निर्णय नं. ७७४६ - अपुताली हक कायम

निर्णय नं. :७७४६ ने.का.प. २०६३ अङ्क ८
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री अनूपराज शर्मा
माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
सम्वत् २०६० सालको दे.पु नं. ८४६२
सम्वत् २०५८ सालको दे.पु नं. ८१३८
फैसला मितिः २०६३।५।२६।६
मुद्दाः अपुताली हक कायम ।
निवेदक
प्रतिवादीः जिल्ला वारा महेन्द्र आदर्श गा.वि.स. ७ वस्ने कलावती थरुनीको मु.स.गर्ने भोला प्रसाद राय थारु समेत
विरूद्ध
प्रत्यर्थी
वादीः जिल्ला वारा विसुनपूर्वा गा.वि.स. ४ बस्ने अनकलिया थरुनी समेत
पुनरावेदक
वादीः अनकलियाको मु.स. गर्ने जगन्नाथप्रसाद चौधरी समेत
विरूद्ध
प्रत्यर्थी
प्रतिवादीः कलावती थरुनीको मु.स.गर्ने भोला प्रसाद राय थारु समेत
§ कुनै सरकारी कार्यालय वा अड्डाले प्रस्तुत मुद्दा पर्नु भन्दा अगावै आफ्नो अधिकारक्षेत्र भित्र रही कानून बमोजिमको प्रकृया पुरा गरी गरेको कारवाही र निर्णयलाई अदालतले विवाद रहित प्रमाणको रुपमा ग्रहण गर्नु पर्ने ।
§ पंजिकाधिकारीबाट निकै पछि अर्थात मिति २०५४।४।३० मा दिईएको मृत्यु दर्ता प्रमाणहरु र त्यसमा मृत्युका सम्वन्धमा उल्लेख भएको २०५१।६।१० मितिलाई प्रस्तुत मुद्दाको निर्णयक प्रमाणको रुपमा लिन तथा मृतकको मृत्यु मिति २०५१।६।१० मा भएको भनी मान्न मिल्ने नदेखिने।
(प्रकरण नं.१५)
§ एका सगोलमा रहे भएको अकाट्य प्रमाणको अभावमा आपसमा जग्गा खरिद विक्रि गरेको र राजिनामा लिनु दिनु गरेको तथ्थलाई प्रतिवादीले वस्तुनिष्ठ रुपमा खण्डन गर्न सकेको नदेखिएबाट वादीका बाबु बाबुराम राय र प्रतिवादीहरु व्यवहार प्रमाणबाट छुटिभिन्न भएको रहेछ भन्ने मान्नुपर्ने।
(प्रकरण नं.१६)
§ वादीहरुले आफ्नो पिता ०५१।६।१० मा मृत्यु भएको भनि दावी लिएकोमा प्रतिवादीहरुले सो भन्दा अगावै मृत्यु भएको भनि मृतक बाबुरामको नाउँको जग्गा विपक्षीका नाउँमा वा अन्य कसैको नाऊँमा दर्ता नभएको रहाल सम्म दर्तावाला यि वादीको पिता बाबुराम रायकै नाऊँमा यथावत रहेको देखिएको र निजको मृत्यु पछि अपुताली कस्ले पाउने भन्ने सम्वन्धमा विवाद उत्पन्न भएपछि मात्र नालिश दिनु पर्ने भै हदम्यादको कुरा उत्पन्न हुने हुँदा प्रस्तुत फिराद हदम्याद नाघेको भन्न नमिल्ने ।
(प्रकरण नं.१७)
§ वादीका बाबुको मृत्यु ०३३ साल भन्दा अगावै भएको र निज विपक्षीहरु र मृतकका बाबु छुटिभिन्न भैसकेको भन्ने देखिएकोले तत्कालीन अपुतालीको २ र ३ नं. बमोजिम मृतकको विवादित सम्पत्तिको आधा सम्म वादीले अपुताली वापत पाउने देखिएको अवस्थामा मिति २०५१।६।१० को मृत्यू दर्ता प्रमाणपत्रलाई मान्यता नदिई गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भन्ने समेतका आधारमा यस अदालतबाट भएको दोहोर्याई हेर्ने निस्सा आदेशसँग सहमत हुन नसकिदा विवादित सम्पत्तिको आधा जग्गामा वादीको अपुताली हक कायम हुने ।
(प्रकरण नं.१९)
पुनरावेदक वादीको तर्फबाटः विद्वान अधिवक्ता श्री मनोज दवाडी
पुनरावेदक प्रतिवादी तर्फबाट : - विद्वान अधिवक्ता श्री जयकान्तलाल दाश
अवलम्बित नजीरः
फैसला
न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत हेटौडाको मिति ०५७।५।८ को फैसला उपर मुद्दा दोहोर्याई हेरी पाउँ भनी वादी प्रतिवादी दुवै पक्षको परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :-
२. मुल पुर्खा स्व. कुजा राय थारुका तीन छोरा बाबुराम तनकी राय र रामदत्त राय भएको बाबुराम रायका छोरा नभई २ छोरी हामी वादी भएको, तनकी रायका २ छोराहरु रामजी राय र वटु राय, रामजी रायको श्रीमती कलावती देवी, वटु रायको श्रीमती पल्टनीया भई राम दत्त रायका ५ छोराहरु देव नरसिं, विद्यानन्द, मथुरा, विजय र अमरदेव हुन् । हामी वादी प्रतिवादी वाहेक अन्यको मृत्यु भई सकेको मूल पुर्खा कुँजा रायकी मृत्यु पछि संगोलका रामदत्त रायलाई घरको मुख्य भनी आएका र हाम्रो विवाह म अनकलियाको विसुनपुर्वा वा.न. ४ वस्ने गनेसी धामीसँग र म शिवकलियाको गंज भवानीपुर वडा नं ४ वस्ने तुलसी खां थारुसँग भएको र हामी ससुरालमा नै वसी आउँदा काका बाबु समेतका बीचमा घरसारमा न अंश अलग गरी सर्भे नापीमा अलग अलग नाऊँमा जग्गा नापी भएको, सोही बमोजिम भोग व्यवहार भै आउंदा आमाको मृत्यु भयो । पिताको समेत २०५१।६।१० मा मृत्यु भई दाह संस्कार समेत हामीलेनै गरी आएकोमा पिताको हक खाने भनी विपक्षीहरुवाटै रौतहट जिल्ला अदालतमा चलेको दे.नं. २२४३ को कुत मोही मुद्दाबाट हामीलाई स्वीकार गरी सकेको अवस्थामा सो हाम्रो अपुताली हकको जग्गाको हाम्रो हक मेटाउन २०५१ सालमा मृत्यु भएका पिताको २०३३ सालमा मृत्यु भएको भनी उल्लेख गरेको समेतलाई जालसाज तर्फ छुट्टै मुद्दा गरी अपुताली हक तर्फ यो फिराद गरेका छौ प्रमाण बुझी हाम्रो पिता बाबुराम रायका नामको जिल्ला वारा गा.वि.स. सुनपुर्वा वा.नं. ३ कि.नं. १३१, ऐ. कि.नं. १३८, १३९, ऐ. वा. नं. ४ कि.नं. ५ ऐ. वा.न. ५ कि.नं. ८६ ऐ. वा.नं.९ कि.नं.९०, ९१ ऐ. वा.नं.४ ग. कि.नं.७४ जिल्ला रौतहट गा.वि.स. लक्ष्मिनिया वा.नं.६ क. वा.न. ३, ४, ५, ८, ६ ऐ. वा.नं.१ कि.नं.११६ समेतको जम्मा ज.वि. १२–१४–५ मा हाम्रो हक कायम गरी हाम्रो नाममा संयुक्त दर्ता समेत गरी पाउँ भन्ने समेतको फिरादपत्र ।
३. वादीहरुले बाबुराम रायको मृत्यु भएको भनी देखाएको मिति २०५१।६।१० झुठा व्यहोराबाट देखाएको हो, निजको मृत्यु २०३३।३।२३ भन्दा अघि भएको हो, अपुतालीको २० नं.बमोजिम फिराद दायर नभएको, तत्कालीन अपुतालीको महलले हकवाला भए सम्म छोरीले अपुताली नपाउने व्यवस्था भएको, वादीका पिताको मृत्यु पछि निजका हकको जग्गा हकवालाको हैसियतले २०४९ सालमा मोहीहरु उपर रौतहट जिल्ला अदालतमा कुतवाली मुद्दा गरेको, सो अवस्थामा जग्गावाला भएको भन्ने उल्लेख गर्न नसकेको, वादीले फिरादमा उल्लेख गरेको दे.नं.२२४३ को कुत मुद्दामा वादी मध्येकी अनकलियालाई वुझी वयान गर्दा समेत पिता जग्गा धनी जिवित भएको भनी भन्न नसकेको, हाम्रो पिताहरुका बीच अंश वण्डा नभएको, सो वण्डा भएको भनी प्रमाण पेश नभएको, ठुलो वुवा बाबुरामका नामको वन्दुक २०३३।३।२३ मा नामसारी गरेको समेतबाट निजको मृत्यु सो अघि भएको भन्ने प्रष्ट भएको, तत्कालीन अपुतालीका महलले दावीको जग्गामा हाम्रो हक भएको प्रष्ट हुँदा हद म्याद र हकदैयाको अभावमा परेको फिराद खारेज गरी पाउँ भन्ने समेतको देव नरसिंह राय समेत जना ५ को प्रतिउत्तरपत्र ।
४. वादीका पिताको मृत्यु २०५१।६।१० मा भएको भन्ने झुठा हो, निजको मृत्यु २०३३।३।२३ भन्दा अगाडी भएको हो । वादीका पिता बाबुराम र निजका भाई रामदत्त राय संगोलमा नै रहे वसेका, बाबुरामको तथा निजको श्रीमती समेतको मृत्यु पछि दाह संस्कार समेत देवदत्तका छोरावाटै भएकोले दावी बमोजिमको जग्गा वादीहरुको अपुताली हक हुने होइन । दावी झुठा हो भन्ने समेत कलावती देवी तथा पल्टनीया थरुनीको प्रतिउत्तरपत्र ।
५. यसमा फिरादीको बाबुकै नाममा जग्गा दर्ता रही रहनु तथा सो वेलाको अपुतालीको २ नं.३ नं. को व्यवस्थाले वादीहरुलाई आधी अपुतालीको हकदार मानेकै हुँदा दावीको आधी जग्गा सम्म वादीहरुको अपुताली हक कायम भै दर्ता समेत गराई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु वारा जिल्ला अदालतको मिति २०५६।५।१६ को फैसला ।
६. उक्त हामीलाई हराएको हद सम्मको शुरु फैसला उपर चित्त वुझेन । विपक्षीहरु हाम्रो पिताको सँग साथ वसेको होइन भन्ने शुरु मिसिलवाटै प्रमाणित छ । स्व. पिता बाबुरामको हामी सहोदर छोरीहरु हुँदा हुँदै पिताको सम्पत्तिमा टाढाका भतिजा भतिजी वुहारीहरुको आधा अपुताली हक हुन सक्दैन । अपुतालीको २ नं. ले सम्पूर्ण सम्पत्तिमा हाम्रो हक पुग्नु पर्नेमा आधा जग्गामा मात्र अपुताली हक कायम गर्न मिल्दैन । २०५१।६।१० मा मात्र पिता बाबुरामको मृत्यु भएको भन्ने कुरा हामीले पेश गरेको मृत्यु प्रमाणपत्रबाट प्रमाणित भएको अवस्थामा ठोस प्रमाणको अभावमा २०३३।३।२३ भन्दा अगाडि नै मृत्यु भएको ठहर गर्न मिल्दैन । यदि त्यसैलाई मान्ने हो भने अपुतालीको २० नं. को म्याद भित्र अपुताली हक कायम गराई लिनु पर्ने हुन्छ । निर्दिष्ट हदम्याद भित्र अपुताली हक कायम गराई विपक्षीले लिन सकेको अवस्था छैन । अपुताली हक कायम गरी पाउँ भन्ने विपक्षीको माग दावी नै नभएको अवस्थामा वन्दुक नामसारी र कुत मोही मुद्दा चलेको भन्ने कुरालाई प्रमाण मानी फैसला गर्न मिल्दैन । अतः उक्त शुरु फैसला अ.वंं ७८ नं. १८४ (क), १८५ तथा प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको प्रतिकुल हुँदा हामीलाई हराएको हद सम्मको शुरु फैसला वदर गरी हाम्रो फिराद दावी बमोजिम सम्पूर्ण जग्गामा हाम्रै अपुताली हक कायम दर्ता हुने गरी न्याय पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र ।
७. उक्त शुरु फैसला उपर हामीलाई चित्त बुझेन । स्व. बाबुराम २०३३ साल भन्दा पूर्व परलोक हुनु भएको कुरा सवुद प्रमाणबाट प्रमाणित हुँदा हुँदै करिव २० वर्ष पछि दायर भएको फिरादलाई हदम्याद भित्रकै मानी अपुतालीको २० नं. को प्रत्यक्ष त्रुटि गरी भएको फैसला वदर भागी छ । तत्कालीन अपुतालीको २ नं. मा छोरीले अपुताली पाउने व्यवस्था नभएकोले बाबुरामको मृत्यु २०३३ साल पूर्व भएको ठहरे पछि फिराद दावी अपुतालीको २ न.. र अ.वं. ८२ नं. को विपरित रहेको अवस्था देखिंदा शुरु फैसला खारेज भागी छ । बाबुराम राय र हाम्रो पिता रामदत्त राय संगोलमा वसी आउनु भएको र उहाँको सेवा टहल हामीहरुले गरेको सो वाली हामीहरुले खाई भोगी आउदा वाली सम्वन्धमा मुद्दा परेको र अपुताली हामीलाई परेकोले वन्दुक नामसारी समेत गराएको प्रमाणको समुचित मुल्यांकन नगरिएको फैसला अ.वं. १८४, १८५, १८६ नं. समेतको प्रत्यक्ष गम्भीर त्रुटीपूर्ण देखिंदा दावीको आधी जग्गा सम्म वादीहरुको अपुताली हक कायम भै दर्ता समेत गराई लिन पाउने ठहराएको शुरु बारा जिल्ला अदालतको फैसला वदर गरी पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको पुनरावेदन पत्र ।
८. वादीले आफ्ना बाबु बाबुराम रायको मृत्यु २०५१ सालमा भएको भनी दावी लिएतापनि प्रतिवादी पक्षले २०५१ साल अगावै विवादित जग्गामा आफ्नो हक देखाई कुतमोही मुद्दा दिई भएको फैसला अन्तिम भे वसेको देखिन्छ । साथै निजको मृत्यु २०३३ साल अगावै भएको भनि निजका नामको वन्दुक २०३३।३।२३ मा प्रतिवादी पक्षले नामसारी गराएको भन्ने प्रमाणमा आएको मिसिलबाट देखिन्छ । उल्लेखित आधारबाट वादीका बाबु ०३३।३।२३ अगावै मृत्यु भएको भन्ने देखिन आएबाट वादी दावी तथ्ययुक्त देखिन आएन । प्रतिवादीले कुत वाली मुद्दा दिएको समेतको क्रियाबाट प्रस्तुत मुद्दा गर्नु पर्ने कारण सृजना परेको कारण हदम्याद वाहिरको भन्न नमिल्ने हुँदा तत्कालीन अपुतालीको ३ नं. बमोजिम विवादित सम्पत्तिको आधा जग्गा सम्म वादीहरुको अपुताली हक कायम भै दर्ता समेत गराई लिन पाउने ठहराएको वारा जिल्ला अदालतको फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत हेटौडाको मिति २०५७।५।८ को फैसला ।
९. पुनरावेदन अदालतको फैसलामा चित्त वुझेन । वादीका बाबु बाबुराम राय २०३३।३।२३ भन्दा पहिले परलोक भएको भन्ने कुरा शुरु तथा पुनरावेदन अदालतको फैसलाले समेत स्वीकार गरेको अवस्थामा अपुताली हक कायम गरी पाउँ भन्ने दावी अपुतालीको २० नं. को हदम्याद भित्र छ छैन भन्ने सम्वन्धमा विचार नगरी हदम्याद वाहिरको फिरादबाट इन्साफ गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलामा तत्कालीन अपुतालीको २० नं. र यस अदालतबाट प्रतिपादित सिद्धान्त विपरित छ । मुलुकी ऐन छैठौ संशोधन ( २०३३।४।२८) पूर्व सँग वसेका हकवाला हुँदा हुदै छोरीले अपुताली हक पाउने व्यवस्था नभएकोमा प्रस्तुत फिरादनै अ.वं. ८२ नं. विपरित छ । साथै अपुतालीको २ नं. को माग दावी लिई फिराद दायर भएकोमा अपुतालीको ३ नं. बमोजिम भनी अदालत स्वयं वादी भै फैसला गरेको, सगोलमा रहे वसेका हकवाला हामी प्रतिवादी भएको र हामीबाट नै सेवा टहल गरेको अवस्थामा वादी छोरीले आधा जग्गा अपुताली वापत पाउने भनी भएको फैसला उपरोक्त कानून र प्रतिपादित सिद्धान्त समेतको विपरित हुँदा हाललाई प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरी पाउँ भन्ने व्यहोराको प्रतिवादीको यस अदालतमा परेको निवेदन ।
१०. पुनरावेदन अदालतको फैसलामा चित्त वुझेन । हामीहरु स्वर्गिय पिता बाबुरामका सहोदर छोरी हौ । स्वर्गिय पिता विपक्षीहरुबाट भिन्न रहेको भन्ने कुरा पिता बाबुरामबाट विपक्षी विद्यानन्दले २०२१।७।२७ मा विपक्षी मथुरा रायले २०२१।७।२८ मा राजीनामा गरेको लिखतबाट प्रष्ट छ । विपक्षीहरु र स्वर्गीय पिताले छुट्टाछुट्टै ७ नं. फाँटवारी भरी छुट्टाछुट्टै नापी दर्ता गराई लिनु भएको छ । उपरोक्त आधारबाट पिता र विपक्षी अलग अलग रहे वसेको र हामी छोरीहरु सँग साथ वसी स्याहार सुसार गरेको अवस्थामा छुट्टि भिन्न भै सकेको अवस्थामा विवादित सम्पूर्ण सम्पत्ति अपुताली हक अन्तर्गत हामी वादी पाउनु पर्नेमा सो विपरित भएको फैसला सो हद सम्म त्रुटिपूर्ण छ । स्वर्गिय पिता ०५१।६।१० मा मृत्यु भएको भन्ने कुरा मृत्यु दर्ता प्रमाणबाट पुष्टि भै रहेको विपक्षी कुत वाली मुद्दा दिएको भएपनि मोहीले जग्गाधनी हामीलाई नै स्वीकार गरेको, २०३३ साल अगावै मृत्यु भएको भन्ने नै हो भने पनि तत्कालको अपुतालीको २० नं. बमोजिमको हदम्याद भित्र हक कायम गराई लिन नसकेको अपुताली हक कायम गरी पाउँ भन्ने प्रतिवादीहरुको दावी नभएकोमा प्रतिउत्तर जिकिरले वादी दावीको स्थान ग्रहण गर्न नसक्ने प्रष्ट छ । दावीको जग्गा अद्यापि स्वर्गिय पिताकै नाममा रहेको, प्रतिवादीहरुले समयमा उजुर वाजुर नगरेको अवस्थामा वन्दुक नामसारी भएको कुतमोही मुद्दा चलेको जस्ता कुरालाई आधार लिई भएको फैसला त्रुटिपूर्ण हुँदा हामीहरुको माग दावी विपरितको फैसलाको हद सम्म उक्त फैसला वदर गरी पाउन हाललाई मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरी पाउँ भन्ने व्यहोराको वादी पक्षको यस अदालतमा परेको निवेदन ।
११. यसमा अपुतालीको २ नं. बमोजिम बाबु आमा परलोक हुँदा छोरा नहुने बाबुरामको वादी छोरीहरु मात्र जिवित रहेका र मिति ०५१।६।१० मा बाबुरामको मृत्यु भएको भनी मृत्युदर्ता प्रमाणपत्र पेश गरेकोमा सोलाई मान्यता नदिई गरेको पुनरावेदन अदालत हेटौडाको फैसलामा अपुतालीको २ नं. को कानूनको व्याख्यामा गम्भीर कानुनी त्रुटि हुनुको साथै ने.का.प. २०५६ नि.नं.६७३३ पृ. सं. ४१४ मा प्रतिपादित सिद्धान्तको प्रतिकूल देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) (ख) को अवस्था हुँदा दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने व्यहोराको यस अदालतको आदेश ।
१२. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक वादीका तर्फबाट विद्वान अधिवक्ता श्री मनोज दवाडीले पुनरावेदक वादीहरु बाबुरामका सहोदर छोरी भएकोमा विवाद छैन । निजका पिता बाबुरामको मृत्यु मिति २०५१।६।१० मा भएको र बाबुराम विपक्षी सँग छुट्टि भिन्न भै वसेको कुरा बाबुरामबाट विपक्षी भतिजा विद्यानन्दले र विपक्षी मथुरा रायले पारित गराई लिएको राजिनामा लिखत र वादीका पिता तथा विपक्षीले छुट्टाछुट्टै भरेको ७ नं. फाँटवारी समेतबाट प्रष्ट छ । वादीका बाबु वादी छोरीहरुको सँगसाथ वसी निजहरुले पालन पोषण गरेकोले पिता बाबुरामको सम्पूर्ण सम्पत्तिमा वादीहरुको अपुताली हक कायम हुने ठहर गर्नु पर्नेमा आधा सम्म वादीहरुको हक कायम हुने ठहर्याएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला सो हद सम्म वदर गरी वादी दावी बमोजिम हुनु पर्छ भनी र पुनरावेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री जयकान्तलाल दासले वादीका पिता बाबुरामको २०३३ साल भन्दा अगावै मृत्यु भएको प्रस्तुत फिराद अपुतालीको २० नं. को हदम्याद भित्रको नभएको मुलुकी ऐन छैठौ संशोधन ( २०३३।४।२८) अगाडी छोरीले अपुताली पाउने व्यवस्था नरहेको, वादीका पिताको मृत्यु पछि हकवालाको हैसियतले २०४९ सालमा विवादित जग्गाको मोही उपर रौतहट जिल्ला अदालतमा कुतवाली मुद्दा दायर गरेको तत्कालीन अपुतालीको महल बमोजिम छोरीले अपुताली पाउने व्यवस्थानै नरहेको, २०३३ सालमानै मरेको व्यक्तिलाई विपक्षी वादीले पालन पोषण गरेको भन्ने कुरा तथ्य विपरित भएको, वादीका बाबु तथा विपक्षीहरु बीच राजीनामा लिनु दिनु भएको कारणबाट मात्र छुट्टि भिन्न वा अंशवण्डा भएको मान्न मिल्ने अवस्था नरहेको अवस्थामा तत्काल बहाल रहेको अपुतालीको २ नं. बमोजिम विवादित सम्पूर्ण सम्पत्तिमा प्रतिवादीको हक कायम हुनु पर्नेमा सो नभएको पुनरावेदन अदालतको फैसला वदर गरी प्रतिउत्तर जिकिर बमोजिम हुनु पर्छ भनी गर्नु भएको वहस सूनियो ।
१३. विद्वान कानून व्यावसायीहरुको वहस जिकिर समेत सुनी मिसिल अध्ययन गरी विचार गर्दा वादीले आधा सम्म जग्गा पाउने ठहर्याएको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको छ छैन निर्णय दिनु परेको छ ।
१४. निर्णय तर्फ विचार गर्दा आफ्नो पिता बाबुराम विपक्षीहरु सँग छुट्टि भिन्न भै हामी वादीले स्याहार सुसार गरेकोमा पिताको २०५१।६।२० गते परलोक भएकोले निजको अपुताली हामीले पाउने हुँदा निजको नाउँको जग्गा हाम्रो नाउँमा हक कायम गरी पाउँ भन्ने वादीको दावी भएकोमा बाबुरामको मृत्यु २०३३।३।२३ मा सगोलमा रहदाकै अवस्थामा भएको र तत्काल प्रचलित अपुतालीको २ नं.बमोजिम वादीले अपुताली नपाउने भन्ने समेत प्रतिवाद जिकिर रहेको देखिंदा प्रस्तुत मुद्दामा निम्न प्रश्नहरुमा निर्णय दिनु पर्ने देखिन आयो ।
(१) वादीका पिता बाबुराम रायको मृत्यु कहिले भएको हो ?
(२) वादीका पिता र प्रतिवादीहरु छुट्टि भिन्न भएको हो होइन ?
(३) प्रस्तुत मुद्दा ऐनको हदम्याद भित्र दायर भएको छ छैन ?: -
(४) वादी दावी बमोजिम बाबुराम रायको पुरै अपुताली यि वादीले पाउने हो होइन ?
(५) पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ?
१५. वादीका बाबु बाबुराम रायको मृत्यु कहिले भएको हो भन्ने प्रथम प्रश्न तर्फ विचार गर्दा वादीले आफ्नो बाबुको मृत्यु २०५१।६।१० मा भएको भनी प्रमाण स्वरुप मिति २०५४।१।३० मा निजले प्राप्त गरेको मृत्यु दर्ता प्रमाण पत्र प्रस्तुत फिराद साथ पेश गरेको देखिन्छ । प्रतिवादीहरुले बाबुरामको मृत्यु २०३३।३।२३ मा भएको भनि जिकिर लिई वन्दुक नामसारी गराएको प्रमाण पेश गरेको पाईन्छ । मिसिल संलग्न फायलबाट निज बाबुरामको नाममा रहेको वन्दुक मिति २०३३।३।२३ भन्दा अगावै प्रतिवादी देवनरसिहं रायको नाममा नामसारी भएको र त्यसरी नामसारी हुँदा निज बाबुराम परलोक भएको भन्ने कारण जनाई नामसारी भएको देखिन आँउछ । सो वाहेक प्रतिवादी देवनरसिहंले वादीका बाबु बाबुरामको मृत्यु भएको भनी निजको नामको विवादित जग्गामा आफ्नो हक देखाई दिएको कुतवाली मुद्दामा दावी बमोजिम वाली भरी पाउने ठहरी रौतहट जिल्ला अदालतबाट मिति २०५०।११।२९ मा फैसला भएको भन्ने मिसिल संलग्न सम्वत् २०५० को दे.नं.२३०४ को कुतवाली मुद्दाको मिसिलबाट देखिन आँउछ । उक्त निर्णयहरुलाई यी वादीले चुनौति दिएको वा वदर गराएको देखिन आउदैन । कुनै सरकारी कार्यालय वा अड्डाले प्रस्तुत मुद्दा पर्नु भन्दा अगावै आफ्नो अधिकारक्षेत्र भित्र रही कानून बमोजिमको प्रकृया पुरा गरी गरेको उपरोक्त बमोजिमका कारवाही र निर्णयलाई अदालतले विवादरहित प्रमाणको रुपमा ग्रहण गर्नु पर्ने हुन्छ । त्यस्तै कानूनी प्रकृया पुरा गरी अधिकार प्राप्त अधिकारीबाट भएको वन्दुक नामसारी गर्ने निर्णय र सो कारवाही निर्णय गर्दा बाबुरामको मृत्युका सम्वन्धमा मिति जनिएको कुनै ठोस र अकाट्य प्रमाणबाट अन्यथा प्रमाणीत नभएकोले निज बाबुराम रायको मृत्यु २०३३।३।२३ भन्दा अगावै भएको भन्ने कुरा विवाद रहित तवरबाट पुष्टि हुन आँउछ । यस अवस्थामा पंजिकाधिकारीबाट निकै पछि अर्थात मिति २०५४।१।३० मा दिईएको मृत्यु दर्ता प्रमाणपत्र र त्यसमा निज बाबुराम रायको मृत्युका सम्वन्धमा उल्लेख भएको २०५१।६।१० मितिलाई प्रस्तुत मुद्दाको निर्णायक प्रमाणको रुपमा लिन तथा निज बाबुरामको मृत्यु मिति २०५१।६।१० मा भएको भनी मान्न मिल्ने देखिन आएन ।
१६. अव वादीका पिता र यि प्रतिवादीहरु छुट्टि भिन्न भएको वा सगोलमा रहेको भन्ने दोश्रो प्रश्न तर्फ विचार गर्दा मृतक बाबुराम रायबाट यी विपक्षी प्रतिवादी (भतिजा) विद्यानन्द रायले २०२१।७।२७ मा र विपक्षी मथुरा रायले मिति २०२१।७।२८ मा राजीनामा पारित गराई जग्गा लिएको दिएको भन्ने कुरा मिसिल संलग्न उक्त राजिनामाका प्रतिलिपिहरुबाट देखिन आँउछ । मृतक बाबुराम र विपक्षीहरु छुटिभिन्न नभै एकसगोलमा रहे भएको भए यसरी एक आपसमा राजीनामा लिनु दिनु गर्नु पर्ने अवस्था हुँदैन । एका सगोलमा रहे भएको अकाट्य प्रमाणको अभावमा आपसमा जग्गा खरिद विक्रि गरेको र राजिनामा लिनु दिनु गरेको तथ्यलाई प्रतिवादीले वस्तुनिष्ठ रुपमा खण्डन गर्न सकेको नदेखिएबाट वादीका बाबु बाबुराम राय र प्रतिवादीहरु व्यवहार प्रमाणबाट छुटिभिन्न भएको रहेछ भन्ने मान्नु पर्ने हुन्छ ।
१७. अब प्रस्तुत फिराद हदम्याद भित्र परे नपरेको भन्ने तेस्रो प्रश्न सम्वन्धमा विचार गर्दा अपुतालीको २० नं.बमोजिम अपुताली परेको ३ वर्ष भित्र नालेस दिनु पर्ने हुन्छ भन्ने कानूनी व्यवस्था रहेको पाईन्छ । यि वादीहरुले आफ्नो पिता ०५१।६।१० मा मृत्यु भएको भनि दावी लिएकोमा प्रतिवादीहरुले सो भन्दा अगावै मृत्यु भएको भनि मृतक बाबुरामको नाउँको जग्गा विपक्षीका नाउँमा वा अन्य कसैको नाऊँमा दर्ता नभएको र हाल सम्म दर्तावाला यी वादीको पिता बाबुराम रायकै नाऊँमा यथावत रहेको देखिएको र निजको मृत्यु पछि अपुताली कस्ले पाउने भन्ने सम्वन्धमा विवाद उत्पन्न भएपछि मात्र नालिश दिनु पर्ने भै हदम्यादको कुरा उत्पन्न हुने हुँदा प्रस्तुत फिराद हदम्याद नाघेको भन्न मिल्ने देखिन आएन ।
१८. वादी दावी बमोजिम मृतक बाबुरामको अपुताली निजकी छोरी यि वादीहरुले पुरै अपुताली पाउने हो ? होइन भन्ने चोथो प्रश्नका सम्वन्धमा विचार गर्दा मृतक बाबुराम रायको मृत्यु हुँदाका अवस्थामा प्रचलित रहेको अपुतालीको २ नं.र ३ नं.को कानूनी व्यवस्था बमोजिम नै यी वादीहरुले अपुताली पाउने हुन्छ । सो सम्वन्धमा तत्काल प्रचलित अपुतालीको २ नं.मा अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा, छोराको छोरा, वा सँग वसेका अरु हकवाला भए सम्म छोरीले अपुताली पाउदीन त्यस्ता हकवाला नभए कन्या छोरीले पाउछन् । सो छोरीको विवाह भयो भने त्यसले पाएको अपुतालीको आधा सो छोरीले र आधा ३ पुस्ता सम्मका अरु हकवाला भए निजहरुले र त्यस्ता हकवाला नभए विवाह भएकी वा पोइल गएकी अरु छोरीले पाउछन् भन्ने समेत व्यवस्था भएको पाईन्छ भने ३ नं.मा सँग वसेका ३ पुस्ता सँग का हकवाला कोही छैनन् र भिन्न भै सकेका स्वास्नी छोरा वा छोराको छोराले हेरचाह नगरी छोरी वा छोरी ज्वाईले स्याहार सम्भार गरी पालेको रहेछ भने त्यस्तो बाबु आमा वा सासू ससुराको अपुताली पर्न आएमा चलजति सवै र अचलमा आधा त्यस्ता छोरी वा छोरी ज्वाईले पाउछन् । अचलको आधामात्र यसै महको २ नं.बमोजिम हक पुग्ने लोग्ने स्वास्नी छोरा वा छोराको छोराले पाउछन् भन्ने व्यवस्था भएको पाईन्छ । तत्काल प्रचलित कानूनमा भएको उपरोक्त व्यवस्था बमोजिम वादीका बाबु बाबुराम रायको पुरै अपुताली यि वादीले पाउने भन्ने देखिन आएन ।
१९. पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ? भन्ने पाँचौ प्रश्न तर्फ विचार गर्दा वादीका बाबु बाबुरामको मृत्यु ०३३ साल भन्दा अगावै भएको र निज विपक्षीहरु र मृतकका बाबु बाबुराम राय छुट्टि भिन्न भै सकेको भन्ने देखिएकोले तत्कालीन अपुतालीको २ र ३ नं. बमोजिम मृतक बाबुरामको विवादित सम्पत्तिको आधा सम्म वादीले अपुताली वापत पाउने देखिएको अवस्थामा मिति २०५१।६।१० को मृत्यू दर्ता प्रमाणपत्रलाई मान्यता नदिई गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भन्ने समेतका आधारमा यस अदालतबाट भएको दोहोर्याई हेर्ने निस्सा आदेशसँग यो इजलाश सहमत हुन सकेन । अतः विवेचित आधारबाट विवादित सम्पत्तिको आधा जग्गामा वादीको अपुताली हक कायम हुने ठहर्याएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत हेटौडाको मिति २०५७।५।८ को फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । वादी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरि मिसिल नियमानुसार वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्याः अनुपराज शर्मा
शाखा अधिकृतः कृष्ण प्रसाद नेपाल
ईति सम्वत् २०६३ साल भाद्र २६ गते रोज ६ शुभम–––––––––––