निर्णय नं. ७९२४ - उत्प्रेषण मिश्रित परमादेश ।

निर्णय नं.७९२४ ने.का.प. २०६५ अङ्क १
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री गौरी ढकाल
संवत २०६० सालको रिट नं.३३६०
आदेश मितिः २०६४।११।१७।६
मुद्दाः– उत्प्रेषण मिश्रित परमादेश ।
निवेदकः जिल्ला महोत्तरी अनकार गा.वि.स. वडा नं.५ बस्ने बिष्णुदेव महतो नुनिया
विरुद्ध
विपक्षीः श्रीमहोत्तरी जिल्ला अदालत, जलेश्वर समेत
§ मुख्य भै कामकाज गरेकोमा वाहेक अरु अवस्थामा एकाघरका उमेर पुगेको कुनै व्यक्तिले कुनै व्यवहार गरेको रहेछ भने निजले आफुले पाउने धनमा निजको हक नपुगेसम्म साहुले सो धनमा समाउन नपाउने ।
§ मुख्यले गरेको व्यवहार वा एकाघरका उमेर पुगेका अरुले गरेको मुख्य जानकारको पनि सहीछाप वा लिखत भएको रहेछ भने गोस्वारा धनवाट भरी भराउ गरी लिन पाउने ।
(प्रकरण नं.५)
§ लेनदेन मुद्दामा पक्ष विपक्ष बीच लेनदेन भई एक आपसमा भएको लिखतमा घरको मुख्य व्यक्तिको मन्जुरी प्राप्त भएको कुनै लिखत वा लिखतमा साक्षी बसेको कुरा कहीं कतैवाट नदेखिदा अदालतमा अंश मुद्दा चली वण्डा छुटयाई लिन पाउने ठहर भै फैसला वमोजिम छुट्याई चलन पूर्जी समेत प्राप्त भैसकेको अवस्था र लेनदेन कारोवार गर्दाका अवस्थामा यी प्रतिवादी घरको मुख्य व्यक्ति नभई निजकी आमा मुख्य व्यक्ति रहेको अवस्था देखिंदा निवेदक लगायत घरका अन्य व्यक्तिले पनि सो लेनदेनको दायित्व व्यहोर्नु पर्ने अवस्था नदेखिने ।
(प्रकरण नं.५)
निवदेक तर्फवाटः विद्वान अधिवक्ता श्री सतिश झा
विपक्षी तर्फवाटः
अवलम्वित नजीरः
आदेश
न्या.कल्याण श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८ बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :–
विपक्षी मध्येका लखन महत्तो नुनियाले म निवेदकवाट मिति २०५६।१।३ मा रु.१,०१०००।– कर्जा लिएकोमा भाखा भित्र ऋण नतिरेको कारण म निवेदक वादी र लखन महतो नुनिया प्रतिवादी भई महोत्तरी जिल्ला अदालतमा सम्बत २०५८ सालको दे..१६२८ को लेनदेन मुद्दा चलि उक्त अदालतवाट मिति २०५८।१२।७ मा सावाँ व्याज समेत गरी १,३०,५७०।५५ भरी पाउने ठहराई फैसला भई उक्त फैसला आजसम्म अन्तिम अवस्थामा रहेको छ । सो फैसला वमोजिमको विगो भरी भराउका लागि प्र.नं.३ को एका सगोलको छोरा जुगेश्वर महतो नुनियाका नाउँ दर्ताको जिल्ला महोत्तरी धिरापुर गा.वि.स.वडा नं.२ कि.नं.७२ को०–२–१ र ऋणी प्र.नं.३ कै भोग चलनको जिल्ला महोत्तरी विगौना गा.वि.स.वडा नं.९ गाउँ व्लक भित्रको मनिचन मण्डल खत्वेको घर देखि पूर्व, विष्णु मण्डलको घरदेखि उत्तर, सडक देखि दक्षिण, परमेश्वर मण्डल खत्वे लक्ष्मी मण्डल खत्वेको घरदेखि पश्चिम यति चार किल्ला भित्र पर्ने उत्तर दक्षिण पूर्वमा ६७'३” बिचमा ६८' पश्चिममा ४१' वीचमा ३८' दक्षिणमा ३७' सो मा भएको घर २ र फुसको छाना भएको घर १ एवं अर्को घडेरी जग्गा समेत तीन किल्ला अचल सम्पत्तिबाट असुल उपर गरी पाउन ०५९।४।२० मा दरखास्त दिएकोमा महोत्तरी जिल्ला अदालतको आदेशानुसार रोक्का भई विगो भरी भराउको कारवाहीका सिलसिलामा जायजात तायदात तथा पंच किर्ते मोल समेत कायम भई ०६०।२।८ मा डाँक लिलाम हुँदा कसैले सकार नगरेकोले दोश्रो पटक लिलामको तारिख मुकरर गरिएको थियो । यसै क्रममा प्र.नं.४ ले महोत्तरी जिल्ला अदालतमा आफै समेतको अंश हक लाग्ने जग्गा फुकुवा गरिपाऊँ भनी दिएको निवेदन उपर कारवाही हुँदा प्र.नं. १ का तहसिलदारले मिति ०६०।४।२ मा फुकुवा गरि दिने भनि आदेश गर्नु भएकोले उक्त आदेंश बदर गरी पाउन दण्ड सजायको ६१ नं. वमोजिम प्र.नं. १ समक्ष निवेदन दिएकोमा तहसिलदारको आदेशलाई नै सदर गरेको र सो आदेश उपर १७ नं. वमोजिम विपक्षी पुनरावेदन अदालत धनुषा समक्ष उजुरी गरेकोमा सो अदालतवाट पनि शुरु अदालतको आदेशलाई नै सदर गरेको अवस्था छ । मेरो विगो भरी भराउको निमित्त देखाएको ऋणीको उल्लेखीत जग्गा ऋणीकै तिरो भोगको र निजको एका सगोलको छोराकै नाम दर्ताको हो भन्ने तथ्यमा विवाद नभएको र प्र.नं.४ ले दायर गरेको अंश मुद्दाको फैसलाले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरिएको तथा मेरो लेनदेन मुद्दाको फैसला मिति ०५८।१२।७ मा भई ०५९।४।२० मा विगोको दरखास्त दर्ता गराई सकेर कारवाहीयुक्त अवस्थामा रहेको विगो मुद्दालाई औचित्यहिन बनाउन कथित मिति ०५९।८।२२ को अंश मुद्दाको फैसलाको आधारमा लेनदेन मुद्दामा रोक्का रहेको जग्गा फुकुवा गर्नेगरी भएको उल्लेखित आदेशहरु दण्ड सजायको २६ नं.अंशवण्डाको १८ नं.एवं लेनदेन व्यवहारको ८नं.समेतको प्रतिकूल भएकाले विपक्षी महोत्तरी जिल्ला अदालतवाट भएको मिति ०६०।४।२, ०६०।४।२३ र पुनरावेदन अदालत,धनुषावाट भएको आदेश प्रत्यक्षतः त्रुटी पूर्ण एवं गैरकानूनी भई म निवेदकलाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, १२ र १७ द्वारा प्रदत्त मौलिक हकमा आघात पुग्न गएकोले ऐ संविधानको धारा २३ तथा ८८(२) वमोजिम यो निवेदन लिई आएको छु । विपक्षी मध्येका महोत्तरी जिल्ला अदालत र पुनरावेदन अदालत धनुषाको उल्लेखित आदेशहरु र सो को आधारमा भएको एवं सम्पूर्ण काम कारवाही निर्णय पत्राचार समेत बदर गरी मेरो विगो भरी भराउका लागि देखाइएको सम्पत्तिवाट कानून वमोजिम बिगो असुल उपर हुने गरी डाँक लिलाम गरि दिनु भनी उत्प्रेषणयुक्त परमादेश जारी गरिपाऊँ र प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म विपक्षी नं.३ र ४ नं.ले अंश मुद्दाको फैसला वमोजिम वण्डा छुट्याई दर्ता चलनको कार्य गर्न गराउन सक्ने अवस्था भएको तथा सो वमोजिम हुन गएमा मुद्दामा जटिलता एवं विषमता सृजना हुन सक्ने भएकोले सर्वोच्च अदालत नियमावली,२०४९ को नियम ४१(क) वमोजिम महोत्तरी जिल्ला अदालतका नाउँमा वण्डा नछुट्याउनु भनी अन्तरिम आदेश समेत जारी गरिपाऊँ भन्ने समेत व्यहोराको निवेदन माग दावी ।
यसमा के कसो भएको हो ? निवेदकको माग वमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? सम्बन्धित मिसिल साथ राखी महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पठाउनु भनी विपक्षी महोतरी जिल्ला अदालत समेतका नाउँमा र आफै वा आफ्नो प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनी विष्णुदेव महत्तो समेतका नाउँमा रिट निवेदनको १ प्रति नक्कल साथै राखी सूचना पठाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६०।११।५ को आदेश ।
