शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१३८ - ज्यान

भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक:

निर्णय नं. ४१३८     ने.का.प. २०४७          अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४५ सालको फौ.पु.नं. ४९७

”          ”  फौ.सा.नं. ६२

फैसला भएको मिति : २०४७।४।१४।१ मा

पुनरावेदक/प्रतिवादी : कारागार शाखा बाग्लुड्डमा थुनामा रहेकी पार्वती क्षेत्रीनी

विरुद्ध

विपक्षी/वादी : खडगबहादुर मल्लको जाहेरीले श्री ५ को सरकार

मुद्दा : ज्यान

(१)    प्रतिवादी अदालतमा समेत आफूले बच्चा खोलामा फाली मारेमा सावित भएको र फेला परेको बच्चा आफूले फालेको बच्चा हो भनी अदालतमा बयान गर्दा समेत सकारेको देखिन आएकोले फेला परेको बच्चा आफूले फाली मारेको बच्चा होइन भन्न नमिल्ने भएकोले ज्यान मारेको भनी गरेको इन्साफ मनासिब ठहर्ने र अपराधको प्रकृति हेरी निजलाई अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्‍याएको इन्साफ मनासिब देखिने ।

(प्रकरण नं. ११)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अवधिवक्ता श्री होमनाथ ढुंगाना

फैसला

न्या.हिरण्येश्वरमान प्रधान

१.     पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।२।३ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    भकुण्डे गा.पं. वडा नं. ९ बस्ने सर्वजीत भण्डारीको छोरी कान्छीले २०४१ साल फाल्गुण महीनामा जन्माएको बच्चा आफ्नै साथमा लिई माइत घरमा बसेकी थिइन । मिति २०४१।१२।१७ गते देखि निजको साथमा बच्चा नदेखेकोले सोधनी गर्दा बलेवातर्फ पाल्न दिएको छ भन्छन तर मिति २०४१।१२।२१ गते डुनडुरे खोलामा पेटे भोटो लगाएको छोरा जातकको लासलाई माथिबाट खसेको पानीको छहराले छोपी राखेको छ भन्ने कुरा सुनी गई हेर्दा सोही अनुरुप लाश देखिएकोले जाहेर गर्न आएको छु मृतक बच्चा को कस्को छोरा हो काल कर्तव्य के हो र लाश त्यहाँ कसरी रहन गयो जाँचबुझ गरी कानुन बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको खडकबहादुर मल्लले जिल्ला प्रहरी कार्यालय बाग्लुड्डमा दिएको जाहेरी दर्खास्त ।

३.    भकुण्डे गा.पं. वडा नं. ९ र पैयुपाटा गा.पं. वडा नं. ७ को बीच सीमाना डुनडुरे खोला तरी छहरो परी खसेको सो छहरादेखि अं. ३ हात उत्तर पूर्वको बीचमा रहेको तालको छेउमा ढुंगामा छोरा जातक घोप्टो परेको घुंडा, भुँडी र लिंग ढुंगा माथि भई टाउको पानीमा परेको बायाँ कन्चट ढुंगामा बज्रन गई च्याप्टो परेको बच्चाको लाश फुलेको र अनुहार प्रष्ट चिन्न नसकिने करीब १० महीना पूरा भई जन्मी करीब डेढ दुई महीनाको जस्तो देखिने लाश सडी गली दुर्गन्ध चलेको भन्ने समेत व्यहोराको घटनास्थल लाश प्रकृति मुचुल्का ।

४.    मुलपानी बस्ने रनबहादुर खत्रीसंग १५ वर्षको उमेरमा विवाह भएको हो । सो लोग्नेबाट २ छोरा र १ छोरी समेत पाएकी छु । लोग्ने भारत मनीपुरमा पल्टनमा जागिरे हुनुहुन्थ्यो । घरमा म र छोराछोरी बसी आएकोमा २०४१ साल बैशाख महीनामा गाउँकै जेठाजु नाता पर्नेको छोरा सोमबहादुर खत्री क्षेत्रीले राती १२ बजे रक्सी खाएर म बसेको घरमा आई झ्याल उघारी करणी गरम भनी करणी गरे त्यसपछि मेरो लोग्ने पनि घरमा नभएको हुँदा पटक पटक निजसंग करणी लिनुदिनु हुँदै आएको थियो । त्यस्तैमा मेरो पटेमा गर्भ रहन गएछ र मेरो लोग्ने कार्तिक महीनामा घरमा आएपछि नाठाको भुँडी बोकेकी छ भन्ने कुरा चाल पाई लोग्नेले माघ महीनामा घरबाट निकाला गर्नु भएको हो । त्यसलाई पर्वत नाङलीवाङको नेवारसंग लाग्ने रनबहादुरले नगद रु. ६००।दिई पोइला लगाई दिएकोमा फाल्गुण १ गते सुत्केरी भई उक्त छोरा जातक जन्माएकी थिएँ । निज नेवारले पनि न्वारान गरेपछि खान लाउन नदिई घरबाट निकाला गरेकाले माइत घरमा आई उक्त बच्चा कसैले पाल्न चाहेमा दिने विचार लिई पर्वत कुश्मासम्म जाँदा पनि बच्चा पाल्ने मानिस फेला नपरेकोले बच्चालाई मारी फालेमा रित्ती फुक्ली हुने ठानी चैत्र १५ गते बेलुका साँझमा डेढ महीनाको बच्चा डुनडुरे खोलामा फालेको हुँ भन्ने समेत व्यहोराको कान्छी भन्ने पार्वती खत्रीनीले प्रहरीमा गरेको बयान कागज ।

५.    कान्छी भन्ने पार्वती खत्रीनीले परपुरुष संग अनुचित सम्बन्ध राखी बच्चा जन्माएकी थिइन र कसैले पाल्ने भएमा दिने थिएँ भन्दै हिंडेकी हुँदा निजले नै कर्तव्य गरी मारी फालेकी हुन् भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

६.    मौका तहकिकात, सरजमीन मुचुल्का, प्र.पार्वतीको बयान, लास प्रकृति मुचुल्का समेतका सबूद प्रमाणहरुबाट पार्वती क्षेत्रीनीले मिति २०४१।१२।१५ गते करीब डेढ महीनाको बच्चा डुनडुरे खोलामा फाली कर्तव्य गरी मारेको पुष्टि हुन आएको हुँदा मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं. को कसूर गरेको हुनाले ऐ.को १३(३) बमोजिम पार्वती क्षेत्रीनीलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

७.    मैले पैदा गरेकी बच्चा लिई माइती घर भकुण्डे गा.पं. बस्ने दाजु लालबहादुर खत्रीको घरमा गएकी हुँ त्यस्तैमा बलेवाकी एकजना आइमाइले बच्चा पाल्ने कुरा गरेकी हुँदा बच्चा पाल्न दिने विचारले बच्चा लिई गएकीमा सो आईमाई नहुँदा डुनडुरे खोलाको बाटो हुँदै आउँदा आफूले पनि पाल्न नसक्ने र अरुले पनि पाल्न नलगिदिएको हुनाले बच्चालाई फालेकी हुँ भन्ने समेत व्यहोराको प्रतिवादी पार्वती क्षेत्रीनीले शुरु बाग्लुङ जिल्ला अदालतमा गरेको बयान ।

८.    आफूले जन्माएको जिउँदो छोरा जातकलाई डुनडुरे खोलाको तालमा फाली मारेमा प्रतिवादी कान्छी भन्ने पार्वती क्षेत्रीनी प्रहरी र अदालत समेतमा सावित भएकी र मौका तहकिकात सरजमीन मुचुल्का समेतको सबूद प्रमाणहरुबाट पार्वती क्षेत्रीनीले आफैंले जन्माएको र करीब डेढ महीनाको छोरालाई कर्तव्य गरी मारेको हुनाले मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वश्वसहित जन्मकैद हुने ठहर्छ र अनुचित सम्बन्ध राखी जन्मेको बच्चालाई पाल्ने मानिस खोज्दै हिंड्दा नपाएको र बच्चा मारेपछि आफू रीत्ती फुक्ली भई जहाँसुकै गएर पनि बस्न सक्ने र आफू लोक निन्दाबाट समेत बच्ने थिएँ भन्ने भावावेशबाट अपराध गरेको हुँदा सर्वश्वसहित जन्मकैद गर्दा चर्को हुन जाने हुँदा अ.बं. १८८ नं. बमोजिम निजलाई कैद वर्ष १० मात्र गर्न छुट्टै राय पेश गरेको छु भन्ने समेत व्यहोराको बाग्लुङ जिल्ला अदालतबाट भएको फैसला ।

९.    बाग्लुङ जिल्ला अदालतको इन्साफमा चित्त बुझेन । दण्ड सजायँको १ नं. अनुसार छुटकारा पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदनमा प्रतिवादीले आफूले जन्माएको करीब १। महीनाको ज्यूँदो जातकलाई फाली मारेको देखिएकोले बा.जि.अ.ले निजलाई ज्या.सं. को १३(३) नं. बमोजिम सजायँ गरेको मनासिब ठहर्छ तर सो बमोजिम सजायँ गर्दा चर्को पर्न जाने देखिँदा अ.बं. १८८ नं. बमोजिम सर्वोच्च अदालतमा साधक जाहेर गर्नु भन्ने समेत प.क्षे.अ.को मिति २०४५।२।३।२ को फैसला ।

१०.    नियम बमोजिम पेश भई आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फका विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगानाले गर्नु भएको बहस जिकिर समेत सुनियो ।

११.    यसमा बहस तथा पुनरावेदन जिकिर बमोजिम मनस्थिति ठीक नभएको आधारमा दण्ड सजायँको १ नं. बमोजिम सजायँ नै नलाग्ने हुनको लागि अपराध गर्ने व्यक्तिको मनस्थिति यस्तो हुनु पर्दथ्यो जसबाट आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको देखिई निजको अदालतमा बयान हुँदा अ.बं. २४ नं. बमोजिम बयान भएको हुनुपर्दथ्यो तर सो बमोजिम नदेखिनुको साथै निजले गरेको बयानमा देखाइएको कुराहरु अमिल्दो देखिएकोबाट जिरह समेत गर्दा सामान्य मनस्थितिका मानिसले गर्ने किसिमबाट बयान भएको देखिन आउनको साथै प्रतिवादीले आफूबाट अवैध रुपमा जन्मेको बच्चाको कारणबाट आफू न यताको न उताको हुनु परेकोले सो बच्चा पन्छाउने बाटो खोज्दै हिंडेकोमा सफल नभएर आफू रित्तै फुकलै हुनको लागि सो बच्चालाई खोलामा फाली मारेको देखिन आएकोले आफूले गरेको कामको के परिणाम हुन्छ सो थाहा नपाउने अवस्था समेत देखिन नआएकोले विद्वान वैतनिक अधिवक्ताको तथा पुनरावेदनपत्रको यो सम्बन्धी जिरह मनासिब देखिन आएन । प्रतिवादी अदालतमा समेत आफूले बच्चा खोलामा फाली मारेमा सावित भएको र फेला परेको बच्चा आफूले फालेकै बच्चा हो भनी अदालतमा बयान गर्दा समेत सकारेको देखिन आएकोले फेला परेको बच्चा आफूले फाली मारेको बच्चा होइन भन्न नमिल्ने र भएको लाश जाँचबाट पनि बच्चाको टाउको ठोकिएर चेप्टिएको भन्ने देखिन आई दुई तीर थिचिई चेप्टिएको भन्ने नदेखिएको समेतबाट यो सम्बन्धी जिरह पनि मनासिब देखिन नआएकोले शुरु जि.अ.ले दावी बमोजिम ज्यान मारेको ठहर्‍याएको इन्साफ सदर गरेको इन्साफ सदर गरेको प.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । तर प्रतिवादीले जुन अवस्था परि सो अपराध गरेको भनी प.क्षे.अ. ले आफ्नो ठहरमा देखाएको छ सो वास्तविक देखिन आएकोले अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १० मात्र गर्ने भनी लगाएको शुरु जि.अ. को राय मनासिब ठहराएको राय समेत मनासिब ठहर्छ । साधकको लगत काटी मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बरप्रसाद सिंह

 

इतिसम्वत् २०४७ साल श्रावण १४ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु