निर्णय नं. ४१५० - घरजग्गा छुट्याई पाउँ

निर्णय नं. ४१५० ने.का.प. २०४७ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४६ सालको दे.पु.नं. ५१०
फैसला भएको मिति: २०४७।५।१३।४ मा
निवेदक/प्रतिवादी : का.न.पं. वा.नं. २० बस्ने सानु भाइ भन्ने सानु महर्जनसमेत
विरुद्ध
विपक्षी/वादी : का.न.पं. वा.नं. १३ बस्ने तुयु महर्जन
मुद्दा : घरजग्गा छुट्याई पाउँ
(१) वादीले आफ्नु बाबुको भागबाट एक भाग पाउने हुँदा जम्मा सम्पत्तिको ६ भागको १ भाग मात्र नरम करम मिलाई लिन पाउने ठहर्छ संयुक्त नाम दर्ताको कारणले ५ भागको १ भाग पाउने गरी गरेको बा.अं.अ. को निर्णय उपर म.क्षे.अ. ले पुनरावेदनको अनुमति नदिने गरी गरेको आदेश समेत नमिलेकोले बदर हुने ।
(प्रकरण नं. १४)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री तिर्थराज बसौला
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री राजन ढुंगाना
फैसला
न्या.प्रचण्डराज अनिल
१. बा.अं.अ. को फैसला उपर म.क्षे.अ. बाट पुनरावेदनको अनुमति नदिए उपर यस अदालतबाट पुनरावेदनको अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्न प्रकार छ ।
२. आमा विपक्षी माया महर्जनको नामको का.जि. डाँडापौवा गा.पं. वडा नं. ५(क) कि.नं. ६७ को २–०–२ ऐ.स्यूचाटार गा.पं. वडा नं. १ कि.नं. ३७० को १–३–२–० चुडिखेल गा.पं. वडा नं. ९(ख) कि.नं. ३६ को १–१३–२–० जग्गा पिता झ्यापु महर्जनका नाउँमा रहेको का.जि. टंकेश्वर गा.पं. वडा नं. ७(ग) कि.नं. ४४ को १–२–० जग्गा र त्यसमा बनेको जस्तापाताको छानो भएको २ नाले ३ तले घर समेत चन्द्रमान महर्जन सानु महर्जन, अष्टमान महर्जन, तुयु महर्जन, नारायण महर्जन समेत ५ जनाको नाममा संयुक्त दर्ता भएको उक्त घर जग्गाहरुबाट मेरो भागको ५ भागको १ भाग घर जग्गा छुट्याई मेरा नाममा दर्ता गरी पाउँ र कि.नं. ४४ को जग्गा र घरको हकमा दक्षिणतर्फबाट मेरो भाग छुट्याई पाउँ भन्ने समेत व्यहोराको नारायण महर्जनको फिरादपत्र ।
३. मेरो पिता र विपक्षीको पिताको अघि नै अंश बण्डा भइसकेको छ । टंकेश्वर गा.पं. वडा नं. ७ (ग) कि.नं. ४४ को जग्गामा घर छ भनी झुठ्ठा दावी गरेको हो कि.नं. ४९ को मोहियानी जोतको जग्गामा हामी दाजु भाइले घर बनाएको हो उक्त घर वारीमा वादीको हक लाग्ने होइन कि.नं. ४४ को जग्गाको दक्षिणतर्फबाट यो वादीलाई दिन हाम्रो मन्जूर छैन उत्तरतर्फबाट पाउने गरी उत्तरतर्फ नै कायम गरी वादी दावीको ४ किल्ला जग्गाहरुमा हाम्रो आधा हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको चन्द्रमान महर्जन समेतको संयुक्त प्रतिउत्तर ।
४. विवादित घर कि.नं. ४४ मा अवस्थित रहेको नभई प्रतिवादीहरुको निजी हक भोगको कि.नं. ४९ को जग्गामा अवस्थित रहेको तथ्य सर्भे नापीको नक्शा र यस अदालतबाट भई आएको नक्शा समेतबाट स्थापित भएको देखिँदा घरतर्फको वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको मिति ०४५।१०।६ को का.जि.अ. को फैसला ।
५. उक्त मिति २०४५।१०।६ को का.जि.अ.को फैसलामा चित्त बुझेन । अतः हाम्रो प्रतिउत्तर जिकिर बमोजिम ६ खण्डको १ खण्ड पाउने ठहर गरी आँशिक उल्टी फैसला गरी पाउँ भन्ने समेत व्यहोराको मिति ०४५।१२।९।४ को चन्द्रमान महर्जन समेतको पुनरावेदनपत्र ।
६. यसमा मालपोत कार्यालयबाट प्रमाण निमित्त आएको मिसिलबाट शुरु काठमाडौं जिल्ला अदालतको फैसला विचारणीय हुँदा अ.बं. २०३ नं. अनुसार विपक्षीलाई झिकाई हाजिर भएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने मिति ०४६।२।२५।४ को झ.झि. आदेश ।
७. यसमा मालपोत कार्यालयबाट प्रमाण निमित्त आएको मिसिलबाट शुरु का.जि.अ. बाट गरेको फैसला विचारणीय हुँदा अ.बं. २०२ नं. अनुसार विपक्षीलाई झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत ०४६।२।२५ को बा.अं.अ. बाट भएको आदेश ।
८. वादी र प्रतिवादीका पिता बीच अघि नै बण्डा भइसकेको देखियो । दावीको जग्गा चन्द्रमान समेतको निवेदनबाट ५ जनाको नाममा नामसारी भएको देखिन्छ । पक्ष विपक्ष समेत ५ जनाको नाममा संयुक्त नामसारी भएबाट वादीले संयुक्त दर्तावालाको नाताले ५ भागको १ भाग वादीको हक लाग्ने देखिन्छ । यसरी दर्ता भइसकेपछि हाल अंशबण्डाको ३ नं. अँगाली वादीले ५ भागको १ भाग पाउने होइन भन्ने प्रतिवादीको जिकिर मनासिब देखिएन । शुरुले ५ भागको १ भाग वादीको भाग छुट्याई दर्ता गरी दिने ठहर्याएको इन्साफ मनासिब हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत बा.अं.अ. को मिति ०४६।५।१ को फैसला ।
९. बा.अं.अ. को फैसलामा ५ भागको १ भाग वादीले पाउने गरी गरेको निर्णय त्रुटिपूर्ण छ । वादी दाजुभाइ ३ जना र प्रतिवादी दाजुभाइ २ जना भएकोमा हाम्रा बाबुको आधा आधा अंश हुने भई सो आधाबाट वादीहरुले दावी लिन पाउने अवस्था विद्यमान हुँदा सम्पत्तिको ६ भागको १ भाग मात्र वादीले पाउनु पर्ने हो तसर्थ पुनरावेदनको अनुमति पाउँ भन्ने समेत म.क्षे.अ. मा परेको निवेदनपत्र ।
१०. वादी र प्रतिवादीहरु ५ जनाको नाममा संयुक्त दर्ता भएको जग्गामा सबैको बराबर हक लाग्ने, यसमा अंशको दावी भएको पाइएन सो फैसलामा कुनै त्रुटि विद्यमान नदेखिँदा पुनरावेदनको अनुमति दिन मिलेन भन्ने समेत म.क्षे.अ. को मिति ०४६।६।५।५ को आदेश ।
११. विवादित जग्गा पैत्रिक सम्पत्ति हो । यो सम्पत्ति बण्डा हुनु पर्ने हुँदा संयुक्त दर्तामा बराबर हक हुने भन्ने प्रश्न आउँदैन । जेठा झ्यापु, कान्छो भाइचा दाजु भाइ हुन झ्यापुका छोरा विपक्षी ३ र भाइका हामी प्रतिवादी २ जना भएका । अब विपक्षीले बाबुको एक भागबाट ३ जना विपक्षीले भाग गरी खान पाउने हुँदा बा.अं.अ.को फैसलामा ५ भागको १ भाग पाउने भनी गरेको निर्णय त्रुटिपूर्ण छ विपक्षीले ६ भागको १ भाग मात्र पाउनु पर्ने भएकोले म.क्षे.अ.ले पुनरावेदनको अनुमति नदिएको आदेश कानुनसंगत नहुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा परेको निवेदनपत्र ।
१२. यसमा फिराद दावी गर्दा पुस्तावारी समेत देखाई पाँच खण्डको १ खण्ड छुट्याई पाउँ भन्ने दावी बमोजिम ५ भागको १ खण्ड पाउने नभई ६ खण्डको १ खण्ड मात्र पाउने भनी प्रति जिकिर रहेकोबाट ६ खण्डको १ खण्ड मात्र हकदार वादी देखिएको खण्डमा ५ खण्डको १ खण्ड छुट्याई दिने ठहर्याएको शुरुको इन्साफ सदर गरी बा.अं.अ. ले गरेको फैसलामा पुनरावेदनको अनुमति नमिल्ने भन्ने म.क्षे.अ. को आदेशमा प्रमाण ऐन, २०३१ को दफा ६(ख) को व्याख्यात्मक त्रुटि देखिएकोले न्या.प्र.सु. ऐनको दफा १३(७) अन्तर्गत दफा १३(५) ख अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति ०४६।८।१ को आदेश ।
१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा म.क्षे.अ. ले गरेको आदेश मनासिब छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आयो । पुनरावेदकको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री तीर्थराज बसौला तथा विपक्षीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री राजन ढुड्डानाले गर्नु भएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा वादी प्रतिवादीहरु ५ जनाको नाममा संयुक्त रहेको जग्गा पैतृक सम्पत्ति रहेछ भन्ने कुरा दर्ता श्रेस्ता समेतबाट देखिएको पाइन्छ । विवादित जग्गा बाहेक अन्य सम्पत्तिहरु अंशबण्डा भएको भन्ने कुरा मिसिलबाट देखिँदैन ।
१४. यसरी बण्डा नभएको सम्पत्ति जे जस्का नाममा रहे तापनि बण्डा गर्दा के कति भाग कसले पाउने भन्ने कुराको यकीन गर्नु पर्ने हुन आउँछ । यस सम्बन्धमा वादी प्रतिवादीले उल्लेख गरेको पुस्तावली अनुसार वादीको बाबु र प्रतिवादीको बाबु दाजुभाइ भएपछि आ–आफ्ना बाबुको लाग्ने अंश भागबाट छोराहरुले अंश पाउने कुरा अंशबण्डाको ३ नं. ले व्यवस्था गरेको छ । वादीले आफ्नो बाबुको भागबाट एक भाग पाउने हुँदा जम्मा सम्पत्तिको ६ भागको एक भाग मात्र नरम करम मिलाई लिन पाउने ठहर्छ । संयुक्त नाम दर्ताको कारणले ५ भागको १ भाग पाउने गरी गरेको बा.अं.अ. को निर्णय उपर म.क्षे.अ.ले पुनरावेदनको अनुमति नदिने गरी गरेको आदेश समेत नमिलेकोले बदर हुन्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु सदर गरेको अञ्चल अदालतको इन्साफमा अनुमति नदिने म.क्षे.अ. को आदेश बदर भएकोले शुरु जिल्ला अदालतको फैसलाले राखेको लगत व्यहोरा जनाई कट्टा गर्न का.जि.अ.त.मा लगत दिनु...१, वादी के माथि इन्साफ खण्डमा लेखिए बमोजिम विवादित चार कित्ता जग्गा मध्येबाट ६ भागको १ खण्ड निजले लिन पाउने ठहरेकाले सो बमोजिम ६ भागको १ भाग निजका नाममा दर्ता गरी ज.ध.द.प्र.पु. दिनु मालपोत कार्यालयमा लेखी पठाउनु...२ प्र.प्रतिवादीके निजले अञ्चल अदालतमा पुनरावेदन गर्दा राखेको धरौटी रु. ५।– निजले फिर्ता पाउने हुँदा ऐनका म्याद भित्र फिर्ता पाउन दर्खास्त दिए कानुन बमोजिम गरी फिर्ता खर्च लेखिदिनु भनी का.जि.अ.त.मा लगत दिनु...३, ऐ.के निजले बागमती अञ्चल अदालतमा पुनरावदेन गर्दा राखेको कोर्टफी रु. ।७५ यस अदालतमा पुनरावेदनको अनुमति पाई दर्ता हुँदा राखेको कोर्टफी रु. १।५० समेत जम्मा रु. २।२५ वादीबाट निजले भराई पाउने हुँदा वादीको यसै सरहदको जेथा देखाई भराई पाउँ भनी ऐन बमोजिम दर्खास्त दिन आए कानुन बमोजिम गरी भराई दिनु भनी ऐ.ऐ...४, मिसिल नियम बमोजिम गरी बुझाई दिनु...५
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इतिसम्वत् २०४७ साल भाद्र १३ गते रोज ४ शुभम् ।