निर्णय नं. ९२३० - कर्तव्य ज्यान

नेकाप २०७१, अङ्क ८, नि.नं.९२३०
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
आदेश मिति : २०७१।६।२२। ४
०६८-CR-०१८४
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी : जिल्ला दाङ, गंगा परस्पुर गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय, तुलसीपुरमा थुनामा रहेको भरत वि.क.
विरूद्ध
विपक्षी/वादी : सुभाष परियारको जाहेरीले नेपाल सरकार
§ छुराले मृतकलाई कुनै संवेदनशील अङ्ग जस्तो टाउको, घाँटी, छाती, पेट कोखामा लागेको नभई हातमा लागेको अवस्था छ । अत्यधिक रगत बग्नुको कारणबाट मृत्यु भएको देखिन्छ । यसो हेर्दा भवितव्य परेको होकि भन्ने जस्तो देखिए पनि छुरा जस्तो धारिलो हतियार चलाउँदा मानिसलाई लागी मर्न सक्छ जस्तो देखिने हुँदा ज्यानसम्बन्धीको महलको ५ नं. यहाँ लाग्न नसक्ने ।
(प्रकरण नं.५)
§ परिस्थितिवश मृतककै कार्यकारण विवादका क्रममा चोट लागी वारदात घट्न गएको अवस्था विचार गर्दा प्रतिवादीलाई ऐनबमोजिम सजाय दिँदा चर्को हुने चित्तले देखिँदा प्रतिवादी भरत वि.क.लाई निजले गरेको कसुरको प्रकृति अनुसार आवेश प्रेरित भन्दा कम भवितव्य भन्दा केही बढी कैद वर्ष ५ हुन मनासिब देखिने ।
(प्रकरण नं.६)
पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता तारा खनाल
प्रत्यर्थी/वादीको तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
§ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, ५ र १३ नं.
§ मुलुकी ऐन, अ.बं. १८८ नं.
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या.श्री महम्मद जुनैद आजाद
पुनरावेदन तहमा फैसला गर्ने :
मा.मु.न्या.श्री विश्वनाथ जोशी
मा.न्या.श्री भिमबहादुर बोहरा
फैसला
न्या.बैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, तुलसीपुर दाङको मिति २०६८।२।२३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा प्रतिवादीका तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यस प्रकार छ :
मिति २०६६।७।१ गते साँझ अन्दाजी २०.०० बजेको समयमा मेरो कान्छो बाबु गणेश परियारको जेठो छोरा दामोदर परियारलाई गंगापरस्पुर गा.वि.स. वडा नं. २ सुतैंयामा रहेको चौधरीको होटेलमा भरत वि.क. ले खुकुरी प्रहार गरी घाइते भएको र उपचार गर्ने क्रममा सोही चोटको कारण राति उपचार गर्दागर्दै अस्पतालमा मृत्यु भएको हुँदा निजलाई पक्राउ गरी कानूनबमोजिम गरिपाँउ भन्ने सुभाष परियारको जाहेरी दरखास्त ।
जिल्ला दाङ, घोराही न.पा. १० स्थित राप्ती उपक्षेत्रीय अस्पतालको इमरजेन्सी भवनको कोठाभित्र काठको खटियामा मृतक दामोदर परियारलाई उत्तानो अवस्थामा सुताएको लास रहेको । उक्त लासको बायाँ हातको पाखुरामा लगाएको पट्टि खोली हेर्दा सात वटा टाँका लगाएको ३ से.मि. लम्बाई भएको घाउ देखिएको भन्ने घटनास्थल लास प्रकृति मुचुल्का ।
जिल्ला दाङ, गंगापरस्पुर गा.वि.स. वडा नं. ५ स्थित पवित्रा चौधरीको पसलको आँगनमा रगतको टाटा भएको प्रतिवादी भरत वि.क. ले मृतक दामोदर परियारलाई कुटपीट गरेको घटनास्थल प्रकृति मुचुल्का ठीक छ भन्ने मुचुल्का मिसिल सामेल रहेको ।
जिल्ला दाङ, गंगापरस्पुर गा.वि.स. वडा नं. ५ परस्पुर गाउँ स्थित धानको खराईको बिचौबीचमा खोली हेर्दा पित्तलको बिँड भएको रगत लागेको चक्कु बरामद भएको र सोही स्थानमा भरत वि.क. बस्ने घरको कोठा भित्रबाट भरत वि.क. ले लगाउने गरेको कालो भेस्ट बरामद भएको भन्ने बरामदी मुचुल्का ।
धारिलो हतियारको चोटबाट रगत बगी मृतकको मृत्यु भएको भन्ने शव परीक्षण
प्रतिवेदन ।
मिति २०६६।७।१ गतेको अं. २०:०० बजेको समयमा सुतैयामा चौधरीको होटलमा मृतक दामोदर परियार र निजको सालो ज्ञानु परियारले मादक पदार्थ सेवन गरी बसेका रहेछन् । मृतक दामोदर परियारको बाबु गणेश परियार र म सो होटलमा गई रक्सी खान लाग्दा दामोदर परियार र निजको बाबु गणेश परियारबीच वाद विवाद भई दामोदर परियारले बाबुलाई हानेपछि छेक्ने क्रममा विवाद भयो । सोही विवादको विषयलाई लिएर पछि अरू मानिस आई झै झगडा गरी मलाई कुटपीट गर्दा मैले साथमा लगेको चक्कु झिकी निजहरूलाई तर्साउन हान्दा दामोदर परियारलाई चोट लागी सोही चोटको कारण उपचार गर्दागर्दै दामोदर परियारको मृत्यु भएको हो, मार्ने रिसइबीले हानेको होइन, बरामदी मुचुल्कामा बरामद भई आएको चक्कु चिनी सनाखत गरें भन्ने प्रतिवादी भरत वि.क.को बयान कागज ।
मिति २०६६।७।१ गते साझ अन्दाजी २०:०० बजेको समयमा पवित्रा चौधरीको होटलमा झै झगडा कुटपीट हुँदा भरत वि.क. ले प्रहार गरेको चक्कुले चोट लागी उपचार गर्ने क्रममा दामोदर परियारको राप्ती उपक्षेत्रीय अस्पताल घोराही, दाङमा मृत्यु भएको हो भन्ने एकै मिलान व्यहोराको रीता परियारसमेत जना सातको घटना विवरण कागज ।
मिसिल संलग्न जाहेरी दरखास्त, लास जाँच मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का, बरामदी, खानतलासी मुचुल्का, पक्राउ प्रतिवेदन, शव परिक्षण प्रतिवेदन, अभियुक्त भरत वि.क.को साबिती बयान कागज बुझिएका गणेश नेपालीसमेतका मानिसहरूको कागजसमेतका आधार प्रमाणबाट मिति २०६६।७।१ गते साँझ जिल्ला दाङ, गंगापरस्पुर गा.वि.स. वडा नं. ५ अजगढवा स्थित पवित्रा चौधरीको पसलमा रक्सी खाँदा झगडा हातपात भएको र दामोदर नेपालीको श्रीमतीलगायतको मानिसहरू त्यहाँ गई भरत वि.क.लाई कुटपीट गर्न लाग्दा आफूलाई कुटपीट गरेको भन्ने रिसमा धारिलो हतियार चक्कु निकाली दामोदर नेपालीलाई प्रहार गर्दा चोट परी सोही चोट पीडाको कारण दामोदर नेपालीको उपचारको क्रममा मृत्यु भएको भन्ने तथ्य प्रमाणित भएकाले प्रतिवादी भरत वि.क.लाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत १३ नं. बमोजिमको कसुरमा सोही ऐन महलको १३ नं. को देहाय १ नं. बमोजिम सजाय गरी पाउँ भन्ने अभियोगपत्र ।
