शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७५०४ - लिखत बदर दर्ता बदर ।

भाग: ४७ साल: २०६२ महिना: जेष्ठ अंक:

निर्णय नं.७५०४     ने.का.प.२०६२ अङ्क २

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेत

सम्वत् २०५६ सालको दे.पु.नं. ..५९३६

फैसला मितिः २०६२।२।२७।६

 

मूद्दाःलिखत बदर दर्ता बदर ।

 

            पुनरावेदक / वादीः जिल्ला सप्तरी मानराजा गा.वि.स. वडा नं. ५ बस्ने जयकृष्ण यादव   समेत

विरुद्ध

            प्रत्यर्थी / प्रतिवादीः ऐ. ऐ. बस्ने अमेरिका देवी यादव समेत

 

§  हक वेहकमा प्रश्न उठी सकेपछि लिखत प्रमाणको महत्व हुने र प्रमाण आधार विनाको कोरा तर्कको कुनै गुन्जाइस नरहने ।

§  प्रमाण ऐनको दफा २७ को उपदफा (२) मा भएको कानूनी व्यवस्था हेर्दा प्रचलित नेपाल कानूनबमोजिम वादीलाई दिनु वा बुझाउनु पर्ने कुरा सो कानूनबमोजिम दिएको वा वुझाएको छ भनी प्रमाणित गर्ने भार प्रतिवादीको हुनेछ भन्ने उल्लेख भएको पाइदा अदालतको फैसला बमोजिम वादीहरुले पाउने तायदाती अनुसारको अंश वादीहरुले यो, यति, यसरी यो मितिमा दिए पाएको भन्ने प्रमाणको भार र आफुले वेचेको जग्गा उपर आफ्नो एकलौटी स्वामित्व निर्विवाद हक भोग भएको भन्ने प्रमाणको भार प्रतिवादीमा  रहने ।

§  संगोलको सम्पत्ति विक्रि गर्दाको अबस्थामा मुलुकी ऐन लेनदेन व्यवहारको महलको १० नं. बमोजिम अंशियारहरुको मन्जुरी लिनुपर्नेमा पुनरावेदक वादीहरुको मन्जुरी लिएको देखिन नआउंदा वादी दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला उल्टी हुने ।

(प्रकरण नं.१२)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्रीकृष्ण थापा एवं श्री शम्भु थापा

प्रत्यर्थी प्रतिवादी तर्फवाटः ने.का.प. २०३०, निर्णय नं. ७२०, पृष्ठ २४

अवलम्वित नजीरः

 

आदेश

न्या.वद्रीकुमार वस्नेतः पुनरावेदन अदालत राजविराजको मिति ०५५।१०।१७ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तरगत दायर भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :

२.    हामी वादीहरु मध्ये म खैजनीवतीले दे. नं. १८४८ को अंश दर्ता मुद्दा दिई ५ खण्डमा १/१ खण्ड अंश पाउने ठहरी मिति २०३८।१२।३० मा यस अदालतवाट फैसला भै सो फैसला अनुसार आआफ्नो नाउंमा जग्गा नामसारी गराई आफु खुस पाउनेमा सो बमोजिम नगरि प्र. अमेरिका देवीले स्व. पति कपिलेश्वरको नाउंको जग्गा आफ्ना नाउंमा नामसारी मिति २०४८।३।१२ मा प्र. राम किसनु साह तेलीलाई जि. स. गा. वि. स. कल्याणपुर वार्ड नं. २ (क) को कि. नं. १९८ को ०५ जग्गा हाम्रो मन्जुरी वेगर विक्रि गरेकोले ५ खण्डको ४ खण्ड जग्गाको ले. व. द. व. गरी हाम्रा नाउंमा दर्ता कायम गरिपाऊं भन्ने समेत व्यहोराको फिराद दावी ।

३.    भिन्न भएको कुरामा विवाद छैन । भिन्न भएका अंशियारले लिखत बदर गराउन पाउने कानूनी व्यवस्था नभएकोले वादी दावी खारेज गरिपाऊं भन्ने समेत व्यहोराको प्र. मध्ये अमेरिका देवीको प्रतिउत्तर जिकिर ।

४.    प्र. अमेरिका देवीको नाउंको हक भोग दर्ताको जग्गा विक्री गर्ने भएकोले मैले रुपैयाँ तिरि खरिद गरी लिएको हुंदा लिखत बदर हुनुपर्ने होईन भन्ने समेत व्यहोराको प्र. राम किसुन साह तेलीको प्रतिउत्तर जिकिर ।

५.    विवादित जग्गावाट ५ भाग मध्ये चार भाग वादी दावी बमोजिम दर्ता बदर भै वादीहरुका नाउंमा दर्ता कायम समेत हुने ठहर्छ भन्ने समेत सप्तरी जिल्ला अदालतको मिति ०५३।३।११।३ को फैसला ।

६.    न्यायिक मनको प्रयोग नगरि गरेको सप्तरी जिल्ला अदालतको फैसला कानूनी त्रुटिपूर्ण हुंदा बदर गरि हक इन्साफ गरिपाऊं भन्ने समेत प्र. राम किसुन साह तेलीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

७.    यस लगाउको दे. पु. नं. १४३६ मा झगडीया झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दामा पनि अ. वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत पुनरावेदन अदालतको मिति २०५३।३।२४।४ को आदेश ।

८.    यसै लगाउको पुनरावेदन नं. ४९।१२९४ को मुद्दावाट शुरुको फैसला उल्टी हुने ठहर्‍याई फैसला भएको हुंदा यसमा पनि शुरुको फैसला उल्टी भै वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति ०५५।१०।१७ को फैसला ।

९.    शुरुको फैसला उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको फैसला चित्त बुझेन उक्त फैसला उल्टी गरी फिराद दावी बमोजिम गरिपाऊं भन्ने समेत व्यहोराको वादीहरुको यस अदालतमा परेको पुनरावेदन पत्र ।

१०.    यसमा यसै लगाउको सम्वत २०५६ सालको दे. पु. नं. ५८९६ को लिखत वदर दर्ता बदर मुद्दामा अ. वं. २०२ नं. बमोजिम छलफलको लागि विपक्षी झिकाउने आदेश भएकोले र प्रस्तुत मुद्दा समेत उक्त मुद्दाको लगाउको भई अन्तरप्रभावी हुंदा प्रस्तुत मुद्दामा समेत उल्लेखित मुद्दामा लिइएको आधार कारण समेतका परिप्रेक्ष्यमा अ. वं. २०२ नं. बमोजिम छलफलको लागि विपक्षी झिकाई आएपछि वा अवधी नाघेपछि पेश गर्नु भन्ने मिति ०६०।१२।३० को आदेश ।

११.    प्रत्यर्थी रामकिशुर साहको लिखित प्रतिवाद परी मिसिलसंलग्न रहेको ।

१२.   नियमबमोजिम दैनिक पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ताद्वय श्रीकृष्ण थापा एवं श्री शम्भु थापाले अंश मुद्दामा मिति ०३८।१२।३० र २०४१।२।२९ र २०४३।३।१६ मा भएको फैसलाले वादी प्रतिवादी एकासंगोलको अंशियारा ठहराई उक्त परिवारको जुनसुकै अंशिको भागमा रहे भएको सम्पत्ति वण्डा हुने ठहराई फैसला भै अन्तिम भएर रहेको छ । उक्त फैसला समेतको वर्खिलाप गरि यि वादीको हक मार्ने दुरासयले जग्गा लिनु दिनु गरि गरेको कामकारवाही कानूनसंगत नहुंदा पुनरावेदन अदालतको फैसला उल्टी गरी शुरुले फिराद दावी पुग्न सक्ने ठहराएको फैसला सदर कायम हुनुपर्छ भनि वहस प्रस्तुत गर्नुभयो ।

१३.   पुनरावेदन सहितका मिसिल कागजात अध्ययन गरी मुद्दाका पक्ष बाट उपस्थित विद्वान अधिवक्ताहरुले गर्नु भएको वहस जिकिर एवं लिखित बहस नोट समेतलाई मध्येनजर राखी निर्णय तर्फ विचार गर्दा वादी दावी पुग्न सक्ने ठहर्‍याएको शुरुको फैसला उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछ र पुनरावेदकको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के रहेछ ? सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

१४.   मिसिल अध्ययन गरि हेर्दा सो दे. नं. १४४८ को अंश मुद्दाका ०३८।१२।३० को फैसलाले ५ खण्डको १ खण्ड अंश पाउने ठहरी फैसला भएको अबस्थामा प्रतिवादी अमेरिका देवीले लोग्नेको नामको सम्पत्ती नामसारी गराई प्रतिवादीलाई विक्री गरेकोले हाम्रो भाग ५। भगको ४ भाग लिखत बदर गरिपाऊँ भन्ने वादी दावी भएकोमा शुरुले ५ भागको ४ भाग लिखत बदर हुने ठहराई फैसला गरेकोमा सो फैसला उल्टी गरी जग्गा नामसारीमा उजुर समेत नगरेको आधारमा वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला उपर वादीको पुनरावेदन परी पेश हुन आएको पाईयो ।

१५.   यसमा प्रस्तुत विवादको परिवारको मूल पुरुष कन्तलाल निजकी श्रीमति खैजनीवति निजहरुका ४ भाई छोराहरुमा जेठा जयकृष्ण, माइला वालेश्वरप्रसाद साईला सकल देव कान्छा कपिल देव भएको कपिलदेवको मृत्यू भै निजको हक खाने श्रीमति अमेरिका देवी भएकोमा विवाद देखिदैन । लाउन खान नदिएकोले आमा तथा सासु खैजनीवतीले छोराहरु तथा वुहारी अमेरिका देवी उपर अंश मुद्दा दिएकोमा प्रतिवादी अमेरिका देवीले मिति ०३८।१०।२६ मा पेश गरेको तायदातीमा उल्लेखित सम्पत्तीको ५ खण्डको १ खण्ड पाउने ठहरी ०३८।१२।३० मा फैसला भै अन्तिम भएर रहेको देखिन्छ । तत्पश्चात अमेरिका देवी वादी भै चलेको अंश मुद्दा शुरु सप्तरी जिल्ला अदालतवाट २०४१।२।२९ र तत्कालिन सगरमाथा अञ्चल अदालतवाट ०४३।३।१९ मा फैसला भै अन्तिम भएर बसेको देखिन आयो । प्रस्तुत मुद्दाकी प्रतिवादी यी अमेरिका देवीले विक्री गरेको विवादका जग्गाहरु खैजनी वती वादी भै चलेको सा. दे. नं. १८४८ को अंश मुद्दामा पेश भएको तायदातीमा चढेको देखिन आउंछ । सो सम्बन्धमा प्रतिवादीको अन्यथा जिकिर रहेको पाईएन । यसका साथै वादी प्रतिवादी बीच अंशवण्डा हुने ठहर्‍याएको ०३८।१२।३०, ०४१।२।२९ र ०४३।३।१६ को फैसला बमोजिम फैसला कार्यन्वयन भएको अबस्था नभई फैसला बमोजिम अंशवण्डा हुने ठहरेको तर प्रकृयागत रुपमा फैसला बमोजिम लिनु दिनु गरि हक टुटाई हक कायम गरी गराई लिएको अबस्था देखिदैन । सो बाट विधिवत अंशवण्डा भै सकेको नभई सम्पत्ती एकासंगोल मै रहेको स्थिति देखिन आयो । एकासंगोलका अंशियारका नाममा रहेको सम्पत्ति निजको मृत्यु पश्चात निजका हकवालाले नामसारी गरि लिदैमा अदालतको फैसलाले वण्डा हुने ठहर्‍याएको ठहर विपरीत हुने गरी अन्य अंशियाराहरु अंश हकवाट विमुख हुने हुंदैन । नामसारी भै आएको सम्पत्ती सोही परीवारमा सोही अंशीका वीच भएको तर अर्को तेस्रो  पक्षले हक टुटाई नामसारी गरि गराई लिएको नहुंदा नामसारीको कार्यवाट अन्य अंशिका हक टुट्ने हुंदैन । साथै नामसारी गराई लिदैमा सो बमोजिम प्राप्त सम्पत्ती निर्विवाद हक भोगको भन्ने हुंदैन । जहाँसम्म दण्ड सजायको ४६ नं. बमोजिम हदम्याद भित्र नरहेको भन्ने पुनरावेदनले आधार लिएको छ । सो सम्बन्धमा हेर्दा स्वयं यि प्रतिवादी अमेरिका देवी वादी भै अंश मुद्दा चलेकोमा फैसला बमोजिम चलन चलाउनृ दर्ता हक कायम गराउने दायित्व निजमा पनि हुने हुंदा प्रस्तुत मुद्दामा दण्ड सजायको ४६ नं. आकर्षित हुने   देखिदैन । वादीको फिराद अस्पष्ट भनि पुनरावेदनले आधार लिएको सम्बन्धमा हेर्दा विवादको न्यायनिरोपणको सिलसिलामा प्रचलित कानून र कार्यविधि बमोजिम अदालतले विवादको कति अंश हक हो ? वादीले अंश मुद्दावाट के कति प्राप्त गरेको हो ? कति जग्गा अमेरिका देवीको नाममा नामसारी भएको हो जस्ता विवादको निरोपण संग सम्बन्धित प्रश्नहरुको मुद्दाको रोहमा छानविन गरी बुझि निष्कर्शमा पुग्न वाधा पुग्ने देखिदैन । फिरादमा कुनै कुरा प्रष्ट पार्न नसकेको अबस्थामा अदालतले प्रष्ट गराउन सक्ने नै हुन्छ । यसैगरी पुनरावेदन अदालतले प्रतिवादीको हक पुग्ने सम्पत्ति वेचविखन गरेको भन्ने आधार लिएको सम्बन्धमा हेर्दा प्रमाण ऐन, २०३१ को  दफा ६(क) मा भएको कानूनी व्यवस्था हेरिएमा एकाघर संगका अंशियारहरु मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति संगोलको सम्पत्ती हो भनि अदालतले अनुमान गर्नेछ भन्ने व्यवस्था गरेको पाईन्छ । उक्त दफामा भएको व्यवस्थाको साथमा प्रमाण ऐनको दफा २९ मा भएको व्यवस्था हेर्दा अदालतले यस ऐन बमोजिम अनुमान गरेको कुनै कुरा कुनै पक्षले खण्डन गर्न चाहेमा त्यसको प्रमाण पुर्‍याउने भार सोही पक्षको हुनेछ भनि उल्लेख भएको पाईन्छ । यसमा वादी प्रतिवादीहरु बीच अंश पाउने ठहरी फैसला भएकोमा विवाद छैन तर फैसला बमोजिम तायदाती फाटवारीमा उल्लेखित सम्पत्ती अंशवण्डा भएको भन्ने र सोही आधारवाट हक हुन गएको भन्ने कुराको प्रमाण प्रतिवादी पक्षले पुर्‍याउनु पर्नेमा सो कर्तब्य पुरा नगरी केवल लेखाईको आधार मात्र लिएको पाइयो । हक वेहकमा प्रश्न उठी सकेपछि लिखत प्रमाणको महत्व हुने र प्रमाण आधार विनाको कोरा तर्कको कुनै गुन्जाइस रहने हुंदैन । यसै प्रसंगमा प्रमाण ऐनको दफा २७ को उपदफा (२) मा भएको व्यवस्था पनि प्रस्तुत विवाद सन्दर्भमा आकर्षित देखिन हुन आउंछ । सो उपदफामा भएको कानूनी व्यवस्था हेर्दा प्रचलित नेपाल कानून बमोजिम वादीलाई दिनु वा बुझाउनु पर्ने कुरा सो कानून बमोजिम दिएको वा वुझाएको छ भनी प्रमाणित गर्ने भार प्रतिवादीको हुनेछ भन्ने उल्लेख भएको पाईन्छ । सो कानूनी व्यवस्था बमोजिम अदालतको फैसलाबमोजिम वादीहरुले पाउने तायदाती अनुसारको अंश वादीहरुले यो, यति, यसरी यो मितिमा दिए पाएको भन्ने प्रमाणको भार र आफुले वेचेको जग्गा उपर आफ्नो एकलौटी स्वामित्व निर्विवाद हक भोग भएको भन्ने प्रमाणको भार प्रतिवादीमा रहनेमा निजले उल्लेखित कानूनी व्यवस्था बमोजिम सवुद प्रमाणबाट जिकिर पुष्टी गर्न सकेको पाईदैन । यस्तै विवादसंग सम्बन्धित यस अदालतवाट प्रतिपादित केहि नजीर शिद्धान्त यहां उद्धरण गर्नु वान्छनीय देखिन आउंछ । अंशियार वीच वण्डा नछुट्याई वांकी रहन आएको जग्गा अंशियार मध्ये कसैले आफ्नो नाममा दर्ता गराएको कारणवाट मात्र अरु अंशियारहरुको हक जान सक्ने स्थिति देखिदैन । ने.का.प. ०५१, अंक ५ पृष्ठ ३५२ नि. नं. ४९०७ अंशवण्डा वाट हक हुन आएको जग्गा साविक दर्तावाला विकुवहादुर र निजपछि प्रतिवादी कृष्णभक्तका नाममा दर्ता भै रहेको कारणवाट मीनवहादुरको अंश भाग जाने भन्न नमिल्ने र निज पछि वादीलाई आफ्नो नाम उल्लेख भएकै आधारमा मात्र प्रतिवादीले आफ्नो नाममा नामसारी गराउंदैमा वादीको अंश हक नहुने भन्न मिलेन । एकाको भागमा परेको अन्य प्रमाणवाट देखिन्छ भने त्यस्तो जग्गा अर्कै अंशियारको नाममा दर्ता रहन गएकोमा कानून बमोजिमको लिखत वेगर दर्तावालाको भन्न नमिल्ने ने.का.प. २०३०, नि.नं. ७२०, पृष्ठ २४ माथि विवेचना गरिएको आधार कारण एवं प्रतिपादित नजीर सिद्धान्त समेतवाट विवादित जग्गा सप्तरी जिल्ला अदालतको मिति ०३८।१२।३० को फैसलामा भएको मुद्दामा पेश भएको तायदातीमा चढेको जग्गा मध्येकै देखिदा उक्त जग्गा संगोलको सम्पत्ति भएको कुरामा विवाद देखिदैन। संगोलको सम्पत्ति विक्रि गर्दाको अबस्थामा मुलुकी ऐन लेनदेन व्यवहारको महलको १० नं. बमोजिम अंशियारहरुको मन्जुरी लिनुपर्नेमा पुनरावेदक वादीहरुको मन्जुरी लिएको देखिन नआउंदा वादी दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको फैसला उल्टी भै वादी दावी बमोजिम हाल ४ अंशियार मात्र कायम रहेको अबस्था देखिदा ४ खण्डको ३ खण्ड लिखत दर्ता बदर हुने ठहर्छ अरु तपशिल बमोजिम गर्नु ।

 

तपसिल

यसमा इन्साफ खण्डमा लेखिए बमोजिम कि. नं. २८६ को ज.वि. ०५ मध्ये ४ खण्डको ३ खण्ड जग्गाको दर्ता बदर भै वादीहरुको नाममा दर्ता कायम समेत हुने ठहरेकोले ऐनको म्यादभित्र वादीहरुले दर्ता गरिपाउं भनि दरखास्त दिए कानूनको रीतपुर्‍याई दर्ता गरी दिनु भनि मालपोत कार्यालय सप्तरीलाई दिनु .... १

वादीहरुले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफि. रु.३।प्रतिवादीवाट भरि पाउने हुंदा सो भराई पाउं भनि ऐनका म्यादभित्र भराई माग्न आए केहि दस्तुर नलिई भराई दिनु भनि शुरु जिल्ला अदालतमा लगत दिनु ....... २

मिसिल नियमानुसार गरी बुझाई दिनु .३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रामप्रसाद श्रेष्ठ

 

 

इति संवत २०६२ साल जेष्ठ २७ गते रोज ६ शुभम्  .......

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु