निर्णय नं. ४१७८ - जिऊ मास्ने बेच्ने

निर्णय नं. ४१७८ ने.का.प. २०४७ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४५ सालको फौ.पु.नं. ५७९
फैसला भएको मिति : २०४७।४।१७।४ मा
पुनरावेदक/प्रतिवादी : कारागार शाखा काठमाडौंमा थुनामा रहेको वाङछेन लामा
विरुद्ध
विपक्षी/वादी : दावा छिरिङ शेर्पाको जाहेरीले श्री ५ को सरकार
मुद्दा : जिऊ मास्ने बेच्ने
(१) यी प्रतिवादी समेत उपर पीडितले तथा अर्का जाहेरवालाले समेत झुठ्ठा पोल उजूर गर्नुपर्ने तथ्ययुक्त कारण प्रतिवादी तर्फबाट देखाउन सकेको पाइएन । यस अवस्थामा प्रतिवादीले बिक्री गर्ने काममा मिलेमतो गरी सहयोग गरेको देखिन आएको हुँदा ज्यू मास्ने बेच्नेको ४ नं. को कसूर गरेको होइन भन्न नमिल्ने ।
(प्रकरण नं. १४)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्रीहरी अर्याल
विपक्षी/वादी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
फैसला
न्या.बब्बरप्रसाद सिंह
१. म.क्षे.अ. को मिति २०४५।५।१९ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :–
२. वाङछेन लामा र पाल्साङ लामा समेतले मेरो बहिनी कुसाङ छुटिन सेर्पेनीलाई का.जि. जोरपाटीबाट ललाई फकाई विदेश भारत बम्बैमा फकाई लगी बिक्री गरी सकेको हुँदा कारवाही गरी सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।
३. निज कुन्साङ भन्ने केटीलाई निमा वाङगेलले मिति २०४३।३।९ गते बौद्धबाट मसंग जोरपाटीसम्म एउटै ट्याक्सी चढी आएका थियौं त्यसपछि निज कुन्साङलाई निमा वाङगेलले भारत स्वास्नी बनाई लगे भन्ने समेत प्रतिवादी पाल्साङ तामाङले प्रहरी अधिकृत समेत समक्ष गरेको बयान ।
४. निमा वाङगेलले निज कुन्साङ भन्ने केटीलाई आफ्नो नोकरी भएको भारत जम्बु कश्मीरमा लिई गएको हो मैले निज केटीलाई फकाई विवाह गरेको होइन दुवै केटा केटीले मन्जूरीले आफैंले विवाह गरेका हुन भन्ने समेत प्रतिवादी वाङछेन लामाको बयान कागज ।
५. यसमा वाङछेन लामा र पाल्साङ लामाले जाहेरवालाको बहिनी कुन्साङ छुटिन सेर्पेनीलाई ललाई फकाई गरी जाहेरी बमोजिम विदेश भारत बम्बैमा बिक्री गरेको देखिन आयो सो देखिँदा निज पाल्साङ लामा र वाङछेन लामाले जीऊ मास्ने बेच्नेको १ नं. अनुसार कसूर गरेको देखिँदा सोही ऐनको १ नं. बमोजिम सजायँ गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन माग दावी ।
६. प्रहरी प्रतिवेदन अनुसारको कसूर मैले गरेको छैन जाहेरवालाको बहिनीलाई मैले चिनेको छैन मेरो डेरामा बसेकोले मेरो मामालाई पक्राउ गर्न मलाई पोल गरेको हो मलाई पक्राउ गरेपछि मामालाई पक्राउ गर्न सकिन्छ भनी झुठ्ठा उजूर गरेको हो भन्ने समेत वाङछेन लामाले अदालतमा गरेको बयान ।
७. प्रहरी प्रतिवेदन अनुसारको कसूर गरेको छैन अभियोग अनुसार मलाई सजायँ हुनु पर्ने होइन जाहेरवाला र निजकी बहिनी समेतलाई मैले चिनेको छैन साथै जाहेरीमा लेखिएका अरु केटीहरुलाई पनि मैले चिनेको छैन भन्ने समेत पाल्साङ लामाले अदालतमा गरेको बयान ।
८. पाल्साङ लामा र निमा वाङगेलको साथ ०४२ साल आषाढको दोश्रो हप्तातिर काठमाडौंबाट बस चढी सुनौली हुँदै टे«न बसमा ४ दिन पछि बम्बई पुगियो बम्बई पुगेपछि नाम थाहा नभएको आइमाइको घरमा लगी राखी त्यसको २–३ दिनमा मेरो अगाडिमा रु. ९०००।– निज पाल्साङ लामा र निमा वाङगेलले लिई निज पाल्साङ लामा र निमा वाङगेलले मलाई छाडी कता गए मलाई थाहा भएन । पछि मलाई संयुक्त नेपाली महासंघका मानिसहरुले बम्बैबाट काठमाडौं ल्याई छाडेकाले यो जाहेरी दर्खास्त गर्न आएको छु भन्ने समेत कुन्साङ छुटिन सेर्पेनीको जाहेरी ।
९. पाल्साङ लामा, निमा वाङगेल लामा र वाङछेन लामा तीनै जनाले रेष्टुराँमा मःमः खान गएको अवस्थामा राम्रो लाउन खान र पैसा समेत पाइन्छ भनी भनेको प्रलोभन लोभ मलाई देखाई ललाई फकाई रण्डी खानामा लगी भा.रु. ९०००। मा बिक्री गरेका हुन हाल म टी.बी. को रोगी भएको त्यसै कारणले हो भन्ने समेत कुन्साङ छुटिन सेर्पिनीको बकपत्र ।
१०. यसमा निमा वाङगेल उपर प्रतिवेदन दावी नभएकोले वादी दावी नै नगरिएको निजको हकमा केही बोल्न सकिएन । प्रतिवादी अभियुक्त पाल्साङ लामाले प्रतिवेदन दावी बमोजिम बम्बैमा कुन्साङ छुटिन सेर्पिनीलाई लगी बिक्री गरेको प्रमाणित भएकोले मुलुकी ऐन जीऊ मास्ने बेच्नेको महलको १ नं. को कसूर गरेको ठहर्छ निजलाई २० वर्ष कैद हुन्छ प्रतिवादी अभियुक्त वाङछेन लामाले निज कुन्साङ छुटिन सेर्पेनीलाई फकाई प्रलोभनमा पारी बम्बैमा पुर्याई बेश्यालयमा बिक्री गर्ने कार्यमा मद्दत गरेको प्रमाणित भएकोले निजले मुलुकी ऐन जीऊ मास्ने बेच्नेको ४ नं. को कसूर गरेको ठहर्छ, निजलाई १०(दश) वर्ष कैद हुन्छ भन्ने समेत बागमती विशेष अदालतको फैसला ।
११. बागमती विशेष अदालतको फैसला उपर यी प्रतिवादी समेतको परेको पुनरावेदनमा प्र.वाङछेन लामाले पीडित कुन्साङ छुटिन सेर्पिनीलाई फकाई प्रलोभनमा पारी बम्बैमा पुर्याई बेश्यालयमा बिक्री गर्ने कार्यमा मद्दत गरेको प्रमाणित भएकोले जीऊ मास्ने बेच्नेको ४ नं. को कसूर गरेको ठहरी कैद वर्ष १० हुने गरेको वा.वि.अ. को फैसला मनासिब छ भन्ने समेत म.क्षे.अ. को मिति २०४५।५।१९ को फैसला ।
१२. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री श्रीहरि अर्यालले मेरो पक्षले जानी जानी मद्दत गरेको भन्ने अभियोग लगाएको छैन, मौकामा इन्कार छ, दोष प्रमाण केही नहुँदा सफाई पाउनु पर्छ भन्ने तथा विपक्षी श्री ५ को सरकार तर्फका विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले जाहेरी दर्खास्त तथा पीडित केटीको अदालतमा भएको बयान समेतबाट यी प्रतिवादी पीडित केटीलाई बम्बई लगी बिक्री गर्ने काममा सहभागिता रहेको तथा उक्त बिक्री गर्ने काममा तीन जनाको मिलेमतो रहेको प्रष्ट हुँदा इन्साफ म.क्षे.अ. को सदर हुनुपर्छ भन्ने समेत गर्नु भएको बहस जिकिर सुनियो ।
१३. निर्णयतर्फ विचार गर्दा मेरो डेराबाट २०४३।२।३० गते मेरी बहिनी कुन्साङ छुटिन शेर्पिनी, सेनापाङजीन र ङिमा छुकी बौद्ध गएकोमा फर्की नआएको, २०४३।३।१० मा ती बाँकी २ जना केटीलाई भेटी सोद्धा बाङछेन लामा र पाल्साङ लामा समेतले हामी सबैलाई बम्बै जाऔं, राम्रो नोकरीमा लगाई दिन्छौं भनी पछि कुन्साङ छुटिनलाई मात्र बम्बै लाने भनी लिएर हिंडी सक्यो भनेकाले निजहरुलाई कानुन बमोजिम कारवाही होस भन्ने समेत पीडित केटीका दाजु दावा छिरिङ शेर्पाको जाहेरी परी कारवाही शुरु भएको प्रस्तुत मुद्दामा पीडित केटी कुन्साङ छुटिन शेर्पिनीले संयुक्त नेपाली महासंघ बम्बैको सहयोगमा नेपाल आई मिति २०४३।४।२७ मा दिएको जाहेरी दर्खास्तमा उक्त कुराहरुलाई समर्थन गर्दै वाङछेन लामा, पाल्साङ लामा, निमा वाङगेल शेर्पा समेतले ललाई फकाई गरेको र भारत बम्बईमा हाम्रै शेर्पा जातीका नाता पर्ने मानिसहरु छन् निजहरुले कति राम्रो व्यवसाय गरी पैसा कमाएका छन्, तिमी पनि त्यहाँ जाने भए राम्रो खान लाउन र पैसा समेत कमिन्छ भनी अनेकौं प्रलोभन लोभ देखाई सो कुरामा स्वीकार गराई म पासाङ लामा र निमा वाङगेलको साथ बस चढी सुनौली हुँदै ट्रेन बसमा बम्बई पुगेपछि मेरै अगाडि नाम थाहा नभएको आइमाइको हातबाट रु. ९०००।– निजहरुले लिई मलाई छाडी कता गए, त्यो आइमाइले मलाई जबरजस्ती अनैतिक धन्दामा लगाई” भन्ने समेत व्यहोरा खुलाएकी र सोही दर्खास्तको मिलान हुने गरी”. . .मलाई पाल्साङ निमा र वाङछेन तीनै जनाले तिबेतीयन मःमः रेष्टुराँमा मःमः खान गएको अवस्थामा अनेकौं प्रलोभन लोभ देखाई ललाई फकाई बम्बै (भारत) लगेको हो । बम्बैमा मलाई पुर्याउन पाल्साङ र निमा वाङगेल गएको हो मलाई रण्डीखानामा लगी भा.रु. ९०००।– मा बिक्री गरी मेरो सामुन्ने पैसा लिएको र पछि रण्डीखानाको मालिकले बेश्यावृत्ति गराएको हो” भन्ने समेत व्यहोरा खोली अदालत समक्ष बकपत्र गरेकी देखिन्छ पीडित केटी संगै बौद्ध गएकी सोना पाङजेन लामाले पनि साथी कुन्साङ शेर्पीनीलाई बाङछेन लामा समेतले लिएर गएको र निजहरुले कुन्साङलाई भारतमा पठाएको छ भन्ने पछि सुनियो भनी मिति २०४३।३।३१ मा गरेको कागजबाट देखिन आएको छ ।
१४. यसबाट प्रतिवादी वाङछेन लामा समेतले निज पीडित कुन्साङ छुटिन शेर्पिनीलाई अनेकौं लोभलालच देखाई बम्बै भारतमा लग्नको लागि ललाई फकाई गरेको भन्ने कुराको पुष्टि हुन आयो । निज केटीलाई बम्बैमा बेश्यालयबाट उद्धार गरेको भन्ने कुरा मिसिल संलग्न रहेको संयुक्त नेपाली महासंघ बम्बईको मिति १ अगष्ट १९८६ को पत्रको फोटोकपीबाट पनि देखिन आएको छ । यी प्रतिवादी समेत उपर पीडित केटीले तथा अर्का जाहेरवाला निजका दाजुले समेत झुठ्ठा पोल उजूर गर्नु पर्ने तथ्ययुक्त कारण प्रतिवादी तर्फबाट देखाउन सकेको पाइएन । यस अवस्थामा प्रतिवादी वाङछेन लामाले बम्बई लगी कुन्साङ छुटिनलाई बिक्री गर्ने काममा मिलेमतो गरी सहयोग गरेको देखिन आएको हुँदा ज्यू मास्ने बेच्नेको ४ नं. को कसूर गरेको होइन भन्न मिलेन । निजलाई उक्त ऐन बमोजिम १० वर्ष कैद गर्ने गरेको वा.वि.अ. को इन्साफ सदर गरेको म.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी वाङछेन लामाके माथि इन्साफ खण्डमा लेखिए बमोजिम वा.वि.अ.को फैसला सदर गरेको म.क्षे.अ.को फैसला मनासिब ठहरेकोले उक्त अदालतले गर्ने गरेको कैद वर्ष १० को अ.बं. २०३ नं. ले दोश्रा पुनरावेदन हुँदा ५ प्रतिशतले थप कैद ।६ (६ महीना) हुन्छ लगत कसी असूल गर्नु भनी का.जि.अ.त.मा लगत दिनु...१, मिसिल नियम बमोजिम गरी मिसिल बुझाई दिनु...१
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इतिसम्वत् २०४७ साल श्रावण १७ गते रोज ४ शुभम् ।