शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७९७९ - जग्गा निखनाई पाऊँ ।

भाग: ५० साल: २०६५ महिना: असोज अंक:

निर्णय नं.७९७९     ने.का.प. २०६५ अङ्क ६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

सम्वत् २०६२ सालको दे.पु.नं.–––––८६४१

फैसला मितिः २०६५।२।१०।६

 

मुद्दा :जग्गा निखनाई पाऊँ ।

 

      पुनरावेदक प्रतिवादीः जिल्ला धनुषा तुल्सीयाही जब्दी गा.वि.स.वडा नं.२ मा बस्ने बिरेन्द्र       ठाकुर

विरुद्ध

      प्रत्यर्थी वादीः जिल्ला धनुषा तुल्सीयाही जब्दी गा.वि.स.वडा नं.३ मा बस्ने परमेश्वर ठाकुर

 

शुरु फैसला गर्ने:

मा.न्यायाधीशःश्री शम्भुराम कार्की ।

पुनरावेदन अदालतमा फैसला गर्ने:

 मा.न्या.श्री मोहन प्रकाश सिटौला

मा.न्या.श्री ऋषि राज मिश्र

 

§  ऐनले साँध जोडिएको जग्गा निखन्न पाउने व्यवस्था गरेको नभई सन्धिसर्पन पर्ने जग्गा निखन्न पाउने व्यवस्था गरेकोमा सन्धिसर्पन पर्नका लागि घर जग्गाको साँध जोडिनु एउटा आधार हो भने त्यत्तिकैबाट साँध जोडिएका सबै जग्गाहरु सन्धिसर्पन पर्ने जग्गा हुन भनी अनुमान गर्न वा त्यस्तो निष्कर्षमा पुग्न नसकिने ।

§  दावी गरिएको घरजग्गा सन्धिसर्पन पर्ने हो त्यसको पुष्ट्याई निखन्न चाहने व्यक्तिले गर्नुपर्ने।

§  सन्धिसर्पन पर्नलाई जग्गा ननिखनेको अवस्थामा कूलो, पानी, बाटो, निकास, हावा, घाम इत्यादि कुराहरुमा अवरोध पुग्ने वा विपरीत असर पर्ने हुनुपर्ने ।

§  जग्गा निखनाई पाउनको लागि दावी लिनेले दावीको जग्गा सन्धिसर्पन पर्ने स्पष्ट आधार नदेखाई साँध सिमाना मिलेको भन्ने मात्र आधारले निखनी लिन नपाउने ।

 

पुनरावेदक प्रतिवादी तर्फवाटः

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजीरः

फैसला

            न्या.ताहिरअलि अन्सारीः पुनरावेदन अदालत जनकपुरको मिति २०६१।२।१३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) अन्तर्गत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

            अयोध्या ठाकुरको २ छोरा जेठा म परमेश्वर ठाकुर र कान्छा विपक्षी रामलक्षन ठाकुर सोनार भएकोमा हामी बीच अंश मुद्दा चली यसै अदालतबाट २०५० साल चैत्र महिनामा मिलापत्र भै बाबु अयोध्या ठाकुरको नाउँको जिल्ला धनुषा तुल्सीयाही जब्दी गा.वि.स.वडा नं.३ को कि.नं.९५ को ०१८ जग्गा कित्ताकाट भै कि.नं.५११ को ०११½ मेरो भागमा र दक्षिणतर्फबाट कि.नं.५१० को ०½ जग्गा विपक्षी मध्येका भाई रामलक्षन ठाकुरको नाउँमा दर्ता भै आआफ्नो जग्गा भोग चलन गरी आएकोमा कुनै विवाद थिएन । उक्त कि.नं.५१० को जग्गाबाटै मेरो जग्गामा पानी पटने सन्धिसर्पन पर्ने जग्गा भएकोमा विपक्षी मध्येका भाई रामलक्षन ठाकुरले मलाई थाहा जानकारी समेत केही नदिई विपक्षी मध्यको विरेन्द्र ठाकुर हजामलाई मिति २०५७।३।२८ मा मालपोत कार्यालय धनुषाबाट र.नं.१९२५ बाट पारीत गरी लिनुदिनु गरेको कुरा मिति २०५७।४।१ मा नक्कल लिई थाहा पाएकोले सोको निर्दिष्ट म्यादभित्र मालपोत कार्यालय धनुषाको मि.नं.४ को हकसफा मुद्दा दिएकोमा मालपोत कार्यालय धनुषाले हकवाला भएकोमा विवाद नरहेको सन्धिसर्पनका सम्बन्धमा प्रमाण बुझी निर्णय गर्नुपर्ने हुँदा सन्धिसर्पन सम्बन्धमा प्रमाण बुझ्ने यस कार्यालयको क्षेत्राधिकार भित्रको नभएकाले ३५ दिन भित्र धनुषा जिल्ला अदालतमा जानु भनी मालपोत कार्यालय धनुषाबाट मिति २०५८।१०।१७ मा फैसला भएकोले सोको मिति २०५८।१०।३० मा नक्कल लिई यस अदालतमा नालेस गर्न आएको हुँ । तसर्थ कि.नं.५९० को जग्गा मेरो सन्धिसर्पनको जग्गा भएकोले निखनाई पाउँ भन्ने समेत व्यहोराको वादीको फिराद पत्र ।

            वादीको कि.नं.५११ को जग्गामा मेरो कि.नं.५१० को जग्गाबाट पानी पट्ने होईन । खाली साँध मिलेकै कारणबाट मात्र वादीले मलाई हैरान परेसान गर्न झुठ्ठा फिराद दिएका मात्र हुन । यसरी झुठ्ठा मुद्दा दिने वादीलाई नै सजाय गरिपाऊँ र झुठ्ठा दावीबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मध्ये विरेन्द्र ठाकुरको प्रतिउत्तर  पत्र ।

            प्रतिवादी मध्येका रामलक्षन ठाकुर सोनारका नाउँमा मिति २०५९।४।२४ मा तामेल भएको ३० दिने ईतलायनामाको म्याद गुजारी बसेको ।

            प्रमाणमा आएको मुद्दा नं.१५१ को प्रमाण मिसिल संलग्न रहेको नक्सा ट्रेसबाट वादीको कि.नं.५११ र विपक्षीको कि.नं.५१० को जग्गाको साँध सिमाना मिले भिडेको र प्रतिवादीको साक्षी समेतले वादी दावीलाई पुष्टी हुने गरी बकपत्र गरेको देखिंदा वादी दावी बमोजिमको कि.नं.५१० को जग्गा वादीले निखनाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु धनुषा जिल्ला अदालतको मिति २०५९।१०।५ को फैसला ।

            विपक्षी वादीले दावी लिएको मेरो कि.नं.५१० को जग्गा भई विपक्षीको कि.नं.५११ को जग्गा सिचाई हुने हो होईन ? त्यस सम्बन्धमा एकिन गर्नका लागि जग्गाको आकृति देखाई नाप नक्सा गर्नुपर्नेमा सो नगरी केवल एकापट्टिको साध जोडिएको भनी सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको विपरीत शुरुले गरेको फैसला बदर बातिल गरी बुझ्नु पर्ने प्रमाण बुझी वादी दावीबाट छुट्कारा पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।

            वादी दावी बमोजिमको कि.नं.५१० को जग्गालाई वादीले हक निखनाई पाउने ठहर्‍याएको धनुषा जिल्ला अदालतको मिति २०५९।१०।५ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०६१।२।१३ को फैसला ।

            एकै चक्ला भित्रको र एकै साधमा जग्गा हुँदैमा सन्धिसर्पन परेको ठहर गर्न मिल्दैन । सर्भे नक्सा हेर्दा वादीको जग्गा उत्तर तर्फ र मेरो जग्गा दक्षिण तर्फ भएकोले जग्गाको आकृति प्रकृति हेर्दापनि तराई क्षेत्रको भूबनोट अनुसार मेरो जग्गा होचो र वादीको अग्लो भएको कुरा स्वतः सिद्द छ । मेरो जग्गाबाट वादीको जग्गामा पानी जान सक्ने अवस्था छैन । जग्गाको नाप नक्सा नै नगरी हचुवाको भरमा फैसला गरिएको छ । पुनरावेदन अदालतको फैसलामा अ.वं.१७१ नं.,लेनदेन व्यवहारको ११ नं.र प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि विद्यमान भएकोले मुद्दा दोहोर्‍याई हेरी न्याय पाऊँ भन्ने समेतको प्रतिवादी विरेन्द्र ठाकुरको यस अदालतमा परेको निवेदन।

            कुलोपानी निकास जस्ता कुराले सन्धिसर्पन भएको तथ्य प्रमाणित नभएको अवस्थामा पनि सांध जोडिएको मात्र कारणले सन्धिसर्पन पर्ने भनी निखनाई दिने ठहर गरेको पुनरावेदन अदालतको फैसलामा मूलुकी ऐन, रजिष्ट्रशनको ३५ नं.को त्रुटी विद्यमान देखिनाले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको आदेश ।

            नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल कागजातहरु अध्ययन गरी पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला मिलेको छ, छैन साथै पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।

            २.    निर्णय तर्फ विचार गर्दा विपक्षीहरुले राजिनामा गरी लिनुदिनु गरेको कि.नं.५१० को  ०½ जग्गा मेरो सन्धिसर्पन पर्ने हुँदा निखनाई पाउँ भन्ने वादी दावी भएकोमा एकै कित्ताबाट कित्ताकाट भै सिमाना मिलेको भएतापनि वादीको हक हितमा असर परेको छैन र वादीको सधिसर्पन पर्दैन । साँध मिलेकै आधारमा मात्र निखनाई लिन मिल्दैन, फिराद खारेज गरिपाऊँ भन्ने प्रतिउत्तर जिकिर देखिन्छ । शुरु फैसला सदर गरी वादी दावी बमोजिमको कि.नं.५१० जग्गालाई वादीले निखनाई लिन पाउने गरेको पुनरावेदन अदालतको फैसला उपर प्रतिवादीको जग्गा निखन्नु पर्ने होइन भन्ने जिकिर सहित मुद्दा दोहोर्‍याई हेरी पाऊँ भनी निवेदन परी यस अदालतबाट दोहोर्‍याई हेर्न निस्सा प्रदान भई प्रस्तुत पुनरावेदन निर्णयार्थ पेश भएको देखियो ।

            ३.    वादीको कि.नं.५११ को जग्गा र प्रतिवादी राम लक्षन ठाकुर सोनारले प्रतिवादी विरेन्द्र ठाकुरलाई बिक्री गरेको कि.नं.५१० को जग्गा साविक कि.नं.९५ बाट कित्ताकाट भई कायम भएको तथ्यमा विवाद छैन । त्यसकारण कि.नं.५१० र कि.नं.५११ दुबै जग्गाको साँध सिमाना जोडिएको कुरामा पनि विवाद देखिएन । तर जहाँ सम्म निखन्न पाउने वा नपाउने कुरा छ, सो सम्बन्धमा प्रचलित कानूनी व्यवस्था हेर्दा लेनदेन व्यवहारको ११ नं.अनुसार सन्धिसर्पन पर्ने हकवालाले मात्र जग्गा निखनी लिन पाउने कानूनी व्यवस्था भएको देखिन्छ । जग्गाको साँध मिल्दैमा सन्धिसर्पन पर्ने होइन । निखन्न चाहने व्यक्तिको जग्गाको साँध निखन्न पाउनु पर्ने दावी गरिएको जग्गाको साँध सिमाना मिल्नु एउटा कुरा हो र दावी गरिएको जग्गा निखन्न चाहने व्यक्तिको सन्धिसर्पन पर्छ वा पर्दैन, त्यो अर्को कुरा हो । ऐनले साँध जोडिएको जग्गा निखन्न पाउने व्यवस्था गरेको नभई सन्धिसर्पन पर्ने जग्गा निखन्न पाउने व्यवस्था गरेको छ । सन्धिसर्पन पर्नका लागि घर जग्गाको साँध जोडिनु एउटा आधार अवश्य हो तर त्यत्तिकैबाट साँध जोडिएका सबै जग्गाहरु सन्धिसर्पन पर्ने जग्गा हुन भनी अनुमान गर्न वा त्यस्तो निष्कर्षमा पुग्न सकिदैन । अरु केके कारणले दावी गरिएको घरजग्गा सन्धिसर्पन पर्ने हो त्यसको पुष्ट्याई निखन्न चाहने व्यक्तिले गर्नु पर्दछ । सन्धिसर्पन परेको देखाउन साँध जोडिएको जग्गा नहुँदा के, कस्तो असुविधा वा कठिनाई वा हानी, नोक्सानीको सम्भावना छ, ती कुराहरु वादीले देखाउन सक्नु पर्दछ ।

            ४.    त्यस्तै सन्धिसर्पन पर्नलाई वादीले जग्गा ननिखनेको अवस्थामा वादीलाई कूलो, पानी, बाटो, निकासा, हावा, घाम इत्यादि कुराहरुमा अवरोध पुग्ने वा विपरीत असर पर्ने हुनु पर्दछ । प्रस्तुत मुद्दामा वादीले के कसरी वादी दावीको जग्गा निजलाई सन्धिसर्पन पर्ने हो सो को पुष्टि गर्न सकेको देखिएन । साथै सो जग्गा ननिखनेमा निजलाई आफ्नो जग्गा स्वतन्त्र रुपमा भोग गर्न कसरी बाधा पुग्न गएको वा बाधा पुग्ने संभावना भएको हो सो को तथ्य सहित पुष्टि गर्न पनि सकेको देखिंदैन । त्यसकारण जग्गा निखनाई पाउनको लागी दावी लिने वादीले दावीको जग्गा सन्धिसर्पन पर्ने स्पष्ट आधार नदेखाई सिर्फ साँध सिमाना मिलेको भन्ने मात्र आधारले निखनी लिन पाउने देखिएन । तसर्थ, वादीले जग्गा निखन्न पाउने गरी सन्धिसर्पन परेको प्रमाणित गर्न नसकेकोले सो जग्गा निखनाई दिन नमिल्ने भएबाट शुरु फैसला सदर गरी कि.नं.५१० को जग्गा वादीले निखनाई लिन पाउने गरेको पुनरावेदन अदालत जनकपुरको फैसला उल्टी भै वादी दावी नपुग्ने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

तपसिल

माथि ईन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकाले शुरु धनुषा जिल्ला अदालतको मिति २०५९।१०।५ को फैसलाको तपसिल नं.१ र २ ले कायम गरेको लगत राख्नु नपर्ने हुँदा उक्त लगतहरु कट्टा गर्नु भनी धनुषा जिल्ला अदालतमा लेखी पठाई दिनु.........१

प्रतिवादी विरेन्द्र ठाकुरले पुनरावेदन अदालत जनकपुर समक्ष पुनरावेदन गर्दा शुरु फैसला अनुसार वादीले भरी पाउने ठहरेको कोर्ट फी बापत रु.१०२६।पुनरावेदन अदालत जनकपुरमा र.नं.१६८ बाट धरौटी राखेको देखिंदा सो रकम रु.१०२६।निज प्रतिवादीले फिर्ता पाउँ भनी दरखास्त दिए कानून बमोजिम गरी निजलाई फिर्ता दिनु भनी पुनरावेदन अदालत जनकपुरमा लेखी पठाई दिनु................२

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु..............३

             

उक्त रायमा म सहमत छु ।

 

न्या.रामप्रसाद श्रेष्ठ

 

इति सम्वत् २०६५ साल जेष्ठ १० गते रोज ६ शुभम्–––

 

इजलास अधिकृत : अर्जुन अधिकारी

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु