निर्णय नं. ९१२२ - अंशचलन

सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री तर्कराज भट्ट
माननीय न्यायाधीश प्रा.डा.श्री भरत बहादुर कार्की
फैसला मिति : २०७०।१२।१३।५
०६९-NF-०००६
मुद्दाः अंशचलन
पुनरावेदक/प्रतिवादी : भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १६ तेखाचो बस्ने दानबहादुर श्रेष्ठ
विरूद्ध
प्रत्यर्थी/वादी : भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १६ तेखाचो बस्ने कृष्णबहादुर श्रेष्ठ
- लिखत बदर मुद्दाहरूसमेत अन्तिम भएर बसेको अवस्थामा हाल आएर यस अदालतले अन्य अंशियारमा बन्डा लाग्ने भनी अन्यथा व्याख्या र अर्थ गर्न मिल्ने अवस्था देखिँदैन । अंश जस्तो कुरामा व्यक्तिको नैसर्गिक अधिकार हुने ।
(प्रकरण नं.१०)
पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने
प्रत्यर्थी/वादीका तर्फबाट : वरिष्ठ अधिवक्ताहरू बाबुराजा जोशी र हरिहर दाहाल
अवलम्बित नजीर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री सुष्मलता माथेमा
पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की
मा.न्या.श्री लक्ष्मणमणि रिसाल
सर्वोच्च अदालत संयुक्त इजलासमा फैसला गर्ने : मा.न्या.श्री तपबहादुर मगर
मा.न्या.श्री कमलनारायण दास
फैसला
न्या.सुशीला कार्की : सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०६७।१२।२१ गतेको फैसलाउपर पुनरालोकनको निवेदन परी मिति २०६९।७।२४ मा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड(ख) बमोजिम पुनरालोकन गरी हेर्ने निस्सा भएर पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :–
पिता कुलबहादुर तथा माता विष्णुको ३ छोरामा जेठा आशामरू, माहिला विपक्षी दानबहादुर र कान्छा म फिरादी कृष्णबहादुरमध्ये जेठा आशामरूको मिति २०४६।१२।२९ मा परलोक भएको छ । आशामरूले निजको सम्पत्ति छोरा कृष्णहरिलाई शेषपछिको बकसपत्र पारीत गरिदिएको हुँदा हामी तीन अंशियार छौं । हामी सगोलमा बसी आएकोमा बन्डा गर्नुपर्ने सगोलको सम्पत्ति विपक्षी भाउजु, भतिजा भतिजाबुहारीका नाउँमा रहेको छ । मिति २०३१।१२।९ मा मानो छुट्टिई भिन्न भएको हो । सोही अवस्थामा भक्तपुर जिल्ला, कटुन्जे गाउँ विकास समिति वडा नं. १(ख) कि.नं. १३८० को क्षेत्रफल ०–१२–० जग्गा हामी दुई अंशियारलाई र सो जग्गादेखि पश्चिम तर्फको कि.नं. १३८१ को क्षेत्रफल ०–६–० जग्गा दानबहादुरले पाउने भनी भाग छुट्ट्याई घर बनाई बसोबास गरी आएका छौं । मानो छुट्टिएको मिति २०३१।१२।९ गते सम्मको पैतृक सम्पत्ति र सो सम्पत्तिबाट बढे बढाएको सम्पत्तिमा तीन अंश हुने र म फिरादीको तीन भागको एकभाग अंश हकमा विवाद छैन । म फिरादी र विपक्षी दानबहादुरसमेतका अंशियारको बीचमा मिति २०३१।१२।९ मा मानो छुट्टिएको मिति कायम गरिपाऊँ । विपक्षीको मन्जूरीबाट मेरो नाममा मिति २०४३।११।२४ मा नक्सापास पूर्जिबमोजिम बनेको घर अंश लाग्ने होइन । दानबहादुर निजको र श्रीमतीको नाउँमा रहेको, विपक्ष भतिजा र बुहारीहरूको नाउँमा सगोलकै सम्पत्तिबाट बारा जिल्ला निजगढमा पनि पैत्रिक सम्पत्तिबाट बढे बढाएको अंश गर्नुपर्ने सम्पत्ति निजहरूकै नाउँमा रहेकाले विपक्षहरूबाट तायदाती फाँटवारी लिई तीनभागको एकभाग फिरादीको अंश छुट्ट्याई चलनसमेत चलाई पाऊँ भन्ने फिरादपत्र ।
रजिस्ट्रेसनको १ नं.बमोजिम पारीत लिखतको अभावमा वादीले देखाएको मानो छुट्टिएको मिति कायम हुन सक्तैन । कृष्णहरि वादी भएको मुद्दामा उल्लिखित मानो छुट्टिएको मितिलाई मैले स्वीकार गरेको अवस्था छैन । जो भएको पैतृक सम्पत्तिबाट जीवित अंशियार विपक्षी र म दानबहादुरको बराबर अंश हक लाग्ने हुँदा सोहीबमोजिम फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी पाऊँ । सम्पत्तिको किटान नभएको शेषपछिको बकसपत्रका आधारमा निधन भै सकेका आशामरूको अंश हक कृष्णहरिलाई छुट्ट्याई दिनुपर्ने अवस्था छैन । मोहियानी हकको सम्पत्ति विपक्षीलाई म दानबहादुरले मन्जूरी गरिदिएको छैन । मैले मन्जूरी दिँदैमा विपक्षीलाई मोहियानी हक प्राप्त हुँदैन । कि.नं. १३८० को घर जग्गामा दानबहादुरको हक नपुग्ने भन्नु प्रतिपादित सिद्धान्तको विपरीत छ । पैत्रिक सम्पत्ति फिरादपत्रमा लेखिएबमोजिम गणेशमाया, रामजी, छलमाया, रामशरण, भक्तिमायाका नाउँमा राखिएको छैन । अंश हक छुट्ट्याउन हामी प्रतिवादीले इन्कार गरेको होइन । विपक्षी वादीले नै इन्कार गरेका हुन् । दुई भाग अंश लगाई सम्पूर्णमा एक–एकभाग अंश छुट्ट्याई लिन हामी सदा तत्पर नै छौं । मेरो मोहीयानी हकको सम्पत्तिमा दावीगर्ने अधिकार विपक्षीलाई रहँदैन । सम्पत्तिको विवरण उल्लेख नभएको शेषपछिको बकसपत्रको आधारमा कृष्णहरिलाई आशामरूको अंश हक जान सक्दैन । मुख्य अंशियारको बीचमा अंशबन्डा भै नसकेको अवस्थामा गरिएको बकसपत्र कार्यान्वयनमा दानबकसको ५ नं. तथा अपुतालीको २० नं.बमोजिमको हदम्यादभित्रको दावी बेगर दावी पुग्न सक्दैन । फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी दुईभागको एक भाग अंश विपक्षीलाई छुट्ट्याई दिएमा हाम्रो मन्जूरै छ भन्नेसमेत व्यहोराको प्रतिवादी दानबहादुर श्रेष्ठ, गणेशमाया श्रेष्ठ, रामजी श्रेष्ठ, छलमाया श्रेष्ठको संयुक्त प्रतिउत्तर जिकीर ।
वादी कृष्णबहादुरले आफ्नो दाजुहरूमध्ये स्व. आशामरू र प्रतिवादीमध्येका दानबहादुरबाट तीनखण्डको एकखण्ड अंश पाउने हो । म मिति २०५२।१०।१२ देखि पितासँग मानो छुट्टी बसेको हो । जेठा बाबु आशामरूका पत्नीका सन्तान कोही नहुँदा मलाई निजको अंश हक जति मलाई मिति २०४६।११।४ मा शेषपछिको बकसपत्र पारीत गरीदिनु भएको हो । निज दाता मिति २०४६।१२।२९ मा परलोक भएको हो । पिताहरू मिति २०३१।१२।९ देखि मानो छुट्टि आउनु भएको हो । जेठा आशामरू परलोक भै सकेकोले निजको बकसपत्रबाट हक खाने मलाईसमेत प्रतिवादी बनाउनु भएको हो । आशामरूको हक म कृष्णहरिले पाउनुपर्ने भएको र सोही बमोजिम बराबरीका हिसाबले अंश पाउनुपर्ने हो । मेरो बकसपत्रको सम्पत्तिमा विपक्षको दावी पुग्ने होइन भन्ने व्यहोराको प्रतिवादी कृष्णहरि श्रेष्ठको प्रतिउत्तर जिकीर ।
बुबा दानबहादुर र परिवारसँग २०४० सालदेखि मानो छुट्टि बसेका छौं । हामी विपक्षी वादीको अंशियार होइनौं । कुलबहादुरका ३ छोरामा जेठा आशामरूको परलोक भै सकेपछि अब मूल अंशियार २ जनामात्र भएकोले पैत्रिक सम्पत्तिलाई २ भाग लाग्छ । प्रतिवादीमध्ये म रामशरण श्रेष्ठ २०३१ सालमा प्रहरी सेवामा प्रवेश भै हाल प्रहरी नायब निरीक्षक पदमा नोकरी गरी आएको छु । बारा जिल्ला, निजगढ गा.वि.स. वडानं. ७ कि.नं. ९० को क्षे.फ.०–९–० को जग्गा म भक्तिमायाले हालैदेखिको बकसपत्र गरी पाएको छु । ऐ. कि.नं. १२८ र कि.नं. १७४ जग्गा स्वआर्जनको सम्पत्तिबाट राजीनामा पारीत गरी कि.नं. १२८ मा सानो भूइँतले घर बनाई बसी आएको छु । म प्रतिवादीमध्ये भक्तिमायाको नाउँमा रहेको उक्त जग्गा बकसपत्रबाट पाएको र राजीनामा गरी लिएको जग्गा पनि मेरो श्रीमानको नोकरी तलब, भत्ता, सञ्चयकोष, दाइजो र साथी भाइबाट ऋणसमेत लिई दुःख गरी कमाएको सम्पत्ति स्वआर्जन हुँदा अंशभाग लाग्ने होइन । अंशबन्डाको १८ नं. र स्त्रीको धन भएको हुँदा स्वआर्जनको सम्पत्ति बन्डा लाग्दैन । हामी प्रतिवादीले पुर्ख्यौली सम्पत्ति केही लिएको पाएको छैन भन्ने व्यहोराको प्रतिवादी रामशरण श्रेष्ठ र भक्तिमाया श्रेष्ठको प्रतिउत्तर जिकीर ।
फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सो भन्दा अघिल्लो दिनसम्मको वादी प्रतिवादीको आ–आफ्नो नाममा रहेको सम्पत्तिको तायदाती फाँटवारी माग गर्नुपर्ने भन्नेसमेत व्यहोराको सुरू जिल्ला अदालतको मिति २०५७।२।१० को आदेशानुसार वादी प्रतिवादीबाट पेश भएको तायदाती फाँटवारी सुरू मिसिल सामेल रहेको ।
वादी प्रतिवादीहरू बीच नातामा विवाद देखिएन, रीतपूर्वक अंशबन्डा भइसकेको नदेखिएको हुनाले निजहरूका नाउँमा दर्ता प्रमाणित भएबमोजिम वादीले तीनभागको एकभाग अंश छुट्ट्याई लिन पाउने ठहर्छ । प्रतिवादी रामशरण र भक्तिमायाले निजी आर्जन भनी उल्लेख गरेको सम्पत्ति पनि सगोलको सम्पत्ति भन्ने दावी भएकोमा प्रतिवादी रामशरण प्रहरी सेवामा कार्यरत भई निरन्तर जिल्लामा बसी आएको भन्ने देखिएको र श्रीमतीका नाममा खरीद गर्नु स्वभाविक नै देखिएकोले सो सम्पत्ति बन्डा लाग्दैन भन्ने भक्तपुर जिल्ला अदालतबाट मिति २०५९।१२।२० मा भएको फैसला ।
सुरू फैसलामा चित्त बुझेन । म पुनरावेदकका छोरा शिवहरि, किरणहरिले हालैदेखिको बकसपत्रबाट प्राप्त गरेका कि.नं. १३३४ र १३३५ को जग्गा बन्डा गर्ने र कि.नं. २३३३ को सगोलको जग्गा बन्डा नगर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाऊँ भन्ने वादीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।
यसै लगाउको दे.पु.नं. १९७९ को अंश मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दामा पनि अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थीलाई झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको आदेश ।
प्रतिवादी दानबहादुर श्रेष्ठको नाममा रहेको कि.नं. १३८१ को ०–६–० को घर जग्गा निजकै नाममा कायम हुने र कि.नं. १३३४, १३३५ र २३२३ का जग्गाहरू प्रतिवादी कृष्णहरि श्रेष्ठले शिवहरि श्रेष्ठ, किरणहरि श्रेष्ठलाई बकसपत्र दिन पाउने नै हुँदा सो हदसम्म बन्डा नलाग्ने र प्रतिवादीमध्ये भक्तिमाया श्रेष्ठका नाउँमा दर्ता भएको कि.नं. १२८ र कि.नं. १७४ को जग्गा सगोलमा खरीद गरेको देखिँदा सो अंशबन्डा लाग्ने गरी फैसला गर्नुपर्नेमा सो नगरेको हदसम्म सुरू भक्तपुर जिल्ला अदालतको मिति २०५९।१२।२० को फैसला केही उल्टी हुने ठहर्छ भन्नेसमेत पुनरावेदन अदालत, पाटनको मिति २०६२।३।७ को फैसला ।
कि.नं. १३८१ बन्डा गर्ने गरेको इन्साफमा वादी प्रतिवादी कसैको पनि पुनरावेदन नपरेको अवस्थामा पुनरावेदन अदालत, पाटनले सो कि.नं. १३८१ घर जग्गा बन्डा नहुने भनी सुरू इन्साफ उल्टी हुने गरी फैसला गर्न मिल्ने होइन । दानबहादुरका नाउँमा कायम भएको भक्तपुर जिल्ला, कटुन्जे गाउँ विकास समिति वडा नं. १(ख), कि.नं. २३३३ को जग्गा हामी वादी प्रतिवादीबीच मानो छुट्टिनुभन्दा अगावै साविक कि.नं. ७२२ बाट जग्गाधनी र मोहीबीच जोतपोत छुट्ट्याउँदा कि.नं. २३३३ को जग्गा जग्गाधनीले मूल्य खुलाई सो मूल्यबापत जग्गाधनीले विपक्षीलाई छोडपत्र गरी दिएको हुँदा उक्त जग्गा सगोलको सम्पत्ति हुँदा अंशियारको बीचमा अंश बन्डा हुनुपर्ने सम्पत्तिलाई बन्डा नगर्ने ठहर्याएको हदसम्म पुनरावेदन अदालत, पाटनको मिति २०६२।३।७।३ को फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरिपाऊँ भन्नेसमेत व्यहोराको वादी कृष्णबहादुर श्रेष्ठका तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
म पुनरावेदक रामशरण नेपाल प्रहरीमा प्रहरी नायब निरीक्षक पदमा कार्यरत रहँदा मिति २०४८।२।३० गते रू. २०००।– मा बारा जिल्ला, निजगढ गाउँ विकास समिति, वडा नं. ७ कि.नं. १७४ को ०–०–८१/२ जग्गा राजीनामा पारीत गरी पुनरावेदिका भक्तिमाया श्रेष्ठको नाउँमा नोकरीको पैसाबाट खरीद गरिएको हो । मिति २०४७।१।९ गते रू. १,००,०००।– (एक लाख) मा बारा जिल्ला, निजगढ गाउँ विकास समिति वडा नं. ७ कि.नं. १२८ को ०–२–१० जग्गा मिति २०४६।१२।३० गते रामगोपाल श्रेष्ठसँग रू. २,००,०००।– (दुई लाख) ऋण लिई खरीद गरेको जग्गा हो । रामशरणले सञ्चयकोषबाट रकम निकाली ऋण तिरेको हो । अझ ऋण तिर्न बाँकी नै छ । त्यस्तो सम्पत्ति अंशभाग नलाग्ने भनी सर्वोच्च अदालतबाट ने.का.प. २०५८, अंक ३/४, पृष्ठ १७८, नि.नं. ६९९१ मा सिद्धान्त प्रतिपादन भएको छ । उक्त कि.नं. १७४ र १२८ को स्वआर्जनबाट खरीद गरेको दुई कित्ता जग्गा बन्डा लाग्ने ठहर्याएको हदसम्म पुनरावेदन अदालत, पाटनको मिति २०६२।३।७ को त्रुटिपूर्ण फैसला बदर गरी सुरू जिल्ला अदालतको फैसला अनुसार गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी रामशरण श्रेष्ठ भुजुसमेतको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
यसमा दानबहादुर श्रेष्ठको कि.नं. १३८१ को जग्गा बन्डा लाग्ने ठहरी सुरू जिल्ला अदालतबाट फैसला भएकोमा सोउपर दानबहादुरको पुनरावेदन नपरेको अवस्थामा कि.नं. १३८१ को जग्गा बन्डा नहुने ठहराएको पुनरावेदन अदालत, पाटनको मिति २०६२।३।७ को फैसला फरक पर्ने भएबाट अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाउनु । साथै मुद्दा छलफल हुँदा प्रस्तुत मुद्दा मेलमिलाप केन्द्रमार्फत मिलापत्रको कार्य अगाडि बढाउन उपयुक्त भन्ने हुँदा विपक्षी उपस्थित भएपछि मिलापत्रको कार्य अगाडि बढाउन मेलमिलाप केन्द्रमा पठाई दिनु भन्ने यस अदालतको मिति २०६५।१।२४ को आदेश ।
यसमा प्रस्तुत मुद्दाका पुनरावेदक प्रतिवादी भक्तिमाया श्रेष्ठसमेतले दानबहादुर श्रेष्ठसमेत वादी भई चलेको अंश मुद्दाहरूको फैसलाउपर भक्तपुर जिल्ला अदालतमा मिति २०६५।१२।९ मा दे.मि.नं. १०८५ र १०८६ बाट अंश मुद्दाहरूको फैसला बदर मुद्दा दर्ता गरी कारवाही भइरहेको देखिएकोले ती फैसला बदर मुद्दाका मिसिलहरू पेशीका दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६६।३।३१ को आदेश ।
सुरू भक्तपुर जिल्ला अदालतबाट कि.नं. १३८१ को जग्गा बन्डा लाग्ने ठहराएको फैसलाउपर पुनरावेदन नपरेकोमा लगाउको मुद्दामा उक्त जग्गा बन्डा लाग्ने फैसला भैसकेको छ । कि.नं. १७४ र कि.नं. १२८ का जग्गाहरू सगोल आर्जनकै भन्ने देखिँदा सगोलका अंशियारहरूबीच बन्डा लाग्ने देखिन आयो । अतः विवेचित आधारबाट कि.नं. २३३३ को जग्गा बन्डा नलाग्ने र कि.नं. १३८१, १२८, १७४ को जग्गा वादी दावीबमोजिम बन्डा लाग्ने देखिँदा भक्तपुर जिल्ला अदालतको मिति २०५९।१२।२० को फैसला केही उल्टी गरी कि.नं. १३८१ को जग्गा बन्डा नलाग्ने ठहराएको हदसम्म पुनरावेदन अदालत, पाटनको मिति २०६२।३।७ को फैसला मिलेको नदेखिँदा उक्त फैसला केही उल्टी भै सो जग्गासमेत सुरू फैसला अनुसार बन्डा लाग्ने ठहर्छ । कि.नं. १३८१ को जग्गाको हकमा समेत सुरू फैसलाबमोजिम गर्नु भनी मिति २०६७।१२।२१ गतेमा यस अदालत संयुक्त इजलासबाट गरेको फैसला ।
संयुक्त इजलासले सा.कि.नं. ६५ बाट हाल कायम कि.नं. १३८१ को घर जग्गा बन्डा लाग्ने ठहराएको त्रुटिपूर्ण छ । कि.नं. ६५ को क्षेत्रफल १–२–० जग्गा २०३१।५।५ मा खरीद गरिएको र पछि व्यवहार प्रमाणबाट भागबन्डा हुँदा कि.नं. १३८१ को क्षेत्रफल ०–६–० जग्गा म दानबहादुरका नाममा र कि.नं. १३८० को क्षेत्रफल ०–१२–० जग्गा आशामरू र कृष्णबहादुरका भागमा परेको हो । यसरी कि.नं. ६५ को १८ आना जग्गामा ३ अंशियारलाई ६/६ आना भागबन्डा भएको हो । कि.नं. १३८१ को जग्गाको मोही महलमा म निवेदकको नाम छ । मोही हक स्रोतको सम्पत्ति बन्डा नलाग्ने भनी सिद्धान्त प्रतिपादन भएको छ । कि.नं. १३८० र १३८१ मा घर निर्माण भइसकेको छ । पुनरावेदन अदालत, पाटनले गरेको फैसला अन्तिम भएर बसेको छ । संयुक्त इजलासबाट भएको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम पुनरालोकन गरी हेरी पाउँ भन्ने व्यहोराको दानबहादुर श्रेष्ठले यस अदालतसमक्ष गरेको निवेदन पत्र ।
यसमा साविक कि.नं. ६५ को क्षेत्रफल १–२–० को जग्गा कित्ताकाट गरी कि.नं. १३८१ को ०–६–० जग्गा प्रतिवादी दानबहादुर श्रेष्ठले लिएको र बाँकी कि.नं. १३८० को जग्गा कित्ताकाट गरी आशामरू र कृष्णबहादुरले बन्डा गरी आशामरूको भागको कि.नं. २३६६ कृष्णबहादुरको छोरा कृष्णहरिलाई शेषपछिको बकसपत्र गरेको र कि.नं. २३६७ कृष्णबहादुरले भोग चलन गरी आपसमा बन्डा गरी तीनै दाजु भाइले नक्सा पारीत गरी घर निर्माण गरी बसोबास गरी आएको र पछि सो जग्गा विभिन्न व्यक्तिलाई हस्तान्तरण गरेको अवस्था देखिन्छ । सोउपर यी अंशियारहरू बीच चारथान लिखतबदर मुद्दा चलेकोमा कि.नं. १३८१ को घर जग्गा दानबहादुर श्रेष्ठको एकलौटी कायम हुने भन्ने फैसला अन्तिम भएर बसेको अवस्थामा उक्त घर जग्गा बन्डा लाग्ने भनी गरेको यस अदालतको मिति २०६७।१२।२१ को फैसला एक पटक अन्तिम भैराखेको फैसला र न्यायिक परिपाटी सिद्धान्तको विपरीत हुने गरी फैसला गर्न नमिल्ने भन्नेसमेत उदयबहादुर क्षेत्री विरूद्ध बिरबहादुर मास्केको मुद्दामा निर्णय भै प्रतिपादित सिद्धान्त (ने.का.प. २०३०, नि.नं. ७८५, पृष्ठ ३०३) प्रतिकूल हुने गरी पुनः सोही विषयविपरीत निर्णय भएको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम प्रस्तुत मुद्दा पनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिएको छ । नियमबमोजिम पेश गर्नु भन्नेसमेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०६९।७।२४ को आदेश ।
नियमबमोजिम आजको दैनिक मुद्दा पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी दानबहादुर श्रेष्ठको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सा.कि.नं. ६५ बाट कित्ताकाट भै आएका कि.नं. १३८० र १३८१ जग्गा हुन् । सा.कि.नं. ६५ मा क्षे.फ.१–२–० जग्गा रहेको थियो । आशामरूको जीवनकालमै कि.नं. १३८० को क्षे.फ.०–१२–० जग्गा आशामरू र कृष्णबहादुर श्रेष्ठको भागमा र कि.न. १३८१ को क्षे.फ.०–६–० जग्गा प्रतिवादी दानबहादुर श्रेष्ठको भागमा पर्ने गरी भागबन्डा गरेको हो । अंशियारहरूको मन्जूरीले जग्गा भागबन्डा गरिएको हो । ती जग्गामध्ये आशामरूले आफ्नो अंशभाग जति कृष्णहरिलाई शेषपछिको बकसपत्र दिँदा प्रतिवादी दानबहादुर श्रेष्ठको मन्जूरी लिएको छैन । दर्तावालाले कि.नं. १३८० र १३८१ का जग्गामा घर बनाइ बसोबास गरिआएका छन् । लगाउका लिखत बदर मुद्दाबाट कि.नं. १३८१ को क्षे.फ. ०–६–० जग्गा दानबहादुरको एकलौटी हुने ठहरी पुनरावेदन अदालत, पाटनबाट भएको फैसलाउपर पुनरावेदन नपरी अन्तिम भएर बसेको छ । हाल आएर सर्वोच्च अदालत संयुक्त इजलासबाट कि.नं. १३८१ को घर जग्गा अंशबन्डा लाग्ने भनी गरिएको फैसला न्यायोचित छैन । उक्त संयुक्त इजलासबाट भएको फैसला बदरभागी रहेको छ भनी बहस गर्नुभयो ।
विपक्षीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू बाबुराजा जोशी र हरिहर दाहालले सर्वोच्च अदालत संयुक्त इजलासबाट अन्तिम भएर बसेको फैसला उल्टाउने उचित र पर्याप्त आधार कारण हुनुपर्दछ । पुनरावेदक दानबहादुर श्रेष्ठले भक्तपुर जिल्ला अदालतबाट कि.नं. १३८१ को क्षे.फ.०–६–० जग्गा अंशबन्डा लाग्ने ठहराएको फैसलामा चित्त बुझाई बसेका छन् । हाल सर्वोच्च अदालतमा पुनरालोकनको निवेदन दिदैंमा निजको एकलौटी हुने होइन । भक्तपुर जिल्ला अदालतको फैसला उपर पुनरावेदन अदालत, पाटनमा पुनरावेदन नै नगरेका दानबहादुर श्रेष्ठको हकमा कि.नं. १३८१ जग्गा एकलौटी हुने गरेको फैसला त्रुटिपूर्ण छ । सर्वोच्च अदालत संयुक्त इजलासबाट गरेको फैसला मिलेको छ र कानूनबमोजिम भएको छ । सो फैसला कायम राखी पाउँ भनी बहस गर्नुभयो ।
2. उपरोक्तबमोजिम पक्ष विपक्षको बहस जिकीर सुनी यस अदालत संयुक्त इजलासबाट भएको फैसला मिले नमिलेको र पुनरालोकनको निवेदन मागबमोजिम हुने नहुने सम्बन्धमा निर्णय गर्नुपर्ने देखिन आयो । निर्णयतर्फ विचार गर्दा पुनरालोकनकर्ता निवेदकले मुख्यरूपमा कि.नं. १३८१ को ०–६–० जग्गा निजको अंश भाग भई अन्य अंशियारमा बन्डा नलाग्ने जग्गा हो भनी निवेदनपत्रमा दावी लिएको देखिँदा तत् सम्बन्धमा न्यायको निरूपण गर्नुपर्ने देखिन आयो ।
3. सर्वप्रथम प्रत्यर्थी/वादीको सुरू फिराद दावी हेर्दा मूल पुरूष पिता कुलबहादुर तथा माता विष्णुको ३ छोराहरूमा जेठा आशामरू, माहिला दानबहादुर र कान्छा फिरादी कृष्णबहादुर श्रेष्ठ भई पिता माताको परलोकपश्चात् तीन भाइहरूबीच मिति २०३१।१२।९ मा मानो छुट्टी भिन्न हुँदाको अवस्थामा भक्तपुर जिल्ला, कटुन्जे गाउँ विकास समिति वडा नं. १ (ख) कि.नं. १३८० को क्षेत्रफल ०–१२–० जग्गा दाजु आशामरू र फिरादीलाई तथा ऐ. कि.नं. १३८१ को ०–६–० को जग्गा दानबहादुरलाई कायम गर्ने गरी भागबन्डा मिलाई जग्गामा घर निर्माण गरी बसोबास गरी आएका छौं । आशामरूको अंश हक कृष्णहरिले शेषपछिको बकस पाएका छन् । तसर्थ अंशबन्डा गर्नुपर्ने सगोलको सम्पत्तिबाट ३ भागको १ भाग अंश छुट्ट्याई चलन चलाई पाऊँ भन्ने फिरादपत्र व्यहोरा रहेको देखिन्छ ।
4. प्रतिवादी दानबहादुर श्रेष्ठसमेतले संयुक्तरूपमा गरेको प्रतिउत्तर जिकीर हेर्दा मूल अंशियार तीन दाजु भाइ मध्ये जेठा आशामरूको परलोक भएको हुनाले जीवित मूल दुई अंशियारका बीचमा अंशबन्डा हुने हो । कृष्णहरि मूल अंशियार होइनन् । आशामरूले कृष्णहरिलाई दिएको शेषपछिको बकस कायम रहन सक्दैन । सगोलको जग्गा सम्पत्तिमा वादीलाई हकदावी छोडिदिएको छैन । दुई भागको एक भाग अंश वादीलाई छुट्ट्याइदिएको खण्डमा मन्जूरी छ भनी प्रतिवाद गरेको देखिन्छ ।
5. भक्तपुर जिल्ला अदालतबाट फैसला हुँदा प्र. रामशरण र भक्तिमायाले निजी आर्जन गरेको जग्गामा बन्डा नलाग्ने र कि.नं. १३८१ लगायतका जग्गामध्येबाट तीन भागको एक भाग बन्डा पाउने ठहराएको फैसला उपर पुनरावेदन परी पुनरावेदन अदालत, पाटनबाट कि.नं. १३८१ दानबहादुरकै नाममा यथावत कामय रहने र सगोल आर्जनको कि.नं. १२८ कि.नं. १७४ जग्गा बन्डा लाग्ने भन्नेसमेत व्यहोराको मिति २०६२।३।७ मा फैसला भएको देखिन्छ । पुनरावेदन अदालत, पाटनको उक्त फैसलाउपर यस अदालतसमक्ष प्रतिवादी भक्तिमाया भुजु र वादी कृष्णबहादुर श्रेष्ठको पुनरावेदन पर्दा कि.नं. २३३३ बन्डा नलाग्ने र कि.नं. १३८१, १२४, १७४ मा बन्डा लाग्ने भनी संयुक्त इजलासबाट फैसला भएको देखिन्छ ।
6. अब प्रतिवादी दानबहादुर श्रेष्ठको निवेदन दावीतर्फ हेर्दा निजले मुख्यतः कि.नं. १३८१ को क्षेत्रफल ०–६–० जग्गा बन्डा लाग्ने होइन भनी दावी लिएको पाइन्छ । सो अनुसार कि.नं. १३८१ बाहेक अन्य कित्ताका हकमा विचार गरिरहनु परेन । कि.नं. १३८१ दानबहादुर श्रेष्ठले एकलौटी पाउने हो वा अंशियारहरूबीच बन्डा लाग्ने हो भनी हेर्दा यसै मुद्दामा वादी कृष्णबहादुरको फिराद लेखको प्रकरण नं. ३ मा मिति २०३१।१२।९ मा मानो छुट्टिई भिन्न हुँदाको अवस्थामा कि.नं. १३८० को क्षेत्रफल ०–१२–० जग्गा आशामरू र कृष्णबहादुर दुई जनालाई र सोदेखि पश्चिमतर्फको कि.नं. १३८१ को क्षेत्रफल ०–६–० जग्गा दानबहादुरलाई अंश भागमा परेको भनी स्वयंवादीले स्वीकार गरेको देखिन्छ ।
7. त्यसै गरी पुनरावेदक कृष्णबहादुर श्रेष्ठसमेत प्रतिवादी दानबहादुर श्रेष्ठ भएको दे.पुं. १०२०/१९६६ को लिखत बदर मुद्दामा पुनरावेदन अदालत, पाटनसमक्ष कृष्णबहादुर श्रेष्ठले पेश गरेको पुनरावेदनपत्रको प्रकरण नं. ३(क) मा साविक कि.नं. ६५ को क्षेत्रफल १–२–० मध्ये क्षेत्रफल ०–६–० जग्गा दानबहादुर श्रेष्ठलाई दिँदा विपक्षीको कि.नं. १३८१ र कि.नं. १३८० को क्षेत्रफल ०–१२–० जग्गा कृष्णबहादुर र दाजु आशामरूको नाउँमा कायम भएको हो भनी निजै कृष्णबहादुर श्रेष्ठले स्वीकारेको प्रमाण मिसिलबाट देखिन्छ ।
8. त्यस्तै पुनरावेदक प्रतिवादी कृष्णबहादुर श्रेष्ठ विरूद्ध दानबहादुर श्रेष्ठ भएको २०६० सालको दे.पु.नं. १०२२÷१९६८ को लिखत दर्ता बदर मुद्दामा पुनरावेदन अदालत, पाटनसमक्ष पुनरावेदकले पेश गरेको पुनरावेदन पत्रको प्रकरण नं. ३(क) मा कि.नं. १३८१ को क्षेत्रफल ०–६–० जग्गा दानबहादुरलाई दिई बाँकी कि.नं. १३८० को क्षेत्रफल ०–१२–० जग्गा निज कृष्णबहादुर र आशामरूका नाउँमा बाँकी रहेको भनी पुनरावेदकले स्वीकारेको देखिन्छ । उल्लिखित तथ्यहरूबाट कि.नं. १३८१ को क्षेत्रफल ०–६–० जग्गा दानबहादुरको भागमा परेको भनी अंशियारमध्येका एक मूल अंशियारले पटकपटक उक्त तथ्यलाई स्वीकार गरेको कुरालाई यस अदालतले अनदेखा गर्न मिल्ने देखिँदैन ।
9. साथै साविक कि.नं. ६५ को क्षेत्रफल १–२–० को जग्गा कित्ताकाट गरी कि.नं. १३८१ को ०–६–० जग्गा प्रतिवादी दानबहादुर श्रेष्ठले लिएको र बाँकी कि.नं. १३८० को जग्गा कित्ताकाट गरी आशामरू र कृष्णबहादुरले बन्डा गरी आशामरूको भागको कि.नं. २३६६ कृष्णबहादुरको छोरा कृष्णहरिलाई शेषपछिको बकसपत्र गरेको र कि.नं. २३६७ कृष्णबहादुरले भोग चलन गरी आपसमा बन्डा गरी तीनै दाजु भाइले नक्सा पारीत गरी आ–आफ्नो भागको जग्गामा घर निर्माण गरी बसोबास गरी आएको र पछि सो जग्गा विभिन्न व्यक्तिलाई हस्तान्तरण गरेको अवस्था देखिन्छ । सोउपर यी अंशियारहरू बीच चारथान लिखतबदर मुद्दा चलेकोमा कि.नं. १३८१ को घर जग्गा दानबहादुर श्रेष्ठको एकलौटी कायम हुने भन्ने पुनरावेदन अदालत, पाटनबाट गरेको फैसला अन्तिम भएर बसेको अवस्थामा उक्त घर जग्गा बन्डा लाग्ने भनी गरेको यस अदालतको मिति २०६७।१२।२१ को फैसला एक पटक अन्तिम भैराखेको फैसला र न्यायिक परिपाटी सिद्धान्तको विपरीत हुने गरी फैसला गर्न नमिल्ने भन्नेसमेत उदयबहादुर क्षेत्री विरूद्ध बिरबहादुर मास्केको मुद्दामा निर्णय भै प्रतिपादित सिद्धान्त (ने.का.प.२०३०, नि.नं. ७८५, पृष्ठ ७८५) प्रतिकूल रहेको देखिन्छ ।
10. यसरी मूल अंशियारले कि.नं. १३८१ को क्षेत्रफल ०–६–० जग्गा दानबहादुरको भागमा परेको भनी विभिन्न लिखत दर्ता बदर मुद्दामा लिखितरूपमा व्यक्त गरेको र कि.नं. १३८१ को क्षेत्रफल ०–६–० जग्गा दानबहादुर श्रेष्ठको हुने ठहरी लिखत बदर मुद्दाहरूसमेत अन्तिम भएर बसेको अवस्थामा हाल आएर यस अदालतले अन्य अंशियारमा बन्डा लाग्ने भनी अन्यथा व्याख्या र अर्थ गर्न मिल्ने अवस्था देखिँदैन । अंश जस्तो कुरामा व्यक्तिको नैसर्गिक अधिकार हुने हुँदा र साविक कि.नं. ६५ को ज.वि. १–२–० जग्गामा यी प्रतिवादी दानबहादुर श्रेष्ठको ३ भागमा १ भाग अंश भाग पाउने देखिएको हुँदा उक्त जग्गाबाट निजको भाग पाएको देखिँदैन । जुन अंश भाग कानूनन् निजले पाउनुपर्ने हो ।
11. तसर्थ लिखत बदर मुद्दाको अन्तिम फैसला र मुद्दाका पक्ष कृष्णबहादुर श्रेष्ठ स्वयंले स्वीकार गरेबमोजिम कि.नं. १३८१ को क्षेत्रफल ०–६–० जग्गा दानबहादुर श्रेष्ठको एकलौटी कायम हुने र अन्य अंशियारमा बन्डा नलाग्ने ठहर्छ । सो नगरेको हदसम्म यस अदालत संयुक्त इजलासबाट मिति २०६७।१२।२१।२ मा गरेको फैसला केही उल्टी हुन्छ । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
(१) उपरोक्त ठहर खण्डमा उल्लेख भएबमोजिम भ.पु.जि., कटुन्जे गा.वि.स. वडा नं. १ ख कि.नं. दानबहादुर श्रेष्ठको नाउँको कि.नं. १३८१ को ०–६–० घर जग्गा निजका नाउँमा एकलौटी कायम गर्नु र सो कि.नं. १३८१ को ०–६–० जग्गा अन्य अंशियारमा बन्डा नगर्नु भनी सुरूमा लेखी पठाई दिनू ।
(२) दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छौं ।
न्या.तर्कराज भट्ट
न्या.प्रा.डा.भरतबहादुर कार्की
इति संवत् २०७० साल चैत १३ गते रोज ५ शुभम् –––––––––––––––––––––।
इजलास अधिकृत : महेन्द्रप्रसाद पोखरेल