शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१९१ - जबरजस्ती करणी

भाग: ३२ साल: २०४७ महिना: मंसिर अंक:

निर्णय नं. ४१९१     ने.का.प. २०४७      अङ्क ८

 

पूर्णइजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४५ सालको फौ.पु.ई.नं. २१

फैसला भएको मिति: २०४७।४।३०।३ मा

निवेदक/प्रतिवादी : कपिलवस्तु जि.सिद्धिपुर वा.नं. ४ बस्ने सागरप्रसाद श्रेष्ठसमेत

विरुद्ध

विपक्षी/वादी : पूर्णकुमारी राना मगरको जाहेरीले श्री ५ को सरकार                       

मुद्दा : जबरजस्ती करणी

(१)   मानिसको स्खलित वीर्य गुप्ताड्डमा देखिए पनि प्रमाणित नभएको अवस्थामा उक्त स्खलित वीर्य प्रतिवादीहरु कै हो भनी यकीन ठहर गर्न न्यायोचित नदेखिने ।

(प्रकरण नं. २७)

(२)   जबरजस्ती करणीको उद्योग भएको भन्नेतर्फ स्वयं जाहेरवालीको कथन छैन, जबरजस्ती करणीको उद्योगको वारदात भएको तर्फको कुनै सबूद प्रमाण मिसिलमा देखिन्न, वारदात भएको भनिएको होटलमा रहेका अन्य व्यक्ति समेतले जबरजस्ती करणीको उद्योगतर्फ कुनै कुरा लेखिदिएको देखिन्न, तसर्थ शंकारहित तवरबाट यी प्रतिवादीहरु उपर वादी दावी अनुसारको अभियोग प्रमाणित हुन नआएकोले जबरजस्ती करणीको उद्योग गरेको तर्फ समेत प्रमाणको अभाव देखिने र अनुमानको आधारमा दोषी ठहराउन नमिल्ने ।

(प्रकरण नं. २७)

डि.वे.का. ०४२।११।५ को फैसला ने.का.प. भाग २७, अड्ढ ११ पृष्ठ ९९६ मा प्रकाशित भएको ।

निवेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली

विपक्षी/वादी तर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह

१.     श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४२।११।५ मा भएको फैसला दोहर्‍याई पाउँ भनी प्रतिवादी सागरप्रसाद श्रेष्ठ समेतले न्यायिक समिति मार्फत चढाई पठाएको बिन्तिपत्र र सो सम्बन्धमा न्यायिक समितिको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्‍याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदरवारबाट मिति २०४५।३।२ मा लेखी आए बमोजिम पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.    ०३६।४।७ को रात प्रहरी गस्ती गर्दै जाँदा तौलिहवा बजार स्थित गुल्मेली होटल माथिल्लो तल्लामा गुहार गुहार भनी रोएको शब्द सुनी सो होटलमा १४ वर्षकी केटी अस्तव्यस्त स्थितिमा ७ जना मानिसहरु नजिकै रहेको सो केटीलाई सोद्धा मलाई यिनीहरुले जबरजस्ती भुँई तल्ला देखि माथिल्लो तल्लामा बोकी ल्याई जबरजस्ती करणी गरेका हुन भन्ने कुरा तत्कालै बताएको हुँदा उक्त मानिसहरुलाई पक्राउ गरी दाखिल गरेको छु भन्ने समेत व्यहोराको ०३६।४।८।३ को प्रहरी ना.नि. मोहन सिं आलेको प्रतिवेदन ।

३.    म कोठामा सुतेको अवस्थामा ७ जना व्यक्तिहरु माथिल्लो तल्लामा सुत्न गएका थिए तिनीहरु मध्ये १ जना राती ११ बजेतिर मलाई जबरजस्ती तल्लो कोठाबाट माथिल्लो कोठामा लगी कसैले हात कसैले खुट्टा समेत समाई पालै पालोसंग मेरा इच्छा विरुद्ध जबरजस्ती करणी गर्दाको अवस्थामा म आत्तिई चिच्याई गुहार गर्दा प्रहरी पुगी जबरजस्ती गर्ने ७ सातै जनालाई पक्राउ गरी ल्याएकोले मलाई जबरजस्ती करणी गरेकाले निजहरुलाई कानुन बमोजिम कारवाही भई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको पूर्णकुमारी राना मगर्नीको जाहेरी दर्खास्त ।

४.    पूर्णकुमारी राना मगर्नीको र सागरप्रसाद श्रेष्ठ, रेशम बम मल्ल, कृष्ण बम मल्ल, दिपेन्द्र मल्ल, गणेश शर्मा, केशवराज अर्याल, दुर्गासेन समेतको गुप्ताड्ड जाँच भएको पि. वीर अस्पताल तौलिहवाको ०३६।४।८ को जाँच गरेको प्रतिवेदन ।

५.    ०३६।४।७ गते राती निदाएको अवस्था ढोका घचघच्याएको हेर्दा प्रहरीहरु रहेछन । निज प्रहरीहरु भित्र पसी माथिल्लो तल्लामा गई मैले गाउँ नाउँ नजानेका सात जना र पूर्ण माया समेतलाई लिई मलाई समेत हिंड भनेकोले म समेत प्रहरीका साथ लागी आएको हुँ भन्ने पद्मबहादुर ठकुरीले गरेको प्रहरीको बयान ।

६.    अन्दाजी २ बजे निन्द्राबाट बिउँझी पूर्णकुमारीको कोठामा हेर्दा निजलाई नदेखी माथिल्लो तल्लाबाट रोई रहेको आवाज सुनी ढोका खोली दिएँ प्रहरीहरु माथि कोठामा म समेत गई हेर्दा सात जना पाहुना जागै थिए र पूर्णकुमारीलाई सोधपुछ गर्दा मलाई तलबाट जबरजस्ती यहाँ ल्याई मेरो इच्छा विरुद्ध सिलभंग गरी दिएका हुन भन्ने पूर्णकुमारीबाट सुनेकी हुँ भन्ने समेत व्यहोराको मायाकुमारीको प्रहरीमा गरेको बयान ।

७.    ०३६।४।७ गते राती २ अढाई बजेको समयमा गुहार भन्ने आवाज सुनेको हुँ त्यसै अवस्थामा प्रहरीहरु आई केटी र सातै जना समेतलाई पक्री ल्याएको देखेको हुँ भन्ने समेत व्यहोराको ऋषिदास वैरागीले ०३६।४।७ गते प्रहरीमा गरेको बयान कागज ।

८.    सागरप्रसाद श्रेष्ठ, दिपेन्द्र मल्ल, गणेश शर्मा, दुर्गाबहादुर सेन, रेसम बम मल्ल, केशवराज अर्याल, कृष्णबम मल्ल समेतलाई सनाखत गराएको ०३६।४।९ को सनाखत कागज ।

९.    मैले जबरजस्ती करणी गरे गराएको छैन । कस्ले गरे गराए मलाई थाहा छैन भन्ने समेत व्यहोराको रेसम बम मल्लको प्रहरीमा भएको इन्कारी कागज ।

१०.    मैले जबरजस्ती करणी गरेको छैन भन्ने समेत व्यहोराको सागरप्रसादको ऐ.कागज, ऐ.ऐ.व्यहोराको दिपेन्द्र मल्ल र केशवराज अर्याल, दुर्गाबहादुर सेन समेतको इन्कारी कागज । दफा दफाका सरजमीनका व्यक्तिहरुले पृथक पृथक व्यहोराको सरजमीन लेखाई ०३६।४।१२ मा गरेको सरजमीन मुचुल्का ।

११.    अनुसन्धानका सिलसिलामा संलग्न भएका कागजहरुको अध्ययनबाट दुर्गाबहादुर सेनका हकमा सबूद प्रमाण नपुगी मुद्दा चलाउन नसकिने र अरुका हकमा निजहरुले जबरजस्ती करणी गरेको देखिन आएकोले १६ वर्ष मुनिकी पूर्णकुमारीलाई करणी गर्ने सागरप्रसाद श्रेष्ठ, रेसम बम मल्ललाई जबरजस्ती करणीको ३ नं. र अरु कृष्ण बम मल्ल, दिपेन्द्र मल्ल, केशवराज अर्याल र गणेश शर्मालाई ऐ.को ४ नं. ले हुने सजायँ हुन र जबरजस्ती करणीको १० नं. अनुसार समेत हुन माग दावी भएको भन्ने समेत व्यहोराको ०३६।४।१५ को प्रहरी प्रतिवेदन ।

१२.   म समेतका साथीहरु तौलिहवाको गुल्मेली होटलमा सुती राखेका थियौं राती हामीहरु निदाई रहेको अवस्थामा प्रहरीहरु आई म समेतका सबैलाई र पूर्णकुमारी समेतलाई प्रहरी थानामा लगी जबरजस्ती करणी गरेको कागज गराएका हुन । यसमा दिपककुमार डाँका मुद्दामा र रेसम, सागर उपरको गाँजा मुद्दामा प्रहरीहरुको केही रिसइवी हुँदा वारदात नभएको कुरा झुठ्ठा दर्खास्त र सनाखत दिलाई यो मुद्दा खडा गरेको हुन म समेतले पूर्णकुमारीलाई जबरजस्ती करणी गरेको छैन भन्ने समेत व्यहोराको प्र.कृष्णबम मल्लले अदालतमा गरेको बयान ।

१३.   म समेतले पूर्णकुमारीलाई जबरजस्ती करणी गरेको हैन भन्ने प्र.रेशम मल्लको बयान ।

१४.   गाजाँ मुद्दाको रिसइवीले हुँदै नभएको वारदात बनाई झुठ्ठा कागज गराएका मात्र हुन झुठ्ठा आरोपबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको केशवराज अर्यालको बयान, मैले अपराध नगरेको हुँदा झुठ्ठा आरोपबाट फुर्सद पाउँ भन्ने सागरप्रसाद श्रेष्ठको बयान ।

१५.   ऐ.व्यहोराको दिपेन्द्र मल्लको इन्कारी बयान ।

१६.    ऐ.व्यहोरा मिलानकै गणेश शर्माको इन्कारी बयान ।

१७.   ०३६।४।७ गते राती म गुल्मेली होटलमा सुतेको थिएँ सोही होटलमा खाना खाई ७ जना व्यक्तिहरु माथिल्लो तलामा सुत्न गएका थिए तिनीहरु मध्ये १ जनाले राती १० बजेतिर मलाई जबरजस्ती तल्लो कोठाबाट माथिल्लो कोठामा लगी पहिला पटक सागरप्रसाद श्रेष्ठले र दोस्रो पटक रेसम बम मल्लले जबरजस्ती करणी गरे अरु कसैले हात कसैले खुट्टा समाएका हुन । पछि म आत्तिई चिच्याई गुहार गर्दा प्रहरीहरु पुगी जबरजस्ती गर्ने ७ जना सातै जना व्यक्तिलाई पक्राउ गरी ल्याए । यसरी मलाई इच्छा विरुद्ध जबरजस्ती करणी गरेकोले निजहरुलाई कानुन बमोजिम कारवाही भई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको पूर्णकुमारीले अदालतमा गरेको बयान प्र.साक्षीको बयान मिसिल सामेल रहेछ ।

१८.   जाहेरवालीको भनाई अनुसार यही होटलमा बस्ने पद्म ठकुरी र निजकी श्रीमतीले समेत कुनै हार गुहार सुनेको भन्न नसकेको समेतबाट यो यस प्रकारको करणी भयो भनी देख्ने र सुन्ने व्यक्तिहरु देखापरेको मिसिल प्रमाणबाट देखिँदैन र होटल बन्द गरी घर गई सकेको यी जाहेरवालीलाई के कुन व्यक्तिले बोलाउन पठाएको हो भन्ने कही कतैबाट खुलेको देखिँदैन । तसर्थ जबरजस्ती करणी गरेको कुरा कुनै पनि मिसिलमा रहेका प्रमाणबाट समर्थित हुन आएको नदेखिँदा सागर श्रेष्ठ समेतका व्यक्तिहरुले जबरजस्ती करणी गरेको ठहर्दैन भन्ने समेत व्यहोराको शुरु कपिलवस्तु जिल्ला अदालतको ०३८।८।१६।३ को फैसला ।

१९.    जाहेरवालीका योनीमा पाइएको सेतो पदार्थ चिकित्सकको प्रतिवेदनको समेत प्रमाण नहेरी भएको उक्त फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ गरिपाउँ भनी प.क्षे.अ. मा दिएको वादी श्री ५ को सरकारको पुनरावेदन ।

२०.   यसमा मौकामा प्रहरीले प्रतिवादीलाई पक्राउ गरेको र घटनाग्रस्त केटीको डाक्टरी जाँचबाट करणीको कुरा स्थापित भएको हुँदा अ.बं. २०२ नं. बमोजिम विपक्षीहरुलाई झिकाई पेश गर्नु भन्ने प.क्षे.अ. को आदेश ।

२१.   यसमा मिसिल अध्ययन गर्दा घटनाग्रस्त पूर्णकुमारी राना मगरले अदालतमा आई बकपत्र गर्दा प्रतिवादीहरु सागरप्रसाद श्रेष्ठ र रेशम बम मल्लले जबरजस्ती करणी गरेको र अन्य प्रतिवादीहरुले हातगोडा समाएको भनी बयान बकपत्र गरी दिएको पाइन्छ । मौकामा बुझिएका ऋषिदास वैरागीले कोही रोएको सुनेको भन्ने देखिन्छ । मायाकुमारी र पद्मबहादुरको मौका कागजबाट समेत जबरजस्ती वारदात भएको पुष्ट्याई भएको पाइयो तर मौकामा प्रतिवादीहरुको परीक्षण गराउँदा जबरजस्ती करणी गरेको निस्सा प्रमाण प्राप्त नभएको भन्ने डाक्टरी प्रतिवेदन मिसिल संलग्न छ । घटनाग्रस्त पूर्णकुमारीको शारीरिक परीक्षण गर्दा पनि करणी कृया पूरा भएको भन्ने देखिएन । प्रहरी पक्राउ गरेको अवस्था केटी अस्तव्यस्त स्थितिमा रहेकी भन्ने देखिन्छ । यस स्थितिमा जबरजस्ती करणी गरी सकेको ठहर गर्न मिलेन । प्रतिवादीहरुले जबरजस्ती करणीको उद्योग गरेको ठहर्छ । प्रत्यर्थीहरुलाई वर्ष ३ का दरले कैद हुन्छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०४१।३।१२ गतेको फैसला ।

२२.   सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीहरुले दिएको निवेदनमा यसमा निवेदकहरुलाई जाँच्दा निजहरुमा कुनै प्रमाणिक तत्व चिन्ह नपाइएको भन्ने पी.वीर अस्पताल तौलिहवाको जाँच प्रतिवेदनमा उल्लेख छ । साथै करणी गर्ने उद्योग गरेको कुनै तथ्ययुक्त प्रमाण देखिन आउँदैन । प्रहरी प्रतिवेदनमा पनि सागरप्रसाद श्रेष्ठ र रेशम बम मल्ललाई बाहेक अरुका हकमा मुलुकी ऐन जबरजस्ती करणीको ४ नं. को दावी लिएकोमा निजहरुलाई जबरजस्ती करणीको उद्योग गरेको ठहराएको प.क्षे.अ. को इन्साफ त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको स.अ. डिभिजनबेञ्चको ०४१।७।१५ को आदेश ।

२३.   यसमा प्रहरीहरुले पूर्णकुमारी समेत सात जना प्रतिवादीहरुलाई एउटै कोठाबाट पक्राउ गरेको देखिन्छ । निज पूर्णकुमारी तलकै तलोमा सुतेकीमा आफै धेरै जना प्रतिवादीहरु रहेको माथिल्लो तल्लामा जानु पर्ने र स्वेच्छाले गएकी भएपछि रुने कराउने गर्नुपर्ने अवस्था पनि देखिँदैन । अस्पताल जाँचको प्रतिवेदन हेर्दा निज पूर्णकुमारीको गुप्ताड्डमा लोग्ने मानिसको वीर्य पाइए तापनि सो बाहेक निजमा अन्य कुनै प्रमाणिक चिन्ह नपाइएको भन्ने उल्लेख भएको पाइन्छ । १३।१४ वर्षकी बालिकालाई निजको भनाई बमोजिम तीनजनाले जबरजस्ती करणी गरेको भए योनीमा कुनै घाउ चोट हुनुपर्ने सो केही देखिएन । यस्तो अवस्थामा प्रतिवादीहरुले जबरजस्ती करणी गर्ने उद्योग गरेको ठहर्‍याएको प.क्षे.अ.को इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेतको यस सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४२।११।५ को फैसला ।

२४.   उक्त फैसलामा चित्त बुझेन, दोहर्‍याई हेरी पाउँ भनी प्रतिवादी सागरप्रसाद श्रेष्ठ समेतले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका हजूरमा निवेदनपत्र चढाउनु भएकोमा यसमा एउटै कोठामा सुत्ने पदमबहादुर निजकी श्रीमती र सरजमीन समेतले तल्लो तल्ला देखि माथिल्लो तल्लामा लगी जाहेरवाली पूर्णकुमारीले विरोध गर्दा गर्दैको अवस्थामा हल्ला खल्ला रोए कराएको केही नसुनेको र डाक्टरी जाँचको प्रतिवेदन हेर्दा जबरजस्ती करणी भएको भन्ने कुनै लक्षण देखा नपरेको उल्लेख भएको छ । जाहेरवालाकी आमा इन्द्रकुमारीले होटलमा काम गर्ने कान्छोले पूर्णकुमारीलाई बोलाउन जाँदा साथमा रहेको मानिस को हुन भनी सोध्दा सिपाही हुन भनी भनेको तर निज इन्द्रकुमारी समेतलाई बुझी निर्णय भएको समेत नदेखिँदा जबरजस्ती करणी गरे भनेको व्यहोरा नै शंकास्पद देखिएकोले स.अ.बाट जबरजस्ती करणीको उद्योग गरेको ठहर्‍याएको मिलेको छैन भन्ने समेतको न्यायिक समितिको पर्चा रहेछ ।

२५.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीहरुको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले माथिल्लो तलामा प्रतिवादीहरु सहित ७ जना सुतेका र तल्लो तलामा जाहेरवाला पूर्णकुमारी समेत ३ जना व्यक्तिहरु सुतेको कुरा माया ठकुरीको बयानबाट देखिएको छ । यदि प्रतिवादीहरुले निज पूर्णकुमारीलाई तल्लो तलाबाट जबरजस्ती माथिल्लो तलामा लगेको भए त्यहाँ सुतेका अरु व्यक्तिहरुले पनि थाहा पाउनु पर्ने तर घटनास्थल भनिएको ठाउँमा त्यस किसिमको संघर्षका चिन्हहरु पनि देखिँदैनन र रोए कराएको भए एकै तलामा सुत्ने माया ठकुरी समेतका व्यक्तिहरुले थाहा पाउनु पर्नेमा सो समेत देखिँदैन । जसले जबरजस्ती करणी गरे भनिएको छ ती व्यक्तिहरुको लुगा कपडा तथा अन्य कुनै पनि ठाउँमा वीर्य आदिको चिन्ह पाइँदैन । वारदात भएको भए र निज पूर्णकुमारी कराउने चिच्याउने गरेको भए घर संगै जोडिएको सरजमीनका मानिसहरुले थाहा पाउनु पर्ने तर सरजमीनले कुनै हल्ला भएको भन्न सकेको छैन । प्रतिवादीहरु मौकाको कागज तथा अदालतमा समेत इन्कार छन । अतः प्रतिवादीहरुले कसूरबाट सफाई पाउनु पर्छ भन्ने समेतको बहस गर्नु भयो । वादी श्री ५ को सरकारको तर्फबाट बहस गर्न खटिई आउनु भएका विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले जाहेरवाली र प्रतिवादीहरुलाई एकै कोठाबाट अस्त व्यस्त अवस्थामा पक्राउ गरी लगेको भन्ने देखिएको छ । प्रतिवादीहरुले अदालतमा बयान गर्दा पनि आफू सुतिरहेको कोठामा केटी पनि सुतिरहेकी रहीछन तर आफूहरुले ल्याएको होइन भनी भनेबाट केटी निजहरु सुतेको कोठामै फेला परेको भन्ने कुरा निर्विवाद देखिन्छ । त्यसो भए सातजना पुरषहरु सुतेको ठाउँमा एक्ली केटी आफैं गएकी होला भन्न मिल्दैन । पूर्णकुमारीको गुप्ताड्डमा वीर्य फेला परेको सो वारदातको दिउँसो प्रतिवादीहरुले पूर्णकुमारीलाई जिस्क्याएको भनी ऋषिदाश वैरागीको बकपत्र गरेको समेतबाट प्रतिवादीहरुले वारदात घटाएको देखिन्छ । अतः स.अ. संयुक्त इजलासको इन्साफ मनासिब होस भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

२६.   प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गर्ने गरेको यस सर्वोच्च अदालत संयुक्त इजलासको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

२७.   यसमा निर्णयतर्फ हेर्दा २०३६।४।७ गते राती म कोठामा सुतेको अवस्थामा ७ जना व्यक्तिहरु माथिल्लो तलामा सुत्न गएका थिए । तिनीहरु मध्ये १ जनाले राती ११ बजेतिर मलाई जबरजस्ती तल्लो कोठाबाट माथिल्लो कोठामा लगी कसैले हात कसैले खुट्टा समेत समाई पालै पालो संग पहिले सागरप्रसाद श्रेष्ठले त्यसपछि रेशम बम मल्लले मेरो इच्छा विरुद्ध जबरजस्ती करणी गरेको भन्ने पूर्णकुमारी राना मगरनीको जाहेरी दर्खास्त परेको देखिन्छ । वारदात भएको भनिएको स्थान कपिलवस्तु जिल्ला तौलिहवा स्थित गुल्मेली होटलमा जाहेरवाली पूर्णकुमारीका अतिरिक्त कान्छो भन्ने प्रेमबहादुर, माया ठकुरी तथा पदमबहादुर ठकुरी समेतले काम गरी आएको र सो वारदात भएको भनिएको राती प्रतिवादी सागरप्रसाद श्रेष्ठ समेत सातजना व्यक्तिहरु पनि सोही होटलमा बास बसी माथिल्लो तलामा सुतेको र जाहेरवाली पूर्णकुमारी राना मगरनी, माया ठकुरी, प्रेमबहादुर, पदमबहादुर ठकुरी समेत तल्लो तलामा सुतेको भन्ने देखिन्छ । सो मध्ये पदमबहादुर ठकुरी र निजकी श्रीमती माया ठकुरी माथिल्लो तल्लामा जाने भर्‍याड्ड मुनी सुतेको तथा प्रेमबहादुर सोही ठाउँको बेञ्चमा सुतेको र पूर्णमाया सोही छेउमा सुतेकी भन्ने कुरा पदमबहादुर ठकुरीको बयानबाट देखिन आउँछ । माथिल्लो तल्लामा सुतेका सात जना मध्ये एक जना आई जबरजस्तीसंग माथिल्लो तल्लामा लगेको भन्ने जाहेरवाली पूर्णकुमारीको भनाई रहेको पाइन्छ । तल्लो तल्लामा सुतिरहेकी केटीलाई माथिल्लो तल्लाबाट आई उठाई जबरजस्तीसंग माथिल्लो तल्लामा लगेको भए त्यहाँ निजहरुको बीचमा संघर्ष हुने तथा रुने कराउने स्थिति हुन्छ । तर घटनास्थलको विवरणबाट उक्त ठाउँमा कुनै किसिमको संघर्षका चिन्हहरु भएको देखिन आउँदैन । निज पूर्णकुमारी बाहेक तल्लो तल्लामा सुत्ने अन्य व्यक्तिहरुले पनि निजहरु बीच संघर्ष भएको कुरा थाहा पाएको भन्ने देखिँदैन । तल्लो तल्लाबाट माथिल्लो तल्लामा जाने भर्‍याड्ड मुनी माया ठकुरी र निजको लोग्ने पदमबहादुर ठकुरी सुतेको भन्ने निजहरुको बयानबाट देखिन्छ । यदि माथिल्लो तल्लामा लग्दा रुने कराउने चिच्याउने तथा प्रतिकार गरेको भए सोही भर्‍याड्ड मुनी सुत्ने माया ठकुरी समेतले थाहा पाउनु पर्ने हो तर निजहरुले त्यस किसिमको रुने चिच्याउने केही नसुनेको र निज पूर्णकुमारीलाई तल्लो तल्लाबाट माथिल्लो तल्लामा लगेतर्फ केही भन्न सकेको पाइन्न । मुख थुनी रुन कराउन नदिई माथि लगेको भन्ने पूर्णकुमारीको कथन रहेको छैन वारदात हुँदाको अवस्थामा निज पूर्णकुमारीको उमेर १३।१४ वर्ष जतिको भएको भन्ने देखिन्छ । प्रतिवादीहरुले निजलाई जबरजस्ती करणी गरेको भए दगलफसल गर्दा निजको योनी खती भएको हुनु पर्नेमा त्यस्तो कुनै खती देखिन्न । जबरजस्ती करणी भएको प्रमाण चिन्हहरु शरीरको कुनै भागमा देखा परेको मिसिलबाट देखिँदैन । निज पूर्णकुमारी राना मगरनीको जाँच गर्दा गुप्ताड्डमा लोग्ने मानिसको स्खलित वीर्य पाइएको तर सो बाहेक निजमा अन्य कुनै प्रमाणिक चिन्ह नपाइएको भन्ने डाक्टरी प्रतिवेदन रहेको पाइन्छ । निज पूर्णकुमारी सो रात होटलबाट बाहिर गएको र पछि फर्की आएको भन्ने कुरा जाहेरीमा लेखाएको देखिन्छ । निजकी आमा इन्द्रकुमारीले सो रात १० बजेतिर गुल्मेली होटलमा काम गर्ने कान्छा र अन्य ३ जना मानिस छोरीलाई लिन आएको र तिनीहरु को हुन भन्दा कान्छाले सिपाही हुन भन्थ्यो निजहरुले छोरीलाई घरबाट लगेका हुन भनी सरजमीनमा लेखाई दिएको देखिन्छ । तर निज इन्द्रकुमारीलाई अदालतमा झिकाई बयान गरी तथ्य कुरा बुझेको पनि देखिँदैन । प्रतिवादी सागरप्रसाद श्रेष्ठ, रेशमबम मल्लले जबरजस्ती करणी गरेको भए निजहरुले लगाएको लुगामा वा गुप्ताड्डमा वीर्यको दाग आदि चिन्हहरु देखिन पर्ने थियो यी व्यक्तिहरु मौकामा पक्राउ परेको तथा मौकैमा जाँच समेत गर्दा निजहरुमा तत्सम्बन्धी कुनै प्रमाणिक चिन्ह नपाइएको भन्ने डक्टरी प्रतिवेदनबाट देखिन्छ । यसबाट समेत जाहेरी व्यहोरा समर्थित हुन आएको देखिएन । प्रतिवादीहरु प्रहरी तथा अदालतमा समेत कसूरमा इन्कार रही बयान गरेको देखिन्छ । सरजमीनका मानिसहरुले पनि प्रतिवादीहरुले कसूर गरेको भनी लेखाउन सकेको पाइँदैन प्रतिवादीहरुका साक्षीहरुले पृथक पृथक रुपमा प्रतिवादीहरु निर्दोष छन भनी अदालतमा आई बकपत्र गरिदिएको देखिन्छ । मानिसको स्खलित वीर्य गुप्ताड्डमा देखिए पनि उपरोक्त अवस्थामा उक्त स्खलित वीर्य प्रतिवादीहरु कै हो भनी यकीन ठहर गर्न न्यायोचित देखिन्न । जबरजस्ती करणीको उद्योग भएको भन्ने तर्फ स्वयं जाहेरवाली पूर्णकुमारीको कथन छैन । जबरजस्ती करणीको उद्योगको वारदात भएको तर्फको कुनै सबूद प्रमाण मिसिलमा देखिन्न । वारदात भएको भनिएको होटलमा रहेका अन्य व्यक्ति पदमबहादुर, माया ठकुरी तथा प्रेमबहादुर समेतले जबरजस्ती करणीको उद्योगतर्फ कुनै कुरा लेखी दिएको देखिन्न । तसर्थ शंकारहित तवरबाट यी प्रतिवादीहरु उपर वादी दावी अनुसारको अभियोग प्रमाणित हुन नआएकोले जबरजस्ती करणीको उद्योग गरेकोतर्फ समेत प्रमाणको अभाव देखिने र अनुमानको आधारमा दोषी ठहराउन नमिल्ने हुँदा जबरजस्ती करणीको उद्योग ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको यस सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेको नदेखिएकोले उल्टी हुने ठहर्छ । प्रतिवादीहरुले सफाई पाउने ठहर्‍याएको शुरु कपिलवस्तु जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ । जबरजस्ती करणीको वारदात नै कायम हुन नसकी प्रतिवादीहरुले सफाई पाउने ठहरेकोले पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमतिको लागि निवेदन नदिई बस्ने प्रतिवादी केशवराज अर्यालको हकमा समेत अभियोग सिद्ध हुन नसकेकोले अ.बं. २०५ नं. बमोजिम निजले समेत सफाई पाउने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।

तपसील

देहायका प्रतिवादीहरु के माथि इन्साफ खण्डमा लेखिए बमोजिम सफाई पाउने ठहरेकोले निजहरुलाई पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।३।१२।२ का फैसलाले जबरजस्ती करणीको उद्योग गरेको ठहर्‍याई जनही कैद वर्ष ३ तीनका दरले सजायँ गरेकोमा सो सजायँ गर्नु परेन सो लगत कट्टा गरिदिनु भनी शुरु कपिलवस्तू जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...१, प्र.सागरप्रसाद श्रेष्ठ १, प्र.रेशम बम मल्ल १, प्र.गणेश उपाध्याय १, प्र.कृष्ण बम मल्ल १, प्र.दिपेन्द्र मल्ल १, प्र.केशव राज अर्याल १

देहायका प्रतिवादीहरुके माथि इन्साफ खण्डमा लेखिए बमोजिम यस सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ उल्टी भई सफाई पाउने ठहरेकोले निजहरुलाई प.क्षे.अ.को फैसला उपर यस अदालतमा पुनरावेदन गरे बापत इन्साफ सदरमा सयकडा दशले जनही थप कैद वर्ष ।३।१८ तीन महीना अठार दिन कैद सजायँ गर्ने गरेकोमा सो सजायँ गर्नु परेन । यस सर्वोच्च अदालत संयुत्त इजलासको मिति २०४२।११।५।१ का फैसलाले लाग्ने गरेको लगत कट्टा गरिदिनु भनी शुरु कपिलवस्तु जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ. मा लगत दिनु...२, देहायका प्रतिवादीहरुलाई प.क्षे.अ.को मिति २०४१।३।१२।२ को फैसलाले गर्ने गरेको जनही कैद वर्ष ३, को अ.बं. १९४ नं. बमोजिम महीना एकको रु. ४५।का दरले हुने जनही रु. १,६२०।का दरले यस सर्वोच्च अदालतमा पुनरावेदनको अनुमतिको लागि निवेदन दर्ता गर्दा यस सर्वोच्च अदालत ल.नं. शाखा मार्फत का.जि.अ.त.मा नगद धरौट राखेको देखिँदा ऐनका म्याद भित्र सो धरौटी रकम फिर्ता पाउँ भनी प्रतिवादीहरुको निवेदन परे ऐन बमोजिम फिर्ता दिनु भनी का.जि.अ.मा लगत दिनु...३, प्र. सागरप्रसाद श्रेष्ठ के रु. १,६२०।–, प्र. रेशम बम मल्ल के रु. १,६२०।–, प्र. गणेश उपाध्याय के रु. १,६२०।प्र. कृष्ण बम मल्ल के रु. १,६२०।–, प्र. दिपेन्द्र मल्ल के रु. १,६२०।

देहायका प्रतिवादीहरुके यस सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको फैसला दोहर्‍याई हेरी दिनु भन्ने भई आएको हु.प्र.बमोजिम पूर्णइजलास लगतमा दर्ता हुँदा संयुक्त इजलासको मिति २०४२।११।५ को फैसलाले जनही थप कैद ३ महीना १८ दिन बापत अ.बं. १९४ नं. बमोजिम अघि रहेको जनही धरौटी रु. १,६२०।को २० प्रतिशतले हुने जनही रु. ३२४ का दरले यस सर्वोच्च अदालत ल.नं. शाखा मार्फत का.जि.अ.त.मा धरौटी राखेको देखिँदा ऐनका म्याद भित्र सो धरौटी रकम फिर्ता पाउँ भनी प्रतिवादीहरुको निवेदन परे ऐन बमोजिम फिर्ता दिनु भनी का.जि.अ.मा लगत दिनु...४, प्र. सागरप्रसाद श्रेष्ठ के रु. ३२४।–, प्र. रेशम बम मल्ल के रु. ३२४।–, प्र. गणेश उपाध्याय के रु. ३२४।–, प्र. कृष्ण बम मल्ल के रु. ३२४।–, प्र. दिपेन्द्र मल्ल के रु. ३२४।

मिसिल नियमानुसार गरी बुझाई दिनु...५

 

उक्त रायमा हामीहरु सहमत छौं ।

 

न्या.त्रिलोकप्रताप राणा,

न्या.हिरण्येश्वरमान प्रधान

 

इतिसम्वत् २०४७ साल श्रावण ३० गते रोज ३ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु