निर्णय नं. ४१६९ - बन्दीप्रत्यक्षीकरण

निर्णय नं. ४१६९ ने.का.प. २०४७ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४३ सालको रिट नं. १७२१
आदेश भएको मिति : २०४५।२।११।३ मा
निवेदक : कारागार शाखा काठमाडौंमा थुनामा रहेको अशोक पैनाली बाहुन
विरुद्ध
विपक्षी : काठमाडौं जिल्ला अदालतसमेत
विषय : बन्दीप्रत्यक्षीकरण
(१) चोरीका महलको तत्काल प्रचलित २८ नं. बमोजिम लागेको जरिवाना बापत हद कैद वर्ष ४ भन्दा बढी गर्न कानुनद्वारा नमिल्ने ।
(प्रकरण नं. १४)
(२) पाँचवा पटक पारी नकवजनी चोरी गरेकोले सो बापत कैद वर्ष ३ हुने र चोरीका २८ नं. का हदले हुने कैद वर्ष ४ समेत निवेदकलाई कैद जम्मा ७ वर्ष हुनेमा ठेकिएको कैद वर्ष ६।७।१५ र ४।१।१५ गरिएको मिलेको नदेखिई गैरकानुनी देखिने ।
(प्रकरण नं. १५)
प्रत्यर्थीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी.
आदेश
न्या.रुद्रबहादुर सिंह
१. नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. वादी श्री ५ को सरकार, प्रतिवादी म रिट निवेदक समेत भएको चौथा पटक नकवजनी चोरी मुद्दामा काठमाडौं जि.अ. का मिति २०४२।६।८ का फैसला र २०४२।१२।१४ का लगतले चौथा पटक पारी नकवजनी चोरी गरेको ठहराई जम्मा जरिवाना रु. ३२,९८५।– र म्यादी कैद वर्ष २।७।१५ दिन र जरिवाना बापत चोरीका २८ नं. बमोजिम कैद वर्ष ४। गरी जम्मा कैद वर्ष ६।७।१५ दिन ठेकी प्रहरी हिरासतमा २०४१।९।३० देखि थुनामा रहेको हुँदा सोही मिति देखि कट्टी हुने गरी ०४८।५।१५ गते छुटी जाने गरी कैद पुर्जी गरिदिएको र वादी श्री ५ को सरकार प्रतिवादी म समेत भएको नकवजनी चोरी मुद्दामा ललितपुर जि.अ. का २०४२।३।३१ का फैसलामा कैद महीना १।१५ र जरिवाना रु. ३८,७००।– बापत चोरीका २८ नं. ले कैद वर्ष ४।– गरी जम्मा कैद वर्ष ४।१।१५ दिन गर्ने गरी कैद म्याद ठेकी कैद पुर्जी नदिई ०४२।१०।२५ मा मौखिक सुनुवाई भयो ।
३. काठमाडौं जि.अ. ले म्यादी कैद वर्ष २।७।१५ दिन र जरिवाना रु. ३२,९८५।– बापत कैद वर्ष ४। गरी जम्मा कैद वर्ष ६।७।१५ दिन कैद म्याद ठेकी २०४१ साल देखि थुनामा रही २०४८।५।३० गते छुटी जाने र ललितपुर जि.अ. ले म्याद कैद महीना १।१५ दिन र जरिवाना रु. ३८,७००।– बापत कैद वर्ष ४।– गरी जम्मा कैद वर्ष ४।१।१५ दिन कैद म्याद ठेकी पठाएको छ । ल.पु.जि. अन्तर्गतको मुद्दा भुक्तानी गर्न पर्दा २०४८।६।३० गते देखि २०५२।७।१५ गते छुटी जान पर्दा मेरो वैयक्तिक स्वतन्त्रतामा आघात पर्न गएको छ । किनकी दुवै अदालतको सजायँ गणना गर्दा कैद वर्ष १०।९ महीना हुन्छ । का.जि.अ. र ल.पु.जि.अ. को समेत सम्पूर्ण मुद्दा पाँचौ पटक हुन्छ । पाँचौ पटक नकवजनी चोरी मुद्दामा म्याद कैद ठेक्नु पर्दा कैद वर्ष ३।– हुन्छ र जरिवाना बापत कैद ठेक्नु पर्दा जतिसुकै पटक र जतिसुकै बिगो भए तापनि चोरीको २८ नं. ले हद कैद वर्ष ४। भन्दा बढी ठेक्न नहुने कानुनी व्यवस्था छ । तसर्थ मेरो हकमा पाँचौं पटक चोरी मुद्दाको म्याद कैद वर्ष ३।– र जरिवाना बापत कैद वर्ष ४ गरी जम्मा कैद वर्ष ७ मात्र कायम गरी २०४१।९।३० गते देखि २०४८।९।३० गते छुटी जाने गरी कैद लगत कायम गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर ।
४. यसमा वादी श्री ५ को सरकार प्रतिवादी निवेदक समेत भएको नकवजनी चोरी मुद्दामा का.जि.अ. बाट २०४२।१२।१४ मा फैसला भएको मिसिल र ऐ.ऐ.मुद्दामा ल.पु.जि.अ. बाट २०४२।३।३१ मा फैसला भएको मिसिल झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति ०४३।७।११ गतेको आदेश ।
५. यसमा विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४४।९।२० को आदेश ।
६. वादी श्री ५ को सरकार प्रतिवादी यिनै निवेदक समेत भएको चोरी मुद्दामा यस अदालतका ०४२।३।२१ मा निवेदकलाई कैद महीना १।१५ र जरिवाना रु. ३८,०७०।– हुने गरी फैसला भई निवेदक समेत उपर का.जि.अ. मा चलेको अरु मुद्दामा थुनामा नै रहेको र अदालतका २०४१।१२।१२ का आदेश समेतले थुनामा रहेकोले कानुन बमोजिम असूल उपर गर्नु भन्ने यस अदालतको ०४२।९।५ मा लगत समेत भएको देखिएकोले सोही बमोजिम का.जि.अ. का मुद्दाहरुको कैद भुक्तान भएपछि कैद शुरु हुने गरी कैद मैन्हा १।१५ र जरिवाना बापत दिए जरिवाना असूल गरी पठाई दिने, नदिए चोरीका २८ नं. बमोजिम कैदमा राखी असूल गर्ने गरी निवेदक प्रतिवादीका नाउँको बोधार्थ (जनाउ) बुझाई भर्पाई गरी पठाई दिनु भनी २०४२।१०।६ मा जि.का. कारागार शाखा काठमाडौंलाई पत्र समेत बुझाई दिएको भर्पाईबाट देखिएको । यसरी फैसला अनुरुप कैद ठेकी पठाएको हुँदा निवेदकलाई अदालतबाट गैरकानुनी काम कारवाही गरेको नहुँदा रिट खारेज गरी पाउँ भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतको लिखितजवाफ ।
७. निज बन्दी का.जि.अ.को च.नं. ८४७९ मिति २०४२।१२।२४ को पत्रले कैद २।७।१५ ज.रु. ३२,९८५।– को ४ वर्ष समेत जम्मा कैद ६।७।१५ ठेकी २०४१।९।३० देखि चोरी मुद्दामा थुनिएको २०४८।५।१५ मा सो कैद भुक्तान हुने र ल.पु.जि.अ. तर्फ अर्को चोरी मुद्दामा कैद ठेकिन आएको लगत श्रेस्ताबाट देखिन्छ ।
८. अधिकार प्राप्त अदालतले दिएको कैद लगत र आदेशानुसार ऐन बमोजिम बुझिलिई राखिएकोसम्म भई गैरकानुनी कार्य नगरिएको हुँदा रिट खारेज गरिपाउँ भन्ने व्यहोराको प्रत्यर्थी कारागार शाखा काठमाडौंको लिखितजवाफ ।
९. रिट निवेदकले प्रथम पटक नकवजनी चोरी गरे बापत म्यादी कैद महीना ।१।१५ र जरिवाना रु. १९,०८०।– दोश्रो पटक चोरी गरेबापत म्यादी कैद महीना ।३। र जरिवाना रु. ३,७५०।– तेश्रो पटक नकवजनी चोरी गरेबापत म्यादी कैद महीना ।९। र जरिवाना रु. ४,१५५।– र चौंथा पटक नकवजनी चोरी गरेबापत म्यादी कैद वर्ष १।६। र जरिवाना रु. ६,०००।– हुने हुँदा निज मिति २०४१।९।३० देखि थुनामा रहेकाले म्यादी कैद भुक्तान भएपछि उक्त जरिवाना बापतको रुपियाँ बुझाए थुनाबाट छुट्कारा दिने र नबुझाएमा सो जरिवाना बापत समेत कैद गर्ने भन्ने समेत उल्लेख भएको छ ।
१०. उपरोक्तानुसार निजलाई लागेको जम्मा म्यादी कैद वर्ष २।७।१५ र जम्मा जरिवाना रु. ३२,९८५। हुनेमा जरिवाना नबुझाएकोले जरिवाना बापत तत्कालिन चोरीको २८ नं. अनुसार हुने कैद वर्ष ४ समेत कैद वर्ष ६।७।१५ हुने हुँदा सोही बमोजिम निज थुनामा रहेको मिति देखि छुटि जाने मिति २०४८।५।१५ सम्म थुनामा राख्नको लागि कारागार शाखा काठमाडौंलाई लेखी बन्दीलाई सो को जानकारी दिइएको हो ।
११. ललितपुर जिल्ला अदालतमा निज निवेदक प्रतिवादी भएको अन्य चोरी मुद्दाहरु भए नभएको तथा त्यहाँबाट थप कैद म्याद ठेकिए नठेकिएको सम्बन्धमा यस अदालतलाई जानकारी छैन । तसर्थः का.जि.अ. लाई समेत विपक्षी बनाई दिएको रिटनिवेदन खारेज गरी पाउँ भन्ने व्यहोराको प्रत्यर्थी का.जि.अ. को लिखितजवाफ ।
१२. नियम बमोजिम पेश भएको प्रस्तुत रिटनिवेदनमा प्रत्यर्थीतर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी. ले गर्नु भएको बहस समेत सुनी इन्साफतर्फ विचार गर्दा, निवेदकलाई चौंथा पटक पारी गरेको चोरी मुद्दामा का.जि.अ.ले म्यादी कैद वर्ष २।७।१५ र जरिवाना रु. ३२,९८५।– बापत कैद वर्ष ४ गर्ने गरेको देखिन्छ । यसरी दुवै सजायँ बापतको कैद वर्ष ६।७।१५ हुने र निज मिति २०४१।९।३० देखि थुनामा रहेको उक्त सजायँ मिति २०४८।५।१५ गते भुक्तान हुने गरी कैदी पुर्जी दिएको पाइन्छ । साथै ललितपुर जिल्ला अदालतबाट चोरी मुद्दामा निवेदकलाई मिति २०४२।३।३१ का फैसला बमोजिम कैद महीना १।१५ र जरिवाना रु. ३८,७००।– बापत चोरीका तत्काल प्रचलित २८ नं. ले कैद वर्ष ४ गरी जम्मा कैद वर्ष ४।१।१५ गर्ने गरेको रहेछ ।
१३. यस्तो अवस्थामा बढी कायम भएको कैद लगत कट्टा गरी निवेदकलाई चोरीका २८ नं. बमोजिम जतिसुकै बिगो भए तापनि हदकैद वर्ष ४ हुनु पर्ने र पाँचवा पटक पारी नकवजनी चोरी गरेकोले कैद वर्ष ३ गरी जम्मा ७ वर्ष कायम गरी मिति २०४८।९।३० मा छुटी जाने गरी कैद लगत कायम गरी पाउँ भन्ने रिट निवेदकको जिकिर रहेको पाइन्छ ।
१४. यसमा पाँचवा पटकको नकवजनी चोरी मुद्दा हुँदा निवेदकलाई मुलुकी ऐन चोरीका १४ नं. बमोजिम कैद वर्ष ३ हुने देखिन्छ । चोरीका महलको तत्काल प्रचलित २८ नं. बमोजिम निवेदकलाई लागेको जरिवाना बापत हद कैद वर्ष ४ भन्दा बढी गर्न कानुनद्वारा नमिल्ने देखिन्छ।
१५. यसरी पाँचवा पटक पारी नकवजनी चोरी गरेकोले सो बापत कैद वर्ष ३ हुने र चोरीका २८ नं. का हदले हुने कैद वर्ष ४ समेत निवेदकलाई कैद जम्मा ७ वर्ष हुनेमा का.जि.अ. र ल.पु.जि.अ. बाट ठेकिएको कैद वर्ष क्रमशः ६।७।१५ र ४।१।१५ गरिएको मिलेको नदेखिई गैरकानुनी देखिन आयो ।
१६. अतः निवेदक अशोक पैनाली बाहुन मिति २०४१।९।३० देखि थुनामा बसेको देखिँदा सो मिति देखि हुने कैद वर्ष ७ गणना गरी लगत कायम गरी दिनु भनी प्रत्यर्थी काठमाडौं जिल्ला अदालत, ललितपुर जिल्ला अदालत र कारागार शाखा काठमाडौंमा जानकारी दिन आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयहरुलाई दिन श्री महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इतिसम्वत् २०४५ साल ज्येष्ठ ११ गते रोज ३ शुभम् ।