निर्णय नं. ४२३५ - उत्प्रेषण तथा परमादेश

निर्णय नं. ४२३५ ने.का.प. २०४७ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०४६ सालको रिट नं. १०५९
आदेश भएको मिति : २०४७।११।१३।२ मा
निवेदक : चेतना कलर ल्याब प्रा.लि. बिराटनगरको तर्फबाट ऐ.का. अधिकार प्राप्त मेनेजिङ डाइरेक्टर तथा अध्यक्ष रमेश बस्नेत
विरुद्ध
विपक्षी : विराटनगर न.पं. बिराटनगरसमेत
विषय : उत्प्रेषण तथा परमादेश
(१) मूल प्रश्नको निप्टारा यस अदालतबाट गर्ने र सहायक विवादको रुपमा रहेको प्रस्तुत विवादलाई लिएर मध्यस्थ समक्ष जाने गर्दा निवेदक कठिनाई एवं अन्यौलको स्थितिमा पर्न सक्दछ । उपलब्ध वैकल्पिक उपचार पनि समान रुपबाट वाञ्छित असर (Equally efficacious) पुर्याउने खालको हुनु पर्ने ।
(प्रकरण नं. १०)
(२) मौलिक हकको सम्बन्धमा अन्य उपचार भए पनि असाधारण अधिकार क्षेत्रको प्रयोग गर्न मिल्ने ।
(प्रकरण नं. १०)
(३) आफ्नो उद्योगमा जडान गर्न ल्याएको मेशिनलाई बिक्री गर्न ल्याएको व्यापारिक वस्तुको श्रेणी एवं व्यापारिक परिमाणमा राख्न मिल्दैन र यस्तो मेसिन चुंगीकरको प्रयोजनको लागि छूट पाएको वस्तु रहेछ भनी मान्नु पर्ने ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटी
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ध्रुवेश चन्द्र रेग्मी
आदेश
न्या.त्रिलोकप्रताप राणा
१. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य निम्न बमोजिमको छ ।
२. कलर फोटो उत्पादन गर्ने इजाजत उद्योग विभागबाट मिति ०४३।५।२६ मा प्राप्त गरी सानो किसिमको सेवामूलक उद्योगको रुपमा कलर ल्याब सञ्चालन गर्न कोशी अञ्चल मोरंग बिराटनगर मेनरोडमा सो व्यवसाय गरी आएको छु । उद्योग विभागबाट ०४३।११।१९ मा चेतना कलर ल्याब प्रा.लि. को नाम र. नं. २५५८।०४३ बाट कम्पनी स्थापना गरी प्रमाणपत्र समेत प्राप्त गरी जापानबाट कलर फोटोको लागि प्रयोगमा आउने क्यू.एस.एस.भी. ३ प्रणालीको मेशिनरी यही ०४६।११।१० गते भारततर्फबाट आफ्नो कम्पनी रहेको ठाउँमा ल्याउन लाग्दा बीचैमा पर्ने रानी भन्ने ठाउँमा स्थित विपक्षी नं. २ को ठेकेदार सत्यनारायण अग्रवालको चुंगीकर उठाउने चौकी रहेको ठाउँमा आएपछि उक्त मेशिनको कम्पनी मूल्य र ढुवानी मूल्य समेत हुने रु. १२,५३,७५८।– र भन्सार कार्यालय विराटनगरले धरौटी लिएको भन्सार बिक्रीकर समेतको रु. ९,८१,०६५।६४ समेत गरी हुने रु. २२,३४,७७५।६४ को सट्टा विपक्षीहरुले रु. २२,३५,०००।– मूल्य कायम गरी त्यसको १ प्रतिशतले हुने रु. २२,३५०।– असूल नगरेसम्म सामान नछोड्ने ढिपी गरेकोले सो मेशिनमा चुंगीकर नलाग्ने हो तापनि हाल सो रुपैयाँ तिरी मेशिन छुटाई ल्याएको छु ।
३. औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा ९(१)(च) अनुसार सेवामूलक सानो उद्योग भएकोले उक्त ऐनले नै भन्सार बिक्रीकर, आयकर जस्ता सुविधा दिएको छ । यस कम्पनीले झिकाएको सो मेशिन आफ्नै व्यवसायमा लगाउनका लागि सो व्यवसायलाई प्रत्यक्ष रुपमा प्रयोग हुने मेशिन भएको हुँदा नगरपञ्चायत ऐन, २०१९ को दफा ३९(क) ले विपक्षीले चुंगीकर लगाउन पाउने अधिकार रहँदैन । उक्त दफा ३९(क) ले विपक्षीहरुलाई नगरपञ्चायत भित्र व्यापारिक प्रयोजनका लागि ल्याइएका सामानमा मात्र चुंगीकर लिन पाउने अधिकार छ । सोही ऐनको दफा ३९(ख) ले प्लान्ट मेशिनरी र इक्वीपमेन्टमा चुंगीकर लगाउन नपाउने गरी बन्देज लगाएकोले मगाइएको निवेदकको मेशिनमा चुंगीकर लाग्नै सक्दैन । यसरी विपक्षीहरुले लिएको चुंगीकर अख्तियारी भित्र नपर्ने हुँदा गैरकानुनी छ । वैकल्पिक जिकिरको रुपमा यदि चुंगीकर लाग्ने नै हो भने पनि भन्सार, बिक्रीकर, अतिरिक्त भन्सार कर जस्ता तिर्न नपर्ने कर समेत जोडी लिन नमिल्ने परल मूल्यसम्मको मात्र चुंगीकर लाग्ने हुँदा गैरकानुनी किसिमले मिति ०४६।११।१० मा चुंगीकरको रुपमा लिएको रु. २२,३५०।– कानुनले लिन नमिल्ने रकम हुँदा नेपालको संविधानको धारा १०, ११(२)(ङ) तथा धारा १५ समेतद्वारा प्रत्याभूत म निवेदकको अधिकारमा आघात पर्न गएकोले सो चुंगीकर लिने सम्बन्धी निर्णय उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी बदर गरी पाउँ र सो चुंगीकरको रुपमा लिएको रु. २२,३५०।– रुपैयाँ निवेदकलाई फिर्ता गरी दिनु भन्ने परमादेश समेत जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन ।
४. यसमा विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा म्याद नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको सर्वोच्च अदालत एक न्यायाधीशको इजलासको मिति ०४६।११।२९ को आदेश ।
५. निवेदकले तेस्रो मुलुकबाट व्यापारिक उद्देश्यले ल्याएको फोटो उत्पादन गर्ने मेशिनमा बिराटनगर नगरपञ्चायतले रु. २२,३५०।– कर असूल गरेको सम्बन्धमा प्रस्तुत रिटनिवेदनमा निवेदकले आफूले बुझाएको कर कानुन बमोजिम छैन भन्ने लागेको भए नगरपञ्चायत ऐन, २०१९ कै परिधिमा रही साधारण मार्ग अवलम्बन गर्नु पर्ने थियो । न.पं.द्वारा नियुक्त ठेकेदारले ऐन बमोजिम दिएको पट्टा विपरीत कर असूल गरेको भए नगरपञ्चायतबाट विवाद निरोपण गराउनु पर्ने हुन आउँछ । यदि नगरपञ्चायतले पनि सोही बमोजिम कर लिने ढिपी गरेमा नगरपञ्चायत ऐन, २०१९ को संशोधित दफा ४०(ख) बमोजिम श्री ५ को सरकारले तोकेको मध्यस्थ समक्ष उजूर गर्नु पर्ने कानुनी व्यवस्था हुँदा सो मार्ग अवलम्बन नगरी सोझै रिट क्षेत्रमा गरेको प्रवेश गैरकानुनी एवं त्रुटिपूर्ण छ । साथै व्यापारिक प्रयोगको वस्तु नभई औद्योगिक प्रयोजनको वस्तु भन्ने तर्फ चेतना कलर ल्याब व्यापारिक संस्था भएको र उक्त संस्थाले औद्योगिक उत्पादन गर्ने मेशिन मगाएको हुँदा रिट माग दावी गैरकानुनी छ । यसका अतिरिक्त मैले चुंगीकर उठाउन पाउने अख्तियारी कानुन बमोजिम पाएको र सोही बमोजिम चुंगीकर लगाएको हुँदा यस कार्यमा कुनै कानुनी त्रुटि छैन । नगरपञ्चायत ऐन, २०१९ को संशोधित दफा ३९(क)(१) अनुसार लगाएको चुंगीकर हुँदा र सो कलर फोटो उत्पादन गर्ने मेशिन उक्त ऐनको दफा ३९(ख) को बन्देज भित्रको वस्तु समेत नभई पूर्णतया व्यापारिक वस्तु भएकोले चुंगीकर योग्य भएकै हुँदा निवेदनको जिकिर नपुग्न सक्ने भएको र औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १० अन्तर्गत कर मुक्त उद्योग व्यवसाय समेत नभएको कथंकदाचित अन्य कर मुक्त भए तापनि चुंगीकरमा लाग्ने भन्सार समेत जोडी लिन पाउने नगरपञ्चायत ऐनले व्यवस्था गरे बमोजिम प्रष्ट कानुनी व्यवस्था समेत भएकोले निवेदकको कुनै पनि हक हनन नभएको र कानुन बमोजिम लगाइएको चुंगीकर उठाइएको कार्य समेत कानुनसम्मत भएकोले रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको ठेकेदार सत्यनारायण अग्रवालको मिति २०४७।३।२२।६ को लिखितजवाफ ।
६. मिति २०४६।११।१० को नगरपञ्चायतको निर्णयले निवेदकले व्यापारिक प्रयोजनका लागि जापानबाट झिकाएको मेशिनमा कानुन विपरीत चुंगीकर लिएको होइन । नगरपञ्चायत ऐन, २०१९ को दफा ३९, ३९(क), ३९(ख), ३९(ग) ले व्यवस्था गरे अनुसार कानुन बमोजिम नगरपञ्चायतले असूल गर्दै आएको चुंगीकरबाट कुनै एउटा मितिको निर्णयले कर लगाएको भनी हचुवा आधार लिई निवेदन गरेको र व्यापारिक र व्यावसायिक प्रयोजनको लागि ल्याइएको मेशिनरी इक्वीपमेन्टमा चुंगीकर नलाग्ने नगरपञ्चायत ऐन, २०१९ को दफा ३९(ख) को मनसाय होइन । निवेदकले उक्त दफा ३९(ख) को गलत व्याख्या गरी सुविधाको दावी लिनु भएको रिटनिवेदन खारेजभागी छ भन्ने समेत व्यहोराको विराटनगर नगर पञ्चायतको लिखितजवाफ ।
७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा रिट निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटीले नगरपञ्चायत ऐन, २०१९ को दफा ३९(क) ले प्रस्तुत मालमा चुंगीकर लगाउन मिल्दैन । सोही ऐनको दफा ३९(ख) ले प्लान्ट मेशिनरी इक्वीपमेण्टमा चुंगीकर लाग्ने छैन भनी प्रष्ट व्यवस्था गरेकोले प्रस्तुत मेशिन प्लान्टमा चुंगीकर लाग्ने होइन भनी विपक्षी ठेकेदार सत्यनारायण अग्रवालका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री धु्रवेशचन्द्र रेग्मीले नगरपञ्चायत ऐन, २०१९ दफा ३९(ख) बाहेकको वस्तुको नगरपञ्चायत भित्र व्यापारिक प्रयोजनका लागि ल्याएकोमा उठाइएको चुंगीकर कानुन बमोजिम रहेको र प्रस्तुत विवादको निपटारा नगरपञ्चायत ऐन, २०१९ ले तोकी दिएको प्रक्रियाद्वारा गर्नु पर्नेमा सोझै रिट क्षेत्रमा आएकोले रिट जारी गर्न मिल्दैन भनी गर्नु भएको बहस सुनियो ।
८. यसमा निर्णयतर्फ विचार गर्दा मिति २०४६।११।१० मा चुंगीकरको रुपमा लिएको रु. २२,३५०।– गैरकानुनी किसिमले निवेदकबाट उठाई निवेदक कम्पनीलाई औद्योगिक व्यवसाय ऐन, २०३९ को दफा ९(१)(च) र दफा १० अनुसारको सेवा मुलक सानो उद्योगलाई संरक्षण गरी भन्सार बिक्रीकर आयकर जस्ता अन्य कर नलाग्ने सुविधा प्राप्त भएकोमा नगरपञ्चायत ऐन, २०१९ को दफा ३९(क) र ३९(ख) ले समेत छूट दिई रहेको व्यवसायसंग सम्बन्धित रंगिन फोटो उत्पादन गर्ने मेसिनमा लगाइएको चुंगीकर गैरकानुनी किसिमले उठाएको हुँदा सो चुंगीकर लिने सम्बन्धी निर्णय उत्पे्रषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी बदर गरी चुंगीकरको रुपमा लिएको रु. २२,३५०।– रुपैयाँ निवेदकलाई फिर्ता दिनु भनी परमादेश समेत जारी गरी पाउँ भन्ने निवेदकको मुख्य रिटनिवेदन जिकिर देखिन्छ ।
९. नगरपञ्चायत ऐन, २०१९ ले दिएको अख्तियारी बमोजिम चुंगीकर ठेक्कामा दिन सकिने र ठेक्का पट्टा बमोजिम ठेकेदारले चुंगीकर उठाउन पाउनेमा व्यापारिक प्रयोजनका लागि झिकाइएको कलर फोटो उत्पादन गर्ने मेशिन आधारभूत आवश्यकता एवं निजी प्रयोजनको लागि नभएकोले ऐनको दफा ३९(ख) बमोजिम छूट नपाएको हुँदा चुंगीकर लाग्ने वस्तु भएकोले र भन्सार बिक्रीकर समेत जोडी तोकिए बमोजिम कर उठाइएको हुँदा कुनै कानुनी त्रुटि नभएको र निवेदकले कानुनद्वारा निर्धारित मार्ग अवलम्बन नगरी रिट क्षेत्रमा प्रवेश गरेको हुँदा खारेजभागी छ भन्ने विपक्षीहरु तर्फबाट लिखितजवाफ परेको पाइन्छ ।
१०. यसमा रिट निवेदक चेतना कलर ल्याब प्रा.लि., मिति २०४३।५।२६ मा उद्योग विभागबाट इजाजत प्राप्त गरी औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा ९(१)(च) अनुसार स्थापना भएको देखिन्छ । सेवा उद्योगको रुपमा दरिई सो उद्योगले पाउने कानुन बमोजिमको सुविधा पाइसकेको नदेखिँदा यसै मुद्दाको लगाउको रिट नं. १०५८ को निवेदनमा आजै यसै इजलासबाट उक्त उद्योगले सो सुविधाहरु पाउन सक्ने देखी आदेश जारी समेत भई गएकोले अब चुंगीकरको हकमा के कसो हुन पर्ने हो भन्नलाई सर्वप्रथम लिखितजवाफ एवं विपक्षीतर्फका विद्वान अधिवक्ताको बहसको वैकल्पिक उपचारको बाटो हुँदा हुँदै रिट क्षेत्रमा प्रवेश गरेको मिलेको छैन रिट खारेज हुनुपर्छ भन्ने बहस भनाई तर्फ विचार गर्नु पर्ने हुन आएको छ । मूलतः प्रस्तुत रिटनिवेदनको मुख्य माग रिट नं. १०५८ को हकमा भन्सार तथा बिक्रीकर आदिका सम्बन्धमा निवेदकले अन्य उपचारको बाटो अवलम्बन गर्ने ठाउँ नभएकोले यस अदालत समक्ष निवेदन गर्न आएको देखिन्छ । मूल प्रश्नको सहायक विवादको रुपमा सोही निवेदकको प्रस्तुत रिट नं. १०५९ रहेको पाइन्छ मूल प्रश्नको निपटारा यस अदालतबाट गर्ने र सहायक विवादको रुपमा रहेको प्रस्तुत विवादलाई लिएर मध्यस्थ समक्ष जाने गर्दा निवेदक कठिनाई एवं अन्यौलको स्थितिमा पर्न सक्दछ । साथै उपलब्ध बैकल्पिक उपचार पनि समान रुपबाट वाञ्छित असर (Equally efficacious) पुर्याउने खालको हुनुपर्छ । साथै कानुनले लाग्न नसक्ने र लिन नहुने चुंगीकर लिइयो भन्दै सो निर्णय बदर गरी सो रकम फिर्ता पाउन निवेदकले संविधानले प्रत्याभूत गरेको मौलिक हक प्रचलनको लागि प्रस्तुत रिटनिवेदन पत्र दिएकोले त्यस्तो मौलिक हकको सम्बन्धमा अन्य उपचार भए पनि असाधारण अधिकार क्षेत्रको प्रयोग गर्न मिल्छ । अतः यस्तो अवस्थामा मध्यस्थको उपचारको बाटो छ भनी प्रस्तुत रिटनिवेदन खारेज गर्न उचित देखिन्न ।
११. अब ठेकेदारले उठाएको चुंगीकरका सम्बन्धमा हेर्दा निवेदक चेतना कलर ल्याबको व्यवसायको प्रकृतिबाटै सो कम्पनीले रंगिन फोटो उत्पादन गर्ने भन्ने देखिँदा यसको लागि मेशिनरी वस्तुको उपयोग गर्ने नै हुन्छ । सोही कारणले क्यू.एस.एस.भी. ३ प्रणालीको मेशिनरीलाई सोही व्यवसायको अभिन्न अंग मान्नु पर्ने स्थितिको देखिन्छ । नगरपञ्चायत ऐन, २०१९ को दफा ३९(क) ले “व्यापारिक, व्यावसायिक वा औद्योगिक प्रयोजनको लागि नगरपञ्चायत क्षेत्रभित्र खपत वा बिक्री गर्न व्यापारिक परिमाणमा कसैले माल ल्याएमा चुंगीकर लाग्ने व्यवस्था गरेको पाइन्छ । तर प्रस्तुत मेशिनरी नगरपञ्चायत क्षेत्रभित्र खपत वा बिक्री गर्न व्यापारिक परिमाणमा ल्याएको नभई आफ्नो फोटोग्राफी उद्योग चलाउने सिलसिलामा सो उद्योगमा मेशिनरी जडान गर्न ल्याएको पाइन्छ । यस्तो अवस्थामा उक्त मेशिनलाई न त व्यापारिक परिमाणमा बिक्री गर्न ल्याएको भन्न मिल्छ न त व्यापारिक परिमाणमा खपत गर्न ल्याएको भन्न सकिन्छ । निवेदक उद्योगले ल्याएको वस्तु आफ्नो उद्योगमा जडान गर्ने देखि बाहिरको वस्तु होइन । आफ्नो उद्योगमा जडान गर्न ल्याएको मेशिनलाई बिक्री गर्न ल्याएको व्यापारिक वस्तुको श्रेणी एवं व्यापारिक परिमाणमा राख्न मिल्दैन र यस्तो मेशिन चुंगीकरको प्रयोजनको लागि छूट पाएको वस्तु रहेछ भनी मान्नु पर्ने स्थिति हुन आउँछ ।
१२. अतः कानुनले उठाउन नपाउने चुंगीकर बापत रु. २२,३५०।– उठाएको गैरकानुनी हुँदा उक्त मेशिनको चुंगीकर लिने निर्णय आदेश त्रुटिपूर्ण भई उक्त निर्णय आदेश समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । उठाएको उक्त चुंगीकर निवेदकलाई फिर्ता दिनु भनी विपक्षी नगरपञ्चायतको ठेकेदार सत्यनारायण अग्रवालका नाउँमा परमादेश समेत जारी हुने ठहर्छ । विपक्षीहरुको जानकारीका लागि आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इतिसम्वत् २०४७ साल फाल्गुण १३ गते रोज २ शुभम् ।