शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८०२८ - वनपैदावार हटाई पाऊँ ।

भाग: ५० साल: २०६५ महिना: माघ अंक: १०

निर्णय नं.८०२८      ने.का.प. २०६५      अङ्क १०

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा

माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह

सम्वत् २०६० सालको स.फौ.पु.नं. ३३७२

फैसला मितिः २०६४।१०।४।६

 

मुद्दाः वनपैदावार हटाई पाऊँ ।

 

पुनरावेदक वादीः नि.सु. मोहनबहादुर गुरुङ्ग समेतको जाहेरीले नेपाल सरकार

बिरुद्ध

प्रत्यर्थी प्रतिवादीः जि.कञ्चनपुर श्रीपुर गा.वि.स. वडा नं. २ बस्ने बाजे राना समेत

 

शुरु फैसला गर्नेः

मा.जि.न्या. श्री मोहनकृष्ण खनाल

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री विश्वनाथ जोशी

मा.न्या श्री रामचन्द्र गुप्ता

 

§  कसूर गर्ने एक भन्दा बढी कसूरदार भएको अवस्थामा प्रत्येकलाई सोही बमोजिम दोब्बर सजाय गरिंदा जरीवाना र कैदको कुल मात्रा कानूनमा तोकिए भन्दा बढी हुन जाने ।

§  एक भन्दा बढी प्रतिवादी रहेको र प्रत्येकले वनबाट अवैधरुपमा ल्याएको काठको मात्रा र परिमाणका लागि छुट्टाछुट्टै अभियोग लगाएको नभई सबैले ल्याएको काठको कुल परिमाण र विगो जोड्दा पाँच हजार भन्दा बढी भएको र सोही विगो र मात्राको आधारमा सामूहिक रुपमा दफा वन ऐन, २०४९ को ५०(१)(घ)(४) बमोजिम सजायको दावी लिएको अवस्थामा कसूर ठहरी सजाय गर्दा सोही बमोजिम उक्त सजाय सामूहिक रुपमा नै गरिनु पर्ने ।

§  कुनै कसूर गरेवापत ऐनमा स्पष्टतयाः जनही सजाय हुने भनी उल्लेख भएको अवस्थामा वाहेक एक भन्दा बढी कसूरदार भएमा सो सजाय सामूहिक रुपमा भएको मान्नुपर्ने र उक्त सजाय दामासाहीले असूल गर्नुपर्ने ।

(प्रकरण नं.५)

§  सामूहिक रुपमा गरेको कसूरका लागि सामूहिक रुपमा नै सजाय हुने हुँदा जनही सजाय नगरी दामासाहीले सजाय हुने ।

(प्रकरण नं.७)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री विश्वराज कोइराला

प्रत्यर्थी प्रतिवादी तर्फवाटः

अवलम्वित नजीरः

 

फैसला

            न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत, महेन्द्रनगरको मिति २०६०।३।१६ को फैसला उपर वादी नेपाल सरकारको निवेदन परी यस अदालतबाट मिति २०६१।९।७।४ मा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै न्याय प्रशासन ऐन २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) अनुसार यस अदालतको अधिकार क्षेत्र भित्रको भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः

            कुण्डा इलाका वन कार्यालय र प्रहरी चौकी पचकडियाका कर्मचारीहरुले मिति २०५७।६।१२ गतेको राती अं. २ बजेको समयमा वन जंगल गस्ती गर्दै जांदा लालझाडी वन जंगलबाट निस्कने सुख्खड बाटामा श्रीपुर गा.वि.स. वा.नं. २ बस्ने रामप्रसाद राना, नत्थु राना, बाजे राना, मुल्लु राना,बहादुर राना, सटालु राना, इन्जर राना, वहाली राना समेत ८ जनाले विना इजाजत लालझाडी जंगलबाट ६ टायर गाडामा सालकाठ लोड गरी चोरी निकासी गरी रहेका बखत पक्राउ गरी ६ जना, टायर गाडा थान ६, रांगा जिउ १२ वन ऐन अनुसार कारवाहीको लागि पेश गरेका छौं भन्ने नि.सु. मोहनबहादुर गुरुङ्ग समेतका कर्मचारीहरुले मिति २०५७।६।१३ गते कुण्डा इलाका वन कार्यालयमा पेश गरेको जाहेरी प्रतिवेदन ।

            वन र प्रहरीको संयुक्त गस्ती टोलीले श्रीपुर वा.नं. २ बस्ने वाजे राना, मुल्लु राना,बहादुर राना, नत्थु राना, रामप्रसाद राना, सटालु राना समेतलाई सुख्खड घाटमा पक्राउ गरी बरामदी मुचुल्कामा उल्लेखित नाप, साइज, जातका काठ थान ६ र टायर गाडा थान ६ रांगा जिउ १२ बरामद गरेको ठीक सांचो हो भन्ने बरामदी मुचुल्का ।

            लालझाडी जंगलबाट अबैध किसिमका काठ चोरी निकासी गरी रहेका बखत वन तथा प्रहरीको संयुक्त गस्ती टोलीले पक्राउ गरेका हुन् । इन्जर राना र बहाली राना, रातीको मौका छोपी फरार भएका हुन् गस्ती टोलीले हामीले जंगलबाट अवैध रुपमा ल्याएको साल गोलिया थान ६, टायर गाडा थान ६, रांगा जिउ १२ बरामद गरेका हुन् । सो काठ हामी सबैको मिलोमतोबाट काटेका हौं । सरकारी वन क्षेत्रको काठ विना इजाजत चोरी निकासी गर्नु अपराध हो भन्ने कुरा थाहा थियो भन्ने समेत व्यहोराको पक्राउ परेका बहाली राना, मुल्लु राना, सटालु राना,बहादुर राना, नत्थु राना, राम प्रताप रानाको अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज ।

            बरामद काठ प्रतिवादीहरुले घर काजको लागि ल्याएका हुन् । निजहरु पेशेवर व्यक्ति होइनन् भन्ने समेत ब्यहोराको राजाराम राना समेतले गरी दिएको सर्जमिन मुचुल्का ।

            यसमा अनुसन्धान तहकिकात गरी संकलित सबुद प्रमाण सहितको मिसिल अध्ययन गर्दा पक्राउ परेका बाजे राना, रामप्रसाद राना, मुल्लु राना, नत्थु राना,बहादुर राना, सटालु राना, फरार रहेका इन्जर राना र वहाली राना समेत मिली सरकारी वन क्षेत्र लालझाडी जंगलबाट काठ अनाधिकार काटी चोरी निकासी गर्न लागेका बखत सुख्खड घाटमा मिति २०५७।६।१२ गते राती २ बजे वन र प्रहरीको संयुक्त गस्ती टोलीद्वारा बाजे राना, मुल्लु राना, नत्थु राना,बहादुर राना, रामप्रसाद राना र सटालु राना पक्राउमा परी कसूरमा सावित भएका, इन्जर र वहाली राना फरार रहेका, बरामद काठको सबुद प्रमाण निजहरुसंग नभएको, बरामदी मुचुल्का, सर्जमिनका व्यक्तिहरुको भनाई समेतका आधार प्रमाणबाट प्रतिवादीहरुले वन ऐन, ०४९ को दफा ४९(घ) को कसूर गरेको प्रति क्यू.फि. रु.२००।का दरले जनही बिगो रु. २३६५८।को दोब्बर जरिवाना रु. ४७३१६।र १ बर्ष कैद गरी पाउन मागदावी लिई फरार रहेका इन्जर राना र बहाली रानालाई सम्मानित अदालतबाटै झिकाई बरामद मालबस्तु सोही ऐनको दफा ६६ अनुरुप भरी पाउन मौकामा पक्राउ परेका अभियुक्तहरुलाई यसै प्रतिवेदन साथ पेश गरिएको छ भन्ने अभियोग पत्र ।

            मिति २०५७।६।१२ गते दिउंसो म समेतका आरोपित ८ जना व्यक्ति रागा गाडा लगी दाउरा खोज्न लिन जंगलमा गएका थियौं । अलौटो सालको रुख काटी ६ गिन्डा बनाई राखेको भेटाएकाले हामी ८ जनाले ६ गाडामा १।१ लट्ठा लोड गरी आउन लाग्दा लालझाडी जंगल किनारामा वन रक्षक कर्मचारीहरुले म समेतलाई पक्राउ गरेका हुन् । इन्जर र वहाली राना त्यहीबाट भागी गएका हुन् । मेरो रांगा टायर गाडाबाट बरामद भएको १ थान साल गोलियाको नाप पैमाइस ठीकै छ, काटेको काठ भेट्टाएकोले घरकाममा प्रयोग गर्ने लोभले कसूर गरेको हुँ भन्ने प्र. नत्थु रानाले अदालतमा गरेको बयान ।

            मिति २०५७।६।१२ गते म समेतका ८ जना वाल्ने दाउरा ल्याउन ६ टायर गाडा लगी लालझाडीको जंगलमा गई दाउरा खोज्ने क्रममा काटी गिण्डा बनाई राखेको साल गोलिया थान २ भेट्टाएकोले घर प्रयोगको लागि १ गिण्डा मैले र १ गिण्डा रामप्रसाद रानाले गाडामा लोड गरी राती घर आउन लाग्दा लालझाडीको जंगल किनारामा वन कर्मचारीले म समेत ६ जनालाई पक्राउ गरेका, इन्जर र वहाली भाग्न सफल भएका हुन् । म पेसेवर व्यक्ति होइन । दाउरा ल्याउन गएको अवस्था काटेको काठ भेट्टाएकोले लडियामा लोड गरी ल्याएको हुँ भन्ने समेत व्यहोराको मिति २०५७।७।३ को प्र. भुल्लु रानाले अदालतमा गरेको बयान ।

            मिति २०५७।६।१२ गते वाल्ने दाउरा ल्याउन म समेतका ८ जना लालझाडी जंगलमा गै दाउरा खोज्ने क्रममा सालकाटी गिण्डा बनाई छोडेको अवस्थामा भेट्टाएकाले हामीहरुले १।१ थान साल गिण्डा गाडामा लोड गरी पक्राउ पर्ने डरले रातीमा जंगलबाट घर तर्फ आउँदा वन कर्मचारीले हामी ६ जना व्यक्ति पक्राउ गरेका हुन् । वहाली र इन्जर राना भागी गएका हुन् भन्ने समेत व्यहोराको प्र. सटालु रानाले अदालतमा गरेको वयान ।

            खान पकाउने दाउरा लिन भनी दाजुको छोराबहादुर राना र म दाजुको रांगा टायर गाडा लगी लालझाडी जंगलमा गएका थियौं । त्यहा काठ खोज्ने सिलसिलामा सोही जंगलमा ढलेको सडी रहेको अवस्थामा सालको रुख फेला पारी एउटा गिण्डा बनाई उक्त गाडामा लोड गरी ल्याई रहेका अवस्था वन गस्ती टोलीले पक्राउ गरेको हुन् । दाउरा लिन ८ जना गएका थियौं । गिण्डा बनाई तयार गरेको फेला पारी ल्याएका हौं । काठ ल्याउने अनुमति छैन भन्ने समेत व्यहोराको प्र. बाजे रानाले अदालतमा गरेको बयान ।

            ६ वटा टायर गाडामा लगी म समेतका ८ जना लालझाडीको जंगलमा दाउरा लिन गएका थियौं । दाउरा खोज्ने क्रममा जंगलमा गिण्डा बनाई राखेको फेला पारी हामीहरुले ६ टायर गाडामा गिण्डा राखी घर तर्फ आउन लागेका वेला जंगल किनारामा गस्ती टोलीले पक्राउ गरेका हुन् । घरकामको लागि ल्याए पनि सजाय हुन्छ भन्ने कुरा थाहा नपाई ल्याएको हुँ भन्ने प्र. रामप्रसाद रानाले शुरु अदालतमा गरेको बयान ।

            मिति २०५७।६।१२ गते दाउरा लिन ६ टायर गाडा लगी हामी ८ जना लालझाडीको जंगलमा गएको र दाउरा खोज्ने क्रममा उक्त जंगलमा काटी गिण्डा वनाई राखेको सुकेको सालको काठ फेला पारी ६ गाडामा १।१ गिण्डा लोड गरी ल्याउँदा पक्राउ परेको हो । बहाली र  इन्जर भागी गएका हुन् । रुख काटेको होइन गिण्डा वनाएर ल्याएका हौं । दाउराको लागि काठ ल्याउँदा सजाय हुन्छ भन्ने कुरा थाहा थिएन । म पेसेवर व्यक्ति होइन भन्ने प्र.वहादुर रानाले अदालतमा गरेको बयान ।

            यसमा तत्काल प्राप्त प्रमाणहरुबाट प्रतिवादीहरु कसूरदार देखिन आएकाले आरोपित कसूरमा कारवाही हुने नै हुँदा पछि बुझ्दै जादा ठहरे बमोजिम हुने गरी वन ऐन, २०४९ को दफा ६४ तथा अ.बं. ११८ को देहाय (५)(१०) लाई दृष्टिगत गरी प्रतिवादी बाजे राना, नत्थु राना, मुल्लु राना, रामप्रसाद राना,वहादुर राना र सटालु राना समेत ६ जनालाई जनही रु.६५,०००।नगद वा सो वरावरको जेथा जमानी दिए लिई तारेखमा राख्नू, दिन नसके थुनामा राख्नु र फरार रहेका प्रतिवादी इन्जर राना र वहाली रानाका नाउंमा समाव्हान जारी गर्नु भन्ने मिति २०५७।७।३ को कंचनपुर जिल्ला अदालतको आदेश ।

            म सहितका ८ जना लालझाडी जंगलमा गस्ती गर्दै जांदा सुख्खडघाट भन्ने ठाउंमा बाजे राना सहितका ६ जनाले ६ गाडा डन्लपमा १।१ थान गोलिया काठ ल्याईरहेका अवस्थामा पक्राउ गरी कारवाहीका लागि पेश गरेका हौं । २०५७।६।१२ गतेको घटना हो । रातीको समय अध्यांरो भएकोले १।२ जना भागेका थिए । निजहरुको नाम मलाई थाहा भएन भन्ने समेत व्यहोराको जाहेरवाला प्रतिवेदक रामदत्त भट्टको बकपत्र ।

            यसमा प्रतिवादीहरुले अभियोग दावी बमोजिम कसूर गरेको ठहर्छ । प्रतिवादीलाई वन ऐन २०४९ को दफा ५०(१)(घ)(४) बमोजिम विगो रु. २३६५८।को दोब्बर रु. ४७,३१६।जरिवाना हुन्छ  भन्ने व्यहोराको शुरु कञ्चनपुर जिल्ला अदालतको फैसला ।

            प्रतिवादीहरुले आरोपित कसूर गरेकै कारण विगोको दोब्बर जरिवाना हुने तथ्यलाई स्वीकार गरी फैसला गर्ने शुरु अदालतले भएको जरिवानालाई सबै प्रतिवादीहरुबाट दामासाहीले असुल गर्नू भनी गरेको फैसला स्वयंममा बाझिनुका साथै कानून संगत नहुँदा शुरु कञ्चनपुर जिल्ला अदालतको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा वदर गरी अभियोग दावी बमोजिम जनही असूल गरिपाऊँ भन्ने व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत महेन्द्रनगरमा पर्न आएको पुनरावेदन पत्र ।

            यसमा प्रतिवादीहरुले आरोपित कसूर गरेको ठहर्‍याई शुरु जिल्ला अदालतबाट निर्णय भएपछि अभियोगपत्रमा प्रतिवादीहरु उपर वन ऐन, २०४९ को दफा ५०(१)(घ)(४) बमोजिम हानी नोक्सानीको विगोको दोब्बर जरिवाना र १ बर्ष कैद समेतको मागदावी तर्फ बिचारै नगरी दामासाहीले असूल गर्ने भनी सो फैसलामा उल्लेख भएबाट कानूनी त्रुटि गरी भएको फैसला नमिलेको हुँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७ बमोजिम बिपक्षी झिकाई पेश गर्नु भन्ने मिति २०६०।९।६।३ को पुनरावेदन अदालतको आदेश ।

            प्रतिवादीले घरकाजका लागि २०५७।६।१२ मा ८ जना भै ८ गाडा लगी लालझाडी जंगलबाट ६ थान गिण्डा गाडामा राखी ल्याउँदा पक्राउमा परेका हौं भनी बरामदी काठ आफूले ल्याएकोमा स्वीकार गरी अदालतमा समेत बयान गरेका र बहाली राना र इन्जर राना शुरु कारवाही देखि फरार रहेको देखिन्छ । प्रतिवादीहरुबाट पक्राउ गरेको काठको परिमाण अलग अलग लेखी अभियोग मागदावी नगरी एउटैमा जोडी ११८.२९ क्यू फिट कायम गरी रु.२००।का दरले जनही विगो. रु.२३६५८।को दोव्वर जरिवाना रु.४७३१६।को माग गरेकोमा प्रतिवादीहरु मध्ये कसबाट के कति परिणाममा बरामद भएको हो, सो नखुलाई नम्वरका हिसावमा खुलाएको देखिदा वादी नेपाल सरकारको पुनरावेदन जिकिरसंग सहमत हुन सकिएन । शुरु कञ्चनपुर जिल्ला अदालतले मिति २०५८।६।१० मा प्रतिवादीहरुलाई वन ऐन २०४९ को दफा ५०(१)(घ)(४) बमोजिम जरिवाना गर्ने ठहर्‍याएको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत, महेन्द्रनगरको मिति २०६०।३।१६ को फैसला ।

            वन ऐन, २०४९ को दफा ४९(घ) को कसूर गर्ने प्रतिवादीलाई सोही ऐनको दफा ५०(१)(घ) अनुसार विगोको दोब्बर जरीवाना वा १ बर्ष सम्म कैद वा दुबै सजाय हुने स्पष्ट कानूनी व्यवस्था अनुसार प्रतिवादीहरुलाई जनही विगोको दोब्बर जरीवाना हुने स्पष्टै रहेको अवस्थामा भएको जरीवानालाई दामासाहीले असूल गर्ने भनी शुरु अदालतबाट भएको फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत महेन्द्रनगरको फैसलामा वन ऐन, २०४९ को दफा ४९(घ) र दफा ५०(१)(घ) को प्रयोग र ब्याख्यामा त्रुटि हुनुका साथै उक्त ऐन अनुसार सजाय गर्दा ऐनले जरिवानाको हकमा जरिवाना गर्दा बिगोको दोब्बर जरिवाना गर्ने अधिकार बाहेक दामासाहीले जरिवाना गर्ने ऐनले अधिकार दिएको नहुँदा उक्त फैसला बदर गरी जरिवानालाई दामासाहीले असूल गर्नु भनी भएको शुरु जिल्ला अदालतको फैसला सदर गर्ने ठहराएको पुनरावेदन अदालतको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी दोहोर्‍याउने निस्सा प्रदान गरी प्रतिवादीलाई शुरु अभियोग माग दावी बमोजिम जनही रुपले जरिवाना गरिपाऊँ भन्ने समेत ब्यहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको निवेदन।

            यसमा वन ऐन २०४९ को दफा ५०(घ) को उप दफा (४) मा ५ हजार भन्दा बढीको विगोको दोब्बर जरिवाना वा एक बर्ष सम्म कैद वा दुबै हुने भनी उल्लेख भएको देखियो । पुनरावेदन अदालत, महेन्द्रनगरले गरेको फैसलामा जरिवाना गर्दा जनही नगरी दामासाहीले वाडी गरेको देखियो । लाग्ने जरिवाना दामासाहीले वाँडी भनी उक्त ऐनमा उल्लेख भएको नदेखिंदा पुनरावेदन अदालतको फैसलामा उल्लेखित ऐनमा भएको व्यवस्थाको त्रुटि विद्यमान देखिंदा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१)(क) अनुसार दोहोर्‍याउने निस्सा प्रदान गरीदिएको छ । बिपक्षीहरुलाई झिकाई नियमानुसार पेश गर्नू भन्ने यस अदालतको मिति २०६१।९।७।४ को आदेश ।

            नियम बमोजिम आजको पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक नेपाल सरकार तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री विश्वराज कोइरालाले शुरु कञ्चनपुर जिल्ला अदालतको फैसला सदर गर्ने ठहराई भएको पुनरावेदन अदालत, महेन्द्रनगरको फैसला कानूनी त्रुटिपूर्ण छ । वन ऐन २०४९ को दफा ४९(घ) को कसूर गर्ने प्रतिवादीहरुलाई सोही ऐनको दफा ५०(१)(घ) अनुसार विगोको दोब्बर जरिवाना वा १ बर्ष सम्म कैद वा दुबै सजाय हुने कानूनी व्यवस्था भएकोमा शुरुले सो नगरी जरिवानालाई दामासाहीले असुल गर्ने भनी व्याख्या गरेको शुरु कञ्चनपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, महेन्द्रनगरको फैसला वन ऐन, २०४९ को दफा ४९(घ) र दफा ५०(१)(घ) को प्रयोग र ब्याख्यामा त्रुटि भएको हुँदा उक्त फैसला बदर गरी शुरु अभियोग मागदावी बमोजिम प्रतिवादीहरुलाई सजाय होस् भनी गर्नुभएको बहस समेत सुनियो ।

            विद्वान उपन्यायाधिवक्ताले गर्नुभएको बहस सुनी पुनरावेदन अदालत, महेन्द्रनगरले मिति २०६०।३।१६।२ मा गरेको फैसला मिलेको छ, छैन र पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन, सोही विषयमा निर्णय दिनुपर्ने हुन आएको छ ।

            यसमा पक्राउ परेका बाजे राना, रामप्रसाद राना, मुल्लु राना, नत्थु राना, बहादुर राना, सटालु राना, फरार रहेका इन्जर राना र बहाली राना समेत मिली सरकारी वन क्षेत्र लालझाडी जङ्गलबाट अनाधिकार काठ काटी चोरी निकासी गर्न लागेका बखत सुख्खड घाटमा मिति २०५७।६।१२ गते राती १ बजे वन र प्रहरीको संयुक्त गस्ती टोलीद्वारा बाजे राना समेत पक्राउमा परी कसूरमा सामेल भएको र इन्जर राना, बहाली राना फरार रहेका बरामद काठको सवुद प्रमाण निजहरुसंग भएको वरामदी मुचुल्का सर्जमिनका व्यक्तिहरुको भनाई समेतका आधार प्रमाणबाट प्रतिवादीहरुले वन ऐन, २०४९ को दफा ४९ को (घ) को कसूर गरेकोले सोही ऐनको दफा ५०(१)(घ)(४) बमोजिम निजहरुले हानी नोक्सानी गरेको काठ साल ११८.२९ क्यू फि. को प्रतिक्यू फि. रु.२००।का दरले जनही विगो २३६५८।को दोब्बर जरिवाना रु.४७३१६।र १ बर्ष कैद गरिपाऊँ भन्ने प्रस्तुत मुद्दाको अभियोग मागदावी भएकोमा प्रतिवादीहरु कसूरमा स्वीकार रही अदालतमा बयान गरेको देखिन्छ । शुरु कञ्चनपुर जिल्ला अदालतले अभियोग दावी बमोजिम कसूर गरेको ठहराई प्रतिवादीहरुलाई वन ऐन, २०४९ को दफा ५०(१)(घ)(४) बमोजिम विगो रु. २३,६५८।को दोब्बर रु.४७३१६।जरिवाना हुने ठहराएको फैसला उपर पुनरावेदन अदालत महेन्द्रनगरमा नेपाल सरकारको पुनरावेदन परी उक्त अदालतले शुरु कञ्चनपुर जिल्ला अदालतको फैसला सदर हुने ठहराई गरेको फैसला उपर वादी नेपाल सरकारको यस अदालतमा दोहोर्‍याउने निवेदन परी यस अदालतबाट दोहोर्‍याई हेर्ने निस्सा भै प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको छ ।      

            २.    वन ऐन, २०४९ को दफा ५०(१)(घ)(४) बमोजिम प्रतिवादीहरुलाई कसूर गरेको भनी विगो रु.२३,६५८।को दोब्बर ४७,३१६।जरिवाना गर्ने ठहराएको फैसला उपर निज प्रतिवादीहरुले चित्त बुझाई बसेको हुँदा तत्सम्बन्धमा केही वोलीरहनु परेन । वादी नेपाल सरकारले प्रतिवादीहरुलाई विगोको दोब्बर जनही जरिवाना हुने स्पष्ट कानूनी व्यवस्था भएकोमा पुनरावेदन अदालतले दामासाहीले सजाय गर्ने गरेको शुरु कञ्चनपुर जिल्ला अदालतको फैसला सदर हुने ठहराएको फैसला उपर प्रस्तुत पुनरावेदन दर्ता हुन आएको पाइयो ।

            ३.    प्रतिवादीहरु बाजे राना समेतले बयान गर्दा आरोपित कसूर आफूहरुले गरेकोमा स्वीकार गरी बयान गरेको देखिन्छ । अभियोजन कर्ताले उल्लेखित प्रतिवादीहरु उपर निजहरुबाट पक्राउ परेको काठको परिमाण छुट्टाछुट्टै खुलाई अभियोग मागदावी गरेको देखिदैन । सबै प्रतिवादीहरुबाट पक्राउ परेको काठको परिमाण जोडी ११८.२९ क्यू फिट कायम गरी रु.२००।का दरले जनही विगोको रु.२३६५८।को दोब्बर रु.४७,३१६।को सजायको मागदावी गरेको देखिन्छ ।

            ४.    वादी नेपाल सरकारले प्रतिवादीहरुलाई दामासाहीले नभई जनही सजाय गरिनुपर्ने भन्ने यस अदालतमा जिकिर लिई वन ऐन, २०४९ को दफा ४९(घ) र दफा ५०(१) को प्रयोग र ब्याख्याको त्रुटि छ भनी उल्लेख गरेको पाइन्छ । वन ऐन, २०४९ को दफा ४९ मा कसैले पनि यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा अन्यथा व्यवस्था भएकोमा बाहेक राष्ट्रिय वनमा देहायका काम कारवाही गर्न वा गराउन र सो गर्ने गराउने उद्योग समेत गर्न हुँदैन । त्यस्तो कुनै काम कारवाही गरेमा कसूर गरेको मानिनेछभन्ने उल्लेख भई उक्त ऐनको दफा ४९ को देहाय (घ) मा वन क्षेत्रबाट वन पैदावार हटाउन, ओसार पसार गर्न वा बिक्री बितरण गर्नभन्ने उल्लेख भएको छ । त्यस्तै दफा ५०(१)(घ) मा दफा ४९ को खण्ड (घ)(ङ)(च)(छ) वा (ज) अन्तर्गतको कसूर गर्नेलाई कसूरसंग सम्बन्धित वन पैदावार जफत गरी देहाय बमोजिमको सजाय हुनेछभनी कानूनी व्यवस्था भएको र देहाय (४) मा पाँच हजार रुपैया भन्दा बढीको विगो भए विगोको दोब्बर जरिवाना वा एक बर्ष सम्म कैद वा दुबैभनी सजायको व्यवस्था गरेको पाइन्छ ।

            ५.    वन ऐन, २०४९ को दफा ५०(१)(घ)(४) मा जनही कैद र जरीवाना हुने भन्ने कानूनी व्यवस्था भएको नभई पाँच हजार भन्दा बढी वीगो भएको वन पैदावार हटाउने कसूर गर्नेलाई विगोको दोब्बर जरीवाना हुने भन्ने व्यवस्था भएबाट सो कसूर गर्ने एक भन्दा बढी कसूरदार भएको अवस्थामा प्रत्येकलाई सोही बमोजिम दोब्बर सजाय गरिंदा जरीवाना र कैदको कुल मात्रा कानूनमा तोकिए भन्दा बढी हुन जाने हुन्छ । कसैलाई कानूनले हुने सजाय भन्दा बढी सजाय गर्दा कानून प्रतिकूल हुन्छ र यस्तो सजाय स्वतः बदर योग्य हुन्छ । प्रस्तुत मुद्दामा एक भन्दा बढी प्रतिवादी रहेको र प्रत्येकले वनबाट अवैधरुपमा ल्याएको काठको मात्रा र परिमाणका लागी छुट्टाछुट्टै अभियोग लगाएको नभई सबैले ल्याएको काठको कुल परिमाण र विगो जोड्दा पाँच हजार भन्दा बढी भएको र सोही वीगो र मात्राको आधारमा निजहरु उपर सामूहिक रुपमा दफा ५०(१)(घ)(४) बमोजिम सजायको दावी लिएको पाइन्छ । यस्तो अवस्थामा कसूर ठहरी सजाय गर्दा सोही बमोजिम उक्त सजाय सामूहिक रुपमा नै गरिनु पर्ने हुन्छ । कुनै कसूर गरेवापत ऐनमा स्पष्टतया जनही सजाय हुने भनी उल्लेख भएको अवस्थामा वाहेक एक भन्दा बढी कसूरदार भएमा सो सजाय सामूहिक रुपमा भएको मान्नु पर्ने र उक्त सजाय दामासाहीले असूल नै गरिनु पर्ने हुन्छ । जनही सजाय हुने भनी कानूनमा नै नलेखेको अवस्थामा जनही सजाय गर्न मिल्ने हुँदैन ।

            ६.    प्रतिवादीहरु उपर वादी नेपाल सरकारले अभियोग लगाउँदा काठको परिमाण अलग अलग लेखी अभियोग मागदावी नगरेको र एउटैमा जोडी ११८.२९ क्यू फिट कायम गरेकोले प्रतिवादी मध्ये कसबाट के कति परिमाणको अवैध काठ बरामद भएको हो भनी उल्लेख गरी प्रमाणित गर्न समेत मिसिल कागजातबाट देखिन र प्रमाणित समेत भएको देखिन नआउँदा यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्न निस्सा दिएको आधारसंग सहमत हुन सकिएन ।

            ७.    अतः प्रतिवादीहरु एकजना भन्दा बढी रहेको र वन ऐन २०४९ को दफा ५०(१)(घ)(४) मा जनही सजाय हुने भनी उल्लेख भएको नदेखिएकोले सामूहिक रुपमा गरेको कसूरका लागी सामूहिक रुपमा सजाय हुने हुँदा जनही सजाय नगरी दामासाहीले सजाय हुने ठहर्‍याएको  शुरु कञ्चनपुर जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, महेन्द्रनगरको मिति २०६०।३।१६।२ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको जनाउ महान्यायाधिवक्ताको कार्यालयलाई दिई नेपाल सरकारलाई दिई दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.दामोदरप्रसाद शर्मा

 

इति सम्वत् २०६४ साल माघ महिना ४ गते रोज ६ शुभम् –––––

 

इजलास अधिकृतः हरिप्रसाद शर्मा उपाध्याय पंगेनी

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु