शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७५५५ - कर्तव्यज्यान ।

भाग: ४७ साल: २०६२ महिना: असोज अंक:

निर्णय नं.७५५५           ने.का.प.२०६२       अङ्क ६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी

माननीय न्यायाधीश श्री वलराम के.सी.

सम्बत् २०६० सालको फौ.पु.नं. ...३५९८

सँवत् २०६१ सालको फौ.पु.नं. .... ३६८९

फैसला मितिः २०६२।५।१७।५

 

मुद्दा कर्तव्यज्यान ।

 

पुनरावेदकर प्रतिवादीः झापा जिल्ला, चकचकी गा.वि.स. वडा नं. ७ वस्ने नेत्रवहादुर कार्की

विरुद्ध

प्रत्यर्थीर वादीः नेत्रप्रसादको जोहरीले श्री ५ को सरकार

                                                                    

पुनरावेदकर प्रतिवादीः झापा जिल्ला, चकचकी गा.वि.स. वडा नं. ७ वस्ने जिवन घिमिरे समेत

विरुद्ध

प्रत्यर्थीर वादी नेत्रप्रसादको जोहरीले श्री ५ को सरकार   

 

 

§  प्रहरी समक्षको साविती वयान मात्रको आधारमा निर्दोष व्यक्ति पनि अपराधी ठहर्न सक्ने शँकाजनक अवस्थामा सजाँय गर्नु हुँदैन, न्याय पर्दैन भन्ने आधारमा प्रहरी समक्षको साविती वयानलाई अन्य प्रमाण नभएमा प्रमाण लिईदैन र त्यस्तो अवस्थामा सजाँय गर्नु अन्याय हुन्छ भन्ने आधारमा अभियुक्तलाई सजाँय नगरी सफाई दिइने ।

(प्रकरण नं.२९)

§  प्रतिवादीहरुको कार्य एकपछि अर्को गरी सवै कार्य सुनियोजित र योजनावद्ध देखिनुका साथै लोकमायांलाई मार्न पहिला विषालु पदार्थ खुवाएको र त्यसले नमरेपछि सलले Strangulation गरी अती निर्दयी तरिकावाट हत्या गरेको देखियो । जुन तरिकाले लोकमायांलाई Sexually Exploit गर्दै गई गर्भधारणा गरेपछि आफु वच्न योजना वनाई आपसी सल्लाह गरी लोकमायांको निर्मम हत्या गरेको प्रमाणित हुन्छ । यसवाट हेर्दा र यस देशमा कानूनको आधारमा न्याय गरिन्छ र अपराधीले अपराध गरेपछि फुत्कन सक्दैन, कानूनको हात लामो हुन्छ भन्ने कुरा अपराधीहरुलाई वोध गराउन पनि यस अदालतले प्रतिवादीहरुलाई कुनै Leniency देखाउनु पर्ने अवस्था नदेखिने ।       

(प्रकरण नं.३१)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ताद्वय श्री अग्नी खरेल श्री रामप्रसाद अर्याल

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजीरः

 

फैसला

          न्या.वलराम के.सी.: न्यायप्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :-

            २.    जिल्ला झापा चकचकी गा.वि.स. वडा नं. ७ स्थित पूर्वमा राजपैनी, पश्चिममा नारदमणी मैनालीको घर जग्गा, उत्तरमा गोलधाप फुलवारी पूर्व पश्चिम कच्ची वाटो, दक्षिण चन्द्रवहादुर कार्कीको खेत जग्गा यति चार किल्ला भित्र रहेको नारदमणी मैनालीको चिया वगान भित्र पूर्व उत्तर टाउको पश्चिम  दक्षिण खुट्टा भई दाहिने तर्फ कोल्टे भई मृतक लोकमायां आचार्यको लास रहेको भन्ने समेत व्यहोराको मिति २०५९।४।२६ को लास प्रकृति मुचुल्का ।

            ३.    मेरो भाउजु लोकमायां आचार्य गाउँकै जीवन घिमिरे, कुमार अधिकारी र नेत्रवहादुर कार्की समेतका मानिसहरुसँग शारिरीक सम्वन्ध हुँदै आएको र अन्दाजी ३।४ महिनताको गर्भ भएपछि उक्त गर्भ खोलाउन दवाई समेत खुवाँदा नभएकोले भाउजुलाई मिति २०५९।४।२५ गते राती कर्तव्य गरी मारी फालेकोले कानून वमोजिम सजाँय गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०५९।४।२६ गतेको जाहेरी दर्खास्त ।

            ४.    घाँटीमा वाँधिएको, कसिएको कारणवाट स्वास प्रश्वास कृया वन्द हुन गई मृतक लोकमायांको मृत्यु हुन गएको हो भन्ने समेत व्यहोराको लास पोष्ट मार्टम रिपोर्ट ।

            ५.    मृतक लोकमायां आचार्यलाई मैले पहिले देखि नै चिनेको थिए । निजको श्रीमान्को पहिला नै मृत्यु भएको थियो । मृतकको घरमा मृतक र निजका छोरा छोरी मात्र थिए । यस्तैमा लोकमायाँले करणी गर्न दिनछिन , मैले पनि गरें, जिवनले पनि ग¥यो भनी कुमार अधिकारीले मलाई मिति २०५९ साल जेष्ठ महिना तिर (तिथि मिति थाहा भएन) भनेको थियो र हुन्छ म वुझ्छु भनेको थिएँ । यस्तैमा मृतकको महिनावारी भएन अरे पेट वस्यो भन्छे के गर्ने भनी जीवनले भनेपछि दवाई खुवाई पेट खुलाउन पर्छ भन्ने सरसल्लाह भई मिति २०५९।४।६ गते दवाई मगाई मिति २०५९।४।८ गते ल्याई हामी तिन जनाको सल्लाह भई मृतक लोकमायां आचार्यको घरमा लगी मैले दवाई खानु अरे कुमार र जीवनले भनेका भने पछि लिईन र मैले निज मृतक सँग मलाई करणी गर्न नदिने भने पछि हुन्छ हिड्नु होस भनेपछि घर देखि दक्षिण पूर्व पट्टी वाँस घारीमा गर्इं करणी गरो त्यस पछि हामी आआफ्नो घर तर्फ लाग्यौं । त्यस पछि दवाईले पनि पेट गएन भने के गर्ने भनी खुलदुली चल्दै गयो र मृतकले मेरो पेट गएन भने के गर्छौ जीवन भनेपछि जीवनले हामीलाई सुनायो र मिति २०५९।४।२५ गते घरमा टि.भि. हेरी वसी रहेको अवस्थामा कुमार मेरो घरमा आई मलाई दाई एक छिन यता आउनुहोस भनी वोलाई जीवन पनि तल छ भनेपछि गएं । हामी तिन जना गफ गर्दै जाँदा अव के गर्ने भन्दा कुमारले डाक्टरकोमा लानु पर्छ । मानिन भने खलास गरी दिनु पर्छ भन्यो र हामी तिन जनाले नै सोही कुरामा सहमत भई निज मृतकको घर तर्फ लाग्यौं । त्यतिवेला रातको करिव पौने आठ वज्न लागेको थियो निजको घरमा पुग्न लागेपछि कुमार अधिकारीले पैनीमा पानी कति ठूलो आएछ भने पछि मैले हो त ठुलो आएछ भन्ने शव्द सुनी मृतक लोकमायां आचार्यले हरियो रँगको कुर्था मुनिवाट सेतोमा रातो कालो वुट्टा परेको कपडा जस्तो थियो र कुमार अधिकारीले जाँउ भाउजु भनी घर देखि दक्षिण पट्टी चिया वगानमा लग्यो र जीवनले आज म पहिला करणी गर्छु भने पछि  हुन्छ भनेर जीवनले लग्यो र निज मृतक आफै उत्ताने परी भुईमा सुती र निजले मुनिवाट लगाएको सल जस्तो कपडा खोली निजको घाँटीमा डवल वनाई कसे र कुमारलाई यहां आईज भनी हात समात्न लगाए । मलाई यहां कोही मान्छे आउछ्न कि भनी हेर्नु भनी जीवनले भने पछि हुन्छ भनी मैले कोही मान्छे आउछ्न की भनी हेरे निजले करिव १० मिनेट जति घाँटी कसी रह्यो । त्यस पछि छोड्दा मृतकले ध्यार ध्यार गरे पछि कुमार र जीवन भई निजलाई घोप्टो पारी जीवनले मृतकको पछाडि खुट्टाले टेकी घाँटीमा लगाएको पासो झडकाली झड्काली गरेर छाडी दिए त्यसवेला मृतकको मृत्यु भइसकेको थियो । त्यसपछि हामी तिन जना आआफ्नो घर तर्फ लागी घरमा सुत्यौ भन्ने समेत व्यहोराको विषे भन्ने नेत्रवहादुर कार्कीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।

            ६.    मिति २०५९।४।२५ गते वेलुका अं. १९.३० वजेको समयमा निज नेत्रवहादुर कार्कीको घरमा टि.भि.मा काठमाडौं भन्ने सिरियल हेरी सकेपछि घर वाहिर वाटोको छेउ पुलमा वसी रहेको थिएं । त्यति नै वेला म वसी रहेको ठाउँमा जिवन घिमिरे आएर निजले नेत्रवहादुर कार्कीलाई वोलाएर यहां लेउ भनेपछि निजलाई मैले घरवाट वोलाएर ल्याए । हामी तिन जना भेला भई सोही विषयमा अव के गर्ने भनी सल्लाह हुँदा ठिकै छ डाक्टरकोमा जाऊँ भन्ने, मानी भने डाक्टरकोमा लगी गर्भ तुहाउनु पर्छ मानिन भने खलास गरी दिनु पर्छ भनी मैले भने पछि हुन्छ भनेर सवै जनाले सहमती भएपछि हामी तिन जना मृतक लोकमायांको घरमा गयौं त्यतिवेला १९.४५ वजेको थियो । मैले वाहिरवाटै पैनिमा कति धरै पानी छ नि माल्दाई भनी नेत्रवहादुर कार्कीलाई भनेपछि अँ कति धेरै पानी रहेछ भने पछि निज मृतक वाहिर निस्कीन र भाउजु जाउँ भनेपछि कहा, चिया वगान तिर भने पछि हामी पनि चिया वगान तिर गयौं । निजले माथि हरियो रँगको कुर्था र तल सेतोमा रातो कालो वुट्टा भएको टेलिकटनको सल जस्तो वेरी आएकी थिईन र जीवन घिमिरेले म पहिला करणी गर्छु भने पछि छोडी दियौं । निज मृतक चियाको वगान भित्र उत्तानो परी आफै लडिन र निजले मुनिवाट लगाएको वेरेको कपडा खोली जीवनले निजको घाँटीमा डवल पारी वेरे र ताने । मलाई हात समा भनी भनेकाले मैले निज मृतकको दुवै हात समाएर माल्दाई यता उता मान्छे आउँछन की हेर्नु है भनेर जीवनले घाँटीमा वेरेको कपडा वेसरी तानी करिव १० मिनेट पछाडि छाड्दा पनि ध्यार ध्यार गरे पछि हामी दुवैले घोप्टो पारी जीवनले मृतकको पछाडि ढाडमा दाहिने खुट्टाले टेकी दुवै हातले उक्त सल झट्कारी तान्दा निज मृतक पहिला नै मरी सकेकी रहिछन् । त्यसपछि हामी आआफ्नो घर तिर लाग्यौं भन्ने समेत व्यहोराको कुमार अधिकारीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।

            ७.    मिति २०५९।४।२५ गते राती अं. पौने ८ (आठ) वजेको समयमा म नेत्रवहादुर कार्की र कुमार अधिकारी समेतका तिन जना मानिसहरु एक आपसमा भेट भई सल्लाह गरी लोकमायां आचार्यको घर नजिक पुगी पैनीमा कति धेरै पानी आएछ भनी सँकेत आवाज गर्दा लोकमायां आचार्य घर देखि वाहिर निस्की आईन र निज आउँदा माथि हरियो कुर्था र तल सेतो सल जस्तो सेतोमा रातो कालो वुट्टा भएको कपडा वेरी आएकी थिइन । कुमार अधिकारीले भाउजु जाऊँ भनी हातमा समाई चिया वगान तिर लगे । महिले चाँही आज म पहिला करणी गर्छु भने पछि हुन्छ भनी कुमारले छाडी दियो र निजको घर देखि दक्षिण चिया वगानमा लगे साथीहरु पनि सँगै थिए । मैले निजले तलवाट लगाएको सेतो टेरिकटनको सल जस्तो कपडा खोले निज आफै उत्तानो परी सुतिन र त्यही खोलेको सलले डवल पारी घाँटीमा कस्न खोज्दा के गरेको भनी हात चलाउदै घाँटि तिर ल्याईन र कुमार यहां आईज हात समात भनी भने, निज आएर दुवै हात समाती ताने र मैले उक्त सलले घाँटीमा वाँधी कसी कसी तान्न थाले । माल्दाई मान्छे हुर्नु है भनी नेत्रवहादुर कार्कीलाई भने र मान्छे हेर्न थाले । मैले करिव १० मिनेट जति कसी कसी तानेपछि ध्यार ध्यार गर्न थालिन र मरेकी छैनन होला भनी पछाडि फर्काइ घोप्टो पारी दाहिने खुट्टाले ढाडमा टेकी दुवै हातले उक्त सल कपडाले झट्काली झट्काली तानेपछि निजको मृत्यु भइसकेको थियो । त्यसपछि छाडी हामी आआफ्नो घर तर्फ लाग्यौं भन्ने समेत व्यहोराको प्रतिवादी जीवन घिमिरेले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।

            ८.    मिति २०५९ साल आषाढ महिनामा नेत्रवहादुर कार्की मेरो हार्डवेयर पसलमा आई दाई मेरो श्रीमतीको मासिक श्राव वन्द भएको १ महिना जति भयो । काखमा सानो वच्चा छ गर्भ रह्यो भने दुःख हुन्छ , विर्तामोड जाँदा मासिक खोल्ने दवाई ल्याई दिनु भनी भनेकाले मैले सोही दिन विर्तामोडवाट मासिक खोल्ने दवाई रु. ७०। मा ल्याई दिएको हुँ अरु मलाई केही थाहा छैन भनी चकचकी ७ वस्ने तिलचन गौतमले प्रहरी समक्ष गरेको कागज ।

            ९.    वारदात मिति २०५९।४।२५ गते भन्दा ४।५ महिना अगाडि देखि गाउँकै नेत्रवहादुर कार्की कहिले काही घरमा आउने गरेको, मृतक मेरो आमासँग के के गफ गर्ने मलाई थाहा हुदैन थियो । एक दिन (तिथि मिति मलाई थाहा भएन) २०५९ साल आषाढ महिनामा प्लाष्टिकको डव्वामा दवाई ल्याई दिएको कुरा मलाई थाहा भई आमालाई सोधनी गर्दा केही हैनी भनी ढाट्नु भएको थियो । पछि वुझ्दा नेत्रवहादुर कार्की, जीवन घिमिरे र कुमार अधिकारी समेतका व्यक्तिहरु सँग शारिरीक सम्वन्ध भएको र सोही कारण गर्भ खोलाउन भनी दवाई ल्याई खुवाएको रहेछ सो दवाईवाट नभए पछि निजहरुले मेरो आमालाई कर्तव्य गरी मारेको हो भन्ने समेत व्यहोराको छोरा हरिप्रसाद आचार्यले प्रहरीमा लेखाई दिएको कागज ।

            १०.    मिति २०५९।४।२६ गते विहान ८ वजेको समयमा मेरो वुवा नारदमणी मैनालीको नाममा दर्ता रहेको घोडामारा स्थिति चिया वगानमा सँधै जसो घुम्न गएको थिएं । सोही चिया वगानको बीचमा मृतक महिला मानिस लडी रहेको देखि डर लागी फर्कि आएर वुवालाई सुनाए । वुवा गई हेर्दा मृतकलाई चिनी लोकमायां आचार्य रहिछन हल्ला गरी देउ भन्दा मैले गाऊँमा खवर गरी दिएको हो । पछि सवै छिमिकी भेला भई सोध खोज गर्दा हाल पक्राउमा परी आएका नेत्र वादुर कार्की, जीवन घिमिरे र कुमार अधिकारी समेतका मानिसहरुले कर्तव्य गरी २०५९।४।२५ गते राती नै चिया वगानमा छाडी आएका रहेछन् । निजहरुले नै मारेकोमा मलाई विश्वास लाग्छ भन्ने समेत व्यहोराको जिल्ला झापा चकचकी ७ वस्ने लक्ष्मी मैलानीले प्रहरी समक्ष गरी दिएको कागज ।

            ११.    वारदात मिति भन्दा धेरै पहिला देखि नै मेरो हजुर आमा विरामी हुनु हुन्थ्यो । म एक्लो भएको कारण कही जान पाउदिन थिए । मेरो हजुर आमा विमारी हेर्न जाऊँ भन्ने वाहाना पारी मृतक लोकमायां आचार्यलाई गाउँकै नेत्रवहादुर कार्की, जीवन घिमिरे र कुमार अधिकारी समेतका प्रतिवादीहरुले २०५९।४।२५ गते राती चकचकी ७ स्थित घोडामारा चिया वगानमा लगी कर्तव्य गरी मारेका रहेछन् । निजहरुले नै कर्तव्य गरी मारेकोमा मलाई विश्वास लाग्छ भन्ने समेत व्यहोराको इन्द्रप्रसाद खरेलले प्रहरी समक्ष गरेको कागज ।

            १२.   वारदात मिति २०५९।४।२५ गते भन्दा ३।४ महिना अगाडि देखि गाऊँकै नेत्रवहादुर कार्की, जीवन घिमिरे र कुमार अधिकारी समेतका मानिसहरु मृतक लोकमायां आचार्यसँग शारिरीक सम्वन्ध राख्दै आएका र निजहरुवाटै गर्भ रहन गएको सो गर्भ खुलाउन प्रयत्न गरी विभिन्न योजनाहरु वनाई गर्भ खुलाउन दवाई समेत ल्याई खुवाई सो दवाईवाट पनि गर्भ खुलाउन सफल हुन नसकेको र कहीँ कतै गाउँका छिमिकेहरु समेतले थाहा पाए भने हाम्रो ठूलो वईजत, वद्नामी हुने डर भई उल्लेखित तिन जना प्रतिवादीहरु एक आपसमा सल्लाह गरी प्लान वनाई वारदात मिति २०५९।४।२५ गते राती नै लोकमायां आचार्यलाई वोलाई लगी चकचकी ७ स्थित नारदमणी मैनालीको चिया वगान भित्र लगी सेतो कपडाको सल जस्तो कपडाले घाँटीमा वेरी कसी कर्तव्य गरी मारेको, मृतकको लास भोली पल्ट मिति २०५९।४।२६ गते विहान ८ वजे तिर गाऊँ घरमा हल्ला हुँदा थाहा हुँदा हाल पक्राउमा परी आएका विषे भन्ने नेत्रवहादुर कार्की, जिवन घिमिरे र कुमार अधिकारी समेतका प्रतिवादीहरुले नै कर्तव्य गरी मारेको हो निजहरुले नै कर्तव्य गरी मारेको कुरामा हामीहरुलाई विश्वास लाग्छ भनी जिल्ला झापा, चकचकी गा.वि.स. वडा नं. ७ घोडामारा वस्ने चुडामणी भट्टराई, विरेन्द्र सापकोटा, पर्शुराम कार्की, वुद्धराज कार्की, चन्द्र प्रकाश योङ्गहाङ्ग समेतका ५ जनाले गरी दिएको वस्तुस्थिति मुचुल्का ।

            १३.   वारदात मिति २०५९।४।२५ गते म आफ्नै घरमा थिए । भोलिपल्ट मिति २०५९।४।२६ गते विहान अन्दाजी ८ वजेको समयमा चकचकी वडा नं. १ वस्ने लोकमायां आचार्यलाई मारेको छ भन्ने कुरा गाऊँ घरमा हल्ला खल्ला भएपछि म समेतका मानिसहरु घटनास्थलमा गई हेर्दा मृतक अवस्थामा देखेको र पछि वुझ्दै जादा चकचकी ७ वस्ने विषे भन्ने नेत्रवहादुर कार्की, ऐ ऐ वस्ने जीवन घिमिरे र ऐ ऐ वस्ने कुमार अधिकारी समेतका मानिसहरु वारदातमा भन्दा ३।४ महिना अगाडि देखि मृतकलाई करणी गर्दै आएका र निजको गर्भ रहन गएकोमा औषधी गराउँदा समेत गर्भ नगएकोमा आफुहरुले गरेको अपराधलाई लुकाउन माथि उल्लेखित प्रतिवादीहरुले मिति २०५९।४।२५ गते योजना मिलाई कर्तव्य गरी मारेको हो । अरु कोही कसै सँग शँका छैन उल्लेखित प्रतिवादीहरुले नै कर्तव्य गरी मारेकोमा मलाई पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको एकै मिलान हुने गरी रविनवहादुर कार्की, टेकप्रसाद आचार्य, पदमलाल उप्रेती, हरिप्रसाद मैनाली, गँगाप्रसाद मैनाली समेतका ५ जनाले प्रहरी समक्ष गरी दिएको कागज ।

            १४.   मृतक लोक मायां आचार्यको भिसेरा नमूनाहरु र नमूना ८ मा किटनाशक सिन्थेटिक पाईरेथाईड, साईपर मेथिन पाईएको छ भन्ने समेत व्यहोराको भिसेरा परिक्षण रिपोर्ट ।

            १५.   प्रतिवादीहरु जीवन घिमिरे, कुमार अधिकारी र नेत्रवहादुर कार्कीले मृतकलाई कहिले गर्भ तुहाउने औषधी खुवाउन कहीले ज्यान मार्न विष खुवाउने तथा कहिले घाँटीमा मृतकको सलले वाँधी कसी ज्यान मार्ने कार्य गरेकोले निज प्रतिवादीहरु तिनै जनाले मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १३ (३) नं. वमोजिम कसूर अपराध गरेको पुष्टि हुन आएकोले हदै सम्म सजाँय हुन माग दावी रहेको अभियोग पत्र ।

            १६.    मैले मृतक लोकमायां आचार्यलाई मारेको होईन । मृतकलाई कसले, कसरी मारेको हो थाहा भएन । अधिकार प्राप्त अधिकारी समक्ष भएको वयानको व्यहोरा मेरो होईन । लेखेर तयार गरेको वयानमा सहि गर भनेर भन्दा के लेखेको छ भनी सोध्दा के हेर्छस खुरुक्क सही गर भनेकोले डर लागी सही गरेको हुँ । अरु प्रतिवादीहरु कुमार अधिकार जीवन घिमिरेले अधिकार प्राप्त अधिकारी समक्ष म समेत भई मृतक लोकमायां आचार्यलाई मारेको भनेका हुन मलाई थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी नेत्रवहादुर कार्कीले शुरु जिल्ला अदालतमा गरेको इन्कारी वयान ।

            १७.   मिति २०५९।४।२५ गते राती म र जीवन घिमेरे भई लोकमायां आचार्यलाई कर्तव्य गरी मारेको हो । मैले विष खुवाएको होईन । जीवन घिमिरे र लोकमायाँ आचार्य वीच पहिला देखि कै शारिरीक सम्वन्ध रहेको र जीवनकै विर्यवाट गर्भ रहेको कारणले गर्भ पतन गराउन जीवनले भन्दा निज मृतकले नमानेकी रहिछन् । उक्त दिन जीवनले लोकमायां आचार्यलाई वोलाई ल्याउन भनेकाले मैले वोलाई ल्याए । म समेत तिनै जना भई चिया वगान तफ लाग्यौं । चिया वगानमा पुगे पछि म पहिला करणी गर्छु भनी जीवनले लोकमार्या लाई अलि पर लगे , म अलि वर नै वसे, एकै छिन पछि जीवनले मलाई छिटो आईज भने पछि म दौडिदै गए । त्यहा पुग्दा जीवनले लोकमायांको घाँटीमा सलले पासो लगाई घोप्टो पारी थिची रहेको रहेछ । जीवनले मलाई लोकमायांको हात समात्न भनेपछि मैले हात समाती दिए । मृतक लोकमाया आचार्य चिच्याउन, कराउन पाएकी थिईनन् । निजलाई मार्ने हाम्रो पूर्व योजना थिएन । प्रतिवादी नेत्रवहादुर कार्कीसँग उक्त दिन हाम्रो भेटघाट भएन, लोकमायां आचार्यलाई मार्दाको अवस्थामा जीवन र म मात्र थियौं भन्ने समेत व्यहोराको प्रतिवादी कुमार अधिकारीले गरेको साविती वयान ।

            १८.   मिति २०५९।४।२५ गते राती म र कुमार मेरै घरमा टि.भी. हेरी वसी रहेका थियौं । उक्त दिन नेत्रवहादुर कार्की सँग मेरो भेट भएन । अन्दाजी ७ वजे म र कुमार कुलामा पानी हेर्न गयौं । कुलामा पुगेपछि हाम्रो आवाज सुनि लोकमायां आचार्य घरवाट वाहिर निस्किईन र हामी भए ठाउँमा आईन । कुमार अधिकारीले लौ भाउजु जाऊँ भनेपछि लोकमायां हामी सँगै चिया वगान तर्फ   गईन । मेरो र कुमारको शारिरीक सम्पर्क निजसँग २०५९ साल जेष्ठ देखि रहँदै आएको थियो । निजले मलाई गर्भ रह्यो भनेकोले मैले निज लोकमायांलाई डाक्टरकोमा जानु पर्छ भन्दा, निजले विचार गरौँला भनिन । मैले भोली समाजमा वदनाम हुन्छ भन्दा निजले नमानेकोले मैले निज लोकमायांको घाँटी न्याकी निजले टाउकोमा लगाएको सेता कपडाले घाँटीमा वाँधे र कुमारलाइ आईज भनेपछि निज पनि आयो र हातमा समात्यो । मैले घाँटीमा कसी कराउन नपाउने गरी वनाई १५ मिनेट कस्दा मरी होला भनी छाडी दिएपछि ध्यार ध्यार आवाज आएकाले मैले पल्टाई लात्ताले थिची निज लोकमायां आचार्यको हत्या गरेको हो । हामी दुवै जना भएर मृतक लोकमायाँ आचार्यको हत्या गरेको हो नेत्रवहादुर कार्कीको कुनै सँलग्नता छैन भन्ने समेत व्यहोराको प्रतिवादी जीवन घिमिरेले गरेको साविती वयान ।

            १९.    मिति २०५९।५।२८ का आदेशानुसार जाहेरवाला नेत्रप्रसाद आचार्य, प्रहरीमा कागज गर्ने हरिप्रसाद आचार्य, रविनवहादुर कार्की, लक्ष्मी मैनाली, ईन्द्रप्रसाद खरेल, गँगाप्रसाद मैनाली, हरिप्रसाद मैनाली, टँकप्रसाद आचार्य, त्रिलोचन गौतम, वस्तुस्थिति मुचुल्काका चुडामणी भट्टराई, विरेन्द्र सापकोटा, वुद्धराज कार्की, लाश जाँच मुचुल्काका धनवहादुर देउजा तथा प्रतिवादी नेत्रवहादुर कार्कीका साक्षी गँगाप्रसाद काफ्ले र रत्नवहादुर अधिकारी समेतले अदालतमा उपस्थित भई गरेको वकपत्र मिसिल सामेल रहेको ।

            २०.   प्रतिवादी जीवन घिमिरेले मृतक लोकमायां आचार्यलाई निजकै सलले घाँटीमा वेरी कसेको र प्रतिवादी कुमार अधिकारीलाई वोलाई मृतकको हात समाउन लगाई घाँटीमा सल वेरी मारेको र अर्का प्रतिवादी नेत्रवहादुर कार्कीले वारदात स्थल भन्दा केही पर वसी मानिस आउँछन कि भनी मान्छे हेर्न वसेको भन्ने देखिन आएकोले प्रतिवादी जिवन घिमिरेलाई सर्वस्व सहित जन्मकैद, प्रतिवादी कुमार अधिकारीलाई जन्मकैद र प्रतिवादी नेत्रवहादुर कार्कीलाई ३ वर्षको कैद सजाय हुने ठहर्छ भन्ने शुरु झापा जिल्ला अदालतको मिति २०५९।११।१३ को फैसला ।

            २१.   शुरु झापा जिल्ला अदालतले हामीलाई हराई गरेको फैसलामा हामीले प्रहरी र अदालतमा गरेको वयान हामीहरुका साक्षीले गरेको वकपत्र एवं अन्य सवूद प्रमाणहरुको मुल्याँकन नै नगरी गरेको फैसला कानूनी त्रुटिपूर्ण छ । अतः हामीले निज मृतक लोकमायांलाई सलले वेरी घाँटी कसी मारेको कुरा पुष्टि हुनको लागि पत्यारलायक नहुँदा शुरुले हामीलाई सर्वस्व सहित जन्मकैद र जन्मकैद गर्ने गरेको फैसला वदर गरी सफाई पाऊँ भन्ने प्रतिवादी जीवन घिमिरे र कुमार अधिकारीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

            २२.   शुरु झापा जिल्ला अदालतले मलाई हराई गरेको फैसला कानूनी त्रुटिपूर्ण छ । किनकी मैले मृतक लोकमायां आचार्यलाई मार्नमा मत सल्लाहामा परेको कुराको पुष्टि कुनै स्वतन्त्र प्रमाणवाट भएको छैन । मेरा पक्षका साक्षीहरुले समेत मैले गरेको इन्कारी वयानको समर्थन गरी वकपत्र गरी दिएको हुँदा शुरुवाट ३ वर्ष कैद सजाय हुने गरी गरेको फैसला वदर गरी पाउँ भन्ने प्रतिवादी नेत्रवहादुर कार्कीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

            २३.   यसमा मृतक लोकमायां आचार्यलाई कर्तव्य गरी मारेको ठहर्‍याई प्रतिवादीहरु जीवन घिमिरेलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वस्व सहित जन्मकैद, प्रतिवादी कुमार अधिकारीलाई ज्यान सम्वन्धी महलको १३(४) नं. वमोजिम कसूर गरेको देखिँदा सोही १३(४) नं. वमोजिम जन्मकैदको सजाय हुने ठहर्छ । अर्का प्रतिवादी नेत्रवहादुर कार्कीलाई ज्यान सम्वन्धी महलको १७(३) नं. वमोजिम ३ वर्ष कैदको सजाय गर्ने गरी झापा जिल्ला अदालतवाट मिति २०५९।११।१३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत ईलामको मिति २०६०।८।१७ को फैसला ।

            २४.   मृतक लोक मायाँ आचार्यको हत्या आफुहरुले गरेको हो । नेत्रवहादुर कार्कीको यसमा कुनै सँलग्नता छैन भनी प्रतिवादी मध्येका जीवन घिमिरेले अदालतमा वयान गरेको साथै परस्पर पोलापोलाको स्थिति समेत नहुँदा नहुँदै पनि म निर्दोष व्यक्तिलाई कसूरदार ठहर्‍याई गरिएको शुरु एवँ पुनरावेदन अदालत ईलामको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला वदर गरी आरोपित कसूरवाट सफाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी नेत्रवहादुर कार्कीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            २५.   हामीहरुले मृतक लोकमायां आचार्यलाई करणी गरेको र मारेको समेत हाईन । मृतकको गर्भ रहे भएको समेत हामीलाई थाहा भएन । मृतकसँग हाम्रो कुनै लसपस र घनिष्टता समेत थिएन । छोरा, छोरी भएकी वुढी आईमाईलाई करणी गर्ने आँट र कल्पना समेत गरेका थिएनौं । प्रहरीले हामीहरुलाई जोर जुलुम र जवरजस्ती साविती गराएका हुन । तसर्थ, यस कुरालाई ध्यानै नदिई हामीहरुलाई सर्वस्व सहित जन्मकैद र जन्मकैद गर्ने गरेको शुरु जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत ईलामको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टाई इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी जीवन घिमिरे र कुमार अधिकारी समेत जना दुईको यस अदालतमा परेको सँयुक्त पुनरावेदन पत्र ।

            २६.   नियमवमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक नेत्रवहादुर कार्कीको तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री अग्नी खरेलले मृतक लोकमायां आचार्यलाई नेत्रवहादुर कार्कीले कर्तव्य गरी मार्नमा कुनै सँलग्नता छैन भनी कुमार अधिकारी, जीवन घिमिरे र स्वयँ प्रतिवादीले अदालतमा आई वयान गरेका छन् । तसर्थ निजले सफाई पाउनु पर्छ भनी वहस गर्नुभयो । पुनरावेदक प्रतिवादीहरु जीवन घिमिरे र कुमार अधिकारीको तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री रामप्रसाद अर्यालले प्रतिवादीहरु १९, २० वर्षका केटाहरु भएका र १३(३) नं. वमोजिमको सजाँय गर्दा चर्को हुने हुँदा सम्मानित अदालतले स्वविवेक प्रयोग गरी वाँकी कैद अवधि छुट दिएमा प्रायश्चित गरी सुध्रने थिए भन्ने व्यहोराको वहस प्रस्तुत गर्नुभयो ।

            २७.   पुनरावेदक प्रतिवादीहरुका तर्फवाट उपस्थित विद्धान अधिवक्ताहरुले गर्नु भएको उपरोक्त व्यहोराको वहस, जिकिर समेत सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत ईलामको फैसला मिलेको छ , छैन ? प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्छसक्दैन ? भन्ने सम्वन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।

            २८.   निर्णयतर्फ विचार गर्दा मेरो भाउजु लोकमायां आचार्यलाई जीवन घिमिरे, कुमार अधिकारी र नेत्रवहादुर कार्की समेतले मिति २०५९।४।२५ गते राती कर्तव्य गरी मारेकोले कानून वमोजिम कारवाही गरिपाऊँ भनी नेत्रप्रसाद आचार्यको मिति २०५९।४।२६ को जोहरी दर्खास्तवाट प्रस्तुत मुद्दाको अनुसन्धान कारवाही अगाडि वढेको देखिन्छ । प्रतिवादीहरु जीवन घिमिरे र कुमार अधिकारी र नेत्रवहादुर कार्कीले मृतकलाई कहिले गर्भ तुहाउने औषधी खुवाउने, कहीले ज्यान मार्ने विष खुवाउने गरी आएकोमा मिति २०५९।५।२५ गते घाँटीमा मृतकले ओढ्ने गरेको सलले वाँधी कसी ज्यान मार्ने कसूर गरेकोले मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम हदै सम्म सजाय हुन माग दावी लिएको अभियोगपत्रवाट देखिन्छ । प्रतिवादी जीवन घिमिरेलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वस्व सहित जन्मकैद, प्रतिवादी कुमार अधिकारीलाई ऐ को १३(४) नं. वमोजिम जन्मकैद र प्रतिवादी नेत्रवहादुर कार्कीलाई ऐ को १७(३) नं. वमोजिम ३ वर्ष कैदको सजाय गर्ने गरी शुरु जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत इलामको फैसला उपर प्रतिवादी नेत्रवहादुर कार्कीको छुट्टै र प्रतिवादीहरु जीवन घिमिरे र कुमार अधिकारीको सँयुक्त रुपमा यस अदालतमा पुनरावेदन दायर भएको पाईयो।

            २९.   जाहेरवाला नेत्रप्रसाद आचार्यले दिनु भएको जाहेरी दर्खास्तमा प्रतिवादीहरु जीवन घिमिरे, कुमार अधिकारी र नेत्रवहादुर कार्की समेत तिन जनाले मेरो भाउजु लोकमायां आचार्य कहां पटक पटक आउने जाने गरी अनुचित सम्वन्ध राख्ने गरेको र सोही कारण भाउजुको गर्भ रहन गएको, सो गर्भ रहेको कुरावाट आफ्नो वेईजति हुनवाट वच्नको लागि निजहरुले भाउजुलाई वोलाई चिया वगानमा लगी कर्तव्य गरी मारेको भनी किटानी जाहेरी दिई अदालतमा आई वकपत्र गर्दा सवाल जवाफ नं. ५ मा सोही व्यहोराको वकपत्र गरेको देखिन्छ । मौकामा वुझिएका व्यक्तिहरु हरिप्रसाद आचार्य, रविनवहादुर कार्की, र वस्तुस्थिति मुचुल्काका व्यक्तिहरु चुडामणी भट्टराई, वुद्धिराज कार्की समेतले अदालतमा आई वकपत्र गर्दा समेत प्रतिवादीहरु जीवन घिमिरे, कुमार अधिकारी र नेत्रवहादुर कार्की समेत भई मृतक लोक मायांसँग शारीरिक सम्पर्क राख्ने गरेकोमा गर्भ रहन गएकोले लोकलाजवाट वच्नको लागि पहिले गर्भ पतन गराउने औषधि खुवाउने गरेका र २०५९।४।२५ गतेका दिन विष खुवाई नारदमणी मैनालीको चिया वगान भित्र लगी निज मृतकले लगाएको सेतो सलले घाँटीमा कसी कर्तव्य गरी मारेको भनी लेखाई दिएको पाईन्छ । पोष्ट मार्टम रिपोर्ट हेर्दा लोक मायांको मृत्यु घाँटी थिचेको कारण श्वास प्रश्वास वन्द भई मरेको भन्ने देखिन्छ । साथै भिसेरा परिक्षण नमूना ८ मा मृतक लोकमायांको शारीरिक अँगमा किटनाशक सिन्थेटिक पाईरेथाईड, साईपर मेथिन नामक विषादी पाईएको भनी भिसेरा परिक्षण रिपोर्ट समेतवाट मृतकको मृत्यु कर्तव्यवाट भएको भन्ने पुष्टि हुन आयो । निज लोकमायां आचार्यलाई कसले कर्तव्य गरी मारेको हो भनी हेर्दा प्रतिवादीहरु जीवन घिमिरे, कुमार अधिकारी र नेत्रवहादुर कार्की समेतले मृतकलाई घाँटीमा वाँधी कसी ज्यान मार्ने कार्य गरेको भन्ने अभियोग माग दावी लिएको पाईन्छ । मृतक लोकमायां आचार्यलाई पुनरावेदक प्रतिवादीहरु तिनै जनाले समय समयमा करणी गर्ने गरेको कुरा प्रतिवादीहरु जीवन घिमिरे, कुमार अधिकारी र नेत्रवहादुर कार्की समेतले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानवाट देखिन्छ । मृतक लोकमायां आचार्यलाई निजको घर देखि दक्षिण चिया वगानमा लगी निजले ओढेको सलले जीवन घिमिरेले घाँटीमा कस्न खोज्दा हात चलाएकोले कुमार अधिकारीलाई वोलाई निजले मृतकको हात समाती चल्न नदी दुवै जना मिली मारेको भनी प्रतिवादी जीवन घिमिरे र कुमार अधिकारीले अधिकार प्राप्त अधिकारी समक्ष सावित भई वयान गरेको देखिन्छ । अर्का प्रतिवादी नेत्रवहादुर कार्कीले म घरमा वसी रहेको अवस्थामा कुमार अधिकारी आई वोलाई गएको र जीवनले मलाई कोही मान्छे आउँछनकी हेर्नु भनेकोले हेरी वसेको भनी अधिकार प्राप्त अधिकारी समक्ष वयान गरेको पाईन्छ । प्रतिवादीहरु जीवन घिमिरे र कुमार अधिकारीले अदालतमा आई वयान गर्दा समेत मृतक लोक मायां आचार्यलाई निजको घरवाट दक्षिण पट्टी चिया वगानमा लगी जीवन घिमिरेले मृतकले ओढेको सलले घाँटीमा वाँधी कसेकोमा हात चलाएकोले कुमारलाई वोलाई निजले हात समाती दुवै जना मिली मारेको भनी साविती वयान दिएको देखिन्छ । अभियुक्तले अदालत वाहेक अन्यत्र आफुलाई लागेको अभियोग स्वीकार गरी सावित भई गरेको वयान र मुद्दा हेर्ने अधिकारी समक्ष अदालतमा नै अभियोग स्वीकार गरी गरेको वयानमा भिन्नता हुन्छ । मुद्दा हेर्ने अधिकारी वा अदालत वाहेक अन्यत्र आफुलाई लागेको अभियोग स्वीकारी सावित हुँदैमा अन्य स्वतन्त्र प्रमाणको अभाव छ भने जिल्ला प्रहरी समक्षको सावितीको आधारमा मात्र अभियुक्तलाई दोषि ठहर गर्न हाम्रो प्रमाण कानून, न्यायका मान्य सिद्धान्त र यस अदालतले वेलावेलामा स्थापित गरेको सिद्धान्तले मिल्दैन । कुनै फौज्दारी मुद्दामा यदी अभियुक्त प्रहरी समक्ष सावित भई कसूर स्वीकार गरी वयान गरेकोलाई अन्य स्वतन्त्र प्रमाण रहेनछ भने मुद्दाको एक पक्ष प्रहरी समक्षको साविती वयान मात्रको भरपर्दो निर्दोष व्यक्ति पनि अपराधी ठहर्न सक्ने शँकाजनक अवस्थामा सजाँय गर्नु हुँदैन, न्याय पर्दैन भन्ने आधारमा प्रहरी समक्षको साविती वयानलाई अन्य प्रमाण नभएमा प्रमाण लिईदैन र त्यस्तो अवस्थामा सजाँय गर्नु अन्याय हुन्छ भन्ने आधारमा अभियुक्तलाई सजाँय नगरी सफाई दिईन्छ ।

            ३०.   हामी कहां मात्र होईन प्रहरी समक्ष अभियुक्तले गरेको साविती वयानका सम्वन्धमा अमेरिका जहां प्रहरी हामी कहां भन्दा स्वतन्त्र छ त्यहाँ Arozona Vs Miranda को मुद्दामा जसलाई फौज्दारी न्याय प्रणालीमा Miranda warning भनिन्छ र फौजदारी न्याय प्रणालीमा Miranda warning को वारेमा वढी व्याख्या गर्न अवाश्यक पर्दैन र उक्त मुद्दामा अमेरिकाको सर्बोच्च अदालतले एउटा सिद्धान्त कायम गर्‍य । उक्त सिद्धान्त अनुसार अपराधको अनुसन्धानको सिलसिलामा पक्राउमा परेको व्यक्ति अर्थात Suspect को प्रहरीले वयान र सोधपुछ Interrogation गर्नु अगाडि पक्राउ परेको Suspect को सँवैधानिक अधिकारको वारेमा प्रहरीले लिखित रुपमा र अनिवार्य रुपले पक्राउमा परेको Suspect लाई उसका संवैधानिक अधिकारको वारेमा जानकारी गराउनु पर्ने यदि जानकारी नगराएमा वयान अथवा उसको Statement प्रमाणमा लिन नमिल्ने सिद्धान्त स्थापित  गरियो ।

            ३१.   सँक्षेपमा Miranda warning को Guideline को रुपमा यस्तो भनियो Prior to questioning that the suspect has the right to remain silent that anything they say may be used against them as evidence and that they have the right to the counsel of an attorney, if willing to have the counsel of the attorney but can not afford state will provide one. भन्ने जानकारी गराएर मात्र वयान र सोधपुछ Interrogation गर्न सक्ने सिद्धान्त स्थापित गरियो । त्यहाँ प्रहरी समक्षको Confessional statement को आधारमा मात्र कसैलाई दोषि ठहर गरिँदैन । अमेरिकामा Miranda warning भनेको जस्तो वेलायतमा Judges Rule भनिन्छ त्यहाँ पनि प्रहरी समक्षको साविती वयान माथिको अनुसार गरिएको रहेनछ भने प्रमाणमा लिईदैन । तर मुद्दा हेर्ने अदालतमा मुद्दा हेर्ने अधिकारी समक्षको साविती वयानलाई प्रमाणमा लिईन्छ र हाम्रो प्रमाण कानूनले पनि प्रमाणमा लिन हुने वयान मानेको छ । प्रमाण ऐन, २०३१ को दफा ४(१) (क) मा मुद्दाका कुनै पक्षले व्यक्त गरेको कुनै कुरा अर्को पक्षले लिखित रुपमा स्वीकार गरेमा त्यस्तो स्वीकार गरेको कुरामा प्रमाण वुझ्न नपर्ने व्यवस्था गरेको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी मध्येका जीवन घिमिरे र कुमार अधिकारीले लोक मायां आचार्यलाई कर्तव्य गरी मारेको भनी लगाईएको अभियोग निजहरुले अदालतमा नै स्वीकार गरी वयान गरेको देखिन्छ । प्रतिवादी द्वयको अदालत समक्षको सावितीलाई शँका गर्ने, प्रतिवादीहरु नावालक वा होस ठेगानमा नभएको वा मानसिक सन्तुलन नभएको वा ज्यादै वृद्ध भई वा अन्य कुनै कारणले सोधिएको कुरा वुझन नसक्ने अवस्थामा रहेको वा झुठ्ठा आश्वासनमा सावित हुन परेको भन्ने नदेखिएको हुँदा अदालत समक्ष निजहरुको साविती वयान प्रमाण ऐन, २०३१ को दफा ४(१) (क) अनुसार प्रमाणमा लिन हुने साविती वयान देखियो । सो सम्वन्धमा वेलायतको RV Turner को मुद्दामा A defendant must have a free choice of plea he is not to be taken to admit an offence unless he pleads guilty to it in unmistakable terms with appreciation of the essential elements of the offence भनिएको छ । लोक मायां आचार्यलाई मार्नु पर्ने कारण निज प्रतिवादीहरुले मृतकलाई वेलावेलामा करणी गर्ने गरेको र त्यस्तो करणीवाट निज लोकमायां आचार्यले गर्भ धारण गरेको भन्ने देखिन्छ । मृतकले गर्भ धारण गरेको र प्रतिवादीहरुले गर्भ पतन गराउन विषालु किटनाशक औषधी खुवाउनुका साथै मृतक लोक मायांले लगाएको सलले नै घाँटीमा वेरी मारेको भन्ने साविती वयानलाई पोष्टमार्टम प्रतिवेदन र  Viscera जाँचको प्रतिवेदनवाट समेत प्रमाणित गर्दछ । यसवाट प्रस्तुत मुद्दाका प्रतिवादी जीवन घिमिरे र कुमार अधिकारी विरुद्ध अभियोग Beyond Doubt प्रमाणित भएको देखिन्छ । मृतकको Viscera मा किटानाशक औषधी पाईएको देखिएको छ भने पोष्ट मार्टम प्रतिवेदनवाट मृत्युको कारण घाँटीमा कसिएको कारणवाट श्वास प्रश्वास कृया वन्द हुन गई मृत्यु भएको भन्ने देखिन्छ । लोक मायां आचार्य विवाहिता र छोरा समेत भएको पारिवारिक महिला भन्ने देखिन्छ । विवाहिता महिलालाई प्रतिवादीहरुले सक्दो मात्रामा Sexually Exploit गरेको देखिन्छ । Sexually Exploit  को कारण गर्भ रहन गएको र नेपाल कानूनले तोकिएको अवस्थामा वाहेक गर्भ पतन गराउन नहुने गरी प्रतिवन्ध लगाएकोमा पनि कानून विपरीत गर्भपतन गराउन मानव स्वास्थ्यलाई घातक किटनाशक औषधी खुवाएको देखिन्छ । यति हुँदा पनि गर्भपतन नभएको कारण जसरी पनि लोक मायांलाई मार्न आपसी सल्लाहवाट अन्त्यमा Stragulation गरी मारेको Beyond Doubt प्रमाणित भएको छ । प्रतिवादीहरुको कार्य एकपछि अर्को गरी सवै कार्य सुनियोजित र योजनावद्ध देखिनुका साथै लोकमायांलाई मार्न पहिला विषालु पदार्थ खुवाएको र त्यसले नमरेपछि सलले Stragulation गरी अती निर्दयी तरिकावाट हत्या गरेको देखियो । जुन तरिकाले लोकमायांलाई Sexually Exploit  गर्दै गई गर्भ धारणा गरेपछि आफु वच्न योजना वनाई आपसी सल्लाह गरी लोकमायांको निर्मम हत्या गरेको प्रमाणित हुन्छ । यसवाट हेर्दा र यस देशमा कानूनको आधारमा न्याय गरिन्छ र अपराधीले अपराध गरेपछि फुत्कन सक्दैन, कानूनको हात लामो हुन्छ भन्ने कुरा अपराधीहरुलाई वोध गराउन पनि यस अदालतले प्रतिवादीहरुलाई कुनै Leniency देखाउनु पर्ने अवस्था देखिएन । तसर्थ प्रतिवादीहरु जीवन घिमिरे र कुमार अधिकारी कानूनले तोकेको हदै सम्मको सजाँयवाट दण्डित हुन योग्य अभियुक्तहरु हुन ।

            ३२.   अर्का प्रतिवादी नेत्रवहादुर कार्की अदालतमा आई वयान गर्दा ईन्कारी वयान दिएको  पाईन्छ । प्रतिवादीहरु जीवन घिमिरे र कुमार अधिकारीले अदालतमा आई वयान गर्दा समेत नेत्रवहादुर कार्कीले लोक मायां आचार्यलाई कर्तव्य गरी मार्नमा कुनै सँलग्नता छैन भनी भनेवाट अन्य प्रमाणको अभावमा निज प्रतिवादी नेत्रवहादुर कार्की लोक मायांको ज्यान मार्ने कार्यमा ज्यान सम्वन्धी महलको १३(३) अनुसार सरिक थिए भनी भन्न सकिने अवस्था देखिन आएन ।

            ३३.   तसर्थ, उपरोक्त आधार प्रमाणहरु समेतवाट मृतक लोक मायां आचार्यलाई कर्तव्य गरी मारेको ठहर्‍याई पुनरावेदक प्रतिवादीहरु मध्ये जीवन घिमिरेलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वस्व सहित जन्मकैद, प्रतिवादी कुमार अधिकारीलाई मृतकको हत्याको वारदातमा समेत प्रत्यक्ष  सँलग्नता रहेको र निजले मृतकको हात समाती मार्न सँयोग पारी दिएको देखिएवाट ज्यान सम्वन्धी महलको १३(४) नं. वमोजिम जन्मकैदको सजाय हुने ठहर्‍याई भएको शुरु झापा जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत ईलामको मिति २०६०।८।१७ को फैसला मिलेकै र मनासिव देखिँदा सदर हुन्छ । अर्का प्रतिवादी नेत्रवहादुर कार्कीको हकमा अन्य विश्वसनिय तथ्ययुक्त सवूद प्रमाण केही नभएको अवस्थामा ज्यानसम्वन्धी  महलको १७(३) नं. वमोजिम ३ वर्ष कैदको सजाय हुने ठहर्‍याई भएको शुरु जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत ईलामको फैसला फरक पर्ने देखिँदा सो हदसम्म पुनरावेदक प्रतिवादी नेत्रवहादुर कार्कीले सफाई  पाउने ठहर्छ । प्रतिवादीहरु जीवन घिमिरे र कुमार अधिकारीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरुमा तपसिल वमोजिम गर्नु ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिए वमोजिमका पुनरावेदक प्रतिवादी नेत्रवहादुर कार्कीले आरोपित कसूरवाट सफाई पाउने ठहरी आजै फैसला भएकोले शुरु फैसलाको तपसिल खण्डको देहाय ३ मा उल्लेख भए बमोजिम निज प्रतिवादी नेत्रवहादुर कार्की २०५९।५।१ बाट थुनामा रहेको भन्ने देखिंदा निजको २०६२।५।१ मा कैद भुक्तान भै थुना मुक्त हुने देखियो । निजलाई थुनामुक्त नगरिएको भए आजै थुनामुक्त गरिदिनु भनी जिल्ला  कारागार शाखा, चन्द्रगढी, झापामा लेखि   पठाउनु ..१

पुनरावेदक प्रतिवादीहरुलाई फैसलाको जानकारी दिनु ––––

मिसिल नियमानुसार गरी वुझाई दिनु

 

उक्त रायमा म सहमत छुं ।

 

न्या.मीनवहादुर रायमाझी

 

 

इति सम्वत् २०६२ साल भाद्र १७ गते रोज ६ शुभम् ....................

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु