निर्णय नं. ९२२७ - जबर्जस्ती करणी उद्योग

नेकाप २०७१, अङ्क ८, नि.नं.९२२७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
फैसला मिति : २०७१।३।२३।२
०६६–CR –०५१७
मुद्दा : जबर्जस्ती करणी उद्योग ।
पुनरावेदक/प्रतिवादी : जिल्ला झापा, महेशपुर गाउँ विकास समिति वडा नं. ५ बस्ने चन्दन कामती
विरूद्ध
प्रत्यर्थी/वादी : नेपाल सरकार
§ जबर्जस्ती करणीको उद्योगमा जबर्जस्ती करणीको महलमा व्यवस्था भए अनुसार सोह्र वर्ष नाघेकी केटी वा स्वास्नी मानिसलाई जोरजुलुम गरी वा डर धाक देखाई वा अनुचित प्रभावमा पारी करणीको प्रयास भएको हुन्छ । यसमा सङ्घर्षका चिह्न वा लक्षण देखिन पनि सक्दछ, नदेखिन पनि सक्दछ । तर यसको विपरीत आसय करणीमा सङ्घर्षका चिह्नहरू वा लक्षणहरू देखिँदैन । यसमा स्त्री जातिको कुनै पनि अङ्गमा करणीको आसयले स्पर्श मात्र नभई समातेको सम्म हुनुपर्ने देखिन्छ । आसय करणीमा करणी गर्ने मनसाय हुन्छ तर जबर्जस्ती करणीको उद्योगमा जबर्जस्ती करणी गर्ने मनसाय हुन्छ । तसर्थ यी दुबैमा करणीको आसय त हुन्छ तर जबर्जस्ती गरेको लक्षण जबर्जस्ती करणीको उद्योगमा मात्र हुन सक्ने ।
(प्रकरण नं.४)
पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ताद्वय ज्ञानेन्द्रप्रसाद पोखरेल र विक्रम बस्नेत
प्रत्यर्थी/वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता गंगाप्रसाद पौडेल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
§ मुलुकी ऐन, जबर्जस्ती करणीको महलको ३, ५ नं.
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या.श्री अवध बिहारीप्रसाद सिन्हा
पुनरावेदन तहमा फैसला गर्ने :
मा.मु.न्या.श्री पुरूषोत्तम पराजुली
मा.न्या.श्री केशवप्रसाद मैनाली
फैसला
न्या. कल्याण श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन अदालत, इलामको मिति २०६६।२।३ को फैसलाउपर प्रतिवादीको पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छ :
जिल्ला झापा, महेशपुर ५ स्थित पूर्व, पश्चिम र उत्तरमा मनोज सिहंको चिया बगान, दक्षिणमा कुमोद झाको चिया बगान यति चार किल्लाभित्र मिति २०६३।१।१६ गते अं १६.०० बजेको समयमा चन्दन कामतीले जाहेरवालीकी छोरी वर्ष तेह्रकी रेणु राजवंशीलाई जबर्जस्ती करणीको उद्योग गरेको र उक्त स्थानमा झारपात केही मात्रामा माडिएको जस्तो देखिएको, रेणु राजवंशीले लगाएको कलेजी रङ्गको हाफ पाइन्ट, रातो सर्ट र बैजनी रङ्गको सलसमेत रहेको भन्ने व्यहोराको घटनास्थल मुचुल्का ।
मेरी छोरी वर्ष तेह्रकी रेणु राजवंशी मिति २०६३।१।१६ गते दिनको ४ बजेको समयमा घाँस काट्न भनी मनोज सिंहको चिया बगानमा गएको अवस्थामा चन्दन कामतीले छोरीलाई जबर्जस्तीपूर्वक लडाई लगाएको कपडा खोली निजको उत्तेजित लिङ्ग निकाली करणी गर्न खोज्दै गर्दा मेरी बुहारी घाँस काट्न सोही चिया बगानमा गएको अवस्थामा देखी कराउँदा विपक्षी उठी कपडा मिलाउँदै भागी गएको भन्ने कुरा बेलुका पत्नीले भन्दा थाहा पाएको हो । पहिलेदेखि नै निज प्रतिवादीले छोरीसँग विवाह गर्छु भनी ललाई फकाई माया गर्छु भनेको कुरा छोरीले सुनाएको हुँदा कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त ।
मिति २०६३।१।१६ गते जाहेरवालीको छोरी रेणु राजवंशी मनोज सिंहको चिया बगानमा एक्लै घाँस काट्दै गरेको देखी म पनि निजले घाँस काट्दै गरेको ठाउँमा गई निजसँग गफ गर्न थालेँ । निज रेणु घाँस काट्न छाडी मसँग गफ गर्न थालेपछि मलाई करणी गर्ने मनसाय भई करणी गर्न देउ भनी फकाउँदै निजको शरीर तथा दूधमा सुमसुमाउँदै थिएँ । निज रेणुले मलाई करणी गर्न नदिएपछि एकान्त ठाउँमा भएकाले जबर्जस्तीसँग करणी गर्ने मनसायले निजले लगाएको सर्ट हातले खोल्दै थिएँ । सोही अवस्थामा घाँस काट्ने मानिस आइपुगेकोले मैले निजलाई करणी नगरी भागेको हो भन्ने प्रतिवादी चन्दन कामतीको बयान कागज ।
म चिया बगानमा घाँस काट्दै गरेको अवस्थामा चन्दन कामती पुगी तिमी मसँग विहे गर, म तिमीलाई माया गर्छु भन्दै कोही नभएको एकान्त ठाउँमा लगी मलाई एक्कासी दुबै
हातले अँगालो हाली भुइँमा लडाई मुख थुनिदियो र मैले तत्काल कुनै प्रतिकार गर्न सकिन । निज ममाथि चढी निजले मेरो कट्टु खोली आफ्नो लिङ्ग निकाली मेरो योनीमा पुर्याएको थियो । सोही समयमा मेरी काकी नाता पर्ने शर्मिला राजवंशी के कहाँबाट सोही स्थानमा आइपुग्दा कट्टु समात्दै उठ्यो । म एक्लै एकान्त स्थानमा भएको मौका छोपी निजले मलाई जबर्जस्ती करणी गर्ने उद्योग गरेको हो भन्ने जाहेरवालीकी छोरी रेणु राजवंशीले गरेको कागज ।
म चिया बगानमा घाँस काट्न भनी गएकी थिएँ । सो ठाउँमा प्रतिवादीले रेणु राजवंशीलाई जमिनमा लडाएको देखी के गरेको भनी कराउँदै निजको नजिक जाँदा प्रतिवादीले कट्टु समाउँदै भागेको र रेणु राजवंशीले लगाएको सर्ट, हाफ पाइन्ट र सल भुइँमा भएको देखी रेणु राजवंशीलाई सोधपुछ गर्दा चन्दन कामतीले मलाई जबर्जस्ती करणी गर्न मैले लगाएको सर्ट, हाफ पाइन्ट खोली भुइँमा लडाएको भनी बताएकी हुँदा प्रतिवादी चन्दन कामतीले रेणु राजवंशीलाई जबर्जस्ती करणी गर्ने उद्योग गरेको हो भन्नेसमेत व्यहोराको शर्मिला राजवंशीले गरेको कागज ।
प्रतिवादीले जाहेरवालाको छोरीलाई जबर्जस्ती करणी गर्ने उद्योग गरेको भन्ने हल्ला सुनी घटनास्थलमा हेर्न जाँदा रेणु राजवंशीको हाफ पाइन्ट, सर्ट, सल देखेको र सोही स्थानमा रेणु राजवंशी र शर्मिला राजवंशी थिए । रेणु राजवंशीले मलाई चन्दन कामतीले मैले लगाएको सर्ट, हाफ पाइन्ट खोली मलाई जबर्जस्ती करणी गर्न लागेका थिए, सोही अवस्थामा शर्मिला आई पुगेपछि भागेको भनी बताएकी हुँदा प्रतिवादी चन्दन कामतीले रेणु राजवंशीलाई जबर्जस्ती करणी गर्ने उद्योग गरेकोमा पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको धिरेन राजवंशीसमेतले गरिदिएको वस्तुस्थिति मुचुल्का ।
पीडित रेणु राजवंशीको योनी वरिपरि कुनै चोट पटक छैन, स्तनमा चोटपटक दाग नदेखिएको भनी उल्लेख भएको मेची अञ्चल अस्पताल, भद्रपुरको शारीरिक परीक्षण प्रतिवेदन ।
चन्दन कामतीको लिङ्ग र शरीरमा खोस्रिएको तथा नङ्ग्राएको दाग तथा चोटपटक छैन भन्ने निजको शारीरिक परीक्षण प्रतिवेदन ।
प्रतिवादी चन्दन कामतीले जाहेरवालीकी छोरी वर्ष तेह्रकी रेणु राजवंशीलाई जबर्जस्ती करणी गर्ने उद्योग गरी मुलुकी ऐन, जबर्जस्ती करणीको महलको ५ नं. को कसुर गरेको हुँदा निजलाई सोही महलको ३ नं. को देहाय २ को आधारमा ऐ. ५ नं.बमोजिम सजाय गरिपाउन मागदावी लिई पेस भएको अभियोगपत्र ।
मेरो दाजुले मलाई गाईवस्तु सारेर आइज भनेकोले गाई सार्न भनी खेतमा जाँदा रेणु राजवंशीले एकछिन बस अनि जानुपर्छ भनिन् । म पनि उनलाई मन पराउने भएकोले एकछिन बसी विवाह गर्ने कुरा गरिसकेपछि उनको सानी आमाले पीडितलाई लिई गएकी हुन् । मैले निजलाई जबर्जस्ती करणी गर्ने मनसायले कुनै काम गरेको होइन भन्ने प्रतिवादी चन्दन कामतीले अदालतमा गरेको बयान ।
प्रतिवादी राम्रो चरित्रका व्यक्ति हुन् । निजले त्यस्तो अपराध गरेको होइन भन्ने प्रतिवादीका साक्षी बड्कु टुडु मर्दि, माधवप्रसाद अधिकारी र ताला हेमरमले एकै मिलान हुने गरी गरेको बकपत्र ।
मेरी भाइ बुहारी शर्मिलाले म बगानमा नगएको भए तपाईंकी छोरीको बलात्कार हुने थियो भनेपछि मेरी छोरीलाई सोधपुछ गर्दा प्रतिवादीले मलाई पैसा दिन्छु भनी फकाउँदा मैले नमानेकाले जबर्जस्ती गर्न खोजेको हो, काकीले देखेको हुँदा निज भागेर गयो भनेकी हुन् भन्ने जाहेरवालाले गरेको बकपत्र ।
म खेतमा घाँस काटिरहेको बेला प्रतिवादी आई तेरो इज्जत मलाई दे भन्दा मैले नमानेपछि मेरो सल फालिदियो, मेरो हाफ पाइन्ट पनि खोलेर फालिदियो र मलाई जबर्जस्ती करणी गर्न खोज्दा मेरी काकी शर्मिला आइपुगेपछि चन्दन भागेर गएका हुन् भनी पीडितले अदालतमा गरेको बकपत्र ।
किटानी तरिकाले भन्न सक्दिन । चन्दनले फटाहा काम गरेको अरे भन्ने सुनेको मात्र हो भन्ने वस्तुस्थिति मुचुल्काका भीमप्रसाद राजवंशीले गरेको बकपत्र ।
घटनास्थलमा केटाकेटी तलमाथि गरी लाप्पा खेलेको देखेको हो । घटनास्थलमा खोलेर राखेको सर्ट, पाइन्ट, कट्टु थियो भन्ने बुझिएकी शर्मिला राजवंशीले गरेको बकपत्र ।
यसमा पीडित र प्रतिवादीको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट जबर्जस्ती करणीको उद्योग गरेको कुनै लक्षण नपाइएको, प्रत्यक्षदर्शी भनिएकी शर्मिला राजवंशीको बकपत्र विश्वसनीय देखिन नआएको, कसुर प्रमाणित गर्ने भार वादीमा रहनेमा तथ्ययुक्त ठोस सबुद प्रमाण गुजार्न नसकेको अवस्थामा प्रतिवादीलाई जबर्जस्ती करणीको उद्योगको कसुरदार ठहराउन मिल्ने नदेखिँदा निजले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्ने झापा जिल्ला अदालतको मिति २०६५।१।२३ को फैसला ।
प्रतिवादीले पीडितलाई चिया बगानमा मुख थुनी जबर्जस्ती करणी गर्न खोजेको अवस्थामा शर्मिला राजवंशी आएपछि प्रतिवादी भागेको भनी पीडितले मौकामा तथा अदालतमा बकपत्र गर्दा स्पष्ट लेखाएको अवस्था हुँदाहुँदै प्रतिवादीको झुट्ठा कुरालाई आधार लिई निजलाई सफाइ दिने गरी भएको सुरूको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी अभियोग दावीबमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत, इलाममा परेको पुनरावेदन ।
प्रतिवादीले कसुर नगरेको भए जाहेरवाला, घटना विवरण कागज गर्ने शर्मिला राजवंशीसमेतले प्रतिवादीउपर किटानी पोल गरी बकपत्र गर्नुपर्ने अन्य कुनै कारण मिसिलबाट देखिँदैन । पीडित रेणु राजवंशी र प्रतिवादी चन्दनबीच गाउँलेको रोहबरमा भएको मिति २०६३।३।८ मा भएको
मिलापत्रको छायाप्रतिको व्यहोराबाट पनि दावीको वारदात भएको भन्ने पुष्टि हुन आउँछ । तसर्थ उमेर नपुगेकी नाबालिका रेणु राजवंशीलाई प्रतिवादी चन्दन कामतीले जबर्जस्ती करणीको उद्योग गरेको भन्ने देखिएको हुँदा निजलाई अभियोग दावीबाट सफाइ दिने गरी भएको झापा जिल्ला अदालतको फैसला मिलेको नहुँदा उक्त फैसला उल्टी भई निज प्रतिवादीलाई वारदात भइसकेको भए जबर्जस्ती करणीको ३ नं. को देहाय (२) बमोजिम तजबिजी कैद वर्ष आठ हुनेमा वारदात भइनसकेको देखिँदा ऐ. ५ नं. बमोजिम सोको आधा कैद वर्ष चार सजाय हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, इलामको मिति २०६६।२।३ को फैसला ।
वयस्क पुरूष र महिलाबीच सामान्य मायाप्रीतिका कुरा हुनु, विवाहका प्रस्तावका कुरा राख्नु, सामान्य आलिङ्गन चुम्बन जस्ता क्रियाकलाप हुनु जबर्जस्ती करणीको उद्योगको परिभाषाभित्र पर्न सक्तैन । तथ्यको स्वीकारोक्ति र कसुरको साबितीलाई एकै अर्थमा लिई वारदात स्थलमा भएको मेरो भौतिक उपस्थितिलाई आधार मानी कसुर ठहर गरेको अवस्था छ । पीडितको उमेरको सम्बन्धमा पनि मेची अञ्चल अस्पतालले सोह्रदेखि अठार वर्षको भनी उल्लेख गरेको अवस्थामा मिति २०४९।२।२८ को जन्मदर्ता प्रमाणपत्रलाई मान्यता दिइएको छ । रेणु राजवंशी र मबीच गाउँ समाजमा भएको मिति २०६३।३।८ को मिलापत्रको कागज मिल्ने उद्देश्यले भएको हो । मिल्ने उद्देश्यले व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा ९(ग) अनुसार मेरो विरूद्धमा प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन । अतः पुनरावेदन अदालतको फैसला उल्टी गरिपाउँ भन्ने प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन ।
पीडितको बकपत्र र वारदातको रूप हेर्दा जबर्जस्ती करणीको महलको वारदात नभई आसय करणीको प्रकृति देखिएकाले प्रतिवादीको कसुर ठहर गरी भएको पुनरावेदन अदालत, इलामको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ पेसीको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार गर्नु भन्ने यस अदालतको मिति २०६७।३।६ को आदेश ।
नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा उपस्थित विद्वान् अधिवक्ताद्वय श्री ज्ञानेन्द्रप्रसाद पोखरेल र श्री विक्रम बस्नेतले पीडित र प्रतिवादीको शरीरमा सङ्घर्षका चिह्नहरू देखिएको छैन, चिया बगान जस्तो सार्वजनिक स्थानमा प्रतिवादीले जबर्जस्ती करणी गर्ने प्रयास गर्ने कुरा हुँदैन, पीडितकी काकी नाताकी शर्मिला राजवंशीबाहेक सो सार्वजनिक स्थानमा मौजुद रहेका अन्य व्यक्तिलाई सरकारी पक्षबाट अनुसन्धानको क्रममा बुझ्न सकेको अवस्था पनि छैन, पीडितको उमेर १६-१८ वर्षको भनी मेची अञ्चल अस्पतालले प्रमाणित गरेको अवस्थामा पीडितलाई नाबालिग ठहर गरी सजाय निर्धारण गरेको कानूनसम्मत छैन, उक्त अस्पतालले पीडितको शारीरिक परीक्षण गरी पठाएको पत्रमा पीडितको Hymen पहिले नै च्यातिएको भनी उल्लेख भएकोले समेत
पीडित उमेर पुगेर परिपक्व भएको भन्ने देखिएको छ । यस्तो अवस्थामा प्रतिवादीउपरको कसुर ठहर गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएको हुँदा उक्त फैसला उल्टी गरिपाउँ भन्नेसमेतको व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्याधिवक्ता श्री गंगाप्रसाद पौडेलले प्रतिवादीले आफू पीडितसँगसँगै चिया बगानमा भएको कुरा स्वीकार गरेका नै छन् , पीडित र प्रतिवादीको शरीरमा कुनै सङ्घर्षका चिह्न नदेखिए तापनि घटनास्थलमा घाँस मडारिएको भन्नेसम्म घटनास्थल प्रकृतिबाट देखिएकै छ, घटना घटेको देख्ने प्रत्यक्षदर्शी र पीडितको अदालतमा बकपत्र भएकै अवस्था छ, प्रतिवादीले आफ्नो लिङ्ग पीडितको योनीसम्म पुर्याएको भनी पीडितले आफ्नो कागजमा उल्लेख गरेकी छिन्, जबर्जस्ती करणी जस्तो अपराधमा अन्य प्रमाणबाट समर्थित भएको अवस्थामा प्रतिवादीले अदालतमा आई इन्कारी बयान गर्नु मात्र निर्दोषिता ठहर हुने आधार बन्न नसक्ने भन्ने प्रतिपादित सिद्धान्त (ने.का.प. २०६७ पुस, नि.नं. ८४६९, पृ.१६१०) समेतका आधारमा प्रतिवादीले कसुरबाट उन्मुक्ति पाउने अवस्था छैन, पीडितको उमेरका सम्बन्धमा पीडितलाई नाबालिग भनी प्रतिवादीले अनुसन्धानको क्रममा भएको बयानमा स्वीकार गरेका छन्, पीडितले अदालतमा बकपत्र गर्दा आफ्नो उमेर तेह्र वर्ष भनी उल्लेख गरेकी छिन्, निजको जन्म दर्ता प्रमाणपत्र अदालतमा पेस भएको र सो अनुसार निज नाबालिग नै भएको पुष्टि भएको अवस्था हुँदा पुनरावेदन अदालतको फैसला सदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
विद्वान् कानून व्यवसायीहरू एवम् सरकारी वकिलको बहस जिकिर सुनी मिसिल संलग्न कागजातहरू अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा देहायका प्रश्नहरूमा निर्णय दिनुपर्ने देखिन आयोः
(क) प्रतिवादीले पीडितउपर गरेको क्रियाकलाप जबर्जस्ती करणीको उद्योग वा आसय करणी के हो ?
(ख) पीडितको उमेरको वास्तविक आधार केलाई मान्नुपर्ने हो ?
(ग) प्रतिवादीउपरको कसुर ठहर गरी भएको पुनरावेदन अदालत, इलामको फैसला कानूनसम्मत छ, छैन ?
२. सर्वप्रथम पहिलो प्रश्नतर्फ विचार गर्दा आसय करणीलाई आसय करणीको महलले के कसरी परिभाषित गरेको छ, सो अध्ययन गर्नुपर्ने हुन्छ । उक्त महलको १ नं. मा देहायबमोजिम उल्लेख छः
“जुनसुकै मानिसले आफ्नो स्वास्नीबाहेक एघार वर्ष नाघेका जुनसुकै स्वास्नी मानिसलाई करणीका आसयले शिरदेखि पैतालासम्मका अङ्गमा समातेमा पाँचसय रूपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुनेछ” ।
३. यस व्यवस्थालाई हेर्दा एघार वर्षभन्दा मुनिका नाबालिगको सन्दर्भमा सो महल आकर्षित हुने देखिएन । यस्ता नाबालिगको पूर्णरूपमा शारीरिक विकास नहुने भएकोले करणीको आसय लोग्ने मानिसमा उत्पन्न हुने कम सम्भावनाको आँकलन गरी विधायिकाले यस प्रकारको व्यवस्था गरेको हुन सक्दछ । प्रस्तुत मुद्दामा पीडित एघार वर्षभन्दा माथिको भएकोमा विवाद देखिँदैन । अब यसमा प्रतिवादीले पीडितप्रति गरेको क्रियाकलाप आसय करणी हो वा होइन भन्ने सन्दर्भमा यी दुबैबीच रहेको निहित भिन्नतालाई छुट्याएर हेर्नु पनि जरूरी हुन्छ ।
४. जबर्जस्ती करणीको उद्योगमा जबर्जस्ती करणीको महलमा व्यवस्था भए अनुसार सोह्र वर्ष नाघेकी केटी वा स्वास्नी मानिसलाई जोरजुलुम गरी वा डर धाक देखाई वा अनुचित प्रभावमा पारी करणीको प्रयास भएको हुन्छ । यसमा सङ्घर्षका चिह्न वा लक्षण देखिन पनि सक्तछ, नदेखिन पनि सक्तछ । तर यसको विपरीत आसय करणीमा सङ्घर्षका चिह्नहरू वा लक्षणहरू देखिँदैन । यसमा स्त्री जातिको कुनै पनि अङ्गमा करणीको आसयले स्पर्श मात्र नभई समातेको सम्म हुनुपर्ने
देखिन्छ । आसय करणीमा करणी गर्ने मनसाय हुन्छ तर जबर्जस्ती करणीको उद्योगमा जबर्जस्ती करणी गर्ने मनसाय हुन्छ । तसर्थ यी दुबैमा करणीको आसय त हुन्छ तर जबर्जस्ती गरेको लक्षण जबर्जस्ती करणीको उद्योगमा मात्र हुन सक्तछ ।
५. प्रस्तुत मुद्दामा पीडित रेणु राजवंशीलाई प्रतिवादीले भुइँमा लडाई सर्ट, कट्टु खोली आफ्नो लिङ्ग पीडितको योनीसम्म पुर्याएको कुरा पीडितले गरेको कागज एवम् बकपत्रबाट देखिन्छ । स्वयम् प्रतिवादीले वारदात स्थलमा आफू रहे भएको तथ्यलाई अदालतमा होइन भन्न सकेका छैनन् । करणी गर्ने मनसायले पीडितलाई समाई जबर्जस्ती गर्ने प्रयास गरेको कुरामा निज अनुसन्धानमा साबित नै छन् । घटनास्थल प्रकृति मुचुल्का हेर्दा झारपात मडारिएको भन्नेसमेत देखिएको छ । पीडित र प्रतिवादी घटनास्थलमै आपत्तिजनक अवस्थामा रहेको देख्ने प्रत्यक्षदर्शी शर्मिला राजवंशीले अदालतमा बकपत्र गरेको पनि पाइन्छ । पीडितले प्रतिवादीलाई आरोप लगाउनु पर्ने अन्य कारण र आधार प्रतिवादीले खुलाउन सकेको पनि पाइँदैन । पीडित र प्रतिवादीबीच मेलमिलाप गराउने उद्देश्यले गाउँ समाजमा भएको कागजमा यी प्रतिवादीले अन्यथा भन्न सकेका छैनन् । त्यस्तो कागजलाई प्रमाण ऐन, २०३१ ले प्रमाणमा लिन नमिल्ने भन्ने यी प्रतिवादीले पुनरावेदन जिकिर लिए तापनि उक्त कागजमा निजले कुनै कुरा व्यक्त गरेको देखिँदैन । व्यक्त नै नभएको विषय फैसलामा प्रमाणमा लिइएको पनि देखिँदैन । उक्त कागजले केवल यी प्रतिवादीले आफूले गल्ती गरेको कुरामा सहमत भई गाउँ समाजमा कागज
गरेको कुरालाई स्वीकार गरेको तथ्यसम्मलाई उजागर भने गर्दछ । जबर्जस्ती करणीको उद्योगमा करणी गर्ने कार्य सम्पन्न नहुने हुँदा प्रस्तुत मुद्दामा प्रश्न नै नउठेको बल प्रयोगको घटनाको प्रमाण खोज्नु जरूरी छैन । तसर्थ प्रस्तुत मुद्दामा पीडित र प्रतिवादीबीच शारीरिक सङ्घर्ष भई घा चोटका चिह्न, लक्षण नदेखिएको भए तापनि प्रतिवादीले जबर्जस्ती करणी गर्न लाग्दा पीडितकी काकी नाता पर्ने शर्मिला राजवंशीको घटनास्थलमा भएको आगमनको कारणले अपराधले पूर्णता नपाएको भन्ने पुष्टि भएको हुँदा प्रतिवादीको क्रियाकलाप आसय करणीसम्मको थियो भन्ने तर्कसँग सहमत हुन सकिएन ।
६. दोस्रो प्रश्नतर्फ विचार गर्दा च.नं. ३२६ मिति २०६३।१।२२ को गाउँ विकास समितिको कार्यालय, महेशपुर झापाले जिल्ला प्रहरी कार्यालय, झापालाई लेखेको पत्रमा रेणु राजवंशीको जन्मदर्ता यस गाउँ विकास समितिमा भएको पञ्जिकाको रेकर्डअनुसार मिति २०४९।१।२८ को जन्मदर्ता नं. १५ अनुसार निजको जन्म मिति २०४९।१।१५ गते भएको भन्ने उल्लेख भएको पाइयो । पछि झापा जिल्ला अदालतको आदेशानुसार जाहेरवालाका कानून व्यवसायीले रेणुका राजवंशीको जन्म मिति २०४९।१।१५ मा भएको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अदालतमा पेस गरेको पाइयो । यसरी पीडितको जन्म भएकै महिनामा जन्म दर्ता गरिएको, लिइएको प्रमाणपत्र र गाउँ विकास समितिको कार्यालयले उल्लेख गरेको विवरणसमेतमा मेल खाएको अवस्थामा यस्तो प्रमाणपत्रलाई सर्वोत्तम प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ । मेची अञ्चल अस्पतालले च.नं.८५८ मिति २०६३।१।२८ को पत्रबाट पीडितको उमेर सोह्रदेखि अठार वर्ष भएको भनी उल्लेख गरे तापनि त्यसको वैज्ञानिक परीक्षण हुनसकेको देखिएन । चिकित्सकले अनुमानको आधारमा गरेको उमेर परीक्षणको तुलनामा कानूनबमोजिम ठीक समयमा कानूनबमोजिमको निकायमा कानूनबमोजिम दर्ता गरिएको व्यक्तिगत घटनासम्बन्धी विवरण उत्कृष्ट र आधारयुक्त हुन्छ ।” चिकित्सकले लेखिदिने उमेरसम्बन्धी प्रतिवेदनलाई विशेषज्ञको रायका रूपमा प्रमाणको वर्गमा राखिन्छ । अनुमानका आधारमा निकालिने निष्कर्षको वैज्ञानिक परीक्षणबाट पुष्टि हुन आवश्यक छ ….भविष्यमा यसो पर्ला भनी कल्पना गर्न नसकिने अवस्थामा लेखाइएको जन्म मिति प्रमाणहरूको वर्गमा कसैको उमेर निर्धारण गर्ने सर्वोत्तम प्रमाण हो” भनी यस अदालतबाट जीवन रिजाल विरूद्ध नेपाल सरकार भएको जबर्जस्ती करणी मुद्दा (ने.का.प. २०६८ पुस, नि.नं ८६९१, पृ. १६०६) मा निर्णय भइसकेको पनि छ । तसर्थ पीडितको उमेर अस्पतालको पत्रअनुसार निर्धारण हुनुपर्ने भन्ने प्रतिवादीको यस जिकिरसँग सहमत हुन सकिएन । सजायको सन्दर्भमा हेर्दा पनि पीडितको उमेर प्रतिवादीले जिकिर गरेबमोजिम सोह्र वर्ष पुगेको मानेको खण्डमा पनि जबर्जस्ती करणीको महलको ३(४) नं. बमोजिम चार वर्ष कैद सजाय हुन सक्ने नै हुँदासमेत सजायमा फरक पर्न सक्ने देखिएन ।
७. तेस्रो तथा अन्तिम प्रश्नतर्फ विचार गर्दा माथि विवेचना गरिएबमोजिम प्रतिवादीले पीडितउपर गरेको क्रियाकलाप आसय करणी नभई जबर्जस्ती करणीको उद्योग भएको देखियो । अझ पीडितको उमेर सोह्र वर्षभन्दा कम भएको पुष्टि भइरहेको परिप्रेक्ष्यमा प्रतिवादीले पीडितलाई ललाई फकाई करणी गर्ने प्रयास गरेको अवस्थामा पनि जबर्जस्ती करणीको उद्योग हुने कुरा निश्चित नै छ । प्रतिवादीले अदालतसमक्ष गरेको बयानमा पीडित स्वयम्ले विवाहको प्रस्ताव गरेको भन्ने देखिन्छ । पीडितको कलिलो उमेर र हाम्रो सामाजिक सन्दर्भमा पीडितले नै विवाहको प्रस्ताव राख्न सक्ने अवस्था देखिँदैन । घटनाक्रमले पीडतउपर प्रतिवादीले नै करणीको मनसाय राखी विभिन्न क्रियाकलाप गरेको देखिन्छ । वयस्क पुरूष र महिलाबीच सामान्य मायाप्रीतिका कुरा हुनु, आलिङ्गन चुम्बन जस्ता क्रियाकलाप हुनु जबर्जस्ती करणीको उद्योगको परिभाषाभित्र पर्दैन भन्ने पुनरावेदन जिकिर लिएका प्रतिवादीले उक्त जिकिर सँगसँगै सो क्रियाकलाप आफूले गरेको स्वीकारोक्तिलाई इङ्गीत गरेको बुझिन्छ । माथि विवेचना गरिएबमोजिम पीडितको उमेर सोह्र वर्षभन्दा कम भन्ने पुष्टि भइरहेको अवस्थामा यस्ता क्रियाकलाप पीडितकै सहमतिअनुसार भएको भए तापनि जबर्जस्ती करणीको उद्योग कै परिधिभित्र परिभाषित हुनुपर्ने हुँदा यसमा पुनरावेदन अदालतको फैसलामा अन्यथा भएको भनी मान्न मिलेन ।
८. अतः सुरू फैसला उल्टी गरी पीडित नाबालिकालाई प्रतिवादीले जबर्जस्ती करणीको उद्योग गरेको ठहर्याई चार वर्ष कैद हुने भनी भएको पुनरावेदन अदालत, इलामको मिति २०६६।२।३ को फैसला कानूनसम्मत एवम् मुनासिब नै देखिँदा सदर हुने ठहर्छ । आरोपित कसुरबाट सफाइ पाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. देवेन्द्र गोपाल श्रेष्ठ
इति संवत् २०७१ साल असार २३ गते २ रोज शुभम् ।
इजलास अधिकृतः अनिल कुमार शर्मा