निर्णय नं. ८०२२ - कर्तव्य ज्यान ।

निर्णय नं.८०२२ ने.का.प. २०६५ अङ्क १०
सर्वोच्च अदालत, संयुक्त इजलास
का.मु.सम्माननीय प्रधान न्यायाधीश श्री मीनबहादुर रायमाझी
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
सम्बत २०५९ को फौ.पु.नं. ३००६
फैसला मितिः २०६५।३।१०।३
मुद्दा :– कर्तव्य ज्यान ।
पुनरावेदक/वादीः गीता घिमिरेको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः जि.नुवाकोट थप्रेक गा.बि.स.वडा नं. ७ घर भई हाल कारागार शाखा जगन्नाथ देवल काठमाडौंमा थुनामा रहेको कृष्णबहादुर लामा
शुरु फैसला गर्ने –
मा.जि.न्या.दीपककुमार कार्की
पुनरावेदन फैसला गर्नेः
मा.न्या. दामोदरप्रसाद प्रजापति
मा.न्या.श्री भुपध्वज अधिकारी
§ ज्यान सम्बन्धीको १३ नं. अन्तर्गतको अपराधमा ज्यान मार्ने मनसाय निहीत हुन्छ । जोखिमी हतियारले प्रहार गरेकोमा मनसाय नभएपनि वा तत्काल आवेशमा प्रहार गरेको कारण ज्यान मर्न पुगेको भएपनि उक्त १३ नं. आकर्षित हुने ।
§ साधारण लाठा, ढुंगा, लात, मुक्का इत्यादि बाहेक अन्य तरिकाले ज्यान मारेकोमा त्यस्तो आपराधिक कृत्यका सम्बन्धमा ज्यानसम्बन्धीको महलको १४ नं. आकर्षित हुन नसक्ने ।
§ मार्ने मनसाय भन्ने कुरा अघिदेखिको हुनुपर्छ भन्ने होइन । जुनसुकै बखत पनि मार्ने उद्देश्यले कुनै कार्य गरिन्छ भने त्यो कर्तब्य गरी मारेको हत्याकै बर्गमा पर्न जाने ।
(प्रकरण नं.३)
§ कुटपिट पश्चात् अर्को कृत्य अर्थात जीउदै बालुवामा पुरेको र सोही कारण निसास्सिएर मृत्यु हुन पुगेको यस्तो निर्दयी र पासविक घट्नालाई ज्यान सम्बन्धीको १४ नं. ले समेट्ने स्थिति नदेखिने ।
(प्रकरण नं.५)
§ आफैले गरेको पुनरावेदनबाट न्याय प्राप्त गर्नु अघि नै पुनरावेदनको नतिजालाई निरर्थक वा प्रभावित गर्ने हिसाबले सरकारको अर्को अंगले कैद मिन्हा गर्दा सरकारले गरेको आफ्नै पुनरावेदनको औचित्यमा प्रश्न खडा हुने ।
§ कैद मिन्हा नै दिने लक्ष्य हो भने भएको सजायमा पुनरावेदन गर्नुको प्रयोजन नदेखिँदा सरकारको तर्फबाट एउटा निकायले पुनरावेदन गरेको अवस्थामा सरकार मातहतको अर्को निकायले सो पुनरावेदन बिचाराधीन रहेकै अवस्थामा थुनुवालाई मुक्त गरिदिने कार्यले अदालतबाट भएको फैसला र यसको कार्यान्वयनमा समेत प्रत्यक्ष असर पर्ने ।
(प्रकरण नं.८)
पुनरावेदक वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री प्रेमराज कार्की
प्रत्यर्थी प्रतिवादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.कल्याण श्रेष्ठः पुनराबेदन अदालत पाटनको मिति २०५८।१२।१२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी तर्फवाट यस अदालतमा पुनरावेदन परी पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः–
मेरा पति वलराम घिमिरे काठमाडौंमा जग्गा सम्बन्धी काम गरी हिड्नु हुन्थ्यो । मिति २०५३।८।३ का दिन डेरामा चिया खाई साथीकहाँ जान्छु भनी डेरावाट निस्कनु भएकोमा सो दिन बेलुका डेरामा फिर्नु भएन, बेलुका बालाजु नयाँ बसपार्कमा हिडीरहनु भएको कुरा बुझियो । मिति २०५३।८।४ का दिन मेरो डेरा अगाडि बस्ने दर्जीले तपाईको पति बिष्णुमती पुलदेखि उत्तर पट्टि खोलाको वगरमा मृत अवस्थामा हुनुहुन्छ भनी खवर दिएकोले हेर्न जाँदा पतिको शरीरमा निलडाम भै मृत अवस्थामा देखें । के कसले कर्तव्य गरी मारेका हुन्, अनुसन्धान गरी कारवाही गरिपाऊँ भन्ने समेत जाहेरी दरखास्त ।
का.जि.गोगंवु गा.वि.स.वडा नं. ६ स्थित बिष्णुमतीको खोला वगरमा लास रहेको लास घिसारिएको जस्तो वालुवामा दाग देखिएको वालुवामा रगत लागी भिजेको भन्ने समेत घटनास्थल प्रकृति मुचुल्का ।
निधारमा निलो दाग, दाहिने कन्चटमा दाम, नाकवाट रगत वगी सुकेको, मुखवाट रगत निस्कीएको सम्पूर्ण कपडामा रगत लागेको घाँटीमा वालुवा रगत लागेको भन्ने समेत लास प्रकृति मुचुल्का ।
मिति २०५३।८।३ मा दिनभर काम भरी साँझ दिदीसँग सुत्न गएँ, दिदी आसामाया राती खोलामा वालुवा झिक्नु जानु भयो, वालुवा झिकी फर्कदा वलराम घिमिरेसँग वादविवाद भएको सुनेर ब्युंझिए । कृष्णे मामा आई वालुवा भुईमा फाली मृतकलाई हिर्काए । निज मानिस भागेर कोठातर्फ आउँदा कृष्णे मामाले त्यसपछि पनि पिट्दै गरेकोमा निज लडी वावा मरे भनी चिच्चाए, कृष्णे मामाले मृतकको जिउ भरी बालुवा राखे । त्यस बेलामा जितवहादुर तमाङ्ग र कृष्णको जेठान आए । निजहरुले सम्झाउँदा पनि नमानी कृष्णले मृतकलाई कुट्दै खुट्टामा समाती पारी खोलामा फाली दिन्छु भनी घिसार्दै खोलातर्फ लिएर गर्यो । भोलिपल्ट विहान निज कृष्णेले मेरो दिदीलाई पैसा चाहियो भनी रु. २००।– मागी लगे भन्ने सरीता सुब्बाको कागज ।
मिति २०५३।८।३ का राति १२।१ वजेतिर ढोका ढकढकाएको आवाज आयो, को रहेछ भनी हेर्दा दिलवहादुर तामाङ्ग र कृष्णे दाईको जेठान रहेछन्, के भो भनी सोध्दा कृष्णले एकजनालाई पिटेर मार्न लाग्यो भनी वतायो, म हेर्न जाँदा कृष्णले वलराम घिमिरेलाई हात खुट्टाले पिटिरहेको थियो, मैले नपिट भन्दा यस्तो मानिसलाई पिट्नै पर्छ, ल तिमी पनि यसको मुखमा पिसाव गर भने मैले मानेन । निजले वेहोस भएको मानिसको मुखमा पिसाव गर्यो भन्ने समेत बीरवल लिम्वुको कागज ।
मिति २०५३।८।३ का दिन मेरो छोरीको न्वारन भएकोले मैले पहिलेदेखि चिनेका कृष्णबहादुर तामाङ्ग मेरो कोठामा आई एक प्लेट मासु र ४ गिलास रक्सी खाए, दिनभरीको कामले गर्दा मैले पनि रक्सी खाई सुतें । राती मलाई केहि थाहा भएन, भोलिपल्ट बिहान कृष्णले बलराम घिमिरेलाई कुटपिट गरी खोलामा फालेको छ भनी थाहा पाएँ भन्ने समेत कुमार सुव्वाको कागज ।
का.जि.गोंगवु गा.वि.स.वडा नं.६ स्थित खाली जग्गामा बालुवा थुपारी राखेको सो वालुवा थुपारेको ठाउँवाट सावेल, थुन्छे, नाम्लो समेत वरामद भएको भन्ने समेत वरामदी मुचुल्का ।
कृष्णवहादुर तामाङ्ग पक्राउमा पर्दा निजले लगाएको ज्याकेटमा रगत जस्तो देखिने रातो दाग भएको ज्याकेट वरामद भएका हो भन्ने समेत वरामदी मुचुल्का ।
मिति २०५३।८।३ का दिन साँझसम्म काम गरी रक्सी खाई सुतियो, विहान उठी वीरवल सुव्वाले हिजो राती कृष्ण लामाले मान्छे कुटी मारी फालेको छ भने पछि बीरवल, म र कुमार सुव्वा भै प्रहरीलाई खवर गरेका हौं भन्ने समेत पदमबहादुर खवासको कागज ।
मिति २०५३।८।४ का दिन कृष्ण लामाले मान्छे मार्यो भनी हल्ला खल्ला भयो को को भै कर्तव्य गरी मारेका हुन् कृष्ण लामालाई थाहा होला भन्ने समेत रामवहादुर तामाङ्गको कागज ।
वरामदी मुचुल्का साथ दाखिला हुन आएको सामानमध्ये जिनको ज्याकेट, टोपी कसको हो थाहा भएन । सावेल, थुम्छे, नाम्लो कृष्णवहादुर लामाले वालुवा चोरी वोक्ने थुपार्ने सामान हुन् भन्ने समेत कुमार सुव्वा लगायतका मानिसहरुको सनाखत–कागज ।
वरामद भई आएको सावेल, थुन्छे, नाम्लो राती बालुवा वोक्ने प्रयोग गरिएको मेरै सामान हुन् । विष्णुमती खोलावाट बालुवा चोरी बिक्री गर्ने गरेको थिएँ, कुमार सुव्वा वीरवल सुव्वा र अकलवहादुर तमाङ्गसँग सोही क्रममा चिनजान भएको थियो । मिति २०५३।८।३ का राती रक्सी मासु खाएँ, राती १० बजेतिर सधैं जस्तै बिष्णुमती खोलामा बालुवा चोर्न जाने सल्लाह गरी अकलवहादुर तमाङ्ग, निजको जेठान समेत भै आसामाया वुढामगरको कोठामा गयौं । चार जना भै बिष्णुमती खोलामा मैले बालुवा थुपार्ने अरुले वालुवा वोक्ने काम गरे, राती अन्दाजी १ बजेतिर आसामाया वालुवा वोकी गएको अवस्थामा बलराम घिमिरेसँग वादविवाद भैरहेको देख्दा किन वादविवाद गरेको भनी सोध्दा निजले म वसपार्कवाट आएको पुलिस हुँ, वालुवा चोरी गर्न पाउँदैनौ भनी मैले वोकेको थुन्छे झारी दियो, मलाई रीस उठी निजको पेटमा मुखमा मुक्काले हान्दा हान्दै निज लड्यो अकलवहादुर र निजको जेठानले पनि लात र मुक्काले हाने । वेहोस भएपछि आसामाया र अकलवहादुर निजको जेठान भागी गए । मैले अब वाटोमा यसलाई छाड्नु हुँदैन भनी खुट्टामा समाती घिसारेर वालुवाको ढिस्कोमा लगी मुखमा छातीमा सावेलले वालुवा हाली पुरें, तहाँवाट पनि पुनः निजलाई फोहर फाल्ने ठाउँमा लगी फालेको हुँ, निजको मुखमा र जिउ भरी पिसाव गरी टाउकोको केश समाती यताउता पारी त्यही छोडी गएँ । आसामाया दिदीले भोलिपल्ट पुलिसले समाउँछ भाग भनेको हुँदा सो ठाउँवाट भागी हिडेको हुँ भन्ने समेत अभियुक्त कृष्णवहादुर लामाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।
अकलबहादुर तमाङ्ग र निजको जेठान आई कृष्णले मानिस पिटेर मार्न थाल्यो भन्दा म गई हेर्दा कृष्ण लामाले मृतक वलराम घिमिरेलाई हातले खुट्टाले पिटीरहेको थियो, मैले नपिट भन्दा यस्तो मानिसलाई मार्नुपर्छ, यसको मुखमा पिसाव गर भन्यो, मैले मानिन । निजले मृतकको मुखमा पिसाव गर्यो, हात मुक्का लाताले हानी कृष्ण लामाले निजलाई बेहोस गराई फोहर फाल्ने ठाउँमा फाल्यो, म डरले सुत्न गएँ भनी वीरवल सुव्वाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।
मिति २०५३।८।३ का राती सुतिरहेको अवस्थामा कृष्णवहादुर लामा र अरु दुई जना समेत गरी तीन जना मेरो कोठामा आई वालुवा झिक्न जाउँ भनी हामी चार जना भै बिष्णुमतीको खोलामा गयौं, कृष्णवहादुरले वालुवा थुपारी थुन्छेमा पारी दिने र हामी तिन जनाले वोक्ने गर्यौं, तेस्रो पटकको पालीमा वलराम घिमिरे आई मेरो हात समात्यो र म बसपार्कवाट आएको हुँ थानामा हिड भन्यो, मेरा साथीहरु पनि छन् भन्दै गर्दा कृष्ण लामा आई पुग्यो, निज कृष्ण लामाले थुन्छे झारी मुक्काले र लातले बलरामलाई पिट्न थाल्यो, निज बेहोस भै लडेपछि घिसार्दै लग्यो, खोलावाट घिसार्दै ल्याई वालुवाले पुर्यो, एकछिन पछि फेरि पुरेको ठाउँबाट निकाली खोलामा लगी फालेर आए, भोलिपल्ट उठेर दिसा पिसाव गर्न खोलातर्फ जाँदा वलराम घिमिरेलाई मृत अवस्थामा देखि कृष्णे लामा मेरो कोठामा आई भाग्नलाई खर्च छैन भन्दा रु. २००।– दिई पठाएं भन्ने समेत आसामाया वुढा मगरको अधिकार प्राप्त अधिकारी समक्ष भएको वयान ।
छोरा वलराम घिमिरे मेरो एउटै छोरा हुन् । निज छोरा वुहारी गिता र म समेत गोगंवुमा डेरा गरी बसेका थियौं । मिति २०५३।८।३ गतेका दिन छोरा चिया खाएर साथी भेट्न भनी हिंडेका थिए, राती घर फर्केनन् । भोलिपल्ट खोजतलास गर्दा छोराको मृत लास भेटियो । छोरालाई कृष्णबहादुर लामा समेतले कुटपिट गरी मारेको भन्ने थाहा पाएको हुँ भन्ने चेतकुमारी घिमिरेको कागज ।
मिति २०५३।८।३ राती बलराम घिमिरेलाई कृष्णवहादुर लामा समेतले वालुवा चोरी गर्न नदिएको सम्बन्धमा कुटपिट गरी मारेको भन्ने सुनि थाहा पाएको हुँ भन्ने समेत कृष्णप्रसाद घिमिरेको कागज ।
एक्स्पेसिया र कोमाको कारणवाट मृत्यू भएको हो, मृतकको शरीरमा कुटपीट गरिएका विभिन्न चोटपटक कारणबाट समेत मृत्यू भएको हो, श्वास प्रश्वास नलीमा वालुवा रहेको जुन वालुवा मृत्यु पूर्व निजलाई पुरिएको कारणवाट परेको हो भन्ने समेत पोष्टमार्टम रिपोर्ट ।
मृतक वलरामलाई कृष्णवहादुर लामा, अकलवहादुर तमाङ्ग र अकलवहादुरको जेठान समेतले कुटपीट गरी विभिन्न शारिरीक यातना दिई कर्तव्य गरी मारेको प्रष्ट रुपमा देखिएको हुँदा प्रतिवादी कृष्णवहादुर लामालाई र अकलवहादुर तामाङ्गलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १, १३(३) नं. बमोजिमको कसूर अपराधमा सोही ऐनको १३(३) नं. बमोजिम सजाय हुन माग दावी गरिएको छ ।
प्रतिवादी आसामाया वुढामगरले मृतक वलरामलाई कृष्णवहादुर लामाले आफ्नो अगाडि कुटपिट गरी घिसारी फालेको भोलिपल्ट विहान वलराम मृत अवस्थामा देखेपछि कृष्णवहादुर लामाले रु.२००।– लिई भागेको हुँ भनी वयान गरेकोवाट प्रतिवादी आसामायालाई वलरामको मृत्यू भएको कुरा जानकारी भएर पनि मार्ने मानिस कृष्णवहादुरलाई रु. २००।– दिई भाग्ने प्रेरणा दिई कतै जाहेर नगरेको देखिन्छ । प्रतिवादी वीरबल सुव्वाले पनि मृतक वलरामलाई कृष्णवहादुरले कुटपीट यावत कार्य गरी मारिसकेको कुरा चाल पाएर पनि जाहेर नगरी चुप लागी बसेको प्रमाणबाट देखिंदा निजहरु दुवैजनालाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको २२ नं. बमोजिमको कसूर अपराधमा ऐ.को २५ नं. बमोजिमले २०।– जरिवाना हुन माग दावी गरिएको छ । प्रतिवादी अकलवहादुर तमाङ्गको जेठान भन्ने मानिसको हालसम्म नाम थर वतन प्रष्ट खुल्न नसकेको हुँदा पछि स–प्रमाण सो खुली आएका अवस्थामा अ.वं. ८८ नं. बमोजिम छुट्टै अभियोग पत्र प्रस्तुत गरिने छ, फरारी प्रतिवादी अकलवहादुर तामाङ्गका हकमा सम्मानित अदालतवाटै कानून वमोजिम म्याद जारी गरी पाउन अनुरोध गर्दै सम्बन्धित मिसिल कागजात तथा अभियुक्तहरु कृष्णवहादुर लामा, आसामाया वुढामगर र बीरवल सुव्वालाई यसै साथ प्रस्तुत गरिएको ब्यहोरा अनुरोध छ भन्ने समेत अभियोग पत्र ।
म कृष्णवहादुर समेतसँग वालुवा लिन खोलामा गएको छैन । मेरो कृष्णवहादुर भन्नेकै नजिकमा डेरा गरी बसेको कारणबाट त्यहाँका मानिसले भनेकै भरमा मात्र मलाई मुद्दा चलाएको हो, मलाई कृष्णवहादुरले मृतकलाई कुटपिट गरेको कुरा भनेका छैनन्, म वाट कृष्णवहादुर लामाले रु. २००।– सापटी लिएका छैनन्, मलाई कुटपीटको कुरा थाहा छैन । मैले कुटपीटको कुरा थाहा पाई अरु कसैलाई खवर नगरेको होइन । तसर्थ मलाई सजाय हुने होइन भन्ने समेत प्रतिवादी आसामाया वुढा मगरले २०५३।९।२।३ मा अदालतमा गरेको वयान ।
मैले कुटपीटको कुरा थाहा पाएको थिइन, भोलिपल्ट अर्थात ४ गते गाउँका मान्छेहरु भिड भएको देखेपछि कृष्णवहादुरले मान्छेलाई कुट्यो भन्ने सुनेको हुँ , मैले कुटपीटको कुरा थाहा पाएर लुकाएको होइन । मैले कुनै अपराध गरेको छैन । प्रहरीले मलाई पक्राउ गरी लग्यो र सहि गर भनी कागजमा सहि गराएको हो । कृष्णवहादुर, आसामायाले मौकामा र अदालतमा गरेको वयान के हो ? मलाई थाहा छैन । मैले कुनै कुरा थाहा पाएको छैन, के के लेखें निजहरु नै जानून् । मैले केहि गरेको नहुँदा सजाय नहोस् भन्ने समेत प्रतिवादी बीरवल सुव्वाले शुरु अदालतमा गरेको वयान ।
म ज्यामी काम गर्ने मान्छे भएकोले विष्णुमती खोलामा गै वालुवा समेत थुन्छेमा वोकी ल्याई अगाडि २।४ भारी जम्मा गरेपछि साहुहरुले मांगे वमोजिम निजहरुलाई घरमा पुर्याई दिने काम गर्दथे । यसै क्रममा मिति २०५३।८।३ गते राती अन्दाजी १० बजेको समयमा बिष्णुमती खोलामा म समेतका आसामाया र अन्य ३ जना गरी ५ जना वालुवा लिन भनी गई थुन्छेमा वालुवा भराइ रहेको अवस्था अचानक के कतावाट हो, मृतक आएर यो वालुवा नझिक पुलिसमा लैजान्छु भनी नानाथरी मनपरी गाली गलौज गर्न लाग्यो । निज रक्सीले मातेका रहेछन् र मैले वोकी ल्याएको थुन्चे समाती लडाई दियो र मेरो कठालो समात्यो र मैले छोड भन्दा मान्दै मानेन र मैले १ एक मुड्की मुखमा हिर्काउदा निजको कन्चटमा लागेछ क्यार निज उछीट्टिएर नजिकमा भएको तारमा अल्झिएर लडे र मुख सोहोरीन पुगेछ । त्यहाँ वालुवा भर्ने भराउने अरु सबै हिंडे । मैले निज व्यक्तिलाई गम्भीर अवस्थामा देखें र निजले लगाएको कालो सुइटरको छातीको भागमा समाती घिसारेर लिएर मैले खोलाको छेउमा छोडी दिएँ । त्यसवखत निज व्यक्तिको होस थिएन निजलाई मैले एक मुड्की हान्दै होस सकिसकेको थियो । त्यसपछि म कोठामा गएर सुते । एकछिन पछि मैले फेरी गर्न गएँ तर त्यसवखत निज मरी सकेका रहेछन् अनि त्यसलाई त्यही छाडी हिंडे । भोलिपल्ट विहान ५.३० बजेको समयमा आसामायाका घरमा गएर सबै कुरा वताए । साथीहरुले मलाई उक्त ४ गतेका दिन मैतीदेवीमा वोलाएकाले आसामायासँग रु.२००।– सापटी लिई मैतीदेवीमा आउँदा साथीहरुसँग भेट हुन सकेन र आफ्नो डेरा तर्फ जाँदै गर्दा वाटैमा प्रहरीले पक्राउ गरी लगेको हो । मृतकको नाम हाल थाहा पाउँदा वलराम रहेछ । निजलाई मैले मात्रै एक मुड्की हानेको हो, अरु कसैले हिर्काएको छैन । मारौं भन्ने विचारले मैले वलरामलाई हिर्काएको होइन । एक मुडकी हान्दैमा मरेको हुँदा मैले कर्तव्य गरी जानीजानी मारेको होइन । मैले भाग्ने गरी पैसा लिएको होइन । मैले एक मुक्का सम्म प्रहार गरेकै हो तर त्यतिले मर्छ होला भन्ने लागेको थिएन । तर मरी हाल्यो । मैले कर्तव्य गरेको होइन । यहि एक मुक्का हिर्काउदै गरेको कुरा हुँदा कानूनले जो ठहर्छ । तर कर्तव्य गरेको होइन भन्ने समेत कृष्णवहादुर लामाले शुरु अदालतमा गरेको वयान ।
मिसिल प्रमाण कागजातवाट यी प्रतिवादी कृष्णवहादुर लामा कसूरदार रहेछन् भन्ने मनासिव आधार देखिंदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी निज कृष्णवहादुरलाई अ.वं. ११८ नं. को देहाय (२) नं. बमोजिम पूर्पक्षका लागि थुनामा राखी कार्यवाही गर्न अ.वं. १२१ नं. बमोजिम पूर्जि दिई कारागार शाखामा पठाई दिनु । प्रतिवादी आसामाया, बीरवलले अदालतमा कसूरमा इन्कार रही वयान गरेका छन् तापनि मौकामा वयान गर्दा स्वीकारोक्ति वयान गरेका र प्रतिवादी कृष्णवहादुरले अदालतमा वयान गर्दा कुटपिटको कुरा आसामायालाई भनी रु.२००।–सापटी लिई गएको भनी वयान गरे समेतवाट यी प्रतिवादीलाई समेत कुटपीटको कुरा थाहा थिएन भनी भन्न सकिने अवस्थाको विद्यमानता नभै तत्काल प्राप्त प्रमाणबाट यिनीहरुले पनि दावीको कसूरमा संलग्नता देखाएको भन्ने अवस्था भएकोमा निजहरुलाई हुन सक्ने सजाय समेतको सजाय हिरासतमा वसी भुक्तान भैसकेको देखिंदा पछि ठहरे वमोजिम हुने गरी हाल आसामाया र बीरवललाई अ.वं. ४७ नं. वमोजिम पूर्पक्षका लागि तारेखमा राख्नु । वरामद भएको सामान जिन्सीमा आम्दानी वाध्नु र फरार रहेका अकलवहादुरका नाउमा कानून वमोजिमको वारेण्ट सहितको ७० दिने म्याद जारी गरी हाजिर भए गुजारेपछि पेश गर्नु भनी अ.वं. १२४(ग) नं. वमोजिम शुरु जिल्ला अदालतबाट भएको आदेश ।
यसमा प्रतिवादीमध्ये अकलवहादुर तामाङ्गका नाउँको म्यादी पूर्जीमा स्पष्ट वतन नखुलेकोले म्यादी पूर्जि र पक्राउ पूर्जि फिर्ता पठाएकोले निज प्रतिवादीको अभियोग पत्र वाहेक अन्य वतन जि.स.व.का मार्फत खुल्न लगाई खुल्न आएमा पुनः म्याद जारी गर्नु र खुल्न नआएमा नियमानुसार पेश गर्नु भन्ने समेत अदालतको आदेशानुसार जि.स.व.का. लाई पत्राचार गर्दा निज प्रतिवादी अकलवहादुर तामाङ्गको वतन अभियोग पत्रमा उल्लेखित वतन वाहेक अन्य वतन नभएको भनी च.नं. ४२९३ मिति २०५६।१०।२१ मा जवाफ आएको ।
प्रतिवादी अकलवहादुरको नामको म्याद वेपत्ता तामेल भै सो को तामेली प्रति समेत मिति २०५३।१२।६ को पत्र साथ पठाई सकेको भन्ने जि.प्र.का. नुवाकोटको मिति २०५५।२।१५ समेतको पत्र भए पनि तामेली म्याद भने छैन । तथापि सरकारी पक्षलाई वारम्वार ताकेता गर्दा पनि निज प्रतिवादीको सोही वतन देखाउन नसकेको हुँदा ३ बर्ष भन्दा पुरानो मुद्दा थुनुवा हुँदा अव पनि वेपत्ते व्यक्तिकै सोधखोज गर्नु उपयुक्त नहुँदा प्रतिवादीहरुले साक्षी राखेको नदेखिंदा अभियोग पत्रमा उल्लेखित सरकारी पक्षका साक्षीलाई सम्बन्धित प्रहरी कार्यालयवाट झिकाई आए बकपत्र गराउने वा अवधि नाघेपछि इजलास समक्ष पेश गर्नु भन्ने शुरु अदालतको २०५६।११।११।४ को आदेश ।
प्रतिवादी कृष्णवहादुर लामालाई ज्यान सम्बन्धी महलको १४ नं. बमोजिम १० बर्ष कैद हुने, प्रतिवादी बीरवल सुव्वा र आसामाया वुढामगरलाई ज्यान सम्बन्धी महलको २५ नं. वमोजिम जनही रु. २०।– जरिवाना हुने र प्रतिवादी अक्कलवहादुर तामाङ्गको हकमा वारेन्ट सहितको म्याद जारी भई गएकोमा म्याद तामेल नै नभई फिर्ता आएको र अर्को वतन समेत खुली आएको नदेखिएकोले निज हाजिर वा पक्राउ भई आएमा उसै वखत कारवाही र किनारा गर्ने भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०५६।१२।१७ को फैसला ।
प्रतिवादी कृष्णवहादुरले रातको समयमा नदी किनारमा मृतकलाई पटक पटक चोट प्रहार गरी घिसार्ने र वालुवाले पर्ने समेतको कार्य गरी लामो समयसम्म वारदातमा संलग्न रहेको समेतको कार्यवाट नै ज्यानै लिने मनसायले सो कार्य गरेको तथ्य पुष्टि भएको अवस्था हुँदाहुँदै अभियोग दावी घटाई आवेश प्रेरित हत्याको कसूर कायम गरी घटी सजाय गरेको र प्रतिवादी अक्कलवहादुर तामाङ्गको म्याद तामेलीको कार्यविधि समेत पुरा नगरी हाजिर वा पक्राउ भै आएमा उसै वखत कारवाही र किनारा गर्ने भनी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा वदर गरिपाऊँ भन्ने वादी पक्षको पुनरावेदन अदालतमा परेको पुनरावेदन ।
यसमा लास प्रकृति मुचुल्का समेतको आधारमा शुरु फैसला फरक पर्न सक्ने देखिंदा छलफल निमित्त प्रत्यर्थी झिकाउने भन्ने पुनरावेदन अदालतको आदेश ।
प्रतिवादी अक्कलवहादुर फरार रहेको देखिंदा अ.वं. १९० नं. बमोजिम मुलतबीमा राखी अंश रोक्का गरी सो ऐनले व्यवस्था गरेको अवधि पश्चात मुद्दा खडा गरी वुझेसम्मको प्रमाणबाट ठहरे बमोजिम फैसला गर्नुपर्नेमा सो नगरेको हदसम्म मिलेको देखिएन । सो बाहेक प्रतिवादी कृष्णवहादुर लामालाई ज्यान सम्बन्धीको १४ नं. को कसूर गरेको ठहर्याई १० (दश) बर्ष कैद सजाय गर्ने गरेको काठमाडौं जिल्ला अदालतको फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । निज प्रतिवादी कृष्णवहादुरलाई ज्यान सम्बन्धीको १३(.३) नं. बमोजिम सजाय हुनुपर्छ भन्ने बादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्र.अक्कलबहादुरको हकमा अ.बं. १९० नं. बमोजिम मुलतबी राखिदिनु भन्ने पुनरावेदन अदालत पाटनबाट मिति २०५८।१२।१२ मा भएको फैसला ।
प्रतिवादीले मुख,कन्चट,पेटमा प्रहार गर्दा मृतक ढलेको अवस्था, प्रतिवादीहरुले बेहोस भैसकेको मानिसलाई पुनः अरु कर्तव्य गर्नुपर्ने अबस्था नदेखिएकोमा यत्रतत्र पटक पटक कुटपिट गरी घिसार्दै लगी बालुवामा पुर्नुको साथै मुखमा बालुवा हाली दिएको र पुनः बालुवावाट झिकी घिसार्दै फोहोर फाल्ने ठाउँमा फालिदिएको अवस्थाबाट एकपछि अर्को क्रुरता प्रदर्शन गर्दै मारेकोलाई तत्काल उठेको रीसको संज्ञा दिन मिल्ने नहुँदा ज्यान सम्बन्धीको १४ नं. लगाई कम सजाय गरेको पुनरावेदन अदालतको फैसला सो हदसम्म उल्टी गरी अभियोग माग दावी अनुसार सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
श्वास नलीमा बालुवा भएको, श्वास अवरुद्ध भई मृत्यू भएको, जीउँदो छँदै बालुवामा गाडेको भन्ने शव परीक्षण प्रतिबेदनवाट देखिएको र बालुवा झिक्ने बिषयमा वादविवाद कुटपिट गरी लडेपछि घिसारी ल्याई बालुवा थुपारिएको ठाउँमा वालुवामा गाडी मुखभित्र वालुवा हाली मारेको भन्ने समेत व्यहोराको निजको अनुसन्धान अधिकारी समक्ष बयान भएको, सो बयान पोष्ट मार्टम रिपोर्ट, लाश जाँच प्रतिवेदन समेतवाट समर्थित भएको अवस्थामा आकर्षित नै हुन नसक्ने ज्यान सम्बन्धीको १४ नं. बमोजिम प्रतिवादीलाई सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम प्रतिवादीलाई पेशीको सूचना दिई पेश गर्नु भन्ने यस अदालतको मिति २०६१।२।१५ को आदेश ।
उक्त आदेश अनुसार प्रतिवादीलाई कारागार शाखा काठमाण्डौमा लेखी पठाउँदा उक्त कार्यालयको च.नं. ६३७५, मिति २०६१।३।१५ को प्राप्त पत्रबाट निज प्रतिवादी कृष्णबहादुर लामा २०५८।११।७ गते ५२औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा माफी मिन्हाबाट पचास प्रतिशत कैद भुक्तान गरी कारागारबाट मुक्त गरेको अभिलेखबाट देखिएको भन्ने उल्लेख भई आएको ।
नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक/वादी नेपाल सरकारको तर्फवाट उपस्थित सह–न्यायाधिवक्ता श्री प्रेमराज कार्कीले वारदातको प्रकृतिवाट प्रतिवादीले मृतकलाई पटक पटक शरीरका विभिन्न ठाउँमा प्रहार गरी बालुवामा पुरी मुखमा वालुवा समेत हाली दिई कर्तव्य गरी निर्ममतापूर्वक मारेको स्पष्ट भइरहेको अवस्थामा ज्यान सम्बन्धीको १४ नं. लगाई कम सजाय गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छैन । त्यसैले प्रतिवादीलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्व सहित जन्मकैदको सजाय होस भन्ने समेत बहस गर्नुभयो । उपर्युक्त बहस जिकिर समेतलाई मध्यनजर गरी देहायका प्रश्नमा निर्णय दिनुपर्ने देखियो :–
(क) प्रतिवादीले गरेको आपराधिक कृत्यका सम्बन्धमा ज्यान सम्बन्धीको १३ नं. वा १४ नं. कुन आकर्षित हुने हो ?
(ख) पुनरावेदन अदालत पाटनले प्रतिवादी कृष्णबहादुर लामालाई ज्यान सम्बन्धी १४ नं. बमोजिम सजाय गरेको फैसला मिलेको छ, छैन ? बादी पक्षको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ?
उपरोक्त प्रश्नहरुतर्फ विचार गर्नु अघि प्रस्तुत मुद्दामा रहेको तथ्य र हाल सम्मको अवस्थाको संक्षिप्त उल्लेख गर्नु सान्दर्भिक हुने देखिन्छ । मिति २०५३।८।३ का दिनको ४.०० बजेतिर डेरामा चिया खाई साथिकहाँ तिर गएर आउछु भनी हिडेका पति नआउनु भएको, ऐ.४ गते बिहान मेरो डेरा अगाडि पसल गर्ने नाम थाहा नभएका दर्जी मेरो डेरामा आई तपाईको पति बिष्णुमती पुल नजिक बिष्णुमती खोलाको बगरमा मृत अवस्थामा छन् भनी खबर गरेको र गई हेर्दा निज पतिको जीउमा निल डाम भएकोले को कसले कर्तव्य गरी मारेका हुन्, खोजी गरी कानून बमोजिम कारवाही गरिपाउँ भनी मृतकको पत्नी गिता घिमिरेको जाहेरी पश्चात प्रस्तुत मुद्दाको अनुसन्धान तहकिकात भएको पाईन्छ । घट्नाको अनुसन्धान तहकिकातवाट मृतक बलराम घिमिरेलाई २०५३।८।३ गते राती बालुवा चोर्न झिक्न बिष्णुमती खोलामा गएका कृष्णबहादुर लामाले आफूहरुलाई सो खोलाको बालुवा झिक्न नदिन मृतकले धम्की दिएको कारण कुटपिट गरी बालुवामा पुरी मुखमा वालुवा खाँदी मारी घिसारी फोहोर फाल्ने ठाउँमा फ्याकेको देखिएको आधारमा अभियुक्त कृष्णवहादुर लामा र अक्कलबहादुर तामाङ्गलाई मुलुकी ऐन ज्यान सम्बन्धीको १३(३) नं.बमोजिम सजाय हुन र कृष्णवहादुरले मृतकलाई आफ्नो सामुन्ने कुटपिट गरी घिसारी फ्याकी मरेको थाहा हुँदाहुँदै प्रतिवादी आसामायाले कतै जाहेर नगरेको र प्रतिवादी बीरवल सुव्वाले सो कुरा चाल पाएर पनि जाहेरी नगरी चुपलागी बसेको भन्ने अभियोगमा ज्यान सम्बन्धीको २५ नं. बमोजिम सजाय हुन माग दावी लिई अभियोग पत्र दायर भएको देखिन्छ ।
शुरु जिल्ला अदालतले प्रतिवादी कृष्णबहादुर लामालाई ज्यान सम्बन्धीको १४ नं. बमोजिम १०(दश) वर्ष कैद हुने, प्रतिवादीद्वय बीरवल सुव्वा र आशामाया बुढा मगरलाई ज्यान सम्बन्धीको २५ नं. ले जनही २० रुपैया जरिवाना हुने र प्रतिवादी मध्येका अकलबहादुर तामाङ्गको हकमा हाजिर वा पक्राउ भई आएमा उसैबखत कारवाही किनारा गर्ने गरी फैसला भएकोमा उक्त फैसला पुनरावेदन अदालतवाट प्रतिवादी कृष्णवहादुर लामाको हकमा सदर भई प्रतिवादी अकलवहादुर तामाङ्गको हकमा फरार हुँदा अ.वं. १९० नं. बमोजिम मुलतवीमा राखी अंश रोक्का गर्ने भन्ने फैसला भएको पाईन्छ । सो फैसला उपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको देखिंदैन भने अभियोग माग दावी वमोजिम सजाय नगरी कम सजाय गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेको भनी वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी पेश हुन आएको देखियो ।
२. मिसिलको अवलोकनवाट काठमाडौं गोंगबुस्थित विष्णुमती किनारको फोहोर फाल्ने ठाँउ नजिक मृतक बलराम घिमिरेको लास रहेको, कपालमा बालुवा लागेको, निधारमा निलो डाम, दाहिने कन्चटमा घस्रिएको निलो डाम, दुवै आँखा बन्द भई नाकको भाग पूरै सुनिएको, नाकबाट रगत वगी सुकेको, मुखवाट रगत निस्की वगेको र सुकेको अवस्थामा देखिएको, अनुहारको भाग र गालाको भाग निलडाम भई सुनिएको, लगाएको लुगाहरु पनि च्यातिएको, पछाडि पिठ्युंको भागमा दरफरिएको निलडामहरु रहेको भन्ने घटनास्थल तथा लास प्रकृति मुचुल्कावाट देखिन्छ । मौकामा कागज गर्ने बीरबल सुव्वा र आसामाया बुढा मगरले कृष्णवहादुर लामाले मृतक बलराम घिमिरेलाई हात खुट्टाले पिटेको, मुखमा पिसाव फेरिदिई बेहोस भएपछि घिसार्दै लगी बालुवाले पुरेको र सो ठाउँबाट पनि निकाली फोहोरमा फ्यांकिदिएको भन्ने उल्लेख गरेको र प्रतिवादी कृष्णवहादुर लामाको अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान पनि सोहि मिलानको रहेको देखिन्छ । अदालत समक्ष प्रतिवादी कृष्णबहादुर लामाले गरेको बयानमा आफू र आसामाया समेतका पाँचजना बिष्णुमती खोलाको बालुवा झिक्दै गर्दा मृतकले बालुवा नझिक्न धम्की दिई बालुवा बोकी ल्याएको थुन्चे लडाईदिएकोले निजको कन्चटमा एक मुड्की हिर्काउदा उछिट्टिएर नजिकमा भएको तारमा अल्झिएर लडेको र घिसारेर खोलाको छेउमा छोडिदिएको हुँ भन्ने उल्लेख गरेको देखिन्छ । तर घट्नास्थल तथा लास प्रकृति विवरणबाट मृतकको कन्चट बाहेक शरीरका अन्य भागमा निल डाम रहेको,कपाल लगायतमा वालुवा लागेको,लगाएको लुगाहरु च्यातिएको भन्ने देखिएको र पोष्ट मार्टम रिपोर्टबाट श्वास नलीमा बालुवा देखिएको तथा शरीरमा भएको विभिन्न चोट पटक र कोमा समेतको कारणबाट मृत्यू भएको भन्ने समेत उल्लेख भएवाट आबेशमा आई एक पटक कन्चटमा प्रहार गरेको कारणबाट बेहोस भएको भन्ने अदालत समक्षको प्रतिवादीको भनाई घट्नास्थल तथा लास प्रकृति विवरण, पोष्टमार्टम रिपोर्ट, अन्य प्रतिवादीहरु वीरवल सुव्वा र आशामाया वुढा मगरको मौकाको भनाईसँग मेल खाएको नदेखिंदा निजको अदालत समक्षको वयानको सो व्यहोरा पत्यारलायक देखिएन ।
३. प्रतिवादी कृष्णवहादुर लामा उपर ज्यान सम्बन्धीको १३(३) नं. को कसूरमा सोही नं. बमोजिम सजाय हुन वादी पक्षले अभियोग माग दावी लिएकोमा शुरु र पुनरावेदन अदालतले प्रतिवादीको आपराधीक कार्य ज्यान सम्बन्धीको १४ नं. अन्तर्गत पर्ने भनी उक्त १४ नं. बमोजिम दश बर्ष कैदको सजाय गरेको देखिन्छ । वारदातको प्रकृतिवाट प्रतिवादीलाई ज्यान सम्बन्धीको १३(३) नं. आकर्षित हुने अवस्था रहेको भन्ने वादी पक्षको पुनरावेदन जिकिर रहेको सन्दर्भमा ज्यान सम्बन्धीको १३(३) नं.र १४ नं. को बीचको अन्तरसंवन्धको बारेमा पनि स्पष्ट हुन जरुरी छ । ज्यान सम्बन्धीको १३(३) नं. मा कसैले अरुको ज्यान मार्ने गैह्र कुरा गरी लाठा, ढुंगा र साधारण सानातिना हतियारले कुटी हानी रोपी घोची वा अरु ज्यान मर्ने कुरा गरेकोवाट ज्यान मर्न गएकोमा एक जनाले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिए सोही मानिस मूख्य ज्यानमारा ठहर्ने, त्यस्तालाई सर्वश्व सहित जन्मकैद गर्नुपर्छ भन्ने उल्लेख भएको देखिन आउँछ । त्यस्तै ज्यान सम्बन्धीको १४ नं. को बनौटबाट ज्यान मार्ने मनसाय र ज्यान लिनुपर्ने सम्मको ईवी नभएका व्यक्तिले उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी जोखिमी हतियारले हानेको वा बिष खुवाएको बाहेक साधारण लाठा ढुंगा, लात मुक्का इत्यादिले प्रहार गरेको चोट पीरले ज्यान मारेको अवस्थालाई समेट्न खोजेको पाइन्छ । यस्तोमा दश वर्ष कैद हुने व्यवस्था गरेको देखिन्छ । ज्यान सम्बन्धीको १४ नं. मा व्यवस्थित मनसाय तत्वको अभाव ज्यान सम्बन्धीको ५ नं. अन्तर्गतको भवितव्यपूर्वकको हत्यामा पनि रहेको हुन्छ । तर उक्त ज्यान सम्बन्धी ५ नं. मा वर्णित भवितव्यपूर्वकको हत्यामा मर्ने व्यक्ति लक्षित वा ईच्छित हुँदैन र गरेको कार्यले मानिस मर्ला जस्तो पनि देखिएको हुँदैन । परिणामको ज्ञान पनि हुँदैन । ज्यान सम्बन्धीको १४ नं. अन्तर्गतको अपराधमा उसै मौकामा उठेको रीस थाम्न नसकी मर्ने व्यक्तिलाई लक्षीत गरी सिधै साधारण लाठा,ढुंगा, लात, मुक्का आदिले प्रहार गरिएको र त्यसैको कारणबाट ज्यान मर्न गएको हुन्छ । ज्यान सम्बन्धीको १३ नं. अन्तर्गतको अपराधमा ज्यान मार्ने मनसाय निहीत हुन्छ । जोखिमी हतियारले प्रहार गरेकोमा मनसाय नभएपनि वा तत्काल आवेशमा प्रहार गरेको कारण ज्यान मर्न पुगेको भएपनि उक्त १३ नं. आकर्षित हुन्छ । साधारण लाठा, ढुंगा ,लात, मुक्का इत्यादि बाहेक अन्य तरिकाले ज्यान मारेकोमा त्यस्तो आपराधिक कृत्यका सम्बन्धमा ज्यान सम्बन्धीको महलको १४ नं. आकर्षित हुन सक्ने देखिंदैन । यसो गर्नुको उद्देश्य तत्काल उठेको रीसको झोंकमा कसै उपर साधारण लाठा, ढुंगा, लात, मुक्का ईत्यादि प्रयोग गर्दा पीडित उपर सामान्यतया गम्भीर चोट लाग्न नसक्ने बिधायिकाको धारणा होला । तर तिनै लाठा, ढुंगा, लात, मुक्का प्रयोग गर्दा पीडितलाई मार्ने हिसावले नै प्रयोग गरिन्छ र मारिन्छ भने आवेशप्रेरित हत्या मान्न मिल्दैन । मार्ने मनसाय भन्ने कुरा अघिदेखिको हुनुपर्छ भन्ने होईन । जुनसुकै बखत पनि मार्ने उद्देश्यले कुनै कार्य गरिन्छ भने त्यो कर्तब्य गरी मारेको हत्याकै बर्गमा पर्न जान्छ । तत्काल उठेको रीस थाम्न नसकी साधारण लाठा, ढुंगा, लात, मुक्का आदिले प्रहार गर्दाको चोट पीरले मारिनु र मर्छ भन्ने जानी जानी वा मर्ने गरी नै त्यस्तो चोट प्रहार गर्नुको परिणामको अन्तरलाई बिशेषरुपले ध्यानमा राख्न जरुरी छ ।
४. प्रस्तुत मुद्दामा विष्णुमती खोलाको गोंगवुस्थित पुल नजिक बालुवा झिक्न गएका प्रतिवादी कृष्णबहादुर लामा समेतलाई अपरिचित मृतक बलराम घिमिरेले वालुवा नझिक्न दवाव र प्रभाव दिई बोकिराखेको बालुवा सहितको थुन्छे लडाईदिएको कारणबाट उठेको रीस थाम्न नसकी मुड्कीले गरेको एक पटकको प्रहार निजको कन्चटमा लाग्न पुगेछ र उछिट्टिएर नजिकमा रहेको तारमा अल्झिन पुगी मुख सोहोरिन पुगेछ, मारौं भन्ने विचारले मैले बलरामलाई हिर्काएको होइन । एक मुड्की हान्दैमा त्यतिले मर्छ होला भन्ने लागेको थिएन तर मरी हाल्यो भन्ने निज प्रतिवादी कृष्णवहादुर लामाको शुरु अदालतमा भएको बयानवाट प्रतिवादी र मृतक वीच कुनै पूर्व रीस इवी नभएको र तत्काल उठेको रीस थाम्न नसकी कन्चटमा गरेको प्रहारकै कारण मृत्यू भएको भन्ने देखाई आवेश प्रेरित हत्याको तथ्यगत अवस्था दर्शाउन एकातिर खोजेको देखिन्छ भने अर्कोतिर एक मुडकी हान्दैमा त्यतिले मर्छ होला भन्ने लागेको थिएन तर मरी हाल्यो भन्ने भनाईबाट भबितब्य परेको जस्तो अवस्था दर्शाउन खोजेको देखिन्छ । तर घट्नास्थल तथा लास प्रकृति विवरणबाट मृतकको शरीरका विभिन्न भागमा धेरै चोट निलडामहरु रहेको देखिनुको साथै शरीरमा बालुवा रहेको, पोष्ट मार्टम रिपोर्टबाट स्वास नलीमा वालुवा रहेको देखिएकोबाट प्रतिवादीले अदालतमा वयान गरे जस्तो एक मुक्का प्रहारसम्म गरेको, मर्ला जस्तो नदेखिएपनि सोही कारणवाट मृत्यु भएको भन्ने देखिन आएन । निजको मौकामा अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान र अन्य सहअभियुक्तहरुको पोलबाट उल्लेख भएझैं मृतकलाई पटक–पटक कुटपिट गरी जीवितै बालुवा मुनि पुरेको कारणले स्वास नलीमा वालुवा पसी श्वास प्रश्वासमा अवरोध भई मृत्यु भएको अवस्था देखिएकोले उक्त ज्यान सम्बन्धीको ५ नं. र १४ नं.ले समेटेदेखि बाहेकको घातक आपराधिक कार्य प्रतिवादी कृष्णबहादुर लामावाट भएको पाइन्छ ।
५. बिष्णुमती नदीको बालुवा झिक्ने लैजाने प्रतिवादीको कार्यमा अबरोध ल्याउन खोज्ने मृतक उपर तत्काल रीस उठी कुटपीट गरेको एउटा स्थिति हो, कुटपीट गरी घिसारी बालुवाभित्र जीवितै पुर्ने अर्को कृत्य हो । प्रतिवादीको तत्काल उठेको रीसवाट मृतक उपर भएको कुटपिट पश्चात मृतकलाई ज्यूँदै बालुवामा पुर्ने, तत्पश्चात घिसार्दै लगी फ्याँकिदिने कार्य र प्रतिवादीको यस्तो व्यवहारबाट प्रतिवादीमा मृतकलाई मार्ने मनसाय तत्काल सिर्जना भएको भन्ने देखिन आउँछ । अर्थात प्रतिवादीले शुरुमा आवेशप्रेरित भई कुटपिट गरेको भएपनि तत्पश्चात मृतकलाई जींउदै बालुवामा पुर्ने र फोहोर फाल्ने ठांउमा लगी फ्यांक्ने जस्तो कृत्यबाट प्रकारान्तरले मनसाय प्रेरित हत्यामा परिणत भएको देखिन आउँछ । वारदातको प्रकृतिबाट प्रतिवादीले साधारण लाठा, ढुंगा लात मुक्काले प्रहार गरेको कारणले मात्र मृतकको मृत्यू भएको मान्न सकिने स्थिति नभई कुटपिट पश्चात अर्को कृत्य अर्थात जीउदै बालुवामा पुरेको र सोही कारण निसास्सिएर मृत्यू हुन पुगेको यस्तो निर्दयी र पासविक घट्नालाई ज्यान सम्बन्धीको १४ नं. ले समेट्ने स्थिति देखिंदैन । मार्ने सम्मको कार्य जानी जानी गरेको यस्तो अवस्था ज्यान सम्बन्धीको १४ नं. को स्थितिभित्र पर्दछ भन्न कुनै तरहले पनि सकिंदैन । उक्त १४ नं. मा वर्णित उसै मौकामा उठेको रीस थाम्न नसकी भन्ने वाक्यांशले रीस थाम्न नसक्ने अवस्थाको आवेश (Sudden provocation) लाई औंल्याएको छ । प्रस्तुत मुद्दामा प्रतिवादीले मृतकलाई कुटपिट गरेपश्चात जीउदै वालुवामा पुर्ने र घिसारेर फ्याँकिदिने गरेको कृत्यबाट तत्काल मृतकलाई मार्ने मनसाय सिर्जना भएको घट्नाक्रमले पुष्टि गरिरहेको हुँदा मनसायप्रेरित हत्या मानी प्रतिवादीलाई सजाय गर्नुपर्नेमा ज्यान सम्बन्धीको १४ नं.लगाई कम सजाय गरेको पुनरावेदन अदालतको फैसला उक्त १४ नं. को व्यवस्था अनुकूल भएको देखिन आएन ।
६. अतः माथि बिबेचित आधारहरुवाट प्रतिवादी कृष्णवहादुर लामाले मृतकलाई पटक पटक कुटपीट गरिसकेपछि जीउदै बालुवामा पुर्ने कार्य गरेको र सोही कारणबाट श्वास नलीमा बालुवा पसी निसास्सिएर मृत्यू भएको पासविक कृत्य ज्यान सम्बन्धीको १४ नं. को प्रकृति र अवस्था अन्तर्गत नपर्ने भई ज्यान सम्बन्धीको १३(३) नं. मा बर्णित ”अरु ज्यान मर्ने गैह्र कुरा गरेकोवाट ज्यान मर्न गएको” अवस्थामा पर्ने स्पष्ट भैरहेकोले प्रतिवादीको यस्तो आपराधिक कार्यलाई ज्यान सम्बन्धीको १४ नं. अन्तर्गतको मानी कम सजाय गरेको पुनरावेदन अदालत पाटनको मिति २०५८।१२।२२ को फैसला केहि उल्टी भई निजले मनसायपूर्वक मृतकको हत्याको अपराध गरेको अवस्था हुँदा ज्यान सम्बन्धीको १३(३) नं. अनुसार निज प्रतिवादी कृष्णवहादुर लामालाई सर्वश्व सहित जन्मकैद हुने ठहर्छ ।
७. प्रतिवादी कृष्णबहादुर लामा उपर ज्यान सम्बन्धीको १३(३) नं.को अभियोग माग दाबी भएकोमा शुरु जिल्ला अदालतले ज्यान सम्बन्धीको १४ नं. बमोजिम दश बर्ष कैद सजाय हुने ठहर्याएको र सो उपर चित्त नबुझाई बादी नेपाल सरकारको तर्फबाट मिति २०५७।५।१ मा पुनरावेदन अदालत पाटनमा पुनरावेदन परी बिचाराधीन अवस्थामा शुरु जिल्ला अदालतले गरेको दश बर्ष कैदको आधा सजाय भुक्तान गरिसकेको भन्ने आधारमा नेपाल सरकार अन्तर्गतको कारागार ब्यवस्थापन बिभागको पत्रानुसार बाँकी कैद मिन्हा दिई प्रजातन्त्र दिवसको उपलक्ष्यमा मिति २०५८।११।७ मा थुनाबाट मुक्त गरेको पाईयो । शुरु जिल्ला अदालतले गरेको फैसला अन्तिम नभई सो उपर सरकारकोतर्फबाट पुनरावेदन सरकारी वकील कार्यालय पाटनले गरेको पुनरावेदन बिचाराधीन अबस्थामा सो बिचाराधीन मुद्दालाई प्रभावित तुल्याउने गरी प्रतिवादीलाई कैद मुक्त गरेको यस्तो कार्यलाई सहजरुपमा लिन सकिंदैन ।
८. सरकारको तर्फबाट परेको पुनरावेदन सरकारकै पुनरावेदन हो, महान्यायाधिवक्ताको कार्यालय वा सो अन्तर्गतका सरकारी वकील कार्यालयको मात्रै पुनरावेदन मान्न मिल्दैन । आफैले गरेको पुनरावेदनबाट न्याय प्राप्त गर्नु अघि नै पुनरावेदनको नतिजालाई निरर्थक वा प्रभावित गर्ने हिसाबले सरकारको अर्को अंगले कैद मिन्हा गर्दा सरकारले गरेको आफ्नै पुनरावेदनको औचित्यमा प्रश्न खडा गरिदिएको छ । कैद मिन्हा नै दिने लक्ष्य हो भने भएको सजायमा पुनरावेदन गर्नुको प्रयोजन देखिन्न । सरकारको तर्फबाट एउटा निकायले पुनरावेदन गरेको अवस्थामा सरकार मातहतको अर्को निकायले सो पुनरावेदन बिचाराधीन अवस्थामा थुनुवालाई मुक्त गरिदिने यस्तो कार्यले यस अदालतबाट भएको फैसला र यसको कार्यान्वयनमा समेत प्रत्यक्ष असर त परेको छ नै, यस्ता कार्यले बढावा पाउँदै गएमा न्यायिक काम कारवाहीको बिश्वसनियतामा समेत आँच पुर्याउने हुन्छ । मिसिल संलग्न कारागार शाखा काठमाडौंको मिति २०६१।३।२५ को पत्र साथ संलग्न प्रतिवादी कृष्णबहादुर लामालाई कैद मुक्त गरिएको भन्ने बिषयको पत्रको छांयाप्रतिबाट कारागार ब्यवस्थापन बिभागको च.नं. ६६८, मिति २०५८।११।६ को पत्रानुसार बाँकी कैद माफी मिन्हा भएको भन्ने उल्लेख भएको आधारमा कैद मुक्त गरेको भन्ने देखिंदा मुद्दा बिचाराधीन अवस्थामा को कसको सिफारिशमा कसको निर्णयले निजलाई कैद मुक्त गरेको हो, सो सम्बन्धमा आवश्यक छानबीन गरी संलग्नहरुलाई बिभागिय कारवाही गरी यस अदालतलाई जानकारी गराउनु, सो सम्बन्धमा कुनै निकासा माग गर्नुपर्ने भए माग गर्नु भनी गृह मन्त्रालयमा लेखिपठाउनु । सो बमोजिम कारवाही भए नभएको सम्बन्धमा यस अदालत रजिष्ट्रारको कार्यालयले अनुगमन गर्नु । अव आईन्दा कैद माफी मिन्हा दिने अधिकारको प्रयोग गर्दा मुद्दा अन्तिम भए नभएको सम्बन्धमा गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय वा सम्बन्धित सरकारी वकील कार्यालय समेतसँग सम्पर्क र समन्वय गरेर मात्र कानुन अनुकूल निर्णय गर्नु र अदालतको काम कारवाही तथा फैसलालाई प्रभावित तुल्याउने गरी यस्तो गलत काम कारवाही नगर्नु नगराउनु भनी गृह मन्त्रालयका नाउमा आदेश जारी गरिएको छ । यसको जानकारीको लागि महान्यायाधिवक्ताको कार्यालय र गृह मन्त्रालयमा पठाईदिनु । अरुमा तपसिल बमोजिम गर्नु।
तपसिल
माथि इन्साफ खण्डमा ठहरे बमोजिम शुरु सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५८।१२।१२ को फैसला केहि उल्टी भई प्रतिवादी कृष्णवहादुर लामालाई सर्वश्व सहित जन्मकैद हुने ठहरेकोले शुरु जिल्ला अदालतले राखेको लगतमा संशोधन गरी निज प्रतिवादीको हकमा सर्वश्वसहित जन्मकैदको लगत राखी निजको अंश सर्वश्व गरी निज मिति २०५३।३।८ देखि थुनामा रही ५२ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा बांकी कैद माफी मिन्हा भई २०५८।११।७ मा छुटृी गएको भन्ने मिसिल संलग्न कारागार शाखा काठमाण्डौको च.नं. ६३७५, २०६१।३।१५को प्राप्त पत्रबाट देखिएको हुँदा निजलाई पक्राउ गरी अघि थुनामा बसेको अवधि कटाई ठहरेको बांकी कैद असुल गर्नु भनी शुरु काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनु ....१
यो फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई मिसिल नियमानुसार वुझाई दिनु.......२
उक्त रायमा म सहमत छु ।
का.मु.प्र.न्या.मीनवहादुर रायमाझी
इति सम्बत् २०६५ साल आषाढ १० गते रोज ३ शुभम्.......
ई.अ.नृपध्वज निरौला