शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१७१ - उत्प्रेषण

भाग: ३२ साल: २०४७ महिना: असोज अंक:

निर्णय नं. ४१७१     ने.का.प. २०४७      अङ्क ६

 

एक न्यायाधीशको इजलास

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४६ सालको रिट नं. १११८

आदेश भएको मिति : २०४६।१२।१६।५ मा

निवेदक      : इलाम न.पं. वा.नं. १ बस्ने पद्मकुमारी श्रेष्ठसमेत

विरुद्ध

विपक्षी : ल.पु.न.पं. वा.नं. ४ बस्ने अग्नीराज श्रेष्ठसमेत

विषय : उत्प्रेषण

(१)   जुन घर जग्गाबाट बिगो भराई पाउँ भनी बिगो मुद्दामा दावी लिएको छ ती घर जग्गा समेत पछि यी पक्ष विपक्षीहरुले अंशबण्डा गरी लिनु दिनु गरेको देखिएको हुँदा उक्त बिगो भरी भराउ सम्बन्धी कारवाही बदर हुनुपर्ने भन्ने रिटनिवेदन जिकिर मनासिब नदेखिने ।

(प्रकरण नं. ६)

आदेश

न्या.प्रचण्डराज अनिल

१.     नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार छ ।

२.    विपक्षी मध्येका हाम्रा संधियार अग्नीराज श्रेष्ठसंग मुद्दा परी निजबाट ३ भागको २ भाग अंश पाउने गरी मिति २०४५।५।८ मा इलाम जि.अ.बाट फैसला भई सो फैसला उपर पुनरावेदन नपरेकोले २०४५।१०।१८ मा बण्डा छुट्याई पाउँ भन्ने निवेदनमा इलाम जि.अ.बाट फैसला बमोजिम गर्नु भन्ने तोक आदेश भई कारवाही चलिरहेकोमा वादी नेशनल टे«डिड्ड लि. प्रतिवादी अग्नीराज श्रेष्ठ भएको काठमाडौं जि.अ. मा चलेको बिगो भराई पाउँ भन्ने मुद्दामा वादीले प्रतिवादीबाट बिगो रु ३,१५,१३७।६७ भरी पाउने फैसला भई मिसिल प्राप्त हुन आएकोले बण्डा छुट्याई दिनु पर्ने घर जग्गाबाट बिगो भराई पाउँ भन्ने बिगो मुद्दामा दावी लिएको देखिँदा बिगो भरिभराउको कारवाही समाप्त नभएसम्म अंशबण्डा छुट्याई पाउँ भन्ने मुद्दामा कारवाही गर्न नमिल्ने भनी इलाम जि.अ. बाट पुनः २०४६।२।७ मा आदेश भएको र सो आदेश उपर अ.बं. १७ नं. बमोजिम मे.अं.अ.मा निवेदन दिएकोमा उक्त अदालतबाट पनि कानुनबमोजिम गर्नु भन्ने आदेश भएको ।

३.    इलाम जि.अ.को २०४५।५।८ को फैसलाले ३ भागको २ भाग हाम्रो अंश लाग्ने सम्पत्ति विपक्षी ने.टे«.लि. को बिगोमा मिति २०४७।१।१७ गते लिलाम बिक्री गर्ने भनी सूचना टाँस भएको गैरकानुनी छ । अंश मुद्दा र बिगो मुद्दा छुट्टाछुट्टै प्रकृतिका मुद्दा हुन अंश मुद्दाको फैसला कार्यान्वयन भएपछि मात्र बिगो मुद्दाको कार्यान्वयन गर्नु पर्ने हुन्छ । ने.ट्रे.लि. को बिगो मुद्दामा फैसला गर्दा हामीहरुको अंश पाउने ठहरिएको सम्पत्तिबाट नै बिगो असूल गर्नु पर्ने भनी फैसला भएको छैन । जसले खाएको छ उसैको सम्पत्तिबाट मात्र भराउन पर्ने हुन्छ । विपक्षी अग्नीराज घरका मुख्य व्यक्ति होइनन् भन्ने कुरा निज र ने.ट्रे.लि. बीच चलेको मुद्दामा विपक्षीको ठेगानाबाट पनि प्रष्ट हुन्छ । इलामको घर छाडी काठमाडौं बसोवास गरी आफ्नो एकलौटी व्यापारको सिलसिलामा लिए खाएको ऋण हामी अंशियारले तिर्न व्यहोर्न पर्ने होइन । अंशबण्डाको १८नं. ले पनि निजी कामको लागि लिएको ऋण बिगो अंशियारबाट असूल हुन नसक्ने प्रष्ट छ । यस प्रकारले हाम्रो अंश भागमा परेको सम्पत्तिबाट बिगो भराई दिने गरी इलाम जि.अ. बाट मिति २०४६।२।६ मा भएको आदेश मेची अं.अ.बाट शुरु सदर गर्ने गरी भएको निर्णय तथा लिलाम बढाबढ गर्ने सम्बन्धी २०४७।१।१७ को सूचना तथा सो संग सम्बन्धित सम्पूर्ण कार्य उत्प्रेषणको आदेशद्वारा बदरगरी हाम्रो अंश भाग छुट्याई मात्र बिगो मुद्दाको कारवाही गर्नु भन्ने परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन ।

४.    नियम बमोजिम पेश भई आएको प्रस्तुत रिटनिवेदनमा विपक्षीहरुबाट लिखितजवाफ मगाउन पर्ने हो होइन सो को निर्णय दिनु पर्ने हुन आयो ।

५.    यसमा विपक्षी मध्येका अग्नीराज श्रेष्ठ उपर अंश मुद्दा दिई ३ भागको २ भाग अंश पाउने ठहरी इलाम जिल्ला अदालतबाट फैसला भई बण्डा छुट्याई पाउँ भनी हाम्रो निवेदन परी कारवाही चलिरहेको अवस्था वादी नेशनल टे«डिड्ड लिमिटेड प्रतिवादी अग्नीराज श्रेष्ठ भएको बिगो भराई पाउँ भन्ने मुद्दामा प्रतिवादीबाट वादीले बिगो भरी पाउने ठहरी फैसला भई हाम्रो अंश भाग समेतबाट बिगो भरी भराउको कारवाही चलाएको बदर गरिपाउँ भन्ने समेत मुख्य रिटनिवेदन जिकिर देखिन्छ ।

६.    यी रिट निवेदकहरु र विपक्षी अग्नीराज समेत सगोलमा नै रहेको अवस्था नेशनल टे«डिड्ड लिमिटेडबाट ऋण लिएकोमा पछि अंशबण्डा भए पनि उक्त ऋण सबै अंशियारहरुले तिर्नु पर्ने नै हुन्छ विपक्षी अग्नीराज घरका मुख्य मानिस होइनन् भन्ने निवेदन जिकिर भएकोमा यी रिट निवेदकहरुले निज उपर नै अंश मुद्दा दिएकोबाट त्यो जिकिर पनि मनासिब देखिएन । त्यस माथि पनि अंश मुद्दामा फिराद दर्ता हुनु भन्दा अगावै बिगो मुद्दामा फिराद परी अंश मुद्दाको फैसला हुनु अघि बिगो मुद्दाको फैसला समेत भएको देखिँदा जुन घर जग्गाबाट बिगो भराई पाउँ भनी बिगो मुद्दामा दावी लिएको छ ती घर जग्गा समेत पछि यी पक्ष विपक्षहरुले अंशबण्डा गरी लिनु दिनु गरेको देखिएको हुँदा उक्त बिगो भरी पाउँ सम्बन्धी कारवाही बदर हुनु पर्ने भन्ने रिटनिवेदन जिकिर मनासिब देखिएन । तसर्थ प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । नियम बमोजिम गरी फायल बुझाई दिनु ।

 

इतिसम्वत् २०४६ साल चैत्र १६ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु