शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१५४ - विष खुवाई मारेको ज्यान

भाग: ३२ साल: २०४७ महिना: भाद्र अंक:

निर्णय नं. ४१५४    ने.का.प. २०४७      अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४७ सालको फौ.पु.नं. ४२८

ऐ     ऐ. साधक नं. ८७

फैसला भएको मिति: २०४७।५।१७।१ मा

पुनरावेदक/प्रतिवादी : कारागार शाखा पाल्पामा बन्दी भई बस्ने सरस्वती घिमिरे

विरुद्ध

विपक्षी/वादी: प्रेमानिधी घिमिरेको जाहेरीले श्री ५ को सरकार

मुद्दा : विष खुवाई मारेको ज्यान

(१)    आफूसित बच्चा समेत स्याहार्ने कबूल गरी शारीरिक सम्बन्ध राखी पेट समेत बोकाएकाले, अरुसित विवाह गरी छाडी गएको पिरले आफूले पनि विष खाने र आफ्ना बालबच्चालाई पनि विष खुवाई मार्ने नियतले कसैलाई केही नभनी विष खाई खुवाई सुतेको भन्ने प्रहरी कागजकै कुरा साँचो देखिन आएकोले शुरु जिल्ला अदालतले मुलुकी ऐन ज्यानसम्बन्धीको १३(२) नं. अनुसार सर्वश्वसहित जन्मकैद गर्ने ठहर्‍याएको इन्साफ सदर गरेको अञ्चल अदालत र क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने ।

(प्रकरण नं. १६)

(२)   आफूलाई बालबच्चा सहित आफ्नो लोग्नेले पनि भएभरको सबै बेची छाडी गएको र बीचमा आफ्नो बालबच्चा सहितको लागि सहाराको रुपमा आफ्नो सतित्व समेत डगाई अपनाएको व्यक्तिले पनि गर्भका बच्चा सहित आफूलाई छोडी अरुसित नै विवाह गरेकोबाट आफ्नो बालबच्चाको पालन पोषणको कुनै सहारा नपाई विवश भई उक्त अपराधी काम गरेकोसम्म देखिन आएकोले निज अभियुक्तलाई सो बमोजिम सजायँ गर्दा चर्को नै पर्ने देखिएकोले सो कुरा महसूस गरी अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १० मात्र सजायँ गर्ने ठहर्‍याएको पनि परिस्थितिलाई विचार गर्दा चर्को नै पर्ने देखिएकोले कैद वर्ष ६(छ) मात्र गर्ने ।

(प्रकरण नं. १७)

पुनरावेदक तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना

फैसला

न्या.हिरण्येश्वरमान प्रधान

१.     न्याय प्रशासन सुधार ऐन, २०३१ (संशोधित सहित) को दफा १३(३)ग अन्तर्गत पुनरावेदन परी र ऐ.दफा १४ अनुसार साधकको लागि दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    २०४२।११।२२ गते म पाल्पा घरबाट टिदुलीगढ गा.पं. वडा नं. ९ बस्ने नारायणबिक्रम शाहको घरमा विवाहको निमन्त्रणामा आएको आजसम्म यहाँ बसेको छु । यस्तैमा २०४२।१२।५ गते बिहान अं. ७ बजे म बसेको घर नजिक दिपकविक्रम शाहको घरमा काम गर्न बसेको मेरो सालाको छोरी सरस्वती घिमिरेको छोरी अं. वर्ष ४ कि राधीका घिमिरे मरेको छन् भन्ने सुनी सरस्वती बस्ने गरेको ठाउँमा आई हेर्दा राधिका घिमिरे खाट माथि मृतक अवस्थामा देखेर सो खाटमा बान्ता उल्टी समेत रहेछ सोद्धा छोरा छोरीलाई औषधि खान दिएको छोरी मरिन मैले पनि औषधि खाएको हुँ भनी बताएकोले लाशलाई सुरक्षित राखी जाहेर गर्न आएको छु भन्ने समेत व्यहोराको प्रेमनिधि घिमिरेको २०४२।१२।५ को जाहेरी दर्खास्त ।

३.    खटिया माथि पूर्व टाउको, पश्चिम खुट्टा गरी उत्तानो परी मृतकको लाश रहेको, दायाँ हातको पन्जा खुला भएको, हत्केला कालो निलो देखिएको, मृतकको दायाँ आँखा केही खुला र बायाँ आँखा बन्द रहेको, नाकका दाहिने प्वालबाट र्‍याल र फिंज निस्केको र दाहिने गाला हुँदै लगाएको जामामा लागेको, बायाँ प्वालबाट र्‍याल र फिंज निस्केको ओठमाथि जमेको मुख केही खुला भई जिब्रोको टुप्पो देखिएको लाश रहेको बिछ्यौनामा बान्ता (उल्टी) गरेको जस्ता पदार्थ देखिएको भन्ने समेत व्यहोराको २०४२।१२।५।३ को लाश प्रकृति मुचुल्का ।

४.    दिपकविक्रम शाहको घरमा भान्से भई बसेकी थिएँ । नारायणबिक्रम शाहको घरमा काम गरी बस्ने किशोर ठकुरीसंग १ वर्ष अगाडि देखि माया प्रेम बसी शारीरिक सम्बन्ध भएको र निजले मलाई विवाह गरी पहिलो लोग्नेका छोरा छोरी पाल्छु समेत भनेकाले विश्वासमा परी माया प्रिती राख्दै आएको बखत २०४२ साल कार्तिक देखि निज किशोरले काम छाडी बालबिक्रमको घर गई काम गरी रहे पनि बेला बेलामा आई रहन्थे । निजबाट मेरो गर्भ समेत रहन गएकोमा २०४२।११।२९ गते निजले मलाई छाडी अर्को विवाह गरेकोले गर्भ रहेको अवस्थामा किन बाँच्ने भन्ने ठानी मैले मात्र विष खाई मरे छोरा छोरीले दुःख पाउछन् भन्ने सम्झी मर्ने निश्चित गरी तरकारीमा किरा मार्ने औषधि ल्याई २०४२।१२।४ गते राती सुत्ने बेलामा खाएँ खुवाएँ पछि छोरा छोरीसंग सुतें । मलाई होस् भएन बिहान पख उल्टी हुँदा थाहा पाई उज्यालो भएपछि उठ्दा ओछ्यानमा छोरा छोरीले छादेको र छोरीलाई हेर्दा मरी सकेको रहिछ मलाई र छोरालाई रिंगटा लागेको र धारामा नुहाई रहेको बखत जाहेरवालाले सोधेका हुन् । किशोरले अर्को विवाह गरी मलाई छाड्ने भयो बेइज्जती हुन्छ भनी विष खाई खुवाएको हुँ भन्ने समेत व्यहोराको सरस्वती घिमिरेको प्रहरीमा भएको बयान ।

५.    मैले टिकुलीगढ गा.पं. वडा नं. ९ बस्ने नारायणबिक्रम शाहको घरमा काम गर्ने गर्दथें । सोही घर नजिक दिपकबिक्रमको घरमा काम गर्ने सरस्वती घिमिरेसंग मेरो माया प्रेम बसी हाम्रो बीच अनुचित सम्बन्ध कायम रहन गएकोमा निजले गर्भ रहेको कुरा पनि भनिन् । यही गएको पौष १ गतेसम्म निजसंग सम्बन्ध भएको हो । म पत्थरगन्जमा गई सोही ठाउँबाट २०४२।११।२९ गते मिरादेवीलाई विवाह गरेको हुँ । सरस्वतीको छोरी मरिन् भन्ने सुनेको हुँ के कस्तो प्रकारको औषधि खाए खुवाएकी हुन् थाहा छैन् । सरस्वतीलाई औषधि दिएको र खाउ खुवाउ समेत भनेको होइन के कारणले खाए खुवाएको हुन थाहा छैन भन्ने समेत व्यहोराको किशोरकुमार सेन ठकुरीको प्रहरी कार्यालयमा भएको कागज ।

६.    सरस्वतीको छोरी औषधि खाई २०४२।१२।५ गते बिहान मरिन् भन्ने सुनेको हुँ के उद्देश्यले औषधि खाए खुवाएकी हुन् थाहा छैन भन्ने समेत व्यहोराको बाबुलाल कुवर जोगी समेतको २०४२।१२।९ को सरजमीन मुचुल्का ।

७.    विषको प्रयोगबाट राधीका घिमिरेको मृत्यु भएको भन्ने लाश परिक्षण प्रतिवेदन रहेछ ।

८.    बुझिएको सबूद प्रमाणबाट सरस्वती घिमिरेले अं. वर्ष ३ को राधिका घिमिरेलाई किटनाशक औषधि खुवाई मारेको सिद्ध हुन आएकोले सरस्वती घिमिरेलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(२) अनुसार पहिला पटक सजायँ हुन माग दावी गरिएको छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन माग दावी ।

९.    मेरो पहिला विवाह नवलपुर कोलकाटा बस्ने शालिकराम घिमिरेसंग भएको र वर्ष ६ का १ छोरा केशव, वर्ष ३ की छोरी राधिका जन्मेका थिए । पछि शालिकरामले सम्पत्ति बिक्री गरी भारततर्फ गएकोले सम्पत्ति नहुँदा भिनाजु प्रेमनिधि घिमिरेले दिपकबिक्रम कहाँ भात पकाउने काममा लगाई दिनु भएको र काम गरी बसेकै बखत नारायणबिक्रम कहाँ काम गर्ने किशोरकुमारसंग सहवास समेत भई पेटमा ३ महीनाको गर्भ छ । किशोरले फाल्गुण मै अर्को विवाह गरे । मेरो पेटको गर्भ निज किशोरको हो । प्रहरीमा मैले विष खुवाएको भनेकी होइन । खोकीको औषधि भनी खाए खुवाएकी हुन् विष भनी खाए खुवाएको होइन । दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्र.सरस्वती घिमिरेले अदालतमा गरेको बयान ।

१०.    बच्चालाई ज्वरो खोकी लागेको थियो । मेरो घरमा खोकी ज्वरो लगायतको अन्य औषधिहरु पनि थिए । ज्वरो खोकीको औषधि खाँदा खेरी झुक्किएर किटनाशक औषधि पर्न गएछ । सरस्वती घिमिरेले जानी जानी खाने र मर्ने नियतले खाए खुवाएको होइन भन्ने समेत व्यहोराको दिपकबिक्रम शाहले अदालतमा गरेका बकपत्र ।

११.    प्रतिवादी सरस्वती घिमिरेको विवाहित लोग्ने शालिकरामले पनि छोडी गएको र हाल मुद्दा चल्दाका अवस्था गर्भवती भएको हुँदा निजलाई यो अपराध गरे पनि १० वर्ष मात्र कैद हुनुपर्छ भन्ने राय व्यक्त गर्दै निज सरस्वती घिमिरेलाई ज्यानसम्बन्धीको १३(२) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु रुपन्देही जिल्ला अदालतको मिति २०४४।१।२१।२ को फैसला ।

१२.   उक्त फैसलामा चित्त बुझेन । मेरो पुनरावेदन जिकिर र न्यायको सही मूल्यांकन भई सजायँबाट छुट्कारा दिलाई पाउँ भन्ने समेत व्यहोराका प्रतिवादी सरस्वती घिमिरेको लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदन ।

१३.   विषको कारणबाट राधीका मर्न गएको र राधीकालाई समेत विष भएको औषधि खान दिएको कुरामा प्रतिवादी सरस्वती घिमिरे सावित नै भएबाट शुरु जिल्ला अदालतबाट ज्यानसम्बन्धीको १३(२) बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको मनासिब ठहर्छ । परिस्थितिको कारणबाट औषधि खान पर्ने अवस्था देखिन गएकोले यस्तो अवस्थामा सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्न जाने हुँदा शुरु जिल्ला अदालतले १० वर्ष कैद हुन पर्ने राय व्यक्त गरेको मनासिब हुँदा अ.बं. १८८ नं. बमोजिम जाहेरी फैसला गरी दिएको छ भन्ने समेत व्यहोराका लुम्बिनी अञ्चल अदालतको २०४५।२।१८।३ को फैसला ।

१४.   लुम्बिनी अञ्चल अदालतको फैसलामा चित्त बुझेन न्यायको मूल्यांकन गरी सजायँबाट छूट अर्थात कमी गराई पाउँ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेकोमा शुरुले प्रतिवादी सरस्वती घिमिरेलाई ज्यानसम्बन्धीको १३(२) बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको फैसलालाई सदर गरेको लुम्बिनी अञ्चल अदालतको फैसला मनासिब ठहर्छ तर निज प्रतिवादीले भावावेशमा आई अपराध गरेको देखिनाले शुरु र अञ्चल अदालतले अ.बं. १८८ नं. बमोजिम कम सजायँ गर्नुपर्ने गरी राय व्यक्त गरेको राय समेत समर्थन गरी सर्वोच्च अदालतमा साधक जाहेरी हुने ठहर्छ भन्ने समेत २०४६।८।१८ मा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१५.   नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदनमा पुनरावेदक तर्फबाट बहसको लागि उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुड्डानाले गर्नु भएको बहस समेत सुनी शुरु मिसिल सहित अध्ययन गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मिले नमिले तर्फ निर्णय दिनु परेको छ ।

१६.    निर्णयतर्फ विचार गर्दा यसमा प्रतिवादीको पुनरावेदन पर्न आएको हुँदा साधकको लगत कट्टा गरी दिनु । प्रतिवादीको पुनरावेदन जिकिर सम्बन्धमा पुनरावेदक सरस्वती घिमिरेले प्रहरीमा कागज गर्दा आफूलाई बालबच्चा सहितको लोग्नेले छोडी गएपछि काम गरेको ठाउँमा आफूसित सहवास गरी आफ्नो बालबच्चाहरु समेत स्याहार्न कबूल गर्ने किशोर ठकुरीले पनि अर्कोसित विवाह गरी आफूलाई छोडी गएपछि आफूले विष खाई छोरा छोरीले पनि पछि दुःख पाउलान् भनी सोही विष खुवाएकोमा साविती भएकोमा अदालतमा आई बयान गर्दा पनि सोही सबै कुरा देखाई रुघा खोकी लागेकाले रुघा खोकीको औषधि भनी खुवाएको हो जानी जानी विष खुवाएको होइन भनी बयान गरेको र निजका साक्षी दिपकबिक्रमले पनि अदालतमा आई बकपत्र गर्दा सोही बयानलाई समर्थन गरी बकपत्र गरेको देखिन्छ । यसबाट प्रहरीको कागजमा देखाएको विवरण साँचो हो वा अदालतको बयान साँचो हो भन्नेतर्फ विचार गरेमा पोष्टमार्टम प्रतिवेदनबाट विष नै खुवाएकोबाट मर्ने राधिकाको मृत्यु भएकोमा कुनै शंका नभएको, अब औषधि खुवाउँदा अनजानबाट विष परेको हो कि भन्नलाई अभियुक्त समेत तीनै जना सो वारदात हुनु अगावै देखि औषधि नै खानु पर्ने गरी विरामी थिए भन्ने मिसिलको कुनै कागजबाट देखिन आउँदैन । वारदातकै दिनमा तीनै जनाले औषधि नै खानु पर्ने गरी रुघा खोकी लागेको र घरमा काम गरी बस्नेले घरको मालिकसित नसोधी घरको मालिकले राखेको ठाउँबाट खोकीको औषधि झिकी खाए खुवाएको हो भन्ने पत्यार लायक देखिन नआई आफूसित बच्चा समेत स्याहार्ने कबूल गरी शारीरिक सम्बन्ध राखी पेट समेत बोकाएका किशोर ठकुरीले पनि अरुसित विवाह गरी छाडी गएको पिरले आफूले पनि विष खाने र आफ्ना बालबच्चालाई पनि विष खुवाई मार्ने नियतले कसैलाई केही नभनी विष खाई खुवाई सुतेको भन्ने प्रहरी कागजकै कुरा साँचो देखिन आएकोले शुरु जिल्ला अदालतले मुलुकी ऐन ज्यानसम्बन्धीको १३(२) नं. अनुसार सर्वश्वसहित जन्मकैद गर्ने ठहर्‍याएको इन्साफ सदर गरेको अञ्चल अदालत र पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

१७.   अब मिसिलबाट देखिएको यो विष खाएबाट आफूलाई बालबच्चा सहित आफ्नो लोग्नेले पनि भए भरको सबै बेची छाडी गएको र बीचमा आफ्नो बालबच्चा सहितको लागि सहाराको रुपमा आफ्नो सतित्व समेत डगाई अपनाएको व्यक्तिले पनि गर्भका बच्चा सहित आफूलाई छोडी अरुसित नै विवाह गरेकोबाट आफ्नो बालबच्चाको लालन पोषणको कुनै सहारा नपाई विवश भई उक्त अपराधी काम गरेकोसम्म देखिन आएकोले निज अभियुक्तलाई सो बमोजिम सजायँ गर्दा चर्को नै पर्ने देखिएकोले सो कुरा महसूस गरी अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १० मात्र सजायँ गर्ने ठहर्‍याएको पनि परिस्थितिलाई विचार गर्दा चर्को नै पर्ने देखिएकोले कैद वर्ष ६(छ) मात्र गर्ने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकाले जिल्ला अदालतको मिति २०४४।१।२१ को फैसलाले राख्ने गरेको लगत कट्टा गरी कैद वर्ष ६(छ) को लगत राख्नु भनी शुरु अदालतमा लेखी पठाउन स.अ.ल.न. शाखा मार्फत काठमाडौं जिल्ला अदालतमा लगत दिनु...१, मिसिल नियमानुसार बुझाई दिनु...२

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४७ साल भाद्र १७ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु