शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४२२४ - लेनदेन

भाग: ३२ साल: २०४७ महिना: फागुन अंक: ११

निर्णय नं. ४२२४    ने.का.प. २०४७      अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको दे.पु.नं. ५९५

फैसला भएको मिति : २०४६।७।२७।१ मा

पुनरावेदक/प्रतिवादी : जि.चितवन सोराहा पं.वा.नं. २ बस्ने नन्दराज मैनाली

विरुद्ध

विपक्षी/वादी : का.न.पं. वा.नं. ९ बस्ने बिमला उप्रेती

मुद्दा : लेनदेन

(१)   सक्कल लिखत हेर्दा रु. ९००।भनी लेखिएको अंक अगाडि ९ अर्कै मसीले लेखी थपेको पाइन्छ । अक्षरले लेखिएको नौ हजार भन्ने शब्द पनि नौ सयको अगाडि कसिएर लेखी नौ हर्जाभन्ने लेखिएको देखिन्छ विशेषज्ञबाट जाँच गराउँदा उक्त अंक अक्षर थपिएको भन्ने समेत राय भई आएको र लिखतको प्रकृतिबाट समेत लिखतमा लेखिएको अंक अक्षर पछि थपेको देखिँदा उक्त लिखत कीर्ते ठहर्ने ।

(प्रकरण नं. १८)

(२)   २०२९।३।२० मा लिखत भएकोमा त्यसको म्याद १० वर्ष रहनेमा म्याद छँदै भाखापत्र गराउने स्थिति देखिन्न, २०२९।३।२० को लिखतमा रहेको अंकलाई पुष्ट्याई गर्न २०२९।६।९ को भाखापत्र बनाएको रहेछ भन्न पर्ने भएको र विशेषज्ञको रायबाट पनि सो लिफामा तैयार पारिएको भन्ने राय भएकोले उक्त लिखतलाई सद्दे भन्न नमिल्ने ।

(प्रकरण नं. १८)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

फैसला

न्या.त्रिलोकप्रताप राणा

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

२.    अन्यायवालाले मसंग २०२९।३।२० गते रु. ९९००।लिई निजको हक भोगको चितवन कुमरीत पञ्चायत वार्ड नं. १३ को ज.वि. २१०० काठमाडौं डिल्लीबजारमा बसी राजीनामा गरी दिनु भएको पास गर्न भू.प्र.का. जाँदा हाकिमको रोहवरमा जाने बखत भागी गएकाले २०२९।६।९ मा भेटी जग्गा पास गरी दिनु होस वा रुपैयाँको साँवा ब्याज दिनु होस भनेकोमा आजका १ महीनाभित्र पास गरी दिन्छु नगरे ऐन बमोजिम साँवा ब्याज उपर गरी लिनु भनी भाखा पत्र गरी दिएको अवधि समेतमा पास गरी नदिएका र नालिश गरी पास गराउन समेत नसकेबाट लिखत कपाली भएकाले साँवा ब्याज दिनु होस भन्दा आज भोली गरी नदिनु भएकाले नालेश गर्न आएको छु । उक्त साँवा रु. ९९००।र लेखिएको मिति देखि आजतक ७ वर्ष आठ महीनाको सयकडा १० ले हुने ब्याज रु. ७५९०।समेत जम्मा रु. १७४९०।र फैसला भएको मिति तकको ब्याज समेत विपक्षबाट भराई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

३.    वादीबाट निजका लेखाई अनुसार रुपैयाँ कर्जा लिई चितवनको जग्गा राजीनामा गरी दिएको हाल मलाई यकीन सम्झना छैन । सबै प्रति सक्कलै लिखत अ.बं. ७८ नं. बमोजिम मलाई देखाई सुनाएका बखत आफ्नो सबै प्रतिक्रिया खुलाई उसै बखत बयान गर्ने छु । वादीको झुठ्ठा दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।

४.    दावीको लिखित ९००।को हो । उक्त लिखत फाराममा ९ को अंक थपी नौ ९९००।अक्षरमा म को धर्कोमा ९ अक्षर जोडी ह जस्तो अक्षर बनाई मैले लेखाएको नौ सयमा जोडी नौ हजार नौ सय जोडे पनि अक्षरको व्यहोरा अस्पष्ट देखिन्छ । त्यस्तै हुँदा नौ ह भन्ने अक्षर कीर्ते हो छविलाल मैनानीलाई दिएको वारेशनामाको लिफामा भाखापत्र लेखी दावी गरेका हुन् । ल्याप्चे र लेखात्मक सही मलाई वारेश दिने कारणीकै हो भन्ने समेत व्यहोराको प्र.वा.खिलनाथ उपाध्यायले गरेको बयान ।

५.    मैले पेश गरेका कागजहरु सच्याएको र कीर्ते गरेको होइन सत्य र साँचो हो भन्ने समेत व्यहोराको वादी वा.रत्नबहादुर श्रेष्ठले गरेको बयान ।

६.    वादीले जिकिर गरे बमोजिम लेनदेन कारोबार भएको ठीक हो । किन पास नगरी दिएको हो थाहा भएन भन्ने समेत व्यहोराको वादी साक्षी गोपालकृष्ण खरेलले गरेको बकपत्र ।

७.    वादीले प्रतिवादीलाई रुपैयाँ दिएको छैन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी घनानाथ उप्रेतीको बकपत्र ।

८.    राजीनामा भाखापत्रमा लागेको कारणीको ल्याप्चे सहिछापलाई प्रतिवादीले हैन भन्न नसकेको अंक र अक्षरको लिपी र मसीमा समेत विशेष अन्तर भिन्नता नदेखिएको भाखापत्र लिखतको ल्याप्चेले व्यहोरालाई छोएको समेतबाट दावीको राजीनामा र भाखापत्र कीर्ते ठहर्न आएन । वादीको साँवा ब्याज तिरे बुझाएको प्रमाण पेश हुन नआएकोमा वादीले दावी बमोजिम साँवा ब्याज प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतबाट २०३८।१२।८ मा भएको फैसला ।

९.    सो फैसलामा चित्त बुझेन प्रतिवादी जिकिर बमोजिम हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीले बागमती अञ्चल अदालतमा दिएको पुनरावेदनपत्र ।

१०.    राजीनामाको सहिछापलाई पुनरावेदकले आफ्नो भनी स्वीकार गरेको नौ हजार नौ सय होइन नौ सय मात्र हो भनेकोलाई भाखापत्र गरी दिएको कागजमा ९ हजार ९ सय प्रष्ट भएकोमा सो भाखापत्र लिफामा खडा गरेको सबूद गुजार्न नसकेकोबाट समेत पुनरावेदन जिकिर फजुल देखिएबाट इन्साफ शुरुको मनासिब ठहर्छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतबाट २०४०।३।२४ मा भएको फैसला ।

११.    सो फैसलामा समेत चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीले मध्यमाञ्चल क्षेत्रीय अदालतमा दिएको निवेदनपत्र ।

१२.   लिखतको अड्ढ अक्षर थपी कीर्ते गरेको हो होइन विशेषज्ञ जँचाई ठहर गर्नु पर्नेमा नगरेको बा.अं.अ. को फैसला प्रमाणको समुचित मूल्यांकन बेगर भएको त्रुटिपूर्ण देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको म.क्षे.अ. सिंगलबेञ्चबाट २०४१।३।२० मा भएको आदेश ।

१३.   विवादित २०२९।३।२० को लिखतलाई प्रतिवादीले सकार गरेको सिर्फ रु. ९००।को लिखतलाई ९ को अंक र हजारको अक्षर थपी कीर्ते गरेको भन्नेसम्म बयान दावी लिएको तर सोही रु. ९९००।को बिगोलाई नै कायम राखी प्रतिवादीले मिति २०२९।६।९ मा भाखापत्र गरिदिएको देखिन आउँछ । भाखापत्र लिफामा लेखिएको जिकिर लिए तापनि विशेषज्ञबाट ल्याप्चेले अक्षर छोएको भन्ने राय समर्थित हुन आएको र भाखापत्रको स्वरुप हेर्दा पनि स्वाभाविक प्रकृतिकै देखिन आएबाट शुरु का.जि.अ.को फैसला सदर गरेको बा.अं.अ. को फैसलामा कुनै कानुनी त्रुटि देखिन नआएबाट सो फैसला परिवर्तन गरिरहन परेन पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने म.क्षे.अ. को २०४३।४।१५।४ को फैसला ।

