शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७९८३ - अप्राकृतिक मैथुन (जवरजस्ती करणी) ।

भाग: ५० साल: २०६५ महिना: असोज अंक:

निर्णय नं.७९८३     ने.का.प. २०६५ अङ्क ६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री तपबहादुर मगर

माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा

सम्बत् २०६४ सालको फौ.पु.नं.१११

फैसला मितिः २०६५।६।१।४

 

मुद्दा : अप्राकृतिक मैथुन (जवरजस्ती करणी) ।

 

      पुनरावेदक वादीः क कुमारीको जाहेरीले नेपाल सरकार

      बिरुद्ध

      प्रत्यर्थी प्रतिवादीः नवलपरासी जिल्ला, दुम्किवास गा.वि.स.वडा नं.१ घर भै हाल काठमाडौं       महानगरपालिका वडा नं.३५ जडिबुटी बस्ने राजेश क्षेत्री

 

शुरु फैसला गर्ने :

मा.जि.न्या.श्री भरतप्रसाद अधिकारी

पुनराबेदन फैसला गर्ने :

मा.न्या. श्री कृष्णप्रसाद बस्याल

मा.न्या. श्री हरिबहादुर बस्नेत

 

§  बालिकाको मुख, टाउको लगायत शरीरका विभिन्न भागमा लिङ्गको घर्षण गराई पिसाब समेत फेरिदिएको भन्ने आधारमा मात्र पीडित बालिकालाई जवरजस्ती करणी गरेको भन्ने स्थापित नहुने ।

§  पीडित बालिका उपर उल्लेखित यौन दुर्व्यहार गर्दा बालिका रुँदै चिच्याउँदै कोठा बाहिर निस्की आमा भएतर्फ गएकीले प्रतिवादीले जवरजस्ती करणी गर्न नपाएको र जवरजस्ती करणीको अपराधको उद्योगसम्म गरेको देखिंदा उद्योगमा सजाय गर्ने ठहर्‍याएको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला अन्यथा नदेखिएकोले सो फैसला सदर हुने।

(प्रकरण नं.३)

§  मुद्दाको अनुसन्धान तहकिकातको कारवाही जवरजस्ती करणीको उद्योग तर्फ केन्द्रीत भइ अप्राकृतिक मैथुनतर्फ अनुसन्धान तहकिकातको कारवाही भएको देखिएन । तसर्थ  अप्राकृतिक मैथुनको वारदात स्थापित हुने कुनै सवूद प्रमाण संकलन भएको देखिन नआउँदा अप्राकृतिक मैथुनतर्फको कसूर स्थापित हुने अनुसन्धान तहकिकातको अभावमा सो कसूर कायम गरी प्रतिवादीलाई सजाय गर्न नमिल्ने ।

(प्रकरण नं.४)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान का.मु.नायव महान्यायाधिवक्ता श्री सूर्यप्रसाद कोइराला

प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री रामप्रसाद अर्याल र अमिता दिक्षीत

अवलम्वित नजीरः

 

 

फैसला

            न्या.तपवहादुर मगरः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम पुनराबेदन अदालत पाटनको मिति २०६३।१०।४ को फैसला दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

            मिति २०६२।७।२० गते मेरी छोरी बर्ष ५ की ख कुमारीलाई राजेश क्षेत्रीले टाउको र मुखमा पिसाब गरेकाले कारवाही गरिपाऊँ भन्ने क कुमारीको निवेदन ।

            प्रतिवादी राजेश क्षेत्री र हामीहरु एउटै घरमा डेरा लिई बस्दै आएकोमा मिति २०६२।७।२० गते साँझ अं.१९:०० बजे म प्रतिवादी राजेश क्षेत्रीको कोठामा गएको बेला पहिला क्यासेटमा मै छोरी सुन्दरी भन्ने गीत बजाई नाच्न लगायो । त्यसपछि निजको ओछ्यानमा सुत्न लगाई मेरो टाउको तथा शरीरमा निजको लिङ्ग दल्न थाल्यो । मैले उठेर भाग्न खोज्दा भाग्न नदिई मेरो मुखमा निजले आफ्नो लिङ्ग घुसाउन खोजेकोले मैले मुख बन्द गर्दा निजले हातले मेरो मुख खोली लिङ्ग मेरो मुखमा घुसायो । निजले मलाई करणी समेत गर्न खोज्दा म भागी मेरी आमा क कुमारीलाई जानकारी गराएकी हुँ भन्ने पीडित बर्ष ५ की ख कुमारीको कागज ।

            प्रतिवादी राजेश क्षेत्री पनि हामी बसेको घरमा नै डेरा बस्ने गरेको र मेरी छोरी बर्ष ५ की ख कुमारीले निजलाई अंकल भन्ने गर्दथिइन् । मिति २०६२।७।२० गते साँझ पख छोरी खेल्दै तल ओर्लेकी थिइन् । साँझ अं.१९:०० बजे छोरी कोठामा आई मम्मी मलाई तलको राजेश क्षेत्री अंकलले आफ्नो लिङ्ग मेरो मुखमा छिराएर हल्लायो । मेरो टाउकोमा पनि निजले आफ्नो लिङ्ग दल्यो भनी भनेकीले र निज प्रतिवादीले मेरी नाबालक छोरीलाई जवरजस्ती करणी गर्ने उद्योग गरेको हुँदा कारवाही गरिपाऊँ भन्ने क कुमारीको जाहेरी दरखास्त ।

            मिति २०६२।७।२० गते साँझ अं.१९:०० बजेको समयमा आफ्नो कोठामा बसिरहेको थिएँ । पीडित बर्ष ५ की ख कुमारी पहिला पनि मेरो कोठामा आउने गरेको सो दिन पनि निज मेरो कोठामा आइन् र नाच्न थालिन् । त्यसबेला मलाई के भयो के भयो, निजलाई करणी गर्ने इच्छा लाग्यो र निज सानी भएकोले मैले निजको योनीमा करणी नगरी निजको मुखमा आफ्नो लिङ्ग घुसाएर हल्लाएँ र पीडितको टाउको र अनुहारमा समेत आफ्नो लिङ्ग दली निजको टाउकोमा पिसाब गरेको हुँ भनी प्रतिवादी राजेश क्षेत्रीले मौकामा गरेको साबिति बयान ।

            कोठाको उत्तरपट्टि दुई वटा झ्याल रहेको झ्यालको भित्रपट्टिबाट पर्दा लगाएको सोहि झ्यालपट्टि एउटा विस्तारा लगाएको खाट रहेको कुनापट्टि किचन, झ्याल र स्टोव सहितका भाँडाहरु रहेको सोही कोठाको खाटमा राखी पीडित बालिका ख कुमारीलाई प्रतिवादी राजेश क्षेत्रीले जवरजस्ती करणी गर्ने उद्योग गरेको भन्ने घटनास्थल प्रकृति मुचुल्का ।

            प्रतिवादी राजेश क्षेत्रीले जाहेरवालाकी नावालक छोरी ख कुमारीलाई जवरजस्ती करणी गर्ने उद्योग गरेकोमा विश्वास लाग्छ भन्ने अप्सरा थापा र कौशिल्या थापाले गरेको एकै मिलानको कागज ।

            प्रतिवादी राजेश क्षेत्रीले मुलुकी ऐन जवरजस्ती करणीको महलको दफा ९क को कसूर अपराध गरेको देखिंदा निजलाई ऐ.दफा ९क तथा दफा ३ को देहाय १ बमोजिम सजाय गरिपाऊँ र पीडितलाई पुग्न गएको मर्का समेत विचार गरी मनासिव माफिकको क्षतिपूर्ति समेत भराई पाउँ भन्ने समेत व्यहोराको अभियोग माग दावी ।

            मिति २०६२।७।२० गते बिहान ८:०० बजेदेखि बेलुका ८:०० बजेसम्म म आफ्नो ड्युटीमा काम गरी बसेको थिएँ । कोठामा ८:०० बजे मात्र आइपुगेको थिएँ । मैले अभियोग पत्रमा दावी लिए बमोजिम कसूर अपराध गरेको छैन । जाहेरवालासँग फोहोर फाल्ने विषयमा भनाभन भइरहन्थ्यो । मैले ख  कुमारीसँग कुनै पनि अप्राकृतिक मैथुनको कार्य गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी राजेश क्षेत्रीको अदालत समक्षको बयान ।

            प्रतिवादी असल र निरअपराधिक व्यक्ति हुन् । निजले श्रीमती साथै भएको अवस्थामा त्यस्तो ५ बर्षको बच्चालाई अप्राकृतिक मैथुन गर्लान् जस्तो मलाई विश्वास लाग्दैन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी राजकुमारी बस्नेतले गरेको बकपत्र ।

            प्रतिवादीले मै छोरी सुन्दरी भन्ने क्यासेट बजाई मलाई नचाउने गर्दथे । एक दिन मलाई ओछ्यानमा सुताएर निज प्रतिवादीले आफ्नो तुरी मेरो मुखभित्र घुसाउनु भयो र मलाई दुखेकोले रुँदै आमा भएको ठाउँमा गई अश्लिल व्यवहार भएको आमालाई भनेकी हुँ । निजले मेरो जिउको लुगा भरी निजको लिङ्ग दलेका थिए भन्ने समेत व्यहोराको पीडित ख कुमारीको  बकपत्र ।

            मै छोरी सुन्दरी भनेर पीडित छोरीले प्रतिवादीलाई भन्ने गरेको र मलाई मै छोरी सुन्दरीले  सु गरिदियो भनेपछि सो कुराको जानकारी मैले पाएको हो भन्ने समेत व्यहोराको जाहेरवाली क कुमारीले गरेको बकपत्र ।

            आण्टी मलाई मै छोरीले निधारमा टाउकोमा जिउमा मुखमा सु लगाई दियो भनेर पीडितले भनेकी हुन् भन्ने समेत व्यहोराको मौकामा बुझिएकी अप्सरा थापाले गरेको बकपत्र । पीडित बच्चाले मलाई टाउको भरी जिउभरी मुख भरी प्रतिवादीले सु दलिदियो भनेर मलाई सुनाएकी थिइन् भन्ने व्यहोराको मौकामा बुझिएकी कमला बस्नेतले गरेको बकपत्र ।

            प्रतिवादीले पीडित बर्ष ५ की ख कुमारीलाई योनीमा करणी नगरी निजको जीउ शरीर टाउको समेतमा आफ्नो लिङ्ग दली जवरजस्ती करणीको उद्योगसम्म गरेको ठहर्छ । सो ठहर्नाले पीडितको उमेर ५ बर्ष भन्ने हुँदा जवरजस्ती करणीको ३(१) नं.बमोजिम जवरजस्ती करणी गरेको ठहर भए मुद्दाको प्रकृति र अवस्था समेतलाई हेरी १० बर्ष प्रतिवादीलाई कैद सजाय हुनेमा जवरजस्ती करणी र अप्राकृतिक मैथुनतर्फको दावी नपुगी जवरजस्ती करणीको उद्योगसम्म गरेको ठहर भएकोले जवरजस्ती करणीको ५ नं.बमोजिम ऐ.कै ३(१) नं.अनुसार हुन सक्ने सजायको आधा ५ बर्ष प्रतिवादी राजेश क्षेत्रीलाई कैद सजाय हुने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको २०६३।२।४ को फैसला ।

            जवरजस्ती करणी अप्राकृतिक मैथुनतर्फ वादी दावी नपुगेको कुरामा अदालत विश्वस्त भएपछि अभियोगपत्र खारेज गरी प्रतिवादीलाई सफाई दिनुपर्नेमा सो नगरी निर्दोषिताको सिद्धान्तलाई वेवास्ता गरी जवरजस्ती करणीको उद्योग हुनका लागि आवश्यक पर्ने तत्वतर्फ कुनै विवेचना नगरी अनुमानको भरमा गरिएको शुरु फैसला त्रुटीपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी राजेश क्षेत्रीको पुनरावेदनपत्र ।

            मुलुकी ऐन जवरजस्ती करणीको महलको ९क नं.मा कसैले कुनै नावालकसँग कुनै किसिमको अप्राकृतिक मैथुन गरे गराएमा जवरजस्ती करणी गरेको मानी यसै महलको ३ नं.बमोजिम हुने सजायमा थप एक बर्ष कैद गरी त्यस्तो नाबालकलाई निजको उमेर र उसलाई पुग्न गएको मर्का समेत विचार गरी अदालतले अप्राकृतिक मैथुन गर्नेबाट मनासिव माफिकको क्षतिपूर्ति समेत भराई दिनुपर्छ भन्ने कानूनी व्यवस्था रहेकोले प्रस्तुत वारदातमा जवरजस्ती करणी गरेको मानी इन्साफ गर्नुपर्नेमा जवरजस्ती करणीको उद्योग भएको भनी गरेको फैसला कानूनी त्रुटिपूर्ण हुँदा सो हदसम्म बदर गरी प्रतिवादीलाई अभियोग माग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

            प्रतिवादीले पीडित ख कुमारीलाई जवरजस्ती करणी गर्ने उद्योग गरेको पुष्टि हुन आयो । प्रतिवादीले पीडितको योनीमा करणी नगरी निजको मुख शरीर र टाउकोमा लिङ्ग दलेको भन्ने देखिंदा प्रतिवादीको सो कार्यलाई अप्राकृतिक मैथुन तथा जवरजस्ती करणी गरेको ठहराई सजाय गरिपाऊँ भन्ने वादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । प्रतिवादी राजेश क्षेत्रीलाई जवरजस्ती करणीको ५ नं.बमोजिम ऐ.कै ३ नं.अनुसार ५ बर्ष कैद सजाय हुने ठहर गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६३।१०।४।५ को फैसला ।

            करणीको प्रयोजनका लागि प्रकृति प्रदत्त अङ्ग बाहेक अन्य अङ्गहरुमा गरिने मैथुनजन्य कार्य अप्राकृतिक मैथुनभित्र पर्दछ । प्रतिवादीले पीडित बालिकाको मुखमा लिङ्ग घुसाई हल्लाएको, शरीरको विभिन्न भागमा लिङ्गको घर्षण गराई वीर्य स्खलन गराई यौनानन्द प्राप्त गरेको कार्य अप्राकृतिक मैथुन हो । अतः यस्तो आपराधिक कार्य गर्ने प्रतिवादीलाई जवरजस्ती करणीको ९ क नं.बमोजिम जवरजस्ती करणी गरेको मानी उक्त महलको ३ नं.ले हुने सजायमा १ बर्षसम्म थप कैद समेत गर्नुपर्नेमा सो विपरीत जवरजस्ती करणीको उद्योग ठहर गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा जवरजस्ती करणीको ३ र ९क नं.को व्याख्यात्मक त्रुटी भएकाले सो फैसला दोहोर्‍याई हेरिपाउँ भन्ने व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको निवेदनपत्र ।

            पीडित ५ बर्षकी बालिकालाई प्रतिवादीले लिङ्ग खुवाई अप्राकृतिक मैथुन गरेको भन्ने कुरा अदालतमा भएको निजको बकपत्र तथा प्रतिवादीको बयान समेतबाट पुष्टि भइरहेको अवस्थामा त्यस्तो कार्य जवरजस्ती करणीको ९क नं.बमोजिम अप्राकृतिक मैथुन भएको ठहराई सोही महलको दफा ३ बमोजिम हुने सजाय गरी दफा ९क बमोजिम थप सजाय समेत गर्नुपर्नेमा सो नगरी जवरजस्ती करणीको उद्योगसम्म गरेको ठहर्‍याई दफा ३(१) बमोजिम हुने सजायको आधा सजाय मात्र गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसलामा जवरजस्ती करणीको महलको दफा ९क को त्रुटि भएको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२  (१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने व्यहोराको यस अदालतको मिति २०६४।४।१३ को आदेश । 

            नियम बमोजिम दैनिक मुद्दा पेशी सूचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययन गरियो ।

            पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् का.मु.नायव महान्यायाधिवक्ता श्री सूर्यप्रसाद कोइरालाले प्रतिवादीले पीडित बालिकासँग अप्राकृतिक मैथुन गरेको पुष्टि भएपछि जवरजस्ती करणीको ९क नं.अनुसार ऐ.को ३ नं.अनुसार जवरजस्ती करणीमा सजाय गरी थप सजाय समेत गर्नुपर्नेमा सो नगरी जवरजस्ती करणीको उद्योगमा प्रतिवादीलाई सजाय गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकाले उल्टी गरी प्रतिवादीलाई अभियोग माग दावी अनुसार सजाय हुनुपर्दछ भनी बहस गर्नुभयो । प्रत्यर्थीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री रामप्रसाद अर्याल तथा विद्वान् वैतनिक अधिवक्ता श्री अमिता दीक्षितले अप्राकृतिक मैथुन तर्फको अनुसन्धान तहकीकात नै नभएकोले सो प्रमाणित हुन सक्तैन । तसर्थ पुनरावेदन अदालतको फैसला सदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।

            उल्लेखित बहस समेत सुनी पुनरावेदन अदालत पाटनको मिति २०६३।१०।४ को फैसला मिलेको छ छैन भन्ने बिषयमा निर्णय दिनु परेको छ ।

            २.    निर्णयतर्फ विचार गर्दा, प्रतिवादीले अदालत समक्ष बयान गर्दा आरोपित कसूरमा इन्कार रही बयान गरेको भए तापनि प्रहरी समक्ष बयान गर्दा पीडित बालिकालाई ओछ्यानमा सुताई आफ्नो लिङ्ग निजको मुखभित्र हाली हल्लाएको, टाउको लगायत बालिकाको शरीरका विभिन्न भागमा लिङ्ग घर्षण गराएको र पिसाब फेरेको कुरा स्वीकार गरी सविस्तार बयान गरेको  देखिन्छ । प्रहरी समक्षको बयान प्रहरीले जवरजस्ती सहिछाप गराएको बयान हो भनी प्रतिवादीले जिकिर लिए पनि त्यसको समर्थनमा कुनै ठोस सवूत प्रमाण पेश गर्न सकेको देखिंदैन । प्रस्तुत मुद्दाको उठान पीडित ५ बर्षकी बालिका ख कुमारीले घटनाको व्यहोरा आफ्नी आमा क कुमारीलाई सुनाएपछि भएको देखिन्छ । प्रतिवादीले आफ्नो मुखमा लिङ्ग घुसारेको, आफ्नो शरीरको विभिन्न भागमा लिङ्ग घर्षण गराई पिसाब समेत फेरिदिएको तथ्य उसै बखत पीडित बालिकाले आफ्नी आमा जाहेरवाली क कुमारीलाई बताएपछि वारदातको जाहेरी परेको देखिन्छ । पीडित बालिकाले प्रहरीमा कागज गर्दा र अदालतमा बकपत्र गर्दा समेत प्रतिवादीले निज उपर गरेका उल्लेखित यौनजन्य दुर्व्यहारहरु सविस्तार बयान गरेकी छन् । यसबाट समेत प्रतिवादीको प्रहरी समक्षको बयान निजको इच्छा बमोजिम भएको स्वेच्छाको बयान हो भन्ने सिद्ध हुन्छ ।

            ३.    पीडित बालिकाको बयान कागज तथा बकपत्र, प्रतिवादीको अधिकारप्राप्त अधिकारी समक्षको बयान, घटनास्थल प्रकृति विवरण, जाहेरवालाको बकपत्र समेतका मिसिल संलग्न कागज प्रमाणहरुको विवेचना गरी हेर्दा, प्रतिवादीले पीडित बालिकाको योनीमा लिङ्ग प्रवेश गराएको भन्ने देखिंदैन । प्रतिवादीले बालिकाको मुख, टाउको लगायत शरीरका विभिन्न भागमा लिङ्गको घर्षण गराई पिसाब समेत फेरिदिएको भन्ने देखिन्छ । यसबाट प्रतिवादीले पीडित बालिकालाई जवरजस्ती करणी गरेको भन्ने स्थापित हुँदैन । प्रतिवादीले पीडित बालिका उपर उल्लेखित यौन दुर्व्यहार गर्दा बालिका रुँदै चिच्याउँदै कोठा बाहिर निस्की आमा भएतर्फ गएकीले प्रतिवादीले जवरजस्ती करणी गर्न नपाएको र जवरजस्ती करणीको अपराधको उद्योगसम्म गरेको देखिंदा उद्योगमा सजाय गर्ने ठहर्‍याएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०६३।१०।४ को फैसला अन्यथा नदेखिएकोले सो फैसला सदर हुने ठहर्छ। वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

            ४.    प्रस्तुत वारदातको जाहेरी दरखास्तमा जवरजस्ती करणीको उद्योग गरेको भनी अपराधको नामाकरण भएको देखिन्छ । तत्पश्चात् मुद्दाको अनुसन्धान तहकिकातको कारवाही पनि जवरजस्ती करणीको उद्योग भनी त्यसतर्फ नै केन्द्रीत भएको देखिन्छ । अप्राकृतिक मैथुनतर्फ अनुसन्धान तहकिकातको कारवाही भएको देखिंदैन । मिसिल संलग्न अनुसन्धान तहकिकातको कारवाहीबाट अप्राकृतिक मैथुनको वारदात स्थापित हुने कुनै सवूद प्रमाण संकलन भएको देखिन आउँदैन । यसरी अप्राकृतिक मैथुनतर्फको कसूर स्थापित हुने अनुसन्धान तहकिकातको अभावमा सो कसूर कायम गरी प्रतिवादीलाई सजाय गर्न मिल्ने नहुँदा यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गर्दा ग्रहण गरिएका आधारहरुसँग समेत सहमत हुन सकिएन । दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.दामोदरप्रसाद शर्मा

 

इति सम्बत् २०६५ साल असोज १ गते रोज ४ शुभम

 

इजलास अधिकृत : मातृकाप्रसाद आचार्य

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु