शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७९८२ - लिखत वदर दर्ता वदर दर्ता कायम ।

भाग: ५० साल: २०६५ महिना: असोज अंक:

निर्णय नं.७९८२     ने.का.प. २०६५ अङ्क ६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बलराम के.सी.

माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोईराला

सम्वत् २०६३ सालको दे.पु.न. ९०३६

आदेश मितिः २०६५।३।१६।२

 

मुद्दाःलिखत वदर दर्ता वदर दर्ता कायम ।

 

      पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी धरान नगरपालिका वार्ड नं. १६ वस्ने योजितराज प्रधान नेपाली

विरुद्ध

      विपक्षी वादीः जि. काठमाडौं काठमाडौं महानगरपालिका वार्ड नं. ९ वत्तिसपुतली वस्ने    गोपालशक्ति मास्के

 

शुरु फैसला गर्नेः

मा.मु.न्या श्री शारदा प्र. पण्डित

मा.न्या.श्री गोविन्दकुमार श्रेष्ठ

 

§  आफ्नो समेत हक लाग्ने सगोलको सम्पत्ति सगोलको अंशियारले आफूखुसी विक्री व्यवहार गरेमा प्रचलित कानूनका म्याद भित्रै नालेश गरी आफ्नो हकको जति लिखत वदर गराई लिन पाउने ।

(प्रकरण नं.४)

§  रकम हाली जग्गा खरीद गर्ने साहु सदैव खतरामा रहने भन्ने हुदैन । त्यसको लागि हदम्यादको व्यवस्था गरिएको हो । आफूलाई मन लागेको अवस्थामा लिखतको नक्कल सार्दै हदम्याद कायम गरेर नालिस गर्न पाउने भन्ने ऐनको मनशाय नहुँदा सगोलमा छोराले थाहा पाएको अवस्थामा सगोलमै रहेका अन्य अंशियारले लिखतको वारेमा थाहा नपाएको भन्न नसकिने ।

(प्रकरण नं.५)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री सोमकान्त मैनाली

विपक्षी वादी तर्फवाटः

अवलम्वित नजीरः

 

फैसला

न्या.राजेन्द्रप्रसाद कोइरालाः न्याय प्रशासन ऐन, ०४८ को दफा १२(१)(क) वमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्राप्त गरी पुनरावेदन दायरीमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर यस प्रकार  छ :

विपक्षी मध्येकी शोभा मास्के मेरी पत्नी हुन । विपक्षी गृहस्थी गर्दै वस्दै आएकोमा ०३८ सालमा जिल्ला सुनसरी वांझगरा गा.वि.स. वडा नं. ८(क) कि.नं. ४१ को ०१३ जग्गा समेत खरीद गरी दिएको थिए । उक्त शोभा मास्के नाउँ दर्ताको जग्गामा मेरो पूर्ण हक लाग्ने निर्विवाद छ। विपक्षी शोभा मास्के नाउँ दर्ताको मेरो हकलाग्ने ऐ. कि.नं. ४१, १३ जग्गा मध्ये ०० जग्गा विक्रीगरि सकेकोले उक्त कि.नं. ४२ फोड भई कि.नं. ५१ को ०१३ जग्गामा समेत मेरो समेत भोगचलन कायम छ । २०५६।७।११ गतेका दिन विराटनगर आउंदा प्रमाणका मानिसहरुले मलाई विपक्षी पत्नी शोभा मास्केले मेरो समेत अंशहक लाग्ने उक्त जग्गाहरुवाट मेरो हक मेट्न विपक्षीहरुसँग गुपचुपगरी मलाई थाहा जानकारी नदिई मन्जुरी वेगर जग्गा विक्री वितरण गरेको कुरा सुनाएकोले उक्त कि.नं. ४१ को ०१४ जग्गा कित्ता फोडगरी उत्तर पूर्ववाट कायम कि.नं. १०० को ०५ प्र. छलिता लिम्वु र प्र. नेत्रकला लिम्वुको संयुक्त नाउँमा र.नं. ११५५(क) वाट छलिता लिम्वुको पश्चिम तर्फवाट कायम कि.नं. १०१ को ०, प्र. रसिता राईको नाउँमा र.नं. ११६०(क) वाट, नइन्द्र देखि पूर्वतर्फवाट कायम कि.नं. १०२ को ०, प्र. हस्तकला लिम्वुको नाउँमा र.नं. ११६१(क) वाट मुल कि.नं. ४१ को पश्चिम उत्तर तर्फवाट कायम कि.नं. १०३ को ०० प्र. नइन्द्र कुमार आङदम्वेको नाउँमा र.नं. ११५६(क) वाट योजीत राई देखि उत्तर तर्फवाट कायम कि.न. १०६ को ०१९ प. डम्वाध्वज लिम्वु र प्र. तेज कुमार लिम्वुको नाउँमा संयुक्त र.नं. ११५९(क) वाट छलिता लिम्वु समेत र सरिता राई देखि दक्षिण तर्फवाट कायम कि.नं. १०४ को ०६ तथा पश्चिम दक्षिण तर्फबाट कायम कि.न. १०५ को ०३ समेत प्र. योजित राई प्रधान नेपालीको नाउँमा र.नं. ११५७ कित्ताकाट समेत गरी जम्मा ०१३ जग्गा थान ६ राजिनामा लेखी लेखाई पारित गरेतापनि दिने दाता शोभा मास्केले कि.न. ४१ वाट उल्लेखित प्रतिवादी को नाउँमा एकै मिति २०५५।७।१२ गते मा.पो.का. सुनसरीबाट दिनुलिनु गरेको हुँदा अ.वं. ७२ नं. वमोजिम एउटै फिरादवाट दावी गरेको छु । विपक्षीहरुले एकै मितिमा कि.न. ४१ फोड गरी मेरो हक मेट्न मलाई थाहा जानकारी नदिई गुपचुप सँग जग्गा पारित गरी लिनुदिनु गरेको व्यवहारमा मेरो वेमन्जुरी रहेकोले उक्त कि.नं. ४१ वाट विभिन्न कित्ता कायम भएकोलाई कि.न. ४१ नै कायम मानी उक्त कि.नं. ४१ को जग्गामा मलाई पायक पर्ने उत्तर तर्फवाट पूर्व पश्चिम लम्वाई गरी मेरो हक हुने २ भागको १ भाग ०१६½ धुरको लेखत वदर दर्ता वदर गरी मेरो नाउँमा दर्ता समेत कायम गरी पाउ भन्ने फिरादपत्र ।

हामीले २०५५।७।१२ गतेमा पारित गरी लिएको जग्गा विपक्षीकी पत्नी शोमा मास्केले आफनो निजी ज्ञान शिप श्रमवाट २०३८ सालमा खरिद गरेको निजी आर्जनको जग्गा हुँदा त्यस्तो जग्गा खरिद गरी लिदा विपक्षीको मन्जुरी स्त्री अंशधनको १ नं. वमोजिम लिनु नपर्ने हुँदा र विपक्षीलाई साक्षी राखी रहनु पर्ने अवस्था नहुँदा मलाई साक्षी नराखी मन्जुरी नलिई रजिष्ट्रेशन पारित गरेको भन्ने विपक्षीको लेनदेन व्यवहारको १० नं. वमोजिमको आधारमा लिएको दावी सो ऐन विपरीत छ । शोभा मास्केको उक्त सम्पति अंशवण्डाको १८ नं. वमोजिम वण्डा नगर्नुपर्ने हकभित्रको सम्पत्ति हो । स्त्री अंश धनको १ नं. ले उक्त निजी ज्ञान प्रयासले आर्जेको सम्पति आफूखुस गर्न पाउने हदभित्रको जग्गा किन्दा वेच्दा अन्यको मन्जुरीको आवश्यकता नपर्ने भएवाटै दाताले जग्गा विक्री गर्छु भनेवाट हामीले कानूनको रित पुर्‍याई खरिद गरी रजिष्ट्रेशन गरी लिएको हुँदा हकै नपुग्ने विपक्षीको स्त्री अंशधनको १ नं. को प्रतिकूल परेको फिरादको भरमा हाम्रो लिखत दर्ता वदर भै विपक्षीको नाउँमा दर्ता कायम हुन सक्ने होइन । विपक्षीले लेनदेन व्यवहारको १० नं. को आधारमा नालेस गरेको पाइन्छ । लेनदेन व्यवहारको १० नं. ले नै आफनो निजी आर्जनको भए सँग वस्नेको मन्जुरी लिनु पर्दैन भनी वेचविखन गर्दा मन्जुरी लिनुपर्ने व्यवस्था गरेको र स्त्री अंश धनको १ नं. र अंशवण्डाको १८ नं. ले आफनो ज्ञान सिप प्रयासवाट आर्जन गरेको सम्पत्ति आफूखुस गर्न पाउने स्पष्ट कानूनी व्यवस्था गरेवाट २०३८ सालमा आफनो सिप प्रयासवाट आर्जन गरेको सम्पत्ति दातावाट हामीले खरिद गरेको हुँदा वादी दावी वमोजिम लिखत वदर दर्ता वदर हुने होइन । वादीले कुन सगोलको सम्पति कहिले विक्रीगरी आएको रुपैयावाट दाता शोभा मास्केलाई उक्त जग्गा खरिद गरी दिएको हो वा कुन व्यहोरावाट प्राप्त भएको हो विपक्षीले सो तथ्य छिपाई फिराद गरेको पाइन्छ । आफनो ज्ञानसिपले आर्जन गरेको जग्गा लेनदेन व्यवहारको १० नं. ले आफनो निजी आर्जनको भए कसैको मन्जुरी लिनु पर्दैन भन्ने कानूनी व्यवस्था गरेको र स्त्री अंशधनको १ नं. तथा अंशवण्डाको १८ नं. ले आफ्नो शिप प्रयासवाट आर्जेको सम्पत्ति आफूखुस गर्न पाउने भएवाट दाताले ०३८ सालमा आफनो निजी आर्जनवाट खरिद गरी लिएको जग्गा हामीले खरिद गरी लिएकोले दर्ता वदर गरिपाऊँ भन्ने वादी दावी उक्त ऐन प्रतिकूल हुँदा दर्ता वदर हुने होइन । वादीले छुटा छुट्टै फिराद गर्नुपर्नेमा अ.वं. ७२ नं. वमोजिम गरेको फिराद अ.वं. ७२ नं. प्रतिकुल हुँदा खारेज भागी छ । नेपाल कानून पत्रिका २०५५ अंक ३ नि.नं. ६८२० पृष्ठ संख्या १५१ मा प्रतिपादित सिद्धान्त प्रतिकुल गरी परेको विपक्षीको नालेस उपर्युक्त आधारवाट कायम रहन नसक्ने हुँदा हाम्रो लिखत दर्ता सदर गरिपाऊँ भन्ने प्रतिउत्तर पत्र ।

वादीको साक्षी कंचन न्यौपाने र प्रतिवादीका साक्षी राजभगत प्रधानाङ्गले अदालतमा उपस्थित भै गरेको वकपत्र मिसिल सामेल रहेको ।

प्रतिवादी शोभा मास्केले इतलायनामाको शुरु म्याद गुजारी प्रतिउत्तर नफिराई वसेको ।

प्रतिवादी शोभा मास्केले राजिनामा गरी विक्री गरेको पारित र.नं. ११५५(क) र.नं. ११५६(क) र.नं. ११५७(क) र.नं. ११५९(क) र.नं. ११६०(क) र.नं. ११६१(क) को राजिनामाको वादीको हक जति नरम करम मिलाई ३ भागको १ भाग लेखत दर्ता वदर गरी उक्त जग्गा वादी गोपाल शक्ति मास्केको नाममा दर्ता कायम हुने ठहर्छ भन्ने सुनसरी जिल्ला अदालतको मिति २०५७।१२।१३ को फैसला ।

हाम्रा दाता शोभा मास्केले आफनो ज्ञान सिप प्रयासवाट आर्जेको सम्पतिवाट उल्लेखित हामीलाई विक्री गरेको जग्गा २०३८ सालमा दाताले खरिद गरी लिएको हुँदा त्यस्तो आफूले आर्जेको सम्पत्तिवाट खरिद भएको जग्गा अशवण्डाको १८ नं. ले वण्डा गर्नु नपर्ने हुँदा र यस्तो सम्पत्ती स्त्री अंश धनको १नं. ले आफुखुस गर्न पाउने हुँदा हुदै दाता शोभा मास्केले हामीलाई विक्री गरेको त्यस्तो जग्गाको लेखत वदर गर्ने गरेको शुरु फैसला त्रुटीपूर्ण हुँदा उल्टी गरिपाऊँ भन्ने प्रतिवादी हस्तकला लिम्वु र सरिता राइको संयुक्त पुनरावेदन पत्र ।

दाता शोभा मास्केको निजी आर्जनको सम्पत्तिलाई निजी नमानी ३ भागको १ भाग लिखत बदर हुने भनी भएको शुरु फैसला स्त्री अंशधनको १ न. तथा अंशवण्डाको १९(२) को त्रुटिपूर्ण हुँदा उल्टी गरिपाऊँ भन्ने प्रतिवादी योजितराज प्रधान नेपाली, छलिता लिम्वु,नेत्रकला लिम्वु,नइन्द्र आङदम्वे समेतको पुनरावेदन पत्र ।

वादीले फिरादपत्रमा विवादीत जग्गा मैले खरिद गरी दिएको भनी उल्लेख गरेकोमा सो खरिद गरेको प्रमाण पेश नभएको र यी वादी तथा प्रतिवादी मध्येकी श्रीमती सोभा मास्के एकासगोलमा एकै घर परिवारमा बसेको भई रजिष्ट्रेशन भएको मितिमा नै लिखत खडा भएको थाहा पाउने स्थिति भएकोमा नक्कल सारी लिएको मितिमा थाहा पाएको भनी हदम्याद कायम गरी फिराद गरेको अवस्थामा सो को विवेचना नगरी शुरु अदालतवाट भएको इन्साफ फरक पर्ने देखिंदा छलफलको लागी विपक्षी झिकाई पेशगर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको मिति २०६०।३।११ को आदेश ।

यसै लगाउको दे.पु.नं. १४९८,१५०१ र दे.पु.न. १५०२ को लिखत दर्ता वदर दर्ता कायम मुद्दामा शुरु फैसला सदर हुने ठहरी आज यसै इजलासवाट फैसला भएको हुँदा सो मुद्दामा उल्लेखित आधार प्रमाणको आधारमा प्रस्तुत मुद्दामा प्रतिवादी शोभा मास्केले राजिनामा गरी विक्री गरेको र.न. ११५५(क), ११५६(क), ११५७(क), ११५९(क), ११६०(क) र ११६१(क) को राजिनामाको कि.न. ४१ को वादीको हक जति ३ भागको १ भाग लिखत दर्ता वदर गरी वादीका नाममा दर्ता कायम हुने ठहर्‍याई शुरु सुनसरी जिल्ला अदालतवाट मिति २०५७।१२।१३।२ मा भएको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्तैन भत्रे पुनरावेदन अदालत विराटनगरको मिति २०६०।७।१९।४ को फैसला ।

मेरा दाताका विपक्षी पति र छोराले जग्गा विक्री गर्ने कुरा गरेका र विपक्षीहरु सवै एकासगोलका परिवारको सहमतीवाट मात्र मैले जग्गा खरीद गरेको हु । विपक्षीहरुकै सल्लाह अनुसार राजिनामा लिखतमा भुस वरावरको मुल्य हाली जग्गा खरीद गरेको हो । विपक्षीहरुकै सल्लाह र सहमती अनुसार जग्गा खरीद गरेकोमा विपक्षीहरुलाई थाहा जानकारी हुने हुँदा लेनदेन व्यवहारको १० नं. अनुसार थाहा पाएको मितिले ३५ दिन भित्र नालेश उजुर गर्नुपर्नेमा सो नगरी नक्कल सारी थाहा पाएको मिति कायम गरी पर्न आएको फिराद हदम्याद विहीन भै खारेज भागि छ । साथै मु.ऐ. लेनदेन व्यवहारको ११ नं. मा एका सगलमा उमेर पुगेका कसैले थाहा पाएकोमा सगोलमा भएको मुख्य समेत सवै हकवालाले थाहापाएको ठहर्छ भन्ने व्यवस्थावाट एकासगोलका श्रीमती तथा आमाले विक्री गरेको कुरा एकासगोलका परिवारका पति र छोरालाई लिखत भएकै अवस्थामा थाहा जानकारी हुने हुँदा वा थाहा भएको मान्नु पर्ने हुँदा लिखत भएको मितिले ३५ दिन भित्र फिराद गर्नुपर्नेमा नक्कल सारी थाहा पाएको हदम्याद कायम गरी पर्न आएको फिराद खारेज भागि भै खारेज हुनुपर्नेमा सो नगरी सुरु सदर हुने गरी भएको फैसला त्रुटीपूर्ण छ । अंशवण्डाको १८ नं. मा कुनै अंशियारले आफनो वा कसैवाट निजी तवरले दान वा वकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नं. वमोजिम पाएको त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफुखुस गर्न पाउँछ भन्ने कानूनी व्यवस्था  छ ।

विपक्षीहरुको सल्लाह समेतवाट विक्री भएको मिति २०३८।८।१ को जग्गालाई एकै भात भान्छामा गर्ने एकै घरमा वस्ने छोरा गोपेशले नक्कल मिति २०५५।१०।५ मा सारेर थाहा पाई फिराद गर्ने र पति गोपालशक्ति मास्केले मिति २०५६।७।११ मा प्रमाणका व्यक्तिले भनी थाहापाई फिराद गर्ने कार्य कदापी पनि न्याय र कानूनसँगत हुन सक्तैन । विपक्षी दाता शोभा मास्केसँग नछुट्टिई सँगवसेको भनी उल्लेखगरे पनि दाताको नाउँमा मिति ०३८।८।१ मा खरीद भएको उक्त कि.नं. ४१,४२ को जग्गा सगोलको सम्पतिवाट खरिद गरेको भनी दावी लिएपनि सगोलको यो सम्पति विक्री गरी वा सगोलको सम्पतिवाट यसरी वढे वढाएको सम्पतिवाट खरिद गरेको भनी भन्न सकेको र प्रमाणवाट आफना दावी स्थापित गर्न सकेको पाइदैन । दाताको निजी आर्जनको जग्गा मैले खरीद गरी लिएको र निजी आर्जनको जग्गा किन्दा वेच्दा मन्जुरीको आवश्यकता नै नपर्ने अंशवण्डाको १९(२) र लेनदेन व्यवहारको १० नं. तथा स्त्री अंशधनको १ नं. वमोजिम आफुखुसगर्न पाउने सम्पति खरीद गरी लिएकोमा मन्जुरी लिनुपर्ने भनी गरेको पु.वे.अ. विराटनगरको फैसला उल्टी गरी मेरो प्रतिउत्तर जिकिर वमोजिम गरी पाउ भन्ने प्रतिवादी योजितराज प्रधानको यस अदालतमा परेको निवेदन पत्र ।

यसमा मुलुकी ऐन, लेनदेन व्यवहारको महलको १० नं. मा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफु खुसी गर्न पाउने अरुको मन्जुरी लिनु नपर्नेमा बाहेक अरुमा एकाघरसँगका अंशियार सवै साक्षी वसेको वा निजहरुले मन्जुरीको लिखत गरी दिएको भएमात्र पक्का ठहर्छ । साक्षी पनि नवसेको र मन्जुरीको लिखत पनि नभए मन्जुर नहुनेले रजिष्ट्रेशन भएको मितिले एक बर्षसम्ममा थाहा पाएको पैतिस दिन भित्र उजुर गर्‍यो र निजको मंन्जुरी ठहरिएन भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता गराइदिनु पर्छ भन्ने समेत कानूनी व्यवस्था रहेको देखिन्छ । प्रस्तुत मुद्दामा विवादित मिति २०५५।७।१२ को पारित राजिनामा लिखतहरुका सम्वन्धमा विपक्षी वादीको एकाघर सगोलको छोरा गोपेश शक्ति मास्केले मिति २०५५।१०।५ मा नक्कल सारी थाहा पाएको भनी मिति २०५५।११।४ मा नै फिराद दिएको देखिन्छ । गोपेश शक्तिले दिएको उक्त फिरादमा निजको वतन का.जि.का.म.न. पा.वडा नं. ९ वत्तिसपुतली उल्लेख गरेकोमा विपक्षी वादीले समेत मिति २०५६।७।११ मा लिखत वारे थाहा पाएको भनी सोही वतनवाट मिति ०५६।८।१० मा प्रस्तुत मुद्दाको फिराद दिएको देखियो । यसरी एउटै वतनमा वस्ने वादीको एकासगोलको छोरा गोपेशले थाहा पाएकै मितिमा वादीले विवादीत लिखत भएको कुरा थाहा पाएनन् होला भनी मान्न मिल्ने स्थिति नहुँदा २०५६।७।११ मा मात्र थाहा पाएको आधार लिई दायर भएको प्रस्तुत मुद्दाको फिरादवाट दावी वमोजिम लिखत वदर हुने ठहराएको शुरुको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०६०।७।१९ को फैसलामा लेनदेन व्यवहारको १० न. मा व्यवस्थित उल्लेखित कानूनी व्यवस्थाको गम्भिर त्रुटी देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) वमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०६३ ।१।२९।६ को आदेश ।

नियमवमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट उपस्थित विद्धान अधिवक्ता सोमकान्त मैनालीले विवादित जग्गा पुनरावेदकले खरिद गरेकोमा वादीले रजिष्ट्रेशन भएकै अवस्थामा थाहा पाउने अवस्था रहेकोमा नक्कल सारी म्याद कायम गरी आएको फिरादवाट इन्साफ हुन सक्ने स्थिति छैन । अंशवण्डाको १८ नं. अनुसार आफूखुस गर्न पाउने सम्पत्ति आफू खुस गरिएको सम्पति हो । दाताको वासोवास काठमाडौंमा नै रहेको हुँदा सवै परिवारसँग सल्लाह गरेरै खरिद भएको जग्गा हो । दाता शोभा मास्केले विक्री गरेको जग्गा २०३८ सालमा आफनो निजी श्रोतवाट खरिद गरी लिएको जग्गा हो । स्त्री अंशधनको १ नं. अनुसार आफुखुश गर्न पाउने जग्गा खरिद गरेकोमा अन्य अंशियारको हक लाग्ने हुदैन । प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको १० नं. आकर्षित हुदैन । पृथक पृथक कित्ताको लागी पृथक पृथक नालेश गर्नु पर्नेमा योजितराज प्रधान, ललिता लिम्वुलाई संयुक्त फिराद दायर गरिएकोमा पनि सुनि हेरिएको छ । विपक्षीको फिराद अ.वं. ७२ नं. को प्रतिकूल रहेको अवस्थामा निर्णय गरेको मिलेको छैन । अंशवण्डाको १ नं. वमोजिम वण्डा नलाग्ने सम्पत्ति खरिद भएकोमा वदनियत पूर्वक नालेश दायर गरेको अवस्था कानून वमोजिम दावी गर्न नसक्ने हक नभएको जग्गामा वादी दावी वमोजिम लिखत वदर हुने गरी भएको पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटीपूर्ण हुँदा उक्त फैसला वदर गरी प्रतिउत्तर जिकिर वमोजिम होस भनी गर्नु भएको वहस समेत  सुनियो ।

उपर्युक्त वमोजिमको वहस तथा पुनरावेदन सहितको मिसिल अध्ययन गरी यसमा पुनरावेदन अदालत विराटनगरको मिति २०६०।७।१९।४ को फैसला मिले नमिलेको के रहेछ सो विषयमा निर्णय दिनुपर्ने देखियो ।

२.    प्रतिवादी पत्नी शोभा मास्केले मेरो समेत अंश हक लाग्ने जग्गा मेरो मन्जुरी विना प्रतिवादी योजितराज प्रधानलाई राजीनामा पारित गरेकाले उक्त लिखतवाट २ भागको १ भाग लिखत वदर गरी मेरा नाममा दर्ता गरिपाऊँ भन्ने फिराद मागदावी रहेकोमा वादी दावीको जग्गा वादीको अंशहक लाग्ने नभै शोभा मास्केको निजी आर्जनको हुँदा लिखत वदर हुने होइन भन्ने प्रतिउत्तर परी कारवाई हुँदा शुरु सुनसरी जिल्ला अदालतले वादी दावी वमोजिम ३ भागको १ भाग लिखत दर्ता वदर भै वादीको नाउँमा दर्ता हुने गरी भएको फैसलालाई पुनरावेदन अदालत विराटनगरवाट २०६०।७।१९।४ मा सदर हुने गरी भएको फैसला उपर यस अदालतवाट मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै निर्णयार्थ पेश हुन आएको देखियो ।

३.    विवादमा प्रस्तुत गरिएको जग्गा शोभा मास्केका नाममा २०३८ सालमा सुनसरी वाझगरा ८(क)कि.नं. ४१ ज.वि. ०१३ कि.नं. ४२ ज.वि. ०१३ खरिद भएकोमा उक्त कि.नं. ४१ कित्ता फोड भै कि.नं. १००ज.वि. ०५ ललिता लिम्वु र नेत्रकला लिम्वुको संयुक्त नाममा र.न. ११५५(क) वाट कि.नं. १०१ ज.वि. ०० सरिता राइको नाउँमा र.न. ११६०(क) वाट कि.न. १०२ ज.वि. ०० हस्तकला लिम्वुको नाममा र .नं. ११६१(क) वाट कि.न. १०३ ज.वि. ०० नइन्द्र कुमार आङदम्वेको नाउँमा र.न. ११५६(क) वाट कि.नं. १०६ ज.वि. ०१९ डम्मरध्वज लिम्वु र तेज कुमार लिम्वु समेत जना २ को संयुक्त नाममा र.न. ११५९ (क) वाट कि.न. १०४ ज.वि. ०६ कि.न. १०५ ज.वि. ०३ समेत ०९ कि..न. ५१ मध्ये पश्चिम तर्फवाट ०११ समेत ०० योजित राज प्रधान नेपालीका नाउँमा र..न. ११५७(क) वाट २०५५।७।१२ मा मालपोत कार्यालयवाट हक हस्तान्तरण भएको देखिन्छ । उक्त लिखतलाई वादी गोपाल शक्ति मास्केले २०५६।७।११ मा थाहा पाएको मिति कायम गरी २०५६।८।१०।६ मा वदर गराई पाउन मागदावी लिई फिराद दायर गरेको देखियो ।

४.    फिरादी गोपाल शक्ति मास्केको फिराद लेख हेर्दा जग्गा विक्री गर्ने शोभा मास्के फिरादीको श्रीमती रहेकी र सगोलमा वस्दै आएकोमा २०३८ सालमा जग्गा खरिद गरेको भन्ने उल्लेख भएतापनि फिराद पर्दाको अवस्थासम्म निजहरुको पारिवारिक स्थिति के रहेको भन्ने वारेमा उल्लेख गरेको पाइदैन जसवाट वादी प्रतिवादीको वीचमा मानो चुलो एकै ठाउंमा रहेको मान्नुपर्ने देखियो । त्यसैगरी फिरादीको छोरा गोपेस शक्ति मास्केले प्रस्तुत विवादमा लिखतका सम्वन्धमा २०५५।१०।५ मा नक्कलसारी सुनसरी जिल्ला अदालतमा दे..न. १३५३ र १३५४ को लिखत दर्ता वदर मुद्दा समेत दायर गरेको पनि देखिन आउछ । आफ्नो समेत हक लाग्ने सगोलको सम्पत्ति सगोलको अंशियारले आफूखुसी विक्री व्यवहार गरेमा प्रचलित कानूनका म्याद भित्रै नालेश गरी आफ्नो हकको जति लिखत वदर गराई लिन पाउँछ । मंजुर नहुनेले उमेर पुगेको र हदम्याद भित्र परेको भए लिखत वदरमा नालेश गर्न पाउने हुन्छ । वादी गोपाल मास्के, शोभा मास्के तथा गोपेश शक्ति मास्के एकासगोलमा रहेको अवस्थामा सगोलको एक अंशियारले जग्गा विक्रि गरेको भन्ने विषय थाहा थिएन थाहा पाए पछि नालेस गर्न आएको भनी प्रस्तुत मुद्दामा विवाद उठाएको पाईन्छ । जग्गाको विषयमा आफनो मन्जुरी नभएको भनी २०५५।७।१२ को लिखतका सम्वन्धमा छोरा गोपेशले २०५५।१०।५ मा नक्कल लिई २०५५।११।४ मा नालेश गरेको अवस्थामा सगोलम भरहेको वावुले लिखतका वारेमा थाहा पाइन भन्दाको अवस्थामा सोको कानून सँगत आधार कारण प्रस्तुत गर्नुपर्नेमा वादीवाट तथ्ययुक्त आधार खुलाएको देखिदैन । फिराद लेखमा आफनो हकलाग्ने भन्ने कथन वाहेक २०५५।७।१२ को लिखतका सम्वन्धमा २०५६।८।२० मा मात्र नजालेश गर्नुको कारण खुलाएको पाइदैन ।

५.    लेनदेन व्यवहारको १० नं. हेर्दा लिखतको वारेमा मंजुर नहुनेले लिखत रजिष्ट्रेशन भएको मितिले एकबर्षसम्ममा थाहा पाएको ३५ दिन भित्र उजुर गर्नुपर्ने गरी कानूनी व्यवस्था भएको पाइन्छ । उक्त नम्वरमा एकातर्फ अंशियारको हकको सुरक्षा गरेको पाइन्छ भने अर्को तर्फ साहुको हकको पनि संरक्षण गरेको पाइन्छ । रकम हाली जग्गा खरीद गर्ने साहु सदैव खतरामा रहने भन्ने हुदैन । त्यसको लागी हदम्यादको व्यवस्था गरिएको हो । आफूलाई मन लागेको अवस्थामा लिखतको नक्कल सार्दै हदम्याद कायम गरेर नालिस गर्न पाउने भन्ने ऐनको मनशाय होइन । सगोलमा छोराले थाहा पाएको अवस्थामा सगोलमै रहेका अन्य अंशियारले लिखतको वारेमा थाहा नपाएको भन्ने हुदैन ।

६.    अतः एकासगोलका वावु छोरा मध्ये छोराले थाहा पाएको मितिले हदम्याद भित्र नालेश गरी निजले आफनो हकमा लिखत वदर हुने ठहरी अन्तिम भएको अवस्थामा सोही परिवारका सँगै वसेका वावुले २०५६।७।११ मा मात्र थाहा पाएको भनेकोमा पनि २०५५।७।१२देखि मिति २०५६।८।२० सम्म १ वर्ष १ महिना ८ दिन पछि मात्र फिराद गरेकोबाट समेत लेनदेन व्यवहारको १० न. ११ नं. को विपरीत फिराद गरेकोवाट निजको हकमा लिखत वदर हुने ठहराएको पुनरावेदन अदालत विराटनगरको मिति २०६०।७।१९ को फैसला मिलेको नदेखिंदा उल्टी भै हदम्याद नाघी परेको वादी दावी खारेज हुने ठहर्छ । अरु तपसिल वमोजिम  गर्नु ।

तपसिल

 

माथि इन्साफ खण्डमा वादी दावी खारेज हुने ठहरेकाले पुनरावेदन अदालत विराटनगरको मिति २०६०।७।१९ को फैसला बमोजिम वादी गोपाल शक्ति मास्केलाई कोर्ट फि भराई दिन भनी राखेको लगत अनुसार अव सो रकम भराई दिन नपर्ने हुँदा प्रतिवादीले पुनरावेदन अदालत विराटनगरमा राखेको धरौटी रकम निज प्रतिवादीलाई नै फिर्ता दिनु भनी श्री सुनसरी जिल्ला अदालतलाई लगत दिनु ........१

शुरु सुनसरी जिल्ला अदालतको फैसला बमोजिम ३ भागको १ भाग लिखत दर्ता बदर गरी दिन भनी कायमी लगत अनुसार अब सो बमोजिम गर्न नपर्ने हुनाले सो लगत कट्टा गरी दिन श्री मोरङ्ग जिल्ला अदालतका नाममा लगत दिनु ...............२

दायरीको लगत कट्टा गरी मसिल नियमानुसार बुझाई दिनु ....३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.वलराम के.सी.

 

इति सम्वत २०६५ साल असार १६ गते रोज २ मा शुभम्................

 

इजलास अधिकृत राजेन्द्र कुमार आचार्य

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु