निर्णय नं. ७४९३ - अंश चलन ।

निर्णय नं.७४९३ ने.का.प.२०६२ अङ्क २
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री अनूपराज शर्मा
माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह
माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी
सम्बत् २०६० सालका दे..पू.ई.नं. .....४०
फैसला मितिः २०६२।१।२२।५
मुद्दा :– अंश चलन ।
पुनरावेदक/प्रतिवादीः जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वार्ड नं. ६ वस्ने हरिप्रसाद खरेल समेत
विरुद्ध
प्रत्यथी /वादीः ऐ.ऐ.वस्ने भद्रप्रसाद खरेल समेत
§ वादीहरुले आफूहरु २०२२ सालमा ९ वर्ष र २ वर्षका रहेको भन्ने उल्लेख गरेबाट सो मितिले क्रमशः २०२९ र २०३६ सालमा १६ वर्षका भएपछि अंशवण्डाको ३२ नं को म्यादभित्र नालेश गर्नुपर्ने ।
(प्रकरण नं.२२)
§ अंश नैसर्गीक हक भएको र जुनसुकै सगोलको अंशियारका नाउँमा रहेको सगोलको सम्पतिबाट सवै अंशियारले वाडी लिन पाउने ।
§ २०२२ सालको वण्डापत्रबाट वादीहरुको समेतको भागमा परेको जग्गा समेत प्रतिवादी वेनुप्रसाद खरेलका नाउँमा नै दर्ता कायम रहेको देखिदा प्रतिवादीको नाउँमा दर्ता कायम रहेको कि.नंं १२१, ४२, १५२ र २४५ समेतका वादी प्रतिवादीको तायदाती फाँटवारीमा उल्लेख भएको जग्गा नै वादीहरुको अंश भागमा परेको जग्गा रहेको देखिन आउने ।
(प्रकरण नं.२३ )
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्तात्रय श्री अग्नी खरेल, श्री सतिशकृष्ण खरेल र श्री हरिहर दाहाल
प्रत्यर्थी वादीको तर्फवाटः विद्धान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान अधिवक्ता श्री शेरवहादुर के.सी
अवलम्वित नजीरः
फैसला
न्या.अनूपराज शर्माः पुनरावेदन अदालत विराटनगरको मिति ०५३।१२।२७ को फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) अन्तर्गत दोहोर्याउने निस्सा प्रदान भई संयुक्त इजलासवाट लगाउको मुद्दा साथै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को देहाय (ख) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने आदेश अनुसार यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छ : –
२. पिताजी हरिप्रसादको २ पत्नी मध्ये जेठी हिमादेबी र कान्छी ईश्वरा देवी हुन । ईश्वरादेबी तर्फका छोराहरुलाई मिति ०३६।२।४ मा अंशवण्डा रजिष्ट्रेशन पास गरी पिता माताले अंश छुट्याई दिई जेठी तर्फका छोरा र माता पिता हामी सगोलमा वसी आएको छौं । हामी जम्मा ८ अंशियारको बीचमा आजसम्म अंशवण्डा भएको छैन । सबै सगोलमै बसी आएको छौं। पैतृक सम्पत्ति सबै माता पिता र दाजु बेणुप्रसादकै जिम्मामा छ । हाम्रो अंशवण्डा गरौं भनि मिति ०५०।३।१२ गते भन्दा तिमीहरुलाई केहि दिदैनौं, कमाएर खाओ भनी जवाफ दिनु भएकोले विवाह नभएका अंशियारको विवाह खर्च परसारी ८ भागको २ भाग अंश छुट्याई दर्ता चलन समेत पाउं भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. वादी दावी झुठ्ठा हो । हामी वादीहरुसंग छुट्टि भिन्न भै आ–आफ्नो व्यवहार गरी आएको छौं । म हरिप्रसाद खरेल र जेठी श्रीमती हिमा देवी र निज तर्फका छोराहरु बिच ०२२ सालमै अंशवण्डा भै सकेको हो । वण्डा हुंदा नावालक रहेका वादीहरुको भाग निजहरुकै आमा हिमादेवी कै संरक्षकमा रहने भनी उल्लेख समेत भएको छ । वादीका आमा दाजुले अंश दिए नदिएको हाम्रो सरोकारको विषय होइन । हामीले वादीलाई अंश दिन वाकी छैन भन्ने समेत व्यहोराको प्रतिवादी हरिप्रसाद र इश्वरादेवीको संयुक्त प्रतिउत्तर पत्र ।
४. हामी जेठी तर्फ छोरा मध्ये सम्पत्ति रेखदेख दामकाम गर्ने मुख्य घरको जेठा छोरा वेणु प्रसाद भएकोले निजको जिम्मा दर्तामा जग्गा जमिन छ । निजले जग्गा जमिन सम्पत्ति आफै मात्र खान खोजी यो मेरो दर्ता मैले पाएको अरु अंशियारलाई दिन्न भन्न थालेको र हरिप्रसादले पनि तिमिहरुको अंश सम्बन्धी श्रेस्ता मिलाएको हुँ भन्न थालेका छन् । हामीले अंश वापत कुनै सम्पत्ति जग्गा जमिन प्राप्त गरेको छैनौं । हामीले पनि अंश पाउनु पर्नेछ । अंश पाउने गरी ईन्साफ पाउं भन्ने समेत व्यहोराको प्रतिवादीहरु हिमादेवी, नन्द लाल र चिरन्जिविको संयुक्त प्रतिउत्तर पत्र ।
५. प्रतिवादी बेणुप्रसादले प्रतिउत्तर नफिराई शुरु म्याद गुजारी बसेको ।
६. मिति ०२२।६।५ गतेको बण्डापत्र कागज मलाई देखाउंदा हेरे देखे । वण्डापत्र हुंदाका अवस्था हामी नावालक थियौं । नावालक भएको अवस्थामा अंशियारहरुले हामीहरुको अंश मार्न जालसाज गरी सो वण्डापत्र लेखत पारित गरेका रहेछन् । सो वण्डापत्रमा हामीहरुको सहीछाप छैन। सो वण्डापत्र जालसाज पूर्ण छ । हामीहरुको हक मेट्ने काम गरे उपर हामीहरुले मुद्दा दर्ता गराएका छौं भन्ने समेत व्यहोराको वा.स. भद्रप्रसाद खरेलले गरेको बयान ।
७. अंशवण्डाको कागज किर्ते होइन । कानूनको रित पुर्याई गरेको हो । वादीहरु नावालक हुंदा निजहरुको आमाको संरक्षणमा निजहरुलाई अंशवण्डा गरेको हो । किर्ते होर्ईन भन्ने समेत व्योहोराको प्रतिवादीको वारेशले गरेको वयान ।
८. फिराद दायर भएको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी पेश भएको तायदाती फांटवारीबाट कानून बमोजिम विवाह खर्च परसारी ८ भाग मध्ये २ भाग अंश पाउने र चलन समेत चलाई दिने ठहर्छ भन्ने समेत व्यहोराको मोरंग जिल्ला अदालतको मिति ०५२।१२।१३ को फैसला ।
९. एकपटक अंश भइसकेपछि दोहोराएर अंश गर्न मिल्ने होइन । अंशवण्डा भएको कुरालाई हिमादेवीले स्विकार गरेको अवस्था छ । ०२२ सालको वण्डापत्रवाट वादीले पाउने भाग सवै वेणुप्रसादको नाममा रहेको छ । जालसांज मुद्दामा वण्डापत्र जालसांज ठहरेको त्रुटीपूर्ण फैसलाको आधारमा भएको शुरु निर्णय मिलेको छैन । अंशवण्डा भएको हो, होईन ? सम्पत्ति को कस्का नाउंमा छ ? सो सम्पत्तिबाट प्रत्यर्थीहरुले अंश पाउने नपाउने के हो ? न्याय निरोपण गरिनु पर्नेमा सो नगरी गरेको शुरुको फैसला त्रुटिपूर्ण हुंदा पुनरावेदन जिकिर बमोजिम इन्साफ गरीपाउं भन्ने समेत व्यहोराको प्रतिवादी हरिप्रसाद खरेल समेतको पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन पत्र ।
१०. २०२२ सालमा वण्डा भएको भए लिखतमा उल्लेखित सम्पत्ती वादीले प्राप्त गरेको हुनुपर्नेमा प्राप्त गरेको नदेखिएको र हिमादेवी जिम्मा रहेको नदेखिए समेतवाट सो वण्डापत्र फौ.नं. ६६७ को जालसाज मुद्दामा जालसाज ठहरी निर्णय भएकोले वादीले अंश पाएको भन्ने नदेखिंदा वादीले प्रतिवादीवाट अंश पाउने ठहर्याएको शुरु मोरङ्ग जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति ०५३।१२।२७ को फैसला ।
११. २०२२ को वण्डापत्रमा वादीको सम्पत्ति हिमादेवी जिम्मा रहने भन्ने उल्लेख भएको र जग्गा नाप जाँच हुंदा वादीहरुको अंश भागको जग्गा समेत वेणुप्रसादको नाममा नापी भएको अवस्थामा त्यस तर्फ पुनरावेदन अदालतले वास्ता गरेको छैन । एकपटक अंशवण्डा भएपछि पुनः वण्डा गर्नुपर्ने होइन । मालपोत कार्यालयवाट पारित लिखत जालसाज ठहर गर्न मिल्ने समेत होइन । वेणुप्रसाद उपर वादीले नालेस गर्नुपर्ने हो । यसको विपरीत भएको पुनरावेदन अदालतको फैसलामा अ.वं. ८२ नं. को व्याख्यात्मक त्रुटि भएको हुंदा मुद्दा दोहोर्याई पाउ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको निवेदन ।
१२. हरिप्रसादको जेठी श्रीमती हिमादेवी तर्फका छोराहरु जेठो छोरा वेणुप्रसादको अंश भागमा ज.वि. १–५–० परेकोमा नापी हुंदा ज.वि. ७–१४–३ जग्गा दर्ता हुन गएको अवस्थावाट सो जग्गा आमा र ४ भाईको भागमा परेको जग्गाको कूल क्षेत्रफल मिल्दो नै देखियो । उक्त क्षेत्रफल कसरी वढ्न गयो ? त्यो स्पष्ट गर्न वेणुप्रसादले सकेको पाईदैन । २०३६ सालमा इश्वरा देवीका छोराहरु छुट्टी भिन्न हुंदा हरिप्रसादको जिउनीको सरदर भन्दा बढी जग्गा परेको लिखत ज्यूंदै रहेको र सो लिखत वदर गर्ने तर्फ कसैको उजूरी नपरेको स्थितिमा वादीहरुको अंश भागको जग्गा वावुको जिउनी भागमा परेको भन्नु तर्क संगत देखिएन । २०२२ सालको वण्डापत्र वदर गर्न अंशवण्डाको ३२ नं. को म्याद अर्थात १६ वर्ष उमेर पुगेपछि उजूरी नगरी धेरै वर्ष पश्चात अर्थात २०५०।८।२२ मा परेको प्रस्तुत नालेसलाई हदम्याद नाघेको भन्नु पर्ने अवस्था समेत देखिएकोमा २०२२ सालको लिखतलाई जालसाजी ठहराई वादी दावी अनुसार अंशवण्डा हुने ठहराएको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसलामा अ.वं. ३२ नं. को कानूनी त्रुटी हुंदा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान गरिदिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति ०५६।८।२९ को आदेश ।
१३. जुन जालसाजी मुद्दाको आधार लिई शुरु एवं पुनरावेदन अदालतवाट निर्णय भएको हो सोही फौ.पु.नं. २३१६ को जालसाजी मुद्दा आजै पूर्ण इजलासमा पेश गर्ने आदेश भएकोले प्रस्तुत मुद्दा पनि सोही मुद्दाको लगाउको भएकोले सोही आधारमा पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको संयुक्त इजलासको मिति २०६०।१०।८ को आदेश ।
१४. नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फवाट विद्धान अधिवक्ता त्रय श्री अग्नी खरेल, श्री सतिशकृष्ण खरेल र श्री हरिहर दाहालले ०२२ सालको वण्डा पत्रमा वेणुप्रसादकै नाममा रहेको जग्गावाट वादी समेतको अंश भाग छुट्याएको र नावालक वादीको सम्पत्ति निजहरुकी आमा हिमदेवीको जिम्मा रहने भन्ने उल्लेख भएको छ । सो वण्डापत्र बमोजिको जग्गा वादीहरुको नाममा नआई प्रतिवादी मध्येका वेणुप्रसाद कै नाममा नापी दर्ता भएको देखिन्छ । वेणुको नाममा रहेको निजको भागमा परेको भन्दा बढी रहेको जग्गाको स्रोत अरु नभई वादी समेतले पाएको अंश भाग नै हो । वेणुप्रसादबाट नै वादीहरुले ०२२ को वण्डापत्र बमोजिमको सम्पत्ति पाउने हो । अरु प्रतिवादीवाट पाउने होइन । एक पटक वण्डा भईसकेपछि पुन वण्डा हुन सक्तैन भन्ने समेत व्यहोराको बहस जिकिर प्रस्तुत गर्नुभयो ।
१५. प्रत्यर्थी वादीको तर्फवाट रहनु भएका विद्धान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र अधिवक्ता श्री शेरवहादुर के.सी.ले ०२२ सालको वण्डापत्र हुंदा वादीहरु नावालक रहेको र निजहरुको अंश मार्ने नियतवाट सो वण्डापत्र पारित गरे भएको तथा वादीको नाममा कुनै सम्पत्ति प्राप्त नभएकोले त्यस्तो वण्डा पत्र मान्य हुन सक्तैन । तसर्थ वादीहरुले अंश पाउने ठहर्याएको शुरु इन्साफ सदर गरेको पुनरावेदन अदालतको फैसला सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको बहस जिकिर प्रस्तुत गर्नुभयो ।
१६. आज निर्णय सुनाउन पेश भएको प्रस्तुत मुद्दामा दुवै तर्फका विद्धान कानून व्यवसायीहरुको बहस जिकिर समेतलाई ध्यान दिई मिसिल कागजात अध्ययन गरी हेर्दा संयुक्त इजलासले लगाउको फौ.पू.ई.नं. १७ को मुद्दामा कीर्ते कागजको १८ नं.का सम्बन्धमा दुई संयुक्त इजलासबाट अलग अलग सिद्धान्त प्रतिपादित भई एक रुपता कायम गर्न पूर्ण इजलासमा पेश गर्नु भन्ने भएको आदेश बमोजिम प्रस्तुत मुद्दा समेत साथै पेश गर्नु भन्ने आदेश भई पेश हुन आएको पाइयोे । सर्वाेच्च अदालत नियमावली, २०४९ को नियम ७क. को उपनियम (२) खण्ड (ख) को अनुरुप प्रस्तुत मुद्दामा निर्णय गर्न वाधा पर्ने अवस्था देखिन आएन । यस परिप्रेक्षमा निर्णय तर्फ बिचार गर्दा प्रस्तुत मुद्दामा प्रत्यर्थी वादीहरुले पुनरावेदक प्रतिवादीहरु समेतबाट अंश पाउने हो होइन ? र यी पुनरावेदक समेतबाट अंश दिलाउने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको छ, छैन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो । १७. प्रतिवादी हरिप्रसाद खरेलका २ श्रीमती भएकोमा जेठी हिमादेवी तर्फका आफूहरु छोरा भएको र आजसम्म पिताबाट अंश नपाएकोले हरिप्रसाद समेत आठ अंशियार कायम गरी २ भाग अंश पिता समेतबाट पाउँ भनी प्रत्यर्थी वादीहरुको फिराद परेको देखिन्छ । ०२२ सालमा नै वण्डा पत्र पारित गरी सो अवस्थामा वादीहरु नवालक भएकोले निजहरुको नाउँको सम्पति निजकी आमा जेठी पत्नी हिमादेवीका जिम्मामा रहने गरी वण्डापत्र लिखत पारित गरी निजहरु छुट्टि भिन्न भइ सकको हुनाले अंश दिन वाकी छैन भन्ने यी पुनरावेदक प्रतिवादी हरिप्रसाद खरेलको प्रतिउत्तर जिकिर रहेको देखिन्छ ।
१८. प्रतिवादी हरिप्रसाद खरेलले आफ्नो जिकिर समर्थनका लागि पेश गरेको २०२२।६।५ को पारित वण्डापत्रलाई यी वादीले सो लिखत जालसाज हो भनी यस मुद्दामा वयान गर्नुका साथै सो लिखत जालसाजी घोषित गरिपाऊँ भनी लगाउको साथै पेश भएको फौ.पू.इ.नं. १७ को जालसाजी मुद्दा समेत दिएको देखिन्छ ।
१९. प्रत्यर्थी वादीहरुले दिएको उल्लिखित २०२२ सालको वण्डापत्र लिखत जालसाजी घोषित गरिपाऊँ भन्ने साथै पेश भएको उल्लिखित १७ नं को जालसाजी मुद्दा मुलुकी ऐन कीर्ते कागजको हदम्याद भित्र नपरेको भन्ने समेत आधारमा सो लिखतलाई जालसाज ठहर गरेको शुरु मोरंग जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी भै फिराद खारेज हुने ठहरी आजै यसै इजलासबाट फैसला भएको छ । सो जालसाजी मुद्दाको फैसलाबाट यस मुद्दामा समेत वादीले सो २०२२ सालको वण्डापत्र जालसाजी हो भनी लिएको वयान जिकिर तर्फ विचार गरी रहनै परेन ।
२०. अव वादीहरु २०२२ सालमा छुट्टी भिन्न भएका हुन् वा होइनन् भन्ने तर्फ विचार गर्दा यी वादीहरु प्रतिवादी हरिप्रसाद खरेलको जेठी पत्नी प्रतिवादी हिमादेवी तर्फका छोराहरु रहे भएमा विवाद छैन । प्रतिवादी हरिप्रसादले पेश गरेको २०२२।६।५ मा भएको भनिएको वण्डापत्रको व्यहोरा हेर्दा जेठी पत्नी हिमा देवी समेतका परिवार एकै ठाउँमा वस्न नसकेको कारण उल्लेख गरी निज हिमा देवी तर्फका यी वादीहरु नावालक भएकोले वादीहरुको भागमा पर्ने अंश वापतको भाग वादीहरुकी आमा प्रतिवादी हिमा देवीको संरक्षणमा रहने गरी प्रतिवादी वेनुप्रसादका नाउँ दर्ताको ज.वि. ७।। ।।४ मध्येबाट यी वादीहरुको भागमा क्रमशः ज.वि १–०–० परेको भन्ने व्यहोरा उल्लेख गरेको पाइन्छ । सो लिखतबाट प्रतिवादी हरिप्रसाद खरेलका जेठी पत्नी प्रतिवादी हिमा देवी र निज तर्फका छोराहरु प्रतिवादी वेनुप्रसाद, नन्द लाल र चिरन्जिविका साथै यी वादीहरु समेतको भागमा प्रतिवादी वेनुप्रसादको नाउँको जग्गाबाट भाग वण्डा गरी लिने शर्त उल्लेख भएबमोजिम प्रतिवादी हरिप्रसादकी जेठी पत्नी र निज तर्फका सन्तानका नाममा वण्डापत्र पारित भएको देखिन्छ ।
२१. माथि उल्लेख भए बमोजिम सो वण्डापत्र कानून अनुरुप कै भए गरेको देखिन आएकोले सो वण्डापत्रबाट पुनरावेदक प्रतिवादी हरिप्रसाद खरेलका जेठी गुंड तर्फका सन्तान २०२२ सालमै अलग भिन्न भएका रहेछन् र प्रतिवादी हरिप्रसाद खरेल निजकी कान्छी पत्नी इश्वरा देवी र निज तर्फका सन्तान मात्र सो अवस्थामा एका सगोलमा रहेको भन्ने देखिन आएबाट वादीहरु २०२२ सालमा नै प्रतिवादी हरिप्रसाद खरेल र निजकी कान्छी पत्नी इश्वरा देवी तथा निज तर्फका छोराहरुबाट छुट्टी सकेका रहेछन् भन्ने कुरा पुष्टी हुन आउँछ ।
२२. वादीहरुले आफूहरु सो अवस्थामा नावालक रहेको र आफ्नो इच्छा मन्जूरी वेगर हक हितमा असर पर्ने गरी वण्डा गरेको र आफूहरुले हाल सम्म कुनै जग्गा प्राप्त नगरेको भनी लिएको जिकिरतर्फ विचार गर्दा मुलुकी ऐन अंशवण्डाको महलको ३२ नं. ले “ंअंशवण्डा गर्दा ऐन बमोजिम गरिदिनु पर्छ । घटी बढी गर्न हुदैंन । अंशमा चित्त नबुझ्ने सोह्र वर्ष नाघेकाले वण्डापत्रको कागज भएका मितिले र सोह्र्र वर्ष मुनीकाले सोह्र वर्ष नाघेका मितिले तीन महिना भित्र नालिश नगरे लाग्न सक्तैन” भन्ने व्यवस्था गरेको देखिन आउँछ । वादीहरुले आफूहरु २०२२ सालमा ९ वर्ष र २ वर्षका रहेको भन्ने उल्लेख गरेबाट सो मितिले क्रमशः २०२९ र २०३६ सालमा १६ वर्षका भएपछि उल्लेखित अंशवण्डाको ३२ नं को म्याद भित्र नालेश गर्नुपर्नेमा गरेको पाइएन । त्यसमा पनि प्रतिवादी पिता तथा कान्छी आमा पट्टीका सन्तान २०३६ सालमा भिन्द हुदां आफूहरु के कति कारणले सो वेलामा भिन्न नभएको सो वेलामा अंश दावी किन नगरेको हो सो कुरा खुलाउन सकेको पाइदैंन । सो २०३६ सालको वण्डापत्रलाई पनि स्वीकार गरी वसेको देखिन्छ भने २०२२ सालको वण्डापत्रलाई स्वयं वादीहरुकी आमा प्रतिवादी हिमा देवीले अन्यथा हो भन्न सकेको पनि पाइदैन । तथापी सो २०२२ सालको वण्डापत्रमा उल्लेख भएको प्रतिवादी वेनुप्रसाद खरेलका नाउँको जग्गा हाल सम्म वादीहरुको नाउँमा नामसारी दर्ता खारेज भएको भन्ने देखिन आउदैंन । प्रतिवादी वेनुप्रसादले पनि सो वण्डा पत्र बमोजिमका जग्गा भाइ वादीहरुलाई दिई सकेको र निजहरुले यसो गरेका हुन् भनी भन्न सकेको देखिन आउदैंन ।
२३. अंश नैसर्गीक हक भएको र जुनसुकै सगोलको अंशियारका नाउँमा रहेको सगोलको सम्पतिबाट सवै अंशियारले वाडी लिन पाउने व्यवस्था उल्लेखित अंशवण्डाको महलको ३२ नं को पहिलो वाक्यांशले पनि पुष्टी गरेको छ । २०२२ सालको उल्लेखित वण्डा पत्रमा उल्लेख भएको जग्गा प्रतिवादी वेनुप्रसाद खरेलका नाउँमा कि.नं. १२१ समेतको ४ कित्तामा नरबढी ज.वि. ८–०–०–० दर्ता भएको र सो मध्ये वादीहरुको समेत मन्जूरीबाट निज वेनुप्रसादले गोविन्द मानन्धर, शुरेश कोइराला र गुदर महतो समेतका व्यक्तिलाई ज.वि.०–१७–१० विक्री गरेको भनी पुनरावेदक प्रतिवादी हरिप्रसाद खरेलले अदालतमा मिति २०५२।२।१५ मा गरेको कागजका सम्बन्धमा वादीहरु तथा प्रतिवादी वेनुप्रसादले समेत केही भन्न सकेको छैन । यसबाट २०२२ सालको वण्डापत्रबाट वादीहरुको समेतको भागमा परेको जग्गा समेत प्रतिवादी वेनुप्रसाद खरेलका नाउँमा नै दर्ता कायम रहेको देखिदा प्रतिवादी वेनुप्रसादको नाउँमा दर्ता कायम रहेको कि.नंं १२१,४२,१५२ र २४५ समेतका वादी प्रतिवादीको तायदाती फाँटवारीमा उल्लेख भएको जग्गा नै वादीहरुको अंश भागमा परेको जग्गा रहेको देखिन आयो । सोही जग्गाबाट वादीहरुलाई अंश छुट्याई दिनुपर्नेमा लगाउको फौ.पू.इ.नं. १७ को जलासाजी मुद्दाबाट २०२२ सालको लिखत जालसाजी ठहर भएको भन्ने आधारमा वेनुप्रसाद खरेल वाहेकका प्रतिावादी हरिप्रसाद खरेलका नाउँको जग्गा समेत वण्डा लगाउने ठहर गरेको शुरु सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला पूर्णरुपमा मिलेको देखिन आएन । पुनरावेदक प्रतिवादी हरिप्रसाद र ईश्वरा देवीबाट २०२२ सालमा नै वादीहरुले अंश लिई सकेको देखिदा पुनरावेदक प्रतिवादीहरुबाट समेत अंश पाउने ठहराएको वाहेकको अरु शुरु सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला सो हदसम्म मिलेको देखिदा पुनरावेदन अदालत विराटनगरको फैसला केही उल्टी हुन्छ । पुनरावेदक प्रतिवादीहरु हरिप्रसाद खरेल समेतबाट अंश पाउनु पर्ने भन्ने वादी दावी पुग्न सक्दैन । ०२२ सालको वण्डा पत्रमा वादीहरुको भागमा परेको बेनुप्रसादका नाउँको हाल कि.नं. १२१ समेतमा दर्ता भएको जग्गाबाट वादीहरुले आफ्नो भाग छुट्याई लिन पाउने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसील
माथि इन्सफ खण्डमा उल्लेख भएबमोजिम प्रतिवादी वेणुप्रसाद खरेलकोे नाममा रहेको जग्गाबाट मात्र प्रत्यर्थी वादीहरुले अंश पाउने ठहरेकोले शुरु फैसलाको तपसिलमा रहेको पुनरावेदक प्रतिवादी हरिप्रसाद खरेल समेतको नाउँको सम्पतिबाट बण्डा छुट्याई दिनु भनी राखेको लगत कायम रहन नसक्ने हुदां सो लगत कट्टा गर्नु र प्रतिवादी वेनुप्रसाद खरेलका नाउँको कि.नं. १२१ समेतको शुरु फैसलाको तपसिलमा उल्लेख भएको जग्गाबाट वादीहरुले अंश छुट्याई लिन पाउने ठहर भएकोले सोही तपसिल बमोजिम गरिपाऊँ भनी वादीहरु कानूनका म्याद भित्र मांग गर्न आए गरी दिनु भनी शुरु मोरंग जिल्ला अदालतमा लेखी पठाई दिनु .......... १
पुनरावेदक प्रतिवादी हरिप्रसाद खरेल समेत के माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादीले फिरादमा उल्लेख गरेको विगो रु २८५००। सम्मको जग्गामध्येबाट दावी पुग्ने ठहर भएकोले सोको ६ भागको २ भागको हुने रु ९५०० । को हुने शुरु कोर्टफी रु.४००। मात्र वादीले भराई लिन पाउने हुंदा सा कोर्ट फी रु २३३८।६२ प्रतिवादीहरुले पुनरावेदन गर्दा पुनरावेदन अदालतमा मिति २०५३।४।१० मा धरौटी राखेको देखिदां वादीले पाउने रु ४४०। कट्टा गरी अरु कोर्ट फी प्रतिवादीहरुले नै फिर्ता पाउने हुदाँ सो कोर्ट फि फिर्ता पाउँ भनी प्रतिवादीहरुको कानूनका म्याद भित्र दरखास्त परे फिर्ता गरी दिनु भनी शुरु मोरंग जिल्ला अदालतमा लेखी पठाई दिनु ...२
पुनरावेदक प्रतिवादीहरु के माथि इन्साफ खण्डमा लेखिएबमोजिम ठहरेकोले निजहरुले पुनरावेदन अदालतमा राखेको कोर्ट फी रु.३५०।७९ र यस अदालतमा पुनरावेदन गर्दा पनि सोही बमोजिम रु.३५०।७९ दाखेल गर्नुपर्नेमा रु.३०२४।६९ कोर्ट फी दाखेला गरेको हुंदा बढी राखेको कोर्ट फी रु.२६७२।९० पुनरावेदक प्रतिवादीहरुले फिर्ता पाउने हुंदा सो फिर्ता पाउने कोर्ट फी र पुनरावेदन अदालतमा र यस अदालतमा राखेको जम्मा कोर्ट फी रु.७०१।५८ प्रत्यर्थी वादीहरुबाट भराई लिन पाउने हुदां सो भराई पाउँ भनी पुनरावेदकहरुको कानूनका म्याद भित्र दरखास्त परे कोर्ट फी रु.२६७२।९० फिर्ता र कोर्ट फी रु ७०१।५८ भराई दिनु भनी शुरु मोरंग जिल्ला अदालतमा लेखी पठाई दिनु ...३
नियमानुसार गरी मिसिल वुझाई दिनु............... ४
उपर्युक्त रायमा सहमत छौं ।
न्या.अर्जुनप्रसाद सिंह
न्या.राजेन्द्रकुमार भण्डारी
इति सम्बत् २०६२ साल बैशाख २२ गते रोज ५ शुभम् .......