शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७९२३ - जबरजस्ती करणी ।

भाग: ५० साल: २०६५ महिना: बैशाख अंक:

निर्णय नं.७९२३     ने.का.प. २०६५      अङ्क १

 

सर्वोच्च अदालत, संयुक्त इजलाश

माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री गौरी ढकाल

सम्वत २०६२ सालको फौ.पु.नं.३३१६

फैसला मितिः २०६४।१०।९।४

 

मुद्दाजबरजस्ती करणी ।

 

पुनरावेदक

प्रतिवादीः धादिङ जिल्ला सांकोस  गा.वि.स वडा नं ३ घर भई हाल कारागार शाखा धादिङ्गमा थुनामा रहेको अर्जुनबहादुर पाण्डे

विरुद्ध

प्रत्यर्थी

वादीः वेद वहादुर अधिकारीको जाहेरीले श्री ५ को सरकार

 

शुरु फैसला गर्ने

मा.जि.न्या. श्री पोषनाथ शर्मा

पुनरावेदन फैसला गर्ने

मा.न्या. श्री नन्दराज अधिकारी

मा.न्या. श्री हरिवावु भट्टराई

 

§  घटनाका सम्बन्धमा घटनावाट पीडित व्यक्तिले व्यक्त गरेको कुरा तथा घटना भएको थाहा पाउने व्यक्तिले घटनाको तत्काल पछि व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) र (ख) बमोजिम अदालतले प्रत्यक्ष प्रमाणको रुपमा ग्रहण   गर्नुपर्ने ।

(प्रकरण नं.७)

§  जबरजस्ती करणी मुद्दामा सामान्यतया प्रत्यक्षदर्शी साक्षीको उपस्थिति नहुने हुँदा पीडित  नै घटनाको आधारभूत गवाह हो । निजले अनुसन्धान अधिकारी तथा अदालत समक्ष व्यक्त गरेको कुरालाई प्रमाण ऐन, २०३१ को दफा १०(ख) (क) बमोजिम प्रत्यक्ष र निर्णायक प्रमाणको रुपमा लिनुपर्ने ।

§  प्रतिवादीले आफ्नो लिङ्ग पीडितको योनीमा दुई तीन पटक भित्र बाहिर गराई निजको योनीबाट रगत आएको हुँदा लिङ्ग बाहिर निकाली बाहिर जमीनमा बीर्य स्खलन गरेको भनी बयान गरेको र सो बयानलाई अदालतमा समेत इन्कार नगरेको हुँदा प्रस्तुत वारदातमा पीडितको योनीमा प्रतिवादीको बीर्य वा दाग नभेटिनुलाई स्वाभाविक र यथार्थ परक नै मान्नु पर्ने ।

§  प्रतिवादीको लिङ्गको पूर्ण प्रवेश (Complete penetration) र बीर्य योनीमा स्खलन  (Emission of semen) नभएको अवस्थामा यसैलाई आधार बनाएर यसैको अभावमा प्रतिवादीले पीडित उपर करणी नगरेको र करणीको उद्योग मात्र गरेको भनी ठहर गर्नु न्यायसंगत नदेखिने ।

§  जबरजस्ती करणी हुनको निम्ति स्त्रीको योनीभित्र पुरुष जनेन्द्रीय पूर्ण रुपमा प्रवेश भएकै हुनुपर्ने, स्त्रीको कन्याजाली (Hymen) च्यातिएको वा फाटेकै हुनुपर्ने वा पुरुष बीर्य योनीमा स्खलन भई योनीको वरीपरी बीर्य वा सो को दाग लागेकै हुनुपर्ने अनिवार्यता समेत नरहेको अवस्थामा वीर्य स्खलन सहित वा रहित योनीको बाह्य  भागभित्र आंशिक लिङ्ग प्रवेश गराउनु मात्र पनि कानूनी प्रयोजनको निम्ति जबरजस्ती करणीको कसूर हुन पर्याप्त हुने ।

(प्रकरण नं.१०)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता विश्वराज अधिकारी

प्रत्यर्थी वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता युवराज सुवेदी

अवलम्वित नजीरः

 

आदेश

न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत पाटन, ललितपुरको मिति २०६२//३ को फैसला उपर प्रतिवादीको तर्फवाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :

मिति २०६१//५ गते दिउसो २ वजेको समयमा जिल्ला धादिङ्ग सांकोस गा.वि.स वडा नं ३ स्थित सालघारी भन्ने ठाउँमा ऐ.ऐ.बस्ने वर्ष २३ को अर्जुनबहादुर पाण्डेले मेरो वर्ष ७ की छोरी इन्दिरा अधिकारीलाई दशैंको अवसरमा पिङ्ग खेल्न भनी गएको अवस्थामा विपक्षीले पिङ्ग खेल्ने ठाउँबाट जवरजस्ती बोकेर लगी जवरजस्ती करणी गरेको हुदाँ निज विपक्षीलाई मुलुकी ऐन जवरजस्ती करणीको ३(१) बमोजिम हदैसँम्म सजाँय गरिपाऊँ भन्ने मिति २०६१।७।५ को जाहेरी दरखास्त ।

जिल्ला धादिङ्ग सांकोष गा.वि.स वडा नं ३ स्थित हरी वहादुर राउत र प्रहलाद राउतको सिमानाको सालघारी जंगल छुट्याउने खोल्सो, सो खोल्सोमा ढुङ्गा तथा माटोहरु, झारहरु समेत पन्छाई मानिस सुत्ने बस्ने वनाएको जस्तो स्थान सो स्थान वरपर मानिस हिडेको जस्तो झारपात मडारिएको तथा उक्त स्थान वरपरका झारहरु पन्छाएको तथा वुट्यानका हाँगाहरु समेत भाचिएको जस्तो देखिएको भन्ने घट्नास्थल प्रकृति मुचुल्का ।

मिति २०६१//५ का दिन दिउँसो म आफ्नो घरदेखि माथि रहेको गाउँमा जादै गरेको अवस्थामा मेरो चिनजानका जाहेरवाला वेदबहादुरकी छोरी इन्दिरा पनि एक्लै सोही वाटो माथितिर लागेको अवस्थामा मलाई करणी गर्न मन लागेको हुदाँ पैसा दिने प्रलोभन देखाउदा निज म सँग जान मन्जुर भएकी हुदाँ निजलाई लिएर जि. धादिङ्ग सांकोस गा.वि.स वडा नं ३ स्थित सालधारी भन्ने पाले वनको खोरीयाको एकान्त ठाउँमा लगी निज इन्दिरालाई जमिनमा लडाई आफ्नो लिंग निजको योनीमा केही मात्रामा प्रवेश गराउँदा रुन थालेकी हुदाँ मुख थुनी २/३ पटक लिंग भित्र वाहिर गराउदा निजको योनीवाट रगत आउन थालेको हुदाँ लिगँ वाहिर निकालि जमिनमा स्खलन गरी निजलाई उठाई पिङ्ग खेल्ने ठाउँमा ल्याई छाडी दिएको हुँदा उक्त वारदातमा म वाहेक अरु कसैको संलग्नता छैन भन्ने व्यहोराको प्रतिवादी अर्जुन वहादुर पाण्डेको अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।

जिल्ला प्रहरी कार्यालय धादिङ्गको पत्राअनुसार स्वास्थ्य परीक्षण गर्न भनी पठाएका अर्जुन प्रसाद पाण्डेको स्वास्थ्य परीक्षण गर्दा There is no reason to say that this man is not able to make sexual intercourse Bodily physical signs are indication of some incidence भन्ने जिल्ला जनस्वास्थ्य,कार्यालय धादिङ्गका मेडिकल सुपरिटेण्डेण्ट डा.सेनेन्द्रराज उप्रेती को परीक्षण प्रतिवेदन ।

जिल्ला प्रहरी कार्यालय धादिङ्गको पत्रअनुसार वर्ष ७ की इन्दिरा अधिकारीलाई जाँच्दा योनीको वरपरी रातोपन भएको, सानो भगोष्ठ (Labia Minora) मा चोट लागेर रक्तस्राव भएको ,शरीरमा अन्य चोटपटक नदेखिएको, निज इन्दिरालाई जवरजस्ती करणीद्वारा लागेको हुनसक्ने घाउ चोटपटक देखिन्छ भन्ने व्यहोराको परोपकार श्री ५ इन्द्र राज्य लक्ष्मीदेवी प्रसूती गृह विकास समितिका कन्सल्टेन डा.सुधा शर्माद्वारा हस्ताक्षर भई आएको स्वास्थ्य परीक्षण प्रतिवेदन ।

मिति २०६१//५ गते पीडित वालिका इन्दिरा अधिकारीलाई देखेको अवस्थामा निज पीडितको योनीवाट रगत वगी निजले लगाएको शुरुवाल समेत भिजेको हुदाँ तिमिलाई के भयो भनी सोध्दा अर्जुन पाण्डेले मलाई सालघारी भन्ने स्थानमा लगी करणी गरेको हुन भनी पीडित वालिका इन्दिरा अधिकारीले भनी सुनेको हुँ । निज अर्जुन पाण्डे चिने जानेका व्यक्ति हुन। निज अर्जुन पाण्डे पहिला देखि नै खराव आचरणका व्यक्ति हुदाँ पीडित इन्दिरा अधिकारीलाई निज अर्जुन पाण्डेले करणी गरेकोमा हामीलाई पूर्ण विश्वास लाग्छ भनी मौका कागज गर्ने शम्भु राउत, छविलाल श्रेष्ठ, चन्द्रबहादुर अधिकारी, ताराबहादुर राउत, इश्वर  अधिकारी समेतका सम्पूर्ण व्यक्तिहरुको एकै मिलानको कागज ।

      मिति २०६१//५ गते म घर नजिकै पिङ्ग खेलीरहेको अवस्थामा अर्जुन पाण्डे आई मलाई जंगल तर्फ लगी मलाई उत्तानो पारी मैले लगाएको सुरुवाल खोली आफ्नो मुत्ने कुरा निकालेर मेरो पिसाब फेर्ने ठाउमा पसाई भित्र बाहिर गर्दा मलाई ज्यादै नै दुखेको हुँदा कराउन थाले । उनले मेरो मुख थुने,मेरो पिसाब फेर्नेमा रगत आयो । त्यस पछि म सकी नसकी उठेर  सुरुवाल लगाए ।त्यस पछि अर्जुन पाण्डेले मलाई पिङ्ग खेलिरहेको ठाँउमा ल्याएर छाडेका हुन । म दुखाईको कारणले रोई रहेकी हुँदा साथीहरुले आमालाई खवर गरे पश्चात मेरी आमा म भएको ठाउमा आई मेरो खुट्टामा बगेको रगत देखी के भयो भनी सोधनी गर्दा अर्जुन मामाले आफ्नो मुत्ने कुरा मेरो पिसाब फेर्ने ठाउँमा पसाएर मलाई दुखीरहेको छ भनी आमालाई भनेकी हुँ । अर्जुन मामा भन्ने अर्जुनबहादुर  पाण्डेले नराम्रो काम गरेका हुन भन्ने ब्यहोराको पीडित इन्दिरा अधिकारीले अनुसन्धान अधिकारी समक्ष गरेको बयान कागज ।

अर्जुनबहादुर पाण्डेले मेरी छोरीलाई जबरजस्ती करणी गरेको हुँदा कारबाही गरी पाऊँ भन्ने पीडितका बाबु बेदबहादुर अधिकारीको किटानी जाहेरी, इन्दिरा अधिकारीलाई एक्लो अवस्थामा देखी करणी गर्न मन लागि पैसा दिने प्रलोभन देखाई मिति २०६१//५ गते धादिङ्ग जिल्ला सांकोस गाविस वडा नं.३ स्थित सालघारी भन्ने एकान्तस्थानमा लगी करणी गरेको हुँ भनी अधिकार प्राप्त अधिकारी समक्ष कसूरमा सावित भई गरेको बयान, सालघारी भन्ने स्थानमा रहेको खोलसोमा ढुंगा माटो तथा झारपातहरु समेत पन्छाई मानिस सुत्ने ठाउँ जस्तो बनाएको सो स्थानमा वरपरका ढुंगा माटो तथा झारपातहरु तथा बुट्यानहरु पन्छाएको भन्ने समेत घट्नास्थल मुचुल्का, मौकामा बुझिएको शम्भु राउत समेतका व्यक्तिहरुले पीडित इन्दिरा अधिकारीलाई अर्जुनबहादुर पाण्डेले करणी गरेको हो भन्ने कुरामा हामीलाई पूर्ण विश्वास लाग्छ, निज अर्जुनबहादुर पाण्डे असल विचार राख्ने मानिस होइनन् भन्ने एकै मिलानको व्यहोरा, योनीको वरिपरी रातोपन रहेको, सानो भगोष्ठ (Labia Minora) मा चोट लागेर रक्तश्राव भएको देखिएको, निज इन्दिरा अधिकारीलाई जाँच्दा जबरजस्ती करणीद्वारा लागेको हुन सक्ने घाउ चोट देखिन्छ भन्ने समेतको परोपकार श्री ५ इन्द्र राज्य लक्ष्मीदेवी प्रसूति गृह विकास समितिबाट भै आएको स्वास्थ्य परीक्षण प्रतिवेदन, जिल्ला प्रहरी कार्यालय धादिङ्गको पत्रानुसार अभियुक्त अर्जुन पाण्डेको स्वास्थ्य परीक्षण गर्दा There is no reasons to say that, this man is not able to make sexual intercourse. Bodily, physical signs are indication of some incidence भनी निष्कर्ष निकालिएको जिल्ला जनस्वास्थ्य कार्यालय धादिङ्गको परीक्षण प्रतिवेदन समेतको आाधारमा प्रतिवादी अर्जुन पाण्डेले पीडित इन्दिरा अधिकारीलाई जबरजस्ती करणी गरेको कार्य पुष्टि हुन आई निज प्रतिवादीको उक्त कार्य मुलुकी ऐन जवरजस्ती करणीको १ नं. विपरीतको कसूर अपराध हुँदा निज प्रतिवादी अर्जुन पाण्डेलाई सोही  महलको ३ (१) नं.बमोजिम सजाय गरी सोही महलको १० नं.बमोजिम पीडित इन्दिरा अधिकारीलाई प्रतिवादी अर्जुन पाण्डेको आधा अंश सर्वश्व गरी दिलाई पाउँ भन्ने अभियोग मागदावी ।

मिति २०६१//५गते दिउँसो २ बजेको समयमा घरबाट बाहिर घुम्न निस्कदा इन्दिरा अधिकारीसंग भेट भयो । उनले म संग जिस्कदै पैसा मागेको हुँदा मलाई करणी गर्ने इच्छा जागी करणी गर्न दिने भए पैसा दिन्छु भन्दा हुन्छ भनेकीले एकान्त बनमा गई राजीखुशी साथ मेरा लिंङ्ग निजको योनीमा प्रवेश गराउँदा योनी बाट रगत आयो । उनी रुन कराउन थालिन, मैले पैसा झिकेर दिएपछि उनी रुन छाडिन् । मैले करणी गरेको कारणबाट इन्दिरा अधिकारकिो योनीमा रातोपन तथा चोट लागि रगत आएको हुनु   पर्छ । मैले गल्ती गरेको हुँदा सजाय भोग्न तयार छु भन्ने समेतको व्यहोराको  प्रतिवादी अर्जुनबहादुर पाण्डेको अदालतमा गरेको बयान ।

प्रतिवादी अर्जुन पाण्डेलाई अ.व.११८ को देहाय २ बमोजिम पुर्पक्षकालागि थुनामा राख्ने, तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीले कसूर गरेको विश्वास गर्न सकिने मनासिव आधार भएको अवस्थामा प्रतिवादीको आाधा अंश रोक्का गर्नुपर्ने देखिँदा प्रतिवादीले आफ्नो बयानमा आफु बाबु आमा २ भाई  र ३ बहिनी समेत गरी ८ अंशियारहरु देखाएको र मैले पाउने अंश बाबु धनबहादुरको नाउँमा छ भनी उल्लेख गरेको देखिँदा बाबुको नाममा रहेको सम्पत्तिबाट निज प्रतिवादीले ८ भागको १ भाग अंश पाउने मान्नु पर्ने हुँदा ३ भागको १ भाग निज प्रतिवादीले पाउने १ भागको आधा रोक्का राख्न सम्वन्धित मालपोत कार्यालयमा लेखि पठाउनु भन्ने धादिङ्ग जिल्ला अदालतबाट थुनछेकको सम्वन्धमा भएको आदेश ।

            मिति २०६१//५गते मैले दायर गरेको जाहेरी दरखास्त देखाउँदा देखेँ, व्यहोरा सुने, सो भएको व्यहोरा तथा सहीछाप मेरै हो । उक्त मितिमा म समेतका मानिसहरु भई शम्भु राउतको घरमा खसी काटी रहेको अवस्थामा खुट्टामा रगत बगाउदै छोरी इन्दिरा रोईरहेको अवस्थामा निजको आमाले साथीहरु भएको ठाँउमा ल्याउदा के भयो भनी सोधपुछ गर्दा अर्जुनबहादुर (मामा) ले सालघारीको खोल्सामा लगी मलाई समाई मेरो पिसाब फेर्नेमा अर्जुनबहादुर (मामा) को पिसाब फेर्ने छिरायो भनेर थाहा भएको हो । अस्पताल ल्याउँदा सम्म रगत आई रहेको थियो भन्ने व्यहोराको वादीका साक्षी जाहेरवाला बेदबहादुर अधिकारीको बकपत्र ।

प्रहरी समक्ष भएको कागजको व्यहोरा र सहीछाप मेरो हो । मलाई पिङ्ग खेलेको ठाँउबाट खोल्सामा लगेर मेरो पिसाब फेर्नेमा अर्जुनबहादुर (मामा) को पिसाब फेर्ने पसाउदा मेरो पिसाब फेर्ने ठाँउमा रगत आएको हो भन्ने व्यहोराको पीडित वादी पक्षका साक्षी इन्दिरा अधिकारीले अदालतमा गरेको वकपत्र ।

मिति २०६१//५ गतेका दिन इन्दिरा अधिकारीको आमाले इन्दिरा अधिकारीलाई रुदै गरेको अवस्थामा लिएर हिडेको अवस्था देखे पछि के भयो भनी सोधनी गर्दा अर्जुन पाण्डेले मेरो पिसाब फेर्ने ठाउँमा आफ्नो पिसाब फेर्ने छिराउँदा मेरो पिसाब फेर्ने ठाँउबाट रगत आएको हो भनेकोबाट थाहा भएको हो । हामीहरुले देख्दाको अवस्थामा समेत निज पीडित इन्दिरा अधिकारीको योनीबाट रगत आइरहेको थियो भन्ने एउटै व्यहोराको वादी पक्षका साक्षीहरु इश्वर अधिकारी, शम्भु राउत, चन्द्रबहादुर अधिकारी, छविलाल श्रेष्ठ, ताराबहादुर राउतले गरीदिएको छुट्टाछुट्टै वकपत्र ।

प्रतिवादीले अधिकारप्राप्त अधिकारी तथा अदालत समक्ष बयान गर्दा सल्लाघारीको एकान्त वनको खोल्सामा लगी पीडितको योनीमा आफ्नो लिंङ्ग घुसाएको, यसरी लिंङ्गको केही भाग घुसाउँदा पीडीत रुन कराउन थाल्नुको साथै निजको योनीबाट रगत आएको हो भनी आरोपीत कसूरमा स्वीकार गरी बयान गरेको देखिन्छ । निज प्रतिवादीको स्वेच्छापूवर्क भएको साविती बयान, ढुंगा पन्छाएको, झारपात मडारिएको भन्ने घटनास्थल प्रकृति, पीडितको योनीको वरीपरी रातोपन देखिएक भगोष्टमा चोट लागेर रक्तश्राव भएको भन्ने स्वास्थ्य परीक्षण प्रतिवेदन, जाहेरवालाको किटानी जाहेरी,तथा जाहेरीको व्यहोरालाई सर्मथन गर्ने गरी गरेको वकपत्र,पीडित व्यक्तिको मौकाको कागज र सो कागज गर्ने शम्भु राउत, इश्वर अधिकारी, चन्द्रबहादुर अधिकारी, छविलाल श्रेष्ठ, ताराबहादुर राउत समेतका व्यक्तिहरुले एकै मिलानको व्यहोरा उल्लेख गरी कागज गरीदिई मौकामा भएको सो कागजलाई  पुष्टि हुने गरी अदालत समक्ष वकपत्र समेत गरी दिएको आधारसमेतबाट बर्ष ७ की पीडित इन्दिरा अधिकारीलाई प्रतिवादी अर्जुनबहादुर पाण्डेले जबरजस्ती करणी गरी मुलुकी ऐन जबरजस्ती करणीको नं १ विपरीत जबरजस्ती करणी गरेको ठर्हछ । यस्तो कसूर गर्ने प्रतिवादी अर्जुनबहादुर पाण्डेले अदालत समक्ष उपस्थित भई घटनाको वास्तविक यथार्थ विवरण उल्लेख गरी अदालतलाई सहयोग पुर्‍याएको देखिँदा निजलाई जबरजस्ती करणीको ३(१)नं. बमोजिम १३ बर्ष कैद हुने ठर्हछ । जबरजस्ती करणीको १० नं. बमोजिम प्रतिवादी अर्जुनबहादुर पाण्डेको आधा अंश सर्वस्व गरी पीडित इन्दिरा अधिकारीलाई दिलाई भराई दिने ठर्हछ भन्ने व्यहोराको धादिङ्ग जिल्ला अदालतको मिति २०६१।१०।२५ को फैसला ।

जबरजस्ती करणीको अभियोग तथ्यबाट पुष्टि हुनु पर्छ । मेरो तत्काल स्वास्थ्य परीक्षण गर्दा शरीरमा जबरजस्ती भएको कुनै चिन्ह्रहरु देखिदैन । पीडितको स्वास्थ्य परीक्षण गर्दा  गुप्तांङ्ग र निजको लुगामा वीर्य देखिएको छैन । दशैंको अवसरमा मदिरा सेवन गरेको सुरमा पीडितलाई ललाई फकाई अलिपर पुर्‍याई सामान्य प्रयास गर्दा निज नमानेपछि छाडीदिएको हुँ । यदि आपराधिक मनसाय लिई पीडितलाई जबरजस्ती गर्न चाहेको भए एकान्त ठाउँमा पीडित र म मात्र भएको घटनाबारे कसैले नदेखेको नसुनेको अवस्थामा जबरजस्ती करणी कार्य पुरा नगरी पीडितलाई पिङ्ग भएको ठाउँमा ल्याउने काम हुने थिएन । यसरी अपराधिक मनसाय नभएको अवस्थामा दोषी ठहर गर्न नमिल्ने फौजदारी न्यायको सिद्धान्त विपरीत गई अनुमान र शंकाको आधारमा सम्वन्धित विषेशज्ञको परीक्षण प्रतिवेदन सम्वन्धमा अदालतमा आई वकपत्र गर्न नसकेको अवस्थामा प्रमाण ऐन २०३१ को दफा १८ र २३ (७) बमोजिम समेत सो रायलाई प्रमाणमा लिन नमिल्ने अवस्थामा सो राय समेतलाई आधार लिई गरिएको फैसला त्रुटिपूर्ण हुदाँ बदर गरिपाऊँ भन्ने व्यहोराको प्रतिवादी अर्जुनबहादुर पाण्डेको पुनरावेदन अदालत पाटनमा कारागार शाखा मार्फत दायर गरिएको पुनरावेदन पत्र ।

जाहेरवाला, पीडित र प्रहरीमा कागज गर्ने व्यक्ति समेत अदालतमा उपस्थित भै प्रहरीमा भएको कागजलाई सर्मथन हुने गरी बकपत्र गरीदिएको देखिएको , प्रतिवादीले अधिकार प्राप्त अधिकारी तथा अदालतमा समेत उपस्थित भई ७ बर्षीय पीडित बालिका इन्दिरा अधिकारीलाई करणी गरेको कुरालाई स्वीकार गरेको, प्रतिवादीको स्वेच्छा समेतको बयान, घटनास्थल, मुचुल्का, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, जाहेरवाला पीडित तथा मौकामा कागज गर्ने व्यक्तिहरुको अदालतमा भएको वकपत्र समेतबाट पुष्टि भएको देखिँदा प्रतिवादी आरोपित कसूरमा संलग्न छैनन भन्न मिल्ने अवस्था देखिन आएन । मुलुकी ऐन जबरजस्ती करणीको १ नं को व्यवस्थालाई हेर्दा १६ बर्ष मुनिकालाई उसको मञ्जुरी लिई वा नलिई जुनसुकै व्यहोरासंग करणी गरेमा जबरजस्ती करणी ठहर्छ भन्ने देखिदा ७ बर्ष मुनिकी पीडितलाई निजको राजीखुसीबाट करणी गरेको भएपनि जबरजस्ती करणी गरेको ठर्हने भएबाट प्रतिवादी अर्जुनबहादुर पाण्डेलाई मुलुकी ऐन जबरजस्ती करणीको महलको (३) १ नं. बमोजिम १३ बर्ष कैद र सोही महलको १० नं.बमोजिम प्रतिवादी अर्जुनबहादुर पाण्डेको आधा अंश सर्वश्व गरी पीडित इन्दिरा अधिकारीलाई दिलाई भराई दिने ठहर्‍याएको धादिङ्ग जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठर्हछ भन्ने व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०६२।३।३ को फैसला ।

      सावित हुदैमा अपराध गरेको ठर्हछ भन्ने सम्झनु सारा प्रमाण सम्वन्धी प्रक्रियाको उपहास गर्नु हो भनी सर्वोच्च अदालतबाट ने.का.प.२०२७ नि.नं.५४५ पृ.१३३ मा भएको सिद्धान्तको विपरीत हुने गरी कसूरदार कायम भएको र विशेषज्ञले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदन अदालतमा आई वकपत्र गरी पुष्टि नगरेको अवस्थामा बिशेषज्ञको राय लाई प्रमाण लिइएको श्री ५ को सरकार वि. मोतीराम तेली भएको जबरजस्ती करणी मुद्दामा स.अ.बाट ने.का.प.२०४० पृ. ६४२ मा योनीमा चोट परेको तर वीर्य वा वीर्यको दाग नदेखिएको र योनीको पर्दा नच्यातिएको स्थितिमा जबरजस्ती करणी नभै जबरजस्ती करणीको उद्योगमात्र ठहर्‍याएको अवस्था समेतबाट प्रस्तुत मुद्दामा जबरजस्ती करणीको ५ न. आर्कषित हुनुपर्नेमा ३ नं. बमोजिम सजाय गरिएको फैसला मिलेन । उल्लेखित आधार एवं कारणहरुबाट शुरु धादिङ्ग जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहराई पुनरावेदन अदालत पाटनबाट मिति २०६२।३।३ मा भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाऊँ भनी प्रतिवादीले यस अदालतमा गरेको पुनरावेदन पत्र ।

यसमा पीडितको स्वास्थ्य परीक्षणबाट जबरजस्ती करणी भईसकेको अवस्था नदेखिनुका साथै प्रतिवादी तथा पीडितको जनेन्द्रियमा शुक्रकीट देखिएको छैन । सानो भगोष्टमा चोट परेको र योनीको वरिपरि रातो डाम भएको कारणबाट मात्रै पूर्णरुपमा करणी भइसकेको भन्न सकिने अवस्था नभएको, ने.का.प.२०६१, नि.नं.७४२५, पृ.१०२५ को प्रतिपादित सिद्धान्त समेतको परिप्रेक्ष्यमा पुनरावेदन अदालत पाटनको फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थीलाई छलफलको लागि पेशीको सूचना दिई पेश गर्नु भन्ने यस अदालतको आदेश ।

२.    नियम बमोजिम पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता विश्वराज अधिकारीले प्रतिवादीले पीडितलाई जबरजस्ती करणीको उद्योग मात्र गरेको अवस्थामा समेत प्रतिवादीलाई जबरजस्ती करणीको कसूरमा सजाय हुने ठहराएको शुरु अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला न्याय संगत नहुँदा उल्टी गरिपाऊँ भनी बहस गर्नुभयो ।

३.    प्रत्यर्थी वादी नेपाल सरकारका तर्फबाट विद्वान सहन्यायाधिवक्ता युवराज सुवेदीले प्रतिवादीले अनुसन्धान अधिकारी तथा अदालतमा बयान गर्दा समेत पीडित बालिकालाई करणी गरेको कुरा स्वीकार गरेको तथा उद्योग गरेको भनी प्रतिवादीले मौकामा जिकिर लिन नसकेको एवं प्रस्तुत वारदातको प्रकृतिबाट उद्योग मान्न नमिल्ने हुँदा जबरजस्ती करणीको कसूरमा प्रतिवादीलाई सजाय हुने ठहराएको पुनरावेदन अदालतको फैसला मुनासिब हुँदा सदर गरिपाऊँ भनी बहस गर्नुभयो ।

४.    विद्वान अधिवक्ता र सहन्यायाधिवक्ताको बहस जिकिर सुनी मिसिल अध्ययन गरी प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ वा छैन र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्तैन भन्ने प्रश्नमा निर्णय गर्नुपर्ने देखियो ।

५.    मिति २०६१।७।५ मा दशैको समयमा पिङ खेल्न गएकी छोरी वर्ष ७ की इन्दिरा अधिकारीलाई विपक्षी अर्जुन पाण्डेले जंगलको एकान्त ठाउँमा लगी जबरजस्ती करणी गरेको हुँदा कारवाही गरिपाऊँ भन्ने जाहेरी दरखास्त भई अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा प्रतिवादी अर्जुन पाण्डेले सो दिन जाहेरवालाकी छोरीलाई आफूले करणी गरेको स्वीकार गरेको र पीडितको शारिरीक परीक्षणबाट प्रमाणित भएकाले निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने समेत अभियोग दावी रहेको छ ।

६.    निर्णय तर्फ विचार गर्दा निज प्रतिवादी अर्जुन पाण्डेले सो अभियोग र कसूरजन्य कुरामा अधिकार प्राप्त अधिकारी समक्ष एवं अदालतमा समेत सावित रही बयान गरेको छ । त्यसरी बयान गर्दा पीडित नाबालिका इन्दिरा अधिकारीलाई आफूले वारदातका दिन पैसा दिने प्रलोभनमा सालघारी भन्ने जंगलमा लगी मुख थुनी आफ्नो लिङ्ग निजको योनीमा प्रवेश गराउँदा केही मात्रमा योनी भित्र प्रवेश गरेको र निज रुन कराउन लागेकीले आफ्नो लिङ्ग निजको योनीमा दुई तीन पटक भित्र बाहिर गराई निजको मुख थुनी जबरजस्ती करणी गर्दा योनीबाट रगत समेत आएको हुँदा आफ्नो लिङ्ग योनीबाट बाहिर निकाली बीर्य बाहिर जमीनमा स्खलन गरी छाडी दिएको भनी बयान गरेको पाइन्छ । पीडित इन्दिरा अधिकारीले अर्जुन मामा भन्ने अर्जुनबहादुर पाण्डेले पीङ खेल्ने ठाउँबाट बोकी जंगल तर्फ लिएर गई खोल्सामा उत्तानो पारी लिङ्ग आफ्नो पिसाब फेर्ने ठाउँमा छिराइ भित्र बाहिर गर्न थालेपछि धेरै दुखेकोले कराउँदा मुख समेत थुनी करणी गर्दा पिसाब फेर्ने ठाउँबाट रगत आएपछि निजले पीङ खेल्ने ठाउँमा नै ल्याई छोडिदिएको भनी व्यक्त गरेको पाइन्छ । त्यस्तै घटना विवरण कागज गर्ने चन्द्रबहादुर अधिकारी, छविलाल श्रेष्ठ , म्भु राउत, ताराबहादुर राउत, एवं इश्वर अधिकारी समेतका व्यक्तिहरुले पीडित इन्दिरा अधिकारीको आमाले छोरीलाई साथ लिई अत्तालिदै आएपछि आफू समेत मानिसहरुले पीडितसंग सोधनी गर्दा पीडित बालिकाले आफूलाई अर्जुन पाण्डेले करणी गरेको कुरा बताएकी र निजको योनीबाट रगत बगी शुरुवाल समेत भिजेको थियो भनी कागज गरेको सोही तथ्यलाई अदालतमा समेत व्यक्त गरी बकपत्र गरी दिएको  देखिन्छ ।

७.    परोपकार इन्द्रराज्य लक्ष्मी प्रसुति गृह अस्पतालले पीडितको स्वास्थ्य परीक्षण गरी दिएको प्रतिवेदनमा पीडितको योनीको वरिपरि रातोपना भएको, सानो भगोष्ट (Labia Minora) मा चोट लागेर रक्तश्राव भएको देखिएको भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । स्वयं पीडितले समेत अदालत समक्ष बकपत्र गर्दा आफूलाई पिङ खेल्ने ठाउँबाट जंगलमा लगी पैसा दिने कुरा गरी अर्जुन पाण्डेले करणी गरेको र आफ्नो योनीबाट रगत समेत आएको भनी व्यक्त गरेको पाइन्छ । यसरी प्रतिवादी अर्जुनबहादुर पाण्डेले नाबालिका इन्दिरा अधिकारीलाई आफूले जबरजस्ती करणी गरेको भनी अपराधजन्य कुरा अदालतमा समेत स्वीकार गरेको छ भने पीडित इन्दिरा अधिकारीले मौकामा तथा अदालतमा समेत गरेको बकपत्र तथा घटनाको तत्काल पछि घटनाका सम्बन्धमा छविलाल श्रेष्ठ, शम्भु राउत समेतले व्यक्त गरेको कुराबाट समेत निजको सावीती बयान समर्थित हुन आएको छ । घटनाका सम्बन्धमा घटनावाट पीडित व्यक्तिले व्यक्त गरेको कुरा तथा घटना भएको थाहा पाउने व्यक्तिले घटनाको तत्काल पछि व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) र (ख) बमोजिम अदालतले प्रत्यक्ष प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने हुन्छ ।  

८.    पुनरावेदक प्रतिवादीले पीडितलाई आफूले करणी (Full Crime) सम्पन्न नगरेको बरु करणीको उद्योग (Attempt to rape) सम्म गरेको भन्ने प्रस्तुत पुनरावेदन गर्दा जिकिर लिएको र ने.का.प. २०४० पृ.६४२ नि.नं. १७८० तथा ने.का.प.२०६० पृ. ७०८ नि.नं. ७२६६ तथा ने.का.प. २०६१ पृ. १०२५ नि.नं. ७४२५ मा यस अदालतबाट प्रतिपादित सिद्धान्तलाई दृष्टान्तको रुपमा पेश गरेको छ ।

९.    निजको सो जिकिर तर्फ विचार गर्दा निजले आफ्नो बयानमा पीडित इन्दिरा अधिकारीको योनीमा लिंग प्रवेश गराइदा दुई तीन पटक बाहिरभित्र गराएको र निज कराएको र योनीबाट रगत आएकोले बाहिर वीर्य स्खलन गराएको भनी अदालतमा समेत व्यक्त गरेको छ सोही कुरा पीडितको कथनबाट स्थापित हुन पनि आएको छ । यस्तो स्थितिमा करणी गरेको क्रिया पूरा नभएको भन्न निजको जिकिर युक्तिसंगत र कानूनसंगत देखिदैन । योनी भित्र लिंग प्रवेश गराई बाहिर भित्र समेत गरेको कुरा पुष्टि भएको अवस्थामा करणीको कार्य सम्पन्न भईसकेको मान्नुपर्ने हुन्छ । करणीको उद्योगको कसूर हुनका लागी करणी गर्न नपाएको अवस्थाको विद्यमानता हुनुपर्ने हुन्छ । निज प्रतिवादीले योनीभित्र लिंग प्रवेश गराई बाहिर भित्र गरी वीर्य स्खलन समेत भएको कुरा समेत स्वीकार गरेको अवस्थामा करणी गर्न नपाएको र उद्योग मात्रको कसूर भएको मान्न नसकिने हुन्छ । पीडित ७ वर्षको नाबालिका रहेको र नाबालिकाको मन्जुरी लिई करणी गरेपनि सो कार्य अपराधजन्य र कानूनले जबरजस्ती करणीको कसूर हुने हुन्छ । सोको अलावा पुनरावेदक अर्जुनबहादुर पाण्डेले बयान गर्दा आफूले निज पीडितलाई करणीको उद्योग सम्म गरेको भनी जिकिर नलिई निज नाबालिका वर्ष ७ की इन्दिरा अधिकारीलाई करणी गरेको भनी स्वीकार गरेको अवस्थामा पुनरावेदन दिंदा सो भन्दा पृथक अर्थात करणीको उद्योग मात्र गरेको भन्ने जिकिर लिएकोलाई अदालतले सो जिकिर स्वीकार गर्न नसक्ने हुन्छ । कुनै अपराध पूर्ण अपराध (Full Crime) हो वा सो अपराधको उद्योग (Attempt) मात्र हो भन्ने ठहराउन प्रतिवादीको जिकिर मात्र पर्याप्त हुने नभई निजले गरेको कार्य र सो को परिणाम समेतलाई विचार गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा वर्ष ७ की नाबालिकाको योनीभित्र लिंग प्रवेश गराई बाहिर भित्र समेत गराएको र वीर्य स्खलनसमेत भएको देखिएको अवस्थामा जबरजस्तीकरणीको कसूर स्थापित भएको हुने र सो वीर्य योनी बाहिर स्खलन गराएको मात्र कारणले जबरजस्ती करणीको उद्योग मात्र हुने भनी सम्झन नमिल्ने हुन्छ ।

१०.    पुनरावेदकले उल्लेख गरेको ने.का.प. २०६० को नि.नं. ७२६६ को नजीर र ने.का.प. २०६१ को नि.नं. ७४२५ को नजीरहरु , ने.का.प. २०४० को नि.नं. १७८० मा प्रतिपादित सिद्धान्तमा आधारित भएको र उक्त ने.का.प. २०४० पृ. ६४२ नि.नं. १७८० मा पीडितको Labia MajoraLabia minora मा निलडाम रहेको भएतापनि पीडतको गुप्तांगको वरिपरि बीर्य वा बीर्यको दाग नलागेको एवं योनीको पर्दा नच्यातिएको अवस्थामा जबरजस्ती करणी नभई जबरजस्ती करणीको उद्योग मात्र हुने भन्ने सिद्धान्त प्रतिपादन भएको पाइन्छ । प्रस्तुत मुद्दामा वर्ष ७ की पीडितलाई प्रतिवादीले पैसा दिने प्रलोभनमा पारी करणी गरेको अवस्था हुँदा प्रस्तुत अपराध जबरजस्ती करणी हो भन्ने कुरामा कुनै विवाद छैन । पीडित ७ वर्षकी नाबालक भएको हुँदा प्रतिवादीले नाबालक विरुद्ध गम्भीर प्रकृतिको बर्बर जघन्य अपराध गरेको अवस्था प्रष्ट छ । जबरजस्ती करणी मुद्दामा सामान्यतया प्रत्यक्षदर्शी साक्षीको उपस्थिति हुदैन । पीडित  नै घटनाको आधारभूत गवाह हो । निजले अनुसन्धान अधिकारी तथा अदालत समक्ष व्यक्त गरेको कुरालाई प्रमाण ऐन २०३१ को दफा १०(ख) (क) बमोजिम प्रत्यक्ष र निर्णायक प्रमाणको रुपमा लिनुपर्ने हुन्छ । पीडित बालिकाले बाल सुलभ शैली र भाषामा घटना पूर्वको स्थिति देखि घटना हुँदाका अवस्था एवं तत्पश्चातका कुराहरु समेत सविस्तार बर्णन गरेको र सो बर्णनमा खास कुनै विरोधाभाष रहेको पनि देखिन्न । प्रतिवादीले आफ्नो पिसाब फेर्ने अंगमा लिङ्ग पसाएको र सो क्रममा रगत समेत बगेको भनी पीडितले अधिकार प्राप्त अधिकारी र अदालत समक्ष स्पष्ट व्यक्त गरेको पाइन्छ । प्रतिवादीले समेत अनुसन्धान अधिकारी र अदालत समक्ष बयान गर्दा आफूले इन्दिरा अधिकारीको योनीमा आफ्नो लिङ्ग प्रवेश गराएको, लिङ्गको केही भागमा योनीमा प्रवेश गरेको र सो क्रममा पीडित रोइ कराई गरेको र योनीबाट रगत बगेको भनी बयान गरेको पाइन्छ । ७ वर्षकी कलिली बालिकालाई २२ वर्षको बयस्क प्रतिवादीले करणी गर्दा निजको लिङ्ग पूर्ण रुपमा पीडितको योनीमा प्रवेश हुने कल्पना पनि गर्न सकिन्न र प्रतिवादीले समेत यस कुरालाई स्वीकार गरेको छ । प्रतिवादीले आफ्नो लिङ्ग पीडितको योनीमा दुई तीन पटक भित्र बाहिर गराई निजको योनीबाट रगत आएको हुँदा लिङ्ग बाहिर निकाली बाहिर जमीनमा बीर्य स्खलन गरेको भनी बयान गरेको र सो बयानलाई अदालतमा समेत इन्कार नगरेको हुँदा प्रस्तुत वारदातमा पीडितको योनीमा प्रतिवादीको बीर्य वा दाग नभेटिनुलाई स्वावाभाविक र यथार्थ परक नै मान्नु पर्ने हुन आयो । यस आधारबाट प्रस्तुत वारदातको समुच्चा प्रकृतिबाट प्रतिवादीको लिङ्गको पूर्ण प्रवेश (complete penetration) र बीर्य योनीमा स्खलन (Emission of semem) नभएको अवस्था मा यसैलाई आधार बनाएर यसैको अभावमा प्रतिवादीले पीडित उपर करणी नगरेको र करणीको उद्योग मात्र गरेको भनी ठहर गर्नु न्याय संगत देखिदैन । कानूनी रुपमा हेर्ने हो भने पनि जबरजस्ती करणी हुनको निम्ति स्त्रीको योनीभित्र पुरुष जनेन्द्रीय पूर्ण रुपमा प्रवेश भएकै हुनुपर्ने, स्त्रीको कन्याजाली (Hymen)  च्यातिएको वा फाटेकै हुनुपर्ने वा पुरुष बीर्य योनीमा स्खलन भई योनीको वरीपरी बीर्य वा सो को दाग लागेकै हुनुपर्ने अनिवार्यता समेत रहेको छैन । वीर्य स्खलन सहित वा रहित योनीको बाह्‌य भागभित्र आंशिक लिङ्ग प्रवेश गराउनु मात्र पनि कानूनी प्रयोजनको निम्ति जबरजस्ती करणीको कसूर हुन पर्याप्त हुन्छ ।

 

११.    तसर्थ उल्लिखित आधार कारणबाट प्रतिवादीले वर्ष ७ की पीडित नाबालिकालाई जबरजस्ती करणी गरेको हुँदा जबरजस्ती करणीको १ नं. को कसूरमा सोही महलको ३(१) नं. बमोजिम निजलाई तेर्‍ह वर्ष कैद हुने ठहराएको शुरु धादिङ्ग जिल्ला अदालतको फैसला सदर हुने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०६२।३।३ को फैसला मुनासिब हुँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।     

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गौरी ढकाल

 

ईती सम्वत २०६४ साल माघ महिना ९ गते रोज ४ शुभम् ...... ।

 

इजलाश अधिकृतरमेश ढकाल

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु