निर्णय नं. ४१६२ - डाँका खुन

निर्णय नं. ४१६२ ने.का.प. २०४७ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४६ सालको फौ.पु.नं. ३१९, २९९, ३३१
फौ.सा.नं. ७४
फैसला भएको मिति : २०४७।६।२२।२ मा
पुनरावेदक/वादी : धर्मध्वज थापाको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : जि.मोरंग दादरबेरीया गा.पं. वा.नं. ५ बस्ने बिक्रम खवाससमेत
पुनरावेदक/प्रतिवादी: जि.का.कारागार शाखा, भद्रगोल काठमाडौंमा थुनामा रहेको रामनारायण खवाससमेत
विरुद्ध
प्रत्यर्थी/वादी : धर्मध्वज थापाको जाहेरीले श्री ५ को सरकार
मुद्दा : डाँका खुन
(१) सहअभियुक्तको पोल अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको देखिन नआएको र मृत्यु भएको भन्ने शंकारहित प्रमाण गुज्रन नआएकोले ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्याएको निर्णय न्यायसंगत नदेखिने ।
(प्रकरण नं. ४०)
(२) मार्नमा सहमत भई वारदात स्थलमा उपस्थित रहेको देखिएकोले ज्यानसम्बन्धीको १७(३) अन्तर्गतको कसूर गरेको ठहर्याएको इन्साफ मनासिबै ठहर्ने ।
(प्रकरण नं. ४१)
पुनरावेदक/वादी तर्फबाट : विद्वान का.मु.मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शेरबहादुर के.सी., विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुड्डाना
फैसला
न्या.बब्बरप्रसाद सिंह
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४६।२।१० को फैसला उपर चित्त नुबुझी वादी तथा प्रतिवादीहरुको न्या.प्र.सु. (संशोधन सहित) ऐन, २०३१ को दफा १३(३)(ग) बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. मिति २०४२ भाद्र १८ गते ठकरुवा वातर १, ठूले भन्ने क्षेत्री १, उजारु थारु १, जोखन सरदार १, ओजिलाल खवास १, हरिप्रसाद सरदार वातर १, रणबहादुर भन्ने केशरबहादुर बस्नेत १ समेत भई बिगो रु. १३७४०। को धनमाल डाँका गरी मेरी श्रीमती जीवन देवीको हत्या समेत गरेको हुँदा कानुन बमोजिम सजायँ गरी पाउँ भन्ने समेत जाहेरी दर्खास्त ।
३. मृतक जीवन देवीको दुबै हात पाता फर्काई बाँधेको फलामको हिस्सा बाहेक अं. ५ हात उचा र १।। गोलाईको छातीमा गडेको भाला थुती हेर्दा दुवै पट्टी धार भएको ८ इन्च चौडाई १।। को बोट भएको फलामे भाला लाशको मुटुमा घोचेको, लाशमा घोचेको भाग लम्बाई १।।” चौडाई इन्चभित्रको हड्डीको भाग समेत देखिएको, पछाडि पातामा बायाँ पट्टि प्वाल परेको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।
४. धारिलो हतियारले छातीमा दाहिने पट्टि लाग्नाले तुरुन्तै मृत्यु भएको भन्ने मेडिकल अधिकृतको राय भएको पोष्टमार्टम फाराम ।
५. ०४२ भाद्र १८ गते साँझ अर्जिलाल खवास, झेलिया खवास, कलिया खवास, हरिप्रसाद वातर, रामनारायण खवास, निमालाल खवास, बिक्रम खवास, कलिया खवास समेत भई जाहेरीवालाको घरमा डाँका गरी फर्कन लाग्दा मृतक जीवनदेवीले तिमीहरुलाई चिने भनेकाले रामनारायणले छातीमा भाला रोपी मारी पश्चिम पट्टि बाँसघारीमा जम्मा भई बक्सा खोली हेर्दा रु. ९००।– र सारीहरु समेत रहेछ । रेडियो अर्जिलालले लगेका छन् भन्ने समेत प्र.केशरबहादुर बस्नेतले प्रहरीमा गरेको बयान ।
६. जाहेरवालाको घरमा अर्जिलाल खवास हरिप्रसाद सरदार, उजारु चौधरी, जोखन वातर, रामनारायण, केशर बहादुर बस्नेत समेत १२ जना भई डाँका गरी फर्कंदा मृतकले तिमीहरुलाई चिने भनेकाले रामनारायणले भालाले छातीमा हानी मारेपछि हामी गयौं मैले भागबण्डा लिएको छैन भन्ने समेत ठकरुवा भन्ने छटकुलाल सरदारले प्रहरीमा गरेको बयान ।
७. ०४२ भाद्र १८ गते छककुलाल, झोलिया खवास, कलिया खवास, हरिप्रसाद वातर, केशरबहादुर बस्नेत, रामनारायण खवास, नेमालाल खवास, बिक्रम खवास समेत भई डाँका गरी फर्कन लाग्दा मृतक जीवन देवीले तिमीहरुलाई चिने भनेपछि रामनारायणले भाला ल्याई छातीमा रोपी मृत्यु हुन गएको हो भन्ने समेत म अर्जिलाल खवासले प्रहरीमा गरेको बयान ।
८. ०४२ भाद्र १८ गते छककुलाल, केशरबहादुर, रामनारायण, अर्जिलाल समेत १०।१२ जना भई जाहेरवालाको घरमा डाँका गरी फर्कन लाग्दा मृतकले तिमीहरुलाई चिने भनेकाले हामी मध्ये एकजनाले छातीमा भाला रोपी मारेका हुन भन्ने समेत प्र.हरिप्रसाद वातरले प्रहरीमा गरेको बयान ।
९. जाहेरवालाको घरमा झेलिया खवास, बिक्रम खवास समेत १०।१२ जना भई डाँका गरी फर्कंने बेलामा जाहेरवालाकी श्रीमतीले तिमीहरुलाई चिने भनेका हुँदा हामीमध्ये एकजनाले छातीमा भाला रोपी मृत्यु हुन गएको हो भन्ने समेत प्र.कलिया खवासले प्रहरीमा गरेको बयान ।
१०. कलिया खवास, विक्रम खवास, म समेत १०।१२ जना भई डाँका गरेको हो । मृतक जीवन देवीलाई रामनारायणले छातीमा रोपी मारेको हो भन्ने समेत प्र.विक्रम खवासले प्रहरीमा गरेको बयान ।
११. अर्जिलाल खवास समेत १०।१२ जना भई जाहेरवालाको घरमा डाँका गरेको हो । मृतक जीवनदेवीलाई रामनारायणले छातीमा रोपी मारेका हुन भन्ने समेत प्र.निमालाल खवासले प्रहरीमा गरेको बयान ।
१२. हरिप्रसाद वातर, निमालाल खवास, बिक्रम खवास, छक्कुलाल सरदार, जोखन तावर, उजारु चौधरी शिवना वातर, ठूले भन्ने क्षेत्री झेलिया खवास, केशरबहादुर बस्नेत समेत १२ जना भई जाहेरवालाको घरमा डाँका गरी फर्कन लाग्दा मैले तिमीहरुलाई चिने भनी मृतक जीवनदेवीले भनेकी हुँदा निजकै घरबाट भाला निकाली छातीमा रोपी मारेको हुँ भन्ने समेत प्र.रामनारायण खवासले प्रहरीमा गरेको साविती बयान ।
१३. जाहेरवालाको घरमा डाँका गर्नेहरुमा केशरबहादुर बस्नेतलाई बोलिबाट चिने र अन्य १०।१२ जना मध्ये ठकरुवा भन्ने छक्कुलाल खवास, अर्जिलाल खवास समेतलाई देखे चिने भन्ने समेत रमा थापा र नवराज थापाले प्रहरीमा गरेको ठाडो कागज ।
१४. ०४२ भाद्र १८ गते जाहेरवालाको घरमा डाँका भएको सुनी आउँदा जाहेरवालाकी श्रीमतीलाई छातीमा भाला रोपी मारी धनमाल डाँका गरी लगेका रहेछन् । ठकरुवा, केशरबहादुर, हरिप्रसाद, रामनारायण, अर्जिलाल, निमालाल, कलिया, झेलिया खवास समेत उपर शंका लाग्छ भन्ने समेत व्यहोराको एकै मिलानको सरजमीन मुचुल्का ।
१५. लखन गोडी मलाहा ठकरुवा सरदार, अर्जिलाल खवास शिवना सरदार समेत १०।१२ जना भई मलाई कपडा रुगेर बस हामी धर्मध्वज थापाको घरमा डाँका गरी आउँछौं भनी गई १ घण्टा पछि फर्केर आए । शिवना सरदारले मलाई रु. १० दिएका थिए । जाहेरवालाकी श्रीमतीलाई रामनारायणले भाला रोपी मारेको भन्ने पछि थाहा भयो भन्ने समेत प्र.जोखन सरदारले प्रहरीमा गरेको बयान ।
१६. भाला रोपी मार्ने रामनारायण खवासलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(१) बमोजिम मृतकलाई समाती बाँध्नेहरु उजारु चौधरी झेलिया खवास, विक्रम खवास समेतलाई सोही महलको १३(४) नं. बमोजिम डोरी दिई बाँध्न सहयोग पुर्याउने केशरबहादुर बस्नेतलाई सोही महलको १७(२) नं. बमोजिम र बाँकी ९ जना प्रतिवादीहरुलाई सोही महलको १७(२) नं. बमोजिम सजायँ हुनको साथै बिगो रु. १३७४०। को धनमाल डाँका गरेमा सबै प्रतिवादीहरु उपर मुलुकी ऐन चोरीको महलको १४(४) नं. बमोजिम सजायँ गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।
१७. ०४२ भाद्र १८ गते जाहेरवालाको घरमा को कसले डाँका गरे म भन्न सक्दिन म उक्त वारदातमा सरिक छैन । प्रहरीले कुटपिट गरी सहिछाप गर्न लगाएका हुन घा जाँच गराई पाउँ भन्ने समेत प्र.केशरबहादुरले मोरंग जिल्ला अदालतमा गरेको इन्कारी बयान ।
१८. मैले जाहेरवालाको घरमा डाँका खुन, गरेको होइन के कसले गरे म भन्न सक्दिन प्रहरीले कुटपिट गरी लेखेको कागजमा सहिछाप गरेको हुँ । घा जाँच गरी पाउँ भन्ने समेत जिल्ला अदालत समक्ष प्र.हरिप्रसाद वातरको इन्कारी बयान ।
१९. मैले जाहेरवालाको घरमा डाँका खुन गरेको होइन कसले गरे मलाई थाहा भएन । प्रहरीमा कुटपिट गरी सहिछाप गराएको हुँदा घा जाँच समेत गरी पाउँ भन्ने समेत जिल्ला अदालत समक्ष प्र.अर्जिलाल खवासको इन्कारी बयान ।
२०. जाहेरवालाको घरमा मैले डाँका खुन गरेको होइन कसले गरे मलाई थाहा छैन । प्रहरीले कुटपिट गरी बयानमा जबरजस्ती सहिछाप गराएका हुँदा घा जाँच समेत गराई पाउँ भन्ने समेत जिल्ला अदालतमा प्र.निमालाल खवासले गरेको इन्कारी बयान ।
२१. जाहेरवालाको घरमा डाँका गरेको होइन । प्रहरीमा कुटपिट गरी बयान गराएका हुन भन्ने समेत व्यहोराको प्र.ठकरुवा भन्ने छक्कुलालको अदालतमा भएको बयान ।
२२. जाहेरवालाको घरमा मैले डाँका खुन गरेको होइन । प्रहरीमा कुटपिट गरी सहिछाप गराएका हुँदा घा जाँच समेत गराई पाउँ भन्ने समेत प्र.कलिया खवासले जिल्ला अदालत समक्ष गरेको बयान ।
२३. जाहेरवालाको घरमा मैले डाँका खुन गरेको छैन । प्रहरीमा कुटपिट गरी सहिछाप गराएको हुँदा घा जाँच समेत गरी पाउँ भन्ने समेत प्र.जोखन सरदार बातरले अदालतमा गरेको इन्कारी बयान ।
२४. जाहेरवालाको घरमा मैले डाँका खून गरेको होइन । प्रहरीमा कुटपिट गरी सहिछाप गराएको हुँदा घा जाँच गराई पाउँ भन्ने समेत जिल्ला अदालत समक्ष भएको प्र.झेलिया खवासको इन्कारी बयान ।
२५. जाहेरवालाको घरमा मैले डाँका खून गरेको होइन प्रहरीमा कुटपिट गरी बयान पढी वाची सुनाई सहिछाप गराएका हुँदा घा जाँच समेत गरी पाउँ भन्ने समेत प्र.बिक्रम खवासले जिल्ला अदालतम गरेको इन्कारी बयान ।
२६. ०४२ साल भाद्र १८ गते ठकरुवा सरदार अर्जिलाल सरदार मुख्य भई रामनारायण खवास, जोखन सरदार, निमालाल खवास, बिक्रम खवास, हरिप्रसाद सरदार, केशरबहादुर बस्नेत, झेलिया खवास, कलिया खवास समेत चिनेका र अन्य ५।७ जना समेत भई खून डाँका गरेका हुन भन्ने समेत जाहेरवाला धर्मध्वज थापाले जिल्ला अदालत समक्ष गरेको बकपत्र ।
२७. ०४२ भाद्र १८ गते जाहेरवालाको घरमा डाँका खून भएको हो । १०।१२ जनाको जमात थियो मान्छे चिनिन । प्रतिवादीहरु उपर शंका लाग्छ भन्ने समेत व्यहोराको सरजमीनका मानिस मानबहादुर राई समेतले अदालतमा आई गरी दिएको बकपत्र ।
२८. ०४२ साल भाद्र १८ गते जाहेरवालाको घरमा डाँका वारदात हुँदा बोलीबाट केशरबहादुर बस्नेतलाई चिने । अन्य १०।१२ जना डाँकाहरु समेतले खून डाँका गरेका हुन भन्ने समेत अ.बं. ११५ नं. बमोजिम बुझिएका रमा थापाले अदालतमा गरी दिएको बकपत्र ।
२९. ०४२।५।१८ गते जाहेरवालाको घरमा डाँका वारदात हुँदा डाँकाहरुले बालेको उज्यालोबाट अर्जिलाल र ठकरुवा भन्नेलाई चिने १०।१२ जना समेत भई डाँका खून गरेको हुन भन्ने समेत अ.बं. ११५ नं. बमोजिम बुझिएका नवराज थापाले अदालतमा गरेको बकपत्र ।
३०. अदालतबाट जारी भएको म्यादमा हाजिर नभई फरार हुने ठूले भन्ने क्षेत्री १, उजारु चौधरी थारु १, शिवनारायण १, लखन गोडी मलाह १ समेतको हकमा अ.बं. १९० नं. बमोजिम मुल्तवी रहने र अरु प्रतिवादीहरुले खून डाँका गरेको देखिँदा प्रतिवादीहरुमध्ये जाहेरवालाकी पत्नी जीवनदेवीलाई भाला रोपी मारेमा प्र.रामनारायणलाई ज्यानसम्बन्धीका १३(१) नं. बमोजिम र प्र.झेलिया खवास र बिक्रम खवासलाई ऐ.को १३(४) नं. बमोजिम प्र.केशरबहादुरलाई ऐ.को १७(२) बमोजिम र अरु हरिप्रसाद सरदार, जोखन सरदार, ठकरुवा भन्ने छक्कुलाल सरदार अर्जिलाल सरदार, निमालाल सरदार, कलिया खवास समेतलाई ज्यानसम्बन्धीको १७(३) बमोजिम सबै प्रतिवादीहरुलाई चोरीको १४(४) नं. बमोजिम बिगोको डेढी रु. २०६१०।– र कैद वर्ष ६ समेत हुनेमा ठूलो खतको लगत कसी असूल गर्ने ठहर्छ भन्ने समेत शुरु मोरंग जिल्ला अदालतको मिति ०४४।८।१।३ को फैसला ।
३१. सो फैसलामा चित्त बुझेन भन्ने समेत कोशी अञ्चल अदालत समक्ष परेको प्रतिवादी अर्जिलाल खवास समेत १० जनाको संयुक्त र पृथक पृथक पुनरावेदन ।
३२. प्रतिवादी जोखन सरदार निमालाल सरदारले डाँका कसूर गरेमा चोरीको १४(४) नं. बमोजिम सजायँ हुने, निजहरु जीवन देवीलाई मार्दाका अवस्था संग साथमा रहेको र मार्ने काममा सहयोग पुर्याएको नदेखिंदा शुरुले ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम सजायँ गर्ने गरेको नमिलेको र डाँका गरेको बिगोको हकमा रु. २६००।– मात्र कायम गर्नु पर्नेमा बिगो रु. १३७४०। कायम गरेका भई सो हदसम्म शुरुको केही उल्टी हुने भई अरुमा शुरुको फैसला मनासिब ठहर्छ भन्ने समेत कोशी अञ्चल अदालतको मिति ०४५।२।३२।३ को फैसला ।
३३. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको वादी श्री ५ को सरकारतर्फको र प्रतिवादी जोखन सरदार वातर समेत ५ जनाको छुट्टाछुट्टै पुनरावेदन ।
३४. प्रतिवादी झेलिया खवास र बिक्रम खवासलाई ज्यानसम्बन्धीको १३(४) नं. अन्तर्गत कसूरदार ठहर गरी सजायँ गरेको मिलेको नदेखिएकोले त्यति हदसम्मको इन्साफ बदर हुन्छ । मार्नमा सहमत भई वारदातस्थलमा उपस्थित रहेको देखिएकोले ज्यानसम्बन्धीको १७(३) नं. अन्तर्गतको कसूर गरेको ठहर्छ । अरु अञ्चल अदालतको फैसला मनासिब छ पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४६।२।१०।३ को फैसला ।
३५. प्रतिवादीहरुमध्येका झेलिया खवास र बिक्रम खवासलाई ज्यानसम्बन्धीको १३(४) नं. अन्तर्गतको कसूरदार नठहर्याएको ऐ.को १७(३) नं. बमोजिम कसूरदार ठहर्याई भएको हदसम्मको फैसला प्रतिवादी निमालाल खवास र जोखन सरदारलाई ज्यानसम्बन्धी १७(३) नं. अन्तर्गतको कसूरदार नठहर्याएको तथा जाहेरवालाको बिगो रु. २६००। मात्र कायम हुने ठहर्याएको कोशी अञ्चल अदालतको फैसला सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन ।
३६. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी रामनारायण खवास र छक्कुलाल खवासको यस अदालतमा पर्न आएको छुट्टाछुट्टै पुनरावेदन ।
३७. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान का.मु.मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट, पुनरावेदक प्रतिवादी रामनारायण खवासको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शेर बहादुर के.सी. र पुनरावेदक प्रतिवादी छक्कुलाल खवासका तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुड्डानाले गर्नु भएको बहस समेत सुनियो ।
३८. प्रतिवादी रामनारायण खवासको समेत पुनरावेदन पर्न आएको हुँदा निजको हकमा पुनरावेदनबाटै इन्साफमा बोलिने हुँदा साधकको रुपमा हेरिरहन नपर्ने हुँदा साधकको लगत कट्टा हुन्छ ।
३९. प्रतिवादी रामनारायण खवासको पुनरावेदन सम्बन्धमा विचार गर्दा निजलाई जाहेरवालाको घरमा डाँका गरी डाँका गरेको अपराधको सजायँबाट बच्न जीवनदेवीलाई छातीमा भाला रोपी मारेको अभियोगमा ज्यानसम्बन्धीको १३(१) नं. र चोरीको १४(४) अन्तर्गत कसूरदार ठहर्याएको शुरुको इन्साफ सदर गर्ने गरेको कोशी अञ्चल अदालतको इन्साफ नै सदर गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट इन्साफ भएको पाइन्छ । यसमा ०४२ भाद्र १९ गतेका दिन जाहेरवाला धर्मध्वज थापाको घरमा डाँकाहरु आई डाँका गरी फर्कंदा निजकी श्रीमती जीवनदेवीलाई छातीमा भाला रोपी मारेकोमा पोष्टमार्टम रिपोर्टबाट समेत समर्थित भइरहेको पाइन्छ । मृतक कसको प्रहारबाट मरेको हो भन्ने सम्बन्धमा हेर्दा प्रहरी समक्ष बयान गर्दा प्रतिवादी रामनारायण खवास स्वयंले पनि डाँका गरी फर्कंदा मृतक जीवनदेवीले तिमीहरुलाई चिने भनेको हुनाले मैले भाला ल्याई छातीमा रोपी मारेको हुँ । भनी साविती बयान गरेको देखिन्छ । अरु सहअभियुक्तहरुले समेत त्यसैलाई पुष्टि गरी बयान गरेको पाइन्छ । तर शुरु मोरङ जिल्ला अदालत समक्ष बयान गर्दा सम्पूर्ण अभियुक्तहरु डाँका गरी ज्यान मारेकोमा इन्कार रहेका छन् । सरजमीनका मानिसहरुमध्ये सिंह बहादुर थापा र लालबहादुर तामाङले निज प्रतिवादी रामनारायण खवास समेतलाई जाहेरवालाको घरबाट जाँदै गरेको देखेको भनी किटेको सरजमीन मुचुल्काबाट देखिन्छ र लालबहादुर तामाड्डले अदालतमा समेत सरजमीन व्यहोरालाई समर्थन गरी बकपत्र गरिदिएको छ । साथै सरजमीनका अन्य व्यक्तिहरुले समेत सोही व्यहोरालाई समर्थन गरेको देखिन्छ । अतः निज पुनरावेदक प्रतिवादी रामनारायण खवास जाहेरवालाको घरमा डाँका गर्न गएको सम्बन्धमा सहअभियुक्तहरुको पोललाई सरजमीनका साक्षीहरुबाट समेत समर्थन गरेको हुँदा निजलाई चोरीको १४(४) नं. अन्तर्गतको कसूरदार ठहर्याइएको शुरु जिल्ला अदालतको तथा अञ्चल अदालतको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिबै देखिँदा सो सम्बन्धमा निजको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
४०. जाहेरवालाकी श्रीमती जीवनदेवीलाई पुनरावेदक प्रतिवादी रामनारायण खवासले भालाले रोपी मारेको भन्ने सम्बन्धमा हेर्दा घटनास्थलमै उपस्थित जाहेरवाला धर्मध्वज थापाले आफ्नो जाहेरी दर्खास्तमा १७।१८ जना डाँका आई डाँका गरी जिवनदेवीलाई मारी गए भनी केही डाँकाहरुको नाम समेत उल्लेख गरेका छन् जसमा निजले पुनरावेदक प्रतिवादी रामनारायण खवासको नाम खुलाएको देखिँदैन । घटनास्थलमा उपस्थित जाहेरवालाका भतिजा नवराज थापा र जाहेरवालाकी आफ्नै बुहारी रमा थापाले पनि प्रहरीमा भएको ठाडो कागजमा र अदालतमा भएको बकपत्रमा रामनारायणकै प्रहारबाट मृतकको मृत्यु भएको भनी खुलाउन सकेको छैन । तसर्थ पुनरावेदक प्रतिवादी रामनारायण खवासले भाला रोपी ज्यान मारेको भन्ने निजको प्रहरीको साविती बयान र सहअभियुक्तको पोल अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको देखिन नआएको समेतबाट निजको प्रहारबाट जीवनदेवीको मृत्यु भएको भन्ने शंकारहित प्रमाण गुज्रन नआएकोले समेत निजलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय न्यायसंगत देखिएन । डाँकाको वारदातमा निज समेत घटनास्थलमा उपस्थित रहेको हुनाले ज्यान मार्नमा निजको समेत संलग्नता भएको देखिएकोले निजले ज्यान सम्बन्धीको १७(२) नं. अन्तर्गतको कसूर गरेको ठहर्छ । सो हदसम्म पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्छ ।
४१. श्री ५ को सरकारको पुनरावेदनतर्फ विचार गर्दा प्रतिवादी झेलिया खवास र बिक्रम खवासलाई ज्यानसम्बन्धीको १३(४) अन्तर्गतको कसूरदार नै ठहर्याउनु पर्ने प्रतिवादी निमालाल खवास र जोखन सरदारलाई ज्यानसम्बन्धीको १७(३) नं. अन्तर्गतको कसूरदार ठहर्याउनु पर्ने र प्रहरी प्रतिवेदन माग दावी बमोजिम नै बिगो रु. १३७४०।– कायम गरिनु पर्ने भन्ने पुनरावेदन जिकिर देखिन्छ । प्रतिवादीहरु झेलिया खवास र बिक्रम खवासले मृतक जिवनदेवीलाई समाई पाता फर्काई बाँधेको भन्ने अभियोग लागेकोमा निजहरु प्रहरीमा सावित र अन्य सहअभियुक्तहरुले समेत पोलेको भए तापनि अदालत समक्ष इन्कार रहेको र मृतकलाई भाला रोप्दाका बखत समाउने व्यक्ति हो भन्ने देखिने कुनै स्वतन्त्र प्रमाणबाट समर्थित हुन आएको समेतबाट डाँका गर्न गई जीवनदेवीलाई मार्नमा सहमत भई वारदात स्थलमा उपस्थित रहेको देखिएकोले ज्यानसम्बन्धीको १७(३) अन्तर्गतको कसूर गरेको ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिबै ठहर्छ । प्रतिवादीहरु निमालाल खवास र जोखन सरदारका हकमा निजहरु वारदात स्थलमा उपस्थित नदेखिएको हुनाले निजहरुलाई ज्यानसम्बन्धीको १७(३) नं. अन्तर्गतको कसूरदार नठहर्याएको कोशी अञ्चल अदालतको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । बिगोका हकमा सरजमीनका कुनै पनि व्यक्तिले किटान गर्न नसकेको र स्वयं जाहेरवालाको जाहेरी दर्खास्त र अदालतमा भएको बकपत्रमा समेत समानता नदेखिएको हुनाले बिगो रु. २६००।– कायम गरेको मनासिबै ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
४२. पुनरावेदक प्रतिवादी छक्कुलाल सरदार बातरको पुनरावेदनतर्फ विचार गर्दा निज डाँका गर्न गएको र फर्कन लाग्दा जीवनदेवीलाई रामनारायणले मारेकोमा प्रहरी समक्ष सावित भई अदालतमा आई इन्कारी बयान गरे तापनि सरजमीनका मानिस गोपाल राई, धनिलाल झागड, सिंह बहादुर थापा र लालबहादुरले निजलाई देखेको भनी सरजमीन मुचुल्का गरी दिएको र लालबहादुर तामाड्ड र धुनिलालले अदालतमा सो व्यहोरा समर्थन गरी बकपत्र समेत गरेको र निजलाई वारदात स्थलमा जाहेरवालाको भतिजा नवराज थापाले चिनेको भनी प्रहरीमा ठाडो कागज गरी दिएको र अदालतमा बकपत्र गरेको देखिएबाट निज डाँकाको वारदातमा संलग्न भई ज्यान मार्दाका बखत पनि उपस्थित देखिँदा निजलाई ज्यानसम्बन्धीको १७(३) नं. र चोरीको १४(४) अन्तर्गत सजायँ गर्ने गरेको शुरु जिल्ला तथा अञ्चलको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिबै हुँदा सदर हुने ठहर्छ । निजको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदक प्रतिवादी रामनारायण खवास के शुरु जिल्ला, अञ्चल र क्षेत्रीय अदालत समेतबाट ज्यानसम्बन्धीको १३(१) नं. अन्तर्गत कसूरदार ठहर गरी सजायँ गरेको नमिली ज्यानसम्बन्धीको १७(२) नं. अन्तर्गत कसूर गरेको ठहरेकाले निजलाई ज्यानसम्बन्धीका १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ नलाग्ने हुँदा सोको लगत कट्टा गरी डाँका गरेतर्फ चोरीको १४(४) नं. अन्तर्गत सजायँ गर्ने गरेको शुरु जिल्ला, अञ्चल तथा क्षेत्रीयको इन्साफ सदर हुने ठहरेकाले ज्यानसम्बन्धीको १७(२) नं. अन्तर्गतको कैद वर्ष ५ हुनेमा दण्ड सजायँको १० नं. ले सानो खत नखापिने हुँदा सो चोरीको १४(४) नं. अन्तर्गतको सजायँको लगत कायम गरी निज प्र.रामनारायण खवास हाल जि.का. कारागार शाखा काठमाडौंमा थुनामा हुँदा म्याद ठेकी पठाउनु भनी शुरु मोरंग जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु १, पुनरावेदक प्रतिवादी ठकरुवा भन्ने छक्कुलाल सरदार वातर के शुरुले ज्यानसम्बन्धीको १७(३) नं. चोरीको १४(४) अन्तर्गत सजायँ गर्ने गरेको शुरुको इन्साफ सदर गरेको कोशी अञ्चल अदालत र पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहरेकाले निजलाई शुरुबाट कैद वर्ष ६ र जरिवाना तर्फ बिगो रु. २६००।– मा कायम भएको हुँदा सोको डेढो जरिवाना रु. ३९००।– को अ.बं. २०३ नं. बमोजिम सयकडा ५ ले पुनरावेदन गरे बापत कैद महीना ।३।१८ र जरिवाना रु. १९५।– समेत थप सजायँ हुन्छ, निज कारागार शाखा मोरंगमा थुनामा रहेको देखिँदा लगत कसी असूल उपर गर्नु भनी शुरु मोरंग जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...२ माथि इन्साफ खण्डमा लेखिए बमोजिम पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला केही उल्टी हुने ठहरेको हुँदा केही उल्टीमा तत्कालीन पूर्वाञ्चल क्षेत्रीय अदालतमा न्यायाधीश श्री राजेन्द्रराज नाख्वा र श्री गोविन्दबहादुर श्रेष्ठको नियमानुसार रिकर्ड राख्नु...३ मिसिल नियम बमोजिम गरी बुझाई दिनु...४
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इतिसम्वत् २०४७ साल आश्विन २२ गते रोज २ शुभम् ।