शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१६७ - बन्दीप्रत्यक्षीकरण

भाग: ३२ साल: २०४७ महिना: असोज अंक:

निर्णय नं. ४१६७     ने.का.प. २०४७      अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४६ सालको रिट नं. १४२५

आदेश भएको मिति : २०४६।६।९।२

निवेदक      : जिल्ला तनहुँ राइपुर गा.पं. वा.नं. ७ बस्ने गेहेन्द्रकुमार विश्वकर्माको हकमा गगनबहादुर विश्वकर्मा

विरुद्ध

विपक्षी : जि.शिक्षा अधिकारी, जि.पं.सचिवालय शिक्षा शाखा स्याङ्जासमेत

विषय : बन्दीप्रत्यक्षीकरण

(१)   कैदबाट बच्नको लागि नाम बदली नागरिकता लिएको देखिएकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट     : विद्वान अधिवक्ता श्री शम्भु थापा

विपक्षी तर्फबाट      : विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिंह बोगटी

आदेश

न्या.हरगोविन्द सिंह प्रधान

१.     नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ ।

२.    म भारती नि.मा.वि. काल्खु स्याङजामा शिक्षक भई अध्यापन गराई आएकोमा शिक्षा शाखा स्याङजामा ०४६।१।१५ मा हाजिर हुन आउनु भनी मेरा नाममा पत्र जाँदा म जिल्ला शिक्षामा हाजिर हुन जाँदा अपरिचित ४ जना प्रहरीले जिल्ला प्रहरी कार्यालय स्याङजामा जाउँ भनेकोले साथ लागी जाँदा मलाई १ रात थुनामा राखी जिल्ला प्रहरी कार्यालय तनहुँमा लगी ५ दिनसम्म दानापानी बिना गैरकानुनी तरीकाले थुनामा राखियो । ०४६।१।२१ गते तनहुँ जिल्ला अदालतमा लगी मलाई सोधपुछ गरी मेरो परिचयको कुनै वास्ता नगरी मेघबहादुरको जाहेरीले वादी श्री ५ को सरकार भएको गर्भ पतन मुद्दामा गेहेन्द्र कामीलाई लागेको कैद वर्ष १।१।६ वापत ०४७ साल ज्येष्ठ २६ गते छुटी जाने गरी कैद म्याद ठेकिएको थुनुवा पुर्जी दिइयो । म गेहेन्द्र कामी हैन गेहेन्द्रकुमार विश्वकर्मा हुँ भनी नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रहरु समेत देखाउँदा पनि सो पुर्जी बुझ्न बाध्य हुनु पर्‍यो र मैले अहिले गैरकानुनी रुपबाट बन्दी जीवनयापन गरिरहेको छु । एकालाई लागेको कैद बापतमा विपक्षीहरुले म गेहेन्द्रकुमार विश्वकर्मालाई थुनामा राखेको कार्य संविधानद्वारा प्रदत्त संवैधानिक हकमा आघात पुग्न गएकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी गैरकानुनी थुनाबाट मुक्त गरी पाउँ भन्ने समेत व्यहोराको गेहेन्द्रकुमार विश्वकर्माको हकमा गगनबहादुर विश्वकर्माको निवेदन ।

३.    यसमा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो यो आदेश प्राप्त भएका ७ सात दिन भित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासबाट मिति २०४६।२।२२ मा भएको आदेश ।

४.    मेघबहादुरको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी गेहेन्द्र कामी समेत भएको गर्भ पतन मुद्दामा निजलाई ०४७ साल ज्येष्ठ २५ गतेसम्म श्रेणीको सिधा खान दिई कैदमा राखी ऐ.२६ गते छाडी दिनु भन्ने तनहुँ जिल्ला अदालतको पत्र साथ उक्त अदालतले निज कामीलाई यस कारागार शाखामा उपस्थित साक्षीहरुले कसूरदार व्यक्ति यिनै हुन् भनी यस कार्यालयमा बुझाएको उक्त मितिबाट जेल नियम अनुसार निजले पाउने सबै सुविधा दिई यस जेलमा कैदमा राखिएको छ । जेल नियम विपरीत गरी निजलाई कुनै किसिमको कष्ट दिइएको नहुँदा निवेदकको रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको जिल्ला कार्यालय कारागार शाखा तनहुँको लिखितजवाफ ।

५.    छाद्धि प्र.मा.वि. ढोर तनहुँमा अवैध पर्चा पम्पलेट गरे गराएको भन्ने सम्बन्धमा बुझ्दा यी गेहेन्द्र कामी समेतलाई गर्भ पतन मुद्दामा तनहुँ जिल्ला अदालतबाट १ वर्षको कैद ठेकिएकोमा फरार रहेबाट फैसला कार्यान्वयन हुन नसकेको र पछि निजले आफ्नो नाम बदली गेहेन्द्रकुमार विश्वकर्माको नामबाट नागरिकताको प्रमाणपत्र समेत लिएको भन्ने समेतको सुराक पत्ता लाग्न आएकोले कैद लागेको कैदीलाई अदालतमा बुझाई फैसला कार्यान्वयन गराउनु प्रहरीको कर्तव्य भई अदालतमा बुझाइएको हो । बिना पुर्जी दानापानी बेगर गैरकानुनी रुपले निजलाई थुनामा नराखिएको हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको जिल्ला प्रहरी कार्यालय तनहुँको लिखितजवाफ ।

६.    मेघबहादुर दमाइको जाहेरी परेको गर्भपतन मुद्दामा प्र.गेहेन्द्र कामी समेत उपर कारवाही हुन यस अदालतमा मुद्दा दायर भई गेहेन्द्र कामीले बयान गर्दा बाबुको रुद्रबहादुर मेरो गेहेन्द्र जात कामी घर जि.थामडाँडा गा.पं. वडा नं. ७ राइपुरमा छ भनी बयान गरेका निज थुनछेकका आदेशले रु. ५००।धरौटी राखी पुर्पक्षको निमित्त तारेखमा रहेकोमा यस अदालतबाट मुद्दा फैसला हुँदा निजलाई १ वर्ष कैद लागेकोमा अ.बं. १९४ नं. को सुविधा लिई गण्डकी अञ्चल अदालतमा पुनरावेदन परेकोमा हाल तनहुँ जिल्ला राईपुर गा.पं. वडा नं. ७ बस्ने भनी पुनरावेदन दर्ता गरी राखिएको थियो । अञ्चल अदालतबाट शुरु इन्साफ सदर ठहरी पुनरावेदन गरेबापत निजलाई थप कैद महीना १।६ दिन भएकोमा उक्त कैद मिन्हा बक्स पाउँ भनी श्री ५ महाराजाधिराज सरकारका जुनाफमा बिन्तिपत्र दिंदा कानुन बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी बक्स भएको मिसिलबाट देखिन्छ । निज गेहेन्द्र कामी आफूलाई लागेको कैदबाट उम्कन सकिन्छ कि भनी भागी लुकी हिंडिरहेको डोर खटिई जाँदा फेला नपरेको, गर्भपतन जस्तो अपराधमा सजायँ लागेको व्यक्तिलाई फेला पारेमा पक्राउ गर्न सबैको कर्तव्य हुँदा जि.प्र.का. तनहुँले पक्राउ गरी यस अदालतमा दाखिल गरेकोले लागेको कैद बापत कैदी पुर्जी बुझाई कैदमा राख्न जिल्ला कार्यालय कारागार शाखा तनहुँमा पठाइएको हुँदा निवेदकको रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको तनहुँ जिल्ला अदालतको लिखितजवाफ ।

७.    निवेदकलाई २०४६।१।१५ गतेका दिन र अघि पछि पनि निजलाई पक्राउ गर्न यस कार्यालयबाट कुनै कारवाही गरिएको र प्रहरी समेत पठाइएको होइन । निजको वतन समेत यस स्याङजा जिल्लामा नपर्ने हुँदा निजलाई पक्राउ गर्नु पर्ने कुनै कारण छैन । निवेदकको निवेदन सरासर मिथ्या देखिनुको साथै निजको अधिकारको हनन् यस कार्यालयबाट नगरिएको हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको जिल्ला प्रहरी कार्यालय स्याङजाको लिखितजवाफ ।

८.    निवेदकसंग नागरिकता सम्बन्धी केही कुरा बुझ्नु पर्ने भई निजलाई यस कार्यालयबाट झिकाइएकोमा निज २०४६।१।१५ गते आएकोमा समयाभावले गर्दा नागरिकताको प्रतिलिपि भोली पल्ट पेश गर्ने भनी गएका हुन् । निवेदकले कस्तो कसूर गरेका थिए र यस कार्यालयलाई पूर्व जानकारी नभएकोले निजलाई पक्राउ गराउनु पर्ने कुनै अवस्था र कारण छैन । निवेदकलाई नागरिकता सम्बन्धी कुरा स्पष्ट गर्न झिकाइएकै आधारमा निजको संविधानद्वारा प्रदत्त मौलिक हकको हनन् भएको भन्न सकिने अवस्था नहुँदा निजको असंगत मिथ्या र तथ्यहिन निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको जि.पं.सचिवालय शिक्षा शाखा स्याङजाको लिखितजवाफ ।

९.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकको तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री शम्भु थापा र विपक्षी तर्फबाट उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिंह बोगटीले गर्नु भएको बहस समेत सुनियो ।

१०.    यसमा मेघबहादुरको जाहेरी परेको गर्भपतन मुद्दामा कैद लागेको गेहेन्द्र कामी भनी म गेहेन्द्रकुमार विश्वकर्मालाई पक्राउ गरी कैद म्याद ठेकिएको पुर्जी बुझाउन लाग्दा आफू गेहेन्द्र कामी नभई गेहेन्द्रकुमार विश्वकर्मा हुँ भनी नेपाली नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रहरु देखाउँदा देखाउँदै पनि बाध्य गरी पुर्जी बुझाई गैरकानुनी रुपमा थुनामा राखेकोले गैरकानुनी थुनाबाट मुक्त गरी पाउँ भन्ने समेत व्यहोराको निवेदन भएकोमा रिट निवेदकको बाबुको नाम र वतन समेत मिल्न भिडन आएको र लागेको कैदबाट उम्कन सकिन्छ कि भनी भागी लुकी छिपी हिंडी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरी दाखेल गरेकाले फैसलाले लागेको कैद बापत कैदमा राखिएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको लिखितजवाफ भएको प्रस्तुत रिटनिवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के हो त्यसतर्फ निर्णय दिनु पर्ने भई विचार गर्दा निवेदकले रिटनिवेदनमा उल्लेख गरेको वतनसंग निजले गण्डकी अञ्चल अदालतमा पुनरावेदन डायर गर्दा र शुरुमा बयान गर्दा उल्लेख गरेको वतन मिलेको देखिन्छ । साथै अदालतमा बयान गर्दा बाबुको नाम रुद्रबहादुर मेरो गेहेन्द्र जात कामी भनी उल्लेख गरेको र निजको नागरिकतामा रुद्रकामीको छोरा गेहेन्द्रकुमार विश्वकर्मा भनी लेखिएकोबाट निवेदकले म विश्वकर्मा हुँ कामी हैन भनी जिकिर लिएको कानुनसंगत देखिँदैन । एउटै गाउँमा यदि त्यस्तै नाउँको बाबु छोरा भए यही नाम गरेको सोही गाउँमा अरु पनि छन् भनी निवेदनमा खुलाउन सक्नु पर्नेमा खुलाउन सकेको देखिँदैन । निवेदकले गण्डकी अञ्चल अदालत समेतबाट शुरु इन्साफ सदर ठहरी फैसला भए पश्चात आफूले गरेको अपराधको सजायँ भोग्नु नपरोस भनी श्री ५ महाराजाधिराज सरकारका जुनाफमा कैद सजायँ मिन्हा बक्स पाउँ भनी विन्त्रिपत्र चढाएकोमा कानुन बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी बक्स भएको बिन्तिपत्र मिसिल संलग्न रहेको भनी लिखितजवाफबाट देखिन्छ । अदालतबाट कैदको सजायँ हुने गरी अन्तिम फैसला भइसके पश्चात आफूलाई लागेको सजायँबाट बच्ने उद्देश्यले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा कैद सजायँ मिन्हा गरी पाउँ भनी सजायँ मिन्हा गराउने तर्फ प्रयास गरे पश्चात कैदको सजायँ मिन्हा नभएपछि आफू सो अपराधबाट फुत्कनको लागि यी निवेदकले मिति ०३८।५।१० मा रुद्रे कामीको छोरा गेहेन्द्रकुमार विश्वकर्मा भनी नागरिकता लिंदैमा रुद्रबहादुरको छोरा गेहेन्द्र कामी म हैन भन्ने निवेदन जिकिर मनासिब देखिँदैन सो नहुँदा सजायँ पाउने व्यक्ति गेहेन्द्र र हाल पक्राउ पर्ने गेहेन्द्रकुमार विश्वकर्मा यौटै हो भन्नु पर्ने हुँदा माग बमोजिमको आदेश जारी गर्न मिलेन प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाई  दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४६ साल आश्विन ९ गते रोज २ शुभम् ।



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु