शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४२३१ - बन्दीप्रत्यक्षीकरण लगाय जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ

भाग: ३२ साल: २०४७ महिना: फागुन अंक: ११

निर्णय नं. ४२३१     ने.का.प. २०४७      अङ्क ११

 

एक न्यायाधीशको इजलास

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४२ सालको रिट नं. २३८४

आदेश भएको मिति : २०४४।२।६।४ मा

निवेदक      : सदरखोर डिल्लीबजारमा थुनामा बस्ने बाबुराम तिमिल्सीना

विरुद्ध

विपक्षी : श्री जिल्ला न्यायाधीश, का.जि.अदालतसमेत

विषय : बन्दीप्रत्यक्षीकरण लगाय जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ

(१)   ऐनमा यति दिन भित्र पक्राउ हुन नसकेमा पछि पक्राउ गर्नु हुँदैन भनी किटानी व्यवस्था भएको पाइँदैन, तायदाती नदिई धिङन्याई गर्नेलाई ६ महीनासम्म थुनामा राख्न सकिने अंशबण्डाको २१ नं. मा व्यवस्था भएको हुँदा र तायदाती दिन सक्तिन भनी प्रतिवादीले कागज गरेको तथा थुनामा परेको देखिँदा गैरकानुनी थुना भन्न नमिल्ने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट     : विद्वान अधिवक्ता श्री रोहिणीराज सिग्देल

आदेश

न्या.प्रचण्डराज अनिल

१.     नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत यस अदालत समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    विपक्षी विनिता तिमिल्सीनाले म निवेदक १, शान्ता तिमिल्सीना १, सिताकुमारी तिमिल्सीना १ समेत तीनजनाका नाममा मिति २०४२।९।९।३ मा अंश पाउँ भनी का.जि.अ. मा फिराद दिई मेरा नाममा इतलायनामा जारी भई बीच बीचमा तामेल भएको कुरा निवेदकलाई थाहा नभई प्रतिवाद गर्ने मौका पाइन । मिति २०४३।३।४।४ मा का.जि.अ.ले बेरीतको तामेल गरेको म्याद बदर गरी पुनः अ.बं. ११० नं. बमोजिम म्याद तामेल गर्नु भन्ने आदेश दिएको र मिति २०४३।८।९।२ मा का.जि.अ. ले प्रतिवादी सासू सौता र लोग्नेहरुबाट अंश पाउँ भन्ने समेतको वादी दावीमा मिति २०४३।४।१२ मा प्रतिवादीहरुका नामको म्याद तामेल भई प्रतिउत्तर फिराएको नदेखिँदा फिराद परेको अघिल्लो दिन मिति २०४२।९।८ का दिन मानु छुट्टिएको मिति कायम गरी सो को अघिल्ला दिनसम्मको बण्डा गर्नुपर्ने श्रीसम्पत्ति धनमालको तायदाती फाँटवारी वादीबाट लिई अंश बण्डाको २०, २१, २२, २३ र २४ नं. को प्रकृया पूरा गरी नपुग कोर्टफी भए लिई नियम बमोजिम गर्नु भन्ने आदेश गरेको रहेछ ।

३.    मिति २०४३।१०।२३।६ मा का.जि.अ. बाट प्र.बाबुराम तिमिल्सीनाका नाममा उक्त अंश मुद्दामा जारी गरिएको पक्राउ पुर्जी अनुसार तोकिएको वतनमा पटक पटक जाँदा फेला नपरेको भनी तामेलदारले पक्राउ पुर्जी फिर्ता गरी वादीसंग प्रतिवादीहरु जिम्माको बण्डा गर्नुपर्ने सम्पत्तिको तायदातीको फाँटवारी माग गरेकोमा वादीले म तायदाती दिन सक्तिन तामेलदारलाई साथ लगी प्रतिवादीलाई देखाउन सक्तछु, पुनः पक्राउ पुर्जी गरिपाउँ भनी कागज गरिदिए बमोजिम पुनः पक्राउ पुर्जी जारी गरिदिने आदेश भएको रहेछ ।

४.    मिति २०४३।१२।८।१ मा मलाई पक्राउ गरी का.जि.अ. बाट प्रतिवादीले वादी श्रीमतीलाई खान लाउन नदिएको प्रस्तुत मुद्दामा शुरु म्याद गुजारी बसी पक्राउ पुर्जी जारी भई पक्राउ भई आएको र आमासंग अंश नभएको जिकिर समेत भएको हुनाले निजलाई अंशबण्डाको ऐन बमोजिम थुनामा राखी नियमानुसार गर्नु भनी आदेश गरेको थियो ।

५.    मिति २०४३।१२।१३।६ मा का.जि.अ. ले मेरा निवेदन उपर मलाई बयान गराई आज प्रतिवादीले दर्ता कि.नं. थाहा नभएकोले तायदाती दिन असमर्थ छु भनी कागज गरेको र मिति २०४३।१२।८ मा आमासंग अंश नलिएकोले तायदाती दिन सक्तिन भनी जिकिर लिएको हुँदा पटकै पिच्छे विभिन्न जिकिर लिएको हुँदा धिङन्याई गर्ने निज प्रतिवादीलाई पूर्ववत् थुनामा राखी नियमानुसार गर्नु भनी थुनामा राखेको छ ।

६.    म निवेदकले अ.बं. १७ नं. बमोजिम बागमती अञ्चल अदालतमा गैरकानुनी थुनाबाट मुक्त गरी पाउन निवेदन दिएकोमा कानुन बमोजिम गर्नु भन्ने आदेश गरी मलाई गैरकानुनी थुनाबाट मुक्त गरी दिएन ।

७.    अंश बण्डाको २ नं. बमोजिम एक महीनासम्म पक्राउ पुर्जी जारी गर्ने सो म्यादभित्र पक्राउ भई नआए वादीसंग तायदाती माग्ने र वादीले तायदाती दिन नसके तायदाती आएका बखत अंश बण्डा गरी दिने भनी फैसला गर्नु पर्नेमा तामेलदार पाए पक्राउ गराई दिन सक्तछु पुनः पक्राउ पुर्जी जारी गरी पाउँ भनी वादीले कागज गरे अनुसार पुनः पक्राउ पुर्जी जारी गर्न काठमाडौं जिल्ला अदालतलाई अधिकार छैन । दोहोरो पक्राउ पुर्जी जारी गरी म निवेदकको वैयक्तिक स्वतन्त्रताको अपहरण गरी थुनामा राखेको गैरकानुनी आदेश बदर गरी पाउन बागमती अञ्चल अदालतमा निवेदन दिंदा समेत विपक्षी बागमती अञ्चल अदालतबाट सो गैरकानुनी आदेश यथावत राखेको हुँदा काठमाडौं जिल्ला अदालत र बागमती अञ्चल अदालतले गरेको सम्पूर्ण गैरकानुनी आदेश बदर गरी गैरकानुनी थुनाबाट मुक्त गर्ने बन्दीप्रत्यक्षीकरण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ भन्ने समेत व्यहोराको निवेदक बाबुराम तिमिल्सीनाको रिटनिवेदन ।

८.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत निवेदनमा रिट निवेदकका तर्फबाट बहसका निमित्त उपस्थित विद्वान अधिवक्ता श्री रोहिणीराज सिग्देलको बहस समेत सुनियो । अब प्रस्तुत विषयमा प्रत्यर्थीहरुबाट लिखितजवाफ झिकाई विचार गर्नुपर्ने अवस्था छ वा छैन सोही कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

९.    यसमा निर्णयतर्फ विचार गर्दा प्रतिवादीले अंश मुद्दाको म्याद गुजारी पक्राउ पुर्जी जारी हुँदा पक्राउमा परेको तथा तायदाती दिन इन्कार गरेको देखिन्छ । एक महीनाको पक्राउ पुर्जी जारी भएकोमा फेला नपरेको कारणबाट दोश्रो पटक पक्राउ पुर्जी जारी गर्न मिल्ने होइन भन्ने विद्वान अधिवक्ता श्री रोहिणीराज सिग्देलको बहस जिकिर रहेको छ । ऐनमा यति दिनभित्र पक्राउ हुन नसकेमा पछि पक्राउ गर्नु हुँदैन भनी किटानी व्यवस्था भएको पाइँदैन । तायदाती नदिई धिङन्याई गर्नेलाई ६ महीनासम्म थुनामा राख्न सकिने अंश बण्डाको २१ नं. मा व्यवस्था भएको हुँदा र तायदाती दिन सक्तिन भनी प्रतिवादीले कागज गरेको तथा मिति २०४३।१२।८ मा थुनामा परेको देखिँदा गैरकानुनी थुना भन्न मिलेन । अतः प्रत्यर्थीहरुबाट लिखितजवाफ झिकाई विचार गरी रहनु पर्ने अवस्था विद्यमान नहुँदा प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

इतिसम्वत् ०४४ साल ज्येष्ठ ६ गते रोज ४ शुभम् ।



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु