निर्णय नं. ४१५९ - उत्प्रेषण

निर्णय नं. ४१५९ ने.का.प. २०४७ अङ्क ६
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४२ सालको रिट नं. १४५८
आदेश भएको मिति : २०४४।१२।२८।१ मा
निवेदक : जि.पर्सा लखनपुर गा.पं. वा.नं.९ बस्ने श्रीमती पानवतीदेवी अहिरनी
विरुद्ध
प्रत्यर्थी : जि.पर्सा लखनपुर गा.पं. वा.नं. ९ बस्ने मंगलठाकुर लोहारसमेत
विषय : उत्प्रेषण
(१) २ नं. अनुसूचीको अभावमा मोही कायम गरेको निर्णय त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास
विपक्षीहरुतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट तथा विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह
१. भूमिसुधार कार्यालय पर्साका भू.सु. अधिकारीको मिति ०४२।३।२३ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवदेनको तथ्य यस प्रकार छ :–
२. जि.पर्सा लखनपुर गा.पं. वडा नं. ६ कि.नं. ८७ को नम्बरी जग्गा मेरो पतिदेवको जिवनपर्यान्त निजले र निजको शेषपछि मैले आफैंले जोत अवाद गरी आएको छु । सो जग्गाको हक प्राप्त मोही भएकोले मोहियानी हकको प्रमाणपत्र पाउँ भनी प्रतिरक्षीले भू.सु. अधिकारी समक्ष निवेदन दिनु भयो । २०२४ सालमा स्वर्गीय भइसकेको पतिदेव सुगत राउतको नाउँमा जारी गरेको म्याद स्वर्गे भइसकेको जनाई घरदैलोमा टाँसेको भनी दर्शाई २०४२।२।३ मा तामेल गरी गायब पारिएकोले मलाई जानकारी हुन सकेन । भू.सु. अधिकारीले हकवालाको नाउँमा अर्को म्याद पठाउँदै नपठाई मोहियानी हकको प्रमाणपत्र दिने ठहराई मिति ०४२।३।२३ मा निर्णय गर्नु भएको कुरा धानबाली लगाउने सन्दर्भमा प्रतिरक्षीले विवाद खडा गर्दा मोही कायम गराएको भनेकोले नक्कल मिति ०४२।४।१५।३ मा लिंदा वास्तविक कुरा विदित हुन आयो ।
३. मृतक व्यक्तिलाई विपक्षी बनाई उजूरी दिनु भई म्याद जारी भएकोमा स्वर्गे भएको जनिई तामेल भए पछि हकदारका नाउँमा अ.बं. ११० नं. बमोजिम पुनः म्याद जारी गर्नु पर्ने म्याद जारी नै नगरी मोहियानी हकको प्रमाणपत्र प्रदान गरिएको अ.बं. ११० नं. र प्राकृतिक न्याय सिद्धान्त विपरीत छ । भूमिसम्बन्धी ऐनको दफा २५(१) अन्तर्गत मोही कायम गर्न १ नं. अनुसूची भराएको २ नं. प्रकाशित हुनु पर्ने सो प्रकाशित भएको प्रमाण आएको देखिँदैन । सो प्रमाण नभई मोहियानी हकको प्रमाणपत्र दिएको भू.सं. ऐनको दफा २५(१) समेतको त्रुटि हुन गएको छ । २ नं. को अभावमा ४ नं. जो.अ.नि. को मूल्य हुँदैन । ४ नं. जो.अ.नि. को आधारमा समेत गरिएको निर्णय अ.बं. १८५, १८९ र प्रमाण ऐनको दफा ५४ को प्रतिबन्धात्मक वाक्यांश समेतको प्रत्यक्ष त्रुटि छ । भर्पाई मलाई अवलोकन नगराई प्रमाण लगाउन मिल्दैन । अतएवः नेपाल कानुन, संविधान विपरीत भएको निर्णयले मेरो मौलिक हकहरु समेत आघातित हुन गएकोले उत्प्रेषण लगायत उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जीद्वारा उल्लेखित निर्णय बदर गरी हक प्रचलन गराई पाउँ भन्ने रिटनिवेदन ।
३. विपक्षीहरुबाट लिखितजवाफ मगाई आए पछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको मिति ०४२।५।४।३ को आदेश ।
४. सो जग्गा आजसम्म निवेदिका र निजको छोरा हिरालाल यादवले नामसारी गराउनु नभएकोले दर्तावाला सुमन राउतका नाउँमा निवेदन दिनु पर्छ भने अनुसार निजको नाउँमा निवेदन दिई ०२२।१०।१८ का निर्णय अनुसार मोही कायम भएको जनिएको ४ नं. जो.अ.नि. समेत पेश गरेको थिएँ । सुगनका नाउँको म्याद अ.बं. ११० नं. को रीत पुराई टाँस भएकोलाई थाहा पाइन भन्न पाउने होइन । ०३२।१०।१८ को निर्णय गैरकानुनीसम्म भन्नु भएको छ । बदरको दावी लिन सक्नु भएको छैन । सो निर्णय कायम रहेसम्म मेरो मोहियानी हकलाई असर पुग्न सक्दैन । ऐन लागू हुँदाकै अवस्थादेखि मोहीमा विवाद चली मोही कायम भई ४ नं. जो.अ.नि. समेत पाई जग्गा जोत भोग गरी आएको मोहीलाई मोहीको प्रमाणपत्र दिने ठहराएको निर्णयमा कुनै त्रुटि नहुँदा रिट खारेज गरिपाउँ भन्ने समेत मंगलठाकुर लोहारको लिखितजवाफ ।
५. निवेदकको जग्गा मंगलठाकुर लोहारले जोती रहेको भर्पाईले प्रमाणित गर्दछ । जो.अ.नि. सम्म पाएको तर मोहीको प्रमाणपत्र पाएको नदेखिँदा प्रमाणपत्र बनाई दिने गरी यस कार्यालयबाट भएको निर्णय बदरभागी नहुँदा रिट खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार कार्यालय पर्साको लिखितजवाफ ।
६. रिट निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कमलनारायण दासले विवादको जग्गाको १ नं. लगत भरेको २ नं. अनुसूची प्रकाशित भएको छैन । २ नं. अनुसूची प्रकाशित नभई ४ नं. जो.अ.नि. प्राप्त हुन सक्दैन । बिना प्रमाण प्रत्यर्थी मंगलठाकुरलाई मोही कायम गरेको भू.सु.का. को निर्णय त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्ने समेत बहस गर्नु भयो । प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट तथा प्रत्यर्थी मंगल ठाकुर तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले प्रत्यर्थी मोहीले ४ नं. जो.अ.नि. प्राप्त गरेको र कूत बुझाएको भर्पाई समेत प्राप्त गरेकोबाट जग्गा जोतभोग गरेको देखिँदा मोहीको प्रमाणपत्र बनाई दिने गरेको भू.सु.का. को निर्णय कानुनसंगत छ भन्ने समेत बहस गर्नु भयो ।
७. प्रस्तुत रिटनिवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
८. यसमा निर्णयतर्फ हेर्दा भू.सु.का. पर्साको च.नं. २४०४ मिति २०२२।१।८ को निर्णयबाट जो.अ.नि. मा मोही कायम रहेको र ज.ध. लाई बाली बुझाएको प्रमाण पेश भइरहेको र जो.अ.नि. पाइसकेको मोहीलाई उक्त कित्ताको मोही कायम गरी दिने ठहर्छ भनी प्रत्यर्थी भू.सु. कार्यालय पर्साका भूमिसुधार अधिकारीले निर्णय गरेको देखिन्छ ।
९. भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५(१) अन्तर्गत मोही कायम गर्न मोहीले १ नं. लगत भरेको र सो लगत अनुसार २ नं. अनुसूची प्रकाशित भएको हुनुपर्दछ । प्रस्तुत मुद्दामा प्रत्यर्थी भू.सु. अधिकारीले प्रत्यर्थी मंगल ठाकुर लोहारलाई मोही कायम गर्ने निर्णय गर्दा निज मोहीले १ नं. मोहीको लगत भरेको र २ नं. अनुसूची प्रकाशित भएको छ भनी आधार लिनसकेको छैन भू.सु.का. पर्साको २०२२।१०।८ को निर्णयबाट जो.अ.नि. मोही कायम रहेको भन्ने आधारमा मोही कायम गरेको पाइन्छ । सर्वोच्च अदालत संयुक्त इजलासको मिति ०४३।२।२२ तथा ०४३।३।१० को आदेशानुसार मोहीले १ नं. लगत भरेको र २ नं. अनुसूची प्रकाशित भएको छ छैन सो अनुसूचीको प्रतिलिपि र ०२२।१०।८ को निर्णय सहितको मिसिल महान्यायाधिवक्ताको कार्यालय मार्फत झिकाइएकोमा पानवतिदेवी अहिरनीको जग्गाको मोही मंगलठाकुर लोहारका नाउँबाट १ नं. भरेको तथा २ नं. प्रकाशन भएको नदेखिएको भन्ने भू.सु.का.पर्साको मिति ०४३।६।१२ को र भू.सु.का. पर्साको ०४४।११।२ को पत्रबाट मिति ०२२।१०।८ को निर्णय सम्बन्धमा रेकर्डबाट फेला नपरेको भनी लेखी आएको भनी महान्यायाधिवक्ताको कार्यालयको मिति ०४४।११।१९ को पत्र प्राप्त हुन आएको छ । यसबाट प्रत्यर्थी मंगल ठाकुरले मोहीको १ नं. लगत भरेको र २ नं. अनुसूची प्रकाशित भएको भन्ने देखिँदैन । भू.सु.का. को २०२२।१०।८ को निर्णयबाट जो.अ.नि. मा मोही कायम रहेको भनेको छ । तर सो निर्णय पनि आउन सकेको छैन । यस स्थितिमा २ नं. अनुसूची नै नभएको सो २ नं. अनुसूचीको अभावमा प्रत्यर्थी भू.सु. कार्यालय सप्तरीको भू.सु. अधिकारीले प्रत्यर्थी मंगल ठाकुरलाई मोही कायम गरेको मिति ०४२।३।२३ को निर्णय त्रुटिपूर्ण देखिन आयो ।
१०. अतः उपर्युक्त उल्लेख भए अनुसार प्रत्यर्थी भूमिसुधार कार्यालय पर्साका भू.सु. अधिकारीले गरेको मिति ०४२।३।२३ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । यो आदेशको एकप्रति प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इतिसम्वत् २०४४ साल चैत्र २८ गते रोज १ शुभम् ।