शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१५६ - कर्तव्य ज्यान

भाग: ३२ साल: २०४७ महिना: असोज अंक:

निर्णय नं. ४१५६     ने.का.प. २०४७      अङ्क ६

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४७ सालको फौ.सा.नं. ८१

फैसला भएको मिति : २०४७।३।१३।४ मा

वादी : लक्ष्मण बस्नेत समेतको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : जि.का. कारागार शाखा लम्जुङमा थुनामा रहेको प्रेमबहादुर बस्नेत

मुद्दा : कर्तव्य ज्यान

(१)    प्रतिवादीले अदालतमा बयान गर्दा कसूरमा इन्कार रही आफू वारदात स्थलमा नभएको भनी बयान गरे पनि सो को विश्वास योग्य सबूद प्रमाण गुजार्न नसकेकोले सो इन्कारी मात्र भरपर्दो मान्न नमिल्ने ।

(प्रकरण नं. २०)

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह

१.     पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।९।१०।२ को फैसला उपर साधकको रोहबाट दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.    २०४४।८।१९ गते चिति गा.पं. वडा नं. १ बस्ने मेरो दाजु नाता पर्ने कालु बस्नेत गोठमा सुतेको अवस्था मरी रहेको निजकै छोरा लक्ष्मण बस्नेतले देखी हार गुहार गरेको र म समेतका व्यक्ति सो ठाउँमा गई हेर्दा कालु बस्नेत मरी रहेका देखिएकोले निज आफैं मरेको हो वा अरु कसैले कर्तव्य गरी मारेको हो मलाई थाहा छैन । निजलाई मार्ने अपराधी पत्ता लगाई कारवाही गरिपाउँ भन्ने समेत मनबहादुरको दर्खास्त ।

३.    घटनास्थलमा गोठभित्र कान्लो तिर चप्पल जोर १, विड सहितको बन्चरो १, खुर्पी १ समेत भएको सो ठाउँमा रगत र बमन थुप्रो लागेको बन्चरोको पासोमा १।२ छिट्का रगत लागेको लाशको नाभीस्थान देखि तल सिरकले ढाकिएको सो सिरकमा रगत लागेको देब्रे आँखामा चोट परे जस्तो नाक मुखबाट रगत आई पुरै अनुहार रगताम्य भएको भन्ने समेत लाश प्रकृति मुचुल्का ।

४.    प्रेमबहादुर बस्नेतलाई सोधपुछ गर्दा मृतकलाई प्रहार गरेको लाठी खरबारीमा छ भनी भनेकोले सो ठाउँमा गई हेर्दा लाठी भेटिएको भनी लाठी बरामद भएको मुचुल्का ।

५.    मेरा बाबु कालु बस्नेतलाई प्रेमबहादुर बस्नेतले कुन कुन हतियार प्रयोग गरी कर्तव्य गरी मारेका हुन् निजलाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत डोर मुकाममा लक्ष्मण बस्नेतले दिएको जाहेरी दर्खास्त ।

६.    मेरी श्रीमती बेला मौकामा बिरामी भइरहने र झारफुक गर्दा कालु बस्नेतले बोक्सा बोक्सी लगाई दियो भनी अर्को तेलबहादुर गुरुङले भनेको हुँदा सोही रिसइवीले कालु बस्नेत गोठमा सुती रहेको अवस्था लाठीले हानी मारेको हुँ भन्ने समेत प्रतिवादी प्रेमबहादुर बस्नेतले प्रहरीमा गरेको बयान कागज ।

७.    २०४४।८।१९ गते म प्रेमबहादुरको घरतर्फ गएको थिएँ, सोही अवस्था निज प्रेमबहादुरकी श्रीमती छट्पटाउने कराउने गरेको हुँदा तेलबहादुर गुरुङलाई बोलाई ल्याई निजबाट झारफुक गरी रहेको अवस्था प्रेम बहादुरले हातमा खुर्पा लिई कालु बस्नेतलाई काट्छु भनी निज कालु बस्नेतको घरतर्फ जान लाग्दा म समेतले निजलाई समाती खुर्पा खोसेको हुँ भन्ने समेत व्यहोराको धनबहादुरको प्रहरीमा भएको कागज ।

८.    मृतक बुढो मानिसको गिदी मगजमा चोट पटक लागी मुर्छा परी मरेको भन्ने लाश पोष्टमार्टम रिपोर्ट ।

९.    भाउजू जमुना बस्नेत दिर्घ रोगी थिइन, अघि अघि पनि निज झाँक्रीले झारफुक गर्ने गर्थे । ०४४।८।१९ गते पनि भाउजू सारै विरामी भएकोले तेलबहादुरलाई बोलाई झारफुक गर्दै थिए । त्यसै बखत दाजु प्रेमबहादुर के कुरामा हो रिसाई उत्तेजित भई हातमा खुर्पा लिई मेरो श्रीमतीलाई दुःख दिनेलाई काट्छु मार्छु भनी बाहिर जान लाग्दा धनबहादुर र म समेत भई हँसिया खोसी राखेका हौं भन्ने समेत सरस्वती बस्नेत समेतको प्रहरीमा भएको कागज ।

१०.    मैले कालु बस्नेतलाई मारी दिए हुन्छ भनी प्रेमबहादुरसंग भनेको थिइन । निजले कालु बस्नेतलाई कर्तव्य गरी मारेका हुन् भन्ने समेत तिलकबहादुर बस्नेतको र कालु बस्नेतको कर्तव्यको वारदात भइसकेपछि म समेतले प्रेमबहादुरलाई शंका गरी निजलाई बोलाई ल्याएको हुँदा सोही रिसइवीले मलाई पनि पोल गरेका हुन् । मैले भनेको होइन भन्ने समेत चन्द्रबहादुरको र प्रेमबहादुरलाई सोधपुछ गर्दा काट्छु मार्छु भनेकोले निजले नै कालु बस्नेतलाई मारेका हुन मैले निजलाई मारी दिए हुन्छ भनी भनेको होइन निज प्रेमबहादुरले झुठ्ठा कुरा लेखाएका हुन् भन्ने समेत रत्नबहादुर बस्नेत र कालु बस्नेत मरी सकेपछि म समेतले प्रेमबहादुरलाई छाड्न हुँदैन भनी भनेको हुँदा रिसइवीले म समेतलाई पोल गरेका हुन भन्ने समेत धनबहादुर बस्नेतको र प्रेमबहादुर बस्नेतले आफूले अपराध गरी अरुलाई पोल गरी अपराधबाट बच्ने उद्देश्यले पोल गरेका हुन मैले मारिदिए हुन्छ भनी भनेको होइन भन्ने समेत शेरबहादुरको प्रहरीमा भएको छुट्टाछुट्टै बयान ।

११.    कालु बस्नेतलाई प्रेमबहादुरले लाठी प्रहार गरी घटनास्थलमा कालु बस्नेतको मृत्यु भएको हो भन्ने समेत व्यहोराको अधिकांश व्यक्तिहरुको छुट्टाछुट्टै व्यहोराको सरजमीन मुचुल्का ।

१२.   कालु बस्नेत, प्रेमबहादुरको कर्तव्यबाट मरेको सिद्ध हुन आएकोले निज उपर मु.ऐन ज्यानसम्बन्धीको महलको १३(३) नं. अनुसार सजायँ हुन र तान्त्रिक झारफुकको कामबाट वारदात सृजना भएको र ज्यान मर्न गएको देखिएकोले फरार रहेका तेलबहादुरलाई कानुन बमोजिम झिकाई ज्यानसम्बन्धीको १७(३) अनुसार सजायँ हुन माग दावी लिएको छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन माग दावी ।

१३.   ०४४।८।१९ गते म मेरो मामाको घर लम्जुङ रागीनास मोहरियामा मामाको छोरा मेरो दाजु नाता पर्ने ऋषि थापाको घरमा थिएँ, मैले कालु बस्नेतलाई कर्तव्य गरी मारेको होइन म मामाको घरबाट ०४४।८।२० गते मात्र घरमा आएको हुँ । पुरानो रिसइवीबाट झुठ्ठा उजूर गरेका हुन प्रहरीमा मिति ०४४।८।२२ गते मैले गरेको बयान मेरो राजीखुसीले गरिएको होइन । मलाई कुटपिट गरेकोले डरले हो भनी सही गरेको हुँ । मैले कालु बस्नेतलाई मारेको पनि होइन र मार्नु पर्ने कारण पनि केही छैन भन्ने समेत व्यहोराको प्रतिवादी प्रेमबहादुर बस्नेतले अदालतमा गरेको बयान ।

१४.   फरार रहेका तेलबहादुर गुरुङका नाउँमा जारी भएको वारेण्ट ०४४।१०।२५ मा तामेल भई सो तामेली म्यादै गुजारी बसेको रहेछ ।

१५.   यसमा कालु बस्नेतलाई प्रतिवादी प्रेमबहादुरले लौराले कुटी मारेको देखिँदा ज्यानसम्बन्धीको १३(३) नं. अनुसार प्र.प्रेमबहादुरलाई सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । फरार रहेका प्र.तेलबहादुर गुरुङका हकमा फेला परे वा हाजिर भएका बखत कारवाही गर्ने गरी अ.बं. १९० नं. बमोजिम मुलतवी राखी दिने ठहर्छ भन्ने समेत शुरु लमजुङ जिल्ला अदालतको मिति ०४५।३।२७ को फैसला ।

१६.    उक्त फैसलामा चित्त बुझेन । स्पष्ट कानुनी आधार बिना अनुमान कै भरमा आधार प्रमाण बताई मलाई दोषी ठहर गरिएको लम्जुङ जिल्ला अदालतको फैसला बदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी प्रेमबहादुर बस्नेतले ग.अं. अदालतमा गरेको पुनरावेदनपत्र ।

१७.   यसमा मृतक कालु बस्नेतले मेरी श्रीमतीलाई बोक्सी लगाई दियो भन्ने कुरा झाक्री तेलबहादुरले हेराउँदा भनेकोले निज सुतिरहेको गोठमा गई लौराले मुख समेतमा हानी मृतकको कर्तव्यबाट मृत्यु भएको लौरो समेत बरामद भएको र सो मुचुल्कामा निज प्रतिवादी प्रेमबहादुर रोहवर भई सहिछाप समेत गरेको साथै प्रतिवादीले अदालतमा बयान गर्दा सो बयान मेरा राजीखुसीले गरेको होइन भनी लेखाए पनि सो राजीखुसीले गरेको होइन भन्ने प्रमाण गुजार्न प्रतिवादीले नसकेको र लाश जाँच रिपोर्ट हेर्दा मृतक बुढा मानिस गिदी (मगज) मा चोट पटक लागी मुर्छा परी मरेको डाक्टरको रायबाट सिद्ध हुन आएकोले प्रतिवादी प्रेमबहादुर बस्नेतलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराई फरार रहेका अभियुक्त तेलबहादुरको हकमा अ.बं. १९० नं. बमोजिम मुलतवी रहने गरी भएको शुरु लमजुङ जिल्ला अदालतको फैसला मिलेकै देखिँदा शुरु इन्साफ मनासिब ठहर्छ भन्ने समेत ०४५।१२।२३ को गण्डकी अञ्चल अदालतको जाहेरी फैसला ।

१८.   यसमा प्रतिवादी प्रेमबहादुर बस्नेतले अधिकारप्राप्त अधिकारी समक्ष अपराध गरेमा सावित भई बयान गरेको छ र निजको बयानलाई घटनास्थल प्रकृति मुचुल्का तथा लाश जाँच प्रतिवेदनबाट पनि समर्थित भएको पाइन्छ । निजले अदालतमा बयान गर्दा अपराधमा इन्कार रही बयान गरेपछि सो कुरालाई पुष्टि गर्न कुनै सबूद प्रमाण गुजार्न सकेको छैन । मौकाको व्यक्तिहरुको बकपत्रबाट समेत निजले अपराध गरेको पुष्टि हुन आएकोले निजलाई ज्यानसम्बन्धी १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको शुरु लमजुङ जिल्ला अदालतको फैसला सदर गरेको गण्डकी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेतको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।९।१०।२ को फैसला ।

१९.    नियम बमोजिम साधकको रोहबाट पेश हुन आएको प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।९।१०।२ को फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

२०.   यसमा निर्णयतर्फ हेर्दा प्रतिवादी प्रेमबहादुर बस्नेतको कर्तव्यबाट कालु बस्नेतको मृत्यु भएकोले निजलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वश्वसहित जन्मकैदको सजायँ होस् भन्ने प्रहरी प्रतिवेदन दावी रहेको पाइन्छ । प्रतिवादी प्रेमबहादुर बस्नेतले अधिकारप्राप्त अधिकारी समक्ष बयान गर्दा बिरामी श्रीमतीलाई हेर खोज गरिदिनु पर्‍यो भनी झाक्री काम गर्ने तेलबहादुर गुरुङलाई बोलाई निजले देउता निकाली पश्चिम दिशाकी डंकीनी भेट भएर तिम्रो श्रीमतीलाई लौरो टेक्ने वीर लगाई दिएका छन् भनी भनेकोले कालु बस्नेत र निजकी श्रीमती उपर शंका लागी रिसले निजलाई मार्छु भनी उ बसेको गोठमा गई सुतिरहेको अवस्थामा लौरोले निजको मुखमा हानें, त्यसपछि पनि कंदो ठटाए झैं गरी लौराले हाने भनी कसूरमा सावित भई बयान गरेको पाइन्छ । निजले अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयानमा प्रहार गरेको उक्त लौरो खरबारीमा फ्याके भनी उल्लेख गरेकोमा सो स्थानमा रगत लागेको लौरो बरामद भएको भन्ने कुरा मिसिल संलग्न बरामदी मुचुल्काबाट देखिन्छ । लाश जाँच प्रकृति मुचुल्काबाट मृतकको नाक मुखबाट रगत आई पूरै अनुहार रगताम्य भएको भन्ने देखिएको व्यहोराले प्रतिवादीले मृतकको मुखमा लाठी प्रहार गरेको भनी गरेको बयानलाई समर्थन गरेको पाइन्छ । मृतकको पोष्टमार्टम रिपोर्टमा गिदी (मगजमा) चोटपटक लागी मुर्छा परी मरेको भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ र लाश जाँच प्रकृति मुचुल्काबाट मृतकको टाउको, मुख, चिउडो समेतमा चोटपटक लागेको भन्ने देखिएकोले पोष्टमार्टम रिपोर्टको व्यहोरालाई पुष्टी गरेको पाइन्छ । प्रतिवादीले नै कालु बस्नेतलाई मारेको भनी किटानी जाहेरी परेको देखिन्छ र जाहेरवाला लक्ष्मण बस्नेतले अदालतमा समेत आई जाहेरीको व्यहोरालाई समर्थन गरी बकपत्र गरेको देखिन्छ । सरजमीनका अधिकांश व्यक्तिहरुले प्रेमबहादुरले लाठी प्रहार गरेको चोटबाट घटनास्थलमै कालु बस्नेतको मृत्यु भएको हो भनी लेखाई दिएको पाइन्छ । वीरबहादुर बस्नेत समेतका सरजमीनका मानिसहरुले अदालतमा समेत आई प्रेमबहादुरको कर्तव्यबाट नै कालु बस्नेतको मृत्यु भएको हो भनी बकपत्र गरिदिएका छन् । प्रतिवादीले अदालतमा बयान गर्दा कसूरमा इन्कार रही आफू वारदात स्थलमा नभएको भनी बयान गरे पनि सो को विश्वास योग्य सबूद प्रमाण गुजार्न नसकेकोले सो इन्कारी बयानलाई मात्र भरपर्दो मान्न मिलेन । अतः माथि उल्लेखित सबूद प्रमाण एवं साक्षी सरजमीनको बयान समेतबाट कालु बस्नेतलाई प्रेमबहादुर बस्नेतले कर्तव्य गरी मारेको देखिन आएकोले निजलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने ठहर्‍याएको शुरु लमजुङ जिल्ला अदालतको इन्साफ सदर गरेको गण्डकी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्‍याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब देखिंदा सदर हुने ठहर्छ मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हिरण्येश्वरमान प्रधान

 

इतिसम्वत् २०४७ साल आषाढ १३ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु