शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१६३ - उत्प्रेषण

भाग: ३२ साल: २०४७ महिना: असोज अंक:

निर्णय नं. ४१६३     ने.का.प. २०४७      अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४६ सालको रिट नं. ८७६

आदेश भएको मिति : २०४७।२।९।४ मा

निवेदक      : कारागार शाखा पर्सामा थुनामा बस्ने नूर महमद मियाँ

विरुद्ध

विपक्षी : अर्जुनलाल समेतको जाहेरीले श्री ५ को सरकार

विषय : उत्प्रेषण

(१)   मुलुकी ऐन चोरीको महलको नं. १४(४) हेर्दा डाँका गर्नेलाई . . . तेस्रो पटक देखिएकोलाई जतिसुकै पटकको भए पनि बाह्र वर्ष कैद समेत गर्नु पर्ने ।

(प्रकरण नं. ८)

(२)   बिगो बापत कैद ठेक्नु पर्दा चार वर्ष भन्दा बढी ठेक्न नमिल्ने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट     : विद्वान अधिवक्ता श्री विनोद रोक्का

विपक्षी तर्फबाट      : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा

आदेश

न्या.बब्बरप्रसाद सिंह

१.     नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    झापा जिल्ला अदालतको मिति २०४२।२।८ को अलग अलग फैसलाले अर्जुनलालको जाहेरी भएको डाँका मुद्दामा जरिवाना रु. ३०,२९७। विश्वनाथको जाहेरी भएको डाँका मुद्दामा जरिवाना रु. २,६८३।५० सत्यनारयणको जाहेरी भएको डाँका मुद्दामा जरिवाना रु २३,५३८।र बेपुलालको जाहेरी भएको डाँका मुद्दामा जरिवाना रु २०८०।५० समेत जम्मा रु. ७३,८९९।र कैद वर्ष ६ हुने भई चोरीका २८ नं. ले जरिवाना तर्फ चार वर्षका दरले १६ वर्ष र कैद वर्ष ६ समेत वर्ष २२ कैद हुनेमा चोरीका २७ नं. ले हद कैद १८ वर्ष तोकिई २०४०।६।९ देखि कैदमा बसी रहेको ।

३.    उक्त फैसला उपर म्यादभित्र पुनरावेदन गर्न असमर्थन भएको तथा एकै पटक पक्राउ परेको व्यक्ति माथि पटक पटक डाँका चोरीको जाहेर पर्‍यो भन्दैमा ४ पटक कायम गरिनु न्यायिक नदेखिंदा कैद वर्ष १० मात्र गराई पाउँ भन्ने समेत रिटनिवेदन जिकिर ।

४.    यसमा विपक्षीबाट लिखितजवाफ झिकाई पेश गर्नु भन्ने यस अदालतबाट भएको आदेश ।

५.    यस अदालतका मिति २०४२।२।८ को अलग अलग ४ वटा डाँका मुद्दाको फैसलाले कैद वर्ष ६। र जम्मा जरिवाना रु. ७६८९९। मा चोरीका १४(४) नं. को कसूरमा साविक चोरीको २८ नं. ले मुद्दै पिच्छेको जरिवाना वापतमा हद कैद वर्ष १६, म्यादी कैद वर्ष ६। समेत कैद वर्ष २४ मा चोरीका २७ नं. ले कैद वर्ष १८ मात्र कैदमा बस्ने गरी निज नुर महमद मियाँलाई कैद म्याद ठेकेको कानुन अनुरुप नै देखिंदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत झापा जिल्ला अदालतको लिखितजवाफ ।

६.    नियम बमोजिम पेश भई आएको प्रस्तुत विषयमा रिट निवेदक तर्फका विद्वान वैतनिक अधिवक्ता श्री विनोद रोक्काको तथा विपक्षी तर्फका विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माको बहस जिकिर समेत सुनियो ।

७.    रिटनिवेदक  माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो को निर्णय दिनुपर्ने हुन आयो ।

८.    यस्मा एकैपटक पक्राउ गरेको व्यक्ति माथि पटक पटक परेको जाहेरीको आधारमा ४ पटक डाँका गरेको ठहरी जम्मा कैद २२। वर्षमा हदकैद १८ वर्ष गर्ने गरी भएको फैसला न्यायोचित नहुँदा कैद वर्ष १० मात्र गराई पाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर भएकोमा अलग अलग डाँका मुद्दाको अलग अलग फैसला भए बमोजिम भएको कैद वर्ष २२ मा चोरीका २७ नं. ले डाँकामा हदकैद वर्ष १८ गरेको कानुनसंगत नै छ भन्ने समेत लिखितजवाफ पाइन्छ । रिटनिवेदन जिकिर र लिखितजवाफ लेखबाट निवेदक उपर चारपटक डाँका मुद्दा चली डाँका गरेको ठहरी फैसला भएको कुरामा विवाद देखिंदैन । मुलुकी ऐन चोरीको महलको नं. १४(४) हेर्दा डाँका गर्नेलाई ... तेश्रो पटक देखिएकोलाई जतिसुकै पटकको भए पनि वाह्र वर्ष कैद समेत गर्नुपर्छ भन्ने उल्लेख भएको देखिन्छ । विगो वापतको कैद ठेक्न पर्दा ४ चार वर्ष भन्दा बढी कैद ठेक्न नहुने हुँदा समेत यी रिट निवेदकलाई डाँका गरे वापत कैद वर्ष १२ र बिगो वापत कैद वर्ष ४ समेत जम्मा कैद वर्ष १६ हुनुपर्नेमा झापा जिल्ला अदालतको उल्लेखित लिखितजवाफबाट कैद वर्ष १८ को कैद म्याद ठेकी लगत दिएको भन्ने लेखाई भएको मिलेको नदेखिंदा उपर्युक्त उल्लेख भए अनुसार निज निवेदकलाई जम्मा कैद १६ ठेक्ने गरी लगत दिनु भनी झापा जिल्ला अदालतका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारीका लागि आदेशको प्रतिलिपि श्री महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फायल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान ।

 

इतिसम्वत् २०४७ साल जेष्ठ ९ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु