शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१७० - बन्दीप्रत्यक्षीकरण

भाग: ३२ साल: २०४७ महिना: असोज अंक:

निर्णय नं. ४१७०     ने.का.प. २०४७      अङ्क ६

 

एक न्यायाधीशको इजलास

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४६ सालको रिट नं. १४०५

आदेश भएको मिति : २०४६।२।१६।२ मा

निवेदक      : सदर खोर डिल्लीबजारमा थुनामा रहेको टेकप्रसाद गुरुङ

विरुद्ध

विपक्षी : त्रि.वि.भन्सार कार्यालय काठमाडौंसमेत

विषय : बन्दीप्रत्यक्षीकरण

(१)   एउटै वारदातको अपराधमा कैद र जरिवानाको सजायँ भएकोमा कैद सजायँ र जरिवाना बापत भएको कैदलाई दण्ड सजायँको ४१ नं. को व्यवस्था अन्तर्गत जिकिर बमोजिम छुट्टै कलमको सजायँ भन्न नमिल्ने ।

(प्रकरण नं. ६)

निवेदक तर्फबाट     : विद्वान अधिवक्ता श्री गान्धी पण्डित

आदेश

न्या.हिरण्येश्वरमान प्रधान

१.     नेपालको संविधान, २०१९ धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

२.    म निवेदकलाई वादी श्री ५ को सरकार प्रतिवादी म भएको अवैध सुन पैठारी मुद्दामा निकासी पैठारी नियन्त्रण ऐन, २०३१ को दफा ५(१) ले बरामदी सुन जफत गरी बिगो बमोजिम रु. २,९८,१४०।जरिवाना र १ वर्ष कैद गर्ने गरी फैसला भएको र जरिवाना नतिरे ४ वर्ष कैद ठेकिएको छ । यसरी कैद बापत १ वर्ष र जरिवाना नतिरे बापत ४ वर्ष कैद समेत जम्मा ५ वर्ष कैद ठेकिई २०४१।७।२३ देखि थुनामा बसेको छु ।

३.    मुलुकी ऐन दण्ड सजायँको ४१ नं. बमोजिम एकै मानिसलाई एकै वा धेरै मुद्दाको धेरै कलमको कैद ठेक्नु परेमा जुन कलममा सबभन्दा ठूलो हद छ सो हद नजाने गरी एकै वा धेरै मुद्दामा एक वा धेरै कलममा गरी कैद ठेक्नु पर्छ भन्ने व्यवस्था गरिएको हुँदा उल्लेखित सुन चोरी पैठारी मुद्दामा सजायँ बापतको १ वर्ष कैदको एउटा कलम र जरिवाना नतिरे बापत बस्नु पर्ने ४ वर्ष कैदको एकै कलम समेत जम्मा २ कलममा कैद ठेक्नु पर्ने हुँदा उक्त दुई कलम मध्ये जरिवाना बापत कैद बस्नु पर्ने कलममा कैदको हद बढी भएको हुँदा सबभन्दा बढी कैदको हद भएको कलममा मात्र कैद ठेकी सजायँ भोग्नु पर्नेमा सो विपरीत सबभन्दा बढी कैद भएको कलममा अर्को १ वर्ष कैद बस्नु पर्ने कलम समेत थप गरी दुई कलम गरी ५ वर्ष कैद ठेकिएको हुँदा ५ वर्ष कैद दण्ड सजायँको ४१ नं. विपरीत हुँदा बदरभागी हुन्छ । प्रस्तुत मुद्दामा जरिवाना नतिरे बापत बस्नु पर्ने कैदको कलम नै माथिल्लो हदको हुँदा त्यसमा समेत कलमको दुवै जोडी जम्मा ५ वर्ष कैद ठेकिएको विपरीत हुँदा गैरकानुनी थुनाबाट मुक्त पाउँ ।

४.    दण्ड सजायँको ४१ बमोजिम म निवेदकलाई मिति २०४१।७।२३ देखि थुनामा बसी २०४५।७।२३ सम्म ४ वर्ष कैद भुक्तान भई थुनाबाट मुक्ति पाउनु पर्ने हो । तसर्थ मलाई ४ वर्ष सम्म मात्र कैद बस्नु पर्ने गरी कैद ठेक्नु पर्नेमा सो नगरी ५ वर्षसम्म कैद बस्नु पर्ने गरी हालसम्म थुनामा राखेको संविधानको धारा ११, ११(२)(घ) समेत विपरीत भई गैरकानुनी हुँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी थुनाबाट छुट्कारा पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर ।

५.    नियम बमोजिम पेश भएको प्रस्तुत रिटनिवेदनमा रिट निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गान्धी पण्डितले गर्नु भएको बहस समेत सुनी विपक्षीहरुबाट लिखितजवाफ मगाउनु पर्ने नपर्ने के हो सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।

६.    यसमा निवेदन व्यहोराबाटै एउटै वारदातको अपराधमा कैद र जरिवानाको सजायँ भएकोमा कैद सजायँ र जरिवाना बापत भएको कैदलाई दण्ड सजायँको ४१ नं. को व्यवस्था अन्तर्गत जिकिर बमोजिम छुट्टाछुट्टै कलमको सजायँ भन्न नमिल्ने भएको सो जरिवाना बापत भएको कैद र कैदको सजायँलाई छुट्टाछुट्टै कलम मानी दण्ड सजायँको ४१ नं. बमोजिम कैद नठेकिएकोबाट गैरकानुनी थुनामा बस्न परी संवैधानिक हक हनन् हुन गएको भन्ने निवेदन बहस जिरहलाई मान्यता दिन नमिल्ने भई यो रिटनिवेदन लाग्न नसक्ने हुँदा खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

इतिसम्वत् २०४६ साल ज्येष्ठ १६ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु