शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१८१ - उत्प्रेषण

भाग: ३२ साल: २०४७ महिना: कार्तिक अंक:

निर्णय नं. ४१८१     ने.का.प. २०४७      अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४६ सालको रि.नं. ७९३

आदेश भएको मिति : २०४७।७।२६।२ मा

निवेदक      : का.न.पं. वा.नं. १६ बस्ने नारायणबहादुर के.सी.

विरुद्ध

प्रत्यर्थी : का.न.पं.का कार्यवाहक प्र.पं.श्री शारदाप्रसाद भट्टराईसमेत

विषय : उत्प्रेषण

(१)   तेरो मेरोको प्रश्न उपस्थित भएकोमा अदालतमा जान सुनाउनु पर्ने व्यवस्था भएकोमा मुद्दा परेको जानकारी हुँदाहुँदै नक्शा पास हुने ठहराई गरेको निर्णय त्रुटिपूर्ण देखिने ।

(प्रकरण नं. ६)

निवेदक तर्फबाट     : विद्वान अधिवक्ता श्री श्रीभक्त भडेल

आदेश

न्या.गजेन्द्रकेशरी बास्तोला

१.     नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    दाजु श्यामकृष्ण तथा आमा मनमायाँ बीच मिति २००८।४।२८ गते अंशबण्डा पारित हुँदा चोकदेखि उत्तरको इनार सो इनारको लगायत इनारको पर्खाल भित्रको जग्गा अर्थात कुमारी स्थान र पिपलको बोट सीमाना राखी बण्डा भएपछि कुमार स्थानको अस्तित्व कायम गर्न निज श्यामकृष्ण तथा आमा मनमायाँ बीचको राय सल्लाह अनुसार कुमारी स्थान र पिपलबोटमा जाने साझा बाटो स्थापित गरी कायम भएकोले उक्त कुमारी स्थान र पिपलको बोट परिक्रमा गर्ने साझा बाटो कायम गरी बार लगाई भोगचलन गरी आएकोमा सर्भे नापी हुँदा फिल्ड बुकमा का.जि. का.न.पं. वडा नं. २० को हाल १६ कि.नं. ३७२ क्षेत्रफल ०१ श्यामकृष्ण के.सी. र मेरो नाममा साझा जनिई नापी भएकोमा निज श्यामकृष्णले उजूर गरी नापी टोलीबाट मलाई बुझी मिति ०३७।५।२९ मा साझा दर्ता गर्ने निर्णयानुसार कि.नं. ३७३ को सम्बन्धमा मुद्दा परी उक्त कि.नं. ३७२ बण्डापत्र बमोजिम साझा नै हुने ठहराई काठमाडौं जिल्ला अदालतबाट मिति ०३९।११।२५ मा अन्तिम फैसला भएकोमा विपक्ष विदुरबहादुरले का.जि. का.न.पं. वडा नं. १६ कि.नं. ९४६ को क्षेत्रफल ०२ जग्गामा ल.फुट १३, चौ.फुट १२, उचाई ३० फुटको प्रेशित नक्शा बमोजिम घर बनाउन पाउँ भनी नक्शा दर्खास्त दिनु भई काठमाडौं नगरपञ्चायतबाट मेरो नाममा जारी भएको १५ दिने सूचनाको म्याद भित्र उक्त जग्गा साविक कि.नं. ३७२ बाट कित्ताकाट भएको जग्गा हो उक्त कि.नं. ३७२ को जग्गा सर्भे नापी हुँदा साझा जनिई नापी टोलीबाट मिति ०३७।५।२९ मा साझा दर्ता गर्ने निर्णय अन्तिम भएकोले नगरपञ्चायत ऐन, ०१९ को दफा ४९(२) बमोजिम तेरो मेरो हक बेहक परेको जग्गामा नक्शा पास गर्ने अधिकार नहुँदा नक्शा पास कार्य रोक्का गरी पाउँ भनी लिखितजवाफ दिएको र विपक्षका दाता एवं श्यामकृष्णका पत्नी मथुरा के.सी.ले एकलौटी रुपले दर्ता गरी विपक्ष विदुरबहादुर ढकाललाई कि.नं. ३७२ को जग्गा मध्ये पूर्व दक्षिणतर्फको ०२ जग्गा हालैदेखिको बकसपत्र गरी दिए उपर निवेदक समेतको मालपोत कार्यालय काठमाडौंको मिति ०३९।९।२८ गते श्यामकृष्ण के.सी. को नामबाट मथुरा के.सी. को नाममा नामसारी दर्ता गर्ने गरेको गैरकानुनी निर्णय, मिति २०४६।२।१० मा हालैदेखिको बकसपत्रको लिखतको आधारमा विपक्ष विदुरबहादुर ढकालको नाममा भएको दर्ता समेत बदर गरी उक्त जग्गा मध्ये आधा जग्गामा साझा हक कायम गरी पाउँ भन्ने समेत फिराद परी कारवाही चली नै रहेकोले सो को जनाउ दिएकोमा काठमाडौं नगरपञ्चायतबाट मिति ०४६।६।११।४ मा नक्सा पास हुने ठहराई गरिएको फैसला मुलुकी ऐन अ.बं. ३५ नं. ले बदरभागी छ । उपरोक्त बमोजिम का.न.पं. बाट न.पं. ऐन, ०१९ को दफा ४९(२) विपरीत गरेको ०४६।६।११।४ को निर्णयबाट संविधानको धारा ११(२)(ङ) १५ द्वारा प्रदत्त संवैधानिक हक हनन् हुन गएको हुनाले उत्प्रेषणको आदेशद्वारा उक्त निर्णय बदर गरिपाउँ भन्ने समेत रिटनिवेदन ।

३.    यसमा विपक्षहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालतको एक न्यायाधीशको इजलासको मिति ०४६।७।१।३ को आदेश ।

४.    यस अदालतबाट तामेल भएको म्यादभित्र प्रत्यर्थीहरुले लिखितजवाफ पेश नगरी बसेको देखिन्छ ।

५.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्रीभक्त भडेलको बहस समेत सुनियो । यसमा निवेदकको माग बमोजिम आदेश जारी गर्न पर्ने नपर्ने के हो ? सो विषयमा निर्णय दिनु पर्ने हुन आयो ।

६.    यसमा बण्डापत्र बमोजिम साझा नै हुने ठहरी का.जि.अ. को ०३९।११।२५ को निर्णयबाट अन्तिम रुपमा रहेको कि.नं. ३७२ को जग्गा मध्ये पूर्व दक्षिणतर्फको ०२ जग्गा कि.नं. ९४६ कायम भई मिति ०४६।२।१० को हालैदेखिको बकसपत्रको लिखतको आधारमा विपक्षी विदूरबहादुर ढकालको नाममा दर्ता भए सम्बन्धमा सो दर्ता बदरको मुद्दा जिल्ला अदालतमा कारवाही चल्दैको अवस्थामा काठमाडौं नगरपञ्चायतबाट सो जग्गामा नक्शा पास हुने ठहराई गरेको मिति ०४६।६।११।४ को निर्णय बदर गरिपाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर रहेछ । प्रत्यर्थीहरुले आफ्नो तर्फबाट लिखितजवाफ पेश गरेको देखिएन । उल्लेखित नगरपञ्चायतको मिति ०४६।६।११।४ को निर्णय हेर्दा घर बनाउन पाउँ भनेको जग्गा र साविक कि.नं. ३७२ को क्षेत्रफल ०१ बाट कित्ताकाट भई कि.नं. ९४६ दाता मथुरा के.सी. बाट वादीले प्राप्त गरेकोमा विवाद देखिन्न । वादीलाई २ पैसा जग्गा बकस गरेको र बाँकी ०१ दाता मथुरा के.सी. कै नाउँमा अद्यावधी कायम रहेकै देखिँदा आधी हक कायम भए पनि दाता मथुरा के.सी. कै बाँकी जग्गाबाट यी प्रतिवादीले पाउन सक्ने नै देखिँदा हाल वादी विदुरले पाएको जग्गामा यी प्रतिवादीको उजूरीबाट असर पर्ने नदेखिँदा प्रस्तुत नक्शा पास हुने ठहर्छ भन्ने उल्लेख छ । निवेदक नारायणबहादुर के.सी. ले नगरपञ्चायतमा आफूले उक्त जग्गाका सम्बन्धमा विपक्षीको नाममा निर्णय दर्ता लिखत बदर गरी साझा हक कायम गरी पाउँ भनी काठमाडौं जिल्ला अदालतमा फिराद दर्ता गरी मुद्दा चली रहेको जानकारी दिई सो जग्गामा तेरो मेरो हक बेहकको स्थिति स्पष्ट पारेको कुरामा विवाद रहेन । नक्शा पास गरिपाउँ भनेको जग्गामा हक बेहक परेको स्पष्ट देखिँदा देखिँदै काठमाडौं नगरपञ्चायबाट हक बेहकमा समेत पसी नक्शा पास हुने ठहराई निर्णय गरेको देखिन्छ । नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) बमोजिम तेरो मेरोको प्रश्न उपस्थित भएकोमा अदालतमा जान सुनाउन पर्ने व्यवस्था भएकोमा काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको जानकारी हुँदा हुँदै नक्शा पास हुने ठहराई गरेको निर्णय त्रुटिपूर्ण देखियो । अतः उक्त नक्शा पास गर्ने ठहराएको काठमाडौं नगरपञ्चायतको मिति २०४६।६।११।४ को निर्णय कानुन अनुकूल देखिन नआएकोले सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.सुरेन्द्रप्रसाद सिंह

 

इतिसम्वत् २०४७ साल कार्तिक २६ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु