शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१६४ - उत्प्रेषण

भाग: ३२ साल: २०४७ महिना: असोज अंक:

निर्णय नं. ४१६४     ने.का.प. २०४७      अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४१ सालको रिट नम्बर १९४३

आदेश भएको मिति : २०४३।८।१२।५ मा

निवेदक      : जिल्ला पर्सा गा.पं.वा.नं.१ परमानन्दप्रसाद वरै

विरुद्ध

विपक्षी : ऐ.वा.नं. ३ बस्ने शिवदुलारी वरेनीसमेत

विषय : उत्प्रेषण

(१)   भूमिसुधार ऐनको कार्यविधि पूरा नगरी विपक्षीको नाममा मोही नामसारी गरी दिने गरेको विपक्षी कार्यालयको निर्णयमा भूमिसम्बन्धी ऐनको दफा २६(१) को त्रुटी भएको देखिंदा निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं. ९)

रिटनिवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अवध किशोर सिंह

विपक्षी तर्फबाट      : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की

आदेश

न्या.पृथ्वीबहादुर सिंह

१.     जग्गाधनी शिव दुलारीको बहुअर्वा भाठा गा.पं. वडा नं. २ कि.नं. १२४ को ०१५१० दोयम जग्गाको मोही मेरो बाबु जगरनाथप्रसाद हुनुहुन्छ । निज २०२८।६।१० मा स्वर्गीय भए पछि जग्गाधनीले आमा र दाजुभाइहरु मध्ये मलाई नै मोही पत्याई जग्गा जोत्न दिनु भई अहिले सम्म अवछिन्न रुपमा जोतभोगमा छ । गा.पं. ले चन्द्रदेवप्रसादले जोती आएको छ भनी भू.सु.का. को नाममा सिफारिश गरी दिई नामसारी गरी पाउँ भनी निजको निवेदन परेको र जग्गाधनी बुझ्दा प्रतिवाद नगरी स्वीकार गरी बसेको देखिंदा निवेदकको माग बमोजिम मोही नामसारी गरी दिने ठहर्छ, भनी अधिकारीज्यूबाट मिति २०३९।८।२९ मा फैसला भएको र भाइ चन्द्रदेव समेतको नाम उल्लेख गरी मोही नामसारी गरिपाउँ भनी मैले निवेदन भू.सु.का. पर्सामा मिति २०४१।६।११ मा दिएकोमा चन्द्रदेवप्रसादको नाममा मोही नामसारी हुने गरी मिति २०३९।८।२९ मा निर्णय भएको देखिंदा यसबाट अर्को निर्णय गर्न नमिल्ने हुँदा यो उजूरी खारेज हुने ठहर्छ भनी श्री अधिकारीज्यूबाट मिति २०४१।९।१९ मा निर्णय भयो । अतः श्री अधिकारीज्यूको मिति २०३९।८।२९ को निर्णयबाट संविधानको धारा १०(१) ११(२)ङ तथा १५ अन्तर्गतको संवैधानिक हक हनन् भएकोले हक प्रचलन गरी पाउन उत्प्रेषण लगायत रिट जारी गरिपाउँ भन्ने संविधानको धारा १६।७१ अन्तर्गत रिटनिवेदन ।

२.    जिकिर : स्व.बाबुले जगरनाथको हामी २ छोरा भएको र आमा पनि जीवित रहेको कुरामा विवाद छैन, विपक्षी चन्द्रदेवले आमा र मलाई नदेखाई दिएको निवेदन बेरित छ । स्वास्नी छोरा छोरी छैन भनी वार्ड अध्यक्षले लेखेको पत्र गलत  छ । जग्गाधनीबाट मोही रोजाई पाउँ भनी चन्द्रदेवको निवेदन पनि हैन नामसारी गराई पाउँ मात्र छ, ऐ.को हकमा २६(१) बमोजिम पत्याएको कुनै पनि प्रमाण पेश गरिसक्नु भएको छैन । मिति २०३९।६।२१ गते तामेल भएका म्याद कस्को नाम र कहाँ कस्को घरमा तामेल भयो र गा.पं. ले पनि धनीको नाममा म्याद टाँस गरेन वडा नं. ३ का साक्षी पनि छैन । अ.बं. ११० नं. को त्रुटी भई बेरीतसंग तामेल भएपछि जग्गाधनीले थाहा पाउने र प्रतिवाद गर्ने कुरा नै भएन म्याद रितपूर्वक तामेल भयो भएन त्यसतर्फ विचार नगरी जग्गाधनीले मोहीलाई स्वीकार गरी बसेको भनी अधिकारीज्यूको अनुमान गरी गर्नु भएको फैसला मिलेको छैन । भू.सु.का. बाट जगरनाथको पत्नी र छोरा भए नभएतर्फ सरजमीन बुझिएन भू.सु.का. को पत्र मिति २०३९।८।२२ मा गा.पं. मा जाँदा प्र.पं. उ.प्र.पं. वा सचिवले जवाफ नदिई अरुको गलत जवाफलाई आधार मानी भएको फैसला गैरकानुनी छ । तथा अधिकारीज्यूले जग्गाधनीको तर्फबाट मोहीलाई पत्यार गर्नु भएको फैसला ऐनको दफा २६(१) को विपरीत छ तसर्थ मेरो उजूरीलाई २०४१।९।१९ गतेमा श्री अधिकारीज्यूले खारेज गर्नु भएको विल्कुल गैरकानुनी भएकोले उत्प्रेषण लगायत रिट जारी गरिपाउँ भन्ने  जिकिर ।

३.    विपक्षीबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत सिंगलबेञ्चको आदेश ।

४.    उक्त जग्गाको मोही जगरनाथ नै हुनुहुन्छ वहाँ कालगतिले स्वर्गीय भएपछि चन्द्रदेवले एकासगोलको आमा र दाजु भएको कुरा गुम पारी भू.सु.का. मा मोही नामसारीको लागि २०३९।६।१० मा निवेदन दिई बेरीत संग म्याद तामेल के कसरी गराउनु भयो त्यसको मलाई जानकारी भएन जस्ले गर्दा म जग्गाधनी मोही रोज्ने र भू.सु. ऐनको दफा २६(१) को अधिकार समेतबाट बंचित भए । भू.सु.का. ले गा.पं. लाई साविक मोहीको परिवार के कति छ भनी सोधनी गर्दा जगरनाथ मरी चन्द्रदेवले जोतिआएको हँुदा नामसारी गर्ने गरी अनुरोध गर्दछु भनी सिफारिशमा वडा अध्यक्ष र सदस्यको मात्र सही छ, भू.सं. ऐनको २०३१ ले गा.पं. लाई मोही नामसारी गर्नको लागि कुनै अधिकार दिएको छैन । रिट निवेदकले भाइ चन्दप्रसाद र आमा समेत भएको कुरा प्रष्ट रुपमा खोली भू.सु.का. पर्सामा निवेदन दिंदा मलाई झिकाई बुझ्दा रिट निवेदक परमानन्द बरैलाई रोज्न मेरो मन्जूर छ भनी कागज गरी दिएको छु । उक्त कुरा श्री अधिकारीज्यूले ध्यान दिनु भएन र मेरो ऐनद्वारा प्रदत्त कानुनी अधिकार हनन् हुन गएको हुँदा मिति २०३९।८।२९ को फैसला बदर गरी भू.सु. कार्यालय पर्साको नाममा परमादेशको आदेश गरिपाउँ भन्ने समेत शिव दुलारीको लिखितजवाफ ।

५.    उक्त जग्गाको मोहीको हैसियतले जोतकोट गरी २०२९ सालको वाली जगगाधनीको एकाघर सगोलका छोरा रुपनारायणलाई बुझाएको छु । जग्गाधनीले विपक्षी निवेदक उपर कुतवाली मुद्दा दायर गरी म विपक्षी निवेदकको वारीस भई म चन्द्रदेव मोहीको हैसियतले जोतकोड गरेको भनी २०३४ साल समेतको जग्गाधनीले वाली बुझेको भर्पाई पेश गरेको छु । सो मुद्दा मिति २०३६।१।१३ गते मिलापत्र समेत भएको हुँदा जग्गाधनीले दावी छोडी मिलापत्र गरी सकेपछि दोहोरो मोही रोजाउनु पर्ने कानुनी व्यवस्था नै नहुँदा भू.सु. ऐन, ०२१ को दफा २६(१) आकर्षित हुँदैन । म्याद तामेली कुन किसिमबाट भयो रीत या बेरीत भयो भन्ने कानुनी अधिकार विपक्षीलाई छैन र मोही सम्बन्धी सम्पूर्ण अधिकार भू.सु.अ. ज्यूलाई तोकिएको हुँदा सरजमीन बुझ्ने नबुझ्ने अधिकार तथा भू.सु.का. पत्रको जवाफ सत्यता वा गलत सम्झने कानुनी अधिकार समेत अधिकारी ज्यूको हुनाले तथ्यलाई गलत भन्ने विपक्षीको दावी विलकुलै गलत छ । यसरी जग्गाधनीले मलाई मोही स्वीकार गरी भू.सु.का. को निर्णय विरुद्ध कारवाही समेत नचलाई स्वीकार गरी सकेको हुँदा विपक्षी निवेदकलाई रीतपूर्वकको फैसलालाई गैरकानुनी भनी उजूर गर्ने कानुनी हक नहुँदा अ.बं. को ८२ नं. ले उजूर गर्ने काुननी हक निवेदकलाई छैन । श्री अधिकारी ज्यूको फैसला कानुनको रीतपूर्वक भएको हुँदा असत्य कुराको आधारमा सत्य कुरालाई दवाई कलुषित ह्दय लिई आएको रिटनिवेदन खारेज गरिपाउँ भन्ने चन्द्रदेवप्रसाद वरैको लिखितजवाफ ।

६.    मोही मरेपछि मोहीको परिवार मध्येमा कस्लाई मोही बनाउने हो भनी चुन्ने अधिकार ज.ध. लाई भएकोमा उक्त विवादास्पद मिसिलमा जग्गाधनीका नाममा मिति २०३९।६।२१ मा म्याद तामेल भई प्रतिवाद नभएको र मोहीको छोरा चन्द्रदेवलाई मोही बनाउन स्थानीय पं. बहुअर्वा भाठाले गरी दिएको सिफारिश र मिति २०३९।८।२९ को गाउँ घरमा भएको मुचुल्का समेत पेश भएको मिसिलबाट देखिएकोले नियम बमोजिम चन्द्रदेवप्रसादका नाममा मोही नामसारी भइसकेपछि रिट निवेदकले आफ्नै भाइमा गइसकेको हकलाई खोस्न अनावश्यक रिटनिवेदन गरेकोले मिति २०३९।८।२९ मा यस कार्यालयबाट भएको निर्णय सदर नै राखी रिटनिवेदक परमानन्दको रिटनिवेदन नै खारेज गरी पाउँ भन्ने भूमिसुधार कार्यालय पर्साको लिखितजवाफ ।

७.    नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदक तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री अवध किशोर सिंह र विपक्षी कार्यालय तर्फबाट उपस्थित हुनु भएको विद्वान सरकारी सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्कीले गर्नु भएको बहस जिकिर समेत सुनियो । मुख्यतया प्रस्तुत विवादमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुने हो वा होइन सो को निर्णय दिनु पर्ने हुन आयो ।

८.    निर्णयार्थ विचार गर्दा यस्मा जग्गा धनीले मलाई नै रोजेकोमा विपक्षीलाई मोही कायम गर्ने गरेको विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भन्ने मुख्यतया रिट निवेदक जिकिर रहेको पाइन्छ । सो बमोजिमको हो वा होइन भनेर हेर्दा विवादित जग्गाको साविक मोही जगरनाथप्रसाद भएको र निजको कालगतिले मृत्यु भइसकेको र निजको २ छोरामा परमानन्दप्रसाद वरै र चन्ददेव वरै र एक श्रीमती रहे भएको कुरामा विवाद देखिंदैन भू.सं. ऐन, २०२१ को दफा २६(१) मा मोहीको मृत्यु पश्चात जग्गाधनीले मोहीको लोग्ने स्वास्नी छोराहरु मध्ये जसलाई मोही रोज्दछ सो नै कानुनी मोही हुने व्यवस्था गरेको पाइन्छ ।

९.    प्रस्तुत विवादमा साविक मोही जगरनाथप्रसादको मृत्यु पश्चात निवेदक र आमा समेत भएको कुरा गुम पारी विपक्षी चन्द्रदेवप्रसादले नै जग्गा जोतेको छ भन्ने पंचायतको सिफारिश साथ विपक्षी भू.सु.का. पर्सामा निवेदन दिई जग्गा धनीलाई म्याद पठाउँदा म्यादमा उपस्थित नभई मोही स्वीकारेको भनी भू.सु.का. पर्साबाट मिति २०३९।८।२९ मा फैसला भइसकेको पाइन्छ । त्यसपछि निवेदकले आफ्नो भाइ चन्द्रदेव समेतको नाम राखी मोही नामसारी गरी पाउँ भनी २०४१।६।११ मा भूमिसुधार कार्यालय पर्सामा निवेदन दिंदा जग्गाधनीलाई म्याद जाँदा जग्गाधनीले निवेदकलाई नै मोही रोजेको र कबूलियत गरी दिएको कुरा स्वीकार गरी २०४१।८।२८ मा कागज समेत गरी दिएको पाइन्छ । भूमिसम्बन्धी ऐनको दफा २६(१) बमोजिमको मोही हुन ज.ध. ले आफूले पत्याएकोलाई मोही छान्न सक्ने अधिकार प्रदान गरेकोछ । प्रस्तुत निवेदनमा विपक्षी चन्द्रदेवले भूमिसम्बन्धी ऐन, २०२१ मा व्यवस्था भए अनुसार मोही रोजाउने प्रकृया पूरा गरेको पाइँदैन । साथै आफू एकमात्र मोहीको सन्तान भएको र अन्य हकदार मोही नभएको भन्ने कुरा भनेको छैन र अरु छोरा छोरी नभएको भन्ने कुरा पंचायतको भूलले लेखेको हो भन्ने कुरा विपक्षी स्वयंले मिति २०४१।८।२८ मा भू.सु.का पर्सामा कागज गराएको पाइन्छ भने भू.सु.का. ले समेत मोहीको अन्य हकदार छ वा छैन भनी सरजमीन सम्म पनि गरेको पाइदैन । दोस्रो तर्फ रिट निवेदकलाई जग्गाधनीले कबूलियत समेत गरी मोही पत्याएको कुरा विपक्षी भूमिसुधार कार्यालयमा कागज समेत गरी दिएको देखिन्छ । अतः भूमिसम्बन्धी ऐनको कार्यविधि पूरा नगरी विपक्षीको नाममा मोही नामसारी गरी दिने गरेको विपक्षी कार्यालयको निर्णयमा भूमिसम्बन्धी ऐनको दफा २६(१) को त्रुटी भएको देखिंदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब कानुन बमोजिम जो जे गर्नु पर्दछ सो कार्य गरी पुनः निर्णय गर्नु भनी विपक्षी कार्यालयको नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । विपक्षी कार्यालयको जानकारीको लागि आदेशको प्रतिलिपी महान्याधिवक्ताको कार्यालय मार्फत पठाई फाइल नियमानुसार गरी बुझाई  दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.सुरेन्द्रप्रसाद सिंह

 

इतिसम्वत् २०४३ साल मंसीर १२ गते रोज ५ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु