराज वलीको पुनरावेदन अनुमति परेकोमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालतको २०४५।११।५ को संयुक्त इजलासको आदेश ।
१२. २०४६।११।१७ को संयुक्त इजलासको आदेश अनुसार विशेषज्ञ झिकाई बकपत्र समेत मिसिल साथ रहेको ।
१३. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदनमा पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक तर्फको विद्वान अधिवक्ता श्री शिवराज अधिकारी र विपक्षी तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुड्डानाले गर्नु भएको बहस जिकिर समेत सुनियो । म.प.क्षे.अ. ले गरेको निर्णय मिलेको छ छैन निर्णय दिनु परेको छ ।
१४. निर्णयतर्फ विचार गर्दा यसमा तिलकराज वलीले म बाट रकम बुझी लिई तमसुक गरेकोमा पटक पटक माग्न जाँदा नदिएको हुँदा साँवा ब्याज दिलाई पाउँ भन्ने समेत मुख्य फिरादपत्र भएकोमा वादी दावी बमोजिम तिर्नु पर्ने नभई हरहिसाब मिलिसकेको हुँदा तिर्न बुझाउन बाँकी छैन भन्ने समेत प्रतिउत्तर परेकोमा जिल्ला अदालतबाट प्रतिवादीले वादीलाई रकम तिर्नु पर्ने ठहर्याई भएको फैसलामा अञ्चल अदालत र क्षेत्रीय अदालत समेतबाट सदर गरिरहेको पाइन्छ । यस अदालतमा पुनरावेदनको लागि अनुमति परेकोमा रेखा विशेषज्ञको परीक्षण नभएको भनी अनुमति प्रदान गरिएको देखिन्छ । प्रतिवादीले वादीबाट रकम लिएको कुरामा स्वीकार गरेका छन् । तर वादीलाई रकम बुझाई सकेको छु भनी २०४०।५।१८ को भर्पाई प्रतिवादीले पेश गरेकोमा सो भर्पाई सद्दे कीर्तेमा सुनाउँदा वादीले पेश गरेको ०४०।४।१ को तमसुक हराएकोले अर्को कागज गरिदिनु पर्यो भनी भनेकाले मैले २०४०।५।१८ मा भर्पाई गरिदिएको हुँ भनी बयान गरेको पाइन्छ । सो २०४०।५।१८ को भर्पाईलाई विशेषज्ञ समक्ष जाँच गराउँदा विवादित भर्पाईको पूर्व लिखित कार्बन कापी गरी लेखिएको अक्षरहरुलाई कुनै धार भएको वस्तुद्वारा खुर्किई लिफा समानको रुपमा बनाई पुनः विवादित भर्पाई तयार गरेको हो भनी विशेषज्ञको राय भएकोमा सो रायलाई सथर्मन हुने गरी यस अदालतमा उपस्थित भई विशेषज्ञद्वारा बकपत्र समेत गरेको पाइन्छ । विवादित २०४०।५।१८ को भर्पाई हेर्दा सो भर्पाईको व्यहोरा खण्डलाई मौलिक (Original) लेखाई भन्न सकिने पनि देखिएन । २०४०।४।१ को तमसुक कागजलाई वादीले स्वीकार नै गरी विवाद उठाएको देखिन नआएको र क्षेत्रीय अदालतबाट लगाएको प्रमाण बुँदा समेतबाट ०४०।५।१८ को भर्पाई कीर्ते ठहर गरी प्रतिवादीबाट सद्दे लिखतको साँवा ब्याज भरी पाउने ठहर्याएको जिल्ला अदालतको इन्साफलाई सदर गर्ने गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
कोर्टफी रही पुनरावेदन दर्ता भएको हुँदा त्यसतर्फ केही गर्नु परेन...१, मिति २०४०।५।१८ को भर्पाई कीर्ते गरेतर्फ प्रतिवादीलाई शुरु जिल्ला अदालतले रु. १६,३५९।३७ जरिवाना गर्ने गरेकोमा मु. ऐन अ.बं. २०३ नं. अनुसार ५% ले रु. ८१७।९६ जरिवाना हुन्छ बेरुजु हुँदा लगत कसी असूल उपर गर्नु भनी सुर्खेत जिल्ला अदालतमा लेखी पठाउन स.अ.ल.न. शाखा मार्फत काठमाडौं जिल्ला अदालतमा लगत दिनु...२, मिसिल नियमानुसार गरी बुझाई दिनु...३
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इतिसम्वत् २०४७ साल श्रावण १६ गते रोज ३ शुभम् ।