मिति २०६६।७।१ गते राति ९:२० बजेतिर चौधरी होटल सुतैया भन्ने ठाउँमा मृतकका बाबु गणेश नेपाली र म सँगै बसी रक्सी खाइरहेको अवस्थामा निज गणेश नेपाली र छोरा दामोदर नेपालीबीच झगडा भएको र मैले छुट्याउन खोज्दा निज दामोदरले मलाईसमेत १ मुक्का हानी तँलाई पख् भनी बाहिर गई एकछिन पछि ६।७ जना मानिस ल्याई मलाई लाठीसमेतले टाउको छातीमा प्रहार गरी टाउको फुटाई दिएका र म मर्छु भन्ने निश्चित भएपछि मैले बेच्न लगेको मसँग रहेको चक्कु देखाई तर्साउन खोज्दा मृतकको पाखुरामा चोट लाग्न गएको हो र घाइतेको उपचार नगराई लुकाउँदा बढी रगत बगेको र पछि उपचार गर्न लैजाँदा अस्पतालमा मृतकको मृत्यु भएको भन्ने सुनेको हुँ । मैले जानीजानी नभई तर्साउन खोज्दा उक्त चोट लागको हो भन्नेसमेत व्यहोराको प्रतिवादी भरत वि.क.ले अदालतमा गरको बयान ।
म, मृतक मेरो छोरा दामोदर र प्रतिवादी भरत वि.क. सँगै बसी रक्सी खाँदै गर्दा मेरो छोरा र भरत वि.क.को विवाद भई धकेलाधकेल भयो । मलाई नसा लागेको हुँदा म घरतर्फ गएँ । भोलिपल्ट गाउँमा मानिसहरूले भरत वि.क.ले चक्कुले हानी तेरो छोरालाई मारेको हो भन्ने सुनेको हुँ । के कुन हतियार प्रयोग गरी मारेका हुन् थाहा भएन भन्नेसमेत व्यहोराको प्रहरीमा कागज गर्ने गणेश नेपालीले गरको बकपत्र ।
मिति २०६६।७।१ गते साझँ ९-१० बजेतिर दामोदर नेपाली र भरत वि.क.को झगडा परी भरतले दामोदरलाई छुरी प्रहार गरी महेन्द्र अस्पताल, घोराहीमा उपचार गर्दागर्दै दामोदर नेपालीको मृत्यु भएको हो । झगडाको विषय थाहा भएन भन्नेसमेत व्यहोराको प्रहरीमा कागज गर्ने रिता परियार तामाङले गरेको
बकपत्र ।
मेरो पसलमा रक्सी सेवन गर्ने क्रममा मृतक दामोदर नेपाली र निजका बाबु गणेश नेपालीबीच झगडा भयो र बाबुलाई हानी पल्टाएपछि सबै जना बाहिर गए र मृतकले ४।५ जना मानिस ल्याई भरत वि.क.लाई हान्न लागेको मात्र देखेकी हुँ । मृतकका बहिनी, ज्वाइँ, श्रीमती मृतकसँग आएका थिए । मृतकलाई कसले हान्यो थाहा भएन चक्कु पनि देखेको होइन लाठीमात्र देखेकी हुँ भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी पवित्रा चौधरीले गरेको बकपत्र ।
यसमा प्रतिवादी भरत वि.क.लाई अभियोग माग दावीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ (१) नं. बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय हुने ठहराई ८ वर्ष कैद हुन अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गरिएको दाङ देउखुरी जिल्ला अदालतको मिति २०६६।१०।२२ को फैसला ।
मृतक बाबु र म होटलमा सँगै मादक पदार्थ सेवन गरी रहेकोमा मृतकले बाबुलाई गाली गलौज गर्दैं कुटपीट गर्न थाल्दा मैले छुट्याएकोमा पछि मृतकका श्रीमती, सालो, बहिनीसमेत भई आएका र मृतकले मलाई पिट्न थालेपछि अन्तिम अवस्थामा चक्कु झिकी तर्साउन खोज्दा मृतकको बायाँ पाखुरामा काटिन गएको हो । मैले जानीजानी चक्कु प्रहार गरेको होइन भनी मौकामा एवम् अदालतमा गरेको बयान, गणेश परियार र पवित्रा चौधरीको मौकाको कागज तथा बकपत्रबाट पुष्टि भएको, मृतकको पाखुराको तल्लो भाग काटिएको भन्ने तथ्य लास जाँच मुचुल्काबाट पुष्टि भएको अवस्थामा मिसिल संलग्न सबुद प्रमाणको गलत अर्थ गरी आरोपित कसुर गरेको ठहराई सुरू अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर उल्टी गरी झुट्ठा अभियोग माग दावीबाट सफाइ पाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर ।
यसमा प्रतिवादीले मृतकसमेतले आफूलाई कुटपीट गरेका कारण मार्ने नियत नभई तर्साउने उद्देश्यले आफूसँग भएको चक्कु निकाल्दा मृतकको पाखुरामा लाग्न गई सोही चोटका कारण मृत्यु भएको भनी बयान गरेको र लास प्रकृति मुचुल्काबाट मृतकको पाखुरामा ३ से.मि. को घाउ देखिएको, शरीरमा अन्य घाउ चोट नदेखिएको तथा Autopsy Report हेर्दा सोही पाखुरामा लागेको घाउबाट अत्यधिक रगत बगी मृत्यु भएको भन्ने उल्लेख भएको समेतका प्रमाणका आधारमा सुरूको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि पुनरावेदन सरकारी वकिल कार्यालय, तुलसीपुरलाई जानकारी दिई पेस गर्नु भन्ने पुनरावेदन अदालत, तुलसीपुरको आदेश ।
जाहेरवालाले प्रतिवादी भरत वि.क. ले एक्कासी खुकुरी झिकी मृतकको बायाँ हात र छातीमा प्रहार गरेको चोटको कारण उपचारको क्रममा दामोदर परियारको मृत्यु भएको भनी प्रतिवादीउपर किटानी जाहेरी दिएको पाइयो । प्रतिवादीले अधिकारप्राप्त अधिकारी एवम् अदालतमा बयान गर्दा मृतक र निजको बाबुबीच झगडा हुँदा मैले छुट्याएको र एकछिनपछि मृतकसमेत ६/७ जना भई मलाई कुटपीट गर्न थालेपछि तर्साउन चक्कु निकालेकोमा मृतकको पाखुरामा काटिन गएको र उपचारको क्रममा मृत्यु भएको हो भनी आफूले मार्नका लागि चक्कु प्रहार गरेको कुरामा इन्कार रहे तापनि आफ्नो चक्कुको चोटको कारण मृत्यु भएको कुरामा साबित रही बयान गरेको देखिन्छ । आफूले राखेको चक्कु झिकी तर्साउन सक्ने अवस्थामा रहेको प्रतिवादीले यदि छुरी प्रहार गर्ने मनसाय हुँदैनथ्यो भने घटनास्थलबाट भागी जान सक्ने वा हारगुहार गर्न सक्ने अवस्थासमेत रहेकोमा सो भए गरेको देखिँदैन । यसरी प्रतिवादीकै चक्कु प्रहारबाट मृतकको मृत्यु भएकोमा विवाद नदेखिएको र प्रमाण ऐन, २०३१ को दफा २७ बमोजिम सजायमा कमी वा छुट हुने वा सजायबाट रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्याउने भार निजको हुनेमा प्रतिवादीले त्यस प्रकारको ठोस सबुद प्रमाण गुजार्न सकेको नदेखिएबाट प्रतिवादी भरत वि.क. लाई कसुरदार ठहराई गरेको दाङ देउखुरी जिल्ला अदालतको मिति २०६६।१०।२२ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । कसुर गर्दाको अवस्था र परिस्थितिसमेत विचार गर्दा सर्वस्वसहित जन्मकैद गर्दा चर्को पर्ने चित्तमा लागेकोले प्रतिवादी भरत वि.क.लाई ५ वर्ष कैद हुन मनासिब देखिएकाले अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गरिएको छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, तुलसीपुरबाट मिति २०६८।२।२३ मा भएको फैसला ।
मृतक दामोदर परियारले आफ्नो बाबु गणेश परियारलाई गाली गलौज गरेपछि म पुनरावेदक प्रतिवादीले नाताले मृतक जेठान पर्ने भएकोले छोरा भएर आफ्नो बाबुलाई भन्ने यही हो भनेपछि मृतक जुरूक्क उठेर आफ्नो बाबु गणेश परियारलाई कुटपीट गर्न सुरू गरेपछि मैले छुट्याई दिएपछि मृतक र निजको सालो त्यहाँबाट उठी गएकोमा करिब १/२ घण्टापछि मृतक दामोदर, निजको श्रीमती, निजको सालो ज्ञानु परियार, बहिनी रिता परियार, सोही गाउँको पदमकुमार र कान कटुवा कुमालसमेत सोही होटलमा आई मेरो टाउकोमा लाठी प्रहार गरेपछि म पुनरावेदक भुइँमा लडेँ र सबै ममाथि चढी कुटपीट गर्न सुरू गरे छुट्ने धेरै प्रयास गर्दा पनि निजहरूको पञ्जाबाट छुट्न सकिन निजहरूले मलाई पिट्न छोडेनन् । अन्तिम अवस्था भएपछि मैले दिउँसो बिक्री गर्न भनी लगेको साथमा भएको चक्कु झिकी निजहरूलाई तर्साई भगाउँछु भनी भन्दा मृतकको बायाँ पाखुराको तल्ला भागमा काटिन गएको हो । मैले जानीजानी मृतक दामोदर परियारलाई चक्कु प्रहार गरेको होइन, केवल तर्साउनका लागि चक्कु देखाउँदा चोट लाग्न गएको हो । मृतकसँग मेरो कुनै रिसइबि नभएको र उक्त घटना मैले जानीजानी गराएको होइन भनी व्यहोरा उल्लेख गरेको छु । मेरो मौकाको तथा सुरू दाङ देउखुरी जिल्ला अदालतमा भएको बयान, मौकामा कागज गर्ने गणेश परियार तथा पवित्रा चौधरीको कागजबाट परिस्थितिको उपज स्वरूप घटना घटेको देखिएको अवस्थामा सुरू दाङ देउखुरी जिल्ला अदालतले मैले घटनाको वास्तविकता उजागर गरी अदालतसमेतलाई सहयोग गरेको तथ्यलाई गलतरूपमा ग्रहण गरी म पुनरावेदक प्रतिवादीलाई अभियोग दावीबमोजिम कसुरदार ठहर्याई फैसला गरेकोमा जिल्ला अदालतको त्रुटिपूर्ण फैसलालाई सदर हुने ठहर्याई भएको पुनरावेदन अदालत, तुलसीपुर दाङको फैसला बदर उल्टी गरी घटना घट्दाको अवस्था परिस्थितिसमेतलाई मध्यनजर गरी न्याय दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीका तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
नियमबमोजिम आजको दैनिक पेसीसूचीमा चढी पेस भएको प्रस्तुत मुद्दाको रेकर्ड एवम् सुरू र पुनरावेदन मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री तारा खनालले मृतक दामोदर परियारले आफ्नो बाबु गणेश परियारलाई हातपात गर्दा प्रतिवादीले सम्झाउन बुझाउन खोज्दा प्रतिवादीउपरसमेत मुक्काले प्रहार गरेको अवस्था छ । पछि मृतकले अन्य मानिससमेत साथमा लिई प्रतिवादी भरत वि.क.लाई बाँसका लाठा मुक्कासमेतले हानी रहेको समयमा प्रतिवादीले बिक्रीका लागि साथमा रहेको चक्कु निकाली मृतकसमेतलाई तर्साउन देखाउँदा मृतकको बायाँ हातमा पर्न गै अत्यधिक रगत बग्न गई मृतकको मृत्यु हुन गएको छ । मार्नेसम्मको मनसाय इबि नरहेको स्थितिमा मृतककै कुटपीटजन्य कार्यबाट घटना घट्न गएको हुँदा प्रतिवादीलाई कसुरदार ठहर गरेको पुनरावेदन अदालतको फैसला नमिलेको हुँदा उल्टी हुनुपर्दछ भनी बहस गर्नुभयो ।
२. यसमा निर्णयतर्फ विचार गर्दा प्रतिवादी भरत वि.क.को धारिलो चक्कु प्रहारबाट मृतक दामोदर परियारको मृत्यु हुनपुगेको हुँदा प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३ नं. बमोजिमको कसुरमा ऐ. महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारतर्फबाट अभियोगपत्र दर्ता भएको पाइन्छ । मौकाको जाहेरी दरखास्त एवम् मृतक दामोदरले बाबु गणेश परियारलाई हानेपछि प्रतिवादीले छेक्ने क्रममा प्रतिवादी र मृतक दामोदरबीच विवाद भएको सोही विवादको विषयलाई लिएर मृतकले अरू मानिससमेत मगाइ प्रतिवादीउपर कुटपीट गर्दा बिक्री गर्नका लागि लिएर हिँडेको चक्कु निकाली तर्साउन खोज्दा मृतकको पाखुरामा चोट लागी मृतकको मृत्यु भएको भनी प्रतिवादी भरत वि.क.ले अधिकारप्राप्त अधिकारी एवम् अदालतसमेतमा बयान गर्दा कसुरमा साबित भएकोले भरत वि.क.को साथमा रहेको चक्कुले मृतकलाई लाग्न गई मृतक दामोदर परियारको मृत्यु भएको तथ्यमा अब विवाद हुने अवस्था रहेन ।
३. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. मा “धार भएको वा
नभएको जोखिमी हतियार गैह्रले हानी रोपी घोची ज्यान मारेमा जतिजना भै हतियार छाडेको छ उति जना ज्यानमारा ठहर्छन् । सर्वस्वसहित जन्म कैदको सजाय गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था रहेको पाइयो । उक्त कानूनी व्यवस्थाले धार भएको वा नभएको जोखिमी हतियार प्रयोग भई कसैको ज्यान मर्न गएको भएमा ज्यानसम्बन्धी कसुर स्थापित हुने भनी प्रष्ट पारेको पाइन्छ । मृतक र प्रतिवादीबीच विवाद सिर्जना हुन पुगेको अवस्था, मृतकले प्रतिवादीउपर लिएको इबिलाग, मृतककै उक्साहटमा लागी निजले नै सँगसाथमा
ल्याएका व्यक्तिहरूको लाठा मुक्का प्रहारबाट आफू बच्न तर्साउन प्रतिवादीले धारिलो
हतियार चक्कु निकाली सोही हतियारको चोट पर्न गई दामोदर परियारको मृत्यु भएको अवस्था देखिएको छ । प्रतिवादीको साथबाट छुरी निक्लिन पुगी मृतकलाई चोट लागी तत्काल उपचार हुन नसकी सोही चोटको कारण अत्यधिक रगत बग्न गई दामोदर परियारको मृत्यु हुन गएको मिसिल संलग्न शव परीक्षण प्रतिवेदन र स्वयम् प्रतिवादीको मौका एवम् अदालतको बयान कागजबाट देखिएको
छ । मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. ले जोखिमी हतियारले हानी कसैको ज्यान मर्न गएमा प्रहार गर्ने व्यक्ति ज्यानमारा ठहरिने भनी व्यवस्था गरेको र प्रतिवादीको छुराको प्रहारबाट मृतकको ज्यान गएकोले प्रतिवादी भरत वि.क. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम कसुरदार देखिन आयो । निजलाई सर्वस्वसहित जन्म कैद हुने ठहर गरेको पुनरावेदन अदालत, तुलसीपुरको फैसला मिलेको नै देखियो ।
४. प्रस्तुत विवादमा मृतक दामोदर परियार र प्रतिवादी भरत वि.क. बीच ज्यान लिने इबिलाग नभएको मृतक दामोदर परियारले आफ्नो जन्म दिने बाबु गणेश परियारमाथि हातपात गाली गलौज गर्दा
प्रतिवादी भरत वि.क.ले हातपात रोक्ने, सम्झाउने कार्य गरेको कार्यलाई सकारात्मकरूपमै हेरिनुपर्ने हुन्छ । तर प्रतिवादीको राम्रो अभिप्रायबाट भएको कार्यबाट मृतकले आफू तल परेको अनुभूत भई सोही कारणलाई नै आधार बनाएर मृतक भरत वि.क.ले आफ्नो हेलमेलका ५।६ जना साथमा लिई प्रतिवादी भरत वि.क. माथि लाठा तथा मुक्काले कुटपीट गर्दा साथमा रहेको चक्कु निस्किन पुगी मृतकको बायाँ हातको पाखुरामा लाग्न गै रगत बगी मृतक भरत वि.क.को मृत्यु हुनपुगेको देखिँदा निजलाई सर्वस्वसहित जन्म कैद गर्दा सजाय चर्को पर्ने देखिई अ.बं. १८८ नं. अनुरूप कम सजाय गर्नुपर्ने देखिन आयो ।
५. अ.बं. १८८ नं. अनुरूप के कति सजाय प्रतिवादीलाई गर्नु न्यायोचित हुन्छ भनी विचार गर्दा सुरू जिल्ला अदालतले ८ वर्ष कैदको राय लगाएको र पुनरावेदन अदालतबाट कैद वर्ष ५ को राय लगाएको देखिन्छ । अदालती बन्दोवस्तको १८८ नं. अनुरूप कम सजाय गर्दा अपराध गर्ने व्यक्तिको पूर्व चरित्र, अपराध हुँदा देखिने क्रूरता, अपराध घटित हुन पीडितले निर्वाह गरेको भूमिका, अपराध हुने कारण वा जरिया, अपराधमा प्रतिवादी सरिक हुन पुगेको परिस्थिति र ज्यानै मार्ने नियत बेगको मात्रासमेत सबैलाई दृष्टिगत गरी प्रतिवादीलाई के कति सजाय हुनुपर्ने हो भनी एकिन गरिनुपर्ने हुन्छ । सजाय घटाउने क्रममा यस घटनालाई निम्नलिखित तीन अवस्थाबाट हेरिनुपर्ने देखियो ।
(क) बाबु छोराको झगडा छुट्याउन जाँदा प्रतिवादी आफैँ झगडामा परेको र पछि कुटपीट भई दामोदर परियारको मृत्यु भएको देखिन्छ । यसरी वादविवाद गरी सोही बखत झगडा हुन गई बच्ने र हान्ने क्रममा दामोदर परियारलाई चोट लागी मृत्यु भएकोमा वादविवादबाट तत्काल उठेको रिसको झोकमा प्रहार गरेको स्थितिमा दश वर्ष कैद हुने अवस्था ज्यानसम्बन्धीको महलको १४ नं. ले गरेको देखिन्छ । तर यहाँ छुरा जस्तो धारिलो हतियार प्रयोग भएको कारणबाट उक्त १४ नं. आकर्षित हुन नसकेको अवस्था छ ।
(ख) मृतक दामोदर परियारले नै आफ्नोसाथ मानिसहरू ल्याई लाठा मुक्काले प्रतिवादीलाई प्रहार गर्न थालेपछि प्रतिवादीको साथमा रहेको चक्कु देखाई तर्साउन खोज्दा दामोदर परियारलाई हातमा लाग्न गएको भन्ने भनाई प्रतिवादीको देखिन्छ । प्रतिवादीले आफूलाई बचाउ गर्न चक्कु निकालेको अवस्था देखिन्छ । तर, दामोदर परियारका साथ आउनेहरूसँग साधारण लाठा जस्ता हतियार रहेकोले कुटपीट गर्नेसम्मको नियत दामोदर परियारको रहेकोमा प्रतिवादीले ज्यानै जान थाल्यो भनी सोच्नुपर्ने र चक्कु निकाल्नुपर्ने अवस्था नरहेकाले आत्मरक्षाको वारदातको अवस्था पनि रहेछ । तर, दामोदर परियार र उसका साथ आउनेहरूले जोखिमी हतियार बोकेर आएको स्थिति भएको भए आत्मरक्षाको जिकिरको सम्भावना रहने अवस्था हुन्थ्यो । तर त्यो अवस्था यहाँ रहेन ।
(ग) मृतकले नै अन्य मानिसहरूको साथ लिई प्रतिवादीमाथि हमला गरेको स्थिति छ । प्रतिवादीले आफूमाथि जाई लाग्नेहरूलाई तर्साउन छुरा निकालेको अवस्था देखिन्छ । छुराले मृतकलाई कुनै संवेदनशील अङ्ग जस्तो टाउको, घाँटी, छाती , पेट कोखामा लागेको नभई हातमा लागेको अवस्था छ । अत्यधिक रगत बग्नुको कारणबाट मृत्यु भएको देखिन्छ । यसो हेर्दा भवितव्य परेको होकि भन्ने जस्तो देखिए पनि छुरा जस्तो धारिलो हतियार चलाउँदा मानिसलाई लागी मर्न सक्छ जस्तो देखिने हुँदा ज्यानसम्बन्धीको महलको ५ नं. यहाँ लाग्न नसक्ने मात्र हो ।
६. अब प्रतिवादीलाई के कति सजाय हुनुपर्ने हो भनी माथि वर्णित अपराध घट्दाको अवस्था हेरी ज्यानसम्बन्धीको महलको १४ नं. र ५ नं. बाट हुन सक्ने सजाय १० वर्ष र २ वर्ष कैदको अन्तरसीमाबीच गरिनुपर्ने देखिन आयो । २ वर्षदेखि १० वर्षसम्म हुने कैदको सजाय र अपराधको तह तथा सजाय निर्धारणतर्फ विचार गर्दा प्रस्तुत मुद्दाको वारदातमा कुनै खतरनाक षड्यन्त्र भई अपराध घटित भएको अवस्था देखिँदैन । ज्यान मार्न कुनै मनसाय भएको वा मतलबमा रहेको पनि देखिँदैन । जानीजानी घटना घटाउन पुगेको पनि देखिँदैन । वारदातमा निस्किन पुगेको हतियार मृतकको टाउको, मुख, घाँटी, निधार जस्ता संवेदनशील अङ्गमा प्रयोग भएको पनि पाइँदैन । प्रतिवादीले घटना व्यहोरा लुकाएको पनि देखिँदैन । प्रतिवादीका साला नाता पर्ने मृतकले आफ्नो बाबु गणेश परियारलाई अनावश्यक गाली गलौज गर्दा प्रतिवादीले निजलाई सम्झाउने बुझाउने सिलसिलामा रक्सीको नशामा रहेका मृतकले पहिला प्रतिवादीलाई हातपात गरेको त्यसको केही समयपछि आफ्ना नाता गोता गठमेलका मानिसहरू साथमा लिई प्रतिवादीलाई कुटपीट गरेको तत्कालको स्थितिमा प्रतिवादीको साथबाट चक्कु निस्किन पुगी बायाँ पाखुरामा लाग्न गएको, पाखुराको घाउको प्रकृति पनि सामान्य भई तत्काल उपचार नगराएको कारण बढी रगत बग्न जाँदा मृतकको मृत्यु हुनपुगेको देखिन्छ । परिस्थितिवश मृतककै कार्यकारण विवादका क्रममा चोट लागी वारदात घट्न गएको अवस्था विचार गर्दा प्रतिवादीलाई ऐनबमोजिम सजाय दिँदा चर्को हुने चित्तले देखिँदा प्रतिवादी भरत वि.क.लाई निजले गरेको कसुरको प्रकृतिअनुसार आवेश प्रेरित भन्दा कम भवितव्य भन्दा केही बढी कैद वर्ष ५ हुन मनासिब देखिन्छ । यस स्थितिमा अ.बं. १८८ नं.बमोजिम पुनरावेदन अदालत, तुलसीपुरबाट व्यक्त भएको रायसमेत मनासिब देखिँदा सदर हुने ठहर्छ ।
७. तसर्थ, माथि उल्लिखित तथ्य एवम् प्रमाणसमेतका आधारमा पुनरावेदन अदालत, दाङ, तुलसीपुरबाट प्रतिवादी भरत वि.क.लाई ज्यानसम्बन्धीको महलको १ नं. र १३ नं.बमोजिमको कसुरमा ऐ. ऐनको १३(१) नं.बमोजिम सजाय ठहर गरी अ.बं. १८८ नं.बमोजिम कैद वर्ष ५ हुन राय व्यक्त गरी मिति २०६८।२।२३ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम पुनरावेदन अदालत, तुलसीपुर, दाङबाट मिति २०६८।२।२३ मा प्रतिवादी भरत वि.क.लाई सर्वस्वसहित जन्मकैद हुने गरी भएको फैसला सदर भई अ.बं. १८८ नं. बमोजिम ५ वर्ष सजाय हुन व्यक्त भएको रायसमेत सदर हुने ठहरेकाले प्रतिवादी भरत वि.क. अनुसन्धानका क्रममा मिति २०६६।७।३ देखि थुनामा रहेकोले मिति २०७१।७।२ मा निजको कैद वर्ष ५ भुक्तान हुने हुँदा अन्य मुद्दामा थुनामा राख्न नपर्ने भए यस मुद्दाबाट थुनामुक्त गरिदिनु भनी सम्बन्धित कारागार शाखामा लेखी पठाइदिनू ----------१
अ.बं. १८८ नं. बमोजिम राय सदर भै ५ वर्षमात्र कैद हुने ठहरेकाले सुरू फैसलाअनुसार रोक्का राखेको सम्पत्ति रोक्का राखिरहन परेन भनी जिल्ला अदालत, दाङमा लेखी पठाइदिनू ---२
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू -----------------------------३
उक्त रायमा सहमत छु ।
न्या. देवेन्द्र गोपाल श्रेष्ठ
इति संवत् २०७१ साल असोज २२ गते रोज ४ शुभम् ।
इजलास अधिकृत : कपिलमणी गौतम