सम्मानित अदालतमा विचाराधीन रहेको रिट निवेदनलाई औचित्यहिन तुल्याउने हेतुले प्र.नं.३ र ४ समेतले मिलेमतो गरी प्र.नं.१ र २ को आदेशको आधारमा अंश छुट्याई मेरो थैली पचाउने उद्देश्यले विगोको कारवाही भित्र परेको जग्गा वेच विखन गर्न खोजेको हुँदा तत्काल सो वमोजिमको अंश छुट्याउने कारवाही स्थगित गरी जग्गा वेच विखन गर्न नपाउने गरी यथास्थितिमा राख्नु र प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागुन्जेल निवेदकको विगो दरखास्त वमोजिमको डाँक लिलामको काम कारवाही समेत अगाडि नबढाउन प्र.नं.१ को नाउँमा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१ वमोजिम अन्तरिम आदेश जारी गरिपाऊँ भन्ने समेत व्यहोराको निवेदक विष्णुदेब महतोले यस अदालतमा मिति ०६१।१।३१ मा द.नं.७३४४ मा दिएको निवेदन पत्र ।
यसमा अन्तरिम आदेशका सम्बन्धमा विचार गर्दा निवेदनको विषयवस्तुमा नै असर पर्ने देखिंदा हाल माग वमोजिमको अन्तरिम आदेश जारी गर्न मिलेन । रिट निवेदन नै निर्णयकोलागि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०६१।२।५ को आदेश ।
कानून वमोजिम अधिकार क्षेत्र ग्रहण गरी न्यायको रोहमा प्रमाण समेतको मूल्यांकन गरी कानून वमोजिम नै अन्तिम आदेश भएकोले यस्तोमा रिट क्षेत्र आकृष्ट नहुने स्पष्ट छ। यस अदालतवाट भएको उक्त आदेशवाट प्रस्तुत रिट निवेदनमा उल्लेख भए अनुसार निजको संविधानद्वारा प्रदत्त कुनै मौलिक हक हनन नभएकोले निवेदकको गैरकानूनी रीट निवेदन खारेज गरी पाउन सादर अनुरोध छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत,जनकपुरका तर्फवाट यस अदालतमा पेश हुन आएको लिखित जवाफ ।
जिल्ला महोत्तरी अन्कार गा.वि.स.वडा नं.५ बस्ने यी निवेदक विष्णुदेव महत्तो नुनियाले जिल्ला महोत्तरी पिगौना गा.वि.स.वडा नं.९ बस्ने लखन महतो नुनिया उपर दे.नं.१६२८ को लेनदेन मुद्दा दायर भई २०५८।१२।७ मा प्रतिवादीवाट वादी दावीको सावा व्याज भराई लिन पाउने ठहराई फैसला भएको र सो फैसला बमोजिम वादीले प्रतिवादीवाट विगो भराई पाउँ भनी यस अदालतमा दरखास्त परि विगो भरी भराउमा कारवाही भई रहेको अवस्थामा विपक्षी मध्येका विष्णुदेव महतोले मेरो अंश हकको जति घरजग्गा फुकुवा गरिपाऊँ भनी निवेदन दिएको र निवेदकले दिएको निवेदनमा यी निवेदक विसुनदेवको मन्जुरी विना घरको गैर मुख्य व्यक्ति लखन महतोले लिई खाएको ऋण वापतमा लेनदेन पर्नु अगावै दायर भई निवेदकले वण्डा छुट्याई लिन पाउने ठहरेको घर जग्गावाट प्रस्तुत मुद्दाका वादीको विगो भराई लिन कानूनी दृष्टिकोणले मिल्ने नदेखिएको अवस्थामा यी विष्णुदेव समेतले वण्डा छुट्याई लिन पाउने ठहरेको घर जग्गा समेत प्रस्तुत मुद्दाका वादीले विगो दरखास्तमा देखाई ल्याएको र निवेदक र प्रतिवादी लखन महतो आधी आधीका अंशियार देखिएवाट निवेदन माग वमोजिम निवेदकले वण्डा छुट्याई लिन पाउने ठहरेको आधि घर जग्गासम्म फुकुवा गर्ने र वांकी रहने आधि घरजग्गाबाट वादीको फैसला अनुसारको विगो भराउने तर्फ आवश्यक कारवाही गर्ने गरी मिति २०६०।४।२ मा यस अदालतको तहसिल शाखावाट आदेश भई उक्त आदेश उपर चित्त नबुझी वेरीतको आदेश बदर गरि पाउँ भनी निवेदक विष्णुदेव महतोको निवेदन परी इजलास समक्ष पेश हुँदा मिति २०६०।४।२ को तहसिलदारको आदेशलाई सदर गर्ने गरी मिति ०६०।४।२३ मा यस अदालतवाट आदेश भएकोमा सो आदेश उपर पुनः जग्गा रोक्का राखी पाउँ भनी निवेदकले पुनरावेदन अदालत जनकपुरमा निवेदन दिएकोमा उक्त अदालतवाट यस अदालतको मिति ०६०।४।२३ को आदेशलाई परिवर्तन गरिरहनु पर्ने देखिएन । कानून वमोजिम गर्नु भन्ने मिति ०६०।९।११ मा आदेश भएको हुँदा निवेदकको माग वमोजिमको उत्प्रेषण लगायतको परमादेश जारी हुने अवस्था नहुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको महोत्तरी जिल्ला अदालतको लिखितजवाफ ।
स्व.गोखुल महतो तथा स्व.सुनियादेवीवाट दुई छोराको जायजन्म भएकोमा जेठा रिट निवेदनमा विपक्षी बनाइएका लखन महतो र कान्छो म लिखित जवाफवाला विष्णुदेव महतो हुँ । लखन महतोको श्रीमती पचियादेवी र छोरा जुगेश्वर महत्तो हुन । मिति २०५८।६।११ मा सुनियादेवी र म विष्णुदेव महतो समेत दुईजनाले लखन महतो १, पचियादेवीन १ र जुगेश्वर महतो १ समेतका ३ जना विरुद्ध महोत्तरी जिल्ला अदालतमा ३ खण्डको २ खण्ड अंश पाउ भनी दे.नं.६१२ को अंश मुद्दा दर्ता गरेकोमा मिति २०५९।८।१२ मा वादी दावी ठहर भई फैसला भएकोमा सो फैसला उपर विपक्षीहरुको कुनै पुनरावेदन नपरी अन्तिम भै रहेको हुँदा फैसला वमोजिम वण्डा छुट्याई पाउन मैले दरखास्त दिएकोमा ०६०।७।४ मा उक्त अदालतवाट वण्डा छुट्याई दिने कार्य सम्पन्न भई मलाई चलन पूर्जी समेत प्राप्त भएको छ । मेरा दाजु लखनमहतोले मेरो अंश हक मार्नलाई मलाई कुनै थाहा जानकारी नै नदिई मन्जुरी समेत नलिई आफ्नो सालो रिट निवेदक विष्णु महतोको नाउँमा कपाली तमसुक बनाई आपसमा लेनदेन गरी उक्त महोत्तरी जिल्ला अदालतवाट ०५८।१२।७ मा फैसला गराएको रहेछ । म लिखित जवाफवाला तथा मेरो दाजु लखन महतो बनीवुतो गरी खाने अति गरीब मानिस हौं । रिट निवेदनमा उल्लेखित व्यक्ति ठूलो रकम लिनु दिनु भएको भन्ने तथ्यमा कसैले पनि विश्वास गर्न सक्ने अवस्था नभएको र लखन महतोले आफ्नो नाउँमा गरि दिएको लिखतको दायित्व निजले नै व्यहोर्नु पर्ने तथा विपक्षी रिट निवेदक स्वच्छ भावनाले सम्मानित अदालतमा प्रवेश नगरेको र म लिखित जवाफवालाको अंश हक मार्ने दुषित भावनाले रिट निवेदन लिई अदालत प्रवेश गरेको हुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको विपक्षीमध्येका विष्णुदेव महतो नुनिया महतोको लिखित जवाफ ।
विपक्षी मध्येका लखन महतो नुनियाका नाउँमा यस अदालतवाट जारी भएको म्याद मिति २०६१।२।१८ मा तामेल भई म्याद भित्र लिखित जवाफ नफिराई वसेको ।
२. नियम वमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको रिट निवेदन सहितको मिसिल अध्ययन गरि निवेदक तर्फवाट रहनु भएका विद्वान अधिवक्ता श्री सतिश झाले मेरो पक्षले अदालतको फैसला बमोजिम लेनदेन मुद्दाको विगो भरी भराउका लागि रोक्का राखेको जग्गा विपक्षी विष्णुदेव महतोको समेत अंश हक लाग्ने भनी रोक्का रहेको जग्गा मध्ये निजको भाग जति फुकुवा गर्ने गरी तहसिलदारवाट भएको आदेशलाई सदर कायम गर्दै महोत्तरी जिल्ला अदालत तथा पुनरावेदनअदालत जनकपुरवाट भएको आदेश त्रुटीपूर्ण भएको र सो आदेश वमोजिम रोक्का रहेको जग्गा फुकुवा हुँदा मेरो पक्षको विगो भरी भराउ हुन नसक्ने भएकोले उत्प्रेषणको आदेशद्वारा उक्त आदेश बदर गरि मेरो पक्षले विगो भरि भराउका लागि दिएको दरखास्त वमोजिमको घर जग्गावाट विगो भराइ दिने कार्य गर्नु गराउनु भनी विपक्षीका नाममा परमादेशको आदेश समेत जारी गरिपाऊँ भनी गर्नु भएको बहस समेत सुनियो ।
३. उपर्युक्त वमोजिम निवेदकका तर्फवाट रहनु भएका विद्वान अधिवक्ताको बहस समेत सुनी निर्णयतर्फ विचारगर्दा निवेदकको निवेदन माग वमोजिमको आदेश जारी हुनु पर्ने हो ? वा होइन ? भनी निर्णय दिनु पर्ने देखिन आयो ।
४. यसमा निर्णयतर्फ विचार गर्दा म निवेदक वादी र विपक्षी मध्येको विष्णुदेव महत्तो नुनिया प्रतिवादी भई सप्तरी जिल्ला अदालतमा चलेको मुद्दामा भएको फैसला वमोजिमको विगो भरी भराउ निमित्त दायर गरेको दरखास्त वमोजिम रोक्का रहेको जग्गा विपक्षीहरु मध्येका विष्णुदेव महतो समेत वादी र लखन महतो समेत प्रतिवादी भै आपसमा चलेको अंश मुद्दाको कारण जनाई महोत्तरी जिल्ला अदालतका तहसिलदारबाट आधा घर जग्गा फुकुवा गरि दिएको र सोही आदेशलाई महोत्तरी जिल्ला अदालत एवं पुनरावेदन अदालत जनकपुरवाट पनि सदर गरि दिएकोले मलाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११,१२ र १७ वमोजिम प्राप्त हक अधिकारमा आघात पुग्न गएकोले ऐ संविधानको धारा २३ तथा ८८(२) वमोजिम निवेदन लिई यस अदालतमा आएको छु । उक्त महोत्तरी जिल्ला अदालतका तहसिलदारवाट उल्लेखित जग्गा फुकुवा गर्नेगरी भएको आदेश लगायतका सम्पूर्ण काम कारवाही बदर गरी पुनः रोक्का गरी लिलाम कार्य समेत गरि दिन निमित्त विपक्षीहरुका नाउँमा उत्प्रेषण मिश्रित परमादेश जारी गरिपाऊँ भन्ने निवेदन माग दावी रहेको पाइन्छ । तहसिल शाखाबाट मिति २०६०।४।२ मा भएको वेरितको आदेश बदर गरिपाऊँ भनी विपक्षी विष्णुदेव महतोको निवेदन परी निर्णय हुँदा दावीको सम्पत्ति विष्णुदेवको अंश भागमा पर्ने भएवाट निजलाई फैसला वमोजिम अंश भाग दिलाउने प्रयोजनका लागि फैसला कार्यान्वयन गर्न तहसिलदारले सोही क्रममा रोक्का रहेको जेथालाई फुकुवा गर्ने गरी भएको आदेश कानूनसम्मत भएकोले निवेदनको निवेदन माग वमोजिमको आदेश जारी हुनुपर्ने होइन भन्ने महोत्तरी जिल्ला अदालतको लिखित जवाफ रहेको तथा शुरु अदालतको आदेश मिलेकै देखिंदा सदर गरिएको हुँदा निवेदकको माग वमोजिमको आदेश जारी हुनु पर्ने होइन भन्ने व्यहोराको पुनरावेदन अदालत, जनकपुरको लिखित जवाफ रहेको पाइन्छ ।
५. निवेदकले लेनदेन मुद्दामा विगो भरी भराउका लागि दरखास्तमा उल्लेख गरेको कि.नं.७२२ लगायतका गाउँ व्लक भित्र पर्ने घर जग्गावाट विगोभरी भराउका लागि दरखास्त दिएको र कि.नं.७२२ को जग्गा जुगेश्वर महतोका नाउँमा दर्ता रहेको देखिएको तथा उक्त जग्गा यिनै विपक्षी मध्येका विष्णुदेव महतो समेत वादी र लखन महतो समेत प्रतिवादी भई महोत्तरी जिल्ला अदालतमा चलेको २०५८ सालको दे.नं.१६१२ को अंश मुद्दावाट विपक्षी मध्येका विष्णुदेव महत्तोले २ खण्डको १ खण्ड अंश पाउने गरी फैसला भई वण्डा छुट्याई पाउन निजको दरखास्त परी महोत्तरी जिल्ला अदालतवाट वण्डा छुट्याई दिई निजले मिति २०६०।७।२८ मा चलन पूर्जी समेत प्राप्त गरेको महोत्तरी जिल्ला अदालतवाट प्राप्त मिसिलबाट देखिन्छ । अंश मुद्दा चल्दाका अवस्थामा घरको मुख्य व्यक्ति यी लखन महतो नभई यिनै लखन महतोकी आमा सुनियादेवी देखिएको र लेनदेन मुद्दाका वादी विष्णुदेव महतो र प्रतिवादी यिनै लखन महतो बिच लेनदेन हुँदाका अवस्थामा निज घरको मूख्य व्यक्ति रहेका थिए भन्ने कुरा कही कतैवाट देखिदैन । मुलुकी ऐन लनेदेन व्यवहारको ९ नं.वमोजिम मुख्य भै कामकाज गरेकोमा वाहेक अरु अवस्थामा एकाघरका उमेर पुगेको कुनै व्यक्तिले कुनै व्यवहार गरेको रहेछ भने निजले आफुले पाउने धनमा निजको हक नपुगेसम्म साहुको सो धनमा समाउन पाउँदैन भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ भने ऐ महलको ८ नं. लाई हेर्दा मुख्यले गरेको व्यवहार वा एकाघरका उमेर पुगेका अरुले गरेको मुख्य जानकारको पनि सहीछाप वा लिखत भएको रहेछ भने गोस्वारा धनवाट भरी भराउ गरी लिन पाउने देखिन्छ । लेनदेन मुद्दामा पक्ष विपक्ष रहेका यी निवेदक विष्णुदेव महतो र लखन महत्तो वीच लेनदेन भई एक आपसमा भएको लिखतमा घरको मुख्य व्यक्तिको मन्जुरी प्राप्त भएको कुनै लिखत वा लिखतमा साक्षी बसेको कुरा केही कतैवाट देखिदैन । अदालतमा अंश मुद्दा चली २ खण्डको १ खण्ड वण्डा छुटयाई लिन पाउने ठहर भै फैसला वमोजिम २ खण्डको १ खण्ड वण्डा समेत छुटयाई चलन पूर्जी समेत प्राप्त भै सकेको अवस्था र लेनदेन कारोवार गर्दाका अवस्थामा लखन महतो घरको मुख्य व्यक्ति नभई निजकी आमा सुनियादेवी महतो मुख्य व्यक्ति रहेको अवस्था देखिंदा यी निवेदक विष्णुदेव महत्तो नुनिया र लखन महतो नुनिया वीच भएको लेनदेनको दायित्व घरका अन्य व्यक्तिले पनि व्यहोर्नु पर्ने अवस्था देखिएन ।
६. अतः निवेदकको निवेदन माग वमोजिम महोत्तरी जिल्ला अदालतको तहसिल शाखावाट विपक्षीमध्येको विष्णुदेव महतो नुनियाको अंश भागमा परेको आधा भाग जग्गा फुकुवा गर्ने गरी भएको मिति २०६०।४।२ को आदेशलाई सदर गर्ने गरी उक्त जिल्ला अदालतवाट भएको मिति २०६०।४।२३ को आदेशलाई सदर गर्दे मिति ०६०।९।११ मा पुनरावेदन अदालत, जनकपुरबाट भएको आदेश समेतलाई बदर गरिरहनु पर्ने अवस्था नदेखिंदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । दायरीको लगत कट्टा गरी प्रस्तुत मिसिल नियमानुसार अभिलेख शाखामा वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गौरी ढकाल
इति संवत २०६४ साल फागुन १७ गते रोज ६ शुभम–––––––
इजलास अधिकृत–इश्वरी प्रसाद गौतम