निर्णय नं. ४१६० - उत्प्रेषण

निर्णय नं. ४१६० ने.का.प. २०४७ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४७ सालको रिट नं. ७७५
आदेश भएको मिति : २०४७।६।२८।१ मा
रिट निवेदक : पशुपति वायर प्रोडक्सको तर्फबाट अधिकार प्राप्त ऐ.का प्रोप्राइटर अशोककुमार मुरारका
विरुद्ध
प्रत्यर्थीहरु : श्री कर कार्यालय, बिक्रीकर शाखा मोरङसमेत
विषय : उत्प्रेषण
(१) उत्पादित तारलाई उपयोग हुनसक्ने सम्भावनालाई ध्यानमा राखी बिक्री कर निर्धारण गर्नु विद्यमान कानुनसंगत भन्न मान्न नमिल्ने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला
विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.
आदेश
न्या.सुरेन्द्रप्रसाद सिंह
१. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं जिकिर र निर्णय आदेश यस प्रकार छ ।
२. यस उद्योगले आर्थिक ऐन, २०४३ तथा २०४४ को बिक्रीकर दरबन्दीको संकेत नं. ७३–१५ अन्तर्गत पर्ने तयारी माल Finished Product उत्पादन गरी उक्त उत्पादित माल किल्ला कांटी बनाउने उद्योगको लागि आवश्यक पर्ने हुँदा त्यस्ता उद्योगहरुलाई बिक्री वितरण गर्दै आइरहेको हाम्रो उत्पादन हार्ड ब्लाक वायर H.B. Wire मा अनुसूची ६ को दरबन्दी संकेत नं. ७३–१५ बमोजिम १०% मात्रका दरले खरिदकर्ताहरुबाट बिक्रीकर असूल उपर गरी प्रत्यर्थी कर कार्यालय बिक्री कर शाखामा बुझाउँदै आएको छु । प्रत्यर्थी नं. १ को प.सं. ०४४।०४५ (वि.क.शा.) च.नं. ६९४ मिति ०४४।१०।१५ को पत्र यस उद्योगलाई बुझाई उत्पादित एच.बी. वायरलाई बिक्रीकर दरबन्दीको संकेत ७३–१० अन्तर्गतको ठहर्याई १५% का दरले बिक्री कर असूल गर्ने ठहर गरी यस उद्योगबाट दाखिला भएको १०% रकम नपुग भएको भनी बोकी रकम दाखिला गर्न उक्त पत्र पठाइएको । उक्त पत्रानुसार सो ५% थप रकम दाखिला गर्नु पर्ने होइन भन्ने समेतको निवेदन प्रत्यर्थी नं. २ कर विभागमा दिंदा माग दावी बमोजिम नहुने भनी ०४५।३।५ मा निर्णय भएछ र सोको जानकारी ०४६।६।१२ मा मात्र प्राप्त हुन सक्यो । उक्त निर्णयको प्रतिलिपि पाउन ०४६।६।१३ मा अनुरोध गर्दा समेत प्राप्त हुनसकेको छैन ।
३. उपरोक्त बमोजिम उत्पादित एच.बी. वायरमा आर्थिक ऐन, २०४४ को अनुसूची ६ को बिक्रीकर दरबन्दीको संकेत नं. ७३–१५ ले केवल १०% मात्र बिक्रीकर लगाइने हो र प्रत्यर्थी नं. १ को पत्रानुसार थप ५% बुझाउनु पर्ने होइन । यस उद्योगसंग थप ५% असूल उपर गरी लिने प्रत्यर्थीहरुको काम कारवाही निर्णय गराई तथा पत्र लेखाई लगायत सम्पूर्ण काम कारवाही बदरभागी भएकोले संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणयुक्त परमादेशको आदेश वा अन्य जो जे चाहिने आवश्यक आज्ञा, आदेश वा पुर्जी जारी गरी म संग १५% बिक्री कर असूल गर्ने भनी प्रत्यर्थी नं. २ ले ०४५।३।५ मा गरेको निर्णय सो को आधारमा लेखिएका ०४५।३।१९ को च.नं. ५६४ र ०४६।६।१२ को च.नं. १३५ का पत्रहरु लगायत प्रत्यर्थी नं. १ को ०४४।१०।२५ को च.नं. ६९४ र ०४४।१०।१९ को च.नं. ६८४ का पत्रहरु र त्यस सम्बन्धी सम्पूर्ण काम कारवाही समेत बदर गरी रिट निवेदकको उत्पादनमा केवल १०% को दरले मात्र बिक्री कर लाग्ने रिट निवेदक पूर्ववतः कानुनी हकहित संरक्षण एवं प्रचलन गराई पाउँ भन्ने समेत व्यहोराको निवेदन ।
४. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु साथै अन्तरिम आदेश किन जारी हुनु नपर्ने हो ? छलफलको लागि श्री महान्यायाधिवक्ताको कार्यालयलाई सात दिनको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको ०४६।६।१६ को आदेश ।
५. रिट निवेदकको बिक्रीकर दरबन्दीको ७३–१५ बमोजिम कर असूल हुनु पर्ने दावी कानुनमा आधारित छैन । बिक्री कर दरबन्दीको कुन संकेत आकर्षित हुने हो भनी व्याख्या गर्दा सामान तयार गरिने पदार्थ किसिम र तयारी बस्तुको प्रयोगको आधारमा गरिनु पर्दछ । बिक्रीकर दरबन्दीको ७३–१० तथा ७३–१५ बमोजिमको दुवै किसिमको तार एउटै पदार्थ फलामबाट बन्ने भएकोले सामानको प्रयोगकै हिसाबले ब्याख्या हुनु पर्ने अवस्था छ । संकेत नं. ७३–१५ मा इन्स्यूलेशन गरिएको तार भन्ने उल्लेख भएकोले यो दरबन्दीको मनसाय हेर्दा इन्स्यूलेशन नगरिएको भए तापनि इन्स्यूलेशन गर्न सकिने प्रकृतिको तारलाई पनि समावेश गरेको देखिन्छ । एकै किसिमको तार भए पनि इन्स्यूलेशन गरिएको भए छुट्टै दरबन्दी र नगरिए भए अरु छुट्टै दरबन्दी लागू हुने कुरो उक्त संकेतमा उल्लेख भएको व्यहोराबाट देखिन्छ । प्रायः जसो बिजुलीको तार, टेलिफोनको तार, अन्य विद्युत शक्तिद्वारा चल्ने उपकरणमा प्रयोग हुने तारलाई इन्सुलेशन गरिने र विवादित उद्योगले उत्पादन गरेको तारमा इन्सुलेशन गरी प्रयोगमा ल्याउने गरेको नदेखिएको हुँदा ७३–१५ आकर्षित हुने अवस्था नै छैन । संकेत नं. ७३–१० मा फलाम वा इस्पातको डण्डी (तार छड समेत) भन्ने उल्लेख भएकोले यस संकेतमा उल्लेख गरिएको तारको प्रकृति संकेत नं. ७३–१५ मा उल्लेख गरिएको तारको प्रकृति भन्दा मोटो र घर निर्माणमा प्रयोग गरिने डण्डी (छड) भन्दा मसिनो भन्ने देखिन आउँछ र रिट निवेदकले उत्पादन गरेको तार खास गरी किल्ला काँटा निर्माण गरिने काममा प्रयोग गरिने किल्ला काँटाको संकेत नं. ७३–३१ अनुसार १०% (उत्पादनमा) बिक्री कर लाग्ने भएकोले तयारी बस्तुको भन्दा कच्चा पदार्थको दर बढी हुनु नपर्ने तथ्यलाई समेत ध्यानमा राख्दा निवेदकले उत्पादन गरेको तारका हकमा संकेत नं. ७३–१० नै. आकर्षित हुने प्रष्ट नै छ । अतः उपरोक्त जी.आई. वायरको प्रकृति फलामको डोरी रस्सी सित मिल्ने भएकोले प्रयोगको आधारमा एच.बी.वायर संकेत नं. ७३–१० अन्तर्गत पर्न जाने भई उत्पादनमा १५% प्रतिशतले र पैठारीमा पनि १५% ले बिक्री कर असूल गर्ने कार्यलाई गैरकानुनी भन्न नमिल्ने हुँदा र निवेदकले बिलम्व गरेर अदालतमा आएको समेत देखिँदा रिट निवेदकको कुनै पनि संवैधानिक तथा कानुनी अधिकार हनन् नभएको हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थी कर विभाग र कर कार्यालयहरुको एकै मिलानको लिखितजवाफ ।
६. नियम बमोजिम पेश हुन आएकोमा निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिशंकर निरौलाले र विपक्षी तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. ले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
७. प्रस्तुत विषयमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने हो होइन भन्ने विषयमा निर्णय दिनु पर्ने हुन आयो ।
८. यसमा निर्णयतर्फ विचार गर्दा पशुपति वायर प्रोडक्सनबाट उत्पादित Hard Black Wire मा आर्थिक ऐन, २०४३ तथा २०४४ को अनुसूची ६ को बिक्री कर दरबन्दीको संकेत नं. ७३–१५ बमोजिम १०% का दरले बिक्रीकर असूल उपर भई आएकोमा, कर कार्यालय बिक्री कर शाखा विराटनगरको ०४४।१०।२५ को पत्रानुसार उद्योगबाट उत्पादित उक्त तारलाई बिक्री कर दरबन्दीको संकेत नं. ७३.१० अन्तर्गत पारी १५% का दरले बिक्रीकर असूल गर्ने भनी गरेको निर्णय कानुनसंगत नहुँदा बदर गरी पाउँ भन्ने निवेदकको मुख्य निवेदन जिकिर रहेको पाइन्छ ।
९. यस सम्बन्धमा इन्सुलेशन नगरिएको फलाम वा इस्पातको तारको बिक्री कर आर्थिक ऐनको अनुसूची ६ को बिक्री कर दरबन्दीको संकेत नं. ७३.१५ मा उल्लेख भएको देखिन्छ । निवेदक उद्योगबाट उत्पादन भएको H.B. Wire इन्सुलेशन गरिएको भए तापनि इन्सुलेशन गर्न सकिने प्रकृतिको तार हो भन्ने विपक्षीको लिखितजवाफबाट पनि उत्पादित विवादित तार इन्सुलेशन नभएकोमा विवाद देखिएन । यसरी इन्सुलेशन नभएको तारलाई बिक्री कर दरबन्दीको संकेत नं. ७३.१० मा समावेश गरिएको देखिन आएन । उत्पादित तारलाई उपयोग हुनसक्ने सम्भावनालाई ध्यानमा राखी बिक्री कर निर्धारण गर्नु विद्यमान कानुनसंगत भन्न मान्न मिलेन । अतः उद्योगबाट उत्पादित H.B. Wire इन्सुलेशन नगरिएको स्थिति अवस्थाको बिक्री कर दरबन्दीको संकेत नं. ७३.१० अन्तर्गत बिक्री कर असूल गर्ने भन्ने कर कार्यालय विराटनगरको मिति ०४४।१०।२५ को पत्र कानुन अनुकूल देखिन नआएकोले उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ । कार्यालयको जानकारीको लागि आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फाइल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४७ साल आश्विन २८ गते रोज १ शुभम् ।