निर्णय नं. ४२३० - कीर्ते जालसाजी

निर्णय नं. ४२३० ने.का.प. २०४७ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
२०४५ सालको फौ.पु.नं. ५२९
फैसला भएको मिति : २०४७।११।१३।२ मा
पुनरावदेक/प्रतिवादी : जि.नुवाकोट कालिका गा.पं. वा.नं. ५ बस्ने मुरली तामाङनी
विरुद्ध
प्रत्यर्थी/वादी : जि.नुवाकोट देउराली बस्ने उजेली तामाङनीको मु.स. गर्ने ऐ.ऐ.बस्ने नरबहादुर तामाङ
मुद्दा : कीर्ते जालसाजी
(१) जालसाजी क्रियाद्वारा विवादित जग्गाको वादी पक्षको हितमा असर पर्ने गरी प्रतिवादीलाई फाइदा पुर्याउने मनसायले आपसमा जालसाजी क्रिया गरेको देखिन आएको हुँदा र प्र.ले वादी दावी बमोजिमका रसिदहरु जालसाजीपूर्ण तरीकाले खडा गरेको ठहराएको क्षे.अ. को फैसलामा त्रुटि देखिन नआएकोले परिवर्तन गरिरहन नपर्ने ।
(प्रकरण नं. ११)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुँवर
प्रत्यर्थी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री वोर्णबहादुर कार्की
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्या.प्र.सु.ऐन, २०३१ बमोजिम पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. हस्तबहादुरबाट २००९।११।५ मा राजीनामा रजिष्ट्रेशन पास गरी लिई म उजेलीले भोगी आएको विपक्षी हेमबहादुरकै हातबाट लेखिएको २००४ सालको बण्डापत्रबाट दमैरुम्टो भन्ने खेत ।१।१० म नरबहादुरको हकभोग तिरो भई आजसम्म भोगी आएको जग्गामा विपक्ष मध्ये हेमबहादुरको बालुवा डाँडाको विपक्षीहरु तिनैजना भेला भई मिति मिलाई दर्ता तथा रसिदहरु गर्न मिलाउन लागेका छन भनी हाम्रा प्रमाणका मानिसहरुले भनेबाट जालसाजी गरे होलान भन्ने यकीन थिएन । म नरबहादुरको हक भएको जग्गालाई हकै नभएको व्यक्ति मुरलीलाई दर्ता तिरो गराई विपक्षीहरुमध्ये दत्तजङ भन्नेले दर्ता तथा रसिद समेतबाट जालसाजी गरे गराएमा मुरली तामाङ र दत्त जङलाई कीर्ते कागजको १० नं. ले सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको नरबहादुर समेतको फिरादपत्र ।
३. हामीले रसिदहरु पेश गरेको मिति ०२९।११।१२ बाट वादीले यो जालसाजमा फिराद दायर गरेको मिति ०३१।११।१४ गते वादीको लेखाई अनुसार फिराद गर्न कीर्ते कागजको १८ नं. को म्याद २ वर्ष नाघिसकेको हुँदा हामीहरुलाई केवल दुःख दिनको लागि ०३१।६।६ गते प्रमाण दिएको रसिद नक्कल सारी हेर्दा थाहा पाएको भन्ने कुरा उल्लेख गरी झुठ्ठा फिराद दायर गरेको हो हामी प्रतिवादी हेमबहादुर र मुरली समेत भई ०१७ सालदेखि ०२९ सालतकको रसिद थान–३ जालसाजी कीर्ते गरेको छैन । सो रसिद तिरो बुझाएको मौका मितिमा चौतारियाले गरिदिनु भएको हो भन्ने समेत व्यहोराको मुरली तामाङनी समेत जना २ को संयुक्त प्रतिउत्तरपत्र ।
४. जग्गाको हक बेहकको उजूर बेगर रसिदतर्फ मात्र जालसाजी हो होइन भनी हामीले निर्णय दिन नमिल्ने हुँदा वादी उजूरी अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको रसुवा तथा नुवाकोट जिल्ला अदालतको मिति २०३२।५।३ को फैसला ।
५. जग्गा खिचोला मुद्दा साथै राखी एकै साथ निर्णय गर्नु भनी उपस्थित पक्ष विपक्षलाई तारेख तोकी मिसिल शुरु जिल्ला अदालतमा पठाई दिने ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ. को मिति ०३३।९।२ को फैसला ।
६. प्र.हेमबहादुर तथा प्र.मुरली तामाङनी दुवै जना मिली उल्लेखित रसिदहरु जालसाजीपूर्ण तवरले खडा गरे गराएको ठहर्छ भन्ने समेत व्यहोराको ०४१।८।४ को फैसला ।
७. ठोस सबूद प्रमाणको आधारमा पुनरावेदक प्रतिवादी हेमबहादुर तामाङ र मुरली तामाङनी समेत मिली वादीको फिराद दावी बमोजिम रसिदहरु जालसाजी तवरले खडा गरेको ठहर्याएको शुरु जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ.को मिति ०४३।२।६ को फैसला ।
८. हक भोगमै नभएको जग्गाको रसिद बनाई दिई प्रमाणमा पेश गर्ने क्रिया स्वतः आपसमा जालसाजी क्रिया हुँदा प्र.हेमबहादुर तामाङ र प्र.मुरली तामाङनी समेतले वादी दावी बमोजिम रसिदहरु जालसाजपूर्ण तरीकाले खडा गरेको बा.अं.अ. समेतको फैसला मनासिब ठहराई गरेको म.क्षे.अ. को मिति ०४५।३।२ को फैसला ।
९. बागमती अञ्चल अदालत समेतको फैसला सदर गरी मलाई हराई गरेको म.क्षे.अ. को फैसलामा चित्त बुझेन यसमा कानुनको व्याख्या विचारणीयमा विवादरहित गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने प्र.मुरली तामाङनीको यस अदालतमा परेको अनुमतिको निवेदन ।
१०. यिनै पक्ष विपक्ष भएको जग्गा खिचोला मुद्दामा निवेदकको निवेदन अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएकोले प्रस्तुत निवेदन पनि सोही लगाउको देखिन आएकोले पुनरावेदनको अनुमति दिएको छ भन्ने समेत व्यहोराको मिति २०४५।६।११ को यस अदालतको संयुक्त इजलासबाट भएको आदेश ।
११. नियम बमोजिम आजको दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुँवरले पुनरावेदनको समर्थनमा तथा प्रत्यर्थी वादी तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री बोर्णबहादुर कार्कीले प्रत्यर्थी वादीका समर्थनमा प्रस्तुत गर्नु भएको बहस समेत सुनी मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको सम्बन्धमा पुनरावेदन सहितको मिसिल संलग्न सम्पूर्ण कागजात अध्ययन गरी हेरी निर्णयतर्फ विचार गर्दा । म उजेली तामाङनीको हक भएको जग्गालाई हकै नभएको व्यक्ति मुरलीलाई दर्ता तिरो गराई विपक्षी मध्ये दत्तजङ भन्नेले दर्ता तथा रसिद समेतबाट जालसाजी गरे गराएमा मुरली र दत्त जङलाई कीर्ते कागजको १० नं. बमोजिम सजायँको माग दावी भएको फिरादपत्र तथा चौतारियाबाट दिनु भएको रसिदहरु सही साँचो मौका मौकामा तिरो बुझाई ल्याएका रसिद हुन जालसाजी कीर्ते होइन, झुठ्ठा फिराद दिएकोमा वादीलाई नै सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर भएकोमा यसै लगाउको यिनै पक्ष विपक्ष भएको दे.पु.नं. ७६४ को जग्गा खिचोला मुद्दामा विवादित जग्गा प्रत्यर्थी वादीको ठहर्ने गरी म.क्षे.अ. ले गरेको इन्साफ सदर ठहरी आजै पुनरावेदन किनारा भएको विवादित जग्गाको तालुकदार प्र.हेमबहादुर प्र.मुरली तामाङनी समेतले जालसाजी क्रियाद्वारा विवादित जग्गाको वादी पक्षको हितमा असर पर्ने गरी प्रतिवादीलाई फाइदा पुर्याउने मनसायले आपसमा जालसाजी क्रिया गरेको देखिन आएको हुँदा प्र.हेमबहादुर तामाङ र प्र.मुरली तामाङनी समेतले वादी दावी बमोजिमका रसिदहरु जालसाजीपूर्ण तरिकाले खडा गरेको ठहराएको म.क्षे.अ.को फैसलामा त्रुटि देखिन नआएकोले परिवर्तन गरिरहन परेन इन्साफ मनासिब ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.बब्बरप्रसाद सिंह
इतिसम्वत् २०४७ साल फाल्गुण १३ गते रोज २ शुभम् ।