शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७९८० - कर्तव्य ज्यान ।

भाग: ५० साल: २०६५ महिना: असोज अंक:

निर्णय नं.७९८०      ने.का.प. २०६५ अङ्क ६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

सम्वत् २०६३ सालको फौ.पु.नं २०६

फैसला मितिः २०६५।४।२६।१

 

मुद्दा : कर्तव्य ज्यान ।

              

      पुनरावेदक वादीः सन्तराम मौर्यको जाहेरीले नेपाल सरकार

विरुद्ध

      प्रत्यर्थी प्रतिवादीः भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर थाना इटहवा गाउँ डवरा बस्ने   टिहुल भन्ने राजकुमार हरिजन समेत

 

शुरु निर्णय गर्नेः

मा.जि.न्या.श्री शारदाप्रसाद घिमिरे

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री मोहनप्रकाश सिटौला

मा.न्या.श्री बम कुमार श्रेष्ठ

 

§  हत्याको वारदात नेपालको भूभाग भन्दा बाहिर भएमा नेपालको अदालतमा मुलुकी ऐन भाग १, प्रारम्भिक कथनको २ न. समेतका प्रचलित कानून अनुसार कारवाही र निर्णय हुन सक्ने स्थिति नहुँदा अदालतले पनि यस्तो अवस्थामा क्षेत्राधिकार ग्रहण गर्न नमिल्ने ।

(प्रकरण नं.४)

§  अधिकार प्राप्त अधिकारी समक्ष भएको अपुष्ट साविती वयानको आधारमा मात्र नेपालको भूमिमा वारदात भएको रहेछ भनी मान्न नमिल्ने ।

§  पाल सरहदमा वारदात भएको भनेको ठाउँमा कुनै संकेतसम्म देखा नपरेको र नेपालमा वारदात भएको भन्ने कुराको अन्य वस्तुनिष्ठ प्रमाण देखिन भेटिन नआएकोले प्रादेशिक क्षेत्राधिकार वाहिर गई जिल्ला  अदालतवाट भएको फैसला त्रुटिपूर्ण हुने हुँदा शंकारहित तवरले घटनाको साथै कसूर समेत प्रमाणित हुन नसकेको स्थितिमा आरोपित कसूरवाट सफाई दिने गरेको पुनरावेदन अदालतको फैसला सदर हुने ।

(प्रकरण नं.५)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री लोकजंग शाह

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजीरः

 

फैसला

न्या.ताहिरअलि अन्सारीः पुनरावेदन अदालत वुटवल रुपन्देहीको मिति २०६३।१।३१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम बादी पक्षको पुनरावेदन परी यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त त एवं ठहर यस प्रकार छ :

मृत्यु भन्दा अघि टाउको समेतमा लागेको चोटहरुको कारण मृत्यु भएको भन्ने समेत व्यहोराको भारतमा गरिएको पोष्टमार्टम रिपोर्ट ।

ई.सन् २४०३ (वि.सं. २०६०।३।१० गते) दिन साँझ ७ वजेको समयमा अत्याधिक पानी परी रहेको चारै तर्फ पानी रहेको ग्राम धनौरीको नजिक नेपाल भारतको सिमा नजिक (नो मेन्स लैण्ड) भारतीय भूभागमा नेपाल भारत सिमाना रहेको पिलर न. ५६७÷६७ नजिक हेर्दा मुस्लीम जस्तो देखिने सो पिलर तर्फ मुख, मुठ्ठी अर्ध खुल्ला, आँखा वन्द अवस्थामा अं. वर्ष ३५ को पुरुष जातको वेवारीसी लाश रहेको भन्ने समेत व्यहोराको भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर थाना ढेवरुवाबाट गरिएको विभिन्न कागजातहरुको लेखाई रहेको ।

मिति २०६०।३।९ गते दिउँसो मेरो भाई मिन्कन मौर्यलाई फकाई कृष्णनगर वजारमा गाउँको राज कुमार हरिजनले ल्याई जि.क.व. कृष्णनगर गा.वि.स.वार्ड न. १ सेमरा बस्ने काले भन्ने राजेन्द्र यादव र निजले सँग साथमा ल्याएको निज राजेन्द्र यादवले काले भनी बोलाएको व्यक्ति समेतले सो दिन राती अन्दाजी १० वजेको समयमा सेमरा गाउँ देखि केही पूर्व सिसौ बगैचामा लगी मेरो भाई मिन्कन मौर्यलाई चक्कु समेतले प्रहार गरी कर्तव्य गरी मारी मृतक लाशलाई नेपाल भारत सिमा नजिक भारतीय भूभागमा फाली फरार भएको हुँदा निजहरु उपर कानून बमोजिम कारवाही गरिपाऊँ भन्ने जाहेरी ।

मिति २०६०।३।१० गते नेपाल भारत सिमा नजिक भारतीय भूभागमा फेला परेको मृतक लाश भारत जिल्ला सिद्धार्थनगर थाना इटहवा गाउँ डवरा घर भई ऐ.ऐ. पिपरा मुर्गिहवामा पान पसल गरी वस्ने मिन्कन मौर्यको भएको निजलाई निजकै गाउँको टिहुल भन्ने राज कुमार हरिजनले मिति २०६०।३।९ गते फकाई ल्याई जि.क.ब. कृष्णनगर गा.वि.स.वडा न. १ सेमरा देखि केही पूर्व सिसौ वगैचामा लगी काले भन्ने राजेन्द्र यादव समेत भै कर्तव्य गरी मारी मृतक लाश भारतीय भूभागमा फ्याँकेका निज मिन्कन मौर्यलाई कर्तव्य गरी मार्नमा संलग्न राज कुमार हरिजन समेतलाई खोज तलास गर्दै जाँदा मिति २०६०।४।१८ गते जि.क.व. कृष्णनगर गा.वि.स.वडा न. १ सिमरा गाउँमा भेटिएको र राजेन्द्र यादव भागी फरार रहेको साथै अर्को व्यक्तिको एकिन नाम, थर, वतन समेत खुल्न नआएको हुँदा कानून बमोजिम गरिपाऊँ भन्ने प्र.ना.नि. गम्विराप्रसाद शाह समेतको संयुक्त  प्रतिवेदन ।

जि.क.व. कृष्णनगर गा.वि.स.वडा नं. १ स्थित पूर्व ऐ. शिवानगर३ बस्ने हगुन रैदासको धान खेत, पश्चिम कुलो नहर ऐ कृष्णनगर१ बस्ने अहमद मियाँको धान खेत दक्षिण ऐ. कृष्णनगर ४ बस्ने दिल्लु बनियाँको धान खेत यति चार किल्ला भित्र कृष्णनगर १ सेमरा बस्ने उधो यादवको सिसौ वगैचा सो वगैचाको उत्तर कुनामा दयाँ बायाँ रहेको सिसौको बगैचा सो खाली जग्गामा मिति २०६०।३।९ गते राती अं. १० वजेको समयमा मिन्कन मौर्यलाई राजकुमार हरिजन समेत भै कर्तव्य गरी मारिएको भनिएको घटनास्थल पक्राउ परेको प्रतिवादी राज कुमार हरिजनले वताई देखाई दिए बमोजिमको घटनास्थल ठिक दुरुस्त छ, सो घटनास्थलमा प्रमाणमा लाग्ने कुनै चिजवस्तु तथा संकेत समेत नभेटिएको भन्ने व्यहोराको घटनास्थल मुचुल्का ।

मिति २०६०।३।९ गते अं. १५.०० वजेको समयमा छिमेकी मिन्कन मौर्य र म कृष्णनगर वजार तर्फ आउन पिपरा मुर्गिहवाबाट हिडी कृष्णनगर वजार आई वजार घुमफिर गरी साँझ कृष्णनगर भन्सार कार्यालय नजिक एक भट्टीमा मिन्कन मौर्य समेतले रक्सी खाइरहेको अवस्थामा पूर्व चिनजान जि.क.व. कृष्णनगर गा.वि.स.वडा न. १ सेमरा वस्ने काले भन्ने राजेन्द्र यादव र निज संग एक जना निज राजेन्द्र यादवले पाहुना भनी वोलाउने गरेको व्यक्ति सोही भट्टी पसलमा आए पछि मैले निज राजेन्द्र यादव सँग कुरा गरी निज राजेन्द्र यादवलाई भारतीय रुपैया ३०००। दिने सर्तमा सोही दिन राती अं. २२.०० बजेको समयमा सेमरा देखि केही पूर्व सिसौ वगैचामा लगी मिन्कन मौर्यलाई म राजेन्द्र यादव र निज राजेन्द्र यादव सँग आएका पाहुना भन्ने व्यक्तिले पालै पालो सँग लाठी समेतले हिर्काई मिन्कन मौर्यलाई कर्तव्य गरी मारेको र निज मिन्कन मौर्यलाई मारी सकेपछि भागी गएको निज मिन्कन मौर्यको लाश के सोची राजेन्द्र यादव र पाहुना भन्ने व्यक्तिले नेपाल भारत सिमाना नजिक भारतीय भूभागमा किन फालेछन् थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी राज कुमार हरिजनको वयान कागज ।

जि.क.व. कृष्णनगर गा.वि.स.वडा न. १ सेमरा स्थित पुर्व हरिराम यादवको खाली जग्गा पश्चिम हरि राम यादवकै पक्की घर उत्तर उधो यादवको कच्ची घर दक्षिण शिव पुजन मिश्रको घर बनाउन जग पुरेको जग्गा यति चार किल्ला भित्र पुर्व मोहडा गरी रहेको कलुवा भन्ने राजेन्द्र यादवको दुई तल्ले पक्की घर सो घरमा एघार वटा कोठाहरु रहेको घरको माथिल्लो तलामा काले यादव समेत सुत्ने कोठा रहेको सो कोठाको एउटा खाट मुनि प्लाष्टीकको लेडिज झोला रहेको सो झोलाको वीचमा उपभोक्ता कार्ड मातृ सेवा कार्ड थान १ सूर्योदय वचत तथा ऋण सहकारी संस्था लि.को पासवुक समेत वरामद भएको भनिएको काले भन्ने राजेन्द्र यादवको घर खान तलासी तथा वरामदी मुचुल्का ।

मिति २०६०।३।९ गते दिउँसो मेरा वुवा मिन्कन मौर्यलाई गाउँका टिहुल भन्ने राज कुमार हरिजनले नेपालको कृष्णनगर वजार घुम्न जाउँ भनी फकाई लगेका र बुबा सो दिन घरमा फर्कि नआएका हुँदा निजको सम्वन्धमा बुझ्दै जाँदा मिति २०६०।३।९ गते राती अं. १० वजे राज कुमार हरिजन र काले भन्ने राजेन्द्र यादव समेतले कर्तव्य गरी मारी भागी फरार भएको कुरा खुल्न आएको हो भन्ने समेत व्यहोराको नानु मौर्यको कागज ।

मेरा पति मिन्कन मौर्य मिति २०६०।३।९ गते विहान अं. ८.०० वजेको समयमा पान पसल गरी बस्ने घर नजिकै पिपरा मुर्गिहवा जानु भएको सो दिन दिउँसो छिमेकी राज कुमार हरिजन सँग कृष्णनगर वजार घुम्न जानु भएको र सो दिन घर फर्कि नआए पछि निजको खोज तलास गर्दै जाँदा मिति २०६०।३।१० गते वढनी रेल्वेस्टेशन नजिक एक लाश फेला पारी ढेवरुवा थानामा ल्याएका सो मृतक लाशको फोटोहरु जेठाजु सन्तराम मौर्यले देखी सनाखत गर्नु भएको सो फोटोहरु मेरै पति मिन्कन मौर्यकै रहेछन, निज मिन्कन मौर्यलाई गाउँले राज कुमार हरिजन र जि.क.व. कृष्णनगर गा.वि.स. वडा न. १ सेमरा बस्ने काले भन्ने राजेन्द्र यादव र निज काले सँग आएका पाहुना भन्ने व्यक्तिहरु समेत मिलेर कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको लिलावती मौर्यको कागज ।

मिति २०६०।३।९ गते छिमेकी मिन्कन मौर्यलाई गाउँले राज कुमार हरिजनले फकाई कृष्णनगर घुम्न लगेका निज मिन्कन फर्की नआए पछि निजलाई घर परिवारले खोज तलास गर्दै गरेकोमा पछि मृत्यु भै सकेको रहेछ भन्ने कुरा ढेवरुवा थानामा मृतकको फोटोहरु देखी जाहेरवाला समेतले सनाखत गरेका र एक दिन म ईटहवा वजार मजदुरी गर्न जाँदा निज राज कुमार हरिजन सँग भेट भई कुराकानी हुँदा मिन्कन मौर्यलाई मिति २०६०।३।९ गते पिपराबाट फकाई लगी कृष्णनगर वजारको सेमरा देखि केही पूर्व सिसौ वगैचामा लगि जि.क.व.कृष्णनगर गा.वि.स.वडा न. १ सेमरा वस्ने काले भन्ने राजेन्द्र यादव र निजसंग आएका पाहुना भन्ने व्यक्ति र म समेत भई चक्कु समेतले हिर्काई मिन्कन मौर्यलाई कर्तव्य गरी मारी मृतक लाश नेपाल भारत सिमा नजिक भारतीय भूभागमा फ्याँकी आएको हो भनी राज कुमार हरिजनले बताएका थिए, निज मिन्कन मौर्यलाई राज कुमार हरिजन समेतले कर्तव्य गरी मारे मराएकोमा पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको मगरे मौर्यको कागज ।

छिमेकी मिन्कन मौर्यलाई मिति २०६०।३।९ गते पिपराबाट फकाई नेपालको कृष्णनगर वजार लगि जि.क.व. कृष्णनगर गा.वि.स.वडा न. १ सेमरा गाउँ देखि केही पूर्व सिसौ वगैचामा लगी म र सेमराकै काले भन्ने राजेन्द्र यादव र पाहुना भन्ने व्यक्ति समेत भई कर्तव्य गरी मारी मृतक लाश नेपाल भारत सिमाना नजिक भारतीय भूभागमा फालेको हो भनी राज कुमार हरिजनले वताएका र निज मिन्कन मौर्यलाई राजकुमार हरिजन समेतले नेपालमा मारी भारतीय भूभागमा फालेकोमा पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको प्रधुमन मौर्यको कागज ।

मेरो नयाँ घर वनिरहेको हुँदा सो घरको छत बनाउने कामको लागि मेरो जेठो छोराको सालो मिन्कन मौर्य मिति २०६०।३।९ गते विहान १०.०० वजे मेरो घरमा आई काम गरी रहेका थिए यस्तैमा दिउँसो मेरो घरमा चिनजान डवराका टिहुल भन्ने राज कुमार हरिजन आई मिन्कन मौर्य संग काम छ भनी सँग साथ पिपरा तर्फ लगी गएको सो समय देखि निज मिन्कन मौर्य मेरो घरमा फर्कि आएनन् पछि घर पनि नआएको हुँदा खोज तलास भै रहेको छ भन्ने सुनेको र मिति २०६०।३।१२ गते एक लाश फेला पारी ढेवरुवा थानाबाट पोष्ट मार्टम भएको र सो लाश मिन्कन मौर्यको रहेको भन्ने सुनेको हुँ निज मिन्कन मौर्यलाई मिति २०६०।३।९ गते राती अं. २२.०० वजेको समयमा जि.क.व. कृष्णनगर गा.वि.स.वडा न. १ सेमरा देखि केही पुर्व सिसौ वगैचामा लगी राज कुमार हरिजन समेतले कर्तव्य गरी मारी मृतक लाश भारतीय भुभागमा फालेका रहेछन भन्ने समेत व्यहोराको राम मिलन मौर्यको कागज ।

मिति २०६०।३।९ गते अं. १४.३० वजेको समयमा छिमेकी टिहुल भन्ने राजकुमार हरिजन मेरो चिया पसलमा आई दुई कप चिया लगि मिन्कन मौर्यको पान पसल अगाडि राज कुमार हरिजन उभिएर पान पसल भित्र वसी मिन्कन मौर्यले चिया खाएका हुन् त्यस पछि निजहरु कता गए थाहा भएन । त्यस पछि मिति २०६०।३।११ गते सुनेकी मिन्कन मौर्यलाई मिति २०६०।३।९ गते राजकुमार हरिजनले फकाई कृष्णनगर वजार घुम्न भनी लगेका खोज तलास गर्दा भेटिएका छैनन् मिति २०६०।३।१२ गते थाहा पाएकी निज मिन्कन मौर्यको लाश वढनी नजिक फेला पारी ढेवरुवा थानाबाट पोष्ट मार्टम भएको, निजको मृत्युको सम्वन्धमा बुझ्दै जाँदा मिति २०६०।३।९ गते राती अं. १०.०० वजे जि.क.व. कृष्णनगर गा.वि.स.वडा न. १ सेमरा देखि केही पूर्व सिसौ वगैचामा लगि राज कुमार हरिजन, राजेन्द्र यादव र पाहुना भन्ने व्यक्ति समेत मिली कर्तव्य गरी मारी मृतक लाश नेपाल भारत सिमा नजिक भारतीय भूभागमा फालेका रहेछन् निज मिन्कन मौर्यलाई राजकुमार हरिजन समेतले कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको मास्टर भन्ने चन्द्रमान चौहानको कागज ।

हामीहरुले होटल गरी वसेको पिपरा मुर्गिहवा नजिक दाजु मिन्कन मौर्यको पान पसल थियो मिति २०६०।३।९ गते साँझ घर जान्छकी भनी पान पसलमा जाँदा नानु मौर्य मात्र रहेको सोद्धा निज मिन्कन मौर्यलाई सो दिन दिउँसो गाउँको टिहुल भन्ने राज कुमार हरिजनले फकाई कृष्णनगर तर्फ लगेका रहेछन् । सो दिन मिन्कन मौर्यको घर परिवारसँग सोद्धा राज कुमार हरिजन आई इटहवा गएको भन्ने बुझिएको र पछि बुझ्दै जाँदा वढनी नजिक एक लाश फेला पारी ढेवरुवा थानाबाट पोष्ट मार्टम भएको सो लाशको सतगत समेत भै सकेको रहेछ । सो मृतक लाशका फोटोहरु देखाउँदा सोही मेरो दाजु मिन्कन मौर्य कै रहेछ निजलाई राज कुमार हरिजन समेतले कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको जगन्नाथ मौर्यको कागज ।

मिति २०६०।३।९ गते साँझ मेरो भट्टी पसलमा आई यस कार्यालयको हिरासतमा रहेको राज कुमार हरिजन, मृतक मिन्कन मौर्य र जि.क.व. कृष्णनगर गा.वि.स.वडा न. १ सेमरा बस्ने वारम्वार हाम्रो भट्टी पसलमा आउने काले भन्ने राजेन्द्र यादव र राजेन्द्र यादवले पाहुना भनी वोलाएका मैले नचिनेको व्यक्तिहरु आई रक्सी खाई राती अं. २१.३० वजेको समयमा चारै जना कृष्णनगर वस पार्क तर्फ गएका हुन् सो समय देखि सेमराको काले भन्ने राजेन्द्र यादव र निज सँग आएका पाहुना भन्ने व्यक्ति समेतलाई देखेकी छैन भन्ने समेत व्यहोराको मन्ना यादवको   कागज ।

मिति २०६०।३।९ गते दिउँसो अं. १३.०० वजेको समयमा कृष्णनगर वस पार्क तर्फ निस्कीएका मेरा पति काले भन्ने राजेन्द्र यादव हाल सम्म फर्कि आएका छैनन् । निज कहाँ गएका छन् केही थाहा छैन निजले केही खवर समेत गरेका छैनन् । मृतक मिन्कन मौर्य र यस कार्यालयको हिरासतमा रहेका राज कुमार हरिजन समेतलाई चिन्दीन । मेरा पतिका साथीहरु को को छन् थाहा भएन पाहुना भन्ने व्यक्तिलाई चिन्दिन । मिन्कन मौर्यलाई कर्तव्य गरी मार्नमा मेरा पति राजेन्द्र यादव संलग्न छन् छैनन् थाहा भएन भन्ने समेत व्यहोराको काले भन्ने राजेन्द्र यादवको श्रीमती इमिरती यादवको कागज ।

काले भन्ने राजेन्द्र यादवलाई खोज तलास गर्दा हाल सम्म कहीं कतै फेला नपरेको र निज राजेन्द्र यादव सँग साथमा हिड्ने निज काले भन्ने राजेन्द्र यादवले पाहुना भनी वोलाएका व्यक्तिको खोज तलास गर्दा हालसम्म पाहुनाको एकिन नाम, थर वतन, समेत खुल्न नआएको हुँदा कानून बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्र.स.नि. गोकर्ण विष्टको प्रतिवेदन ।

मिति २०६०।३।१० गते जि.क.व. कृष्णनगर गा.वि.स.वडा न. १ सेमरा देखि केही पुर्व दक्षिण तर्फ भारतीय सिमानामा एक जना पुरुषको मृत लाश फेला पारि भारतीय प्रहरीले लगे भन्ने सुनेको हो । सो सम्वन्धमा पछि वुझ्दै जाँदा मृत लाश भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर थाना ईटहवा गाउँ डवरा घर भै पिपरा मुर्गिहवामा पान पसल गरी वस्ने मिन्कन मौर्यको रहेछ । निजलाई मिति २०६०।३।९ गते निजकै छिमेकी राज कुमार हरिजनले फकाई कृष्णनगर वजारमा ल्याई जि.क.व. कृष्णनगर गा.वि.स.वडा न. १ वस्ने गंगाराम यादवको छोरा काले भन्ने राजेन्द्र यादव समेत भई सेमरा देखि केही पुर्व उधो यादवको सिसौ वगैचामा लगी सोही दिन अर्थात मिति २०६०।३।९ गते राती अं. २२.०० वजेको समयमा कर्तव्य गरी मारी निज मिन्कन मौर्यको लाश सोही ठाउँबाट दक्षिण तर्फ भारतीय भूभागमा फ्याँकेका रहेछन भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिसहरुको भनाई लेखाई ।

यसमा मिसिल संलग्न जाहेरी दरखास्त, घटनास्थल मुचुल्का मृतक मिन्कन मौर्यको शव परिक्षण प्रतिवेदन, लाश जाँच मुचुल्का, प्रतिवादीको वयान, बुझिएका मानिसहरुको कागज तथा वस्तुस्थिति मुचुल्काका मानिसले गरेको कागजातका आधार प्रमाणबाट मिति २०६०।३।९ गते राति अं. ९.३० वजेको समयमा कृष्णनगर गा.वि.स.वडा नं. १ सेमरा स्थित गाउँको वगैचामा मृतक मिन्कन मौर्यलाई कर्तव्य गरी मारी उक्त लाश भारतीय भूभागमा पर्ने धनौरी ग्राम नो मेसलेण्डमा फ्याँकिएको पुष्टि भएको र निज मृतक मिन्कन मौर्यलाई प्रतिवादी राज कुमार हरिजनले आप्mनी श्रीमतीसंग राति सुति राखेको फेला पारी झगडा भएको र सो दुस्मनी तथा रिस ईवीले वदला लिने उद्देश्यले मृतक मिन्कनलाई नेपालको कृष्णनगर वजारमा ल्याई भट्टी पसलमा नास्ता गर्ने क्रममा मृतकले रक्सी मासु खाएको र आफुले चना मात्र खाई नास्ता गरी रहेको अवस्थामा सोही भट्टीमा नास्ता गरी वसी रहेका काले भन्ने राजेन्द्र यादव र पाहुना भन्ने व्यक्ति संग सर सल्लाह गरी काले भन्ने राजेन्द्र यादवले डाँका गर्ने र मानिस मार्ने काम गर्छन भन्ने चाल पाई भा.रु. ३०००। दिने आर्थिक प्रलोभनमा पारी राजेन्द्र यादवले पाहुना भनी वोलाएका व्यक्तिको समेत सहयोग लिई यी तिनै जना प्रतिवादी टिहुल भन्ने राजकुमार हरिजन, काले भन्ने राजेन्द्र यादव, र पाहुना भन्ने व्यक्ति मिलि लाठी, लात मुक्काले हानी मिन्कन मौर्यलाई जि.क.व. कृष्णनगर गा.वि.स. १ सेमरा देखि पूर्व सिसौ वगैचामा कर्तव्य गरी मारी भारतीय भूभागमा फालेको भन्ने पक्राउमा परेको प्र. राजकुमार हरिजनको वयानबाट स्पष्ट हुन आएको हुँदा टिहुल भन्ने राज कुमार हरिजन र काले भन्ने राजेन्द्र यादवलाई ज्यान सम्वन्धि महलको १ र १३ (३) को कसूरमा सोही महलको १३(३) न. बमोजिम सजाय हुन माग दावी लिई पेश हुन आएको अभियोगपत्र ।

मैले जाहेरवालाको भाई मिन्कन मौर्यलाई मारेको होइन, सो मिति समयमा म आफ्नै घरमा   थिएँ । जाहेरवाला सन्तराम र मेरो वीचमा सानो बच्चाको विषयमा झगडा भएको थियो, सोही रिसईवी राखेको हुँदा मलाई फसाउनका लागी झुठ्ठा व्यहोरा लेखाई जाहेरी दिएका हुन, भन्ने समेत व्यहोराको प्र. टिहुल भन्ने राजकुमार हरिजनले अदालतमा गरेको वयान ।

तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी कसूरदार होइनन् भन्न सकिने अवस्था नदेखिंदा अ.वं. ११८ को देहाय २ नं. को अवस्था विद्यमान रहेको र यी प्रतिवादी भारतीय नागरिक समेत भएकोले पछि प्रमाण वुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल अ.वं. १२१ न. बमोजिम थुनुवा पुर्जि दिई थुनामा राख्न स्थानीय कारागारमा पठाई दिनु भन्ने समेतको थुनछेक आदेशानुसार प्रतिवादी टिहुल भन्ने राज कुमार हरिजन थुनामा रहेको ।

म मिति २०६०।३।६ गते नै भैरहवा वर्मेली टोलमा गएको र त्यही ज्वरो आई वेहोस समेत भएपछि अर्को दिन ७ गते भैरहवाको डाक्टर प्रकाश वहादुर थापा कहाँ उपचार गराउन जाँदा अरु ४ दिन वस्न पर्छ भनेर म ११ गते सम्म हस्पीटलमा वसेको हुँ । हस्पीटलको नाम थाहा भएन १२ गते मेरो घर कृष्णनगरमा आएको हुँ । वम्वैमा वस्दा मृतकको दाजुसँग झगडा समेत भएको हुँदा सोही रिस इवीले झुट्टा जाहेरी दिएका हुन् । मैले मृतकलाई मारेको होइन भनी म्यादमा हाजिर हुन आएका प्रतिवादी काले भन्ने राजेन्द्र यादवले अदालतमा गरेको वयान ।

मिसिल संलग्न तत्काल प्राप्त प्रमाणवाट यी प्रतिवादी कसूरदार होइनन् भन्न सकिने अवस्था नदेखिंदा अ.वं. ११८ न. को देहाय २ न. को अवस्था विद्यमान देखिंदा पछि प्रमाण वुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई पुर्पक्षको निमित्त १२१ न. बमोजिम थुनुवा पुर्जि दिनु भन्ने आदेश ।

यि प्रतिवादी मिति २०६०।३।६ गते भैरहवा गई ३।१२ गते घर फर्केका हुन् । उनले त्यही उपचार समेत गराएका हुन् । निजको चाल चलन राम्रो छ । निर्दोष हुँदा प्रस्तुत मुद्दावाट सफाई पाउनु पर्छ भनी प्रतिवादी काले भन्ने राजेन्द्र यादवको साक्षी वलदेव यादवले गरेको वकपत्र ।

 

प्रतिवादी मिति २०६०।३।६ गते मेरो घर भैरहवा वर्मेली टोलमा आएका र विरामी भएपछि ७ गतेका दिन प्रकाश वहादुर थापाको क्लिनिकमा भर्ना गरी ११ गते डिस्चार्ज भई १२ गते आफ्नो घर कृष्णनगर फर्केका हुँदा यी प्रतिवादीले आरोपित कसूर गरेको होईन सफाई पाउनु पर्दछ भनी प्र.काले भन्ने राजेन्द्रको साक्षी शिव कुमार यादवले गरेको वकपत्र ।

मेरो पतिलाई राज कुमारले घरवाट लिएर गएका र राज कुमार राजेन्द्र मिलेर मेरो पतिलाई मारेका हुन भनी मौकामा कागज गर्ने लिलावती मौर्यले गरेको वकपत्र ।

झुठ्ठा तरिकाले कागज गराई मलाई मारपिट गरी सहिछाप गराएका हुन भनी प्रहरीमा कागज गर्ने मन्ना यादवले गरेको वकपत्र ।

मेरा पितालाई कृष्णनगर जाउँ भनी पान दुकानवाट राजकुमारले लिएर गएका र पिता फर्कि नआएपछि खोजि गर्दा राजकुमार राजेन्द्र मिलेर मारेको थाहा भएको हो भनी मौकामा कागज गर्ने नानु मौर्यले गरेको वकपत्र ।

यसमा किटानी जाहेरी, जाहेरवाला तथा मौकामा कागज गरी दिने व्यक्तिहरुको अदालतमा गरेको वकपत्र, मृतककी श्रीमतीको मौकाको कागज र सोलाई समर्थन गर्ने गरी गरेको वकपत्र, सहप्रतिवादीको पोल लगायतका मिसिल संलग्न प्रमाणहरुवाट टिहुल भन्ने राजकुमार हरिजन र काले भन्ने राजेन्द्र यादव समेतले मृतक मिन्कन मौर्यलाई कर्तव्य गरी मारेको देखिंदा प्रतिवादी टिहुल भन्ने राजकुमार हरिजन र काले भन्ने राजेन्द्र यादवलाई ज्यान सम्वन्धी महलको १३(३) न. बमोजिम जन्म कैद हुने ठहराई साधक जाहेरी फैसला गरी दिए भन्ने व्यहोराको कपिलवस्तु जिल्ला अदालतको मिति २०६२।३।१३ को फैसला ।

शुरु फैसलामा चित्त वुझेन । जाहेरी दरखास्त बमोजिम मृतक भारतीय नागरिक भएको, निजको लाश भारतको भुभागमा पाइएको र भारतीय प्रहरीद्वारा पोष्टमार्टम लगायतका कार्य भारतमै गरेको अवस्थामा विना प्रमाण सजाय गर्ने गरी भएको फैसला मिलेको छैन । म प्रतिवादी राजेन्द्र यादवले मृतकलाई मार्नु मर्नाको कारण खुलेको छैन । वारदात भएको भनिएको ठाउँ र मृतक वस्ने इलाका धेरै टाढा भएको र मृतक नेपालमा प्रवेश गरेको भन्ने भनाईलाई पुष्टि गर्न पेश गरिएकी मुन्ना यादव अदालत समक्ष वकपत्र गर्दा इन्कार रहेकी जाहेरी दरखास्त लगायत अन्य साक्षीहरुको वकपत्र मौखिक रुपमा सुनेको आधारमा गरेको सहप्रतिवादीको अनुसन्धान अधिकारी समक्षको पोल समेत अदालतको निजको इन्कारीवाट खण्डित भएको वारदातमा सम्वन्धित दशी प्रमाण फेला नपरेको र हामी निर्दोष रहेको कुरा हाम्रा साक्षी प्रमाणवाट पुष्टि भएको अवस्थामा सम्वन्धित दशी प्रमाण फेला नपरेको अवस्थामा तथ्ययुक्त दशी प्रमाणको अभावमा जन्मकैदको सजाय गर्ने गरी भएको शुरु फैसला त्रुटिपूर्ण हुँदा वदर गरी अभियोग दावीवाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी राजेन्द्र यादव र राज कुमार हरिजनको एकै व्यहोराको पृथक पृथक पुनरावेदन पत्र ।

अपराध संग सम्वन्धित कुनै चिज वस्तु वरामद नभएको घटनास्थलमा कुनै चिन्ह एवं दशीका सामान वरामद  हुन नसकेको, भारतमा लाश प्राप्त भई पोष्टमार्टम समेत भारतमै गरिएको भन्ने भनाई र चश्मदित भनिएका मगरे समेत अदालतमा उपस्थित भई वकपत्र गर्न नसकेको अवस्थामा प्रतिवादी टिहुल भन्ने राजकुमार हरिजनको अधिकार प्राप्त अधिकारी समक्ष अर्का प्रतिवादी राजेन्द्र यादव माथि पोल गरी आफुले आरोपित कसूर गरेको भन्ने सावितिका आधारले मात्रै प्रतिवादीहरुले आरोपित कसूर गरेको ठहर्‍याएको शुरुको फैसला फरक पर्न जाने देखिंदा छलफलका लागि पुनरावेदन सरकारी वकील कार्यालय वुटवललाई सूचना दिई पेश गर्नु भन्ने पुनरावेदन अदालत वुटवलको मिति २०६२।९।१७ को आदेश ।

यसमा मृतक पनि भारतीय भएको र मृतकको लाश पनि भारतीय भूभागमा भेटीई भारतीय थानामै उजुरी परेको तथा लाश जाँच पनि भारतमै भएको कुरा प्रष्ट देखिंदा देखिदै नेपाल सरहदको वारदात भएको ठानी अनुसन्धान अधिकृतवाट मुद्दाको तहकिकात गरी यी प्रतिवादीहरु उपर अभियोग दावी लगाई अभियोग पत्र दायर गराएको काम कारवाही अधिकार क्षेत्रको अभावमा गैर कानूनी भएको स्वतः स्पष्ट भएको देखिन्छ । अतः यस्तो अभियोगपत्र ग्रहण गरी अधिकार क्षेत्र वाहिर गई कपिलवस्तु जिल्ला अदालतबाट भए गरेको फैसला त्रुटिपूर्ण देखिंदा वदर भई उल्टी हुन्छ । प्रतिवादीहरुले आरोपित कसूरवाट सफाई पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत वुटवलको मिति २०६३।१।३१ को फैसला ।

प्रतिवादीहरुले मौकाको वयान गर्दा मृतकलाई नेपाल सरहद भित्र फकाई ल्याई कर्तव्य गरी मारेको भनी सावित रहेका र जाहेरवालाको जाहेरी नानु मौर्यको वकपत्रवाट समेत प्रतिवादीहरुलाई अभियोग माग दावी बमोजिम सजाय गर्नुपर्नेमा सफाई दिएको पुनरावेदन अदालत वुटवलको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी प्रतिवादीहरुलाई अभियोग माग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने वादी पक्षको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

            नियम बमोजिम आजको पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक नेपाल सरकार तर्फवाट विद्वान सरकारी उपन्यायाधिवक्ता श्री लोकजंग थापाले मृतकलाई नेपाल सरहद भित्र मारेको भनी प्रतिवादीहरु सावित रहेको र शुरु जाहेरी तथा लाश जाँच रिर्पोटबाट समेत नेपाल सरहद भित्रै कर्तव्य गरी मारेको अवस्था देखिएकोमा क्षेत्राधिकारको त्रुटी देखाई भएको पुनरावेदन अदालतको फैसला मिलेको छैन वदर हुनु पर्दछ भनी गर्नु भएको वहस जिकिर समेत सुनियो ।

            प्रस्तुत मुद्दामा पुनरावेदन अदालत वुटवलबाट भएको फैसला मिले नमिलेको के रहेछ र पुनरावेदक वादी पक्षको पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन ? सो सम्वन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

            यसमा सम्वन्धित मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गर्दा, प्रस्तुत मुद्दाको शुरु कारवाई भारत इटर्वा देवरुवाबाट मिति २०६०।३।१८ मा भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर थाना इटर्वा गाउँ डवरा वस्ने सन्तराम मौर्यको जाहेरी परि मुद्दाको अनुसन्धान तहकिकात भै प्रतिवादी भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर थाना इटर्वा वस्ने टिहुल भन्ने राज कुमार हरिजन र नेपाल कपिलवस्तु कृष्णनगर घर भएका कलुवा भन्ने राजेन्द्र यादव उपर मुलुकी ऐन ज्यान सम्वन्धिको महलको १३ (३) न. बमोजिमको सजायको माग दावी लिई अभियोग दायर भएको देखिन्छ । शुरु कपिलवस्तु जिल्ला अदालतले प्रतिवादीहरुलार्ई अभियोग मागदावी बमोजिम सजाय हुने ठहर फैसला गरेकोलाई पुनरावेदन अदालत वुटवलले क्षेत्राधिकारको त्रुटी देखिएको आधारमा शुरु जि.अ.को फैसलालाई उल्टी गरी प्रतिवादीहरुलाई आरोपित कसूरवाट सफाई दिने ठहर्‍याई भएको फैसला उपर वादी नेपाल सरकार तर्फबाट प्रतिवादीहरुलाई सफाई दिएको नमिलेको भनी यस अदालतमा परेको प्रस्तुत पुनरावेदन निर्णयार्थ पेश भएको देखियो ।

            २.    निर्णयतर्फ विचार गर्दा भारतीय नागरिक जाहेरवाला सन्तराम मौर्यले आफ्नो भाई मिन्कन मौर्यलाई राज कुमार हरिजन समेतले सेमरा गाउँ देखि पूर्व सिसौ वगैचा मा लगी चक्कु समेतले प्रहार गरी कर्तव्य गरी मारी मृतकलाशलाई भारत सिमानजिक भारतीय भूभागमा फाली फरार भएको भन्ने कुरा सुनेको आधारमा उक्त घटना घटेको नवौं दिन २०६०।३।१८ मा जाहेरी परेको देखिन्छ । सो अगावै मिनकन मौर्यको लाश २०६०।३।१० मा नेपाल भारत सीमा नजीक भारतीय भूभागमा फेला परेको सो सम्वन्धमा भारत देवरुआ थनामा उजुर परी लाशको पोष्टमार्टम लगायतको कार्य भारतीय थानावाट भएको मिसिल संलग्न कागजातबाट देखिन्छ । साथै भारत सिद्धार्थनगर देवरुवा थानाबाट लेखि आएको मिसिल संलग्न कागजातवाट मृतकको लाश ग्राम धनौरी नजिक नेपाल भारतको सिमाना (नो मेन्सलैण्ड) नेपाल भारत सिमानामा रहेको पिलर न. ५६७/६७ नजिक भारतीय भूभागमा भेटिएको भन्ने समेत देखिएको छ । प्रतिवादी टिहुल भन्ने राजकुमार हरिजनले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा मृतक मिन्कन मौर्यलाई नेपाल सरहद भित्र कर्तव्य गरी मारी भारतीय भूमिमा लगि लाश फालेको भनी आफूले अपराध गरेको कुरा स्वीकार गरी वयान गरेको देखिएतापनि अदालत समक्ष निजले वयान गर्दा आफूले अपराध गरेकोमा पुर्ण ईन्कार रही वयान गरेको देखिन आउँछ । त्यस्तै म्यादमा हाजीर भई अर्का प्रतिवादी राजेन्द्र यादवले पनि आरोपित कसूरमा इन्कारी हुँदै वारदात समयमा भैरहवामा औषधोपचार गराउँदै बसेको भन्ने समेत अदालतमा वयान गरेको देखिन्छ । सो इन्कारी वयानको पुष्टयाईका लागि डा. प्रकाश बहादुर थापाले औषधि गरेको भन्ने कुराको प्रमाण पनि पेश गरेको देखिन्छ । वारदात मिति र समयमा उपचार गराई रहेको भनी निज राजेन्द्र यादवका साक्षी शिव कुमार यादव र बलदेव यादवले अदालतमा वकपत्र गरेको समेत देखिन्छ ।

३.    अर्का प्रतिवादी टिहुल भन्ने राज कुमार हरीजन नेपाली नागरिक वा नेपालका निवासी नभई भारतीय नागरिक र भारतमा घर भएका व्यक्ति हुन् । निजले पनि अदालतमा बयान गर्दा आरोपित कसूरमा इन्कारी रहँदै वारदातको समयमा आफ्नै घरमा रहेको भन्ने समेत उल्लेख गरेको देखिन्छ ।  घटनास्थल विवरण मुचुल्का हेर्दा सो घटना सँग सम्वन्धित प्रमाणमा लाग्ने कुनै पनि चिज वस्तु तथा संकेत सम्म नेपालमा वारदात भएको भनिएको ठाउँबाट नभेटीएको स्थिति देखिन्छ । सो घटना संग परिचित व्यक्ति वा प्रत्यक्ष सो घटना देख्ने चश्मदित गवाह वादी पक्षवाट प्रस्तुत हुन सकेको पनि देखिदैन । जाहेरवाला सन्तराम मौर्यले अदालतमा बकपत्र गर्दा प्रतिवादी टिहुल भन्ने राज कुमार हरिजनले मिन्कनलाई मारेको कुरा निजै प्रतिवादीले नै भनी थाहा पाएको हुँ भनी वकपत्र गरेको देखिन्छ । मौकामा कागज गर्ने अन्य व्यक्तिहरु मध्ये लीलावती मौर्यले घटनास्थल देखेको छैन भन्ने र नान्दू मौर्यले सो घटना घटेको सम्म लेखाई दिएको देखिन्छ । तर त्यतिकैबाट मिन्कनलाई नेपाल भित्रै मारिएको र  नेपाल सरहद भित्रै सो घटना हुन पुगेको हो भन्ने कुराको पुष्टि हुन सकेको अवस्था देखिएन ।

४.    यस प्रकार मृतक व्यक्ति भारतीय मानिस हुन र निजको लाश भारतीय भूभागमा फेलापरी भारतीय प्रहरीद्वारा सो सम्बन्धमा कारावाही अनुसन्धान समेत भएको अवस्था छ । अर्को तिर प्रतिवादी मध्येका टिहुल भन्ने राज कुमार हरिजन र जाहेरवाला समेत भारतीय रहेको अवस्था देखिन्छ । तर, हत्याको वारदात नेपाल सरहद भित्र भएको भन्ने जाहेरी दरखास्तको आधारमा कारवाही भई प्रस्तुत अभियोग दावी दायर भएको सम्म देखिन्छ । अभियोग दावी अनुसार हत्याको वारदात नेपाल सरहद भित्र सम्पन्न भएको र यी प्रतिवादीहरुले नेपाल सरहद भित्र हत्या गरेको भन्ने अभियोग दावी समर्थित र प्रमाणित हुने कुनै पनि शंका रहित, विश्वसनीय र स्वतन्त्र प्रमाण वादी तर्फवाट पेश हुन सकेको छैन । जवकि लाश फेला परेका तथा भारतीय अधिकारीहरुद्वारा प्रारम्भिक अनुसन्धान भएबाट समेत सो वारदात नेपाली भूभाग बाहिर भएको देखिन आउँछ । हत्याको यस्तो वारदात नेपालको भूभाग भन्दा बाहिर भएमा सो सम्वन्धमा नेपालको अदालतमा मुलुकी ऐन भाग १, प्रारम्भिक कथनको २ न. समेतका प्रचलित कानून अनुसार कारवाही र निर्णय हुन सक्ने स्थिति छैन । अदालतले पनि यस्तो अवस्थामा क्षेत्राधिकार ग्रहण गर्न मिल्ने देखिदैन ।

५.    तसर्थ भारतीय भूमिमा भएको घटनाको First Information Report भारत इटहर्वा थानामा भै त्याहाँबाटै लाशको Post Mortem हुनुको साथै अन्य कारवाही समेत सोही इलाकावाटै भै रहेको परिप्रेच्छमा एक जना प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्ष भएको अपुष्ट साविती वयानको आधारमा मात्र नेपाल भूमिमा उक्त वारदात भएको रहेछ भनी मान्न मिलेन । नेपाल सरहदमा वारदात भएको भनेको ठाउँमा कुनै संकेतसम्म देखा नपरेको र नेपालमा वारदात भएको भन्ने कुराको अन्य वस्तुनिष्ठ प्रमाण देखिन भेटिन नआएकोले प्रादेशिक क्षेत्राधिकार वाहिर गई कपिलवस्तु जिल्ला अदालतवाट भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला वदर गरी तथ्ययुक्त र शंका रहित तवरले घटनाको साथै कसूर समेत प्रमाणित हुन नसकेको स्थितिमा प्रतिवादीहरुलाई आरोपित कसूरवाट सफाई दिने गरेको पुनरावेदन अदालत वुटवलको मिति २०६३।१।३१।१ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरी लगत कट्टा गरी मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. खिलराज रेग्मी

 

इति सम्बत् २०६५ साल श्रावण २६ गते रोज १ शुभम्––––

 

इजलास अधिकृत : हरिहर पौड्याल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु