निर्णय नं. ४१७६ - अंश सट्टा भर्ना दिलाई पाउँ

निर्णय नं. ४१७६ ने.का.प. २०४७ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
२०४६ सालको दे.पु.नं. ५३९
फैसला भएको मिति : २०४७।७।१४।४ मा
पुनरावेदक/प्रतिवादी : जि.बाँके बैजापुर गा.पं. वा.नं. ६ बस्ने रामचन्द्र थारुसमेत
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ.बस्ने मगरु थारु
मुद्दा : अंश सट्टा भर्ना दिलाई पाउँ
(१) अंशबण्डाको २९ नं. मा भएको व्यवस्थाबाट आफ्नो अंशको सट्टा दावी गर्न अंशियारको बीच पहिले अंशबण्डा हुनु अनिवार्य गरेको ।
(प्रकरण नं. १९)
(२) नाता कायम तर्फ भएको कारवाहीबाट वादी अंशियार कायम भई अंश पाउने नै देखिए तापनि अंशतर्फ कानुन बमोजिम उजूर गर्न जानु भनी वादीलाई सुनाई दिई मात्र फिराद खारेज गर्नु पर्नेमा सो नगरेको शुरु र अञ्चलको र सो नगरी अंश नै दिलाउने गरेको क्षेत्रीय अदालतको इन्साफ गल्ती ठहर्ने ।
(प्रकरण नं. १९)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्मा
विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।३।१४ को फैसलामा चित्त नबुझी न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(४)(ख)(ग) र १३(७) बमोजिम पुनरावेदन दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. स्वर्गीय महावीरका ५ छोरा स्व.रामप्रसाद, स्व.श्रीप्रसाद, स्व.रामदास, स्व.रुपलाल, स्व.कान्छा भन्ने छोटेलाल थारु भएकोमा रामप्रसादको छोरा भिखु, श्रीप्रसादको छोरा म वादी मगरु थारु, रामदासको पत्नीको नाम नजानेको र छोरा आशाराम–१, खुशीराम थारु–१, तुल्सीराम थारु १, नेतराम थारु १, तिरथमान थारु १, रुपलालको छोरा प्र.रामचन्द्र, प्र.श्यामु र कान्छा भन्ने छोटेलालको छोरा बाबु थारु १ र चन्द्रबहादुर थारु भएकोमा रामप्रसाद थारु पहिले नै छुट्टि भिन्न भएको र अन्य सबै अंशियारहरु सगोलमा नै बसी आएकोमा रुपलाल थारुको नाउँमा दर्ता रहेको बाँके बैजापुर गा.पं. वा.नं. २ग कि.नं. १०, ११ र ५० समेतको ज.वि. ४–०–५ को मोल रु. २५,०००।– जाने जग्गा म समेतको गरी ४ भाग लाग्नु पर्नेमा रुपलाल जीवितै छँदा मलाई थाहा नदिई मेरो मन्जूरी समेत नलिई अंश दिन रुपलाल अंश पाउने यी प्रतिवादीहरु भई आधा आधा जग्गा बाँडी ०४१।९।११ मा अंशबण्डा रजिष्ट्रेशन पास गराएको मिति ०४२।४।२७ मा थाहा पाएको र रुपलाल ०४१।९।१५ मा परलोक भएको हुँदा ४ खण्डमा एक खण्ड मेरो अंश भाग देउ भनी प्रतिवादीसंग भन्दा नदिएकाले अंशबण्डाको २९ नं. अनुसार अंश सट्टा भर्ना बापत मोल रु. ६,२५०।– को ज.वि. १–०–१– जग्गा प्रतिवादीहरुबाट दामासाहीले दिलाई भराई पाउँ भन्ने समेत मगरु थारुको फिरादपत्र ।
३. वादीले उल्लेख गरेको पुस्तावारी गलत छ । वादी हाम्रो पुस्ताभित्रको होइन । दावी गरिएको जग्गामा वादीको कुनै अंश भाग लाग्दैन भन्ने समेत प्रतिवादीहरुको संयुक्त प्रतिउत्तरपत्र ।
४. मूल पुर्खा महावीरको छोरा स्व.रामप्रसाद, स्व.श्रीप्रसाद, स्व. रामदास, स्व.रुपलाल, स्व.छोटेलाल हुन् र रामप्रसादको छोरा भिखु, स्व.श्रीप्रसादको छोरा रामप्रसाद मात्र थिए । निजलाई ०१९ सालमा बाघले मारेको हो । स्व.रामदासको छोरा आसाराम, खुसीराम, तुल्सीप्रसाद, नेतराम, तिरथमान समेत हुन् । स्व.रुपलालको छोरा प्र.रामचन्द्र प्र.च्यामुथारु हुन् । स्व.छोटेलालको छोरा बाबु थारु, चन्द्रबहादुर थारु हुन् । वादी निज महावीरको हांगाको सन्तान होइनन् भन्ने समेत प्रतिवादीले नाता कायमतर्फ गरेको बयान ।
५. प्रतिवादीले नाता कायमतर्फ गरेको बयान झुठ्ठा हो । मैले फिरादपत्रमा उल्लेख गरेको पुस्तावारी ठीक हो भन्ने समेत वादी मगरु थारुले गरेको बयान ।
६. वादी श्रीप्रसाद थारुको छोरा हो । रुपलालले रामचन्द्र, च्यामु थारुलाई बण्डापत्र गरी दिएको बण्डापत्रमा लेखिएको जेथामा ४ खण्डको १ खण्ड वादीको हक छ भन्ने समेत वादीका साक्षी मिठु थारु, गणेशप्रसाद थारु, रामनारायण थारुको बकपत्र ।
७. वादी प्रतिवादीहरु अंशियार हकदार होइनन् भन्ने समेत प्रतिवादीका साक्षी घनश्याम डाँगी, भागीराम थारु, हिगलाल थारु, देवीलाल थारुको बकपत्र ।
८. वादी मगरु प्रतिवादीको अंशियार होइनन् । श्रीप्रसादको छोरा रामप्रसाद थियो । बाघले खाइ मरे । वादी मगहरु थारुको छोरा हुन भन्ने समेत वादीको पेटबोलीको चन्द्रबहादुर थारुको बयान ।
९. वादी मगरु श्रीप्रसाद थारुको छोरा हुन भन्ने केही र वादी कसको छोरा हुन थाहा छैन प्रतिवादीको अंशियार नाताका होइन भन्ने केही र वादी महरु थारुको छोरा हुन भन्ने केही समेत भएको गाउँ सरजमीन मुचुल्का ।
१०. अरु अंशियार हुँदा हुँदै अंशियार नभएको भनी जग्गा बण्डापत्र पारित गरी लिनु दिनु गरेको प्रतिवादीहरुको कार्य फौजदारी कसूर हुनेमा मेरो हक मेटाउन जालसाजी गरी जग्गा बण्डा गरे भनी वादीले फिराद दिनु पर्नेमा सो नगरी अंश बण्डा नै नभएकोमा जग्गा सट्टा पाउँ भन्ने प्रस्तुत फिराद दावी खारेज हुने ठहर्छ भन्ने समेत बाँके जिल्ला अदालतको मिति २०४४।२।२५ को फैसला ।
११. बाँके जिल्ला अदालतले अंशियार ठहराएपछि अंश पाउने नपाउने ठहर गर्नु पर्नेमा जालसाजी तर्फ दावी नभएको भनी दावी खारेज गर्ने गरेको बाँके जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी फिराद दावी बमोजिम इन्साफ गरी पाउँ भन्ने समेत वादी मगरु थारुले भेरी अञ्चल अदालतमा गरेको पुनरावेदन ।
१२. वादी प्रतिवादी बीच अंशबण्डा भएको नदेखिएकोमा यस्तो अवस्थामा अंशबण्डाको २९ नं. को सुविधा माग गरी गलत दावी गरेको फिराद दावी खारेज गर्ने गरेको शुरुको फैसला मनासिब छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत भेरी अञ्चल अदालतको मिति ०४५।१।१६ को फैसला ।
१३. फिराद दावी खारेज गर्ने गरेको शुरुको फैसला सदर गरेको भेरी अञ्चल अदालतको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत वादी मगरु थारुले मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतमा दिएको निवेदनपत्र ।
१४. भेरी अञ्चल अदालतको फैसलामा अंशबण्डाको २९ नं. को गलत व्याख्या गरेको देखिँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(४) अनुसार पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४५।५।१५ को आदेश ।
१५. वादी आफ्नो बाबुको भागको अंश पाउने प्रतिवादीहरुको अंशियार नाताका देखिन आए । वादीले आफ्नो बाबुको भाग अंश पाएको छ भनी अंशको दायित्व व्यहोर्ने प्रतिवादीहरुले प्रमाणित गर्न नसकेको र अंशबण्डा नभएको अवस्थामा अंशबण्डाका ३५ नं. का ऐन अनुसार जहिले पनि नालेश लाग्न सक्ने कानुनी प्रावधान रहेको देखिँदा वादी दावी अनुसार ४ भागको १ भागको जग्गा अंश पाउने ठहर्छ वादीको फिराद खारेज गर्ने गरेको भेरी अञ्चल अदालत र बाँके जिल्ला अदालतको सो हदसम्मको फैसला त्रुटिपूर्ण देखिँदा सोही हदसम्म बदर भई उल्टी हुन्छ भन्ने समेत मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४६।३।१४।४ को फैसला ।
१६. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट वादी दावीको मूल माग अंशबण्डाको २९ नं. को दावीलाई स्वयं वादीको रुपली फेरी ऐनको अर्कै नम्बर लगाई कानुनको गलत व्याख्या भएको हुनाले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत प्रतिवादीहरु रामचन्द्र थारु र च्यामु थारुको यस अदालतमा परेको निवेदनपत्र ।
१७. अंशबण्डाको २९ नं. बमोजिम वादी दावी भएकोमा अंशबण्डाको ३५ नं. बमोजिम अंश दिलाई दिने ठहर्याएको म.प.क्षे.अ. को फैसला अंशबण्डाको २९ नं. को व्याख्यात्मक त्रुटि तथा ने.का.प. २०३९, नि.नं. १६०८, पृ. २६ मा प्रकाशित प्रतिपादित सिद्धान्तको प्रतिकूल देखिई न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख)(ग) को अवस्था विद्यमान देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालतको मिति ०४६।१०।१२।५ को आदेश ।
१८. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरुका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्मा र विपक्षी वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारीको बहस समेत सुनी यसमा मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन सो विषयमा निर्णय दिनु पर्ने हुन आयो ।
१९. यसमा वादीले आफूलाई पुनरावेदक प्रतिवादीहरुको अंशियार भनी देखाई आफूले पाउनु पर्ने अंश छुट्याई नपाउँदै आफ्ना काका रुपलालले आफ्नो समेत अंश हक लाग्ने जग्गाहरु अंशबण्डा गरी पास गरी दिएकोले आफ्नो अंश हकको जग्गा सट्टा पाउँ भनी अंशबण्डाको २९ नं. अन्तर्गत दावी लिई आएकोमा प्रतिवादीहरुले वादी आफ्नो अंशियार नै नहुँदा अंश दिनु पर्ने होइन भन्ने समेत व्यहोराको जिकिर लिई प्रतिउत्तर परेकोबाट नाता कायमतर्फ दुवै पक्षको बयान भई जो बुझ्नु पर्ने प्रमाण समेत बुझी वादी प्रतिवादीहरुको अंशियार हुन र अंश पाउने भनी ठहर गरे उपर प्रतिवादी पुनरावेदकहरुको पुनरावेदन नपरेको तर शुरु जिल्ला अदालतले र अञ्चल अदालत समेतले वादीलाई अंशियार कायम गरी अंश पाउने ठहराए पनि वादीको प्रस्तुत फिराद आफूले पाउने अंश पाउँ भन्ने नभई आफ्नो अंश हक लाग्ने जग्गा विघा १–०–१– जग्गा जग्गाको सट्टा पाउँ भनी अंशबण्डाको २९ नं. अन्तर्गत दावी लिई आएको कारणबाट खारेज हुने ठहराए उपर वादीको सम्म क्षेत्रीय अदालतमा पुनरावेदन परेकोमा क्षेत्रीय अदालतबाट वादीलाई प्रतिवादीको अंशियार कायम गरी अंश पाउने ठहराएको शुरु र अञ्चल अदालतको नाता तर्फको इन्साफ कायमै राखी वादीको अंशबण्डाको २९ नं. अन्तर्गत परेको फिरादबाट अंश समेत दिलाएको देखियो । अंशबण्डाको २९ नं. मा भएको व्यवस्थाबाट सो दफा अन्तर्गत आफ्नो अंशको सट्टा दावी गर्न अंशियारको बीच पहिले अंशबण्डा हुनु अनिवार्य गरेको छ । तर प्रस्तुत मुद्दामा वादीले सो व्यवस्था बमोजिम आफू र अरु प्रतिवादीहरु बीच अंशबण्डा भइसकेको भन्ने दावी नलिई आफू र प्रतिवादीहरु बीच अंशबण्डा भई नसकेको आफ्नो समेत अंश हक लाग्ने जग्गा रुपलालले आफ्नो छोराहरुमा बण्डा गरी दिएको भनी देखाई आफ्नो अंश हक लाग्ने जग्गा जतिको सट्टा पाउँ भनी दावी गरेको हुँदा नाता कायमतर्फ भएको कारवाहीबाट वादी अंशियार कायम भई अंश पाउने नै देखिएमा पनि अंशतर्फ कानुन बमोजिम उजूर गर्न जानु भनी वादीलाई सुनाई दिई मात्र प्रस्तुत फिराद खारेज गर्नु पर्नेमा सो नगरेको शुरु र अञ्चलको र सो नगरी अंश नै दिलाउने गरेको क्षेत्रीय अदालतको इन्साफ समेत गल्ती ठहर्छ । अंश तर्फ कानुन बमोजिम फिराद गर्न जानु भनी वादीलाई सुनाई दिनु । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम इन्साफ उल्टी हुँदा प्रतिवादीबाट वादीलाई भराई दिने ठहराएको जम्मा कोर्टफी रु. ३२३।– अब भराउन नपर्ने भएकाले सो बमोजिम क्षेत्रीय अदालतले कसेको लगत, कट्टा गरी दिन, सम्बन्धित अदालतमा लगत दिनु भनी का.जि.अ.मा लगत दिनु...१, इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावीको जग्गामा प्रतिवादीबाट दामासाहीले वादीलाई अंश छुट्याई दिने सम्बन्धमा क्षेत्रीय अदालतले कसेको लगत अब कायम नरहने हुँदा सो लगत कट्टा गरी दिन, सम्बन्धित अदालतमा लगत दिनु...२ इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादीले यस अदालतमा पुनरावेदन तहमा राखेको धरौटी कोर्टफी रु. ३२३।– कानुन बमोजिम प्रतिवादीलाई फिर्ता दिई, सो बमोजिमको कोर्टफी रकम वादीबाट असूल गरी कानुन बमोजिम गर्नु गराउनु भनी सम्बन्धित अदालतमा लगत दिनु...३, मिसिल नियमानुसार गरी बुझाई दिनु...४
उक्त रायमा म सहमत छु ।
न्या.हिरण्येश्वरमान प्रधान
इतिसम्वत् २०४७ साल कार्तिक १४ गते रोज ४ शुभम् ।