शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८०२४ - कर्तव्यज्यान ।

भाग: ५० साल: २०६५ महिना: माघ अंक: १०

निर्णय नं.८०२४      ने.का.प. २०६५      अङ्क १०

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनूपराज शर्मा

माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोईराला

संवत २०६३ सालको फौ.पु.नं.......०१४०

फैसला मितिः २०६५।४।२२।४

 

मुद्दाः कर्तव्यज्यान ।

 

पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी धरान नगरपालिका वडा नं. १४ घर भै हाल      कारागार शाखा विरगन्जमा थुनामा रहेको मनोज कार्की

विरुद्ध

प्रत्यर्थी वादीः शुरेश कुमार हायुको जाहेरीले नेपाल सरकार

 

शुरु फैसला गर्ने :

मा.जि.न्या.फणिन्द्रदत्त शर्मा

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री भिमेन्द्रवहादुर कार्की

मा.न्या.श्री राघवलाल वैद्य

 

§  सर्वस्वसहित जन्मकैद वा जन्मकैदको सजाँय हुने मुद्दामा मात्र पूर्ण रुपले अ.वं. १८८ नं.को व्यवस्था लागु गर्नुपर्ने निरपेक्ष दायित्व र कर्तव्य न्यायकर्तालाई कानूनी स्वविवेकीय अख्तियार प्रदान गरेको देखिई अन्य सम्पूर्ण फौज्दारी अपराधिक मुद्दाहरुमा सो स्वविवेकिय न्यायिक अधिकार एवं अख्तियार न्यायकर्तालाई प्रदान गरेको नदेखिने ।

(प्रकरण नं.३)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री यमुना भटृराई

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजीरः

 

फैसला

न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम पुनरावेदन अदालत विराटनगरले गरेको फैसला उपर यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार  छ :

मृतकको टाउकोमा वायाँपट्टी चोट लागी काटिएको र सोही ठाउंवाट रगत वगेको भन्ने समेत व्यहोराको २०६१।८।२६ को लास जाँच प्रकृति मुचुल्का ।

२०६१।८।२६ गतेका दिन एकजना पुरुषलाई कर्तव्य गरी मारी फालेको अवस्थामा रहेको भन्ने कार्यालयमा खवर हुनासाथ घटनास्थलमा जादा लास फेला पारी बुझ्दा मृतकको घर जि. संखुवासभा चैनपुर हुन सक्ने निजको नाम टेकवहादुर राई भन्ने कुरा खुलस्त भएपछि कुटपिट गर्ने व्यक्तिहरु पत्ता लगाउंदै जाँदा मनोज कार्की र विकेश तामाङ्गसंग मृतक टेकवहादुरको २०६१।८।२५ गते राति झगडा विवाद परेको र सोही विवादको कारण निजहरु समेत भै टेकवहादुर राईको टाउको समेतमा ढुंगा प्रहार गरी कुटपिट गरी जानीजानी मार्ने मनसायले कर्तव्य गरी मारेको हुँदा निजहरुलाई पक्राउ गरी कानून वमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरी   प्रतिवेदन ।

२०६१।८।२५ गते पिण्डेश्वरी मन्दिर नजिकै रहेको पोखरीमा माछा मार्नको लागि गएकोमा त्यहां विकेश तामाङ्गसंग भेट भई केही वेर त्यहां वसी दिनको अं. ४ वजे वुढासुव्वा मन्दिरमा पुगी त्यहां एकछिन वसी घर फर्कने क्रममा म र साथी विकेश तामाङ्ग गई रहेकोमा पिण्डेश्वरी मन्दिर छेउको शौचालय पुग्दा निज मृतक त्यही वसी रहेको देखी हामीहरुले के छ टेके दाई भनेर सोध्दा तिमीहरुलाई के मतलव छ भन्दै हातमा लिएको ढुंगाले एक्कासी प्रहार गर्दा मेरो टाउकोमा चोट लागे पछि मलाई एक्कासी तत्कालै रिस उठ्न गई म र विकेश तामाङ्ग समेत भई हामी दुवै जनाले एकएक लात्ति र हातले कुटनुका साथै लात्तिले हान्दा सिमेन्ट गरिएको भुईमा ठोक्किनुको साथै त्यहां रहेको ढुंगा समेतले निजको टाउकोमा प्रहार गरी घाईते भई टाउको तथा नाकवाट समेत रगत वग्न थाली वेहोस भएपछि दुवैजनाले घिसार्दै मन्दिर छेउमा लगी फाली दिई घर तर्फ गयौं । भोलिपल्ट गई हेर्दा मृत अवस्थामा देखेको, निजसंग पूर्व रिसईवि थिएन । तत्कालै उठेको रिस थाम्न नसकी हात हालाहाल तथा ढुंगा समेतले कुटपिट गरेको कारणवाट मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी मनोज कार्कीले प्रहरीमा गरेको कागज ।

२०६१।८।२५ गतेका दिन पिण्डेश्वरी मन्दिर नजिकैको पोखरीमा माछा मार्न गएकोमा पछि मनोज कार्की पनि आए । हामी दुवैजनाले माछा मारेको हेरी घर तर्फ आउंदा पिण्डेश्वरी नजिकैको गेट नेर पुग्दा त्यहां टेकवहादुर राई  रहेछन् । त्यस्तैमा मनोज कार्कीले के छ टेकवहादुर दाई भनी सोध्दा निज टेकवहादुर राईले तिमीहरुलाई के मतलव छ भनी हामीलाई ढुंगाले प्रहार गर्दा मनोज कार्कीको टाउकोमा चोट लागेपछि टेकवहादुर राईलाई मनोज कार्कीले हातले कुटपिट गर्न लाग्दा मेरो घुंडामा टेकवहादुरले टोकी दिएपछि हामी दुवै जना भई निजलाई भुईमा लडाई मैले निजको टाउकोमा लात्तै लात्तले हानी तलको भुई माथि सिमेन्ट प्रहार गरी सख्त घाईते वनाएपछि निजको नाकवाट समेत रगत वग्न थालेपछि हामी दुवै जनाले तान्दै घिसार्दै घटनास्थलमा लगी घोप्टोपारी सुताई दिई हामी दुवै जना आआफ्नो घर गई भोलिपल्ट गई हेर्दा टेकवहादुर मृतक अवस्थामा रहेका थिए । निजसंग कुनै पनि रिस ईवि थिएन । तत्काल उठेको रिस थाम्न नसकी म समेतले कुटपिट गर्दा निजको मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी विकेश तामाङ्गले प्रहरीमा गरेको वयान कागज ।

२०६१।८।२५ गते राती अं. ८ वजे मनोज कार्की र विकेश तामाङ्ग समेत भई टेकवहादुर राईसंग कुटपिट तथा झै झगडा गरी रहेका थिए । म आईमाई केटाकेटी, श्रीमान् रोगी भएकोले सो रात ढोका थुनी सुत्यौं । २०६१।८।२६ गते विहान उठी मन्दिरमा घण्टी वजाउने काम गरी रहेको अवस्थामा भक्तजनहरुले मन्दिर नजिकै मान्छे घोप्टो परी लडी रहेको छ भनी भनेपछि हेर्न जाँदा मृत अवस्थामा हेर्दा टेकवहादुर राई हुन भनी चिने । वेलुका मनोज कार्की र विकेश तामाङ्गले टेकवहादुर राईलाई कुटपिट गरी कर्तव्य गरी मारेको हुन भन्ने समेत व्यहोराको उमा कार्कीले २०६१।९।२ गते प्रहरीमा गरेको ठाडो कागज ।

२०६१।८।२५ गते मनोज कार्की र विकेश तामाङ्ग समेतले टेकवहादुर राईसंग झगडा गरेका र भोलिपल्ट घटनास्थलमा टेकवहादुर राई मृत अवस्थामा रहेको हुँदा निजहरुले नै कर्तव्य गरी मारी मन्दिर छेउमा फालेका हुन भन्ने समेत व्यहोराको ओमवहादुर कार्कीले प्रहरीमा गरेको ठाडो कागज।

प्रतिवादीहरुले कुटपिट गरेको कारणवाट टेकवहादुर राईको मृत्यु भएको हो भन्ने समेत व्यहोराको मिल्दो जुल्दो व्यहोराको वस्तुस्थिति मुचुल्का ।

प्रतिवादीहरुले मुलुकी ऐन ज्यान सम्वन्धीको १ र १३ नं. को कसूर गरेमा ऐ को १३(३) नं. वमोजिम सजाँय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।

२०६१।८।२५ गते म पिण्डेश्वरी मन्दिरको वाटो हुँदै आफ्नो घर तर्फ जान लाग्दा मेरा साथमा विकेश तामाङ्ग पनि थिए, हामी दुवै जनाले पिण्डेश्वरी मन्दिर भित्र वसेका टेकवहादुर राईलाई संधै झै के छ टेकवहादुर दाई भनी भन्दा निजले एक्कासी मलाई ढुंगा टिपी मेरो टाउकोमा हान्यो र मेरो टाउको समेत फुटन गयो । त्यसपछि रिसको झोकमा मैले र विकेशले टेकवहादुरलाई हात र खुट्टाले कुटपिट गर्‍यौं, जसको कारणले निजको नाकवाट रगत समेत चुहेको थियो र उ वेहोस भई भुईमा लडेकाले हामीले निजलाई वोकी अली पर लगी राखी हामी आआफ्नो घर तर्फ लागेका थियौं , निजको मृत्यु भएको भन्ने कुरा भोलिपल्ट विहान थाहा पाएको हो । हामीले निजलाई हात र खुट्टाले अलि अलि मात्र कुटपिट गरेका थियौं । त्यतिको कारणले मान्छे मर्छ भन्ने लागेको थिएन । मार्ने उद्देश्यले कुटपिट गरेको नभई रिसको आवेगमा आएर कुटपिट गरेका थियौं भन्ने समेत व्यहोराको प्र. मनोज कार्कीले अदालतमा गरेको वयान कागज ।

२०६१।८।२५ गते म र प्रतिवादी मनोज कार्की समेत वुढा सुव्वा मन्दिरमा गई मन्दिरवाट फर्की पिण्डेश्वरी मन्दिरको वाटो दुवै घरतर्फ गई रहेका अवस्थामा टेकवहादुर राई पाईखाना अगाडि उभिरहेको देखी मनोज कार्कीले दाई के छ तपाईको हाल खवर भनी सोधे । टेकवहादुरले मेरो हाल खवर तिमीहरुलाई के खाचो पर्‍य भनी निजले हातमा वोकी राखेको ढुंगाले मनोज कार्कीलाई हिर्काउंदा मनोजको टाउकोमा लागेको हुँदा किन कुटेको भनी म र मनोज समेत भई वक्सिङ्गले निजको शरीरको जत्रतत्र भागमा हिर्कायौं । निजको नाक र मुख समेतवाट रगत वग्न लाग्यो निज वेहोस भए । हामीलाई माया लागी मन्दिर छेउमा लगी सुताई दियौं र आआफ्नो घर तर्फ गयौं । भोलिपल्ट गई हेर्दा कुटपिट गरेको मानिस नै मरेको रहेछ भन्ने थाहा पाएँ निजको मृत्यु हाम्रै कुटपिटको कारणवाट भएको  हो । निजसंग पूर्व रिसईवि केही थिएन भन्ने समेत व्यहोराको प्र. विकेश तामाङ्गले अदालतमा गरेको वयान ।

मृतक टेकवहादुर राईले प्र. मनोज कार्कीको टाउकोमा ढुंगाले हानेपछि उठेको रिस थाम्न नसकी यी प्रतिवादीहरु २ जनाले लात, मुक्का र साधारण ढुगाले हानेपछि मृतक वेहोस भई भुईमा लडेपछि प्रतिवादीहरुले निजलाई उठाएर दत्तात्रय मन्दिर छेउ राखेर घर गएको भन्ने देखिन आएकोले प्रतिवादीहरुलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सजाँय गर्न उपयुक्त  भएन । वादीको दावी पुग्न सक्दैन । प्रतिवादीहरुले ज्यान सम्वन्धी महलको १ र १४ नं. प्रतिकूल तत्काल उठेको रिस थाम्न नसकी साधारण ढुँगा, लात र मुक्काले हानेको कारणवाट निज टेकवहादुर राईको मृत्यु भएको ठहर्छ भन्ने शुरु सुनसरी जिल्ला अदालतको मिति २०६१।९।२३ को फैसला ।

अभियोग पत्रमा उल्लेखित कसूर दावीको कार्यमा हामी प्रतिवादीले गरेको भन्ने पुष्टि नभएको अवस्थामा प्रथम दृष्टिमा नै दावीको कसूर हामीवाट नगरे नभएको भन्ने मिसिल संलग्न हामीले गरेको वयान वाटै पुष्टि भएको हुँदा ठोस रुपमा हामीलाई थुनामा राख्नु पर्ने पर्याप्त र मनासिव कारण नरहेको अवस्थामा हामीलाई थुनामा १०१० वर्ष राख्ने गरी भएको शुरु फैसला त्रुटिपूर्ण हुँदा वदर गरी गैरकानूनी थुनावाट मुक्त गरिपाऊँ भन्ने प्रतिवादीहरुको तर्फवाट पुनरावेदन अदालतमा भएको पुनरावेदन पत्र ।

अदालतमा वयान गर्दा समेत यि प्रतिवादीहरु कसूरमा सावित छन् । मृतकको पोष्ट मार्टम रिपोर्टमा मृत्युको कारण Due to entractual and  subdural hemorrhage as a result of blunt force on head भनी उल्लेख छ । यसरी पीडितको मर्मस्थल टाउकोमा कुटपिट गरी सोही चोट पीडाले रक्तश्राव भई निज पिण्डेश्वरी मन्दिरमा मानसिक असन्तुलन भई वसेको असक्त व्यक्ति टेकवहादुर राई माथि दुवै प्रतिवादीहरुले मिली कुटपिट गरी मर्न गएको देखिएवाट मुलुकी ऐन ज्यान सम्वन्धीको १४ नं. वमोजिम प्रतिवादीहरुलाई सजाँय गर्ने गरी भएको शुरु फैसला कानूनी त्रुटिपूर्ण हुँदा वदर गरी प्रतिवादीहरुलाई शुरु अभियोग माग दावी वमोजिम सजाँय गरिपाऊँ भन्ने वादी श्री ५ को सरकारको तर्फवाट पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा प्रतिवादीहरुले आवेशमा आई लात, मुक्काले सँयुक्त रुपमा मृतकको शरीरमा यत्रतत्र प्रहार गर्दा टाउकोमा पर्न गएको आन्तरिक चोटवाट रक्तश्राव भई मृतकको मृत्यु भएको देखिएवाट प्रतिवादीहरुलाई ज्यान सम्वन्धी महलको १४ नं. को कसूर गरेको ठहर्‍याई सोही ऐन वमोजिम जनही १०।१० वर्ष कैद गर्ने ठहर्‍याएको शुरु जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०६२।१२।८ को फैसला ।

मृतकलाई मार्ने हाम्रो कुनै योजना नभई पूर्व रिसईवि झगडा नभई लाठी, ढुँगा प्रयोग समेत नगरी मृतकले नै पहिला ढुंगा प्रहार गरेको कारणवाट कुटपिटको वारदात भएको अवस्थमा मुलुकी ऐन अ.वं. १८८ को प्रयोग गरी न्यूनतम सजाँय गरिपाऊँ भन्ने समेत व्यहोराको प्र. मध्येको मनोज कुमार कार्कीको यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन पत्र ।

नियम वमोजिम पेशी सूचीमा चढी निर्णयार्थ ईजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फवाट उपस्थित विद्धान अधिवक्ता यमुना भट्टराईले मृतकलाई शिष्टाचारयुक्त शव्दले सम्वोधन गर्दाको अवस्थामा उल्टै प्रतिवादीलाई ढुंगाले हान्दा तत्काल उठेको रिसवाट लात्ती, मुक्काले हाने पश्चात पनि रातको समयमा मैनवत्ती समेत वाली चिसो सिमेन्टवाट अन्यत्र सारी दिएको अवस्थामा प्रतिवादीले मौकामा अधिकार प्राप्त अधिकारी एवं अदालत समक्ष समेत आरोपित कसूरमा साविती रही न्याय सम्पादनमा सहयोग पुर्‍याएकोले सम्मानित अदालतले निजलाई कायम गरिएको फैसला सकेसम्म न्यायिक क्रियाशिलताको आधार समेत टेकेर न्यूनतम सजाँय गरिपाऊँ भन्ने समेत व्यहोराको वहस जिकिर सुनी पुनरावेदन अदालत विराटगरले गरेको ईन्साफ मिले, नमिलेको के रहेछ ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होईन ? भन्ने सम्वन्धमै ईन्साफ दिनु पर्ने देखिन आयो ।

यसरी ईन्साफ तर्फ विचार गर्दा यी प्रतिवादी समेतलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ र १३ नं. को कसूरमा ऐ. १३ (३) नं. वमोजिम सजाँय गरिपाऊँ भन्ने दावी अभियोगपत्र भएकोमा ऐ.ऐनको १ नं. को कसूरमा ऐ.को १४ नं. वमोजिम १० वर्ष सजाँय गर्ने गरेको शुरु सुनसरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसलामा चित्त वुझेन । मृतकलाई मार्नु पर्ने सम्मको मनसाय तत्व नरही न्याय सम्पादनमा आरोपित कसूरमा साविती भई सहयोग पुर्‍याएकोले सम्भव भएसम्म सफाई पाउँ  नभए अ.वं. १८८ नं. वमोजिम न्यूनतम सजाँय गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी मध्येको मनोज कार्कीको तर्फवाट यस अदालतमा प्रस्तुत पुनरावेदन दर्ता हुन आएको रहेछ ।

२.    यसमा किटानी जाहेरी दर्खास्त, घटनास्थल लास जाँच मुचुल्का, शवपरिक्षण प्रतिवेदन समेतवाट मृतक टेकवहादुर राईको मृत्यु कुटपिटको कारणवाट भएकोमा विवाद देखिदैन । यी प्रतिवादी समेतले अनुसन्धान तहकिकातको सिलसिलामा अधिकार प्राप्त अधिकारी एवं अदालत समक्ष समेत आरोपित कसूरमा साविती वयान दिएको समेत पाईन्छ । निजको साविती वयानमा मार्नुपर्ने सम्मको कारणमा मृतकलाई श्रद्धायुक्त शव्दले दाई भनी सम्वोधन गर्दा उल्टै गाली गलौज गरी ढुंगाले यी प्रतिवादीलाई प्रहार गर्दा यी प्रतिवादीको टाउकोमा चोट पुगेकोले सो समयमा तत्काल उठेको रिसवाट अभियुक्त आवेसमा आई हात खुट्टाले कुटपिट गर्दा मरेको भन्ने उल्लेख गरेको अवस्था छ । सो कुरालाई मौकामा कागज गर्ने मानिसहरुको भनाई एवं मृतकको घटनास्थल लास जाँच मुचुल्का एवं शवपरिक्षण प्रतिवेदन समेतले पुष्टि गरेकै देखिन्छ । यस अर्थमा हेर्दा मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १४ नं. मा वर्णित ज्यान मार्ने मनसाय नभएको, ज्यान मार्नु पर्ने सम्मको पूर्व रिसईवि नरहेको, लुकी चोरी नहानेको, जोखिमी हतियार प्रयोग नगरी लात्ती मुडकीले हानेको, तत्कालै उठेको रिसलाई नियन्त्रण गर्न नसकेको, विष समेत सेवन नगराएको अवस्थामा मृतकको मृत्यु प्रतिवादीहरुको अपराधिक कृयाकलापवाट भएकोमा समेत पुष्टि भएकै पाईयो । यस्तो अवस्थामा यी प्रतिवादी समेतलाई मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १ नं. को कसूर अपराधमा ऐ. ऐनको १४ नं. वमोजिम आवेस प्रेरित हत्याको कसूरमा यी प्रतिवादी समेतलाई जनही १०।१० वर्ष कैद सजाँय गरेको शुरु सुनसरी जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरले गरेको फैसलालाई अन्यथा भन्न मान्न मिलेन ।

३.    जहांसम्म मृतकलाई मार्नुपर्ने सम्मको अपराधिक मनसाय तत्व आफ्नो नभई आरोपित कसूरमा साविती रही न्याय सम्पादनमा सहयोग गरेको हुनाले अ.वं. १८८ नं. समेतको प्रयोग गरी न्यूनतम सँजाय गरिपाऊँ भन्ने पुनरावेदन जिकिर तर्फ विचार गर्दा उक्त अ.वं. १८८ नं. हेरिएमा सर्वस्व सहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने मुद्दामा सावित ठहरे पनि ईन्साफ गर्ने न्यायकर्ताको चित्त वा व्रम्हले भवितव्य हो कि भन्ने सम्मको शंका वा अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐन वमोजिमको सजाँय गर्दा चर्को हुने देखेमा कारण सहितको खुलासा राय साधक तोकमा लेखी जाहेर गर्न सकिने र त्यस्तो मुद्दामा अन्तिम निर्णय दिने न्यायकर्ताले पनि आफ्नो चित्त वा व्रम्हले देखेमा ऐनले हुने सजाँयमा घटाई तोक्न सक्ने व्यवस्था रहे भएको देखिन्छ । उक्त कानूनी प्रावधानीय व्यहोराले सर्वस्व सहित जन्मकैद वा जन्मकैदको सजाँय हुने मुद्दामा मात्र पूर्ण रुपले सो कानूनी व्यवस्था लागु गर्नु पर्ने निरपेक्ष दायित्व र कर्तव्य न्यायकर्तालाई कानूनी स्वविवेकीय अख्तियार प्रदान गरेको देखिई अन्य सम्पूर्ण फौज्दारी अपराधिक मुद्दाहरुमा सो स्वविवेकिय न्यायिक अधिकार एवं अख्तियार न्यायकर्तालाई प्रदान गरेको देखिँदैन । यसको अतिरिक्त यि पुनरावेदक प्रतिवादीको यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन पत्रको पुनरावेदन जिकिरमा सफाई नै  पाउँ  भन्ने समेत व्यहोरा उल्लेख गरेको देखिंदा निजको दोहोरो मापदण्डको पुनरावेदन जिकिर औचित्यपूर्ण एवं तर्कसंगत समेत देखिन आएन ।

४.    अतः माथि उल्लेखित प्रमाणहरुको मूल्याँकन, सम्वद्ध कानूनी व्यवस्था, तत्सम्वन्धी कानूनी सिद्धान्त समेतको आधारमा यी प्रतिवादी मनोज कार्की समेतलाई ज्यान सम्वन्धी महलको १ नं. को कसूरमा ऐ. ऐनको १४ नं. वमोजिम आवेस प्रेरित हत्याको अपराध कसूरमा जनही १०।१० वर्षको सजाँय हुने ठहराएको शुरु सुनसरी जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेकै देखिँदा सदर  हुने  ठहर्छ ।  पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न  सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई  दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.राजेन्द्रप्रसाद कोइराला

 

इति सम्वत् २०६५ साल श्रावण २२ गते रोज ४ शुभम्––––––

इजलास अधिकृतः उ.स.काजीवहादुर राई

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु