निर्णय नं. ४१८० - अपुताली हक कायम दर्ता बदर

निर्णय नं. ४१८० ने.का.प. २०४७ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४६ सालको दे.पु.नं. ८७७
फैसला भएको मिति : २०४७।६।२८।१ मा
पुनरावेदक/प्रतिवादी : जि.रुपन्देही गा.पं. कम्हरिया वा.नं. ७ बस्ने हरिहरप्रसाद थारु
विरुद्ध
विपक्षी/वादी : जि.रुपन्देही गा.पं. बनगाई वा.नं. ५ बस्ने मुण्डे थारुसमेत
मुद्दा : अपुताली हक कायम दर्ता बदर
(१) वादी प्रतिवादी दुवै एक समान हाँगाका समान हकवाला भए पनि अपुतालीको २ नं. बमोजिम संग बसेका हकवालाले अपुताली पाउने ।
(प्रकरण नं. १९)
(२) कुनै सम्पत्ति उपर दुई व्यक्तिले दावी गरेकोमा एउटाको दावी फजुल भए अर्को दाबेदारले पूरै नपाउने भन्ने स्थिति नहुने ।
(प्रकरण नं. १९)
पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्ज विहारीप्रसाद सिंह
विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदन गर्न अनुमति प्रदान नभएको आदेश उपर पुनरावेदनको अनुमति पाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. बेचु थारुका चार छोरा सुन्नर, गोली, जामुन, कप्तान भएकोमा सुन्नर परलोक भई निजको छोरा म मुण्डे, सूर्य बन्दु हौं । गोली परलोक भई निजको छोरा हरिहरप्रसाद, जामुन परलोक भई निजको छोरा भिखु हो । मृतक कप्तानको कुनै सन्तान थिएनन् । सुन्दर, गोली, जामुन अघि नै छुट्टी भिन्न भई अंश बण्डा गरी अलग भए तापनि कप्तान थारुलाई हामीसंग सगोलमा बसी आएको र निजको मृत्यु २०४०।११।५ मा भएकोले काजकृया समेत हामी वादीहरुले नै गरेका हौं । हामीलाई थाहा पत्तै नपाउने गरी विपक्षीले तपसीलको कप्तानका नाउँको जग्गा आफ्नो नाउँमा नामसारी गरेछन् । सो कुरा २०४१।५।१६ गते कि.नं. ३६७ को जग्गामा पनि गोडाई राखेको अवस्था विपक्षी आई कप्तान थारुको सबै जग्गा मेरा नाउँमा नामसारी भइसकेको छ भनी भनेबाट २०४१।५।२५ मा मालपोत कार्यालयमा गई हेर्दा थाहा भयो । हामीले सेवा टहल गरी काजकृया समेत गरेकोले अपुतालीको २ नं. बमोजिम हाम्रो हक लाग्ने जग्गा विपक्षीले दर्ता गराएको हुँदा हामीहरुको अपुताली हक कायम गरी विपक्षीको नाउँमा दर्ता बदर गरी दर्ता गराई चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको भिखु थारु, मुण्डे थारुको फिराद दावी ।
३. वादी दावी अनुसार कप्तान वादीहरुसंग सगोलमा बसेको र सेवा टहल र काजकृया समेत वादीले गरेको होइन । कप्तान परलोक हुँदा काजकृया समेत मैले गरेको र सो गर्दा लागेको ऋण तिर्न निजका नाउँको जग्गा नामसारी गरी केही जग्गा मैले बिक्री गरेको हो । स्वरुप र टुटेको सन्तान नभएकोले निजहरुको अपुताली वादीहरुले खाने र कप्तानको अपुतालीमा हरिहरप्रसादले खाने भनी वादीहरु र म प्रतिवादीका बीच सल्लाह भई कप्तानको सेवा टहल समेत गरी मरेपछि कप्तानको काजकृया समेत मैले नै गरेको हुँदा मेरो मात्र हक लाग्ने हो झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको हरिप्रसाद थारुको प्रतिउत्तर जिकिर ।
४. वादीबाट पेश भएको २०४०।११।४ को सक्कल लिखत देखाउँदा सुनाउँदा सोमा लागेको ल्याप्चे सहिछाप कारणी कप्तान थारुको होइन कस्को हो थाहा छैन । कप्तान बेहोस भएको अवस्थामा गराएको हुँदा वादी मुण्डे, भिखु र सो लिखत लेख्ने साक्षी समेत मिली जालसाजी गरेका हुन भन्ने समेत व्यहोराको प्र.हरिप्रसाद थारुको बयान ।
५. बयान दावी झुठ्ठा हो लिखत सद्दे हो भन्ने वादी भिखु थारुको र मुण्डे थारुको बयान ।
६. प्रतिवादी हरिप्रसादले गरेको बयान झुठ्ठा हो । कप्तान थारुलाई मुण्डे थारुले पालन पोषण गरी काजकृया समेत निजले गरेको हुन् भन्ने समेत व्यहोराको बाहुन थारुको बयान ।
७. प्रतिवादी हरिप्रसादले गरेको बयान सुने । सो अनुसार हामीले जालसाज गरेको होइन भन्ने समेत रुपा विश्वकर्मा समेतले गरेको बयान ।
८. २०४०।११।४ को लिखत जालसाज हो भन्ने हरिप्रसादको बयान सुने । वादी दावी अनुसार निज हरिप्रसादले पालन पोषण गरेको होइन कप्तानको काजकृया समेत मुण्डेले नै गरेका हुन भन्ने समेत वृजलाल श्रेष्ठ समेतको बयान ।
९. शुरुबाट वादी प्रतिवादीका साक्षी समेत बुझिएको रहेछ ।
१०. यसमा बुझिएसम्मको प्रमाणबाट वादी दावी बमोजिम प्रतिवादी हरिप्रसाद थारुले गराएको दर्ता बदर भई वादी मुण्डे थारुको हक कायम हुने र वादीले चलन समेत चलाई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतको २०४३।५।१५।१ को फैसला ।
११. उक्त फैसलामा मेरो चित्त बुझेन शुरु फैसला बदर गरिपाउँ भन्ने हरिप्रसाद थारुको २०४३।६।२३।५ को पुनरावेदन जिकिर ।
१२. मृतक कप्तान थारुको सेवा सुसार गर्ने व्यक्ति वादी मुण्डे थारु देखिएको र पञ्च भलादमी राखी मिति २०४०।११।४ मा कप्तानले शेष पछिको कागज गरिदिनका साथै लिखत साक्षीहरुले कागज सत्य व्यहोराको भनी कागज गरिदिनुका अलावा सो लिखत जालसाजी भनेकोमा जालसाजी भनी प्रमाणित गर्न समेत सकेको नदेखिँदा प्रतिवादी हरिहर थारुले गराएको दर्ता बदर भई वादी मुण्डे थारुको हक कायम हुने र वादीले चलन चलाई लिन पाउने गरी शुरु अदालतले गरेको फैसला सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको लुम्बिनी अञ्चल अदालतबाट मिति २०४४।५।२२ मा भएको फैसला ।
१३. लुम्बिनी अञ्चल अदालतबाट भएको फैसलामा कानुनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी हरिहरप्रसाद थारुको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको निवेदनपत्र ।
१४. रुपन्देही जिल्ला अदालतको इन्साफ सदर गरेको लु.अं.अ. को फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (४) को अवस्था विद्यमान देखिन नआएको हुँदा पुनरावेदनको अनुमति दिन मिलेन भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४५।६।६ मा भएको आदेश ।
१५. पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको आदेश कानुनी त्रुटिपूर्ण हुँदा बदर गरी पुनरावेदन गर्न अनुमति पाउँ भनी प्रतिवादी हरिहरप्रसाद थारुको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
१६. यसमा मर्ने कप्तान थारुको अपुतालीमा निवेदक प्रतिवादी र विपक्षी वादी समेत सबै हकवालाको समान हक भएको अर्थात एक समान हाँगाका भएकोमा विवाद देखिन्न । विपक्ष वादी मध्येको मुण्डे थारु नै मर्ने कप्तानका साथसंग बसी आएको तथा निजको स्याहार संभार हेरविचार गरी मृत्यु पश्चात काजकृया समेत गरेको भन्ने कुरा पनि निर्विवाद पुष्टि हुनसकेको देखिँदैन । यस्तो अवस्थामा प्र.हरिहरप्रसाद नाउँको दर्ता बदर गरी विपक्षी वादी मध्येका मुण्डे थारुको मात्र हक कायम हुने समेत ठहराएको शुरुको इन्साफ सदर गरेको लुम्बिनी अञ्चल अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान नगरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको आदेशमा अपुतालीको २ नं. तथा प्रमाणको मूल्यांकन सम्बन्धी प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको व्याख्यात्मक त्रुटि गरेको देखिँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३ (५)(ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालतबाट मिति २०४६।२।५ मा भएको आदेश ।
१७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी हरिहरप्रसाद थारुको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंहले मेरो पक्ष हरिहरप्रसाद थारुले कप्तानको सेवा सुश्रुसा गरेको कुरा पञ्चायतले प्रमाणित गरिदिएकोछ । २०४०।११।४ को कागज पास भएको छैन । वादीहरु दुवैले दावी गरेकोमा वादी मुण्डेको नाउँमा मात्र दर्ता कायम गरेको मिलेको छैन । वादी दावी भन्दा बढी निर्णय गर्न मिल्ने होइन । यस्तो अवस्थामा मुण्डेले पूरा पाउने ठहराएको इन्साफ गल्ती हुँदा उल्टी हुनुपर्छ भन्ने तथा विपक्षी वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारीले वादी मुण्डे मर्ने कप्तानसंग बसेको हकवाला हो । कप्तानको सेवा सुश्रुसा गरे बापत वादीले यो सम्पत्ति पाएको हो । उक्त कुरा कप्तानले गरेको २०४०।११।४ को कागजबाट देखिन्छ । उक्त कागजले संग बसेको तथ्यलाई औंल्याएको छ । त्यस्तो कागज पास हुनु पर्दैन । जालसाजीको सबूद आएन । अतः शुरु जि.अ. को इन्साफ सदर गरेको लु.अं.अ. को इन्साफ मनासिब भएकोले सदर होस भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।
१८. प्रस्तुत मुद्दामा वादी मुण्डेको हक कायम हुने र चलन समेत चलाई दिने ठहराएको शुरु जि.अ. को इन्साफ सदर गरेको लु.अं.अ. को इन्साफ र सो फैसला उपर अनुमति नदिने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको आदेश मिले नमिलेको के रहेछ हेरी निर्णय दिनुपर्ने हुन आयो ।
१९. यसमा निर्णयतर्फ विचार गर्दा २०४०।११।५ को दिन कान्छा बाबु कप्तान थारु आफ्नो कालगतिले परलोक भएको, निजको दाहसंस्कार र क्रिया समेत हामी वादीहरुले गरेको र निज मृतक कप्तान थारुसंग हामी सराकतमा बसी आई निजको सेवा टहल आदि हामीहरुले नै गरेकोले अपुतालीको २ नं. बमोजिम कप्तान थारुको श्रीसम्पत्ति हामीले भोगचलन गरी आएकोमा विपक्षीले चुपचाप मालपोत कार्यालय रुपन्देहीमा नामसारी गरी लिएको रहेछ । तपसीलमा उल्लेखित भएका जग्गामा हामी वादीहरुको अपुताली हक कायम गराई विपक्षीको दर्ता बदर समेत गरी कब्जा खिचोला समेत मेटाई हाम्रो नाउँमा दर्ता गराई पाउँ भन्ने वादीको मुख्य जिकिर भएकोमा कप्तानको सेवा टहल मैले गरेको हो । वादीहरुले रामदत्तको छोरा स्वरुप र ठुटेको अपुताली खाने र मैले कप्तानको अपुताली खाने भन्ने सल्लाह भएको भन्ने प्रतिवादीको मुख्य प्रतिवाद जिकिर देखिन्छ । प्रतिवादीले मर्ने कप्तानको अपुताली खाने र वादीहरुले रामदत्तको छोरा स्वरुप र ठुटेको अपुताली खाने गरी सल्लाह भएको कुराको प्रमाण त्यस्तो कुराको जिकिर लिने प्रतिवादीले प्रमाणित गर्नु पर्ने हुन्छ । तर मर्ने कप्तानको अपुताली प्रतिवादीहरुले खाने कुराको प्रमाण प्रतिवादीले दिन सकेको पाइन्न । मर्ने कप्तानको स्याहार सम्भार गरेको कुरालाई लिएर मर्ने कप्तानले मर्नु भन्दा अघि २०४०।११।५ मा गरिदिएको कागज वादीले फिरादसाथ पेश गरेको देखिन्छ । सो कागज प्रतिवादीलाई सुनाउँदा प्रतिवादीले उक्त कागजलाई निचोड एवं मुल रुपमा जालसाज भनेको पाइन्छ । तर जालसाजीको प्रमाण प्रतिवादीबाट आउन सकेको छैन । बुझिएका व्यक्तिहरुले उक्त २०४०।११।४ को कागज जालसाज होइन भनेका छन् । यस्तो अवस्थामा प्रमाणको अभावमा २०४०।११।४ को कागजलाई जालसाज भन्न मिलेन । वादीले स्याहार संभार गरेको सबूदको रुपमा पेश गरेको मर्ने कप्तानले मर्नु भन्दा अघि २०४०।११।४ मा गरिदिएको कागज कानुनले पास हुन पर्ने हुँदा त्यस्तो पास नभएको कागज प्रमाणमा लिन नमिल्ने हुँदा सद्दे जालसाजीतर्फ विचारै गर्न नपर्ने भन्ने पुनरावेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ताको बहस भएकोमा उक्त कागजबाट मर्ने कप्तानको नाउँमा भएको जग्गा वादीलाई हस्तान्तरण गरेको नदेखिई मर्नु अगाडि साक्षीहरुका रोहवरमा आफ्नो सम्पत्तिको सम्बन्धमा आफ्नो इच्छासम्म व्यक्त गरेको र आफूलाई स्याहार संभार गर्नेमा वादी मुण्डेलाई देखाएकोले त्यसरी मर्ने कप्तानलाई वादी मुण्डेले स्याहार संभार गरेको भनी लेखिएको व्यहोरालाई प्रमाण लिन नमिल्ने भन्ने पुनरावेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ताको भनाई जिकिर मनासिब देखिएन । अपुतालीको २ नं. हेर्दा “अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी छोरा वा छोराको छोरा भएसम्म छोरीले अपुताली पाउँदैन । त्यस्तो कोही नभए छोरीले अपुताली पाउँछ । छोरीहरुमध्ये कोही कन्या र कोही विवाह भएकी वा पोइल गएकी भए प्रत्येक कन्या छोरीले दुई खण्ड र प्रत्येक विवाह भएकी वा पोइल गएकी छोरीले एक खण्डको हिसाबले अपुताली पाउँछ । छोरी नभए संग बसेका हकवाला भए त्यस्ता हकवालाले र त्यस्ता हकवाला नभए अरु हकवालाले अपुताली पाउँछ” भन्ने लेखिएको पाइन्छ । वादी प्रतिवादी दुवै एक समान हाँगाका समान हकवाला भए पनि अपुतालीको २ नं. बमोजिम संग बसेका हकवालाले अपुताली पाउने हो । अब वादी प्रतिवादी मध्ये मर्ने कप्तान कोसंग बसेको रहेछ भनी हेर्दा मर्नेले मौकामा गरेको २०४०।११।४ का लिखतबाट वादी मुण्डे थारु मर्ने कप्तानसंग साथै बसेको र निज मर्ने कप्तानलाई लालन पालन र स्याहार संभार गरेको भन्ने उक्त लिखतबाट देखिन आएकोले वादी प्रतिवादी एक समान हाँगाको देखिए पनि मर्ने कप्तानको अपुताली कप्तानसंग साथै बस्ने वादी मुण्डेले पाउनेमा विवाद देखिन्न । दावी भन्दा बढी वादीलाई दिलाइयो सो मिलेको छैन भन्ने प्रतिवादी पुनरावेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ताको बहस भएकोमा वादी मुण्डेले मर्ने कप्तानको सम्पत्ति आधी मेरो हक लाग्ने हुँदा आधी पाउँ भनी फिराद दावी गरेको देखिन्न । कुनै सम्पत्ति उपर दुई व्यक्तिले दावी गरेकोमा एउटाको दावी फजुल भए अर्को दावेदारले पुरै पाउँदैन भन्ने स्थिति हुँदैन । वादी मुण्डे कप्तानसंग साथै बसी कप्तानको स्याहार संभार आखिरी समयसम्म निजै वादी मुण्डे थारुबाटै भएको २०४०।११।४ को कागजबाट समेत देखिन आएकोले वादी दावी बमोजिम प्रतिवादीले आफ्नो नाउँमा नामसारी दर्ता गराएको बदर भई वादी मुण्डे थारुको हक कायम हुने र वादीले चलन समेत पाउने ठहराएको शुरु रुपन्देही जिल्ला अदालतको इन्साफ सदर गरेको लुम्बिनी अञ्चल अदालतको इन्साफमा सो फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान नगरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको आदेश मिलेकै देखिँदा पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ । कोर्टफी राखी पुनरावेदन गरेको देखिँदा केही गर्नु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हिरण्येश्वरमान प्रधान
इतिसम्वत् २०४७ साल आश्विन २८ गते रोज १ शुभम् ।