१४.   उक्त फैसलामा कीर्ते कागजको १ र २ नं., अ.बं. ८० नं. र प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रत्यक्षतः गम्भीर कानुनी त्रुटिपूर्ण हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अन्तर्गत पुनरावेदनको अनुमति पाउँ भन्ने यस अदालतमा दर्ता हुन आएको निवेदनपत्र ।

१५.   ९ सयलाई ९ हजार बनाएको लिफामा भाखापत्र लेखी दावी गरेका हुन भनी प्रतिवादी निवेदकले बयान गरेको र क्षे.अ. ले गराएको विशेषज्ञ जाँचमा पनि विवादित लिखत सद्दे शुद्ध साँचो हो भन्ने ठोस प्रतिवेदन परेको पनि देखिँदैन । विवादित सक्कल लिखत शंकास्पद स्थितिको देखिएको र वादीबाट कानुन अनुरुप प्रष्ट पार्न सकेको समेत पाइँदैन । यस्तो स्थितिमा प्रतिवादीबाट दावी अनुसार भराई लिन पाउने गरी गरेको क्षे.अ. को निर्णयमा कीर्ते कागजको १ र २ नं. को त्रुटि गरेको देखिन आएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।

१६.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले विवादित तमसुक २०२९।३।२० मा लेखिएको र २०२९।६।९ मा भाखापत्र गरिदिएको देखिन्छ । रु. ९००।सम्म लिएकोमा ९ को अंक थपी रु. ९९००।बनाएकोले दुवै लिखत कीर्ते हो । जिल्ला र अञ्चल अदालतबाट लिखत नजँचाई फैसला गरेकोमा क्षेत्रीय अदालतबाट विवादित लिखत जँचाइएको हो । तमसुकमा ९००। को अघि ९ को अंक थपी नौ हजार बनाएको अक्षर बेग्लै छ । लिखत काठमाडौंमा लेखिएको जबकी जग्गा चितवनमा छ यस्तोमा ३ प्रति लिखत हुनु पर्नेमा १ प्रति मात्र छ । लिखत भएको २०२९।३।२० देखि १० वर्ष म्याद हुनेमा सो म्याद भित्रै २०२९।६।९ मा भाखापत्र भयो । म्याद छँदै भाखापत्र गराउन आवश्यक छैन । भाखापत्र लिफामा गराएको हो कारण भाखापत्र गराउनु पर्ने अवस्था नआउँदै सो गराएको छ । यसकारण यी दुवै लिखतहरु कीर्ते हुँदा शुरु जिल्ला अदालतले वादी दावी बमोजिम तमसुकी रुपैयाँ भराउने ठहर गरेको इन्साफ सदर गरेको बागमती अञ्चल अदालतको फैसला सदर गरेको म.क्षे.अ. को इन्साफ नमिलेको हुँदा उक्त फैसला उल्टी हुनुपर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।

१७.   प्रस्तुत मुद्दामा म.क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ हेरी निर्णय दिनु पर्ने हुन आयो ।

१८.   यसमा वादीले २०२९।३।२० को लिखत र २०२९।६।९ को भाखापत्र बमोजिम लिखतमा लेखिएको थैलीको साँवा ब्याज भरी पाउँ भनी दावी लिनु भएकोमा प्रतिवादीले सो लिखत र भाखा गराएको भनिएको लिखत देख्न सुन्न पाउँ भन्दै त्यति रुपैयाँको राजीनामा र भाखापत्र गरेको यकीन छैन भनी प्रतिउत्तर फिराएको देखिन्छ । उक्त २०२९।३।२० को लिखत र २०२९।६।९ को भाखापत्र समेत प्रतिवादीलाई सुनाउँदा उक्त लिखतमा लेखिएको रु. ९०० लाई ९९००।गरी कीर्ते गरेको र भाखापत्र लिफामा तयार पारेको भनी बयान गरेको पाइन्छ । २०२९।३।२० को सक्कल लिखत हेर्दा रु. ९००।भनी लेखिएको अंक अगाडि ९ अर्कै मसीले लेखी थपेको पाइन्छ । अक्षरले लेखिएको नौ हजार भन्ने शब्द पनि नौसयको अगाडि कसिएर लेखी नौ हर्जाभन्ने लेखिएको देखिन्छ । विशेषज्ञबाट जाँच गराउँदा उक्त अंक अक्षर थपिएको भन्ने समेत राय भई आएको र लिखतको प्रकृतिबाट समेत २०२९।३।२० को लिखतमा लेखिएको अंक अक्षर पछि थपेको देखिँदा उक्त लिखत कीर्ते ठहर्छ । २०२९।३।२० मा लिखत भएकोमा त्यसको म्याद १० वर्ष रहनेमा २०२९।६।९ मा म्याद छँदै भाखापत्र गराउने स्थिति देखिन्न । २०२९।३।२० को लिखतमा रहेको अंकलाई पुष्ट्याई गर्न उक्त २०२९।६।९ को भाखापत्र बनाएको रहेछ भन्न पर्ने भएकोले र विशेषज्ञको रायबाट पनि सो लिफामा तैयार पारिएको भन्ने राय भएकोले उक्त लिफालाई सद्दे भन्न मिलेनलिफामा तैयार पारेको देखिन्छ । अतः वादी दावी बमोजिम साँवा ब्याज भराउने ठहराएको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको बागमती अञ्चल अदालतको इन्साफ मनासिब ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती देखिँदा उल्टी हुन्छ । वादी दावी पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

पु.वे.प्रतिवादी नन्दराज मैनाली के माथि इन्साफ खण्डमा ठहरे बमोजिम शुरु जिल्ला अदालतको मिति २०३८।१२।८ को फैसला र २०४३।४।१५ का म.क्षे.अ.का फैसलाले लिखत मिति २०२९।३।२० देखि १० वर्षको साँवा रु. ९९००।र ब्याज रु. ९९००।समेत १९,८००।प्रतिवादीबाट भराई पाउने ठहरेकोमा यस अदालतबाट उक्त लिखत कीर्ते ठहरेकाले वादीले प्रतिवादीबाट भराई पाउने ठहरेको साँवा र ब्याज समेत रु. १९,८००।भराई नपाउने हुँदा वादीले भराई पाउने ठहरेको लगत कट्टा गर्नु भनी शुरु जि.अ.लाई लगत दिनु भनी का.जि.अ.तहसील फाँटमा लगत दिनु...१, पुनरावेदक प्रतिवादी नन्दराज मैनालीके लिखत कीर्ते तर्फ म.क्षे.अ.बाट गरेको जरिवाना रु. १०।निजलाई नलाग्ने हुँदा उक्त जरिवाना असूल भइसकेको देखिँदा उक्त जरिवाना फिर्ता पाउँ भनी निजको कानुनका म्यादभित्र दर्खास्त परे फिर्ता खर्च लेखिदिनु भनी शुरु जि.अ.लाई लगत दिन लगत का.जि.अ.तहसील शाखामा लगत दिनु...२, वादी बिमला उप्रेती के माथि इन्साफ खण्डमा लेखिए बमोजिम रु. ९००। को लिखतलाई ९ को अंक थपी ९९०० बनाई कीर्ते गरेकाले निजलाई बिगो रु. ९०००।को कीर्ते कागजको ७ नं. बमोजिम आधी रु. ४५,००।जरिवाना हुन्छ । बेरुजु हुँदा लगत कसी असल गर्नु भनी शुरु का.जि.अ.तहसील शाखामा लगत दिनु...३, प्रतिवादी नन्दराज मैनाली के बा.अं.अ.मा राखेको कोर्टफी रु. ७२३।६० र म.क्षे.अ.मा राखेको रु. १०७।९३ वादीलाई भराउन नपरी यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. १२०।१२ समेत जम्मा रु. ९५१।६५ प्रतिवादीले फिर्ता पाउने हुँदा कानुनका म्यादभित्र प्रतिवादीको निवेदन परे फिर्ता दिनु भनी का.जि.अ.तहसील शाखामा लगत दिनु...४, मिसिल नियम बमोजिम गरी बुझाई दिनु...५

 

उक्त रायमा म सहमत छु ।

 

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४६ साल कार्तिक २७ गते रोज १ शुभम् ।



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु