शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१८४ - लिलाम दर्ता बदर

भाग: ३२ साल: २०४७ महिना: कार्तिक अंक:

निर्णय नं. ४१८४     ने.का.प. २०४७      अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४५ सालको दे.वि.नं. ३५

फैसला भएको मिति: २०४७।६।२९।२ मा

निवेदक/वादी : जि.मोरड्ड बबिया विर्ता गा.पं. वा.नं. १ बस्ने छत्रबहादुर भट्टराई

विरुद्ध

विपक्षी/प्रतिवादी : वि.न.न.पं. वा.नं. १५ स्थित कृ.वि.बैं.का अञ्चल प्रबन्धक प्रभुप्रसाद पराजुलीसमेत

मुद्दा : लिलाम दर्ता बदर

(१)   ऋण लिएकै बैंकमा गई रुपैयाँ बुझाउनु पर्ने ।

 (प्रकरण नं. ११)

(२)   ऋण लिएको बैंकमा ऋण नबुझाई अर्को बैंकमा बुझाउन पाउने सुविधा प्राप्त छ भन्न नमिल्ने ।

(प्रकरण नं. ११)

(३)   रुपैयाँ बुझाएको सूचना लिलाम हुने मिति सम्ममा सम्बन्धित बैंकमा पुग्न नसकेको समेतबाट लिलाम हुने निश्चित मिति तोकी कानुन बमोजिम भएको लिलाम बदर हुनसक्ने तथा सो लिलाम बदर गरी लिलाममा सकार गरी लिनेका नाममा भएको नामसारी दर्ता समेत बदर हुन्छ भन्न नमिल्ने ।

(प्रकरण नं. ११)

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला

१.     पू.क्षे.अ. को फैसला उपर इन्साफ जाँच गरी पाउँ भनी बिन्तिपत्र परेकोमा इन्साफ जाँच गरी कानुन बमोजिम निर्णय दिनु भनी श्री ५ महाराजाधिराजबाट हु.प्र.बक्स भई आए बमोजिम यस अदालतको विविधको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.    म छत्रबहादुर भट्टराईका नाम दर्ताको जि.मोरंग बबिया गा.पं. वडा नं. १(ग) कि.नं. ११८ को ०१३१८, ऐ.कि.नं. १३६ को १, कि.नं. १३५ को ०४ समेत जम्मा २१७४ जग्गा धितो राखी विपक्षी कृषि विकास बैंकबाट पम्पसेट लिए बापत ०३०।७।३० मा रु. ४८५०।ऋण लिएको थिएँ । सो ऋण मध्ये रु. २,७००।बुझाएको छु । उक्त रुपैयाँ बुझाएपछि विपक्षी बैंकले कानुन विपरीत व्याज जोडी बढी हिसाब गरेको हुँदा बाँकी रुपैयाँ बुझाउन बाँकी नै थियो २०४०।९।८ गते मेरो नाउँमा जम्मा ९,५५१।४६ देखाई रुपैयाँ नबुझाएमा जग्गा लिलाम हुने भनी २०४०।८।१७ गते गो.प. मा सूचना प्रकाशित भएको छ । २०४०।९।८ मा लिलाम हुने थाहा पाई २०४०।९।७ गते पायक पर्ने कृषि विकास बैंक उपशाखा कार्यालय बेलवारीमा गई जम्मा रु. ९,९००।बुझाएको छु । रुपैयाँ बुझाएर पनि मेरो उक्त जग्गा लिलाममा गराई कि.नं. ११८, १३६, १४६ सिम कि.नं. १३५ मध्ये उत्तरतर्फबाट ०६ समेत २० जग्गा विपक्षी राधेश्याम दलीले रु. १२,०००।मा लिलाममा सकारेछन र बैंकको पत्रको आधारमा सो जग्गा विपक्षी राधेश्यामका नाउँमा दर्ता समेत भएको कुरा थाहा पाएकोले गैरकानुनी लिलाम बदर गरी लिलामीको आधारमा राधेश्यामले गराएको दर्ता समेत बदर गरिपाउँ भन्ने समेत फिरादपत्र ।

३.    विपक्षी फिरादीले २०३०।७।३० मा कबूलियत गरी २१७४ जग्गा धितो लिखत गरी कर्जा लिनु भएको कबूलियत अनुसार रुपैयाँ नबुझाएकोले मिति २०३१।१२।१९, २०३३।५।२, २०३२।७।११, २०३२।१०।२६, २०३३।११।१८, २०३४।२।१३, २०३४।११।२ मा समेत साँवा ब्याज हर्जाना समेत बुझाउनु भनी लिखित ताकेता गर्दा अटेर गरी ऋण नतिर्ने विचार लिएकोले बैंक ऐन नियमावली बमोजिम २०४०।९।८ मा लिलाम हुने भनी २०४०।७।१७ को गो.प. मा सूचना प्रकाशित गरी २०४०।९।८ मा लिलाम भइसकेपछि बेलबारी कार्यालयबाट २०४०।९।१७ मा छत्रबहादुरले बुझाएको रकम प्राप्त भएकोले निजलाई फिर्ता दिन पत्र पठाई सकिएको छ । लिलाम कायम राखी दर्ता समेत कायम राखी पाउँ भन्ने समेत कृषि विकास बैंक विराटनगरको प्रतिउत्तरपत्र ।

४.    कृषि विकास बैंकद्वारा २०४०।७।१७ मा प्रकाशित सूचना अनुसार २०४०।९।८ गते लिलाम हुँदा मैले रु. १२,०००।मा २१० जग्गा डाँक बोल्दा सो जग्गा सकार भई कबूल गरेको रकम बैंकलाई बुझाएपछि सो जग्गा मेरा नाउँमा दर्ता भई जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएको छु भन्ने समेत राधेश्याम दलिको प्रतिउत्तरपत्र ।

५.    वादीले आफूले तिर्नु पर्ने रकम ऋण लिएको कार्यालयमा नबुझाई बाटाको म्याद समेत नराखी तिर्नु पर्ने रकम भन्दा पनि कम रकम उपशाखामा वादीले धरौट राखेकोलाई कानुनी मान्यता दिन नमिल्ने हुँदा लिलाम दर्ता बदर गरी पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत कोशी अञ्चल अदालतको २०४१।९।२ को फैसला ।

६.    मैले बुझाउनु पर्ने भनिएको ९,५५१।४६ भन्दा बढी ने.रु. ९,९००।लिलाम हुने अघिल्लो दिन उपशाखा वेलबारीमा बुझाई सकेपछि भएको लिलाम र दर्ता बदर गर्नु पर्ने नगरेको कोशी अञ्चल अदालतको फैसला बदर गरी इन्साफ पाउँ भन्ने समेत वादीको पुनरावेदनपत्र ।

७.    कृषि विकास बैंक अन्तर्गत उपशाखा कार्यालयमा रुपैयाँ बुझाएको देखिँदा रकम दाखिला भइसकेपछि गरिएको लिलाम गैरकानुनी देखिएकोले अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने पू.क्षे.अ. को एक न्यायाधीशको इजलासको आदेश ।

८.    वादीले कृषि विकास बैंक अञ्चल कार्यालय विराटनगरबाट ऋण लिएकोमा सोही लिलाम हुने स्थान विराटनगरमा नै रुपैयाँ बुझाउन जानु पर्नेमा त्यहाँ बुझाउन नगई कृषि विकास बैंकको उपशाखा कार्यालय वेलबारीमा बुझाएको र त्यसरी रुपैयाँ बुझी लिएकोबाटै कानुन बमोजिम भएको लिलाम बदर हुन सक्ने तथा सो लिलाम बदर सकार गरी लिने प्र.राधेश्यामका नाममा भएको नामसारी दर्ता समेत बदर हुन्छ भन्न मिल्ने नहुँदा वादी दावी पुग्न नसक्ने ठहर्‍याएको कोशी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पू.क्षे.अ. को फैसला ।

९.    सो उपर सर्वोच्च अदालतमा पुनरावेदनको अनुमतिको निवेदन परेकोमा सर्वोच्च अदालतबाट अनुमति प्रदान नभएबाट इन्साफ जाँचको लागि बिन्तिपत्र परेकोमा इन्साफ जाँच गरी कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराजबाट हु.प्र.बक्स भई आए बमोजिम यस अदालतको विविधको लगतमा दर्ता भएको रहेछ ।

१०.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी निवेदक वादी पक्षलाई पुकार्न लगाउँदा कोही उपस्थित हुन नआएको हुँदा पू.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।

११.    निर्णयतर्फ विचार गर्दा यसमा वादी छत्रबहादुर भट्टाराईले मिति २०३०।७।३० मा कृषि विकास बैंक अञ्चल कार्यालय विराटनगरबाट पम्पसेट खरिदका लागि भनी कर्जा लिएको र सो कर्जा लिंदा २१७४ जग्गा धितो राखेको साथै उक्त कर्जा मिति २०३२ साल चैत्र मसान्तसम्म बुझाई सक्नु पर्ने भाखा रहेकोमा विवाद देखिएन । सो बमोजिम वादीले उक्त ऋण रकम नबुझाएको हुँदा प्र.बैंकतर्फबाट निजलाई विभिन्न मितिमा ताकेता पत्रहरु प्रेषित गरेको र मिति २०४३।१०।७ मा सोही साल फाल्गुण मसान्तसम्म चुक्ता गर्नेछु त्यस पछि पनि बुझाइन भने लिलाम गर्न मन्जूर छ भनी कागज गरेको पनि देखिन्छ । त्यसपछि पनि नबुझाएकोबाट विपक्षी बैंकले मिति २०४०।७।१७ को गो.प. मा लिलाम हुने सूचना प्रकाशित गरी मिति २०४०।९।८ मा लिलाम हुने स्थान र मिति तोकेको पाइन्छ । त्यसरी सूचना प्रकाशित भएपछि निवेदकले ऋण लिएकै उक्त बैंकमा गई रुपैयाँ बुझाउनु पर्नेमा त्यहाँ नबुझाई कृषि विकास बैंकको उपशाखा बेलवारीमा गई लिलाम हुने मिति भन्दा एक दिन अगाडि मात्र रु. ९,९००।दाखिल गरेको भन्ने देखिन्छ । यसरी ऋण लिएको बैंकमा ऋण नबुझाई अर्को बैंकमा बुझाउन पाउने सुविधा निजलाई प्राप्त छ भन्न मिल्दैन । यसरी बेलबारी उपशाखा कार्यालयमा उक्त रुपैयाँ बुझाएको सूचना लिलाम हुने मितिसम्ममा सम्बन्धित बैंकमा पुग्न नसकेको समेतबाट लिलाम हुने निश्चित मिति तोकी कानुन बमोजिम भएको लिलाम बदर हुन सक्ने तथा सो लिलाम बदर गरी लिलाममा सकार गरी लिने प्र.मध्येका राधेश्याम दलीका नाममा भएको नामसारी दर्ता समेत बदर हुन्छ भन्न मिल्ने समेत नहुँदा वादी दावी पुग्न नसक्ने ठहर्‍याएको कोशी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्‍याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४७ साल आश्विन २९ गते रोज २ शुभम् ।



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु