शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७५०१ - उत्प्रेषण परमादेश ।

भाग: ४७ साल: २०६२ महिना: जेष्ठ अंक:

निर्णय नं.७५०१     ने.का.प.२०६२ अङ्क २

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनूपराज शर्मा

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

सम्वत २०६० सालको रिट नं. ३३२८

आदेश मितिः २०६१।७।२०।६

 

विषय :उत्प्रेषण परमादेश ।

 

            निवेदकः का.जि.का.म.न.पा. वडा नं. १९ बस्ने डा.अशोकचन्द्र श्रेष्ठ

विरुद्ध

            विपक्षीः श्री ५ को सरकार, स्वास्थ्य मन्त्रालय, रामशाहपथ, काठमाडौं समेत

 

§  निवेदकले प्रिइन्टर्नशीप नगरेकोले स्थायी दर्ता गर्न मिल्दैन भनि नेपाल मेडिकल काउन्सिलले गरेको निर्णय निवेदकले M.S. (Master of Surgery) गरी विशेषज्ञ चिकित्सकको हैसियत प्राप्त गरेको अवस्थातर्फ ध्यान नदिई गरेको देखिएवाट मेडिकल काउन्सिल ऐन, २०२० को दफा १५ को उपदफा  ३(क) विपरीत देखिंदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने।

§  निवेदकले जनरल सर्जरी विषयमा स्नातकोत्तर उपाधि हासिल गरी विशेषज्ञता हासिल गरिसकेको अवस्थामा निवेदकको हकमा कानूनबमोजिम दर्ताको सम्बन्धमा निर्णय गर्नु भनि विपक्षीहरुको नाममा परमादेश समेत जारी हुने ।

(प्रकरण नं.८)

निवेदक तर्फवाटःअधिवक्ता श्री हरिहर दाहाल तथा सुवर्ण थापा

विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री श्रीहरि अर्याल

अवलम्वित नजीरः

 

आदेश

            न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) बमोजिम दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :

२.    म निवेदकले सन् १९७० मा पुरानो शिक्षा अन्तर्गत प्रवेशिका परीक्षा उत्तीर्ण गरी सन् १९७८ मा त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तहको शैक्षिक योग्यता पछि काठमाडौं मै रसियन भाषा सिकेर सन् १९९२ मा श्री ५ को सरकार शिक्षा मन्त्रालयको स्वीकृतिबाट सिभिल इन्जिनियरिङ्ग पढ्न मित्र राष्ट्र रुसमा गएँ । अन्तर्राष्ट्रिय शिक्षा प्रणाली तथा प्रचलन अनुसार मित्र राष्ट्र रुसमा कुनै पनि विषयमा आई. एस. सी. या + २ या प्रमाणपत्र तहको शैक्षिक योग्यता पश्चात त्यहाँको कुनै पनि स्टेट युनिभर्सिटीमा आफ्नो इच्छा अनुसार तथा सक्षमता अनुसार कुनै पनि विषयमा अध्ययन गर्न पाउने व्यवस्था भएकोले र यस्तै मेरो पनि यहाँ प्रमाणपत्र तहको शैक्षिक योग्यता भएको एवं आफूसँग १५२० वर्ष अगाडि देखिको चिकित्सा तथा स्वास्थ्य सेवामा निकै ज्ञानहरु, अनुभवहरु तथा सीपहरु भएकोले त्यहाँ पढ्न गएको विषय बदलेर जनरल मेडिसिन विषय पढ्नको लागि त्यहाँको Srwednyaya Scola Secondary School  (यहाँको कलेज या + २ तहको) Programme अनुसारको आधारभूत विज्ञानका विषयहरुलाई (Biology, Chemistry, Physics Math_ Basic Course र अथवा Pre Medicine Course को रुपमा Preparatory Course अन्तर्गत सन् १९९२ देखि १९९३ सम्म पढी उत्तीर्ण गरें । उक्त कोर्ष मैले चिकित्साशास्त्र अध्ययन गर्नु भन्दा अगावै पूर्वाधारको आधारभूत विज्ञानका विषयहरुको रुपमा पढी उत्तीर्ण गरिसकेको थिएँ । त्यसपछि मात्र सन् १९९३ सेप्टेम्बरमा त्यहाँ रुसकै चेभोकसारी शहर स्थित चुभास स्टेट युनिभर्सिटीमा जनरल मेडिसिन विषय पढ्न भर्ना भएँ । यसरी आपूmले पूर्व अध्ययन गर्न गएको विषय परिवर्तन गरेर सो विश्वविद्यालयमा जनरल मेडिसिन विषय अध्ययन गरेकोलाई श्री ५ को सरकार शिक्षा मन्त्रालयबाट पनि स्वीकृति भएको छ । त्यहाँ पनि चिकित्साशास्त्र अध्ययनको प्रारम्भिक वर्षमा (चिकित्साशास्त्रसँग असम्बन्धित विषयहरु पनि पढाइने वर्ष र चिकित्साशास्त्र विषयको Clinical Class हरु शुरु हुनुभन्दा अगावै) सन् १९९३ डिसेम्बर देखि १९९५ जनवरी सम्म आफ्न दैनिक Regular Class हरु सकेपछि फुर्सदको समयमा आफ्नो चिकित्साशास्त्र अध्ययनको जगलाई बढी मजबुत पार्न तथा अरु गहकिलो पार्न Biogroup Science विषयहरुको (Biology, Chemistry,Physics) Extra Course वा Additional Course of Bridge Course को रुपमा पढी उत्तीर्ण गरें । उक्त थप कोर्षले गर्दा जनरल मेडिसिन कोर्ष पूरा गर्नको लागि चाहिने Total Academic Year  र Total Credit Hours मा न त कटौति नैं भएको छ न त उक्त पढाईमा कुनै बाधा नैं पारेको छ। सो पढाई पनि उक्त जनरल मेडिसिन कोर्ष समाप्त हुनुभन्दा अगावै उक्त विश्वविद्यालयको Criteria अनुसार नैं सकाएको थिएँ । म जस्तै यसरी I.Sc. Bio- Group भन्दा अन्य विषयमा Intermediate level या + २ Level सकाएर पूर्व सोभियत संघ तथा वर्तमान रसिया महासंघ एवं CIS मुलुकहरुबाट चिकित्साशास्त्रमा अध्ययन सम्पन्न गरेर आएका प्रशस्त डाक्टरहरुले त्यस मेडिकल काउन्सिलबाट धेरै अगाडि देखि नैं स्थायी दर्ता पाइरहेका छन् । त्यसको अभिलेख पनि काउन्सिलमा नै हुनुपर्दछ । आफ्नै देशको माटो तथा हावापानी सुहाउँदो किसिमले वास्तविक ज्ञानार्जन गर्न आफ्नो चिकित्साशास्त्र अध्ययनको तेश्रो तथा चौथो वर्षपछिको Nursing PracticeMedical Practice हरु क्रमबद्ध रुपले यहाँ नेपालको वीर अस्पताल र प्रसुती गृहमा सम्पन्न गरेको थिएँ । मैले पनि यहाँ Internship गरेको प्रमाणपत्रलाई आफू पढेको Parent University मा पेश गरेर त्यहाँ चिकित्साशास्त्र अध्ययनको छैठौं वर्षमा Final State Examination हरु दिएर 1st July,1999 मा सो विश्वविद्यालयबाट General Medicine विषयमा Doctor of General Medicine (M.D) उत्तीर्ण गरें । यसरी आवश्यक सबै कानूनी Criteria हरु मिलाएर सबै आफ्ना शैक्षिक प्रमाणपत्रहरु समेत संलग्न गरी मिति ०५६।४।३० मा नेपाल मेडिकल काउन्सिलको दर्ता आवेदन फाराम नं. ४०० बमोजिम Provisional Registration को लागि यसै काउन्सिलमा पुनः निवेदन गरेको थिएँ । तत्पश्चात धेरै लामो समय बिती सक्दा पनि कुनै कारवाही भएको जानकारी मैले नपाए पछि सोही सन्दर्भमा पटक पटक गरेर (०५७।८।२३, ०५७।१०।१० र ०५७।१०।१९ मा ) पुनः यसै काउन्सिलमा आवेदनहरु गरें । आफ्नो शैक्षिक योग्यताहरु तथा चिकित्सक भएर काम गर्न सक्ने आफ्नो सक्षमताको पहिचान गराउन एवं दीन दुःखी विरामीहरुलाई स्वास्थ्य उपचार सेवा पु¥याउन आफ्नो मातृभूमिको पूर्व मेची देखि पश्चिम महाकाली भित्र जुनसुकै ठाउँमा गएर जुनसुकै शर्तमा भएपनि आफू काम गर्न तत्पर तथा इच्छुक भएको व्यहोरा पनि काउन्सिललाई अवगत गराएकै थिएँ । तैपनि त्यस आवेदन प्रति कुनै कारवाही नगरेर Provisional दर्ता समेत गरी दिएन । त्यस बखत मेरो Provisional दर्ता गरी दिएको भए त हालसम्ममा मेरो पनि क्रमबद्ध स्पले स्थायी दर्ता भई सक्थ्यो नि । जबकि एउटै विश्वविद्यालयबाट एउटै विषयमा एउटै मितिमा M.D. को उपाधि लिएर मसँगै डाक्टरी पास गरेर स्वदेश फर्केका मेरा अरु सहपाठीहरुको (जो म जस्तै I.Sc Bio-Group भन्दा अन्य विषयमा Intermediate Level + २ सकाएर चिकित्साशास्त्र विषयमा अध्ययन गर्न गएकाहरु) भने धेरै अगाडि नैं त्यस काउन्सिलमा स्थायी दर्ता भइसकेका छन् । सिर्फ मेरो मात्र त्यस बखत काउन्सिलले दर्ता नगर्नुपर्ने कुनै कानूनी आधार थिएन । ०५५ सालमा जारी नेपाल मेडिकल काउन्सिल दर्ता विनियम, २०५५ पनि सो अगावै श्री ५ को सरकार शिक्षा मन्त्रालयको स्वीकृति लिएर अध्ययन गर्न गइसकेको मेरो हकमा लागू हुन कदापि सक्दैन। यो लागू हुने नैं हुन्थ्यो भने पनि सोमा वर्णित कुनै पनि प्रावधानले मेरो स्थायी दर्ता भै सक्नु पर्ने कानूनी हकलाई प्रतिकूल प्रभाव पार्न सक्दैनथ्यो । कारण मै सरहका अन्य व्यक्तिहरुले स्थायी दर्ता पाउने र मैले मात्र नपाउने कार्य स्पष्टतः समानताको सिद्धान्त प्रतिकूल हुन्छ । समान स्थितिका व्यक्तिहरुलाई असमान व्यवहार गर्न कानूनले मिल्दैन । फेरि २७ नोभेम्बर २००२ मा मैले सोही विश्वविद्यालयबाट जनरल सर्जरी विषयमा स्नातकोत्तर डिग्री सकाएर सल्य चिकित्सक विशेषज्ञ भई स्वदेश फर्कि विशेषज्ञको रुपमा दर्ता गर्न मिति ०५९।९।१० मा यसै काउन्सिलमा दिएको आवेदनमा पनि हालसम्म कुनै कारवाही भएको जानकारी पाउन नसक्दा यसै सन्दर्भमा मैले ०५९।१०।६ मा त्यस काउन्सिलमा पुनः निवेदन दिएको थिएँ । त्यसको पनि हालसम्म केही जानकारी पाउन सकेको छैन ।

३.    मिति ०५६।४।३० मा मैले त्यस काउन्सिलमा परीक्षण दर्ता गर्नको लागि दिएको निवेदनको सन्दर्भमा काउन्सिलकै नियमानुसार पनि परीक्षण दर्ता गरेको मितिबाट ३ वर्षपछि स्थायी दर्ता हुनुपर्ने कानूनी आधार  छ । मैले ०५९।११।३० मा पुनः त्यस काउन्सिलमा स्थायी दर्ता गरिपाऊँ भनेर दिएको निवेदन उपर कारवाही भई मिति ०५७।११।२९ मा त्यस काउन्सिलले गरेको भन्ने कथित निर्णयको जानकारी स्वरुप ०५९।१२।२ मा उक्त काउन्सिलले चलानी नं. ४०४/०५९।६० बमोजिम काउन्सिलले मलाई जानकारी पत्र दिइएको (उक्त जानकारी पत्र पनि सो पत्रमा अंकित मिति भन्दा करीब १ हप्तापछि मात्रै मैले पाएको) पनि आफैंमा गैरकानूनी छ भन्ने कुरा आफैंमा स्वतः प्रमाणित छ । कारण विपक्षी काउन्सिलले मलाई मेरो बायोलोजी विषय लिई आई. एस्सी. वा सो सरह १०+२ को उपाधि नभएको हुँदा श्री स्वास्थ्य मन्त्रालयको चलानी चं. १४६ मिति ०५७।४।५ को भनिएको कथित पत्रको प्रतिलिपी कैयौं पटक मैले माग गर्दा पनि काउन्सिलले दिन सकेन । त्यसमा उल्लेखित कुराहरुबाट पनि म अनभिज्ञ छु । सो कथित निर्णय पनि मेरो हकमा असम्बन्धित छ । त्यसैले मैले प्रिइन्टर्नसिप गर्नुपर्छ भन्ने विपक्षीको भनाई मेरो हकमा पूर्वाग्रहबाट प्रेरित भई कानून विपरीत भएकोमा सो खारेजभागी छ । मैले मित्र राष्ट्र रुसमा बायोलोजी गु्रपको आधारभूत विज्ञानका विषयहरुलाई (बायोलोजी, केमिष्ट्री र फिजिक्स) यहाँको १२ कक्षा सरहको अर्थात् त्यहाँको Srednaya Scola/Secondary High School को पाठ्यक्रम अनुसार Preparatory Course को प्रोग्राम अन्तर्गत अध्ययन गरिसकेकोलाई विपक्षी काउन्सिलले मलाई बायोलोजी विषय लिएर आई. एस्सी. वा सो सरहको १०+२ को उपाधि नभएको भनेर प्रिइन्टर्नसिप गर्नुपर्ने जानकारी गरेबाट संविधानको धारा ११ को प्रत्यक्ष विपरीत हुनुको साथै ने.का.प. २०५८ नि.नं. ६९७५ पृष्ठ ६१ नजीरको उल्लंघन हुन पुगेको छ । म निवेदकलाई मेरो निवेदन अनुसार काउन्सिलले स्थायी दर्ता नगरिनुपर्ने कुनै कानूनी आधार छैन । ०५५ सालमा जारी नेपाल मेडिकल काउन्सिल दर्ता विनियम, २०५५ को पृष्ठसंख्या १ को प्रकरण ख र घ मा उल्लेख भए अनुसार पनि मेरो त्यस काउन्सिलमा स्थायी दर्ता हुनुपर्ने कानूनी आधार स्वतः आफैमा स्पष्ट हुन्छ । कारण मैले मित्र राष्ट्र रुसमा बायोलोजी गु्रपको आधारभूत विज्ञानका विषयहरुलाई (बायोलोजी, केमिष्ट्री र फिजिक्स) Bridge Course को रुपमा यहाँको १२ कक्षा सरहको अर्थात् त्यहाँको Srednaya Scola/Secondary High School को पाठ्यक्रम अनुसार Preparatory Course को प्रोग्राम अन्तर्गत अध्ययन गरेको र आई. एस्सी. मा पढ्नु पर्ने अरु बाँकी विषयहरु नेपाली, हिसाब र अंग्रेजी) मेरो आफ्नो वाणिज्यशास्त्रको प्रमाणपत्र तहको अध्ययनमा नैं समावेश भइसकेका छन् । उक्त माथिका तथ्य कुराहरुलाई पूर्व सोभियत संघ तथा वर्तमान रुसी महासंघ एवं ऋक्ष्क् मुलुकहरुबाट विभिन्न विषयमा उच्च शिक्षा हासिल गरि स्वदेश फर्किएका ग्राजुएटहरुको संथा मित्र कुञ्जको मिति ०५९।१२।२५ को चलानी चं. ३/०५९।६० बमोजिमको पत्रबाट पुष्टि गरिदिएको छ । तत्पश्चात सन् 27th Novamber 2002 मा मैले सोही University बाट General Surgery विषयमा ३ वर्षे M.S. सरहको स्नातकोत्तर डिग्री हासिल गरिसकेको हुँदा नेपाल मेडिकल काउन्सिल दर्ता विनियम, २०५५ पृष्ठसंख्या १ को प्रकरण घ मा उल्लेख भए अनुसार पनि त्यस काउन्सिलमा मेरो स्थायी दर्ता हुनुपर्ने कानूनी अधिकार छ । सो सन्दर्भमा पनि आफू जनरल सर्जरी विषयमा शल्य चिकित्सक भई स्वदेश फर्कि विशेषज्ञको रुपमा दर्ता गर्न मिति ०५९।९।१० मा त्यसै काउन्सिलमा दिएको आवेदनमा पनि हालसम्ममा कुनै कारवाही भएको जानकारी मैले पाउन सकेको छैन । तत्पश्चात सोही सन्दर्भमा काम कारवाहीको लागि मैले मिति ०५९।१०।६ मा त्यसै काउन्सिलमा पुनः निवेदन दिएको थिएँ । त्यसको पनि केही जानकारी पाउन सकेको छैन । यसबाट विपक्षीसँग जवाफ दिन सक्ने कुनै कानूनी आधार नरहे नभएको स्पष्ट छ । उपरोक्त माथि उल्लिखित तथ्य कुराहरुको आधारमा विपक्षी काउन्सिलले त्रुटीपूर्ण, पूर्वाग्रहित र बदनियतपूर्ण कानून विपरीतको काम कारवाही निर्णयबाट नेपाल अधिराज्यको संविधान, २०४७ द्वारा प्रत्याभूति प्राप्त धारा ११, १२(ङ) र १७ को मौलिक हकको हनन् भएको र अन्य उपचारको बाटो नहुँदा धारा २३, ८८(२) बमोजिम सम्मानित सर्वोच्च अदालतको शरणमा आएको छु । तसर्थ विपक्षी काउन्सिलले  मिति ०५७।११।२९ मा गरेको भनिएको र मलाई ०५९।१२।२ को मिति अंकित पत्रद्वारा जानकारी दिइएको गैरकानूनी असमानताजन्य र पूर्वाग्रही निर्णय तथा तत्सम्बन्धी सम्पूर्ण काम कारवाही निर्णय तथा ०५७।४।५ को विपक्षी स्वास्थ्य मन्त्रालयको पत्र तथा तत्सम्बन्धी काम कारवाही निर्णय मेरो मौलिक हक अपहरित गर्ने खालका भएमा सो समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी चिकित्सकको रुपमा स्थायी दर्ता समेत गरिदिनु भनि विपक्षीहरुको नाउँमा परमादेश समेत जारी गरिपाऊँ भन्ने निवेदन ।

४.    विपक्षी निवेदकले रिट निवेदनको प्रकरण १ को खण्ड (ङ) मा मिति ०५६।४।३० मा परीक्षण दर्ताका लागि निवेदन दिएको तथ्य सम्म उल्लेख गर्नु भएको छ । तर सोभन्दा पूर्व निजले काउन्सिल समक्ष मिति ०५५।५।११ मा व्यवहारिक अध्ययनका लागि अनुमति माग गरी निवेदन दिनु भएको र सो निवेदनमा विश्वविद्यालयको अन्तिम परीक्षा पास नभै सकेकोले दर्ता गर्न नमिल्नेभनि एवं मिति 2nd Sept.1998 मा परीक्षण दर्ताका लागि निवेदन दिंदा यो उपाधि हासिल नभै सकेको हुँदा दर्ता गर्न नमिल्नेभनि मौकैमा तोक लागेको र मिति ०५९।९।१० मा अस्थायी दर्ताका लागि निवेदन दिनु भएको तथ्यलाई लुकाई निवेदन दिनु भएको छ । मौकैमा सो तोक उपर कुनै कारवाही गर्न गराउन नसकी हाल सो तथ्य लुकाई परेको रिट निवेदन छ । तथ्य लुकाई सफा हात स्वच्छ हृदय नलिई दायर भएको रिट निवेदन ग्रहणयोग्य नहुने सिद्धान्तको परिप्रेक्ष्यमा विपक्षीको रिट निवेदन प्रथम दृष्टिमैं खारेजभागी छ । विपक्षीले नियमावलीको नियम २(ङ) बमोजिम १ वर्ष अवधिका लागि काउन्सिलबाट विधिवत परीक्षण दर्ता प्रमाणपत्र लिनु पाउनु भएको छैन, लिए पाएको छ भन्ने निवेदन जिकिर सम्म पनि छैन । सोही नियमावलीको नियम ६(१) बमोजिम तोकिएको योग्यता प्राप्त गरि नसकेको कारण नैं पूर्वाक्त प्रकरणमा लेखिए अनुसार विपक्षीको निवेदनमा कुनै कारवाही नभई लेखिए अनुसारको तोक लागेको कुरा निर्विवाद छ । सो नियम ६(१) ले निर्दिष्ट गरेको परीक्षण दर्ता गर्ने अनिवार्य कानूनी शर्त पूरा नगरी गरे भएको इन्टर्नशीपलाई काउन्सिलले मान्यता दिन समेत सक्दैन, मिल्दैन । नियमावलीको नियम २(ङ) मा परीक्षण दर्ता एकवर्षको लागि हुने व्यवस्थाले इन्टर्नशीप एक वर्षको हुने तथ्य सिद्ध हुन्छ । यसप्रकार एकवर्ष इन्टर्नशीप गरेको विपक्षीको निवेदन जिकिर सम्म पनि छैन । निज विपक्षीले अस्थायी दर्ताका लागि मिति ०५९।९।१० मा दिनु भएको निवेदनमा प्रमाणित गरिदिने डा. वसन्तबहादुर पन्तले काउन्सिलले निर्धारण गरे अनुसार इन्टर्नशीप पूरा नभएको तथ्य स्पष्टतः उल्लेख गरिदिनु भएको स्थिति छ । यस परिप्रेक्ष्यमा कानूनतः परीक्षण दर्ता भै नियमावलीको नियम ६(४) अनुसार काउन्सिलबाट तोके बमोजिमको काम इन्टर्नशीप) तोकेको स्थानमा गरिसकेपछि ऐनको दफा १४(१)(२) बमोजिम अस्थायी दर्ता भै दुई वर्ष चिकित्सा व्यवसाय गरे पश्चात मात्र दफा १४(४) बमोजिम स्थायी दर्ता हुने प्रष्ट कानूनी व्यवस्थाको विपरीत परीक्षण दर्ता पश्चात इन्टर्नशीपै नगरी अस्थायी दर्ता नैं नभई र दुई वर्ष चिकित्सा व्यवसाय नैं नगरी मिति ०५६।४।३० मा परीक्षण दर्ताका लागि निवेदन दिएको मितिबाट ३ वर्षपछि स्थायी दर्ता हुनुपर्ने भनि आत्मपरक व्याख्यालाई मूलाधार बनाई परेको निवेदन सारतः कानूनसम्मत छैन । कानून विपरीतको दावी लिई परेको रिट निवेदन कुनै अर्थ र अवस्थामा समेत इन्साफयोग्य छैन । वस्तुतः कानूनले गर्न मिल्ने, सकिने र पर्ने विषयमा रिट जारी हुन सक्ने अवस्थामा कानूनतः गर्नै नहुने, नसकिने र नमिल्ने विषयमा परमादेश समेतके मागदावी गरी परेको रिट निवेदन सर्बथा खारेजभागी छ । विपक्षीको शैक्षिक योग्यता बायोलोजी विषय लिई आई. एस्सी. वा १०+२ होइन भन्ने कुरा, मेडिकल साइन्समा स्नातक अध्ययनका लागि तोकिएको न्यूनतम शैक्षिक उपाधि आफूले प्राप्त नगरी आई. कम. उत्तीर्ण गरेको र ब्रिज कोर्ष गरेको भन्ने विपक्षीको निवेदन दावीबाटै सुस्पष्ट भइरहेको छ । ब्रिज कोर्षको मान्यता औपचारिक उपाधि सरह हुन्छ भन्ने तथ्य निवेदकले पुष्टि गर्न सक्नु भएको छैन न त सो कोर्षको समकक्षता Equivalent नैं आधिकारिक निकायबाट गराएको छु भन्ने दावी नैं छ । रिट निवेदनको रोहबाट प्रमाण बुझि ब्रिज कोर्षको समकक्षता जस्तो तथ्यगत विषय निरोपण हुन पनि सक्दैन । यस अवस्थामा विपक्षीको स्थिति औपचारिक रुपमा एस.एल.सी. उत्तीर्ण सरह मात्र हुन गएको छ। रिट निवेदकले निवेदनमा उल्लेख गरेको ने.का.प. २०५८ पृष्ठ ६१ मा प्रतिपादित सिद्धान्त अनुसारै पनि काउन्सिललाई प्रेषित स्वास्थ्य मन्त्रालयको पत्रानुसार निवेदकलाई सो मन्त्रालयमा सम्पर्क राख्नु जानकारी दिंदा समेत निवेदक स्वयंले प्रिइन्टर्नशीप नगरेको कारणले नैं निजको दर्ता सम्बन्धी कारवाही अघि नबढेको हो । यस अवस्थामा काउन्सिलका तर्फबाट विपक्षीलाई दिइएको पत्र समेतका यावत काम कारवाही बिल्कुल कानून सम्मत हुँदा विपक्षीको कुनै पनि कानूनी वा सम्बैधानिक हक हनन् भएको स्थिति छैन । निवेदक सरहका अन्य शुशीला वैद्य र डेनिश श्रेष्ठका हकमा समेत काउन्सिलबाट एउटै र एकै समानको निर्णय भएको छ । यसबाट विपक्षीले समानताको वर्तन भएन भनि लगाएको आक्षेप खण्डित भइरहेको छ । विपक्षीले अस्थायी दर्ताका लागि सम्म विधिवत निवेदन दिएको र सो दर्ता गर्न समेत आवश्यक पूर्वाधार पूरा भए गरेको नदेखिएको स्थितिमा विधिवत निवेदनै नपरेको पर्न नसकेको स्थायी दर्ताका सम्बन्धमा मागदावी गर्ने हकदैया सम्म विपक्षीलाई कानूनतः प्राप्तै नहुँदा रिटदैयाको अभावमा प्रस्तुत रिट निवेदन सर्वथा खारेजभागी छ । कानून र कानूनी सिद्धान्तले निर्धारण गरेको प्रक्रियाको अधिनमा रही विपक्षीले आवश्यक पूर्वाधार पूरा गरेमा सो अनुसार विपक्षीको नाम काउन्सिलमा नियमानुसार दर्ता गर्न काउन्सिललाई कुनै आपत्ति छैन, काउन्सिल विपक्षी प्रति कुनै प्रकारले पनि पूर्वाग्रही थिएन, छैन र हुने पनि छैन । कानूनले निर्धारण गरेको पूर्वाधार पूरा नगर्ने विपक्षीले सो पूरा गरी कानून बमोजिम नाम दर्ता गर्ने तर्फ नलागी अनावश्यक रुपमा मुद्दा गर्ने कार्य कानून, न्याय र विवेकको रोहमा समेत उचित र उपयुक्त छैन भन्ने व्यहोराको नेपाल मेडिकल काउन्सिलको लिखितजवाफ ।

५.    यस मन्त्रालयको कुनै काम कारवाहीबाट निवेदकको कुनै संवैधानिक तथा कानूनी अधिकार हनन् नभएको हुँदा रिट खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको विपक्षी श्री ५ को सरकार, स्वास्थ्य मन्त्रालयको लिखितजवाफ ।     

६.    नियमबमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनको मिसिल अध्ययन गरियो । रिट निवेदक तर्फबाट विद्वान अधिवक्ता श्री हरिहर दाहाल तथा सुवर्ण थापाले रिट निवेदक अशोक चन्द्र श्रेष्ठले आधारभूत विज्ञानका विषयहरु जीव विज्ञान, रसायनशास्त्र तथा भौतिकशास्त्र समेत समावेश भएको Bridge Course उत्तीर्ण गरी मित्र राष्ट्र रसियाबाट General Medicine विषयमा Doctor of General Medicine (M.D) एवं General Surgery विषयमा ३ वर्षे M.S. सरहको स्नातकोत्तर उपाधि हासिल गरेको तथ्यमा विवाद छैन, उक्त Bridge Course नेपालमा प्रचलित I.Sc वा १२ कक्षा सरहको तह हो, निवेदकले अवलम्बन गरे जस्तै प्रकृयाबाट मित्र राष्ट्र रसियाबाट चिकित्साशास्त्रको अध्ययन पूरा गरी फर्केका निवेदक सरहका अन्य थुप्रै चिकित्सकहरुलाई नेपाल मेडिकल काउन्सिलले I.Sc सरहको उपाधि मानी परीक्षण दर्ता गरेको छ तर निवेदकको हकमा मात्र आई. एस्सी. सरहको उपाधि नमानी S.L.C सरहको मात्र भएको भनि मेडिकल काउन्सिलले गरेको निर्णय भेदभावपूर्ण समेत छ, निवेदकले श्री ५ को सरकार स्वास्थ्य मन्त्रालयको स्वीकृतिबाट वीर अस्पतालबाट अनिवार्य Intership समेत पूरा गरिसकेको अवस्था छ, तसर्थ रिट निवेदकलाई नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा १४ बमोजिम स्थायी वा नभए अस्थायी रुपमा दर्ता गरिनुपर्नेमा विपक्ष मेडिकल काउन्सिलले मिति ०५७।११।२९ को निर्णयानुसार भनि स्थायी दर्ता गर्न अस्वीकार गरी Pre-provisional Registration लिई स्वास्थ्य मन्त्रालयले तोकेको अस्पतालमा Pre-Internship गर्नुपर्ने भनि गरेको निर्णय त्रुटीपूर्ण हुँदा बदर गरी रिट निवेदकलाई स्थायी नभए अस्थायी चिकित्सकको रुपमा दर्ता गर्नु भनि विपक्षीहरुका नाउँमा परमादेश समेत जारी गरिपाऊँ भन्ने समेत व्यहोराको बहस गर्नुभयो । यसैगरी विपक्षी नेपाल मेडिकल काउन्सिल तर्फबाट विद्वान अधिवक्ता श्रीहरि अर्यालले रिट निवेदकबाट मिति ०५५।५।११ मा व्यवहारिक अध्ययनका लागि अनुमति माग गरी निवेदन पेश भएकोमा निवेदकले विश्वविद्यालयको अन्तिम परीक्षा उत्तीर्ण गरि नसकेको हुँदा दर्ता गर्न नमिल्ने भनि नेपाल मेडिकल काउन्सिलबाट मौकैमा निर्णय भएको छ, नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को नियम ६(१) ले निर्दिष्ट गरेको परीक्षण दर्ता गर्ने अनिवार्य कानूनी शर्त पूरा नगरी निवेदकले पूरा गरेको कथित इन्टर्नशीपलाई नेपाल मेडिकल काउन्सिलले मान्यता दिन सक्दैन, निवेदकले जीव विज्ञान विषय लिई I.Sc वा १०+२ तह उत्तीर्ण गरेको छैन, निजको शैक्षिक योग्यता वाणिज्यशास्त्रमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण सम्म हो, द्यचष्मनभ कोर्ष कुनै औपचारिक उपाधि नभएकै कारणले सो Course को समकक्षता निर्धारण हुन सकेको छैन, उक्त कोर्षको् समकक्षता I.Sc सरह हुन्छ भनि अदालतले बोल्न सक्ने विषय पनि होइन, निवेदकको औपचारिक स्थिति एस. एल. सी. उत्तीर्ण मात्र भएकोले श्री ५ को सरकार स्वास्थ्य मन्त्रालयको मिति ०५७।४।५ को निर्देशन अनुसार नेपाल मेडिकल काउन्सिलले रिट निवेदकलाई Pre-provisional Registration लिई स्वास्थ्य मन्त्रालयले तोकेको अस्पतालमा ६ महिना Pre-Internship गर्न पठाउने सम्बन्धमा निर्णय गरेको हो, स्वास्थ्य मन्त्रालयको उक्त निर्देशन पनि यस सर्वोच्च अदालतको फैसला बमोजिम छ, निवेदकलाई चिकित्सकको रुपमा दर्ता गर्न नेपाल मेडिकल काउन्सिललाई कुनै आपत्ति छैन तर निवेदकले सर्बप्रथम परीक्षण दर्ता भै काउन्सिलले तोकेको इन्टर्नशीप तोकेको स्थानमा पूरा गरिसकेपछि मात्र निवेदकलाई अस्थायी दर्ता गर्न सकिन्छ र अस्थायी दर्ता भै दुईवर्ष चिकित्सा व्यवसाय गरेपछि मात्र स्थायी दर्ता गर्न सकिन्छ । कानूनी व्यवस्था विपरीत परीक्षण दर्ता पश्चात इन्टर्नशीप नगरी अस्थायी दर्ता नभई सिधै स्थायी गर्न सकिंदैन । तसर्थ रिट निवेदन खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको बहस गर्नुभयो ।

७.    विद्वान कानून व्यवसायीहरुको बहस, निवेदन जिकिर एवं लिखितजवाफबाट प्रस्तुत मुद्दामा निवेदन माग बमोजिम आदेश जारी हुने हो वा होइन भन्ने प्रश्नमा निर्णय गर्नुपर्ने   देखियो ।

८.  निवेदक अशोकचन्द्र श्रेष्ठले सन् १९७८ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गतबाट वाणिज्यशास्त्रमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी सन् १९९२ मा श्री ५ को सरकार शिक्षा मन्त्रालयको स्वीकृतिबाट सिभिल इन्जिनियरिङ्ग पढ्न मित्र राष्ट्र रुसमा गएकोमा श्री ५ को सरकार शिक्षा मन्त्रालयको विषय परिवर्तन गर्न दिने स्वीकृति बमोजिम General Medicine विषय अध्ययन गरी सन् १९९९ मा Medical Institute of the Chuvash State University बाट Doctor of General Medicine (M.D) एवं सन् २००२ मा General Surgery मा तीन वर्षे स्नातकोत्तर डिग्री (Master of Surgery) गरेको तथ्यमा विवाद देखिएको छैन । निवेदकले General Medicine अध्ययन गर्नको निम्ति रसियाबाटै आधारभूत विज्ञानका विषयहरु जीव विज्ञान, रसायनशास्त्र एवं भौतिक विज्ञान समेत भएको Preparatory Course एवं Extra Remedial Course उत्तीर्ण गरेको तथ्यमा समेत विवाद रहेको छैन । सन् १९९८ मा निवेदकले General Medicine को पाँचौ वर्ष उत्तीर्ण गरी आफूले अध्ययन गरेको विश्वविद्यालयबाट नेपालको वीर अस्पतालमा Internship गर्नको निम्ति स्वीकृति पाई व्यवहारिक अध्ययन (Internship) को कार्य पूरा गर्नको निम्ति मिति ०५५।५।११ मा नेपाल मेडिकल काउन्सिल समक्ष निवेदन दिएकोमा नेपाल मेडिकल काउन्सिलबाट निवेदकले विश्वविद्यालयको अन्तिम परीक्षा उत्तीर्ण गरि नसकेकोले दर्ता गर्न नमिल्ने भनि निवेदन उपर तोक लागेको देखिन्छ । यसैगरी निवेदकले 2nd September 1998 मा परीक्षण दर्ताको निम्ति नेपाल मेडिकल काउन्सिल समक्ष निवेदन दिएकोमा सो निवेदन उपर निवेदकले M.D. उपाधि हासिल नगरी सकेको हुँदा दर्ता गर्न नमिल्ने भनि तोक लागेको देखिन्छ । नेपाल मेडिकल काउन्सिलबाट इन्टर्नशीपको निम्ति अनुमति नपाएपछि मिति ०५५।५।२५ मा निवेदकले श्री ५ को सरकारबाट स्वास्थ्य मन्त्रालय समक्ष व्यवहारिक अध्ययन (Internship) को निमित्त निवेदन दिएकोमा स्वास्थ्य मन्त्रालयको मिति ०५५।६।१ को पत्र बमोजिम वीर अस्पतालबाट निवेदकलाई इन्टर्नशीपको निम्ति स्वीकृति दिई उक्त अस्पतालबाट निवेदकले Feb.23,1999  तदनुसार २०५५।११।११ मा इन्टर्नशीप पूरा गरेको अवस्था देखिन्छ । मिति 1st July 1999 मा General Medicine मा Doctor of General Medicine (M.D) उत्तीर्ण पश्चात निवेदकले मिति ०५६।४।३० मा नेपाल मेडिकल काउन्सिल समक्ष परीक्षण दर्ता (Provisional Registration) को निम्ति निवेदन दिएको देखिन्छ । उक्त निवेदन उपर कारवाही गरी पाउन निवेदकले मिति ०५७।८।२३ मा आफ्नो शैक्षिक योग्यता तथा कार्यदक्षतामा विश्वासमा नलागेमा लिखित परीक्षा समेत सामना गर्ने व्यहोरा सहित निवेदन दिएको देखिन्छ भने मिति ०५७।१०।१० एवं ०५७।१०।१९, ०५९।१०।२२ मा स्थायी दर्ताको निम्ति एवं ०५९।९।१० र ०५९।१०।६ मा विशेषज्ञ दर्ताको निम्ति एवं ०५९।११।१२ मा स्थायी दर्ताको निम्ति निवेदन दिएकोमा ती निवेदन उपर कुनै कारवाही निर्णय भएको देखिएको छैन । मिति ०५९।११।३० मा निवेदकले दिएको अन्तिम निवेदनका सम्बन्धमा मिति ०५९।१२।२ मा नेपाल मेडिकल काउन्सिलले मिति ०५७।११।२९ को निर्णयानुसार भनि Pre-Internship नगरेको कारण जनाई स्थायी दर्ता गर्न नमिल्ने भनि निवेदकलाई जानकारी गराएको देखिन्छ । मिति ०५७।११।२९ को नेपाल मेडिकल काउन्सिलको उक्त निर्णय हेर्दा निवेदक अशोकचन्द्र श्रेष्ठ समेतले जीव विज्ञान विषय लिई I.Sc वा सो सरहको १०+२ उपाधि नपाएको हुँदा स्वास्थ्य मन्त्रालयको मिति ०५७।४।५ को पत्रानुसार Pre-provisional Registration लिई स्वास्थ्य मन्त्रालयले तोकेको अस्पतालमा ६ महिना काम गर्नुपर्ने भएको हुँदा स्वास्थ्य मन्त्रालयमा समयमैं सम्पर्क राख्न पठाउने भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । उक्त निर्णयमा उल्लेख भएको स्वास्थ्य मन्त्रालयको मिति ०५७।४।५ को पत्र हेर्दा श्री ५ को सरकार (मन्त्री स्तर) को मिति ०५७।४।५ को निर्णयानुसार एस.एल.सी. पश्चात पूर्व सोभियत संघ वा गणराज्यबाट सोझै स्नातक स्तरको एम. डि. उपाधि प्राप्त गरेका व्यक्तिहरुले नेपाल मेडिकल काउन्सिलमा नाम दर्ताको लागि निवेदन दिएमा उक्त काउन्सिलले निजहरुको नाम छुट्टै दर्ता किताबमा ६ महिनाको लागि पूर्व परीक्षण दर्ता (Pre-provisional Registration) गरिदिने एवं उपर्युक्त बमोजिम दर्ता भएका व्यक्तिले स्वास्थ्य मन्त्रालयले तोकेको अस्पतालमा सोही अस्पतालमा कार्यरत वरिष्ट चिकित्सकको प्रत्यक्ष निगरानी र मातहतमा रही अवैतनिक रुपमा ६ महिनासम्म काम गर्नुपर्ने लगायतका शर्तहरु तोकेको देखिन्छ । नेपाल मेडिकल काउन्सिलले निवेदक अशोकचन्द्र श्रेष्ठलाई एस.एल.सी. उत्तीर्ण सरह मात्र मानी उक्त निर्णयानुसार ६ महिनाको लागि पूर्व परीक्षण दर्ता गर्ने निर्णय गरेको देखिन्छ । निवेदक डा. अशोकचन्द्र श्रेष्ठले सन् १९९९ मा General Medicine मा M.D. गरिसकेपछि सन् 27 November 2002 मा रसियाबाट General Surgery विषयमा M.S. (Master of Surgery) सरहको तीन वर्षिय Full Post-Graduate Course उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ चिकित्सकको रुपमा दर्ताका निम्ति मिति ०५९।९।१० र ०५९।१०।६ मा दिएको निवेदन उपर कुनै कारवाही नभएको भनि पुनः मिति ०५९।११।१२ मा समेत निवेदन दिएकोमा मिति ०५७।११।२९ को निर्णयको आधार देखाई निवेदक डा. अशोकचन्द्र श्रेष्ठलाई स्थायी दर्ता गर्न नमिल्ने भनि मिति ०५९।१२।२ मा नेपाल मेडिकल काउन्सिलबाट निवेदकलाई जानकारी गराएको देखिन्छ । यसरी निवेदकले General Surgery विषयमा M.S. (Master of Surgery) गरिसकेपछि मिति ०५९।९।१० मा नेपाल मेडिकल काउन्सिल समक्ष निवेदन दिएको अवस्थामा समेत साविकमा General Medicine विषयमा M.D. गरेको अवस्थामा भएको मिति ०५७।११।२९ को निर्णयको नैं हवाला दिई निवेदकलाई पूर्व परीक्षण दर्ता (Pre-Provisional Registration) लिई स्वास्थ्य मन्त्रालयले तोकेको स्थानमा ६ महिना काम गर्नुपर्ने भनि निवेदकले प्रिइन्टर्नशीप नगरेकोले निवेदकलाई स्थायी दर्ता गर्न मिल्दैन भनि नेपाल मेडिकल काउन्सिलले गरेको निर्णय निवेदकले M.S. (Master of Surgery) गरी विशेषज्ञ चिकित्सकको हैसियत प्राप्त गरेको अवस्थातर्फ ध्यान नदिई गरेको निर्णय र  तत्सम्बन्धी  पत्रहरु  नेपाल  मेडिकल काउन्सिल ऐन, २०२० को दफा १५ को उपदफा ३(क) विपरीत देखिंदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको  छ । निवेदकले जनरल सर्जरी विषयमा स्नातकोत्तर उपाधि हासिल  गरी विशेषज्ञता हासिल गरिसकेको अवस्थामा निवेदक डा. अशोकचन्द्र श्रेष्ठको हकमा कानून बमोजिम दर्ताको सम्बन्धमा निर्णय गर्नु भनि विपक्षीहरुको नाममा परमादेश समेत जारी हुने ठहर्छ । मिसिल नियमानुसार बुझाई दिनु ।     

  

उक्त रायमा सहमत छु ।

 

न्या.रामप्रसाद श्रेष्ठ

 

इति सम्वत् २०६१ साल कार्तिक २० गते रोज ६ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु