निर्णय नं. ८०२६ - बच्चाको न्वारान गरी नाता कायम ।

निर्णय नं.८०२६ ने.का.प. २०६५ अङ्क १०
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री वलराम के.सी.
माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
सम्वत् २०५९ सालको फौ.पु.नं. .३२६८
फैसला मितिः २०६५।२।२१।३
मुद्दाः– बच्चाको न्वारान गरी नाता कायम ।
पुनरावेदक प्रतिवादीः बाँके जिल्ला नौवस्ता गा.वि.स. वडा नं. ३ वस्ने लिलबहादुर राना क्षेत्रीको हकमा निजको बाबु परिमल राना क्षेत्री
विरुद्ध
प्रत्यर्थी वादीः बाँके जिल्ला नौवस्ता गा.वि.स. वडा नं. २ वस्ने चित्रा वि.क.
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्री जयराज जोशी
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री धीरेन्द्रबहादुर विष्ट
मा.न्या.श्री कृष्णप्रसाद बस्याल
§ करणी र बच्चाको जन्मसम्बन्धी विवादमा मिसिल संलग्न प्रमाणका अतिरिक्त विवादसँग सम्बन्धित महिलाको वयानलाई गंम्भिरतापूर्वक हेर्नुपर्ने ।
§ सामान्यतया आफ्नो सतित्व एवं इज्जत, चरित्र र प्रतिष्ठामा आँच आउने वा लान्छना लाग्ने गरी कुनै पनि महिलाले एउटा पुरुषसँग करणी लेनदेन भएको अवस्थामा अर्को व्यक्तिउपर लान्छना लाउनुपर्ने अवस्था नहुने ।
§ एउटा पुरुषसँग करणी गरी गराई सोको कारणबाट गर्भ रही बच्चासमेत जन्मेको कुरालाई अर्को पुरुषको करणीबाट सो बच्चा जन्मेको हो भनी अर्को व्यक्तिलाई लान्छना लगाउनु पर्ने कारणको विद्यमानता नरहेकोले प्रतिवादी वाहेकको व्यक्तिको करणीबाट जन्मेको भनी अनुमान गर्न नमिल्ने ।
(प्रकरण नं.८)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या. ताहिरअलि अन्सारीः पुनरावेदन अदालत, नेपालगञ्जको मिति ०५९।३।१९ को फैसलाउपर प्रतिवादीका तर्फबाट दोहोर्याई हेरिपाउँ भनी यस अदालतमा पेश भएको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रुपमा दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :-
विपक्षी अन्यायीको घर र मेरो घर नजिकै भएको हुँदा फिरादी जनता आदर्श मा.वि. डिगिया जगदम्वामा कक्षा ५ मा अध्ययन गर्दा स्कूल जाँदा प्रयोग गर्ने बाटो र विपक्षी चिसापानी सहकारी साना किसानमा जागीर खाने भएकाले निज सो कार्यालयमा पुग्नका लागि प्रयोग गर्ने बाटो एउटै भएकाले संधैजसो भेटघाट र निज मेरा सानैदेखि चिनेका मान्छे समेत भएकाले निजसँग मायाप्रेम वस्न पुगी सोही क्रममा २०५३ साल पौष १० गते दिउँसो अं. ११ वजेको समयमा चिसापानी गा.वि.स. को मूलाठाँटी भन्ने जंगलमा विपक्षीले मलाई विहे गर्ने र संगै जीवन विताउने वाचा गरी विश्वासमा पारी करणी गरेका र मैले हाम्रो जात मिल्दैन गाउँ घरमा विरोध होला हाम्रो विवाह हुन अप्ठ्यारो छ भन्दा मैले विवाह गर्ने हो समाज मानिसहरुसँग के मतलव भनी प्रेमजालका आदर्शमय कुरा गरी मलाई करणी गरेका र त्यसपछि पटक पटक हामी दुवैबीच करणी हुदै आएको थियो । २०५४ साल आषाढ २२ गते शुक्रवारका दिन म रजश्वला भै उम्केको ५ दिन भएको थियो सोही दिन विहान १० वजे निजसँग करणी लेनदेन भयो र सोही करणी समागमले गर्दा मेरो पेटमा गर्भ रह्यो । मैले पटक पटक अन्यायीलाई मेरो पेट वढ्दै छ विहे गर्नु होस्,र मलाई साथमा राख्नु होस् नत्र म यता न उताकी हुन्छु भन्दा गर्भपतन गराउ म औषधी ल्याउँछु भनी भनेका र मैले गर्भ पतन गराउँदिन भनी भन्दा त्यसो भए म जागीर छोडी जान्छु तिमीलाई अपनाउन सक्दिन भनी २०५४ साल मंसीर महिनामा जागीर छोडी भागेपछि म आफ्नो माइती घरमा गई २०५४।१२।९ गते आमाबाबुको घरमा वच्चा जन्माउन नसकी भे.अं. अस्पतालमा वच्चा जन्माई सो वेला अन्यायीका बाबुले रु.३,०००।– समेत दिएका मिति २०५५।३।२७ गते वच्चाको न्वारान गर्न र निज अन्यायीको घरमा वस्न पाउँ भनी गाउँघरका मानिसहरुसमेत रोहवरमा राखी अन्यायीको घरमा जाँदा निजका बाबु परिमल रानाले छोराको जातक भए नभएको उसैलाई थाहा होला मलाई कुनै सरोकार छैन ऊ यहां नभएकाले मैले न्वारन गर्न र घरमा पस्न दिन्न भनी रोक लगाएकाले साह्रै अन्यायमा परी म अवला नारीलाई प्रेमजालमा पारी करणी लेनदेन गर्ने प्रतिवादी लिलबहादुर राना क्षेत्रीसँग मुलुकी ऐन लोग्ने स्वास्नीको महलको ५ क नं. बमोजिम अन्यायीसँगको करणी विर्यबाट जन्मेको नावालक वच्चाको न्वारान गरी लोग्ने स्वास्नीको नाता कायम गरिपाऊँ भन्ने फिराददावी ।
वडासमेत फरक भई लगभग ७ किलो मिटरको दूरीमा वादी र मेरो घर रहेका छन् । मिति २०५३।९।१९ गते पहिलो पटक मुलाठांटी भन्ने जंगलमा वादी र मेरो करणी भयो भन्ने भनाई सत्य होइन । मुलाठाटी भन्ने ठाउँमा जंगल नभई खुला स्थान र वस्ती छ त्यस्तो ठाउँमा करणी जस्तो गोप्य रुपमा हुने कार्य दिउँसै हुन सक्दैन । विपक्षी वादी र देउराम कामीको छोरा जिल्ला वाँके नौवस्ता गा.वि.स. वा.न.. ३ साविक हाल ऐ वा.नं.१ वस्ने सैलुवा गाउँ वस्ने यमबहादुर भन्ने ऐवबहादुर कामी (विश्वकर्मा) को २०५४ साल वैसाख महिनाको पहिलो हप्तामा आफूखुस दुवैले राजी खुसीका साथ विवाह गरेका थिए । पछि घरायसी वादविवादले गर्दा निजहरु कहिले माइती कहिले कोहलपुर कहिले नेपालगंज बजारमा वस्ने र यही क्रममा २०५४ साल पौषको पहिलो हप्ता वर्दिया सानो श्री गा.वि.स. वा.नं.३ कुसुमबजार वस्ने प्रताप वाठाको घरमा ऐ. फागुनको अन्तिम समय किरायामा वसीआएका थिए भन्ने मेरा साक्षीहरुबाट थाहा भएको । तत्पश्चात वादी आफ्नो लोग्ने यम हादुर भन्ने ऐवबहादुर विश्वकर्माको घरमा नै वसेकी थिइन् । गर्भावस्थाको भई सुत्केरी हुने अवस्थामा ०५४।१२।८ मा भेरी अञ्चल अस्पतालमा भर्ना भएको निजको Normal Delivery हुन नसक्ने अवस्था भएपछि निजको अप्रेशन गरी वच्चा जन्मेको थियो । निज वादीको भेरी अञ्चल अस्पतालमा मिति २०५४।१२।९ मा अप्रेशन भएको र मिति २०५४।१२।३० मा अस्पतालबाट डिस्चार्ज भएकी थिइन । निजको अप्रेशन हुँदा र भर्ना हुँदासमेत लोग्नेको नाउँमा यमबहादुर भन्ने उल्लेख रहेको छ । उक्त डेलभरी हुँदा भए गरेका कागज मलाई व्यक्तिगत रुपमा नदिएकाले सम्मानित अदालतबाटै झिकाई पाउँ । जहाँसम्म परिमल रानाले रु. ३,०००।– रुपैया दिए भन्ने सवाल छ सो सरासर झुठ्ठा कपोलकल्पित हो । वादी मेरो चिनजान नाता गोताका व्यक्तिसमेत नभएकाले विना सित्तै ऋण दिने प्रश्न नै उठदैन वादीले मलाई २०५४ साल मार्गमा छाडी भागे भनी दावी गरे पनि म प्रतिवादी साना किसान सहकारी संस्था लिमिटेड नौवस्तीमा मिति २०५४।११।४ सम्म कार्यरत् रहेकोमा मिति २०५४।११।५ देखि लागू हुने गरी राजीनामा दिएको र सोही मितिदेखि लागू हुने गरी राजीनामा स्वीकृत भएबाट मिति २०५४।११।५ सम्म मेरो उपस्थिति उक्त संस्थामा नै थियो । निजकै लोग्ने यमबहादुर भन्ने ऐवंबहादुर कामी (विश्वकर्मा) को करणी विर्यबाट छोरा जन्मेको हो । निज वादीका लोग्ने यमबहादुर कामी घर छाडी गएका छन् । हामीलाई हैरान गर्न तथा इज्जतमा धक्का पुर्याउनमात्रै प्रस्तुत फिराद दिएकाले झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने लिलबहादुर राना क्षेत्रीको हकमा अ.वं. ८३ नं. बमोजिम अनुमति लिई निजका बाबु परिमल राना क्षेत्रीले फिराएको प्रतिउत्तर पत्र ।
यसमा वादी प्रतिवादीको मुख नमिलेको कुरा एकीन गर्नका लागि वादी प्रतिवादी दुवै पक्षका साक्षी वुझी पेश गर्नू भन्ने शुरु अदालतको आदेश ।
वादी र प्रतिवादी लिलबहादुर राना क्षेत्रीबीच प्रेम सम्बन्ध थियो । वादीले वच्चा अस्पतालमा जन्माएको हो । वादी प्रहरी चौकी नौवस्तामा ज्यान वचाई दिनु पर्यो भनी जाँदा गाउँका भद्र भलादमीको निर्णयमा प्रतिवादीका बाबुले रु.३,०००।– वादीका बाबु दलबहादुरलाई दिएका थिए । म र दलबहादुरले वादीलाई अस्पतालमा पुर्याएका हौं । वादी चित्रा वि.क. र प्रतिवादी लिलबहादुर बीच विवाह भने भएको होइन वच्चाको न्वारन गराई नाता कायम हुनु पर्ने हो भन्ने वादीका साक्षी रत्ने सुनारले गरेको वकपत्र ।
वादीको र प्रतिवादीको घर अं. ७ किलो मिटरको फरकमा छ । वादी चित्रा वि.क. को लोग्ने यमबहादुर भन्ने ऐवबहादुर कामी (विश्वकर्मा) हो । मुलाठाटी भन्ने ठाउँमा कुनै जंगल छैन घरहरु छन् । वालक उसैको हुनु पर्छ निजको विवाह २०५४ साल वैशाख महिनामा भएको हो । वादीदावी झुठ्ठा हो भन्ने प्रतिवादीका साक्षी रामबहादुर घर्तीले गरेको वकपत्र ।
लिलबहादुर राना क्षेत्रीको करणी विर्यबाट वच्चा जन्मेको हो । अन्य कसैसँग विवाह भएको थिएन । नौवस्ता गा.वि.स. इलाका प्रहरी कार्यालयमा प्रतिवादीका बाबुले रु.३,०००।– दलबहादुर वि.क.लाई उपचार गराउन पठाएका हुन् । नाता कायम हुनु पर्ने हो भन्ने वादीका साक्षी रामबहादुर शाहीको वकपत्र ।
वादी र प्रतिवादी यमबहादुरलाई चिन्दछु । २०५४ साल पौष महिनाको पहिलो हप्तातिर वर्दिया सानो गा.वि.स. वा.नं. ३ प्रताप वाडाको घरमा वसेका थिए । त्यहाँबाट निजहरुलाई चिनेको हुँ । निज यमबहादुरले मैले श्रीमती ल्याएको छु भनेर भन्दा थाहा पाएको हुँ । नाता कायम हुनु पर्ने होइन भन्ने प्रतिवादीका साक्षी मानबहादुर वलीले गरेको वकपत्र ।
यसमा प्रतिउत्तरपत्रको प्रकरण नं. (घ) मा वादी चित्रा वि.क. २०५२।१२।८ मा भेरो अञ्चल अस्पतालमा भर्ना भएको निजको Normal Delivery हुन नसक्ने अवस्था भएपछि निजको अप्रेशन गरी बच्चा जन्मेको थियो । निज वादीको मिति २०५४।१२।९ मा अप्रेशन भएको ऐ. ३० गते त्यहाँबाट डिस्चार्ज भएकी हुन् । निज वादीको अप्रेशन हुँदा र भर्ना हुँदासमेत लोग्नेको नाम यमबहादुर भन्ने उल्लेख रहेको छ । सो कुरा मलाई प्रस्तुत मुद्दा परेपछि तथ्यगत कुरा जान्ने प्रयास गर्दा थाहा जानकारी हुन आएको र सो कागजातको नक्कल प्राप्त गर्ने भरमग्दुर प्रयास गर्दा पनि वेसरोकारवालालाई दिन नमिल्ने भनी भेरी अञ्चल अस्पतालबाट जवाफ दिई नक्कल दिन इन्कार गरेको हुँदा सम्मानित अदालतबाटै वादीको Normal Delivery का अवस्थामा भर्ना हुँदा र अप्रेशन हुँदा दाखिल गरेको विवरण र अप्रेशनका लागि दिइएको मंजुरीको कागजात भेरी अञ्चल अस्पतालबाट झिकाई पाउँ भनी प्रतिउत्तर जिकिर लिएकोमा वादी चित्रा वि.क. को Delivery को अवस्थामा भर्ना हुँदा र अप्रेशन हुँदा दाखिल गरेको विवरण र अप्रेशनका लागि दिइएको मन्जुरी कागजातहरुसमेत पठाई दिनु हुन भनी भेरी अञ्चल अस्पतालमा लेखी कागजात प्राप्त भए वा जवाफ प्राप्त भएपछि नियमानुसार पेश गर्नु भन्ने आदेशानुसार स्टोरमा पानी चुहिई विरामीहरुका कागजातहरु कुहिई कामै नलाग्ने अवस्थामा भएकाले पठाउन नसकिने व्यहोरा जानकारी गराएको भन्ने व्यहोराको पत्र मिसिल सामेल रहेको ।
यसमा यी वादीले वच्चा जन्माउन भेरी अञ्चल अस्पतालमा भर्ना हुँदा यमबहादुर भन्ने एवबहादुर वि.क. को श्रीमती भनी लेखाएकी छन् भनी प्रतिवादीले जिकिर लिएतर्फ तत्सम्वन्धी रेकर्ड झिकाउँन अस्पताललाई लेखी पठाउँदा कागज सडी गली गएकोले पठाउन नसकिने भनी सो अस्पतालबाट जवाफ प्राप्त भएकाले यमबहादुर भन्ने व्यक्ति कुन गाउँ वस्ने कहांका हुन् प्रतिवादीको अ.वं. १३३ नं. बमोजिम कागज गराई निजको वतन खुलाई दिएमा निजलाई म्याद दिई झिकाई वुझी पेश गर्नू भन्ने शुरु अदालतको आदेश ।
देउराम कामीको छोरा जिल्ला वाँके नौवस्ता गा.वि.स. वा.नं. १ सैलुवा गाउँ वस्ने यमबहादुर भन्ने ऐवबहादुर वि.क. हो भनी प्रतिवादीले अ.वं. १३३ नं. बमोजिम गरेको कागज ।
यसमा यमबहादुर भन्ने ऐवबहादुर भारत गएकाले निजको हकमा प्रतिवाद गर्ने मौका पाउँ भनी निजका बाबु देउराम कामीले अ.वं. ८३ नं. बमोजिम दिएको निवेदनमा निज यमबहादुर भन्ने ऐवबहादुर भारत गएको छ छैन गएको भए कहिले गएको र फर्की आउने कहिले हो भन्ने सम्बन्धमा सर्जमीन वुझी पेश गर्नु भन्ने आदेशानुसार निज यमबहादुर भारत गएको छ भनी मिति २०५७।५।३१ गते भै आएको सर्जमिन मुचुल्का मिसिल सामेल रहेको ।
२०५३ साल माघ १५ गते चित्रा वि.क. र मेरो छोरा ऐवबहादुर वि.क.का बीच विवाह भएको हो । चित्रा वि.क. मेरो छोराको श्रीमती भएकोले निज मेरी वुहारी नाताको मानिस हुन् । वच्चा जन्मदा मेरै छोराले वादीको अप्रेशन गराएको हो र अस्पतालमा वच्चा जन्मेको हो । प्रतिवादी परिमल रानाको छोरालाई फसाउन झुठ्ठा मुद्दा दिएका हुन् । प्रतिवादी लिलबहादुर रानासँग नभई मेरो छोरासँग वादीको नाता कायम हुनु पर्ने हो भन्ने यमबहादुर भन्ने ऐवबहादुरको हकमा अनुमती लिई निजका बुबा देउराम कामीले गरेको वयान ।
यसमा आज यमबहादुर भन्ने ऐवबहादुर वि.क. को हकमा वयान गर्ने देउराम कामी कारणीसरह देखिंदा निजंलाई तारेखमा राखी नियमानुसार गर्नू भन्ने शुरु आदेशानुसार देउराम कामी तारेखमा रहेको ।
चित्रा वि.क.ले आफूलाई करणी गरेबाट वच्चा जन्मेको जस्तो सवेदनशील विषयमा सम्बन्धित व्यक्तिहरु नै उपस्थित भई प्रतिवाद भएको हुनुपर्नेमा सो भएको प्रस्तुत मुद्दामा देखिनआएन । सहुलियत दरको ऋण नदिएको कारणबाट आफ्नो छोरीलाई एका व्यक्तिको पोइल दिइसकेको अवस्थामा छोरीलार्ई सिकाई चित्राका बुबाले लिलबहादुरले करणी गरेको हो भन्न लगाउने र चित्राले पनि एउटाद्वारा करणी गराई अर्कोले करणी गरेको हो भनी नाता कायम गरी न्वारन गरिपाऊँ भनी भनेकी हुन् भन्न सकिने अवस्था प्रतिउत्तरलगायतका मिसिल संलग्न प्रमाणबाट समर्थित हुनसक्ने नदेखिनाले लिलबहादुर रानाले वादीलाई करणी गरेबाट रहेको गर्भबाट जन्मेका वन्चाको न्वारन प्रतिवादीबाट गराई दिने र निज लिलबहादुर रानासँग वादीको लोग्नेको नाता समेत कायम हुने ठहर्छ भन्नेसमेत व्यहोराको मिति २०५७।१०।११ वाँके जिल्ला अदालतको फैसला ।
सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको प्रतिकूल मुद्दाको तथ्यमा प्रवेश नै नगरी न्यायिक मनको प्रयोग नै नगरी उजूर गरेपछि मर्का परेकै हुन्छ भन्ने पूर्णतः मनोगत आधारमा भएको वाँके जिल्ला अदालतको फैसला वदर भागी छ,वदर गरिपाऊँ र यी प्रत्यर्थी वादीको लोग्ने यमबहादुर भन्ने ऐवबहादुर वि.क. (कामी) छंदाछंदै म पुनरावेदक वादीसँग लोग्ने कायम नहुने र वच्चाको न्वारन गर्नु नपर्ने भनी हक इन्साफ न्याय निरोपण गरिपाऊँ भन्नेसमेत व्यहोराको पुनरावेदन पत्र ।
यसमा देउराम कामीले आफनो छोराको करणीबाट जन्मेको भनी जातक स्वीकारेको र तत्सम्बन्धी प्रमाण अस्पतालमा मौज्दात रहेको अवस्थामा प्रतिलिपिको औचित्यको विवेचना नगरी भएको वाँके जिल्ला अदालतको मिति २०५७।१०।११ को फैसलामा प्रमाणको मूल्यांकनको सन्दर्भमा त्रुटि गरेको भै सो इन्साफ विचारणीय हुँदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार गरी पेश गर्नू भन्ने पुनरावेदन अदालतको मिति २०५८।११।१६ को प्रत्यर्थी झिकाउने आदेश ।
करणी र बच्चाको जन्मको कुरा आईमाईकै कथनमा भर पर्नुपर्ने र आफ्नो सतित्व र प्रतिष्ठामा लान्छना लाग्ने गरी एकले करणी गरेकोमा अर्कोलाई लाञ्छना लाउनुपर्ने कारण प्रतिवादीहरुले देखाउन र प्रमाणित गर्नसकेको नदेखिंदा प्रतिवादी लिलबहादुर राना क्षेत्रीकै करणी विर्यबाट वादीको बच्चा जन्मिएको सिद्ध हुन्छ । तसर्थ वादी चित्रा वि.क.को प्रतिवादी लिलबहादुर रानासँग लोग्ने नाता कायम भै बच्चाको न्वारानसमेत गरी दिनुपर्ने ठहर्याएको शुरु बाँके जिल्ला अदालतको मिति २०५७।१०।११ को फैसला सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत,नेपालगञ्जको मिति २०५९।३।१९ को फैसला ।
कानूनसम्मत नभएको निर्णयाधारको आधारमा भएको, मुलुकी ऐन अ.वं. ७७ र १८४ क. नं. बमोजिम वुझ्नु पर्ने प्रमाण नवुझी भएको, मुलुकी ऐन अ.वं. २१९, २१९(क), १८४(क), न्याय प्रशासन ऐन, ०४८ को दफा २९ तथा प्रमाण ऐन, ०३१ को दफा ३२(२) को गम्भिर त्रुटि भई भएको, प्रमाण ऐन, ०३१ को दफा ४७,४८,४९ र ५० को प्रक्रिया पूरा गरी वुझिएको प्रमाणको कानूनसम्मत मूल्यांकन र विवेचना नै नगरी भएको, प्रमाण ऐन, ०३१ को दफा ८ बमोजिम ग्रहण गर्नुपर्ने प्रमाण ग्रहण नगरी मनोगत आधारमा भएको फैसला सदर गरेको लोग्ने स्वास्नीको महलको ५ क नं. र ६ नं. को गम्भिर त्रुटि भएको र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको परिपालना नभई न्यायिक मनको प्रयोग नगरी भएको पुनरावेदन अदालतको फैसला वदर गर्नको लागि दोहोर्याई हेर्ने अनुमति पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको निवेदन ।
यसमा प्रतिवादीको प्रतिउत्तर जिकीरबमोजिम अ.वं. १३९ नं.बमोजिम वुझिएका प्रतिवादी यमबहादुर कामीको बाबु देउराम कामीको बकपत्र र प्रतिवादीको हकमा अनुमति लिई दायर गर्ने परिमल राना क्षेत्रीले मुद्दा दोहोर्याई पाउँ भनी निवेदनसाथ प्रस्तुत भएको भेरी अन्चल अस्पतालको Admission and Summary Record को प्रमाणित प्रतिलिपिबाट वादी चित्रा वि.क.ले जन्माएको जातकको बाबु यमबहादुर वि.क. भनी उल्लेख भएको र सो रेकर्डको पछाडि म मेरो विरामीलाई अप्रेशन गर्दैछु यस बीचमा कुनै भैपरी आएमा यस अस्पतालको कुनै कर्मचारीलाई दोष दिने छैन भन्ने व्यहोरा लेखी वादीलाई श्रीमती भनी मिति ०५४।१२।९ मा यमबहादुर वि.क. ले हस्ताक्षर एवं ल्याप्चे सहीछापसमेत गरेको देखिंदा वादी दावीबमोजिम नाता कायम गर्ने ठहर गरेको शुरु वाँके जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, वाँके नेपालगंजको मिति ०५९।३।१९ को फैसलामा अस्पतालमा रहेको उपर्युक्त रेकर्ड प्रमाणको समूचित मूल्यांकन नगरी प्रमाण ऐन, ०३१ को दफा ३ र ५५ तथा मुलुकी ऐन अ.वं. १८४ एवं १८५ नं. को त्रुटि गरेको देखिनुका साथै ने.का.प. २०५२ अंक ६ नि.नं. ६०३१ पृ. ५३६ र स.अ. वुलेटिन २०५२ बर्ष ४ पूर्णाङ्क ८७ पृष्ठ १४ मा प्रतिपादित सिद्धान्त समेतको त्रुटि देखिंदा प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, ०४८ को दफा १२(१) को (क) र (ख) को आधारमा मुद्दा दोहोर्याई हेर्नको लागि निस्सा प्रदान गरिएको छ । विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नू भन्ने यस अदालतको मिति ०५९।१०।२९ को आदेश ।
नियमानुसार दैनिक मुद्दा पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फबाट विद्वान अधिवक्ता हरिहर दाहालले गर्नु भएको वहससमेत सुनी पुनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछ र पुनरावेदन जिकीर पुग्न सक्ने नसक्ने के रहेछ निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी लिलबहादुर रानाको करणी विर्यबाट जन्मेकोले निजैबाट वच्चाको न्वारान गरी निजसँग लोग्ने नाता कायम होस् भन्ने वादीदावी र वादीदावी इन्कार गरेको प्रतिवाद भएको प्रस्तुत मुद्दामा प्रतिवादीका तर्फबाट निजका बाबुले अनुमति लिई प्रतिउत्तर पत्र प्रस्तुत गरेको देखिन्छ । वादीले जन्माएको वच्चा आफ्नो छोराको नभई वादी यमबहादुर वि.क.की पत्नी भएकाले निज यमबहादुरबाटै सो वच्चा जन्मेको हो भन्ने इन्कारी प्रतिउत्तरलाई समर्थन हुने गरी अ.वं. १३९ नं.बमोजिम वुझिएका प्रतिवादी यमबहादुरका बाबुले वयान गरेको देखिन्छ । वादीले झुठ्ठा उजूरी गर्नुपर्ने कारणको सम्बन्धमा स्पष्ट पार्ने गरी कुनै प्रमाण कागजात पेश गर्न सकेको देखिन आएन । मनोगतरुपमा कुनै कुरालाई खण्डन वा समर्थन गरेकै आधारमा नाताकायम जस्तो संवेदनशील कुराको निर्णय गर्न नसकिने समेत हुनाले दावी अनुसार नाता कायम हुने ठहराई जिल्ला अदालतले गरेको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला उपर प्रतिवादीको निवेदन परी यस अदालतबाट दोहोर्याई हेर्ने निस्सा प्रदान गर्न निर्णयार्थ पेश हुन आएको देखियो ।
३. प्रस्तुत मुद्दाको सन्दर्भमा वादी चित्रा वि.क. र प्रतिवादी लिलवहादुर राना वीच शारीरिक वा यौन सम्पर्क भए, नभएको भन्ने कुराको निर्णय गर्नु भन्दा वादीले जन्माएको बच्चा प्रतिवादी लिलवहादुरसँगको सम्पर्कबाट जन्मेको हो, होइन र सोही आधारमा प्रतिवादीले न्वारन गरिदिनु पर्ने र प्रतिवादी र वादी वीच लोग्ने स्मवास्नीको नाता कायम गर्नुपर्ने हो वा होइन भन्ने मुख्य निर्णयार्थ विषय वस्तु रहेको देखियो । यस्तो अवस्थामा शारीरिक सम्पर्क गर्दाको अवस्थाका प्रत्यक्षदर्शी साक्षीको सम्भावना अत्यन्त न्यून रहने गर्दछ । तथापि वादी प्रतिवादी वीच हेलमेल र प्रेम सम्वन्ध थियो, नाता कायम हुनुपर्छ र प्रतिवादीका बाबुले वादीको सुत्केरी वेला निजको बाबुलाई खर्च वापत रु.३,०००।– दिएका हुन भनी वादीका साक्षीहरु रत्ने सुनार र रामवहादुर शाहीले बकपत्र गरेको देखिन्छ ।
४. वादी वा निजका माइतीको कसैसँग यी प्रतिवादी वा निजको परिवारका कुनै सदस्यसँग कुनै नयां, पुरानो रीस इवी रहेको देखिदैन । प्रतिवादीलाई यस्तो मुद्दामा झुठ्ठा आरोप लगाई फैलाउनु पर्ने अन्य कुनै कारण पनि प्रतिवादी तर्फबाट खुलाउन सकिएको पाइदैन । वादी स्वयमले पनि आफ्नो चरित्र माथिनै आक्षेप हुने वा गम्भीर आघात पर्ने गरी वावु नभएको व्यक्ति यी प्रतिवादीलाई आफूले जन्माएको वच्चाको बाबु हो भनी भन्नुपर्ने आवश्यकता र वाध्यता पनि देखिन आउदैन ।
५. नाता कायम जस्तो व्यक्तिको चरित्र र नैतिकतासँग सम्वन्धित सम्वेदनशील मुद्दामा आफूमाथि लागेको अभियोगका सम्वन्धमा प्रतिवादी स्वयं अदालतमा उपस्थित भई आफ्नो भएको साँचो सत्य व्यहोरा खुलाई न्याय निरोपण गर्ने कार्यमा मद्दत गर्नुपर्नेमा यी प्रतिवादी लिलवहादुर रानाले अदालत समक्ष उपस्थित हुन सकेको पनि देखिएन । यसरी अदालतमै अनुपस्थित रहनुले यी प्रतिवादी निर्दोष भएको र निजमाथि झुठ्ठा आरोप लगाइएको भनी मान्न मिल्ने अवस्था देखिदैन । यस्तै अ.वं. १३९ नं. वमोजिम वुझिएका अर्का प्रतिवादी यमवहादुर भन्ने ऐववहादुरले पनि अदालतमा उपस्थित भई आफ्नो भएको साँचो व्यहोरा व्यक्त गरेको देखिएन । निजको तर्फबाट निजका बाबु देउरामले बयान गरेको र वादीले जन्माएको बच्चाको बाबु यामवहादुर हो भनी गरेको बयानलाई पुष्टिगर्ने वा यामबहादुर र वादी चित्रा वि.क. बीच विवाह भएको कुनै प्रमाण समेत पेश गर्न सकेको देखिएको छैन ।
६. आफू सहकारी संस्थाको सदस्य भएको वेलामा सो संस्थाबाट निज वादीका बाबुलाई विना धितो ऋण दिन अस्वीकार गरेको रिसइविले निज वादीका बाबुले वादीलाई सिकाई मेरो छोराले निज वादीलाई करणी गरेको हो भनी वादीले दावी लिएको भन्ने सम्म आफ्नो प्रतिउत्तर पत्रमा प्रतिवादीका बाबुले उल्लेख गरेको सम्बन्धमा हेर्दा सो जिकीरलाई पुष्ट्याई गर्ने आधार र प्रमाण प्रतिवादी पक्षबाट पेश हुनसकेको मिसिल कागजातबाट देखिदैन । यसरी विनाआधार प्रमाण जिकिर लिएको प्रतिउत्तरको व्यहोरा पत्यारलायक देखिदैन र यस्तो जिकीर प्रमाणयोग्य पनि हुन सक्तैन । यस्ता अप्रमाणिक भनाईको आधारमा प्रतिवादीले आफ्नो दायित्वबाट उन्मुक्ति प्राप्त गर्न सक्ने देखिदैन ।
७. यसैगरी यी प्रतिवादीका तर्फबाट प्रस्तुत भएको प्रतिउत्तरमा जिकीर लिएको अस्पतालको अभिलेखमा वादीको लोग्नेको नाउँमा यमबहादुर भन्ने उल्लेख भएको सन्दर्भतर्फ हेर्दा भेरी अन्चल अस्पताल, नेपालगंजको यस अदालतमा प्राप्त Admission & Summary Record मा भएको यमबहादुर वि.क.को सही स्पष्ट देखिदैन । सो अस्पतालमा भएको उल्लिखित अभिलेखमा भएको यमबहादुर वि.क.को सही निजको हो होइन भनी परीक्षण गरिएको वा निज स्वयंले अदालतमा आई आफ्ना सो हस्ताक्षर सहीका सम्बन्धमा अभिव्यक्त भएका कथनप्रति कुनै प्रतिकृया दिएको अवस्थासमेत देखिदैन । यस्तो अस्पतालको अभिलेखसम्बन्धी जिकीर र अस्पतालको उल्लिखित अभिलेखमा भएको उल्लिखित किसिमको सहीछापको आधारमा मात्र वादीले जन्माएको बच्चाको बाबु यमबहादुर हो भन्ने निष्कर्ष निकाल्न सकिने अवस्था देखिदैन ।
८. करणी र बच्चाको जन्मसम्बन्धी विवादमा सो मिसिल संलग्न प्रमाणका अतिरिक्त विवादसँग सम्बन्धित महिलाको वयानलाई गम्भीरतापूर्वक हेर्नुपर्ने हुन्छ । सामान्यतया आफ्नो सतित्व एवं इज्जत, चरित्र र प्रतिष्ठामा आँच आउने वा लान्छना लाग्ने गरी कुनै पनि महिलाले एउटा पुरुषसँग करणी लेनदेन भएको अवस्थामा अर्को व्यक्तिउपर सो लान्छना लाउनुपर्ने अवस्था हुँदैन । जहांसम्म वादीले जन्माएको बच्चा प्रतिवादी लिलबहादुरको नभई निजकै लोग्ने यमबहादुरको हो भनी लिएको प्रतिउत्तर जिकिर छ त्यस सम्बन्धमा यमबहादुरको उपस्थिति छैन, यमबहादुर र चित्रा वि.क. बीच वैवाहिक सम्वन्धकायम भएको कुनै आधार प्रमाण छैन । यमबहादुरको श्रीमती भए आफै उपस्थित भई गर्भ उपरोक्त तथ्यलाई आफैले स्वीकार गर्दै लोग्ने र बाबुले गर्नुपर्ने अन्य दायित्वपूरा गर्नुपर्नेमा यमवहादुरबाट त्यस्तो कुनै पनि दायित्व पूरा गरेको देखिएको छैन । यस्तो अवस्थामा एउटा पुरुषसँग करणी गरी गराई सोको कारणबाट गर्भ रही बच्चासमेत जन्मेको कुरालाई अर्को पुरुषको करणीबाट सो बच्चा जन्मेको हो भनी निज वादीले अर्को व्यक्तिलाई लान्छना लगाउनु पर्ने कारणको विद्यमानता पनि नरहेकोले वादीदावीको वच्चा यी प्रतिवादी वाहेकको व्यक्तिको करणीबाट जन्मेको भनी अनुमान गर्न मिलेन । उपलव्ध सम्पूर्ण साक्षी र प्रमाणबाट यिनै वादी प्रतिवादी वीचको सहबासबाट बच्चा जन्मेकोदेखिन आउँछ ।
९. अतः उल्लिखित विवेचनाबाट वादी दावीबमोजिम वादीको वच्चा यिनै प्रतिवादी लिलबहादुर रानाको करणी विर्यबाट जन्मेको पुष्टि हुँदा वादी चित्रा वि.क. को यी प्रतिवादी लिलबहादुर रानासँग लोग्ने नाता कायम भई बच्चाको न्वारानसमेत गरिदिनु पर्ने ठहर्याएको शुरु वाँके जिल्ला अदालतको मिति २०५७।१०।११ को फैसला सदर गरेको पुनरावेदन अदालत नेपालगंजको मिति २०५९।३।१९ को को फैसला मनासिव नै देखिंदा सदर हुने ठहर्छ । यस अदालतबाट दोहोर्याई हेर्न निस्सा प्रदान गर्दा लिइएका आधारहरुसँग सहमत हुन सकिएन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार वुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.वलराम के.सी.
इति सम्बत २०६५ साल जेष्ठ २१ गते रोज ३ शुभम् ........
इजलास अधिकृत : कृपासुर कार्की
15%'>
उक्त रायमा म सहमत छु ।
न्या.रामप्रसाद श्रेष्ठ
इति सम्वत २०६५ साल असार १२ गते रोज ५ शुभम्..............
इजलास अधिकृत : विदुर कोइराला