निर्णय नं. ४१५३ - कर्तव्य ज्यान

निर्णय नं. ४१५३ ने.का.प. २०४७ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४६ सालको फौ.पु.नं. २७६
फैसला भएको मिति : २०४७।५।१३।४ मा
पुनरावेदक/वादी : केहर सिंहको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : पं. ४नं. भीरकोट खिलाउड्ड विडिकेवरेज फदी बस्ने मदनबहादुर खत्री
मुद्दा : कर्तव्य ज्यान
(१) वारदात हुँदैका अवस्था अभियुक्त कहीं कतै गई मार्ने नियत लिई कुनै साधन जुटाएको नभई वारदात भएकै स्थलमा तीनैजना अभियुक्तहरुले तत्काल उठेको रिसमा कुटपिट तथा मुखमा बुझो समेत लगाई दिएकोबाट मर्ने र सोहीको सानो बच्चा समेत मर्न गएको देखिन्छ, वारदातको यही प्रकृतिलाई ध्यानमा राखी यस अदालतबाट समेत यिनी अभियुक्त बाहेकका अरु अभियुक्तहरुको सम्बन्धमा ठहर गर्दा सो वारदातलाई ज्यानसम्बन्धीको १४ नं. अन्तर्गतको वारदात कायम गरी अन्तिम फैसला भइरहेको देखिन आएकोले सोही वारदातमा यिनी अभियुक्तलाई दावी बहस जिकिर बमोजिम ज्यानसम्बन्धीको १३(३) नं. अन्तर्गतको वारदात कायम गरी सोही बमोजिम सजायँ हुने भन्न कानुनले नमिल्ने ।
(प्रकरण नं. १५)
पुनरावेदक/वादी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री ध्रुवलाल राज
फैसला
न्या.हिरण्येश्वरमान प्रधान
१. प.क्षे.अ.को मिति २०४६।२।१७ को फैसला उपर श्री ५ को सरकारतर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :–
२. २०२२।६।२५ गतेका दिन राती ४ बजे मेरो भाइ मनबहादुरका घरमा अग्नी प्रवेश भई मनबहादुरको श्रीमती र निजको छोरी समेत डढी मरेकोले लाश जाँच गरी पाउँ भन्ने समेत केहर सिंहको जाहेरी ।
३. २०२२।६।२५ गतेका दिन वनमा घाँस काट्न गई दिनको अं. ४ बजेतिर घाँस लिई घर फर्के खेततर्फ गई साँझ आई भैंसी दुही घरमा आउँदा स्वास्नी पानी लिई आएको देखी केही खानेकुरा बनाएकी छैनस् भनी भन्दा एकसरो मानिसले पनि भनेको बेलामा खान पाइन्छ भनी जवाफ दिएकीले मैले दुध तताइसकी दिदी भागिरथीको घरमा रोटी पकाएकीले त्यहाँ गई रोटी खाई घरमा फर्किंदा मैले मकै भुटेकी र भात समेत पकाई सकेकी छु तिमी अर्काको घरमा गएर खाने भनी स्वास्नीले भनेकीले तँ बोक्सीले पकाएको भात मकै समेत खान्न भनी मैले भन्दा स्वास्नी रिसाई आगो सहितको अगुल्टोले मेरो गोडाको नली हाडमा हिर्काएकोले मैले पनि हात फर्काई हान्दा नाबालक छोरी पनि निज स्वास्नीको काखमा दिई मैले दाजु केहर सिंहलाई बोलाई मलाई यसले पिटी मैले स्वास्नीलाई पार गरी दिन्छु कि अंश दिई बेगल राख्नु पर्यो के गरी दिन्छौ भनी भन्दा जेठो दाजु भागिरथी भित्र पसी निज स्वास्नीलाई पछाडी पट्टि मुड्कीले ५, ७ चोट हानेकोले स्वास्नीको शरीर छातीले अठ्याई थिची बालक मरेकी हो मेरो दाजु भागिरथीले टोपीको बुझो लगाई सास फेर्न बन्द भई केहर सिंहको चोटपीरले स्वास्नी हरिकलाको मृत्यु भएको हो मलाई अगुल्टाले हानेको रिसले मैले मार्नमा सहयोग गरेको हुँ मेरो घरमा भएको धान, मकै भाँडा समेत आगो लगाउनु भन्दा पहिले नै जम्मा गरी ढोकाको सामुन्ने मझेरीमा राखेको थिए भन्ने समेत व्यहोराको मनबहादुर खत्री क्षेत्रीले प्रहरीमा गरेको बयान ।
४. मनबहादुर समेत भई हरिकलालाई र छोरीलाई कर्तव्यबाट मारी घरमा आगो लगाएमा शंका लाग्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
५. यसमा मनबहादुर केहर सिंह भागिरथी ३ जनाको कर्तव्यबाट हरिकला र निजको वर्ष १ को नाबालक छोरीको मृत्यु हुन गएको देखिएकोले ज्यानसम्बन्धी को १३(३) अनुसार सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन दावी ।
६. ०२२।६।२५ गते मनबहादुर र हरिकला झगडा गरेछन् यसलाई बाँध्नु पर्दछ भनी मनबहादुरले भनेको र हरिकलाले लौ बाँध भनी घुचेटी दिएकोले माहिलो भाइ उत्तानो परी लडेपछि उठेर हरिकलाको दुधमा मुड्कीले हान्यो सो मौकामा मैले पछाडिबाट मुड्कीलेसम्म हानेको हुँ हामी ३ भाइले कुटपिट गरेका हुँ । आमालाई कुट्दा थिचिई छोरी मरेको हो हरिकलालाई पिंडिको कुनामा मारेको हो हरिकलाको लास टाउको पट्टि मनबहादुर गोडा पट्टि मैले ढाडमा केहर सिंहले समाती तलामा लगी सुताई छोरीलाई पनि आमाको साथमा सुताई मनबहादुरले घरमा आगो लगाएको हो भन्ने समेत व्यहोराको भागिरथले अदालतमा गरेको बयान ।
७. हरिकलालाई मैले मारेको नहुँदा सो अपराधबाट बच्न घरमा आगो लाउनु पर्दछ भन्ने सल्लाह मैले दिएको हैन । निज हरिकलालाई मार्ने मराउने सल्लाह दिने मतियारहरु होलान् जस्तो लाग्दैन कुट्ने मनबहादुर दाजु भागिरथ मात्र हुन कुटपिट भएको ठाउँमा म आधा घडी जति मात्र बसेकोले हरिकलालाई कुन टायममा मारेका हुन् र कुन टायममा मरेकी हो मलाई थाहा छैन मैले कुटपिट गरेको र ज्यान मारेको समेत होइन भन्ने समेत व्यहोराको केहर सिंह खत्री क्षेत्रीले अदालतमा गरेको बयान ।
८. प्रतिवादी मनबहादुर खत्री क्षेत्रीका नाउँमा ०२२।८।२८ मा तामेल भएको तामेली म्यादमा हाजिर नभई फेरार भई बसेको रहेछ ।
९. यसमा बुझिएसम्मका सबूद प्रमाणबाट प्रतिवादी भागिरथ केहर सिंहले प्रहरी प्रतिवेदन दावी अनुसार लात मुक्काले कुटपिट गरी हरिकला समेतलाई मारेको देखिनाले ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजायँ हुने र फरार हुने अभियुक्त मनबहादुरका हकमा मुलतवी राखी दिने भन्ने समेत ०२४।३।१५ को स्याड्डजा जिल्ला अदालतको फैसला र उक्त फैसलालाई सदर गरी गण्डकी अञ्चल अदालत र सर्वोच्च अदालतबाट समेत भएको फैसला ।
१०. गण्डकी अञ्चल अदालतबाट र सर्वोच्च अदालतबाट फैसला भएको र ०२४।१।२५ मा अंश रोक्का भएको मुचुल्का भई आएको देख्दा अ.बं. १९० नं. बमोजिम यो मुद्दा मुलतवीबाट जगाई कारवाही गर्नु पर्ने देखिएकोले मुलतवीबाट जगाई दिएको छ भन्ने समेत ०४१।१०।२ का स्याड्डजा जिल्ला अदालतको आदेश ।
११. यसमा जाहेरी दर्खास्त तथा प्रहरी प्रतिवेदन दावी अनुसार प्रतिवादी मनबहादुर खत्री क्षेत्रीले कर्तव्य गरी ज्यान मारेको ठहर्छ ज्यानसम्बन्धी महलको १३(३) अनुसार जन्मकैद गर्ने ठहर्याएको साधक सदर भई आएबमोजिम गर्ने भन्ने समेत २०४३।८।३० को स्याड्डजा जिल्ला अदालतको जाहेरी फैसला ।
१२. यसमा प्र.मनबहादुरका नाउँमा तामेली भएको म्याद रीतपूर्वक नै देखिएको र म्यादै गुजारी बसेको र सरजमीन समेतले दोषी देखाई लेखाएको समेतबाट शुरु स्याड्डजा जिल्ला अदालतको प्र.मनबहादुरलाई जन्मकैदको सजायँ हुने ठहर्याई गरेको फैसला मनासिब देखिएकोले पश्चिमाञ्चल क्षेत्रीय अदालतमा जाहेर गर्नु भन्ने समेत ०४५।२।९ को गण्डकी अञ्चल अदालतको जाहेरी फैसला ।
१३. गण्डकी अञ्चल अदालतको उक्त फैसला प.क्षे.अ. मा साधक जाहेर भएकोमा यी प्रतिवादी समानका अन्य २ प्रतिवादी केहर सिंह र भागिरथलाई ज्या.सं. को १४ नं. को वारदात कायम गरी स.अ. बाट समेत सजायँ गरेको देखिँदा यी प्रतिवादी मनबहादुर समेतलाई सोही बमोजिम गर्नु पर्नेमा ज्या.सं. को १३(३) नं. बमोजिम सजायँ गरेको शुरु सदर गरेको ग.अं.अ. को फैसला बदर भई केही उल्टी हुन्छ भन्ने समेत प.क्षे.अ. को मिति २०४६।२।१७।३ को फैसला ।
१४. उक्त फैसलामा चित्त बुझेन प्रतिवादी मनबहादुरलाई शुरु प्रहरी प्रतिवेदन दावी अनुसार नै सजायँ हुनुपर्ने हो भन्ने समेत श्री ५ को सरकारतर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन ।
१५. नियम बमोजिम पेश भई आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकार तर्फका विद्वान उपन्यायाधिवक्ता श्री ध्रुवलाल राजले वारदातको विवरणबाट स्वास्नीले अगुल्टाले हानेपछि तत्काल वारदात भएको नभई अभियुक्त मनबहादुरले आफ्नो दाजुभाइलाई बोलाई ल्याई कुटपिट गरेको कारणबाट मर्ने हरिकलाको र सोही वारदातमा परी सानो बच्चा समेत मर्न गएको, मरी सकेपछि लाश माथि लगी राखी घरमा आगो समेत लगाई दिएको यो वारदातको मुख्य कारणी यिनी अभियुक्त मनबहादुर भएकोले निजलाई ज्यानसम्बन्धीको १४ नं. को अपराध कायम गरी सजायँ गरेको नमिल्ने भन्ने समेत व्यहोराको जिकिर लिनु भएकोमा बहसमा देखाइए बमोजिम मर्ने हरिकलाको मृत्यु निजले आफ्नो लोग्नेलाई अगुल्टोले हानी सकेपछि यिनी अभियुक्तले आफ्ना दाजुभाइलाई बोलाई ल्याएपछि भएको कुटपिटको वारदातबाट भएको स्पष्ट छ । सो वारदात भएपछि जिकिर बमोजिम सो वारदात हुँदैको अवस्था अभियुक्त मनबहादुर कहीं कतै गई मार्ने नियत लिई कुनै साधन जुटाएको नभई वारदात भएकै स्थलमा तीनैजना अभियुक्तहरुले तत्काल उठेको रिसमा कुटपिट तथा मुखमा बुझो समेत लगाई दिएकोबाट मर्ने हरिकला र सोही वारदातमा परी हरिकलाको सानो बच्चा समेत मर्न गएको देखिन्छ । वारदातको यही प्रकृतिलाई ध्यानमा राखी यस अदालतबाट समेत यिनी अभियुक्त बाहेकका अरु अभियुक्तहरु केहर सिंह र भगिरथको सम्बन्धमा ठहर गर्दा सो वारदातलाई ज्यानसम्बन्धीको १४ नं. अन्तर्गतको वारदात कायम गरी अन्तिम फैसला भइरहेको देखिन आएकोले सोही वारदातका यिनी अभियुक्तलाई दावी बहस जिकिर बमोजिम ज्यानसम्बन्धीको १३(३) नं. अन्तर्गतको वारदात कायम गरी सोही बमोजिम सजायँ हुने भन्न कानुनले नमिल्ने हुँदा इन्साफ प.क्षे.अ.को मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.बब्बरप्रसाद सिंह
इतिसम्वत् २०४७ साल भाद्र १३ गते रोज ४ शुभम् ।