निर्णय नं. ८०२९ - कर्तब्य ज्यान ।

निर्णय नं.८०२९ ने.का.प. २०६५ अङ्क १०
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
माननीय न्यायाधीश श्री अबधेशकुमार यादव
सम्वत २०६४ सालको स. फौ. पु. नं.०१२४
फैसला मितिः २०६५।१०।२२।४
मुद्दा :– कर्तब्य ज्यान ।
पुनरावेदक\ प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. २ खुर्सानीटार घर भै हाल केन्द्रिय कारागार जगन्नाथ देवल काठमाडौंमा थुनामा रहेको सुदर्शन अर्याल
बिरुद्ध
प्रत्यर्थी \ वादीः केशवराज आचार्यको जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्नेः
मा.जि.न्या. श्री नारायणप्रसाद दाहाल
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री लक्ष्मणमणि रिसाल
मा.न्या. श्री माधवप्रसाद चालिसे
§ अदालत समक्ष प्रतिवादीको कसूरमा भएको सावितीलाई अदालतले प्रत्यक्ष प्रमाणको रुपमा लिनुपर्ने ।
§ सामान्य अवस्थामा पूर्व रिसइविको कारणबाट भएको हत्यालाइ Cold Blood Murder भन्नुपर्ने ।
(प्रकरण नं.२)
§ सजायबाट कमी, छुट वा पूर्ण उन्मुक्तिका लागि लिइएको जिकिर निश्चित र आधारभूत प्रमाणबाट स्थापित गर्नुपर्ने ।
§ काम गर्दाको समयमा मानसिक रुपमा असन्तुलित भई गरेको र कामको प्रकृति र परिणाम थाहा नपाउने अवस्थामा थियो भन्ने कुरा प्रमाणित गर्ने भार सो कुराको जिकिर गर्ने पक्षमा नै रहने ।
§ सजायवाट उन्मुक्ति पाउनको लागि घटना हुनुभन्दा अघिको अभियुक्तको मानसिक अवस्था, पूर्व आचरण र व्यवहार, असामान्य क्रियाकलाप, रोगवारे निदान र उपचार गराएको भए सोको तथ्यपूर्ण आधार र प्रमाण तथा घटना पश्चात् निजको व्यवहार र आचरण, तत्सम्बन्धमा मानसिक रोग विशेषज्ञले निजको मानसिक अवस्थावारे पर्याप्त जाँच र अनुसन्धान गरी दिएका तथ्यपूर्ण एवं वैज्ञानिक कारणसहितको प्रतिवेदन समेतलाई विचार गर्नुपर्ने ।
(प्रकरण नं.४)
§ वारदात हुनुभन्दा अघिबाट नै रोगको उपचार गराइरहेको कुनै स्वीकृत डाक्टरवाट अस्पतालको प्रेस्क्रिप्शन पेश गरेको भए वारदातपछि डाक्टरले गरीदिएको रोगको सम्पुष्टि (Substantiate) हुनसक्ने । तर सो नभइ वारदातको निकैपछि भएको जाँच प्रतिवेदनबाट वारदात हुँदाको समयमा पनि निज मानसिक असन्तुलनको अवस्थामा थिए भनी भन्न नमिल्ने र त्यस्तो कुरा प्रमाणित गर्न सो प्रतिवेदनलाई आधार लिन नमिल्ने ।
(प्रकरण नं.५)
§ सुनियोजित हत्या भएको अबस्थामा दाजुको हत्या गर्ने व्यक्ति मृतकको भाई भएकै कारण सजायमा कमी हुन सक्ने अबस्था नहुने ।
(प्रकरण नं.६)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापा
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजीरः ने.का.प. २०६१ नि. नं. ७३९९ पृष्ठ ७६९
फैसला
न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत पाटनको मिति २०६४।३।२८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः–
मेरो मामाको छोरा सुवास अर्याललाई निज सुवास अर्यालको भाई सुदर्शन अर्यालले आफ्नो घरायसी रिस ईविको कारणबाट धारिलो हतियार छुरी प्रहार गरी घाइते वनाएकोले उपचारको क्रममा शिक्षण अस्पताल ल्याएको कुरा थाहापाई म समेत अस्पताल आउँदा सुवास अर्यालको मृत्यु भई सकेको, मृतकको वावा, आमा छोराको मृत्यु पश्चात शोकाकुल अबस्थामा भएको हुँदा जाहेरी दरखास्त दिन आएको छु । कानून बमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको केशवराज आचार्यको जाहेरी दरखास्त ।
चक्रवन्धु अर्यालको घरको तेस्रो तलामा दराज छेउको भुईमा कालो प्लाष्टिकको विड भएको १ फिट लामो रगत लागेको अबस्थाको चक्कु, वीच तलाको पश्चिम पट्टीको कोठाको ढोका तोडी हेर्दा सुदर्शन अर्याल बेहोस अबस्थामा रहेका, डाईजेपामको औषधि टेब्लेट लगायतका औषधि टेब्लेट तथा श्री ५ को सरकार शाही आयोग लेखिएको पत्र फेला परेको भन्ने व्यहोराको खानतलासी मुचुल्का ।
घटनास्थलमा वा. ३ च. २५०२ नं. को ड्राइभर सिटको दाहिने पट्टीको झ्यालको सिसा फुटेको, ड्राईभर सीट समेतमा रगत जस्तो रातो पदार्थ लागेको, गाडी रहेको वीच सडकमा रगतका थोपाहरु भएको, घर कम्पाउण्ड र ढोका देखि सिढी, मुलढोका, खापा, घर, कम्पाउण्डमा आलो रगत वगेको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।
मृतक सुवास अर्यालको वायाँ छातीमा घोचेको जस्तो घाउ, दाहिने हातको कुहिना भित्र पट्टी ७ इन्ची लम्वाई ३ इन्ची चौडाई अंदाजी २ इन्च गहिरो काटिएको घाउ, दाहिने हातको हत्केलामा १ इन्ची लम्वाईको काटिएको घाउ भएको, दाहिने पट्टी छाती भन्दा तल १ इन्च गोलाईको काटिएको घाउ भएको, अनुहार तथा शरीरमा ठाउँ ठाउँमा रगत लतपतिएको भन्ने समेत व्यहोराको लास जाँच प्रकृति मुचुल्का ।
अस्पतालको आकस्मिक कक्षको वेडमा सुदर्शन अर्याल वेहास अबस्थामा रहेको, निजले लगाएको आकासे रङ्गको मसिनो तेर्सा धर्का भएको सर्टमा रगत जस्तो पदार्थ लागेको, निजले लगाएको घिउ रङ्गको पाईन्टमा रातो रगत जस्तो पदार्थ लागेको सामानहरु परीक्षणको लागि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको भन्ने व्यहोराको वरामदी मुचुल्का ।
अस्पतालमा उपचार भई रहेका सुदर्शन अर्याल आज अस्पतालवाट डिस्चार्ज भएकोले निजलाई नियन्त्रणमा लिई प्रतिवेदन साथ दाखिल गरेको छु । कानून बमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको प्रहरीको प्रतिवेदन ।
मेरो दाजु सुवास अर्यालले मलाई पहिला देखिनै गाली गर्ने कुटपीट गर्ने जस्ता अमानवीय व्यवहार गर्ने गरेकोले निजलाई मिति २०६२।१।२ गतेका दिन धारिलो हतियार प्रहार गरी घाईते पारेकोमा उपचार गर्दा गर्दै निजको मृत्यु भएको हो । निजलाई मार्ने नै नियतले धारिलो हतियार प्रहार गरी आफु पनि मर्ने उद्देश्यले बढी औषधी सेवन गरेको कारणवाट वेहोस भएको हुँ भनी प्रतिवादी सुदर्शन अर्यालले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज ।
यो घरमा वस्दा सही कुरा गर्दा सवैले छिछि र दुरदुर गर्ने, दाजुलाई गोद्न लगाउने मेरो आमा सवै कुराको कसुरदार हुन् भनी प्रतिवादी सुदर्शन अर्यालले लेखेको घटनास्थलमा फेला परेको कागज।
मैले छोराहरुलाई भिन्नता गर्ने गरेकी थिईन । समान दृष्टिले हेर्ने गरेकी थिएँ । मिति २०६२।१।२ गतेका दिन घरमा भएको मौका जेठो छोरा सुवास अर्याललाई कान्छो छोरा सुदर्शन अर्यालले धारिलो हतियार प्रहार गरेको कारणवाट मृत्यु भएको हो, सोच्दै नसोचिएको घटना भएको हो भनी मृतककी आमा सीता अर्यालले गरेको कागज ।
मिति २०६२।१।२ गतेका दिन मेरो जेठाजु सुवास अर्यालको हात समेतवाट रगत वगेको थियो । मेरो पति सुदर्शन अर्यालको हातमा धारिलो हतियार छुरी भएको हामी दुई दिदी बहिनीले छुरी खोस्ने प्रयास गरी श्रीमानको हातवाट मैले छुरी खोसेकी हुँ । मेरो श्रीमानले आवेशमा धारिलो हतियार प्रहार गरेको कारणवाट जेठाजु सुवास अर्यालको मृत्यु भएको हो भनी प्रतिवादी सुदर्शन अर्यालको श्रीमती सरिता अर्यालले गरेको कागज ।
मेरो श्रीमान सुवास अर्याल र देवर सुदर्शन अर्याल वीच करिव डेढ बर्ष अगाडि देखि वोलचाल थिएन । देवरले रिसले मेरो छोरा जन्मे देखि ऐलेसम्म हेर्नु भएको छैन । मेरा पति सुवास अर्याललाई यो अमेरिकनलाई मारेर वस्छु भनेको धेरै भयो । घरमा झगडा होला भनी सो कुरा मैले कसैलाई भनेकी थिइन । मलाई वारदलीवाट थुक्न, अश्लील शब्द प्रयोग गरी गाली गर्ने गरेकोमा मिति २०६२।१।२ गतेका दिन मेरा श्रीमान वाहिर जान लागेको वखत गाडीमा नै छुरी हानी वाहिर आएपछि पनि छुरी प्रहार गरेको कारणवाट मेरो श्रीमानको मृत्यु भएको हो भनी मृतककी श्रीमती रचना अर्यालले गरेको कागज ।
मिति २०६२।१।२ गतेका दिन सुवास अर्याललाइ धारिलो हतियारले काटेको कुरा सुनी घटनास्थलमा आउँदा घटनास्थलवाट घाइते सुवास अर्याललाई उपचारार्थ अस्पताल लगेका रहेछन । पछि निजको मृत्यु भएको हो । सुवास अर्याललाई सुदर्शन अर्यालले धारिलो हतियार छुरा प्रहार गरेको कारणवाट मृत्यु भएको हो भनी भिष्मप्रसाद लामिछाने, जयवन्धु अर्याल, राजेन्द्र कार्की र भिमप्रसाद ओझाले गरी दिएको वस्तुस्थिति मुचुल्का ।
मृतक सुवास अर्यालको दाहिने हात समेतमा धार भएको हतियारले काटिएको घाउ भएको, काटिएका घाउहरुवाट अत्याधिक मात्रामा रक्तश्राव भई सुवास अर्यालको मृत्यु भएको हो भन्ने समेत व्यहोराको पोष्टमार्टम रिपोर्ट ।
प्रतिवादीले आफ्नो दाजु सुवास अर्याललाई मार्ने नै मनसायले आफ्नो साथमा छुरी राखी सो छुरी मृतकको शरीरको विभिन्न भागमा प्रहार गरेकोमा हातको पाखुरा र नाडी (Right Arm and Forearm) मा परेको चोटको कारण मृतक सुवास अर्यालको मृत्यु भएको अबस्था हुँदा निज प्रतिवादी सुदर्शन अर्याल उपर मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. विपरीतको कसुरमा सोही महलको १३(१) नं. बमोजिम सजाय हुन माग दावी लिएको अभियोग पत्र ।
नियतवश घटना घटाएको नहुनाले सजाय हुनु पर्ने होईन । डिप्रेशनको विमारी भएको र परिणाम वारे ज्ञान नभई घटना घट्न गएको हुँदा सजाय हुनु पर्ने होईन सफाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी सुदर्शन अर्यालले अदालत समक्ष गरेको वयान ।
प्रहरीले गरेको कागजमा भएको सहीछाप र व्यहोरा मेरै हो भन्ने समेत व्यहोराको बुझिएका मानिस रचना अर्यालले अदालत समक्ष गरेको बकपत्र ।
प्रतिवादीले सो हत्या गरेको कुराको विश्वासै गर्न सक्दिन, नियतवस त सम्भवै छैन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी नारायण बहादुर के. सी. ले अदालत समक्ष गरेको वकपत्र ।
सो घटना Depression को कारणले वाहेक अरु कारणले भएकोमा म विश्वास गर्दिन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी रविन्द्र पाण्डेले अदालत समक्ष गरेको वकपत्र ।
मृतकको दाहिने हात र पाखुरामा काटेको कारणले नशाहरु समेत काटिएको त्यसैको कारणले मृत्यु भएको हो भन्ने समेत व्यहोराको पोष्टमार्टम गर्ने डा. प्रमोद कुमार श्रेष्ठले अदालत समक्ष गरेको वकपत्र ।
प्रतिवादीले दाजुलाई मार्नु भयोजस्तो मलाई लाग्दैन कुनै भवितब्य भई त्यस्तो घटना घटेको भए सो मलाई थाहा छैन भन्ने समेत व्यहोराको वुझिएको व्यक्ति भीमप्रसाद ओझाले अदालत समक्ष गरेको वकपत्र ।
प्रतिवादीले नै मारेको होला, मैले घटना देखिन । अस्पताल लगिसकेपछि मात्र मलाई थाहा भयो । प्रतिवादीले Depression को औषधि खाने गर्दथ्यो भन्ने समेत व्यहोराको बुझिएका व्यक्ति सीता देवी अर्यालले अदालत समक्ष गरेको वकपत्र ।
Depression को कारणले अचानक आवेसमा आई घटना भएको हुन सक्छ । यी प्रतिवादीका परिवारमा कोहीसँग कसैको पनि झैं–झगडा थिएन । झैं–झगडा गर्ने कारण पनि छैन भन्ने समेत व्यहोराको जाहेरवाला केशवराज आचार्यले अदालत समक्ष गरेको वकपत्र ।
Depression को कारणले Abnormal भै विना कुनै कारण यो घटना घट्न गएको हो भन्ने समेत व्यहोराको बुझिएका व्यक्ति सरीता अर्यालले अदालत समक्ष गरेको वकपत्र ।
सो घटना मैले सुनेर थाहा पाएको हुँ । मैले देखेको छैन भन्ने समेत व्यहोराको बुझिएका व्यक्ति जयवन्धु अर्यालले अदालत समक्ष गरेको वकपत्र ।
Depression को कारणले वेहोसीमा दाईलाई आक्रमण गरेको हुनुपर्छ । निजले मृतक सुवासलाई जानी वुझी होस हवासमा आक्रमण गरेको होइनन् । आक्रमण गर्नुपर्ने कारण समेत केही छैन भन्ने समेत व्यहोराको बुझिएको व्यक्ति भीष्मप्रसाद लामिछानेले अदालत समक्ष गरेको वकपत्र ।
त्रिभुवन विश्व विद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, मानसिक स्वास्थ्य तथा मानसिक रोग विभागवाट प्रतिवादी सुदर्शन अर्याललाई जाँच गरी पठाइएको प्रतिवेदन मिसिल सामेल रहेको ।
जाँच प्रतिवेदनमा भएको व्यहोरा र सहीछाप मेरो हो प्रतिवादीलाई म समेतले जाँच गरी प्रतिवेदन दिएको हो भन्ने समेत व्यहोराको विशेषज्ञ डा. विद्यादेव शर्माले अदालत समक्ष गरेको वकपत्र ।
प्रतिवादीको पत्नी सरिता अर्याल, आमा सीता देवी अर्याल समेतले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागज र अदालतमा गरेको वकपत्रवाट समेत प्रतिवादीको प्रहारवाट मृतक सुवास अर्यालको मृत्यु भएको देखियो । वादविवादको क्रममा आफुसँग रहेको हतियार प्रयोग नगरेको भई वाद विवाद नै नभई भान्सामा गई छुरी लिएर गएका र गेटमा लुकेर बसेको पत्नी सरिता र भाउजुले छुट्याउने प्रयत्न गर्दा पनि नछोडेको इत्यादि अबस्था रहेकोवाट निजले थाहै नपाउने अबस्था रहेको भन्ने अबस्था विश्वसनीय देखिन आएन । डाक्टरको प्रतिवेदनवाट पनि कहिले काँही चरम अबस्थामा रोगको चाप बढ्ने र घट्ने गर्ने भन्ने भनाईवाट होस नरहने अबस्थामा घटना घटेको थियो भन्ने कुरा मिसिलवाट देखिन नआएकोले ज्यान सम्बन्धी महलको १३(१) नं को कसुर गरेको ठहरी प्रतिवादीलाई सोही नं बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहर्छ । मृतक र प्रतिवादी एकासंगोलमा रहेका दाजु भाई रहेको, घटना घटी सकेपछि आँफै घरमा पसी कोठामा वेहोसको अबस्थामा प्रतिवादी पक्राउ परी अस्पताल पुर्याएको र औषधि उपचार भएको, शिक्षण अस्पतालवाट परीक्षण हुँदा पनि निज मानसिक रोगी भएको भन्ने प्रतिवेदन र परीक्षण गर्ने डाक्टरले पनि प्रतिवादीको रोगमा कहिले कांही बहुलाएको अबस्था पनि आउन सक्छ भनी लेखाई दिएको हुदाँ निजलाई सर्वश्व सहित जन्म कैद गर्दा चर्को पर्न जाने देखिएकोले ५ बर्ष कैद गर्न मुनासिव भएकोले अ. वं. १८८ नं. बमोजिम राय पेश गरेको छु भन्ने शुरु काठमाडौं जिल्ला अदालतको मिति २०६३।९।२० को फैसला ।
घरको ड्राइभर, छिमेकी, पसले आदि सबै मानिसहरुले अदालतमा आई वकपत्र गर्दा पुनरावेदकको मानसिक अबस्था ठीक नरहेको भनी वकपत्र गरेका छन् । सद्दे साँचो अबस्थामा वारदात भएको भए विहानको १०।३० वजेको समयमा सवैले देख्ने गरी घरको गेटमा आक्रमण गर्ने अबस्था नै हुँदैन । वारदातको प्रकृतिले समेत होस हवासमा वारदात नघटेको देखाई रहेको अबस्थामा मुलुकी ऐन दण्ड सजायको १ नं प्रतिकुल एवं सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्त विपरीत भएको का. जि. अ. को त्रुटिपूर्ण फैसला बदर गरी सफाई दिलाई पाउँ भन्ने व्यहोराको प्रतिवादी सुदर्शन अर्यालको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
प्रतिवादी सुदर्शन अर्यालले मृतक सुवास अर्याललाई घरायसी विवादमा पटक पटक धारिलो हतियार छुरी प्रहार गरी मारेको पुष्टि भई रहेको वारदात हुँदाको समयको मानसिक अबस्थाको वारेमा किटेर भन्न नसकिने भन्ने प्रतिवेदन र परीक्षण गर्ने डाक्टरको भनाई रहेको अवस्थामा वारदात भएको १ बर्ष १ महिना पछि भएको परीक्षणलाई आधार मानी अ. वं. १८८ नं. बमोजिम सजाय गर्ने गरी भएको फैसला त्रुटीपूर्ण हुँदा उक्त रायलाई बदर गरी माग दावी बमोजिम सजाय गरी पाउँ भन्ने व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
सबूद प्रमाणको मूल्याङ्कनको रोहमा शुरुफैसला फरक पर्न सक्ने देखिदा अ. वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकील कार्यालय पाटनलाई पेशीको सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने मिति २०६४।१।२७ को पुनरावेदन अदालत पाटनको आदेश ।
प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान, प्रहरीमा कागज गर्ने अन्य व्यक्तिहरुको कागज समेतवाट प्रतिवादी सुदर्शन अर्यालको प्रहारवाट नै सुवास अर्यालको मृत्यु भएको देखिन्छ । प्रतिवादीले होस नभएको अबस्थामा घटना घटेको भनेतापनि निजले पूर्व योजना वनाई भान्सामा गई छुरी लिएर गेटमा लुकेर वसी दाजुलाई लखेट्दै छुरी प्रहार गरेको देखिदा होस नभएको अबस्था थियो भन्न मिलेन । तर मृतक र प्रतिवादी दाजु भाई भएका, घटना पश्चात प्रतिवादी आँफै घरमा वसी वेहोसी अबस्थामा प्रतिवादी पक्राउ परी अस्पताल पुर्याएको र औषधी उपचार भएको भन्ने देखिएको र शिक्षण अस्पतालवाट परीक्षण हुँदा निज मानसिक रोगी भन्ने प्रतिवेदन प्राप्त भएको देखिदा काठमाडौं जिल्ला अदालतवाट प्रतिवादी सुदर्शन अर्याललाई ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्व सहित जन्मकैद हुने ठहर्याई अ. वं. १८८ नं. बमोजिम ५ बर्ष कैद गर्न जाहेर गरेको राय सहितको फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६४।३।२८ को फैसला ।
म मानसिक रोगले ग्रस्त भएको अवस्थामा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने अबस्थामा घटना घट्न गएको हो । म Depression रोगले पीडित थिएँ भन्ने कुरा प्रहरीमा वुझिएका विभिन्न व्यक्तिको कागज, शिक्षण अस्पताल महाराजगन्जमा गठन भएको मानसिक चिकित्सकहरुको वोर्डले दिएको प्रतिवेदनवाट पुष्टि भएको छ । सो वोर्डको नेतृन्व गर्ने डा. विद्यादेव शर्माले अदालतमा उपस्थित भै वकपत्र गर्दा Depression वाट Severe Depression हुँदै Insanity आएको अबस्थामा घटना घटेको भनी राय दिएको अबस्थामा मलाई मुलुकी ऐन, दण्ड सजाँयको १ नं. अनुसार कुनै सजाय नहुनु पर्नेमा सजाय गर्ने गरेको काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला बदर गरी आरोपित कसूरवाट सफाई दिलाई पाऊँ भन्ने सुदर्शन अर्यालको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियम बमोजिम दैनिक पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फवाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री शम्भु थापाले प्रतिवादी सुदर्शन अर्याल मानसिक अबस्था ठीक नभएको (Insanity) को समयमा प्रस्तुत वारदात घटेको हो । सुदर्शन अर्यालको मानसिक अबस्था ठीक नरहेको भन्ने कुरा प्रहरीमा कागज गर्ने विभिन्न व्यक्तिहरु, शिक्षण अस्पताल महाराजगन्जका मानसिक चिकित्सकहरुको वोर्डले दिएको प्रतिवेदन, सो वोर्डको नेतृत्व गर्ने डा. विद्यादेव शर्माले काठमाण्डौ जिल्ला अदालतसमक्ष गरेको वकपत्र तथा प्रतिवादी स्वयंको क्रियाकलापवाट पुष्टि भएको छ । मानसिक अबस्था ठीक नभएको समयमा हुन गएको घटनाको लागि दण्डसजायको १ नं. को कानूनी व्यवस्था लागु हुने हुँदा पुनरावेदन अदालत पाटनको फैसला वदर गरी निजलाई आरोपित कसूरवाट सफाई दिइनु पर्छ भनी गर्नु भएको वहस सुनियो ।
विद्वान अधिवक्ताको वहस सुनी सम्पूर्ण मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत पाटनले प्रतिवादी सुदर्शन अर्याललाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिमको कसूरदार ठहर गरी अ. वं. १८८ नं. अनुसार ५ बर्ष कैद गर्ने राय व्यक्त गरी काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ ? सो सम्बन्धमा नै निर्णय दिनु पर्ने हुन आयो ।
प्रतिवादी सुदर्शन अर्यालले आफ्नै दाजु सुवास अर्याललाई जोखिमी हतियार छुरी प्रहार गरी कर्तब्य गरी मारेकोले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१) नं. अनुसार सर्वस्व सहित जन्मकैद सजाय गरी पाउँ भन्ने वादी नेपाल सरकारको अभियोग दावी रहेको छ । प्रतिवादी सुदर्शन अर्यालले आफूलाई गाली गलौज गर्ने, कुटपीट गर्ने अमानवीय व्यवहार गर्ने गरेकोले मार्ने नियतले धारिलो हतियार प्रहार गरेको र आफु पनि मर्ने उद्देश्यले बढी औषधी सेवन गरेको हुँ भनी अधिकारप्राप्त अधिकारी समक्ष तथा छुरी प्रहार गरी मारेको कसूरमा सावीत भई डिप्रेशनको विमारी भएको र परिणाम वारे थाहा नभएको भनी अदालतमा वयान गरेको पाइन्छ ।
२. निर्णयतर्फ विचार गर्दा यी प्रतिवादी सुदर्शन अर्याल अभियोग दावीलाई स्वीकार गरी मृतक दाजुलाई आफुले कर्तब्य गरी छुरी प्रहार गरी हत्या गरेको तथ्यलाई अदालतमा समेत स्वीकार गरेको छ । दाजुलाई मार्नुपर्ने कारणमा निज दाजुको आफुप्रति रहेको अमानवीय व्यवहारले गर्दा रिस इवि रहेको तथ्यलाई निजले वताएको छ । घटनाको दिन मृतक कार्यालय जान आफ्नो गाडीमा वसी गेटतर्फ गइरहेको अवस्थामा लखेटी गाडीको सिसा फुटाली ढोका खोली मृतक दाजुको शरीरको विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेको निजको मौकाको बयान समेतबाट देखिन्छ । वारदातको दिन र समयमा मृतकसँग कुनै वादविवाद वा झगडा भएको अथवा आवेशजन्य कुनै कार्य भएको भन्ने निज प्रतिवादी वा घटनास्थलमा रहेको अन्य कसैको कथन रहेको समेत देखिदैन । अदालत समक्ष निज प्रतिवादीको कसूरमा भएको सावितीलाई अदालतले प्रत्यक्ष प्रमाणको रुपमा लिनुपर्ने हुन्छ । सामान्य अवस्थामा पूर्व रिस इविको कारणबाट भएको हत्यालाइ Cold Blood Murder भन्नुपर्ने हुन्छ ।
३. मृतक सुवास अर्यालको दाहिने हात र पाखुरा काटिई सो हातमा रहेका नसा समेत काटिन गएको कारणले निजको मृत्यु भएको कुरा अटोप्सी रिपोर्ट (Autopsy Report) तथा सो रिपोर्ट तयार गर्ने डा. प्रमोद कुमार श्रेष्ठको काठमाडौं जिल्ला अदालत समक्ष भएको वकपत्रवाट देखिन्छ । मृतकलाई यी प्रतिवादी सुदर्शन अर्यालले छुरी प्रहार गरी मारेको तथ्य जाहेरी दरखास्त, यी प्रतिवादीले कसूरमा सावीत रही अधिकार प्राप्त अधिकारी समक्ष तथा अदालतमा गरेको वयान, मृतककी पत्नी श्रीमती रचना अर्यालले घटनाको प्रत्यक्ष्यदर्शीको रुपमा गरेको बकपत्र, प्रतिवादीको पत्नी श्रीमती सरिता अर्यालले घटनाको पुष्टि गरी गरेको कथन, लगायत प्रहरीमा कागज गर्ने अन्य व्यक्तिहरुको कथन तथा निजहरुले अदालतसमक्ष आफ्नो सो कथनलाई प्रत्यक्षदर्शी साक्षीको रुपमा गरेको वकपत्र समेतवाट पुष्टि हुन आएको छ । मृतकलाई प्रहार गरिएको छुरी समेत वरामद भई सो छुरीमा लागेको मृतकको रगतको विद्यमानताबाट प्रतिवादीको कसूर समर्थित भएको छ । प्रतिवादीले अदालतमा समेत आफुले छुरी प्रहार गरी दाजु सुवास अर्याललाइ मारेको भनी कसूरमा साविति रही बयान गरेको र मिसिल संलग्न सम्पूर्ण प्रमाणवाट निजको साविती बयान मिसील संलग्न प्रमाण कागजातहरुबाट असंगत भएको नदेखिदा मृतकको मृत्यु यी प्रतिवादीले प्रहार गरेको धारिलो हतियार छुरीको चोटको कारणवाटै भएकोले निजलाई ज्यानसम्बन्धीको महलको १३(१) नं. को कसूरदार ठहराइ सर्वस्वसहित जन्म कैद हुने काठमाण्डौ जिल्ला अदालतले गरेको फैसला पुनरावेदन अदालत पाटनबाट सदर भएको तर निज मानसिक रोगी रहेको र यस्तो अवस्थामा अपराध गरेकोले अ.वं. १८८ नं. वमोजिम ५ वर्ष कैद हुने राय जाहेर गरेको पाइन्छ ।
४. प्रतिवादीले अदालत समक्ष वयान गर्दा आफु Depression को रोगी भई वेहोस अबस्थामा रहेको हुँदा परिणामवारे जानकारी नभएको अवस्थामा घटना घट्न गएको हुँदा सजाँय हुनु पर्ने होईन भनी जिकिर लिएको पाईन्छ । यस अदालतमा पुनरावेदन गर्दा पनि निजले आफुले गरेको कामको प्रकृति र परिणामवारे जानकारी हुन नसक्ने अबस्थामा घटेको घटनाको उत्तरदायित्व वहन नगर्नु पर्ने भन्ने जिकिर लिनुका साथै निजका कानून व्यवसायीले पनि सोही अनुसार बहस गर्नु भएको छ । निजको उक्त जिकिरका सम्बन्धमा विचार गर्दा यी पुनरावेदक आफु Depression को रोगी भएको र आफुले गरेको कार्यको परिणाम थाहा नभएको अवस्थामा घटना भएको भन्ने सजायवाट उन्मुक्तिको जिकिर लिएको छ । दण्डसजायको महलको १ नं. मा “कानून वमोजिम अपराध ठहरिने कुनै काम गर्ने व्यक्ति सो काम गर्दा आफुले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज विग्रेको वा बौलाएको रहेछ भने निजलाई खतवात लाग्न वा कुनै प्रकारको सजाय हुन सक्दैन” भन्ने कानूनी व्यवस्था रहेको पाईन्छ । उक्त कानूनी व्यवस्थाको आधारमा सजायवाट उन्मुक्ति पाउन जिकिर लिने यी प्रतिवादीले नै प्रमाण ऐन, २०३१ को दफा २७(१) वमोजिम सो कुरा प्रमाणित गर्नुपर्ने हुन्छ । सो वमोजिम वारदातको अवस्थामा आफूले गरेको कामको परिणाम थाहा नपाउने गरी मगज विग्रेको वा मानसिक असन्तुलनको अवस्था र स्थिति रहेको भनी घटनाको तत्काल पछि अनुसन्धान अधिकारी समक्ष मौकामा बयान गर्दा निजले सो कुरा व्यक्त गरेको पाइदैन । अदालतमा बयान गर्दा मात्र यस्तो जिकिर लिएको छ । तर सजायबाट कमी, छुट वा पूर्ण उन्मुक्तिका लागि कुनै प्रकारको जिकिर लिनु मात्र पर्याप्त हुदैन सो जिकिरलाई निश्चित र आधारभूत प्रमाणबाट स्थापित पनि गर्नुपर्ने हुन्छ । काम गर्दाको समयमा मानसिक रुपमा असन्तुलित भई गरेको र कामको प्रकृति र परिणाम थाहा नपाउने अवस्थामा थियो भन्ने कुरा प्रमाणित गर्ने भार पनि प्रमाण ऐन, २०३१ को दफा २८ अनुसार सो कुराको जिकिर गर्ने पक्षमा नै रहन्छ । साथै यस्तो जिकिरको आधारमा सजायवाट उन्मुक्ति पाउनको लागी घटना हुनुभन्दा अघिको अभियुक्तको मानसिक अवस्था, पूर्व आचरण र व्यवहार, असामान्य क्रियाकलाप, रोगवारे निदान र उपचार गराएको भए सो को तथ्यपूर्ण आधार र प्रमाण तथा घटना पश्चात निजको व्यवहार र आचरण, तत्सम्बन्धमा मानसिक रोग विशेषज्ञले निजको मानसिक अवस्थावारे पर्याप्त जाँच र अनुसन्धान गरी दिएका तथ्यपूर्ण एवं वैज्ञानिक कारणसहितको प्रतिवेदन समेतलाई विचार गर्नुपर्ने हुन्छ ।
५. प्रस्तुत मुद्दामा यी प्रतिवादी पुनरावेदकले आफु Depression को रोगी रहेको भनेतापनि वारदात घटे पश्चात अनुसन्धान अधिकारी समक्ष बयानगर्दा सो जिकिर नलिएको र अदालतमा वयान गर्दा मात्र सो जिकिर लिएपनि उक्त रोगको कहाँ कहिले उपचार गराएको तथा सो उपचार गराएको डाक्टरको प्रेस्क्रीप्शन र औषधी समेत सेवन गरेको देखिने कुनै आधारभूत एवं विश्वसनीय प्रमाण सो वयानसाथ पेश गर्न सकेको देखिदैन । मिसिल संलग्न प्रमाण कागजवाट घटना घट्नु भन्दा अगाडि तथा घटना घटिसकेपछि अनुसन्धानको चरणमा निजले कुनै किसिमको असामान्य चालचलन वा व्यवहार देखाएको पनि मिसिलबाट देखिदैन । निजका साथमा रहने परिवारका सदस्यहरुले निजले मानसिक असन्तुलन रहेको देखिने यो यस समयमा यस्तो किसिमको असामान्य व्यवहार वा क्रियाकलाप गर्ने गरेको थियो भनी भन्न सकेको अबस्था पनि छैन । घटना घटिसके पश्चात शिक्षण अस्पतालवाट जाँच गराइएको भनी पेश गरिएको प्रतिवेदन हेर्दा “प्रतिवादीवाट लिइएको अन्तर्वार्ता समेतको आधारमा Severe Depression को रोग लागेको” भन्ने निष्कर्ष निजलाई जाँच गर्ने चिकित्सकहरुको बोर्डको रहेको देखिन्छ । सो जाँच प्रतिवेदनको वुँदा नं. २ मा “निजसँग वृतान्त लिंदा गएको ६।७ बर्ष देखि नै यो रोगको शुरुआत भएको पाईन्छ । तर यो कुरा रोगीसँग मात्र लिइएको वृतान्तमा आधारित भएको हुँदा यकिन गरी त्यो वेलाको मानसिक अबस्था वारे किटेर यसै भन्न सकिदैन” भन्ने समेत उल्लेख रहेको तथा सो प्रतिवेदन तयार गर्ने विशेषज्ञ टोलीका डा. विद्यादेव शर्माले काठमाडौं जिल्ला अदालत समक्ष वकपत्र गर्दा प्रस्तुत घटना घट्दाका समयमा प्रतिवादी सुदर्शन अर्याल आफुले गरेको कार्यको प्रकृति र परिणाम छुट्याउन नसक्ने अबस्थाका थिए भनी यकिन साथ भन्न सकेको पाईदैन । मिसिल संलग्न उपर्युक्त मेडिकल प्रतिवेदन र निजका परिवारका सदस्यहरुको कथन समेतबाट निज अपराध गर्दाको अवस्था सो रोगले ग्रसित थियो थिएन र सो रोग लागेको अवस्थामा निजले उक्त अपराधिक कार्य गरेको थियो थिएन भनी यकिन गर्न सकिने हुँदैन । वारदात हुनुभन्दा अघिबाट नै यी प्रतिवादीले उक्त रोगको उपचार गराइरहेको कुनै स्वीकृत डाक्टरवाट अस्पतालको प्रेस्क्रिप्शन पेश गरेको भए वारदातपछि डाक्टरले २०६२।११।१५ मा गरीदिएको सो रोगको संपुष्टि (Substantiate) हुनसक्ने हुन्थ्यो । तर सो नभइ २०६२।१।२ मा भएको वारदातको निकैपछि २०६२।११।१५ मा भएको जाँच प्रतिवेदनबाट वारदात हुँदाको समयमा पनि निज मानसिक असन्तुलनको अवस्थामा थिए भनी भन्न नमिल्ने र त्यस्तो कुरा प्रमाणित गर्न सो प्रतिवेदनलाई आधार लिन मिल्ने हुँदैन । यसको विपरीत प्रतिवादी सुदर्शन अर्यालले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा दाजुले निजलाई पहिला देखि नै दवाव दिने, हेप्ने, कुटपीट गर्ने गरेको, आमा पनि दाजुको पक्षमा लाग्ने, दाजु बलियो भएकोले हतियार वेगर केही गर्न नसक्ने भएकोले निजलाई मौका परे मारी दिने निर्णय गरी पहिला देखि सोचीरहेको थिएँ भन्दै घटनाको सम्पूर्ण विवरण स्वाभाविक तथा यथार्थ रुपमा वताएको पाईन्छ । मृतकलाई छुरा प्रहार गरिसकेपछि आफ्नो कोठामा गै “यो घरमा वस्दा सही कुरा गर्दा सवैले छिछि र दुरदुर गर्ने दाजुलाई गोद्न लगाउने मेरो आमा सवै कुराको कसूरदार हुन्” भनी स्वाभाविक रुपमा लेखिएको कागज फेला परेवाट पनि निज घटना घट्दाका अबस्थामा आफुले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने अबस्थाको नभै मानसिक सन्तुलन ठीक रहेकै अबस्थामा थिए भन्ने कुरा देखिन आउँछ । साथै मौका परे मारिदिने निर्णय गरी सकेको थिएँ भन्ने भनाईवाट निजले दाजुको हत्या सुनियोजित रुपमा नै गरेको देखिन्छ । निज प्रतिवादी सुदर्शन अर्यालको सामाजिक र पदीय हैसियत विचार गर्दा निज प्राध्यापन पेशामा लागेको र पेशागत कार्य गर्दा अन्यथा देखिन नआए निजको मानसिक अवस्था दुरुस्त रहेको र आफुले गरेको कामको प्रकृति र परिणाम वारे सजग र सन्तुलित रहेको मान्नुपर्ने हुन्छ । त्यसकारण Depression रोग लागेको कारणले मानसिक सन्तुलन ठीक नभै आफुले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने अवस्थामा प्रतिवादी सुदर्शन अर्यालले सुवास अर्यालको हत्या गरेको भन्न नमिली सुनियोजित रुपमा नै हत्या गरेको देखिँदा निजलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्व सहित जन्मकैद गर्ने ठहर गरेको काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०६४।३।२८ को फैसला मिलेको हुँदा सदर हुन्छ । मानसिक अवस्था ठीक नभई आफुले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने अवस्थामा अपराध गरेकोले दण्ड सजायको १ नं वमोजिम सफाई पाउनुपर्छ भन्ने निजको पुनरावेदन जिकिर पुग्न सक्तैन ।
६. शुरु काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटनले प्रतिवादी सुर्दशन अर्याललाई मुलुकी ऐन ज्यान सम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्व सहित जन्मकैद गरी प्रतिवादी र मृतक दाजुभाई रहेको तथा प्रतिवादीलाई मानसिक रोग लागेको भन्ने आधार देखाई सर्वस्व सहित जन्मकैद गर्दा सजाय चर्को पर्ने भनी अ. वं. १८८ नं. अनुसार ५ बर्ष मात्र कैद गर्ने राय व्यक्त भएको पाईन्छ । सो सम्बन्धमा विचार गर्दा प्रस्तुत घटना मानसिक असन्तुलन भै आफुले गरेको कामको प्रकृति र परिणाम थाहा पाउन नसक्ने अबस्थामा नभै निजले सुनियोजित रुपमा नै हत्या गरेको भन्ने सम्बन्धमा माथि नै उल्लेख गरिसकिएको छ । सुनियोजित हत्या भएको अबस्थामा दाजुको हत्या गर्ने व्यक्ति मृतकको भाई भएकै कारण सजायमा कमी हुन सक्ने अबस्था हुँदैन । मु. ऐन अ.वं. १८८ नं. बमोजिम सजायको मात्रा घटाउँदा अपराध भवितव्य हो कि भन्न हुने सम्मको शंकाको विद्यमानता हुनुका साथै अपराध गर्दाको अबस्थालाई विचार गर्दा वस्तुनिष्ठ रुपमा देखिएका अन्य न्यायपूर्ण आधारहरु रहे भएको हुनु पर्छ । प्रस्तुत मुद्दामा वारदात भवितव्य हो कि भन्न हुने सम्मको शंकाजन्य अवस्था देखिदैन । अपराध गर्दाको अबस्थालाई विचार गरी सजाय घटाउन लिइने आधारहरुका सम्बन्धमा यस अदालतवाट पुनरावेदक शान्ति वि.क. विरुद्ध नेपाल सरकार (ने.का.प. २०६१, नि.नं. ७३९९, पृष्ठ ७६९) भएको कर्तब्य ज्यान मुद्दामा विभिन्न अबस्था र स्थितिलाई विचार गर्नुपर्ने भनी अ.वं. १८८ नं प्रयोग हुने आधारहरु निर्धारण गरिएको पाईन्छ । सो मुद्दामा निर्धारण भएका आधारहरु प्रस्तुत मुद्दामा विद्यमान छ छैन भन्नेतर्फ विचार गर्दा यी प्रतिवादीले पहिला देखि नै दाजु सुवासलाई मौका पर्दा मार्छु भन्ने निश्चित गरी पूर्व इवि विद्यमानता रहेको देखिन्छ भने छुरी जस्तो घातक हतियार प्रयोग गरेको, अदालतमा अपराध कवुल गरी कुनै पश्चातापको भाव नदेखाएको कसैको वहकाव वा दवावमा अपराध गरेको नदेखिनुका साथै अपराध गरिसकेपछि न्यायिक कारवाही र निर्णयलाई सहयोग नगरी जटिल वनाएको र सजायबाट बच्न पछि सोच विचार गरी (After Thought Design) बाट मात्र आफु डिप्रेशनको रोगी भनी जिकिर लिई जटिल बनाएको पाइन्छ । प्रतिवादीको उमेरलाई विचार गर्दा समेत निज वृद्ध वा किशोरावस्था (Teenage) को देखिन नआइ परिपक्व र प्राध्यापन पेशामा नियमित सँलग्न रही आएको व्यक्ति रहेको, घटना हुनुभन्दा अघि निजलाई मानसिक असन्तुलन वा डिप्रेशनको कुनै रोग रहेको भन्ने देखिने डाक्टरी परीक्षणवाट स्थापित पूर्व रेकर्ड रहेको नदेखिएको तथा पीडित ब्यक्तिको पीडा र निजलाई भएको हानी नोक्सानी समेतको अवस्थालाई विचार गर्दा निज प्रतिवादीलाई कानून वमोजिमको सजाय गर्दा चर्को पर्ने भन्ने काठमाण्डौ जिल्ला अदालत र पुनरावेदन अदालत पाटन समेतको रायसँग सहमत हुन सक्ने स्थिति देखिन आउँदैन । तसर्थ मनासीब, युक्तिसंगत र वस्तुनिष्ठ कारण र आधारविना आफ्नो स्वविवेकीय अधिकार प्रयोग गरी सजाय घटाएको र सो घटी सजाय गर्न व्यक्त राय उपर्युक्त नि.नं. ७३९९ को मुद्दामा निर्धारण भएको आधारहरुसँग मेल खाने समेत देखिन नआएकोले अ.बं. १८८ नं. वमोजिम प्रतिवादीलाई ५ बर्ष मात्र कैद सजाय गर्ने गरेको काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटनसमेतको राय मनासिव नदेखिंदा सो राय सदर कायम रहन सक्दैन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी सुदर्शन अर्यालके माथि इन्साफ खण्डमा लेखिएवमोजिम निजलाई ज्यान सम्बन्धीको १३ (१) नं. वमोजिम सर्वस्वसहित जन्मकैद गर्ने ठहराएको काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटनको फैसला सदर भै ५ बर्ष मात्र कैदको सजाय गर्ने अ. बं. १८८ नं. वमोजिम व्यक्त गरेको राय कायम रहन नसक्ने भएकोले सर्वस्व सहित जन्मकैदको लगत कसी सो सजाय असुल उपर गर्नु भनी शुरु का. जि. अ. मा लेखी पठाउनु ..... १
फैसला भएको जनाउ पुनरावेदक तथा महान्यायाधिवक्ताको कार्यालयलाई दिनु ...२
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ...३
उक्त रायमा सहमत छु ।
न्या. अवधेशकुमार यादव
इति सम्बत २०६५ साल माघ २२ गते रोज ४ शुभम् –––––
इजलास अधिकृतः शिशिरराज ढकाल