शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७४९५ - किर्ते जालसाज ।

भाग: ४७ साल: २०६२ महिना: जेष्ठ अंक:

निर्णय नं.७४९५     ने.का.प.२०६२ अङ्क २

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ

सम्वत २०६०सालको फौ.पु.नं. ३५०८

फैसला मितिः २०६२।२।२६।५

 

मुद्दाः किर्ते जालसाज ।

 

            पुनरावेदकरप्रतिवादी जि. वाँके नेपालगंज न.पा.वडा नं. १४ वस्ने सज्जन अली शेष

विरुद्ध

            प्रत्यर्थीरवादीः हाल जि.वाँके इन्द्रपुर गा.वि.स. वडा नं. ८ वस्ने गोवरे कुर्मि

 

§  पुनरावेदन अदालतले फैसलामा लिएका निर्णयाधारको त्रुटीहरुलाई विश्लेषण गरी सो फैसला वदरको माग दावी लिएको पुनरावेदनपत्रको अनुहारवाट नदेखिने भन्ने निर्णयाधार लिई कानून व्यवसायीले मसौदा गरेको छु भनी प्रमाणित गरी सही गरेको पुनरावेदनपत्रमा यी पुनरावेदक प्रतिवादीलाई सजाय गर्न नमिल्ने ।

§  पुरा गर्नुपर्ने कार्यविधि पुरा गरेपछि आफुलाई चित्त नवुझेको फैसलाको ठहर वुदाको खण्डमा चित्त नवुझेको कुरा खुलाई दायर गरेको पुनरावेदनपत्रमा पुनरावेदन अदालतको फैसलाको निर्णयाधारको त्रुटीहरु योयो छैन र यो यति यसप्रकारवाट पुनरावेदन जिकिर लिनुपर्छ भनि मुद्दाका पक्षलाई अदालतले तोक्न नमिल्ने ।

§  यस अदालतमा दायर गरेको पुनरावेदनपत्रमा आफ्नो फैसलाको निर्णयाधारमा यो यति त्रुटी छन ती त्रुटीको विश्लेषण गरी आफ्नै फैसलाको वदरको माग नगरेको भनि पक्षको अधिकारलाई संकुचन गरी जिल्ला तथा पुनरावेदन अदालतले यस अदालतमा परेको पुनरावेदनपत्रलाई जालसाजीको संज्ञा दिन नमिल्ने ।

(प्रकरण नं.२५)

§  यी पुनरावेदक प्रतिवादीले पुनरावेदनपत्र साथ पेश गरेको वारेसनामामा हस्ताक्षर ल्याप्चे झुठ्ठा वनाएको वा भैरहेको सच्चा लिखतलाई कुनै तरिकाले उडाई अर्कै मतलव निस्कने व्यहोरा पारेको एउटा कामलाई भनि सहिछाप गरेको लिफा कागज अर्कै व्यहोराको लिखत लेख्ने इत्यादी काम गरेकोवाट अर्काको जीउ धन वा हक जाने नोक्सान हुने वा सो केही नभए झुठ्ठा काम गर्ने आँफैलाई वा अरु कसैलाई फाइदा प्रमाण हुने जस्ता किर्ते कागजको १ नं. को परिभाषाभित्र प्रस्तुत मुद्दाको तथ्य मेल नखाने ।       

(प्रकरण नं.२६)

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री सिताराम अग्रवाल

प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्तात्रय श्री दिनेश त्रिपाठी श्री लल्लनप्रसाद श्रीवास्तव र श्री कमलेश द्धिवेदी

अवलम्वित नजीरः                    

           

फैसला

            न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत नेपालगंजवाट शुरुको निर्णय सदर गर्ने गरी भएको मिति २०५६।१२।८ को फैसला दोहोर्‍याई पाउँ भनि परेको प्रतिवादीको निवेदनमा यस अदालतवाट न्याय प्रशासन ऐन, २०४८ को दफा    १२(१) को खण्ड(क) को आधारमा मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भएको मिति २०६०।३।६ को आदेशानुसार पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर यसप्रकार छ :

            २.    शान्तिदेवी मेरो अंश र अपुताली मुद्दाको विपक्षी हुन । निजको एकमात्र उद्देश्य मलाई हराई रज्जा कुर्मिनीको सम्पूर्ण सम्पति आफ्नो एकलौटी हक स्थापना गर्नु हो । यसै क्रममा वाँके जिल्ला अदालतवाट मेरो माग दावी सदर भएको र पुनरावेदन अदालतवाट विपक्षी शान्ती देवीको माग सदर भएकोले सर्वोच्च अदालतमा मलाई पुनरावेदन गर्न वाध्यता भई विपक्षी प्रतिवादी शान्ति देवीले मैले गर्ने पुनरावेदन कसरी निष्फल हुन जाओस भन्ने धारणाले आफ्नो अधिकृत वारेस र मेरो जालसाजी मुद्दाका विपक्षी समेत भएको प्रतिवादी सिपाहीलाल संग मिलोमतो गरी २०४२ सालको दे.पु.नं. ४८७/५ को अंश मुद्दामा मेरो वकील सुलतान अहमद नै भएको र वारेस समेत भै काम गरेकोमा ५।६ प्रति लिफा सो कामको लागी लिई राखेका थिए । प्रतिवादी शान्ति देवीले प्रतिवादी सिपाहीलाल मार्फत मेरो इच्छा विपरीत वारेसनामाको काम ( लिफा) वनाई वारेस भई प्रतिवादी सज्जन अली शेष वारेस वनाई श्री सर्वोच्च अदालतमा पुनरावेदन अदालत मार्फत मेरो जानकारी विना मेरो तर्फवाट पुनरावेदन पत्र दर्ता गराई खारेज गराउने असफल प्रयास गरेकोले प्रतिवादी शान्ति देवीले किर्ते कागजको १,३ नं.बमोजिमको कसूर गरेको ऐ को ७ नं. बमोजिम सजाय गरिपाऊँ । प्रतिवादी सुलतान अहमदको सल्लाहले फर्जि वारेसनामा वनाई मैले नचिनेको मानिसलाई वारेस  नियुक्ती गर्ने कार्य गरेको सो सवै किर्ते कागजको १,३ नं. बमोजिम कानून प्रतिकूल भएकोले प्रतिवादी सिपाहीलाललाई ऐ को ७ नं. बमोजिम सजाय गरिपाऊँ  । प्रतिवादी सुलतान अहमद सिद्दीकी सर्व प्रथम मेरो शुरुको वकील हुन । निजले विपक्षी संग मिली नपुग कोर्ट फि दाखेल गरी तारेख लिई यस वाट कम्तीमा ५० हजार रुपैयाको आम्दानी पाउन सक्ने वा जग्गा नै प्रतिवादी सुलतानलाई प्रतिवादी सिपाहीलालले दिई केही रकम शान्ति देवीलाई पठाई दिने लक्ष्य राखी प्रतिवादीहरुलाई आफ्नो गफमेलमा पारेकाले प्रतिवादी सुलतान अहमद सिद्दीकीलाई किर्ते कागजको १,३ नं. अनुसारको कसूर गरेकोले ऐ महलको ७ नं. बमोजिम सजाय गरी निजले नैतिक पतन हुने अपराध गरेकोले निजको अभिकर्ता समेतको प्रमाणपत्रलाई रद्द गरिपाऊँ । जानजानी वारेस भई मलाई अज्ञानमा राखी म संग लुकी छिपी मेरो पुनरावेदन पत्र दर्ता गराई मेरो अहित हुने गरी मेरो मुद्दा विगार्ने हेतु प्रतिवादीले अन्यायी प्रतिवादीहरुलाई मिलाई प्रतिवादीहरु मध्ये प्रतिवादी सज्जन अली, प्रतिवादी आनन्दकुमार शाक्य प्रतिवादी वलराम भट्टराईलाई गोवरे कुर्मिको लिफा हो भन्दैमा अहित हुने काम गरेकोले प्रतिवादी सज्जन अलीलाई किर्ते कागजको १ नं. अन्तरगतको कसूर गरेकोले ऐ ७ नं. बमोजिम सजाय गरिपाऊँ । प्रतिवादी सुलतान अहमदको भनाईमा लागी प्रतिवादी आनन्दकुमारलाई किर्ते कागजको ७ नं. र अर्काको मसौदालाई आफ्नो भनि दस्तखत गर्नै प्रतिवादी वलराम भट्टराईलाई किर्ते कागजको १३ नं. बमोजिम सजाय गरिपाऊँ । वारेसनामामा रहेको फट्के साक्षीहरुलाई ज्ञान नभएको हुन सक्ने हुनाले निजहरु उपर कुनै प्रकारको दावी लिएको छैन । मैले अंश र अपुताली मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गर्नका लागी लल्लनप्रसाद श्रीवास्तवलाई मात्र २ वटा लिफा दिएर वारेस मुकरर गरेको छु । अरु कसैलाई पनि सर्वोच्च अदालतमा पुनरावेदन गर्ने वारेस नदिएकोले प्रतिवादी सज्जन अलीले मेरो कृत्रिम वारेस भई मेरो नामवाट दायर गरेको मिति २०५०।१।६ मा पुनरावेदन अदालत नेपालगंज मार्फत सर्वोच्च अदालतमा २०५० सालको दे.न. ४०९।१५४० को अपुताली र दे.नं. ४०८। १५३९ को अंश मुद्दामा मैले दिएको वारेसनामा नभएको हुँदा प्रतिवादी सज्जन अली शेष मेरो कृत्रिम वारेस भई लगाएको सो पुनरावेदन पत्रलाई किर्ते कागजको १ नं. को परिभाषा भित्रको ठह र्‍याई सो कार्य र कागजलाई किर्ते ठहर्‍याई पाउँ भन्ने समेत व्यहोराको वादी गोवरे कुर्मिको फिराद पत्र ।

            ३.    म प्रतिवादी शान्ति देवीले र म प्रतिवादी सिपाहीलालले प्रतिवादी सुलतान अहमद संग वादीको लिफा लिई वादीको तर्फवाट पुनरावेदनको लागी प्रतिवादी सज्जन अलीशेषलाई वारेसनामा गरे गराएको होइनौ र प्रतिवादी आनन्दकुमार शाक्यलाई वारेस वनाई नक्कल दिएको भन्ने समेतको फिराद जिकिर झुठ्ठा हो । वादीको झुठ्ठा दावा पक्राउवाट फुर्सद गराई दण्ड सजायको १८ नं. बमोजिम वादीलाई नै सजाय गरिपाऊँ भन्ने प्रतिवादी शान्ति देवीको अधिकृत वारेस भई र आफ्नो हकमा समेत प्रतिवादी सिपाहीलाल कुर्मिको प्रतिउत्तर पत्र ।

            ४.    म प्रतिवादीलाई वादीले कुनै लिफा गरी दिएकै थिएनन् मैले वादीको सहीछाप गरको कुनै लिफा कसैलाई दिएको भन्ने समेतको सम्पूर्ण वादी दावी झुठ्ठा हो । म प्रतिवादीले वादीलाई आफ्नो घरद्वारवाट भगार्ई दिएको रिसले म समेत उपर यो फिरादपत्र दायर गरेको हो । प्रतिवादी सज्जन अली प्रतिवादी आनन्दकुमार समेत कसैले वादीको कुनै नोक्सान गरेको भए सो नोक्सान गर्नेवाट ऐन बमोजिम असुल गर्ने तर्फ लाग्नु पर्ने हो । वादीको यस प्रकृयावाट वादीको पुनरावेदनलाई वल पुग्ने कुनै अवस्था छैन । वादीलाई इजलासमा तलव गरी वास्तविक कुरा वुझी वादीको झुठ्ठा दावा प्रक्राउवाट फुर्सद गरी वादीलाई नै सजाय गरी क्षतिपूर्ति समेत दिलाई पाउँ भन्ने प्रतिवादी सुलतान अहमद सिद्दीकीको प्रतिउत्तरपत्र ।

            ५.    अरु कसैसंग पनि मिलोमतो गरी जालसाजीको कुनै काम गरेको छैन । वादी मेरो पासमा आई मलाई वकील लल्लन श्रीवास्तवले तिम्रा पासमा पठाएको छ यो दुवै लिफामा यो टिपोट अनुसार नक्कलको लागी वारेसनामा लेखि नक्कल राख्नु होला भनी वादीले मलाई दिएको लिफाको पछाडि वारेसनामा भन्ने लेखेको थियो । मैले जानी जानी कुनै जालसाजी काम गरेको छैन भन्ने प्रतिवादी आनन्दकुमार शाक्यको प्रतिउत्तर पत्र ।

            ६.    वादीको मन्जुरी अनुसार वादीले नै दिएको लिफा कागजमा मैले वारेसनामा लेखि वारेस वादीको अर्का वकिल प्रतिवादी वलराम भट्टराईले लेखेको पुनरावेदन मैले दर्ता गरेको हुँ । कुनै जालसाजी कार्य गरेको छैन । वादीको फिराद दावीवाट छुटकारा गराई झुठ्ठा दावी गर्ने वादीलाई नै कानून बमोजिम सजाय समेत गरिपाऊँ भन्ने प्रतिवादी सज्जन अली शेषको प्रतिउत्तर पत्र ।

            ७.    वादी दावी बमोजिम मैले कुनै कसूर गरेको होइन छैन । कानून व्यवसायी हुँदा पुनरावेदन पत्रमा किनारामा सही गरी दिएको हुँ । मसौदा प्रमाणित गर्ने कार्य जालसाजीको परिभाषा भित्र पर्दैन । वादी दावी खारेज गरिपाऊँ भन्ने प्रतिवादी वलराम भट्टराईको प्रतिउत्तर पत्र ।

            ८.    प्रतिवादी चुन्नी कुर्मिका नाउँमा मिति २०५१।३।२० गते र प्रतिवादी रंगीलाल शाहका नाउँमा मिति २०५१।३।२८ गते तामेल भएको म्यादमा प्रतिउत्तर नफिराई गुजारी वसेको रहेछन ।

            ९.    गोवरे कुर्मिको पहिला अंश मुद्दा चल्दा सुलतान अहमद सिद्दीकीलाई आफ्नो वकील र वारेस राखेका थिए । रज्जा कुर्मिनीसंग सुलतान अहमदले मिलोमतो गरी अंश मुद्दा डिसमिस गराएका हुन । गोवरे कुर्मिले सुलतान अहमदसंग कागज माग्दा मेरो पैसा दिए मात्र दिन्छु भनि सुलतानले गोवरेलाई कागज दिएनन । जि.अ.वाट गोवरे कुर्मिले अंश मुद्दा जिती आधा आधा अंश पाए ।शान्ति देवीले पुनरावेदन गरी अंश मुद्दा जीतिन । फेरी गोवरे कुर्मिले पछि अंश मुद्दा लगाएर शान्ति देवी समेत ८ जना मिली जालसाजी पुनरावेदन लगाए । शान्ती देवीले गोवरेको फर्जी नाममा पुनरावेदन दायर गरे । सज्जनलाई वारेसनामा दिएका थिएनन  भन्ने समेत व्यहोराको वादीका साक्षी कमलाप्रसाद कुर्मि समेतले गरेको वकपत्र ।

            १०.    सुलतान अहमदले वादी गोवरे कुर्मिको कुनै लिफा कागज दिएका छैनन । गोवरे कुर्मि प्रतिवादी सुलतान अहमदको घरमा गएका थिए र गोवरेले भने कि मलाई लल्लनप्रसाद श्रीवास्तव वकीलले पठाएको हो । तपाईको माथि जालसाजी मुद्दा दिने छु पछि तपाईले जालसाजी मुद्दा सकार गरी लिए पछि तपाईसंग सम्झाई वुझाई लिने छु र पैसा पनि दिने छु भनी गोवरे कुर्मिले प्रतिवादी सुलतान अहमदलाई भनेका थिए । सुतलान अहमदले  गोवरेलाई म एउटा वकिल हुँ गलत काम म गर्दीन मेरो घरवाट भागी जा भनी रिसाएर भगाई  दिए । कुनै लिफा कागज मागेनन् भन्ने प्रतिवादी सुलतान अहमद सिद्दीकीका साक्षी वाके विहारी वाहुन समेतको  वकपत्र ।

            ११.    मिति २०५०।६।१ गतेका दिन वलराम भट्टराईको रोहवरमा वादी गोवरेले प्रतिवादी सज्जन अली शेषलाई वारेसनामाको लिफा थान २ पुनरावेदन दर्ता गर्नलाई नेपालगंज नगरपालिका वडा नं. १२ मा मालपोतको अगाडि चौतारामा दिएका हुन । सज्जन अलीले वकील वलराम भट्टराईको निर्देशन अनुसार अंश र अपुताली मुद्दाको पुनरावेदन गर्नलाई वारेसनामा लेखेका थिए भन्ने प्रतिवादी सज्जन अलीको साक्षी वसीर अहमदले गरेको वकपत्र ।

            १२.   शान्ती देवीको सिपाहीलाल अधिकृत वारेस हो । शान्ति देवी र गोवरेको बीचमा अंश र अपुताली मुद्दा चलेको थियो । गोवरेले पुनरावेदन अदालत नेपालगंज मार्फत सज्जन अली शेषलाई वारेस दिई सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको थिए । जालसाजी गरेको छैन  भन्ने समेत व्यहोराको प्रतिवादी शान्ति देवी कुर्मिको साक्षी सुदिलाल कुर्मिले गरेको वकपत्र ।

            १३.   पुनरावेदन गर्ने प्रकृयामा लिफामा किर्ते व्यहोरा खडा गरी अनधिकृत तवरले वारेस मार्फत पुनरावेदन दर्ता गराएको देखिंदा प्रतिवादी सज्जन अली शेषलाई किर्ते कागजको ९ नं. बमोजिम रु २०। जरिवाना हुन्छ । अन्य प्रतिवादीहरुको कसूरमा संलग्नता भएको भन्ने वस्तुनिष्ठ प्रमाणको अभावमा अन्य प्रतिवादीहरु उपरको फिराद दावी नपुग्ने ठहर्छ भन्ने वाँके ज्ल्लिा अदालतको   फैसला ।

            १४.   शुरुले प्रतिवादी सज्जनलाई सम्म सजाय गरी अन्य प्रतिवादीहरुलाई सफाई दिने गरी गरेको फैसला सो हदसम्म मिलेन । अनधिकृत वारेस मुकरर गरी पुनरावेदन दर्ता गराउनमा प्रतिवादी सज्जन अली एक्लैको मात्र हात नभई अन्य प्रतिवादीहरु समेतको मिलोमतो रहे भएको स्पष्ट हुँदा हु दै सुलतान अहमद सिद्दीकी समेतका प्रतिवादीहरुलाई सफाई दिएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी फिराद दावी अनुसार अन्य प्रतिवादीहरु समेतलाई सजाय गरिपाऊँ भन्ने वादी गोवरे कुर्मिको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

            १५.   म वारेस भई दायर भएको पुनरावेदन पत्रको कुन वाक्याँश र कुन शव्दवाट वादीको हक हितमा प्रतिकूल असर परेको हो सो उल्लेख गर्नु नसकेवाट वादी दावी अनुसार कुनै कसूर अपराध नगरेको प्रष्ट हुँदा हुदै शुरुले मलाई कसूरदार कायम गरी जरिवाना गर्ने गरेको फैसला मिलेको नहुँदा उल्टी गरी मेरो प्रतिउत्तर पत्र जिकिर बमोजिम न्याय निरोपण गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी सज्जन अली शेषको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

            १६.    यसमा जुन लिफा प्रयोग गरी पुनरावेदन भएको छ सो लिफा सज्जन अलीलाई सुलतान अहमदवाट प्राप्त भएको भन्ने वादीकै फिराद लेखवाट देखिंदा लिफा उपलव्ध गराउने र लिफामा भर्ने समेतको व्यक्तीलाई सफाई दिएको र सज्जन अलीलाई जालसाज गरेको ठहराएको शुरु फैसला फरक पर्न सक्ने हुँदा वादीको पुनरावेदनवाट सज्जन अली वाहेक अरु प्रतिवादीहरुलाई अ.व.२०२नं. बमोजिम झिकाई पेश गर्नु भन्ने मिति २०५५।१२। २९ को पुनरावेदन अदालतको आदेश।

            १७.   फैसलामा उल्लेखित निर्णयाधारको त्रुटीहरु औल्याई विश्लेषण गरी वदरको माग लिएको पुनरावेदन पत्रको अनुहारवाट नदेखिएको र पुनरावेदन दर्ता गरी पक्षलाई जानकारी नै नदिई प्रथम पटकवाटै वारेसले गर्नुपर्ने कानूनी दायित्व निर्वाह नगरी तारेख गुजारी वसेको देखिंदा पुनरावदेकको हक हीत चिताएको भन्न मिलेन । निजको कार्यले प्रतिवादी शान्तीदेवीलाई फाइदा पुग्ने र वादी गोवरे कुर्मिलाई नोक्सानी पुग्ने देखिएकोले जालसाज गरेको कार्य नगरेको भन्न नमिल्दा प्रतिवादी सज्जन अली शेषलाई किर्ते कागजको ९ नं बमोजिम रु २०। जरिवाना गरी अन्य प्रतिवादीहरु उपरको वादी दावी प्रमाणको अभावमा सफाई दिएको शुरु वाँके जिल्ला अदालतको फैसला मनासिव हुँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत नेपालगंजको मिति २०५६।१२।८ को फैसला ।

            १८.   मैले वारेश भई दायर गरेको पुनरावेदन पत्रवाट वादीको अहीत भएको छैन । वादीकै लिफावाट वारेशनामा तयार गरी फैसलाको नक्कल लिने, पुनरावेदन पत्र मसौदा गर्ने , व्यक्तीलाई सफाई दिई कानून व्यवसायी र पक्षले अह्राएको काम गर्ने म लेखापढी गर्ने लेखनदासलाई मात्र सजाय गरिएको छ । पुनरावेदन पत्रमा वादी कै हक हीतका कुराहरु छन । तारेख नलिदैमा पुनरावेदन पत्र डिसमिस हुन सक्ने हाल कानूनी व्यवस्था पनि छैन । वादी दावी किर्ते कागजको ३ नं. को परिभाषा भित्र पर्दैन । वादी स्वयँले पुनरावेदन पत्र दायर गर्न दिएको अंश र अपुताली हक कायम मुद्दाको वारेशनामावाट पुनरावेदन पत्र दायर गरेको हुँ । वारेसनामाको सही किर्ते हो भनि भन्न सक्नु भएको पनि छैन । वादी दावी प्रमाणित हुन नसकेको अवस्थामा मलाई सजाय गर्न मिल्ने होइन । पुनरावेदन अदालत मार्फत दायर गरेको पुनरावेदन पत्रमा खर्चको मितव्ययिताको कारणवाट पनि काठमाडौं कै व्यक्ती वारेश वसी सर्वोच्च अदालतमा तारेखमा रहने हुँदा मैले वादीको तारेख लिन काठमाडौं जानुपर्ने होइन । प्रमाणको अभावमा किर्ते जालसाजी ठहर गर्न अनुमानको आधारमा नमिल्ने हुँदा शुरु सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुँदा न्याय प्रशासन ऐन, २०४८को दफा १२(१)को    (क) र (ख) को गंम्भिर त्रुटी हुँदा मुद्दा दोहो र्‍याई पाउँ भन्ने प्रतिवादी सज्जन अलिशेषको यस अदालतमा पर्न आएको निवेदन पत्र ।      

            १९.    यसमा वादीले वारेशनामामा लागेको सहिछाप आफ्नो होइन भन्न नसकी मुद्दाको कारवाहीमा अदालतमा पेश गर्नको लागी लिफा दिएकोमा स्वीकार रहेको र मुद्दाको पुनरावेदन पत्र दर्ता गर्न उक्त वारेशनामा प्रयोग भएको देखिएको तथा प्रतिवादीहरु मध्ये लेखक साक्षीलाई मात्र सजाय गरी अरुलाई सफाई दिने गरेको पुनरावेदन अदालतको मिति २०५६।१२।८ को फैसला किर्ते कागजको १ नं. को व्याख्यात्मक त्रुटी देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहो र्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०६०।३।६ को आदेश ।

            २०.   नियमबमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री सिताराम अग्रवालले पुनरावेदक प्रतिवादी कानून व्यवसायी र मुद्दाका पक्षले लगाए अह्राए अनुसारको काम गर्ने अदालतवाट लेखापढीको प्रमाणप  त्र प्राप्त लेखनदास व्यक्ती हुन । वादीको वारेश भई पुनरावेदन अदालत मार्फत श्री सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेकोमा के कसरी वादीको हकहीतमा प्रतिकूल असर परेको हो भन्न खोल्न सकेको पाइदैन । पुनरावेदन दायर गरी तारेख लिन नजादैमा किर्ते जालसाज हुने होइन । नेपालगंज स्थित पुनरावेदन अदालतवाट मार्फत गरी श्री सर्वोच्च अदालतमा दायर गरेको पुनरावेदनको तारेख लिन यी प्रतिवादी काठमाडौं नआउदैमा किर्ते कागजको ९ नं. को सजाय हुनुपर्ने होइन । वादीले वारेशनामामा लागेको सहीछाप आफ्नो होइन किर्ते हो भन्न सक्नु भएको छैन । वारेशनामामा अंकित सहीछापलाई अन्यथा भन्न नसकेपछि र सो मा लेखिएको व्यहोरालाई आफ्नो होइन भन्न लेख्न नसक्ने वादीको जालसाजीको दावी स्थापित हुन सक्ने होईन । पुनरावेदन अदालतको फैसलाको निर्णयाधारको त्रुटीहरु औल्याई विश्लेषण गरी वदरको मागदावी लिएको पुनरावेदन पत्रको अनुहारवाट नदेखिने भन्ने आधारलाई किर्ते ठहर गरीएकोछ । अदालत आँफैले निर्णयाधारमा यो यो त्रुटीहरु छन खोलेर पुनरावेदन पत्र लगाउनु भन्ने कुरा होइन । अर्को तर्फ वादीले सो तथ्य तर्फ औल्याउन सकेका पनि छैनन । शुरुको फैसलालाई उल्टी गरेको पुनरावेदन अदालतको फैसला उपर परेको पुनरावेदन पत्रमा आवश्यक प्रमाणहरु संकलन भै सकेको हुने र थप प्रमाण वुझ्नु पर्ने आवश्यकता समेत नपरेकोमा जो भएको चित्त नवुझेको कुरा उल्लेख गरी दायर गरेको पुनरावेदन पत्रलाई अनुहारै नमिलेको भनि अदालतले किर्ते भन्न मिल्ने हौइन । अर्को तर्फ तारेख लिन नगई दायित्व निर्वाह नगरेको भन्ने भनाईमा मेरो पक्षले नेपालगंज पुनरावेदन अदालत मार्फत पुनरावेदन दर्ता गराउने जिम्मा लिएको र काठमाडौं सम्म आई तारेख लिन असुविधा पर्ने हुँदा यहीका मानिस वारेश रहने परिपाटी हुँदा नआएको हो । दोश्रो कुरा अंश र अपुताली मुद्दाको विवादको पुनरावेदन पत्रमा पुनरावेदक तर्फवाट तारेखमा नरहे पनि मुद्दा डिसमिस नहुने र ठहरे माफिक फैसला गर्नुपर्ने कानूनी व्यवस्था छ । जिल्ला र पुनरावेदन अदालतले आफ्नै निर्णयाधारलाई त्रुटीपूर्ण देखाई विश्लेषण नगरेको भनि मुद्दाका पक्षको वारेशलाई सजाय गर्नु कानून प्रतिकूल हुँदा शुरु र पुनरावेदन अदालतको फैसला उल्टी गरी पुनरावेदकलाई सफाई होस भन्ने वहस प्रस्तुत गर्नु भयो ।

            २१.   प्रत्यर्थी वादी तर्फका कानून व्यवसायीहरु विद्वान अधिवक्ताहरु त्रय श्री दिनेश त्रिपाठी श्री लल्लनप्रसाद श्रीवास्तव र श्री कमलेश द्धिवेदीले वादीको अंश मुद्दामा मुकरर भएका वकिल सुलतान अहमदलाई आवश्यकिय कामको लागी दिएको लिफा यी प्रतिवादी समेतले प्राप्त गरी मन्जुरी विना वारेसनामा वनाई पुनरावेदन पत्र तयार गरी पुनरावेदन अदालत नेपालगंज मार्फत श्री सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन । सो पुनरावेदन पत्रमा यी वादीले अंश नपाउने र प्रतिवादी शान्ती देवीले स्व. रज्जा कुर्मिनीको पुरै सम्पति अपुताली पाउने ठहर भएको पुनरावेदन अदालतको फैसलालाई वुँदागत रुपमा त्रुटीहरु औल्याई विश्लेषणात्मक रुपमा कानूनको आधार देखाई पुनरावेदन अदालतको फैसला यो यस प्रमाण र कानूनवाट वदर एवं उल्टी योग्य छ भनि उल्लेख गर्नुपर्नेमा सो केही नगरी पुनरावेदनको फैसला उल्टी गरी शुरुको सदर कायम राखी पाउँ भन्ने मात्र लेखिएको छ । त्यस्तै पक्षको तर्फवाट वारेसनामा लिई पुनरावेदन पत्र दायर गरेका यी प्रतिवादीले अदालतले तोकेको तारेखमा रुजु हाजिर रही मुद्दाको पूर्पक्ष गर्नुपर्ने दायित्व हुन्छ । पुनरावेदन पत्र दायर गरेपछि तोकिएको तारेखको सम्वन्धित पक्षलाई जानकारी सम्म नदिई तारेखमा हाजिर नभै गुजारेको छन । यसवाट अदालतले थप प्रमाण पेश गर्नुपर्ने भए वा मुद्दासंग सम्वन्धित अन्य थप जानकारी लिनु पर्ने भए तारेख गुजारेको कारणवाट सो कार्य अवरुद्ध हुन जान्छ । यी प्रतिवादीले वादीको उक्त अंश र अपुताली मुद्दामा आफ्नो तर्फवाट पुनरावेदन दायर गरी मुद्दा पूर्पक्ष गर्न भनि लिफा वा तयारी वारेसनामा नदिएको अवस्थामा अन्य वादीका विपक्षीहरु संग साँठगाठ मिलेमतो गरी लिफा प्राप्त गरी सो लिफालाई वारेसनामामा परिणत गराई कानून र प्रमाणको विश्लेषण नै नगरी हचुवा तवरको पुनरावेदन पत्र लेखि आँफै वारेश वनि दर्ता गराई तारेख छाडी वस्ने कार्य वादीको हकहितको प्रतिकूल हुँदा किर्ते गरेको होइन भन्न मिल्दैन । शुरु र पुनरावेदन अदालतले प्रतिवादी सज्जन अलिशेषलाई किर्ते गरेको ठहर गरी किर्ते कागजको ९ नं. बमोजिम सजाय गर्ने गरेको इन्साफ मिलेकै हुँदा सदर होस भन्ने वहस प्रस्तुत गर्नु भयो ।

            २२.   उल्लखित वहश सुनी पुनरावेदन जिकीर सहितको मिशिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा प्रतिवादी सज्जन अली शेषलाई शुरु जिल्ला अदालतले किर्ते कागजको ९ नं. बमोजिम सजाय गर्ने गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ? र पुनरावेदन जिकीर पुग्न सक्छ सक्तैन ? भन्ने सम्वन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।

            २३.   निर्णयतर्फ विचार गर्दा यी प्रत्यर्थी वादी गोवरे कुर्मी र प्रतिवादी मध्येकी शान्ती देवी कुर्मिनी वीच अंश र अपुताली दुई पृथक मुद्दा चलेको देखिन्छ । शुरु वाँके जिल्ला अदालतले अंश तर्फ यी वादी गोवरे कुर्मिले आधा अंश भाग पाउने र अपुताली तर्फ आधा शान्ती देवीको हक कायम हुने ठहर गरेको फैसला उपर शान्ती देवीको पुनरावेदन अदालत नेपालगंजमा पुनरावेदन पर्दा सो अदालतले शुरुको फैसला उल्टी गरी यी वादी गोवरे कुर्मीको अंश पाउँ भन्ने फिराद दावी पुग्न नसक्ने र अपुताली तर्फ यी गोवरेले अपुताली हक प्राप्त गर्न नसक्ने तथा आफ्नो आमा रज्जाका नाउँको घर जग्गा श्री सम्पति पुरै वादी शान्ती देवीको अपुताली हक कायम हुने ठहर गरेको फैसला उपर यस अदालतमा परेको पुनरावेदन पत्रको जरियावाट प्रस्तुत मुद्दाको श्रृजना भएको देखियो ।

            २४.   उक्त अंश र अपुताली मुद्दाको पुनरावेदन अदालत नेपालगंजवाट मिति २०५०।३।१५ मा फैसला भएको देखिन्छ । सो फैसला उपर गोवरे कुर्मीको तर्फवाट यी प्रतिवादी सज्जन अलि शेषले वारेश भै पुनरावेदन अदालत नेपालगंज मार्फत मिति २०५०।६।१ मा यस अदालतमा पुनरावेदन गरेको देखिन्छ । त्यसरी नै सोही मुद्दाहरुमा गोवरे कुर्मीको वारेश भै लल्लनप्रसाद श्रीवास्तवले मिति २०५०।६।६ मा सिधै यस अदालतमा आई पुनरावेदन दर्ता गरेको देखियो । पुनरावेदन अदालत नेपालगंज मार्फत सज्जन अली शेष वारेश भै दायर गरेको दे.पु.नं. ७०१८ को अंश मुद्दा र दे.पु.नं. ७०२० को अपुताली मुद्दाको पुनरावेदन दायर गर्दा पुनरावेदक गोवरे कुर्मीले अंश मुद्दामा वकिल रहेका सुल्तान अहमदवाट मैले वारेशनामाको लागी दिएको लिफा प्राप्त गरी पुनरावेदन दायर गरी मुद्दा पुर्पक्ष गर्ने भन्ने व्यहोराको वारेशनामा तयार गरी प्रतिवादी सज्जन अलि शेषले आँफैले वारेसनामा लेखि आँफै वारेश वनी मेरो जानकारी विना इच्छा विपरीत श्री सर्वोच्च अदालतमा पुनरावेदन अदालत मार्फत पुनरावेदन दर्ता गराई तोकिएको तारेख गुजारी मुद्दा नै खारेज गराउने असफल प्रयास गरेकोले किर्ते कागजको महल बमोजिम सजाय गरिपाऊँ भन्ने वादी दावी देखिन्छ । शुरुको अन्य प्रतिवादीहरुलाई अभियोग कसूरवाट सफाई दिई यी पुनरावेदक प्रतिवादी सज्जन अलि शेषलाई किर्ते कागजको ९ नं. बमोजिम रु २०। जरिवाना गरेको फैसलालाई पुनरावेदन अदालतले सदर गरे उपरको प्रस्तुत निर्णयार्थ पेश भएको विवाद देखिन आयो ।

            २५.   मिति २०५०।६।१ मा प्रतिवादी सज्जन अलिले पुनरावेदन अदालत मार्फत पेश दाखिला गरेको अंश र अपुताली मुद्दाको पुनरावेदन दर्ता गरी मुद्दा पुर्पक्ष गर्ने व्यहोराको वारेसनामा अनुसार परेको पुनरावेदन पत्रको व्यहोरा हेर्दा शुरु जिल्ला अदालतले आधा अंश यी वादीले पाउने र आधा अपुताली प्रतिवादी मध्येकी शान्ती देवीले पाउने गरी भएको फैसलामा पुनरावेदन अदालतले पेश गरेको मिशिल संलग्न रहेको प्रमाणको कुनै मूल्याङ्कन नै नगरी अंश नपाउने र अपुताली पुरै शान्ती देवीले पाउने ठहर गरेको पुनरावेदन अदालतको फैसला न्याय संगत नभएकोले वदर गरी वाँके जिल्ला अदालतको फैसला कायम राखी हक इन्साफ पाउँ भन्ने पुनरावेदन जिकीर देखिन्छ । मुद्दाका पक्षहरुले आफुलाई चित्त नवुझेको कुरामा प्रमाणको मूल्याङ्कन नै नगरी मलाई हराइयो भनि तोकिएको अन्य कानूनी कार्यविधि पुरा गरी पुनरावेदन जिकिर लिने कानूनी प्रकृया र अभ्यास हो । सो पुनरावेदन पत्रमा प्रमाणको मूल्याङ्कन नगरीकन मलाई हराइयो तर शुरु जिल्ला अदालतले प्रमाणको उचित मूल्याङ्कन गरी गरेको इन्साफ ठीक थियो सोही सदर हुनुपर्छ मात्र भन्नु पुनरावेदन पत्रमा उल्लेख हुनुपर्ने कुराहरु नभएकोले अपर्याप्त छ भनि भन्न मिल्दैन । मुद्दाको कारवाही र पैरवीको क्रममा शुरु अदालतवाट अ.व.७७, ७८, १८४(क) १८५ नं. तथा प्रमाण ऐन, २०३१को दफा ३ र ५४ बमोजिम वुझ्नु पर्ने सम्मका  मिशिलवाट आवश्यकिय देखिने प्रमाणहरु वुझी प्रमाणको मूल्याङ्कन गरी प्रमाणले ठहरे माफिक फैसला भएको देखिन्छ । सो उपर परेको पुनरावेदनमा पुनरावेदन अदालतले थप प्रंमाण वुझ्नु पर्ने आवश्यक देखेमा वुझी प्रमाणको मूल्याङ्कन गरी पुनरावेदन तहवाट समेत फैसला भएको स्थितिमा सो फैसला उपर यस अदालतवाट परेको पुनरावेदन पत्रको व्यहोरामा उल्लेखित व्यहोरा अपर्याप्त छ भन्न मिल्दैन । पुनरावेदन अदालतले फैसलामा लिएका निर्णयाधारको त्रुटीहरुलाई विश्लेषण गरी सो फैसला वदरको माग दावी लिएको पुनरावेदन पत्रको अनुहारवाट नदेखिने भन्ने निर्णयाधार लिई कानून व्यवसायीले मसौदा गरेको छु भनी प्रमाणित गरी सही गरेको पुनरावेदन पत्रमा यी पुनरावेदक प्रतिवादीलाई सजाय गर्न मिल्ने हुदैन । यस अदालतले आफु समक्ष निर्णयार्थ पेश हुन आएको विवादमा निर्णयमा पुग्नको लागी मातहत अदालतवाट वुझिएका प्रमाणहरुको र आवश्यक देखे यस अदालतवाट समेत थप प्रमाण वुझी संकलित प्रमाणको समुचित मूल्याङ्कनवाट निर्णय गर्न सक्ने नै हुन्छ ।मातहत अदालतको निर्णय उपर यस अदालतमा पुनरावेदन लाग्ने मुद्दामा रीत, ढाँचा, दस्तुरका अतिरिक्त सामान्यतः पुरा गर्नुपर्ने कार्यविधि पुरा गरेपछि आफुलाई चित्त नवुझेको फैसलाको ठहर वुदाको खण्डमा चित्त नवुझेको कुरा खुलाई दायर गरेको पुनरावेदन पत्रमा पुनरावेदन अदालतको फैसलाको निर्णयाधारको त्रुटीहरु यो यो छैन र यो यति यसप्रकारवाट पुनरावेदन जिकिर लिनु पर्छ भनि मुद्दाका पक्षलाई अदालतले तोक्न मिल्ने हुदैन । चित्त नवुझेको फैसलाको ठहर वुँदाको खण्डमा पुनरावेदन गर्न सक्ने र चित्त वुझेको कुरामा फैसला स्वीकार गर्न सक्ने मुद्दाका पक्षकारको कानूनी अधिकार हो । चित्त नवुझेको कुराहरु यो यस कारण यत्ति हुँदा यसो गरिपाऊँ भनि यस अदालतमा दायर गरेको पुनरावेदन पत्रमा आफ्नो फैसलाको निर्णयाधारमा यो यति त्रुटी छन ती त्रुटीको विश्लेषण गरी आफ्नै फैसलाको वदरको माग नगरेको भनि पक्षको अधिकारलाई संकुचन गरी जिल्ला तथा पुनरावेदन अदालतले यस अदालतमा परेको पुनरावेदन पत्रलाई जालसाजीको संज्ञा दिन मिल्ने देखिएन । जिल्ला तथा पुनरावेदन अदालतको निर्णयाधारको त्रुटी विश्लेषणात्मक रुपवाट नऔल्याउदैमा सो पुनरावेदन किर्ते जालसाजी हो भनी फैसला गर्ने अदालतले नै भन्न मिल्ने होइन । 

            २६.   अर्कोतर्फ उक्त पुनरावेदन पत्र दायर गर्दा पेश भएको वारेसनामामा लागेको सहिछाप आफ्नो होइन भनि वादीले भन्न सकेको देखिदैन । पेश भएको वारेशनामा अदालतमा चलेको मुद्दामा आवश्यक परेका वखत पेश गर्नको लागी लिफा दिएको हुँ भनि वादीले स्वीकारै गरेको देखिन्छ ।सोही आफुले मुद्दाको कारवाहीको क्रममा पेश गर्नको लागी दिएको लिफावाट तयार भएको वारेसनामावाट उल्लेखित अंश र अपुताली मुद्दाको पुनरावेदन पत्र दायर भएकै देखिनाले एउटा प्रयोजनको लागी दिएको लिफा अर्कै कामको लागी व्यहोरा फरक पारी काम भए गरेको पनि अवस्था छैन । यी पुनरावेदक प्रतिवादीले पुनरावेदन पत्र साथ पेश गरेको वारेसनामामा हस्ताक्षर ल्याप्चे झुठ्ठा वनाएको वा भै रहेको सच्चा लिखतलाई कुनै तरिकाले उडाई अर्कै मतलव निस्कने व्यहोरा पारेको एउटा कामलाई भनि सहिछाप गरेको लिफा कागज अर्कै व्यहोराको लिखत लेख्ने इत्यादी काम गरेकोवाट अर्काको जीउधन वा हक जाने नोक्सान हुने वा सो केही नभए झुठ्ठा काम गर्ने आँफैलाई वा अरु कसैलाई फाइदा प्रमाण हुने जस्ता किर्ते कागजको १ नं. को परिभाषा भित्र प्रस्तुत मुद्दाको तथ्य मेल खाने देखिदैन । दायर भएको पुनरावदेन पत्रवाट नत वादी गोवरे कुर्मीलाई कुनै नोक्सान वा अहीत हुने देखिन्छ न त प्रतिवादी शान्ती देवी र यी पुनरावेदकलाई कुनै फाइदा । प्रकृयागत कानूनी कार्यविधि पुरा गरी वादी स्वयँको हस्ताक्षर, सहिछाप र व्यहोराको वारेशनामाको आधारवाट परेको कानून बमोजिमको पुनरावेदन पत्रलाई जालसाज घोषित गरिपाऊँ भनि दिएको फिराद पत्र कानूनी आधार विनाको देखियो । यस्तो ठोस कानूनी आधार कारण विनाको प्रतिवादीहरु उपर जालसाजीमा सजाय गरिपाऊँ भन्ने हचुवा प्रकृतिको वादी दावी पुग्न सक्तैन ।  यस स्थितिमा शुरु र पुनरावेदन अदालतले अन्य प्रतिवादीहरुलाई सफाई दिई यी पुनरावेदकलाई किर्ते कागजको ९ नं वमोजिम सजाय गर्ने गरेको फैसला मिलेको देखिएन । 

            २७.   अतः उल्लेखित आधार र कारणहरुवाट पुनरावेदक प्रतिवादी सज्जन अली शेषलाई किर्ते कागजको ९ नं बमोजिम रु २०। जरिवाना गर्ने गरेको शुरु वाँके जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगंजको मिति २०५६।१२।८ को फैसला मिलेको नदेखिंदा सो हदसम्म केही उल्टी हुने र पुनरावदेक प्रतिवादी उपरको वादी दावी पुग्न नसक्ने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

 

शुरुले पुनरावेदक प्रतिवादी सज्जन अलि शेषलाई किर्ते कागजको ९ नं. बमोजिम रु.२०। जरिवाना गर्ने गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला उल्टी भै प्रतिवादीले फिराद दावीवाट सफाई पाउने ठहरेकोले उक्त असुल भै सकेको जरिवाना कानूनका  म्यादभित्र  फिर्ता  माग्न  आए कानूनको रित पु र्‍याई फिर्ता दिनु भनि शुरु वाँके जिल्ला अदालतमा लगत दिनु ...१

मिसिल नियमबमोजिम वुझाई दिनु .......१

 

उक्त रायमा म सहमत छु ।

 

न्या.शारदा श्रेष्ठ

इति सम्वत २०६२ साल जेष्ठ २६ गते रोज ५ शुभम...........................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु