शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४२१९ - नामसारी दर्ता बदर

भाग: ३२ साल: २०४७ महिना: फागुन अंक: ११

निर्णय नं. ४२१९     ने.का.प. २०४७      अङ्क ११

 

पूर्णइजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४१ सालको दे.फु.नं. ७५

फैसला भएको मिति : २०४३।४।३१।६ मा

निवेदिका/प्रतिवादी : का.न.पं. वा.नं. ३३ बस्ने मैयाँ नानीदेवी जोशी

विरुद्ध

विपक्षी/वादी : का.न.पं. वा.नं. २३ बस्ने सानुबाबा जोशीसमेत

मुद्दा : नामसारी दर्ता बदर

(१)   हक कायम मुद्दाबाट वादीहरु सम्पत्तिको हक खाने हकदार नठहरी फैसला भइसकेपछि हामी पनि हक खाने हकदार हौं भनी प्रतिवादीले आफ्नो नाउँमा एकलौटी दर्ता गराएको बदर गरी पाउँ भन्ने वादीहरुको दावी पुग्न नसक्ने ।

(प्रकरण नं. १५)

निवेदिका/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुड्डाना, विद्वान अधिवक्ता श्री    कुलराज गुरुघराना

विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह, विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

फैसला

न्या.पृथ्वीबहादुर सिंह

१.     सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति ०३९।८।२४।४ मा फैसला भएको उपरोक्त मुद्दा, फुलबेञ्चबाट दोहर्‍याई पाउँ भन्ने निवेदिका मैयाँ नानीदेवी जोशीको श्री ५ महाराजाधिराजका हजूरमा बिन्तिपत्र परेकोमा यसमा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजनबेञ्चबाट छिनिएको बिन्तिपत्रमा लेखिएको नामसारी दर्ता बदर मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नुभन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत हुकुम बक्स भई आए बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.    हामीहरुको पति तथा बाबा शन्तलाल जोशी हुनुहुन्थ्यो वहाँका जेठी पत्नी म सानु बाबा माहिली सानु मैयाँ भन्ने देवकुमारी र कान्छी ल्याइती विपक्षी हुन्, जेठी सानु बाबातर्फ आमा छोरा हामी फिरादी, माहिली देवकुमारी परलोक भई निजतर्फका छोरा निर्मललाल १ मात्र छन । विपक्षीतर्फ जायजन्म भएको छैन । हाम्रो बाबा तथा पति शन्तलालले देवकुमारी तर्फका छोरा निर्मललाललाई ०१७ सालमा र हामी फिरादीलाई ०१९ सालमा केही सम्पत्तिको हक छाडी अलग गराई दिनु भएको भए पनि बाबासंग भएको सबै सम्पत्ति रीतपूर्वक पूरा भाग पाइसकेका थिएनौ, सो कुरा ०१९ सालको छोडपत्र कागजले प्रष्ट गर्दछ । बाबा शन्तलाल बिरामी भएबाट वहाँले अघि तिमीहरुलाई अंश भनी मैले घर जग्गा छोडपत्र गरी दिए पनि नगदी तथा असामी म साथै रहेको जग्गा पनि अचल म जिम्मा रहेकोले थप दिउँला भनेको मेरा शेषपछि मेरा नामको सबै श्रीसम्पत्ति तिमी चारै जनाले बराबर बाँडी खानु भनी विपक्षी र निर्मल तथा हामी समेतलाई भन्नु भएको थियो, त्यसका ३ दिन पछि ०३१।२।२४ गते शन्तलाल परलोक हुनुभयो । वहाँको इच्छालाई विपक्षीले स्वीकार गरी वहाँको काजकृयावाद वहाँका नाममा रहेका जग्गा नामसारी गर्नलाई अंशियार जम्मा ४ जनाको प्रमाणित गरी पाउन प्र.जि.अ. कार्यालय काठमाडौंमा ०३१ आषाढमा निवेदन ग¥यौ । जस अनुसार प्र.जि.अ. बाट चारै जनाको नाम प्रमाणित गरिदिएको छ । त्यसपछि ने.बैंक लि. काठमाडौं मार्फत प्राप्त मलंगवा बैंकको ड्राफ्ट नं. ३७।३११ मिति २।२।०३१ को टि.टि. रकम रु. ४,०००।सोही प्रमाण पेश गरी म पुरुषोत्तमलालले झिकी ल्याएको र हाम्रो पति तथा पिताका नाममा रहेको सर्लाही जिल्ला अन्तर्गत चन्द्रनगर गा.पं. वार्ड नं. ३(ख) को कि.नं. ८९, १०२, १०३, १०४, १०५, १०६, १५३ को वार्ड नं. ३ग को कि.नं. ७ वार्ड नं. ४क. को कि.नं. १८ ऐ.वार्ड नं. ५ ख. कि.नं. ६१ समेतका जम्मा जग्गा बिगहा १४७ जग्गा पिता तथा पतिका शेषपछि विपक्षी र हामी समेत ४ जनाका नाउँमा बराबरका दरले भाग लगाई नामसारी गर्नु पर्ने, विपक्षीले पूर्व कुरा सबै गुपचुप राखी प्र.जि.अ. बाट प्राप्त सिफारिश समेत नदेखाई का.न.पं.का. प्रधानपञ्चद्वारा अलगै सिफारिश बनाई भू.प्र. लाई भोरमा पारी प्रचलित मोल रु. १६,०००।पर्ने उक्त जग्गा ०३१।३।२४ गतेको पर्चाद्वारा आफ्ना नाममा नामसारी गरी लिनु भएको कुरा थाहा पाई नालिस गर्न आएका छौं । विपक्षीले एक्लै आफ्नो नाउँमा मात्र गरेको नामसारी दर्ता बदर गरी पाउँ भन्ने समेत मिति ०३१।६।८ को सानु बाबा तथा पुरुषोत्तमलाल जोशीको फिरादपत्र रहेछ ।

३.    विपक्षीहरु र खसम शन्तलालको माहिली श्रीमती पट्टिको छोरा निर्मलहरु अघि नै आफ्नो भाग बण्डा लिई छुट्टि भिन्न भएको र त्यसपछि विपक्ष सानु बाबा जोशी र पुरुषोत्तमलाल जोशी आमा छोरा पनि आआफ्नो भाग बण्डा लगाई छुट्टी भिन्न भई बसेका छन् । ०१९ सालमा विपक्षीहरुले खसम शन्तलालबाट लाखौं रुपैयाँको सम्पत्ति बुझी आजसम्म चलन गरी आएको र उपरोक्त सम्पत्ति अंश बापत लिएको लिखत ०१९।११।१७ मा रजिष्ट्रेशन पारित भएको छ । पतिको देहावसान पछि मलाई अनुचित तरिकाबाट दुःख दिंदै हैरान बनाउने प्रयासबाट करिब एकलाख बिगोको जग्गालाई रु. १६,०००।भनी फिराद दिएकोबाट जाहेर हुन आउने नै छ । प्र.जि.अ.को कार्यालयबाट ०३१।३।१० मा शन्तलालको नजिकका नाताका हुन भन्नेसम्म प्रमाणित गरिदिएको छ । अ.बं. ८२ नं. ले यो फिराद डायर हुन सक्तैन । विपक्षीहरु अघि नै छुट्टि भिन्न भएको र खसम शन्तलाल र म एका सगोलमा बसेको हो । सो कुरा फिरादीले स्वीकार गरेकै छ । अपुतालीको ६ नं. ले विपक्षीहरु अंश लिई भिन्न भएका बाँकी सम्पत्ति कानुनले मेरो हुन्छ भनी स्पष्ट व्यवस्था गरी दिएको छ । खसमको अंश हक सबैले बाँडी खानु भनी निजले कुनै लिखत गरी दिएको छैन भन्ने कसरी हक पुग्छ भनी दावी गरेको हो मैले गरेको नामसारी दर्ता बदर गरी पाउँ भनी बिना हक अधिकार झुठ्ठा फिरादपत्र दिएको हुनाले मेरा नाउँको नामसारी दर्ता कायम गरी पाउँ भन्ने समेत मैयानानी जोशीको प्रतिउत्तर रहेछ ।

४.    अपुतालीको ६ नं. अंश बण्डाको ११ ले अघि नै छुट्टि भिन्न भई छोडपत्र गरी सकेको वादीहरुले भनेको सगोल बस्ने प्रतिवादीले नामसारी दर्ता गरेको बदर गरी पाउँ भन्ने प्रतिवादीको अंश भाग बण्डाको सबूद बेगर दर्ता बदर गरी पाउँ भनी वादीले झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत सर्लाही जिल्ला अदालतको मिति ०३१।९।९।२ को फैसला ।

५.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीहरुको पुनरावेदन परेकोमा वादी दावा प्रतिवादी जिकिर समेतबाट प्रस्तुत मुद्दामा जग्गाको समेत हक बेहक गर्नु पर्ने दर्ता बदरतर्फ मात्र निर्णय गरेको समेत हक बेहक गर्नु पर्ने दर्ता बदर तर्फ मात्र निर्णय गरेको शुरु सर्लाही जिल्ला अदालतको निर्णय मिलेन । सो फैसला बदर हुन्छ । जग्गामा समेत ऐनले लाग्ने कोर्टफी लिई बुझ्नु पर्ने बुझी कानुन बमोजिम निर्णय गरी दिनु भनी पक्षलाई तारिख तोकी मिसिल सर्लाही जिल्ला अदालतमा पठाउने भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३३।२।८।६ को फैसला ।

६.    सानु बाबा जोशी र पुरुषोत्तमलालको पति बाबु शन्तलालको यो प्रतिवादी नानी मैयाँ भन्ने मैयाँ नानी पत्नी होइन भए शन्तलाल जीवित छँदै पत्नी हुन् भनी प्रकाश गरेको हुनु पर्ने प्रकाश भएको कुनै प्रमाण विपक्षीले दिन गुजार्न सक्नु भएको देखिँदैन । हामीलाई ०१९।११।१२ मा र निर्मललाललाई ०१७।९।२ मा केही सम्पत्तिको हक गराई दिंदा बाँकी अंशियारमा केवल शन्तलाल मात्र देखिनु भएको छ । शन्तलाललाई हामीले दागबत्ती काजकृया पिण्ड पानी गरी वहाँको हक सबै सम्पत्ति हामीमा हक भएको हो । तसर्थ फिराद दावीको जग्गा हाम्रो हक कायम गरी पाउँ भन्ने समेत वादीको वारेस ठगेन्द्रकुमारीको बयान ।

७.    पति शन्तलालको ३ स्वास्नी जेठी सानु बाबा, माहिली सानु मैयाँ, कान्छी म हुँ जेठीतर्फ छोरा पुरुषोत्तम हो माहिली तर्फको निर्मल, कान्छी म तर्फ सन्तान छैन वादीले र निर्मलले लोग्ने शन्तलालबाट अघि नै अंश लिई भिन्न भई बसेको र म लोग्नेसंग रहेको अवस्था लोग्ने शन्तलाल स्वर्गवास हुनु भएकोले वादी दावीको सम्पत्तिमा वादीहरुको हक छैन सबै मेरो मात्र हक भएको छ, , ६ वर्ष देखि म छोरा निर्मल कै घरमा बसेको छु, शन्तलालको म ल्याइते स्वास्नी भए पनि घरमा ल्याई राख्नु भएकोले प्रकाश भइरहेकै स्वास्नी हुँ अप्रकाशित होइन । वादी दावीबाट फुर्सत पाउँ भन्ने समेत प्र.मैयाँ नानी जोशीको बयान रहेछ ।

८.    यो जग्गामा दावी गरिनु भन्दा पहिल्यै यही जग्गा र घर समेतमा हक दावी गरी यिनै वादीले ०३२।८।७ मा छुट्टै मुद्दा दायर गरेको सबूद प्रमाणबाट झगडा परेको घर जग्गामा ४ भागमा २ भाग वादीको हक ठहरी आजै फैसला भएको हुनाले उक्त कुरामा पछि दायर दावी भएको जग्गा हक तर्फ अ.बं. ८९ नं. का ऐनले खारेज हुने ठहर्छ । सन्तलालका नाउँबाट प्र.नानी मैयाँका नाउँमा भएको दर्तामा प्रत्येक कित्ताबाट सानुबाबा र पुरुषोत्तमलालको भाग आधा बदर हुने ठहर्छ भन्ने समेत सर्लाही जिल्ला अदालतको मिति ०३४।३।१।४ को फैसला ।

९.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादी तथा प्रतिवादी दुवै पक्षको पुनरावेदन परेकोमा शन्तलालको नाता कायम सिफारिश यी पक्ष विपक्ष समेत दुवै थर संयुक्त रुपमा नातादार देखिएको कुराबाट मात्र प्रमाण ऐन, ०३१ को दफा ३४ का प्रतिबन्धात्मक वाक्यांशले कानुनी हक अधिकारको बुँदामा लिन नमिल्ने जालसाजी मुद्दा तर्फ का.न.पं. को सिफारिशसम्म निस्कृय एवं प्रभाव विहीन ठहरी बा.अं.अ.को फैसलाले नामसारी गर्ने बारेको सम्बन्धित निकाय माल कार्यालयको आदेश पर्चालाई असर पार्न नसक्ने, अंश बण्डाका ११ नं. ले मैयाँ नानीले मात्र खान व्यहोर्न पाउनेमा अघि बाटै अंश लिई बेग्लै बसेका विपक्षीले अघि पाउने भन्ने शुरुको फैसला केही गल्ती भई उल्टी हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३६।११।२९ को फैसला ।

१०.    उक्त इन्साफमा चित्त बुझेन मुद्दाको विषय पूर्णतयाः सार्वजनिक महत्वको छ यसमा माथि लेखिए अनुसार प्रत्यक्षतः गम्भीर कानुनी त्रुटिपूर्ण फैसला गरिएको हुनाले सो बदर गरी न्याय पाउन पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत वादी सानु बाबा जोशी तथा पुरुषोत्तमलाल जोशीको संयुक्त निवेदन बेञ्च समक्ष पेश हुँदा यिनै वादी प्रतिवादी भएको हक कायम मुद्दाको पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने नि.नं. १२७० मा पुनरावेदन गर्ने अनुमतिको निस्सा दिएको मुद्दाको फैसलाको आधार लिई मैयाँ नानीले मात्र खान व्यहोर्न पाउने भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले ठहर गरेको प्रमाण ऐनको दफा २४(४) को विपरीत भई सार्वजनिक महत्वको विषयमा कानुनी त्रुटि भएको देखिएकोले न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(५) ख अनुसार पुनरावेदन गर्ने अनुमति दिइएको छ । नियम बमोजिम गर्नु भन्ने डिभिजनबेञ्चको ०३७।५।२६।७ को आदेश ।

११.    प्रस्तुत मुद्दाको साथै यिनै वादी सानु बाबा जोशी तथा पुरुषोत्तमलाल जोशी र यिनै प्रतिवादी मैयाँ नानीदेवी जोशी भएको हक कायम तथा हकवाला कायम गरी पाउँ भन्ने मुद्दाहरुमा वादी तथा प्रतिवादीहरुको पुनरावेदन परी क्रमशः दे.पु.नं. ५२९ र २१६ मा दर्ता भई आज यस बेञ्च समक्ष पेश हुन आएका उक्त मुद्दाहरुमा मर्ने शन्तलालका यी वादी प्रतिवादीहरु हकवाला हकदार कायम हुने ठहरी आजैका मितिमा फैसला भएको हुँदा यी वादी र प्रतिवादीहरु स्वर्गीय शन्तलालका स्वास्नी छोरा हकदार हुन भन्ने कुरा देखिएको, प्रस्तुत मुद्दाको शुरु मिसिल संलग्न फा.नं. ५६ को यी मैयाँ नानी देवीले गरेको बयान कागज हेर्दा ५।६ वर्षदेखि निर्मलको घरमा छु भनी आफूले लेखाई दिएको देखिँदा प्रतिवादी आफ्ना लोग्ने शन्तलालको मृत्यु अवस्थामा निज शन्तलालको संग साथमा रहेको भन्ने प्रतिवादी जिकिर फजुल देखिएको र शन्तलाल जीवित अवस्थामा प्रतिवादी मैयाँ नानी देवीलाई आफ्नो स्वास्नी हो भनी प्रकाशमा ल्याएको कुरा पुष्टि हुने कानुनी सबूद निज प्रतिवादी मैयाँ नानी देवीले पेश दाखिल गर्न सकेको नदेखिएको, शन्तलालको देहावसान पछि मात्र यी वादी सानु बाबा, पुरुषोत्तमलाल समेतले नाता प्रमाणित गर्न प्र.जि.अ. को कार्यालय काठमाडौंमा दर्खास्त दिंदा वादी सानुबाबा जोशी,पुरुषोत्तमलाल जोशी, निर्मललाल जोशी र यी मैया नानीदेवी जोशी स्वर्गीय शन्तलालका स्वास्नी छोरा हकदार हुन् भनी त्यस बखतमा मात्र प्रतिवादी शन्तलालको स्वास्नी हुन भनी वादीहरुले स्वीकारी नाता प्रमाणित गरे गराएको भन्ने कुरा मिसिल कागजबाट देखिएका, लिखित रुपमा मर्ने शन्तलालको हक खाने अंशियार उपरोक्त ४ जना देखाई सो अनुसार शन्तलालका नाउँमा मलंगवा बैंकद्वारा काठमाडौंमा पठाएको रु. ४,०००।समेत झिकी बुझी लिएको कुरामा समेत प्रतिवादी समर्थित देखिएको त्यस किसिम शन्तलालको सम्पत्तिमा उपरोक्त सिफारिश अनुरुप कार्य भइसकेकोमा पछि शन्तलालको नाउँमा रहेको विवादित जग्गाहरु मेरो मात्र हक लाग्ने भनी प्र.जि.अ.को कार्यालय काठमाडौंबाट गरी दिएको उपरोक्त नाता प्रमाणितको कागज पेश नगरी छुट्टै का.न.पं. बाट आफू एक मात्र शन्तलालको हकदार हुँ भनी गैरकानुनी नाता प्रमाणितको कागज पेश दाखिल गरी यी प्रतिवादी मैयाँ नानी देवीले मर्ने शन्तलालको सम्पत्तिमा एकलौटी गरी लिन खान पाउनु पर्ने भनी दावी गर्न पाउने देखिन आउँदैन । उपरोक्त प्र.जि.अ. को कार्यालय काठमाडौंमा यी वादी सानुबाबाहरुले स्वीकार गरी दिएको हक जतिमा मात्र यी प्रतिवादी मैया नानीदेवीको हक पुग्न सक्ने हो, अन्यथा बढी दावी गर्न पाउने अवस्था प्रचलित मुलुकी ऐन अंशबण्डाको ८ नं. ले प्रतिवादी मैयाँ नानी देवीलाई दिंदैन । अतः उपरोक्त कारण तथा आधार समेतबाट मर्ने सन्तलालको सम्पत्तिमा यी प्रतिवादी मैयाँ नानी देवीले पाउने १ भाग बाहेक अरुमा हक पुग्न नसक्ने हुँदा वादी दावी प्रत्येक कित्ता जग्गाको प्रतिवादीले गराई लिएको नामसारी दर्तालाई कायम मान्न नमिल्ने देखिँदा सो प्रतिवादी मैयाँ नानी देवीले मर्ने शन्तलालका नाउँबाट आफ्ना नामसारी गराएको वादी दावीका प्रत्येक कित्ता जग्गामा निज मैयाँ नानी देवीको ४ भागमा १ भाग कायम गरी अरु ३ भाग जतिको नामसारी दर्ता बदर हुने गरी ठहर गर्नु पर्नेमा सो अनुसार नगरी मर्ने शन्तलालको नाउँमा विवादित जग्गाहरु प्रतिवादी मैयाँ नानीदेवी जोशीले मात्र एकलौटी खान व्यहोर्न पाउने ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३६।११।२९।४ मा भएको इन्साफ र विपक्षी प्रतिवादीतर्फका वरिष्ठ विद्वान अधिवक्ताको बहससंग सहमत हुन सकिएन । तसर्थ उक्त क्षेत्रीय अदालतको इन्साफ गल्ती भई वादी दावीको शन्तलालका नाउँको प्र.ले मात्र दर्ता गराएको ४ खण्डको ३ खण्ड नामसारी दर्ता बदर हुने ठहर्छ, प्रस्तुत जग्गाका सम्बन्धमा निर्मललाल जोशीको दावी भएको नदेखिँदा निजको हकमा केही बोलिरहन परेन भन्ने समेत डिभिजनबेञ्चको मिति २०३९।८।२४।५ को फैसला ।

१२.   डिभिजनबेञ्चबाट भएको उपरोक्त फैसला फुलबेञ्चबाट दोहर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत श्री ५ महाराजाधिराजबाट हु.प्र.बक्स भई आएको ।

१३.   नियम बमोजिम निर्णयार्थ मिति ०४२।४।२१।३ मा यसै बेञ्चमा पेश हुँदा प्रस्तुत मुद्दामा निवेदिका प्रतिवादी मैयाँ नानीदेवी जोशी विपक्षी वादीतर्फका वारिस ठगेन्द्रकुमारीलाई रोहवरमा राखी निवेदिका वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुड्डाना तथा विद्वान अधिवक्ता श्री कुलराज गुरु घराना र विपक्षी वादी तर्फका विद्वान वरिष्ठ अधिवक्ताहरु श्री कृष्णप्रसाद पन्त तथा श्री कुन्ज विहारीप्रसाद सिंह र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले गर्नु भएको बहस समेत सुनियो ।

१४.   प्रस्तुत मुद्दामा आज निर्णय सुनाउने तारिख तोकिएको रहेछ । निर्णयतर्फ हेर्दा यसमा हाम्रो पति तथा पिताका नाममा रहेको सर्लाही जिल्ला अन्तर्गतको जग्गामध्ये चन्द्रनगर गा.पं. वार्ड नं. ३(ख) को कि.नं. ८९, १०२, १०३, १०४, १०५, १०६, १५३, ऐ.वार्ड नं. ३(ग) को कि.नं. ७, ऐ.वार्ड नं. ४(क) को कि.नं. १८ र ऐ.वार्ड नं. ५(ख) को कि.नं. ६ को जम्मा जग्गा बिगहा १४७ मा पिता तथा पति शन्तलालको शेषपछि विपक्षी र हामीसमेत ४ चार जनाका नाममा बराबरका दरले नामसारी हुनु पर्नेमा ०३१।३।२४ को पर्चाद्वारा विपक्षीले आफ्नो नाममा मात्र नामसारी गरी लिनु भएकोले उक्त नामसारी दर्ता बदर गरी पाउँ भन्ने मुख्य दावी लिई फिराद परेको देखिन्छ ।

१५.   यसमा यसै लगाउको दे.फु.नं. ७८ को यिनै वादी प्रतिवादी भएको हक कायम मुद्दामा मर्ने शन्तलालको सम्पत्तिमा यी प्रतिवादी मैयाँ नानीदेवी जोशीको मात्र एकलौटी हक कायम हुने ठहरी आज यसै बेञ्चबाट निर्णय भइसकेको छ । यसरी उक्त हक कायम मुद्दाबाट वादीहरु शन्तलालको सम्पत्तिको हक खाने हकदार नठहरी फैसला भइसकेपछि हामी पनि शन्तलालको हक खाने हकदार हौं भनी उपरोक्त जग्गाहरुमा प्रतिवादी मैयाँ नानीदेवी जोशीले आफ्नो नाउँमा एकलौटी दर्ता गराएको बदर गरी पाउँ भन्ने वादीहरुको दावी पुग्न सक्ने देखिएन । शन्तलालको नाउँको उक्त विवादित जग्गाहरुमा प्रतिवादी मैयाँ नानीदेवी जोशीले मात्र एकलौटी खान पाउने ठहर्छ । तसर्थ वादी दावाको शन्तलालका नाउँको प्रतिवादीले मात्र दर्ता गराएको ४ खण्डको ३ खण्ड नामसारी दर्ता बदर हुने ठहर्‍याएको यस अदालत डिभिजनबेञ्चको मिति ०३९।४।२४।५ को निर्णय मिलेको देखिएन, उक्त फैसला उल्टी हुने ठहर्छ । तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ उल्टी भई निर्णय भएकोले सो डिभिजनबेञ्चको ०३९।८।२४ को फैसला र ०३९।१०।७ को लगतले प्रतिवादीबाट वादीहरुलाई जम्मा कोर्टफी रु. ९।६६ भराउने गरेकोमा सो बमोजिम भरी भराउ गर्नु पर्ने नहुँदा सो लगत काटी दिनु भनी काठमाडौं जि.अदालतमा लगत दिनु...१, सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३९।८।२४ को फैसलाले प्र.मैयाँ नानी देवीका नाउँमा नामसारी दर्ता गरेको जग्गाको ४ खण्डको ३ खण्ड वादीहरुको नाउँमा नामसारी दर्ता गरी दिन मालपोत कार्यालय सर्लाहीको नाउँमा पत्र लेखी पठाउने गरे अनुसार ०३९।१०।९ मा लेखी पठाएकोमा सो अनुसार गर्नु पर्दैन भनी अघि लेखी पठाएको अनुसार जग्गाको फाँटवारी समेत खुलाई मालपोत कार्यालय सर्लाहीमा लेखी पठाई दिनु...२, मिसिल नियम बमोजिम गर्नु...३

 

उक्त रायमा म सहमत छु ।

न्या.प्रचण्डराज अनिल

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय

      यसमा यसै लगाउको यिनै वादी प्रतिवादी भएको दे.फु.नं. ७८ को हक कायम मुद्दामा वादी दावी अनुसार मर्ने शन्तलालको सम्पत्तिमा वादीहरु पुरुषोत्तमलाल जोशी १, सानु बाबा जोशी १, प्रतिवादी मैयाँ देवी जोशी १ र निर्मललाल जोशी १ गरी चारै जनाको हक कायम हुने ठहर्‍याई आज यसै बेञ्चमा आफ्नो छुट्टै राय पेश गरी सकेको छु । अतः वादी दावी अनुसारको जग्गाहरुमा प्रतिवादी मैयाँ नानीदेवी जोशीको ४ भागको एक भागमा मात्र हक कायम हुने ठहर्छ । तसर्थ वादी दावाको शन्तलालका नाउँको प्रतिवादीले मात्र दर्ता गराएको ४ खण्डको ३ खण्ड नामसारी दर्ता बदर हुने ठहर्‍याएको यस अदालत डिभिजनबेञ्चको मिति ०३९।८।२४।५ को निर्णय मनासिब ठहर्छ । वादी दावी नपुग्ने ठहर्‍याउनु भएको सहयोगी न्यायाधीशहरुको रायसंग सहमत नहुनाले आफ्नो छुट्टै राय व्यक्त गरेको हुँ ।

 

इतिसम्वत् २०४३ साल श्रावण ३१ गते रोज ६ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु