शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१९४ - बकसपत्र बदर

भाग: ३२ साल: २०४७ महिना: मंसिर अंक:

निर्णय नं. ४१९४     ने.का.प. २०४७      अङ्क ८

 

पूर्णइजलास

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४५ सालको दे.पू.ई.नं. ७९

फैसला भएको मिति: २०४७।६।२।३ मा

पुनरावेदक/प्रतिवादी : जि.स.हनुमाननगर गा.पं. वा.नं. ४ बस्ने वासुदेवप्रसाद साहु सुडी

विरुद्ध

विपक्षी/वादी : राजविराज न.पं.वा.नं. १ बस्ने स्व. चादमलको हकवाला र आफ्नो हकमा समेत ऐ.ऐ.बस्ने चम्पालाल दुगडसमेत

मुद्दा : बकसपत्र बदर

(१)   रुलिङ बाझियो भनेको मुद्दाको तथ्य प्रस्तुत मुद्दाको तथ्यसंग फरक परेको र लिखत बदर मुद्दामा बिक्री भएको सम्पत्ति सगोलको भन्ने प्रमाणको भार सो जिकिर लिने वादी उपर सुम्पिएको र प्रस्तुत मुद्दामा निजी हो भन्ने कुराको प्रमाणको भार सो जिकिर लिने प्रतिवादी उपर सुम्पेको देखिँदा दुई बेगला बेगलै निर्णय बिन्दू बनाई अलग अलग विषयवस्तुमा दुवै संयुक्त इजलासबाट अलग अलग निर्णय भएको देखिँदा रुलिड्ड बाझिएको भन्न नमिल्ने ।

(प्रकरण नं. १२)

पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री पवनकुमार ओझा

फैसला

न्या.त्रिलोकप्रताप राणा

१.     सर्वोच्च अदालत नियमावली, २०२१ अनुसार रुलिङ बाझिएको भनी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    म वादी चन्द्रमलको ४ छोरा जेठा पुनम चन, माहिला चम्पालाल साहिला पुखराज कान्छो हनुमान मल हुन, पुनमचन परलोक भई निजको हक खाने छोरा म वादी राजकिरण हुँ प्रतिवादी हनुमान मल पुसराज म चन्दमलको छोरा हुन म चम्पालालको भाइहरु म राजकिरणको काकाहरु हुन । हामी ५ जना बाबुछोरा नाती सबै सगोलमा बसी रही आएको घरको मुख्य बाबु दाजु भतिजा समेतलाई थाहा नदिई सगोलबाट आर्जिएको सम्पत्ति मध्ये हनुमानमल दुगडका नाममा दर्ता रहेको जिल्ला सप्तरी गा.पं. हनुमान नगर वडा नं. २ को कि.नं. १४६ को ०, ऐ.वडा नं. २ कि.नं. १४९ को ०, जिल्ला सप्तरी गा.पं. कंचनपुर वडा नं. ४ कि.नं. ३८४ को ०१९६ समेत जम्मा ज.वि. १८ जग्गा रु. ५६००।मा विपक्षी बासुदेवप्रसाद सुडीलाई मिति २०३७।५।४ मा मालपोत कार्यालय, सप्तरीमा बकसपत्र रजिष्ट्रेशन पारीत गरी दिएको, सो कुरा मिति २०३८।५।२ गतेमा प्रमाणका मानिसद्वारा थाहा पाई मिति २०३८।६।२ मा नक्कल लिई उक्त जग्गा १८ मध्ये हामीहरुको ५ भागको ३ भाग मोल रु. ३३६०।को ज.वि. ०१६१४११ सोर कठ्ठा चौध धुर एघार कनुवाको बकसपत्र लिखत बदर गरी हामीहरुको नाममा दर्ता कायम गरी पाउँ भन्ने वादी ।

३.    यिनै वादी चन्दमलले म उपर लेनदेन मुद्दा दिएको सो को बिगो भरी पाउने फैसला समेत भइसकेका चन्दमलले बिगो दिलाई पाउँ भनी निवेदन म उपर दिएको, मेरो नाम दर्ताको जिल्ला स., गा.पं. हनुमान नगर वडा नं. २ कि.नं. १४६ को ०४ को कि.नं. १४९ को ०८ का कि.नं. ४९ को ०८ गा.पं. कंचनपुर वडा नं. ४ कि.नं. २७२ को ०१५० ऐ.वडा नं. ५ कि.नं. ९९ को ०१७१५ समेत ज.वि. १११६ प्रतिवादी हनुमानमलले सकार गरी आफ्ना नाममा दाखिल खारेज समेत गराएको उक्त जग्गा १११ सगोलको आर्जनको सम्पत्ति नभई निजी आर्जनको जग्गा हो । स्वआर्जनका जग्गा हुँदा संगै साथ बसेको मन्जूरी लिन पर्दैन भन्ने किटानी कानुनी व्यवस्था हुँदा मेरा नामको उक्त बकसपत्रको लिखत र दर्ता बदर हुनु पर्ने होइन वादी दावी खारेज गरिपाउँ भन्ने समेत वासुदेवप्रसाद साहुको प्रतिउत्तरपत्र ।

४.    प्रतिवादी हनुमानमल दुगड र पुखराजको नाममा मिति २०३५।८।१२।६ मा तामेल भएको इतलायनामाको म्याद गुजारी बसेको ।

५.    वादी दावीमा लेखिएको वादीहरुको भागमा पर्ने ५ भागको ३ भाग जति सम्मको बकसपत्र लिखत र दर्ता बदर गरी वादीहरुका नाममा दर्ता कायम हुने ठहर्छ भन्ने समेत शुरु सप्तरी जिल्ला अदालतको फैसला ।

६.    शुरु जिल्ला अदालतको उक्त इन्साफमा चित्त बुझेन बदर गरी प्रतिउत्तर जिकिर बमोजिम गरिपाउँ भन्ने समेत प्रतिवादी वासुदेवको सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चमा परेको पुनरावेदनपत्र ।

७.    सगोलमा बस्दा गोश्वारा धनबाट आर्जन गरेको सम्पत्ति बिक्री गर्दा वा दान बकस दिंदा सबै अंशियाराको मन्जूरीबाट पास गर्नु पर्ने कानुनले बाध्यता गरेकोले मञ्जुरी नलिई बकसपत्र गरेको देखिँदा ५ भागको ३ भाग बकसपत्र लिखत बदर गरेको शुरुको इन्साफ मनासिब भन्ने सगरमाथा अञ्चल अदालतको फैसला ।

८.    सगरमाथा अञ्चल अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको पूर्वाञ्चल क्षेत्रीय अदालतमा निवेदन परी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदनको अनुमति दिइएकोमा सगरमाथा अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेतको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।

९.    पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको यस सर्वोच्च अदालतमा निवेदन पर्न आई संयुक्त इजलास समक्ष पेश हुँदा प्रतिवादीको स्वआर्जनको जग्गालाई सगोलको भनी दावी बमोजिम बकसपत्र बदर हुने ठहर्‍याएको पू.क्षे.अ. को निर्णयमा अंशबण्डाको १८ नं. को त्रुटि देखिएको हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत आदेश भई पुनरावेदन लगतमा दर्ता हुन आएको रहेछ ।

१०.    अंशबण्डाको १८ नं. मा भएको व्यवस्थाबाट संग बसेका अंशियारले सगोलको सम्पत्तिबाट आर्जेको सम्पत्तिमा सबैको अंश हक लाग्ने सो बाहेक कुनै अंशियारले आफ्नो शीप ज्ञान प्रयासबाट निजी आर्जन गरेकोमा आर्जन गर्नेको निजी ठहर्ने व्यवस्था गरी लेनदेनको १० नं. मा सोही बमोजिमको सगोलको अचल सम्पत्ति कुनै किसिमले बेच बिखन वा हक छाडी दिंदा उमेर पुगेका सबै अंशियारको मन्जूरी लिन पर्ने नलिएमा उजूर गर्ने जतिको हक बदर गर्ने तर आफ्नो निजी आर्जनको भए मन्जूरी लिन नपर्ने व्यवस्था गरेकोबाट सगोलमा रहेका व्यक्तिहरुले आर्जेको सम्पत्ति सामान्यतया सगोलको मानिने व्यवस्था गरेको छ । सोही बमोजिम प्रमाण ऐनमा पनि व्यवस्था भएकोले यदि सो सामान्यतया अनुमान गर्न पर्ने कुराको अपवाद स्वरुप प्रतिवादीले दावी गर्छ भने सो अपवादका कुरा सिद्ध गर्ने भार निजै प्रतिवादीको हुने प्रमाण ऐन, २०३१ को दफा २९ ले व्यवस्था गरेको छ । प्रस्तुत मुद्दाको बकसपत्रका दाता छुट्टी भिन्न भएको भन्ने कुनै सबूद र निजको निजी प्रयासको आर्जनको हो भन्ने पुनरावेदक तर्फबाट कुनै सबूद आउन नसकेकोले फिरादी मध्ये चाँदमल मरी सकेको भन्ने हुँदा क्षेत्रीय अदालतबाट ५ भागको ३ भाग बदर गरे पनि २ जना मात्र फिरादी बाँकी देखिएकोले जम्मा ४ खण्डको २ खण्ड बकसपत्र लिखत बदर हुने ठहर्छ । तर बहसमा पुनरावेदकका कानुन व्यवसायीले देखाएको ने.का.प. २०४०, नि.नं. १७२२, पृष्ठ ४४५ को मुद्दामा प्रतिपादित सिद्धान्तसंग बाझिएकोले नियम बमोजिम गरी पूर्णइजलासमा पेश गर्नु भन्ने सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४५।३।१।४ को फैसला ।

११.    नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पनवकुमार ओझाले दाता हनुमानमल दुगडले लिलाम सकार गरी लिई आफ्नो नाममा दर्ता गरेको मध्येको जग्गा निजले वासुदेवप्रसादलाई बकसपत्र गरी दिएको हो । यसरी विवादित जग्गा पैतृक नभई हनुमानमल दुगडको निजी आर्जनको हुँदा हक हस्तान्तरण गर्दा सगोलका अन्य अंशियारहरुको मन्जूरी लिनु नपर्ने हुँदा बकसपत्र लिखत सदर कायम हुनु पर्ने भनी बहस गर्नु भयो ।

१२.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४५।३।१ मा निर्णय हुँदा प्रेमबहादुर तामाङ समेत विरुद्ध ध्रुवबहादुर तामाड्ड समेत भएको २०३९ सालको दे.पु.ई.नं. ४४४ को लिखत बदर मुद्दामा सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४०।८।९।६ मा भएको निर्णयसंग रुलिङ बाझिएको भनी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको हुँदा सर्व प्रथमतः रुलिङ बाझिएको छ, छैन त्यसतर्फ हेर्नु पर्ने हुन आयो । रुलिङ बाझिएको भनिएको प्रेमबहादुर तामाङ समेत विरुद्ध ध्रुवबहादुर तामाङ समेतको लिखत बदर मुद्दामा (ने.का.प. २०४०, अंक ८, पृष्ठ ४४५, नि.नं. १७२२) वादीले कुन जग्गाको लिखत बदर गरिपाउँ भन्ने दावी लिएको हो सो लिखतको जग्गा आफ्नो आर्जनबाट खरिद गरी बिक्री गरेको हुँ भनी लिखत गरी दिने व्यक्तिको समेतले प्रतिउत्तर जिकिर लिए बमोजिम निजी आर्जनको कायम गरी लिखत बदर नहुने ठहर्‍याई सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति २०४०।८।९ मा निर्णय भएको देखिन्छ । तर प्रस्तुत मुद्दामा हाम्रो समेत हक लाग्ने जग्गा लिखत गरी दिएकोले हाम्रो हक जति बदर गरिपाउँ भनी वादीले दावी लिएकोमा लिखत गरी दिने हनुमानमल दुगडले प्रतिउत्तर नै नगरी शुरु म्याद नै गुजारी बसेको र लिखत गरी लिने यी प्रतिवादी वासुदेव साहुले मात्र लिखतको जग्गा दाता हनुमानमल दुगडको निजी आर्जनको हो भनी प्रतिउत्तर फिराएको देखिन्छ । यसरी रुलिड्ड बाझियो भनेको प्रेमबहादुर तामाङ समेत विरुद्ध ध्रुवबहादुर तामाङ समेत भएको लिखत बदर मुद्दाको तथ्य प्रस्तुत मुद्दाको तथ्यसंग फरक परेको र प्रेमबहादुर तामाङ समेत विरुद्ध ध्रुवबहादुर तामाङ समेतको लिखत बदर मुद्दामा बिक्री भएको सम्पत्ति सगोलको भन्ने प्रमाणको भार सो जिकिर लिने वादी उपर सुम्पिएको र प्रस्तुत मुद्दामा निजी हो भन्ने कुराको प्रमाणको भार सो जिकिर लिने प्रतिवादी उपर सुम्पेको देखिँदा दुई बेग्ला बेग्लै निर्णय विन्दु बनाई अलग अलग विषय वस्तुमा दुवै संयुक्त इजलासबाट अलग अलग निर्णय भएको देखिँदा रुलिङ बाझिएको भन्न मिलेन । तसर्थ रुलिङ बाझिएको नदेखिँदा प्रस्तुत मुद्दामा केही विचार गरिरहन परेन । प्रस्तुत मुद्दामा लगत काटी नियम बमोजिम मिसिल बुझाई दिनु ।

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला,

न्या.रुद्रबहादुर सिंह

 

इतिसम्वत् २०४७ साल आश्विन २ गते रोज ३ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु